उत्तरी ब्रिसबेनको ब्रेण्डल उपनगरको एउटा अपसप (प्रयोग गरिएका सामानहरू बेच्ने पसल) बाट जोहनले B&A Co. ब्राण्डको एउटा शर्ट किन्यो । नयाँ र प्रयोग नगरेको जस्तै लाग्ने शर्ट कालो चम्किलो रंगको थियो । नयाँ ब्राण्डेड त्यस्तै शर्टको मुल्यको तुलनामा पाँचप्रतिशत जति पनि तिर्नुपरेन । जोहन आफैंसँग मख्ख पर्यो, राम्रो सामान पाइएकोमा । अपसपको मुख्य आकर्षण पनि त्यही हो - प्रयोग गरिएका र पुनःप्रयोग गर्न मिल्ने व्यक्तिगत र घरायसी सामानहरू, ब्राण्डेड र संग्रहणीय चीजहरू किफायती दाममा पाइने ।
जोहन ग्राहम्स, ४३ बर्ष, एकल बाबु थियो । उसकी श्रीमती ईनोवाको दुईबर्षअघि कार दुर्घटनामा निधन भएपछि छोरो लुकासलाई साथ लिएर वार्नर उपनगर क्षेत्रमा बस्थ्यो । जोहन सँधै बिहान ०८:४० बजे लुकासलाई गार्वाला स्ट्रीटमा रहेको यौटा सरकारी विद्यालयमा छोड्न जान्थ्यो । सातवर्ष उमेरको लुकास बिद्यालयमा दोस्रो बर्षमा पढ्दैथियो । जाडो मौसम मंगलबारको दिन जोहन अपसपमा किेनेको कालो शर्ट लगाएर छोरा पुर्याउन गयो । जोहनलाई कालो शर्टमा स्मार्ट देखिएको थियो । बच्चाहरू पुर्याउन आउने अभिभावकहरू कोही हतार गरेर फर्किंदैथिए, कोही शिक्षक शिक्षिकाहरूसँग आफ्ना बच्चाहरूका बारेमा कुरा गर्न पालो पर्खंदैथिए, फुर्सदिला चिनजानकाहरू बिद्यालय गेटबाहिरको क्यान्टीनमा कफि पिउँदै बिहानको घाम ताप्दै गफिंदैथिए । जोहन आफु शहरमा काम गर्न जान सँधै हतारमा नै हुन्थ्यो, त्यसदिन जोहनको बिदा परेकोले कफि पिउन रोकियो । त्यहाँ अर्को बच्चाको अभिभावक एकजना महिलाले "हेलो" भनिन्, जोहन एकछिन अलमलियो । उसले ती महिलालाई देख्न त देखेको तर यसअघि बोलचाल नभएको भएर अलमलिएको थियो । यताउता हेर्दा अरू कोही नदेखेर उनले पक्कै आफैलाई हेलो भनेकी रहिछन् भन्ने सोच्दै जोहनले अलिअलि मुस्कानसहित मसिनो स्वरमा "हेलो" भन्यो । चिनजान गर्दा उनी लुकासको साथी सिमोनीकी आमा जूली रहिछन् । जुलीको कफी तयार हुँदै थियो । जोहन फ्ल्याट ह्वाईट कफी मन पराउँथ्यो, त्यहि अर्डर गर्यो । जुलीले जोहनको शर्टको प्रशंसा गर्दै भनिन्, "कस्तो राम्रो शर्ट! यसले तिमीलाई राम्रो सुहाएको छ ।" जोहनले केहि लजाउँदै जवाफ फर्कायो, "धन्यवाद"! त्यसपछि उनीहरूबीच बच्चाहरूको पढाई लेखाई र अन्य शोखहरूको बारेमा कुरा भए ।
