१.आमुख:-
हाम्रो समाजमा कतिपय यस्ता व्यक्ति छन् जो आफ्नो भाषा साहित्य, देश र जातिको उत्थानमा अहोरात्र खटिरहेका छन्। आफ्नो व्यक्तिगत स्वार्थ र पेशाभन्दा माथि उठेर निस्वार्थ भई सेवारत हुन्छन्। केही नेपाली साहित्यकार र साहित्यसेवी छन, जो उन्नतिका लागि मरिमेटेका छन्। यस्तै एक व्यक्तित्व हुन् कृष्ण बजगाईँ। नेपाली साहित्यको मानचित्रमा कृष्ण बजगाइँको नामाङ्कित छ। उनी नेपाली साहित्यको परोक्ष र प्रत्यक्ष सेवामा आवद्ध छन्। उनी साहित्यलाई पेशाभन्दा माथि उठेर विश्वमा नेपाली साहित्यलाई अंकित गर्ने काम गरिरहेका छन्। आफ्नो पेशाबाट फुर्सद पाएर साहित्य लेखनमा सक्रिय छन्। उनी लेखन, सम्पादन र साहित्यिक कार्यक्रम आदिमा देखा पर्ने गर्छन्। उनी बेल्जियम बस्तादेखि नै अनलाईन समकालीन साहित्य पत्रिकाको प्रकाशन र सम्पादन गरिएका छन्। अहिलेको अनलाईनको युगमा उनले नेपाली साहित्यलाई पनि अनलाइनमा प्रकाशन गरेका छन्।
२. विषय प्रवेश:-
उनी मूल रूपमा धरान निवासी हुन् तर हालमा बेलायतमा बसोवासो गर्छन्। उनी सन् २००० देखि बेल्जियम गएका हुन्। त्यसपछि लण्डन बसेका हुन्। यसकारण उनी बेलायत र बेल्जियममा गरी २४ वर्ष भइकेको छ। उनको जन्म मिति: २०२४ असार ९ गते, धरानमा भएको हो। उनले स्नातकोत्तरसम्म शिक्षालाभ लिएका हुन्। त्यसबाहेक उनले फ्रेन्च भाषामा डिप्लोमा अध्ययन गरेका हुन्। उनी लगभग १२ वर्ष जति रेडियो नेपालमा पनि स्थायी जागिरे थिए। उनी साहित्यिक हर्ताकर्ता हुन्। उनी सिर्जनाका पुस्तक प्रकाशित गरेर, गत सत्र वर्षदेखि अनलाईन समकालीन साहित्य प्रकाशन गरेर , युरोपभरि नेपाली भाषा साहित्यको प्रचार प्रसार गरेर नेपाली भाषा साहित्यको प्रत्यक्ष र परोक्ष सेवा पुर्याइरहेका छन्। उनका प्रकाशित कृतिहरु हुन्-
१.गाउँले रोबोट (बालकथासङ्ग्रह, २०८१) २. गफ चुट्ने मेसिन (बालकथासङ्ग्रह, २०८१) २. छुकछुके रेल (बालकवितासङ्ग्रह, २०८१) ४. चिल्लीबिल्ली (बालकवितासङ्ग्रह, २०८१) ५. युङफ्राउ (नियात्रासङ्ग्रह,२०८०) ६. नग्न स्वप्न (लघुकथासङ्ग्रह, २०८०) ७. बतासे डाँडामा पङ्खा (बालकथासङ्रग्रह, २०८०), ८. कागजको मन्त्री (लघुकथासङ्ग्रह, २०८०) ९. उमिहोतारु (नियात्रासङ्ग्रह, २०७९) १०. आगो ओकल्ने पहाड (बालकथासङ्ग्रह, २०७९) ११. संवैधानिक पत्नी (लघुकथासङ्ग्रह, २०७७ १२ मौन प्रणय (हाइकुसङ्ग्रह, २०७७) १३) दाइबुचु (नियात्रासङ्ग्रह, २०७६) १४) कुमारी रात (हाइकुसङ्ग्रह, २०७५) १५. भाया साक्रा (नियात्रासङ्ग्रह, २०७४), १६. युरेसियाको स्पर्श (नियात्रासङ्ग्रह, २०७३), १७. कवच (लघुकथासङ्ग्रह, २०७२), १८. कमरेड भाउजू (कथासङ्ग्रह, २०७२), १९. रोडम्याप (लघुकथासङ्ग्रह, २०६६), २०. स्रष्टा र डिजिटल वार्ता (साहित्यिक अन्तर्वार्तासङ्ग्रह, २०६५), २१. हिउँको तन्ना (हाइकुसङ्ग्रह, २०६५), २२. यन्त्रवत् (लघुकथासङ्ग्रह, २०६४)।
