18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फूलको प्रश्न

कविता कृष्ण बाउसे July 3, 2025, 3:34 pm
कृष्ण बाउसे
कृष्ण बाउसे

अत्तर बनाएको भए
सुगन्ध छरिरहेको हुन्थेँ ।

माटोमा झर्न पाएको भए
नयाँ बिरुवा बनेर
फेरि फुलिरहेको हुन्थेँ ।

भर्भराउँदो यौवनको मिठास लिन नपाउँदै
टिपेर मन्दिरमा पु¥यायौ
र हु¥यायौ मूर्तिको पाउमा मलाई ।
‘कसैका देवता खुसी हुन्छन् भने ठिकै छ’
भनेर सहिदिएँ ।
माला बनाउने भन्दै
धागोसहितको तिखो सियोले मुटुमै घोच्यौ
र बन्दी बनायौ मलाई ।
‘कसैको खुसीको लागि पीडा सहनु पनि धर्मै हो’
भनेर सहिदिएँ ।

तर,
हदै पार गरेर
सेलाएको भन्दै
फेरि किन मिल्कायौ मलाई नदी–किनारमा लगेर ?
र त्यसपछि
किन आफैँ थुक्न थाल्यौ मलाई
‘दुर्गन्धित फोहर’को विशेषणले आभूषित गरेर ?

मैले त
आफूसँग भएभरको सौन्दर्य
तिम्रै आँखामा पोतिदिएकै थिएँ त !
मैले त
आफूसँग भएभरको सुवासलाई
तिम्रै नाकमा घसिदिएकै थिएँ त !
तर त्यसको बदलामा
गर्नै नहुने कृत्य गर्दै
आफैँले समेत पिउने
र आफ्नै शिरमा चढाउने पानीलाई नै प्रदूषित पार्दै
तिमीले नै
पु¥यायौ मलाई दुर्गन्धित यो खाडलमा ।

जवाफ देऊ
ए कृतघ्न मान्छे !
दिएका हौ तिमीले मलाई
मेरो
कुन अपराधको सजाय ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।