जुली एकल आमा । दुईवर्षमात्र भएको थियो उनको परिवार टाउन्सभिलबाट ब्रिसवेन सरेर आएको र यहाँ आएको केहि समयमा सडक दुर्घटनामा उनको श्रीमान् थोमसको मृत्यु भएको थियो । उनकी सिमोनी नाम गरेकी एकमात्र छोरी थिइन् । त्यो दिन जुलीको पनि बिदा थियो, उनी स्त्राथपाईन सपिंग सेन्टरमा एक गहनापसलमा काम गर्दथिइन् । दुवैजनाले कफी पिउन्जेल र कुराकानी गरुन्जेल जुलीले जोहनको शर्टको प्रशंसा दुईतीनपटक दोहोर्याईन् । उसलाई राम्रोसँग नियालेर हेरिन्, कतिपय बेला त जोहनलाई असजिलो पनि लाग्यो । हरेक पटकको प्रशंसालाई फिस्स हाँसेर, "धन्यवाद" भनिरह्यो । कफी पिइसकेर, "फेरि भेटौंला" भन्दै दुवैजना आआफ्ना गाडीतर्फ लागे ।
घरमा जोहनले शर्ट खोलेर हेंगरमा राख्न लाग्दा कल्लरको ट्यागमा उसको आँखा पर्यो, B&A Co., Since 1964, M साँच्चै राम्रो कम्पनी र ब्राण्ड । साथै शर्टको भित्रपटिको अर्को ट्यागमा ब्राण्ड र कम्पनीको विवरण अनि शर्ट धुने तरिकाका साथमा यौटा अतिरिक्त टाँक राखिएको थियो । त्यसमा नमेटिने मार्करले TS 2023/06 हातले लेखिएको थियो । जोहनले त्यो ट्यागलाई काटेर फाल्न कैंची लिएर आयो । तर फेरि के सोचेर हो काटेन, उसले शर्ट दराजमा राख्यो ।
अघिल्लो दिन नै पकाएर फ्रीजरमा राखेको नास्ताको प्लेट निकाल्यो र माइक्रोवेभ ओभनमा तताएर खान बस्यो । नास्ता खाँदैगर्दा जुलीसँगका कुराकानी र शर्टप्रति उनले गरेका टिप्पणीहरू एकएक गरी सम्झिंदै मुस्काउँदै गर्यो । उसको मुखबाट अनायासै आवाज निस्क्यो, "के यो शर्ट मेरालागि साँच्चै भाग्यशाली होला त?"
उता जुलीलाई पनि त्यो दिन बेग्लै अनुभुति भइरह्यो । जुलीले कहिलेकहिं मात्र देखेको जोहन आज कालो शर्टमा उनलाई धेरै पहिलेदेखिको चिनजान र नजीकको मानिसजस्तो लागेको थियो । जुलीले आफैंसँग प्रश्न गरिन्, "मैले पहिलो भेटमा नै उसको शर्टको त्यति धेरै प्रशंसा गर्नुलाई जोहनले कसरी लियो होला? म धेरै उत्साहित वनेको देख्दा के सोच्यो होला?"