उनी सम्पादन कार्यमा पनि अघि छन्। नेपालमा छँदा र नेपालबाहिर पनि नेपाली पत्रिकाका सम्पादन गरेका छन्। उनको सम्पादनमा रहेका केही पत्रिकाहरूमा हुन्- १.‘कर्मचारी’ स्मारिका, सुनसरी (२०५१) २.‘स्मारिका’ १२ औ राष्ट्रव्यापी खुला युवा वक्कृत्वकला प्रतियोगिता(२०५३) ३.‘भताभुङ्गे’ हास्यव्यंग्य पत्रिका (२०५४) ४.‘प्रयास’ (२०५५) ५.‘धरान दर्पण’(२०५६) ६.‘कविहरूका आँखामा धरान’(२०५६) ७.‘धरान आइज इन द पोयट्स’(२०५७) ८.शब्दाञ्जली (२०६४)। उनी विद्यार्थी कालदेखि नै साहित्य लेखनमा उत्रेका थिए। उनको पहिलो रचना प्रकाशित ‘संसार साप्ताहिक’ धरानबाट वि.सं. २०४१ मा पहिलो कविता प्रकाशित थियो। उनको लेखनलाई केही विश्वविद्यालयले मान्यता दिएका छन्। जानकारीअनुसार उनका केही लघुकथासङ्ग्रहहरू विश्वविद्यालयका पाठ्यक्रम र अनुसन्धानमा छन्- ती हुन्-
१. त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको स्नातक तहको नेपाली विषयको पाठ्यक्रममा ४ वटा नियात्राको पढाई हुन्छ।
२. उनको लेखनको केही अध्ययन र मूल्याङ्कन भएको पाइन्छ। उनका कृतिहरू त्रिभुवन विश्विद्यालयबाट ‘कृष्ण बजगाईंको कृतित्व र व्यक्तित्व’, कृष्ण बजगाईंको लघुकथाकरिता, ‘युरोशियाको स्पर्श’ नियात्रासंग्रह र ‘कमरेड भाउजू’ कथासङ्ग्रहमा गरेर एम. ए. नेपालीमा ४ वटा शोध कार्य भएको छ।
३. त्रिभुवन विश्वविद्यालय, पद्मकन्या कयाम्पस काठमाडौंका सहप्राध्यापक डा. फणिन्द्रराज निरौलाबाट उनको नियात्राङ्ग्रहको ‘दाइबुचु नियात्रासङ्ग्रहको विधातत्व’मा लघुअनुसन्धान सम्पन्न गरेको पाइन्छ। ४) एक लघुकथा म्यान्मार (बर्मा) को नेपाली भाषाको स्कूलको कक्षा ९ को पाठ्यक्रममा पढाई हुन्छ।
५. एक लघुकथा नेपाल सरकारको शिक्षा मन्त्रालयको कक्षा १२ को पाठ्यक्रम अनिर्वाय नेपालीमा पढाई हुन्छ।
६. नेपाल सरकार शिक्षा मन्त्रालयको सरकारी स्कूलको कक्षा ५ को नयाँ पाठ्यक्रममा बालकथा पढाई हुन्छ।
७. २१ वटा बालकथा नेपाल सरकार शिक्षा मन्त्रालयद्धारा स्वीकृत निजी विद्यालयको पाठ्यक्रममा कक्षा ४, ५, ६ र ७ पढाई हुन्छ ।
८. एक बालकथा अमेरिका नेपाली पाठशालामा तह ३ मा पढाई हुन्छ ।
९. उनीलगायत १५ जना डायोस्पोरिक कविका कवितामा डा. रामजी तिमल्सिनाबाट पिएचडी सम्पन्न भएको छ ।
१०. उनी लगायत २६ जना डायोस्पोरिक कविका कवितामा डा. पुरण राईबाट पिएचडी सम्पन्न भएको छ ।
