ईर्ष्या भनेकै साक्खे रहेछ
डाह भनेकै साक्खे रहेछ
पोल्ल्याहा भनेकै आफन्त रहेछ
छुल्ल्याहा भनेकै आफन्त रहेछ
कहीँ-कतै जानु भएन
चकचकी शुरू भइहाल्छ
कहीँ-कतै जानु भएन
बदमाशी शुरू भइहाल्छ
यसो उता फर्किनु भएन
आँखा फुकालिहाल्छ
पिठिउँपछाड़ि।
कति चाँड़ो फैलिएको उसको मुखे भाइरस !
परोपकारी बोझले थिचिएको गधाका लागि !
कति साह्रो चिप्लिएको उसको जिब्रे चुक्ली !
हरिश्चन्द्रे सोचले पिल्सिएको गठ्ठेका लागि !
चुसुवाहरूको प्रतिवादमा जाग्नु नि
उसको भाइरसे मुख !
थिचुवाहरूको विरुद्ध चल्नु नि
उसको चिप्ले चुक्ली !
हत्तेरी !
मेरो शत्रु भनेकै साक्खे रहेछ
एकताको छातीमा भ्वाङ पार्ने
गोला भनेकै आफन्त रहेछ।
अहो !
जलन भनेकै प्रेरणाको स्रोत पो रहेछ
आरिस भनेकै सिर्जनाको ओत पो रहेछ
मेरा निम्ति
म धेरै माथि छु भन्ने बोध पो रहेछ ।
डाउहिल, खरसाङ, भारत