भान्छाको थान्को मुन्को सकेर उनी सोफामा ढल्किइन् र नेटफ्लिक्समा आफुले हेर्न शुरू गरेको सेलिन सोङ्ग निर्देशित रोमाण्टिक फिल्म पास्ट लाईभ्स् पुनः हेर्न थालिन् । फिल्म हेर्दै गर्दा उनलाई आज जोहनसँगको उनको भेट र कुराकानी दशकौंको बिछोडपछि भेटभएका फिल्मका मुख्य नायक हे सुङ्ग र नायिका नोराको अवस्था जस्तो लाग्यो । फेरि एकमनले सम्झिइन्, "हैन, के नै भएको छ र! त्यसरी सोच्नलाई? बरू त्यो शर्टमा पो मेरो यति धेरै ध्यान किन गयो?" उनले आफुलाई आश्वस्त पार्न बिस्तारै फुस्फुसाइन्, "पक्कै त्यो शर्टमा केही विशेष छ" ।
दिउसो ३:३० मा बच्चाहरू लिनजाँदा जोहन र जुलीको भेट बिद्यालयको बाहिरी गेटमा नै भयो । जुलीले गाढा नीलो स्लिभलेस् वानपिस ड्रेस लगाएकि थिइन् । अनुहार र हातखुट्टाको गोरो रंग, हल्का खैरो कपाल, हातमा ड्रेससँग म्याचिंग रंगको पार्टी ब्याग र खुट्टामा चप्पल - जुली आज असाध्यै खुलेकी थिइन् । भेटको शुरूमा नै जोहनको मुखबाट निस्क्यो, "राम्रो ड्रेसअप! असाध्यै खुलेको छ तिमीलाई ।" जुलीले मन्द मुस्कानसहित जोहनलाई सानो स्वरमा भनिन्, "धन्यवाद" । र अर्को साथीसँगको कुराकानीलाई निरन्तर राखिन् ।
जोहनले केहिपरबाट जुलीलाई नजानिंदो ढंगले हेर्यो । नीलो ड्रेसमा जुली धेरै हदसम्म लुकासको आमा ईनोवा जस्तै देखिएकी थिइन् । जोहनले सम्झ्यो, दूईबर्षअघि कार दुर्घटनामा ईनोवाको मृत्यु हुनु केही पहिले उनीहरूले पाँचौं विवाहोत्सव मनाएका थिए । त्यसदिन ईनोवाले चर्म्साइडको माएरमा किनेको ‘फरेभर न्यू’ ब्राण्डको नीलो स्लिभलेस वानपिस ड्रेस लगाएकी थिइन् । असाध्यै खुलेको भनेर उपस्थित परिवार र साथीभाई सवैले ईनोवाको प्रशंसा गरेका थिए । त्यसको केहिदिन पछि ब्रिसवेन शहरबाट राति एक्लै घर फर्कनेक्रममा अल्वानी क्रिक छेउमा ईनोवाको कार दुर्घटनामा मृत्यु भयो । जोहन र लुकासले मुश्किलले श्रीमती र आमा बिनाको घर, पिडा र दुःखको समय सामना गरे । घरका हरेक सामानहरूले ईनोवाको याद दिलाई राख्दा जोहनमा उदाशी छाईरह्यो । लुकास पनि सँधै आमालाई खोजिरहन्थ्यो । सम्झना मेटाउन कै लागि उनीहरू बसेको पुरानो ठाउँ ब्रेण्डलबाट नयाँठाउँ वार्नर लेक्समा घर सरे । पुराना सामानहरू मार्केट प्लेसमा बिक्री गरे । ईनोवाका ड्रेसहरू च्यारिटीकालागि अपसपमा दिए । तर, आज फेरि जुलीको नीलो ड्रेसले जोहनलाई बिर्सिइँदै गरेका ईनोवाका सम्झनाहरू बल्झाइदियो । लुकास त्यतिबेलासम्म कक्षाबाट निस्किसकेको थियो । जुली अझै अर्की महिलासँग गफिंदै थिइन्, जोहनले एकपटक उनलाई हेर्यो र आफैंसँग बिस्तारै बोल्यो, "ठ्याक्कै ईनोवा जस्तै" ।
जुलीकी छोरी सिमोनी कक्षाबाहिर निस्केपछि जुलीका आँखाहरूले जोहनलाई वरिपरि खोजे, जोहन लुकाससँग बिद्यालयको गेटछेउ पुगिसकेको थियो । जोहनले पछि फर्केर हेर्दा उनीहरूका आँखा जुधे, जुलीले बिदाईको हात हल्लाइन्, जोहनले पनि त्यसै गर्यो । घर फर्किंदा बाटोमा जोहन सोच्दैथियो, "त्यो नीलो ड्रेसमा केही बिशेष छ, नत्र कसरी जुलीप्रति म यति धेरै आकर्षित भएँ?"