११. उनीलगायत ८ जना डायोस्पोरिक कथाकारको कथामा उषा आचार्य ढकालबाट त्रिविविबाट एमफिल सम्पन्न भएको छ।
कृष्ण बजगाईँको निस्वार्थ साहित्य सेवावापत केही सम्मानित पनि भएका छन्। हालसम्म उनले पाएका केही पुरस्कार तथा सम्मानमा १. साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान (२०८१), २. नइ रजत पदक (वि.सं. २०७९), ३. नइ कीर्ति रत्न (वि.सं. २०८०), ४. सत्यमोहन जोशी शताब्दी पदक, नेपाल (वि.सं २०७२), ५. सुप्रमा साहित्य पुरस्कार, बेलायत (वि.स २०७२), ६. वैजयन्ती स्रष्टा सम्मान, नेपाल (वि. सं. २०७२), ७. भानुभक्त द्विशताब्दी स्वर्ण पदक, नेपाल (वि. सं. २०७०), ८. डायस्पोरा नृपध्वज पुरस्कार, अमेरिका (वि.सं.२०६७), ९. देवकोटा शताब्दी सम्मान, नेपाल (वि.सं. २०६५), १०. नारायण जयन्ता लिटरेरी वेब जर्नालिज्म एवार्ड, अमेरिका (वि.सं. २०६५), उनी विभिन्न साहित्यिक सामाजिक संस्थाहरूमा संलग्न छन्। उनको संलग्नताहरूमा- १. संस्थापक अध्यक्ष: समकालीन साहित्य प्रतिष्ठान, बेलायत (सन् २००१४ देखि), २. संस्थापक सम्पादक/प्रकाशक: www.samakalinsahitya.com (सन् २००७ देखि), ३. प्रधान सम्पादकः ‘प्रवासन’ अनुसन्धानमूलक अन्तर्राष्ट्रिय साहित्यिक जर्नल (सन् २०१७ देखि), ४. अन्तर्राष्ट्रिय संयोजक, लघुकथा समाज नेपाल (वि. सं. २०६५–२०७८), ५. वरिष्ठ उपाध्यक्ष (सन् २०१०–१२): अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति, वासिङ्टन डी.सी, अमेरिका, ६. महासचिव (सन् २००८–१०): अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति, वासिङ्टन डी सी, अमेरिका, ७. संस्थापक अध्यक्ष (सन् २००७–११): अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम च्याप्टर, ८. संस्थापक महासचिवः साहित्य अनुसन्धान परिषद नेपाल, सुनसरी (वि.सं. २०५५–२०६०), ९. कार्यसमिति सदस्यः सुनसरी साहित्य प्रतिष्ठान (वि.सं २०५१–५३), १०. कार्यसमिति सदस्यः पूर्वाञ्चल ललितकला प्रतिष्ठान (वि.सं २०५४–२०५६), ११.‘ट्रेफ नेपाल’ नामक वातावरण र पर्यटनसम्बन्धी गैरसरकारी संस्थाको संस्थापक अध्यक्ष (वि.सं. २०५२ देखि २०५७), १२. ‘चाइल्ड फोकस’ बेल्जियमको स्वयम् सेवक (सन् २००३ देखि २०११)।
माथिका सूचि अध्ययन गर्दा मात्र पनि उनी एक सक्रिय साहित्य सेवक, सक्रिय कार्यकर्ता, सर्जक हुन्। नेपाली भाषा र साहित्यलाई जसरी हुन्छ प्रचार प्रसार लोकप्रिय बनाउने उद्यम गरेको देखिन्छ। संस्थागत रूपमा भभए पनि नेपाली साहित्यलाई विश्वव्यापी बनाउने ध्येय देखिन्छ।
३. नियात्राकारका रूपमा कृष्ण बजगाइँ-