घरमा गएर लुकासलाई खाजानास्ता दिइसकेपछि जोहनले दुईबर्ष अघिको विवाहोत्सवका तस्वीरहरूको अलबम हेर्यो । सवै तस्वीरमा ईनोवा नीलो ड्रेसमा सजिएर प्रफुल्ल देखिन्थिन् । उसले आँखा झिमझिम गर्दा कतिपय तस्वीरमा ईनोवाको ठाउँमा जुलीलाई देख्यो ।
भोलिपल्टदेखि जोहनको फेरि काम शुरूहुन्थ्यो । बेलुकाको खाना खाईसकेर जोहनले आफु र लुकासलाई अर्कोदिनकोलागि खाजा र खाना तयार पारेर फ्रिजरमा राख्यो । लुकासको सुत्नेकोठा पस्ने समय निश्चित थियो - बेलुका ८:०० बजे । जोहन भने भान्छाको राखनधरन सकेर र घरका झ्यालढोकाहरू बन्द गरेर सँधै झैं ९:०० बजे ओछ्यानमा पस्यो ।
ट्रिंङ् ट्रिंङ् ट्रिंङ्...मुल ढोकाको बेल बज्यो । जोहनले भित्ताको घडी हेर्यो, मध्यरात बाह्र बजेको थियो । "यति राति को हुन सक्छ?" जोहनले आफैंसँग सोध्यो । उठेर सुत्ने कोठाको बत्ती बाल्यो, सुत्दा लगाएको गाउन मिलायो । बिस्तारै कोठाबाट निस्केर लबीको बत्ती बाल्यो । उसले एकमनले सोच्यो, "मैले सुन्न पो गल्ती गरें कि?" । त्यसैबेला फेरि बेल बज्यो । जोहनको सास बढ्यो, मनमा डर पस्यो । उसले बिस्तारै सोध्यो, "को हो बाहिर?" बाहिरबाट महिला आवाज आयो, "म ईनोवा" । जोहनको होसहवास् उड्यो, "हो! यो ईनोवा कै आवाज हो । तर कसरी?" जोहनले फेरि सोध्यो, "के तिमी ईनोवा नै हौ बाहिर?" उताबाट जवाफ आयो, "हो! म ईनोवा नै हुँ । मलाई विश्वास गर" । जोहनले डराउँदै ढोका खोल्यो । ढोका अगाडि ईनोवा नीलो स्लिभलेस् वानपिस ड्रेसमा उभिएकी थिइन् । "के मलाई भित्र बोलाउँदैनौं" ईनोवाले सोधिन् । "कृपया, भित्र आऊ!" जोहनले आग्रह गर्यो । भित्र पस्दै गर्दा ईनोवाले भनिन्, "तिमी त उस्तै रहेछौ, म कस्ती देखिएकी छु?" जोहनको छोटो जवाफ थियो, "पहिला भन्दा राम्री ।" "धन्यवाद, म किन आएको भनेर तिमी डराउनु पर्दैन, धेरै बेर बस्दिन, केहि कुरा गर्नु छ तिमीसँग, अनि म गइहाल्छु" ईनोवाले भनिन् । जोहन असमञ्जस्यमा पर्यो । उसले आफैंलाई प्रश्न गर्यो, "हे भगवान, यो कस्तो अचम्मको अवस्था! हैन! तिमी जान पाउन्नौ यतै बसौं भन्ने कि? हुन्छ! तिम्रा कुरा भनेर जाऊ, भन्ने?" दुवैजना बैठक कोठाको सोफामा अलग अलग बसे ।