‘कायेन वाचेन मनसान्द्रियर्वा’ सबै कुराले साहित्यलाई जीवन समर्पण गर्ने कृष्ण बजगाईंले अरू विधा लेखे पनि मूल रूपमा उनी नियात्राकार हुन्। हालसम्म उनको पाँचवटा नियात्रा पुस्तक नेपाली पाठकलाई प्रदान गरिसकेका छन्। उनका नियात्रापरक पुस्तकहरूमा- युङफ्राउ, उमिहोतारु, दाइबुचु, भाया साक्रा, युरेसियाको स्पर्श ।
उनको उमिहोतारू नियात्रा नेपाली पाठकका निम्ति एउटा अमूल्य ग्रन्थ बन्नपुगेको छ। नियात्राका मानदण्डअनुसारका तत्वका आधारमा यस कृतिलाई अध्ययन गर्दा प्रायः जम्मै कुराले सजिएको पाइन्छ। यसमा रहेका विषयवस्तुहरूलाई स्थूलरूपमा पाँचवटा वर्गीकरण गर्न सकिन्छ– भौगोलिक स्थलगत जानकारी, ऐतिहासिक स्थलगत जानकारी, साहित्यिक स्थलगत जानकारी, आत्मानुभूति, मातृभूमि प्रेम। उनले आफूले गरेको यात्रालाई सदुपयोग गरेर यसरी रोचक ढङ्गमा एउटा रसिलो साहित्यिक कृति सिर्जना गर्नु नेपाली साहित्यका निम्ति ठूलै उपलब्धि हो। उनको पछिल्लो उमिहोतारू भन्ने पुस्तक पनि नियात्रा साहित्यका निम्ति निकै महत्त्वपूर्ण मान्न सकिन्छ।
उमिहोतारूमा नियात्रामा हुनुपर्ने सबै गुण र विशेषता पाइन्छ। यसमा तथ्यपरकता, सत्यता, आत्मानुभूति, स्वच्छन्दता, विषयकेन्द्रितता, कल्पनाशीलता, निजात्मकता, स्थानीयता लेखकीय इमान, चित्रात्मता, चिन्तनशीलता, तुलनात्मकता विवरणात्मक आदि गुण पाइन्छन्। यात्मक नियात्रा, दैनिकीय नियात्राबाहेक अरू जम्मै किसिमका नियात्रा लेखन यस उमिहोतारूमा पाइन्छन्। यसभित्रका प्रत्येक निबन्धले विभिन्न विशेषता बोकेको छन्।
४. लघुकथाकारका रूपमा कृष्ण बजगाइँ-
कृष्ण बजगाईँक एक दक्ष कथाकार हुन्। उनका प्रकाशित कथासङ्ग्रहहरूमा- १. गाउँले रोबोट (बालकथासङ्ग्रह), २. गफ चुट्ने मेसिन (बालकथासङ्ग्रह), ३. चिल्लीबिल्ली, ४. नग्न स्वप्न (लघुकथासङ्ग्रह) ५. बतासे डाँडामा पङ्खा (बालकथासङ्रग्रह), ६. कागजको मन्त्री (लघुकथासङ्ग्रह), ७. आगो ओकल्ने पहाड (बालकथासङ्ग्रह), ८. संवैधानिक पत्नी (लघुकथासङ्ग्रह), ९. कवच (लघुकथासङ्ग्रह), १०. कमरेड भाउजू (कथासङ्ग्रह), १९. रोडम्याप (लघुकथासङ्ग्रह), यन्त्रवत् (लघुकथासङ्ग्रह)।
कथामा पनि उनी लघुकथामा विशेष रूचि दिन्छन्। रत्न प्रजापतिका अनुसार- वर्तमान समय र समाजमा मान्छेका विसङ्गत र विद्रुप भोगाइहरूलाई सर्जक कृष्ण बजगाईंले लघुकथामा उतारेका छन् । चेतनशील, भावुक, संवेदनशील र कल्पनाशील सर्जक कृष्ण बजगाईंले मान्छेको मनलाई उद्वेलित बनाइराख्ने वर्तमान समय र समाजका केही बेथिति र विडम्बनाका विषयहरूलाई लघुकथामा उठान गरेका छन्। लघुकथाहरू समसामयिक सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक आदि विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका छन्। सङ्ग्रहका लघुकथामा विषयविविधता छ। यद्यपि सबै लघुकथाहरूले विडम्बनाहरूको चिरफार र बेथितिमाथि प्रहार गरेका छन्। विशेषतः सामाजिक यथार्थ, राजनीतिक व्यङ्ग्यचेत, मानवीय संवेदना, चरित्रगत आचरण, गरिबी, अभावको पीडा, विदेसिनुपर्ने बाध्यता, त्यसले सिर्जना गरेको सामाजिक समस्या, मानवीय संवेदना, पर्यावरणीय चेतना आदि यस लघुकथा सङ्ग्रहमा मुख्य विषयवस्तु बनेर आएका छन्। (अनलाइन समकालीन साहित्य, सेप्टेम्बर २३, २०२४) खास उद्देश्यका साथ विशेष स्थानको भ्रमणका क्रममा प्राप्त अनुभव, अनुभूति साथै निजी विचारलाई नियात्रामा प्रस्तुत गरिन्छ। कलात्मक भाषाका माध्यमबाट ऐतिहासिक महत्वका स्थानका महत्वपूर्ण भनाइ, सन्दर्भ आदिलाई बजगाईँका नियात्रामा उठान गरिएको हुन्छ। बेलायतलाई कर्मभूमि बनाए पनि हरपल स्वदेशको स्मरण गर्नु उनका लेखनगत प्रवृत्ति हुन् जुन प्रवृत्ति नियात्रामा समेत देख्न सकिन्छ। विदेशका विभिन्न स्थलको भ्रमण गर्नु र त्यस क्रममा नेपाल सम्झनु यस युङफ्राउ नियात्राको पनि विशेषता रहेको छ। (उषा आचार्य, समकालीन साहित्य, २९ मई, २०२४) ‘जम्माजम्मी ६१ वटा कथाहरुले सजिएको लघुकथाकृति 'नग्न स्वप्न' लघुकथाको क्षेत्रमा एउटा अब्बल कृति हो। विदेशी भूमि (बेलायत) आफ्नो कर्मथलो भए तापनि मातृभूमि प्रतिको माया र चिन्ता उनको कथामा बग्रेल्ती पोखिएका छन्। जनताहरु चिर निद्रामा छन्, जाली फटाहाहरुले देश खाइ सके जाग न जाग भन्दा पनि विदेशमा बसेर उपदेश दिन्छस्? भन्ने पीर पनि छ। यो यथार्थ हो तर जहाँ भए पनि देश दुखिरहन्छ। सबै कथाहरु उच्च कोटीका छन्। पढिसक्दा पनि स्वादिष्ट खाना खाएर पछिसम्म हात मगमगाए जस्तै कथाहरु मगमगाउँछन्”।
उहाँका कथाहरुमा भविष्यको चिन्ता, वातावरणप्रतिको सचेतता, नेपाली राजनीतिप्रतिको तिक्तता र गहिरो चिन्ताहरु आएका छन्। श्रीमान् र श्रीमती बीचको सम्बन्धमा धन, पैसाले पार्ने असर, उत्तरआधुनिक समाजमा श्रीमान् र श्रीमतीको सम्बन्ध दिगो नहुने कुराहरु र धेरै कथाहरुमा पूर्व श्रीमान्, पूर्व श्रीमती, पूर्व प्रेमी जस्ता पात्र उभिएर प्रष्ट पारेका छन् । विवाह अघिको सम्बन्ध शितल हुने विवाहपछि त्यही सम्बन्ध ताप हुने कुरा आएको छ । यस कृतिका (नग्न स्वप्न) अधिकाशं कथाहरुले मानवलाई यान्त्रिक र औपचारिकतामा बाधेको, मानवता र भावनात्मक सम्बन्ध हराउँदै गएको कुरा गहिरो चिन्ता बनेर आएका छन्। त्रिकोणात्मक प्रेम सम्बन्ध, प्रेमीका एउटी, श्रीमती अर्की हुदाँ पनि तीनैजना बीचको सम्बन्धमा जोडिएको नातालाई भन्दा भावनात्मक सम्बन्धमा मिठास हुने आदर्श कथामा पाइन्छ । (सीता रेग्मी, समकालीन साहित्य मई, २०२४)।