जोहन नबोलेपछि ईनोवा भन्दै गइन्, "तिमी र लुकासलाई मैले भुल्न सकेकी छैन, शायद तिमीहरूले पनि मलाई भुलेका छैनौ होला । तर तितोसत्य त यो हो कि अब सँधै नभुलेर पनि तिम्रो जिन्दगी चल्दैन जोहन! आज बिहानदेखि तिमी र जुलीबीच जुन हाई हेलो शुरू भएको छ, त्यसमा म हृदयदेखि खुशी छु । तिमीले अपसपमा कालो शर्ट किन्नु र आज बिहान लगाउनु यौटा संयोगमात्र थिएन । मेरो च्वाईसमा मैले त्यो शर्टमा तिम्रा आँखा र मन लगाईदिएको थिएँ । त्यो शर्ट जुलीका श्रीमानको हो । दुईबर्षअघि उनी शहरबाट यौटा बर्थ डे पार्टीपछि आफै ड्राइभ गरेर फर्कंदा कार दुर्घटनामा परेर बिते । त्यो रात जुलीका श्रीमानले त्यहि कालो शर्ट लगाएका थिए । शर्टको ट्यागमा हातले TS 2023/06 लेखिएकोछ, त्यसको अर्थ Thomas Smith, June 2023 हो । त्यो शर्टमा जुलीको दील बसेको छ, त्यसैले तिमीलाई त्यो शर्टमा देख्ने बित्तिकै उनी तिमीप्रति आकर्षित भएकी हुन् । अब फेरि सुन! आज दिउँसो जुलीले लगाएको नीलो ड्रेस यो अहिले मैले लगाएको ड्रेस हो । मेरो कार दुर्घटनामा मृत्यु हुँदा यहि ड्रेस लगाएकी थिएँ । यसको ट्यागमा IH 2023/06 हातले लेखेको छ, त्यसको अर्थ Inowa Huges, June 2023 हो । पछि कसैले अपसपमा च्यारिटीमा दिएको मलाई मनपर्ने यो नीलो ड्रेस घुम्दै फिर्दै जुलीको हातमा पुगेको हो । त्यहि भएर तिमीले जुलीलाई नीलो ड्रेसमा देख्ने बित्तिकै म जस्तै देख्यौ । त्यसमा केहि बिग्रेको छैन, कुनै नयाँ सम्वन्ध जोडिन केहि न केहि संयोग त मिल्नैपर्छ । भोलि लुकासलाई पुर्याउन जाँदा तिमी त्यो कालो शर्ट लगाएर जाऊ । जुलीले समय दिइन् भने एकपटक अवश्य भेट । जुलीको बारेमा मलाई अरू धेरै त थाह छैन, तर अहिलेसम्म उनी पनि एकल नै छन् ।"
जोहन अचम्म मानेर सुनिमात्र रह्यो, अन्त्यमा आँट गरेर सोध्यो, "ईनोवा! म त तिमीले हाम्रा कुरा गर्छ्यौ होला भनेको त कता कसको कुरा पो गर्यौ । के तिमीले मलाई, लुकासलाई भुली सक्यौ?" ईनोवाले भनिन्, "म त अर्को लोकको भईसकें, मैले चाहेरपनि अब तिमीहरूलाई पाउन सक्दिन, तर तिमीहरू खुशी रहन अर्को नयाँ जीवन जिउन प्रयत्न गर्न त सक्छौ नि!" उनले थपिन्, "हामीले साथ बिताएका समयलाई मिठो स्मृतिमा राखेर म अर्को संसारबाट सदैव तिम्रो र लुकासको भलो चिताइरहन्छु । तिमीहरूलाई मेरो सम्झना आए, म फेरि पनि सपनीमा आउनेछु ।" जोहनका आँखा रसाए, केहि बोल्न सकेन ।
"मेरो अब जाने बेला भयो, एकपटक लुकासलाई हेरेर जान्छु" भन्दै ईनोवा सोफाबाट उठिन् । लुकास सुत्ने कोठामा पसेर सिरक उघारेर लुकासको अनुहार हेरिन्, एकपटक मुस्कुराइन् । नजानिंदो रूपमा अर्कोतर्फ फर्केर आँसु पुछिन् । लुकासको कोठाबाट सरासर ढोकातर्फ गइन्, जोहनले ढोका खोल्नु अघि यौटा कुरा भन्न बिर्सेंछु भन्दै ईनोवाले भनिन्, "जुलीसँग कुराकानी हुँदा अहिले हामीबीच भएका कुनै पनि कुराहरू नसुनाउनु, उनी डराउन सक्छिन् ।" जोहनले ढोका खोल्यो, ईनोवा बाहिर निस्किइन् । जोहनले ढोकाको जालीबाट ईनोवा गएको हेरिरह्यो । ड्राइभ वे कटेर सडकपार गर्न सडकबीचतिर पुग्दा दायाँ तर्फबाट द्रुतगतिमा आएको कारले ईनोवालाई हिर्कायो । ईनोवा चिच्याइन्, अलिकति हावामा उडेर भुईंमा पछारिइन्, त्यो कारबाट उत्रिएका दुईजना मानिसले तत्काल उनलाई उठाएर कारमा हालेर हुँइकिए । त्यस्तो डरलाग्दो घट्ना आँखाअघि देख्दा जोहन जोडले चिच्यायो, तर बोली आएन । दौडेर बाहिर जान खोज्यो, खुट्टै सरेनन् । उसलाई खलखली पसिना आयो, उकुसमुकुस हुँदै जोहन ब्युझियो । कस्तो सपना! जोहनले मोवाईलमा समय हेर्यो, बेलुकीको १०:३० मात्र भएको थियो ।
उठेर उसले बत्ती बाल्यो, पानी पियो । ढोकातिर गयो, ढोका खोलेर बाटोतिर हेर्यो, कतै केहि थिएन । ढोका थुनेर, बत्ती निभाएर फेरि सुत्न ओछ्यानमा पसेको मात्र थियो, मोबाईलको रिंग बज्यो । Caller Unknown बाट आएको कल रहेछ, उठाउँ कि नउठाउँ सोच्दै जोहनले कल उठायो । "हेलो जोहन! म जुली, ढिलो फोन गरेकीमा क्षमा चाहन्छु, तिम्रो नम्वर मैले दोस्रोबर्षका बिद्यार्थीहरूको प्यारेन्ट्स् सुचीबाट लिएकी हुँ । तिमीसँग यौटा अर्जेन्ट कुरा गर्नुपरेकाले राति नै फोन गरेकी हुँ । मैले तिम्रो निद्रा त डिस्टर्व गरिन?" जुलीले एकसासमा भनिन् । "ओहो जुली! केही डिस्टर्व भएको छैन । फोन गरेकोमा धन्यवाद ! म के सहयोग गर्न सक्छु ।" जोहनले भन्यो । जुलीले केहिछिन रोकिएर भनिन्, "भोलि बिहान तिम्रो समय कस्तो छ? के तिमीलाई म विद्यालयको गेट बाहिर क्यान्टीनमा कफीका लागि निम्त्याउन सक्छु?" जोहनले एकछिन पहिलेको ईनोवासँगको कुरा सम्झ्यो र तुरुन्तै भन्यो, "हुन्छ, म लुकासलाई कक्षामा छोडेर फर्किदा तिमीलाई भेट्छु ।" जुलीले बिदा माग्दै भनिन्, "धन्यवाद, भोलि भेटौला । शुभरात्री! " जोहनले पनि "धन्यवाद, भोलि भेटौंला" भन्यो । दुवैले फोन काटे ।