कृष्ण बजगाईँ आफ्नो जीवनकालमा नेपालको धरान र काठमाडौं, युरोपका बेल्जियम र लण्डनका बासिन्दा हुनाले उनले यी चारै ठाउँका बाह्य र आन्तरिक दुवै कक्षलाई राम्ररी निरीक्षण अनुभावन र अध्ययनबाट उनको लेखकस्व ब्युँझिएको हो। उनीभित्र उनी नेपाली समाज, युरोपेली समाजभित्र पसेका हुन्। दुवैतिरका समाजलाई राम्ररी देखेका भोगेका चिनेका हुन्। उनी देश खाइ शेष भएका सचेत लेखक हुन्। उनले नेपालको दुःख पनि देखे भोगेका हुन् भने युरोपेली आधुनिक समाजमा पनि बाँचेका छन्। उनी नेपालको अविकसित गाउँ देखेका घुमेका अनुभव गरेका व्यक्ति हुन् भने युरोपको विकासको चरमचुली पनि देखेका छन्। उनले राजतन्त्र र गणतन्त्र दुवै देखे भोगेका हुन्। यसर्थ, उनको लेखनले सबै किस्मिको अनुभव भोगेको छ। अतः उनको कथा र नियात्रामा राजनैतिक, सामाजिक स्पर्श भएको पाइन्छ। उनी जीवनवादी लेखक हुन्।
५. हाइकुकारका रूपमा-
नेपाली साहित्यमा हाइकुकार उति बढी होइनन्। जापानी साहित्यबाट प्रणयन भएको हाइकु कविता विश्वव्यापी बनेको छ। यसमा पाँच-सात पाँचको फर्मुलामा तीन पंक्तिको एउटा हाइकु निर्मित हुन्छ। यो लघु आयामको भए पनि यसले जीवनदर्शन, सांसारिक दर्शन, जीवनाभूतिलाई छोएको हुन्छ। कृष्ण बजगाइँ एक दक्ष हाइकुकार हुन्। उनले हाइकुसम्बन्धि जापानमा गएर तालिम पनि लिएका हुन्। उनका तीनवटा हाइकुसङ्ग्रहरू हुन्- मौन प्रणय, हिउँको तन्ना, कुमारी रात। यी तीनवटा हाइकुसङ्हग्रहरूले जीवन दर्शन, आफ्नो अनुभव र अनुभूतिलाई झल्काएका । थोरै शब्दमा धेरै कुरा भन्नु, गहिरा कुरालाई अटाउन सकेका छन्।
६. सम्पादकका रूपमा-
कृष्ण बजगाइँ एक दक्ष सम्पादक हुन्। उनी अनलाइन पत्रिका समकालीन साहित्यको एक कुशल सम्पादक हुन्। उनी आफ्नो नेपाली भाषा र साहित्यको सेवा गर्न अनलाइन पत्रिकाको माध्यमबाट भए पनि अग्रसर छन्। यस पत्रिकाले नेपाल, भारत, युरोप र अमेरिका चारैतिर नेपाली भाषा साहित्यको प्रचार गर्न सकेको छ। यसको माध्यमबाट धेरै नयाँ नयाँ लेखकको प्रदुर्भाव भएको छ। यस पत्रिकामा धेरै लेखकहरू आवद्ध छन्। यसमा यसमा कथा, कविता, गीत-गजल, कृति समीक्षा, निबन्ध, नियात्रा, विचार, व्यक्तित्व, अनुवाद, हास्य-व्यङ्ग्य, जीवनी, वार्ता, संस्मरण आदिलाई अघि बढाएका छन्। यसको माध्यमबाट सिर्जनाको उत्स सिर्जना गरेका छन्। धेरै व्यक्तिको परिचय, कृतित्वको समीक्षण गरिएको पाइन्छ। यसले धेरैलाई लेखक बनाएको छ, धेरैलाई साहित्यप्रति रूचि जगाइदिएको छ, धेरै विद्यार्थीलाई सन्दर्भ सामग्री जुटाइदिएको छ। यसबाहेक उनको प्रधान सम्पादकत्व रहेको प्रवासन शोधमूलक पत्रिका पनि निकै महत्त्वपूर्ण छ। यस शोधपत्रिकाले पनि नेपाली प्राज्ञिक शोधसामाग्री तयारी पार्न ठुलो भूमिका खेलेको छ।
७. अन्तर्वार्ताकार कृष्ण बजगाइँ-
आफ्नो अनलाइन पत्रिकालाई सुचारू राख्न उनले यसमा विविध साहित्यिक सामाग्रीका साथै उनले इमेलको माध्यमबाट संसारभरिका नेपाली साहित्यकारहरूको अन्तर्वार्ता पनि लिन्छन्। उनले धेरै साहित्य सर्जकहरू अन्तर्वार्ता लिएका छन्। यी अन्तर्वार्ताहरूलाई स्रष्टा र डिजिटल वार्ता भन्ने सङ्ग्रहको रूपमा प्रस्तुत गरेका छन्। उनले यस पुस्तकमा कमलमणि दीक्षित. कविताराम श्रेष्ठ, कृष्ण धरावासी, गोविन्दराज भट्टराई, जगदीश घिमिरे, ज्ञानू पाण्डे, धीरकुमार श्रेष्ठ, माधवप्रसाद पोखेरल, मोमिला, मोहन दुवाल, मोहन सिटौला, युवराज घिमिरे, रोचक घिमिरे, विक्रम सुब्बा, विमल भौंकाजी, श्रीओम श्रेष्ठ रोदन, हरिहर खनाल, हरि अधिकारी र होमनाथ सुवेदीका अन्तर्वार्ताहरू समावेश भएका छन्। यी अन्तर्वार्ताहरूबाट नै ती लेखकहरूको व्यक्तिगत र कृतिगत मूल्याङ्कन र साहित्यिक मान्यताका बारेमा जानकारी पाउन सकिन्छ।
८. मूल्याङ्कन र उपसंहार-
नेपाली साहित्यमा छाएका कृष्ण बजगाईं एक सफल कथाकार र नियात्राकार हुन्। उनी सम्पादन कार्य गरेर नेपाली साहित्यको प्राज्ञिक कार्यका निम्ति पनि समर्पित छन्। उनी वरिष्ठ लघुकथाकार हुन् भने एक कुशल नियात्राकार पनि हुन्। उनका पुस्तकहरूको सूची हेर मात्र पनि उनी एक समर्पित लेखक हुन्। विदेशमा बसेमा पनि उनीभित्र नेपाल र नेपालीप्रति गहिरो अनुराग प्रेमभाव पाइनाले उनका नियात्रा लेखनमा पनि त्यसको झल्को पाइन्छ। उनी जीवनवादी साहित्यकार हुन्। यो जीवनलाई व्यस्त बनाई, सकारात्मक, सक्रिय उर्जाशील बनाउन उनी लागिपरेका छन् भने पाठकलाई पनि यस्तै सकारात्मक सन्देश दिन्छन्। आफ्ना बाइसवटा पुस्तकहरू नै उनको कामको लेखाजोखा हुन्, साक्षी हुन्। उनी आफ्नो काम गरिरहन्छन्, डुलिरहन्छन्, संसार घुम्दा उनले पाठकहरूलाई आफुसंगै घुमाइरहेका हुन्छन्, आफ्नो अनुभव र अनुभूति सुनाइरहेका हुन्छन्। कथाका रूपमा, कविताका रूपमा कहिले नियात्रा निबन्धका रूपमा, अनलाइन पत्रिका सम्पादन- प्रकाशन गरेर अनि कहिले विज्ञ समीक्षितशोध पत्रिकाको सम्पादन प्रकाशन गरेर नेपाली साहित्यलाई नै सेंवा प्रदान गरिरहेका छन्। आफु जहाँ गए पनि नेपाली साहित्यको उत्थानमा नै समर्पित छन्।
कालिम्पोङ