बिहान भयो । सवै तयारी सकेर जोहनले कालो शर्ट लगायो र समय मै लुकासलाई लिएर बिद्यालय गयो । क्यान्टीनमा पर्खिरहेकी जुलीसँग भेट भयो । जुलीले पनि नीलो ड्रेस लगाएकी थिइन् । "हाई! तिमीलाई कस्तो छ?" दुवैको मुखबाट एकैचोटी निस्क्यो । दुवै मुस्कुराए । जुलीले फेरि जोहनको कालो शर्टको प्रशंसा गरिन्, "यो शर्टमा तिमी राम्रो खुलेको छौ" । जोहनले ईनोवाले सपनामा भनेको कुरा सम्झ्यो र बिस्तारै भन्यो, "धन्यवाद! तिमीपनि नीलो ड्रेसमा खुबै खुलेकी छौ ।"
जोहनले अघिल्लो रातको जुलीको फोनको कुरा निकाल्यो । त्यसपछि जुलीले जोहनलाई सुनाएका कुराहरू र सपनामा ईनोवाले भनेका सवै कुराहरू दुरुस्त मेल खाए । दुवैले कालो शर्ट र नीलो ड्रेसको भित्रपटिको ट्याग हेरे । शर्टको ट्यागमा यौटै मसी र अक्षरमा TS 2023/06 र नीलो ड्रेसमा IH 2023/06 लेखिएको थियो । जुलीले भनिन्, "हो, थोमसले त्यो रात यहि शर्ट लगाएको थियो" । जोहनले सहानुभुति दर्शायो, "कस्तो दुःखद! कहिले र कहाँ भएको थियो त्यो?" "११ जुन २०२३, अल्वानी क्रिक, ओल्ड नर्दर्न् रोड", जुलीले त्यति भनी नसक्दै जोहन झस्कियो । उसको मुखबाट अचानक निस्क्यो, "लौ कसरी! त्यहि रात र त्यहि ठाउँमा त हो मेरी श्रीमती ईनोवाको पनि मृत्यु भएको । त्यसरात ईनोवाले नीलो ड्रेस लगाएकी थिइन् ।" जुलीले थप भनिन्, "हो, मलाई थाह छ! मेरो र तिम्रो संसार उजाड भएको कालो रात!" त्यसपछि मात्र जुलीले अघिल्लो राति सपनामा थोमससँग भेट भएको कुरा जोहनलाई बताइन् । जुलीले भनिन्, "थोमस र ईनोवाको कार एक अर्कोसँग टकराएका थिए । दुवैजनाको लाश क्षतविक्षत भएकोले सम्वन्धित परिवारको स्विकृतिमा प्रहरीले हस्पिटललाई जिम्मा दिएर उतै सद्गत गरेको थियो ।" जुलीका कुरा सुनेर जोहन सोच्दै थियो, "कसरी थोमस र ईनोवाले भनेका कुरा दुरुस्त मिलिरहेका होलान्? फेरि दुवै लुगाका ट्यागमा यौटै खालको अक्षर अनि लेखाई ढाँचा यौटै कसरी भयो?" जुलीले थपिन्, "मैले ब्रेण्डलको अपसपमा किनेको यो नीलो ड्रेस ईनोवाको रहेछ, यो उनलाई मनपर्ने ड्रेस रहेछ ।" यति सुनिसकेपछि जोहनले ईनोवाले नभन्नु भनेको भएपनि जुलीलाई आफुले ईनोवालाई सपनामा भेटेको र थोमसले जुलीलाई भनेका कुराहरू ईनोवाका कुराहरूसँग मेल खाएको बतायो । "यसमा पक्कै केही रहस्य छ", दुवैको मनमा यौटैकुरा आयो । "हुनसक्छ!, थोमस र ईनोवा एक अर्कालाई जिवीत हुँदै चिन्दथे र अहिले अर्को लोकमा सँगै बस्दछन् या अहिले पनि दुवैजना ज्युँदैछन् र सँगै बस्दछन्", जोहनले जुलीतिर हेर्दै भन्यो । जुलीले पनि जोहनलाई हेरेर भनिन्, "हुनसक्छ!" ।
"अब छुटौं, काममा पनि जानुछ" जुलीले भनिन् । जोहनले ईनोवाले भनेको कुरा सम्झ्यो र जुलीलाई हेरेर सोध्यो, "म तिमीलाई यौटा व्यक्तिगत कुरा सोध्न सक्छु?" "सक्छौ", जुलीको जवाफ थियो । जोहनले लामो सास फेरेर बोल्यो, "के तिमी अझै एकल छौ?" जुलीले हाँसेर जवाफ दिइन्, "छैन! हिजोसम्म एकल थिएँ तर अहिले एकजनासँग कुरा गर्दैछु ।" जोहन अकमकायो, के भनौं जस्तो गर्दै उसले "ए!" मात्र भन्यो । जुलीले अलिक लाडे स्वर पारेर जोहनलाई त्यहि प्रश्न सोधिन्, "अनि तिमी नि! के तिमी अझै एकल छौ?" जोहनले पनि जुलीकै जवाफ फर्कायो, "छैन! हिजोसम्म एकल थिएँ तर अहिले एकजनासँग कुरा गर्दैछु ।" दुवैजना खित्का छोडेर हाँसे । ईनोवाले उसलाई भनेको कुरा जोहनले आफ्नै शव्दमा सुनायो, "हामीहरू खुशीरहन ‘अर्को नयाँ जीवन’ जिउन प्रयत्न गर्न त सक्छौं नि!" जुलीको आँखामा खुशीका आँसु भरिए, दुवैले एकअर्कालाई कसिलो अँगालोमा बाँधे । सँधै बितेका कुराले थिचिएर जिन्दगी चल्दैनथियो, त्यसैले आज फेरि यौटा नयाँ सम्वन्ध र ‘अर्को नयाँ जीवन’ को आधार तयार हुँदैथियो ।
त्यसैबेला, उनीहरू उभिएको ठाउँबाट सडकपारी ईनोवा र थोमस हिड्दै गरेको देखियो । जुली र जोहन दुवैजनाले प्रष्टसँग देखे र चिने । ईनोवाले नीलो स्लिभलेस् ड्रेस र थोमसले कालो शर्ट लगाएका थिए । जुली र जोहनले केहि प्रतिक्रिया व्यक्त गर्न नभ्याउँदै ईनोवा र थोमस सडकको मोडमा ओझेल परे । जुली र जोहनले एक अर्कालाई अचम्म मानेर हेराहेर गरे ।
कफीको पैसा जुलीले तिरिन् । दुवैजना छुटेर आ-आफ्ना घर गए । घर पुगेर जोहनले जुलीलाई फोन गर्यो । त्यो नीलो ड्रेस लिएर ब्रेण्डलको अपसपमा चाडो आउन भन्यो । आफुपनि कालो शर्ट साथमा लिएर अपसपमा पुग्यो । दुवैले सल्लाह गरेर कालो शर्ट र नीलो ड्रेस अपसपका व्यवस्थापकलाई च्यारिटीको लागि दिए । त्यहाँका व्यवस्थापक फेलिक्सले जुली र जोहनलाई च्यारिटीको लागि धन्यवाद दिंदै भने, "भगवानले तपाईहरूलाई आशिर्वाद दिउँन्! अब यी लुगाहरूले फेरि 'अर्को नयाँ जीवन' पाउनेछन् ।"
हिजोआज जुली र जोहन एकअर्कासँग रिलेसनसीपमा छन्, दुवैजना खुशी देखिन्छन् र 'अर्को नयाँ जीवन' को खोजमा आशावादी भएकाछन् । तर, उनीहरूमा यौटा कौतुहलता भने अझै बाँकी छ, "११ जुन २०२३, अल्वानी क्रिक, ओल्ड नर्दर्न् रोडको कार दुर्घटनाको रहस्य के थियो?"
कोटेश्वर, काठमाण्डौ, (हालः ब्रिसवेन, अस्ट्रेलिया)