18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पूर्वीय आख्यान सिद्धान्तका आधारमा भानुभक्तीय रामायणको विवेचना

कृति/समीक्षा नवीन पौड्याल July 9, 2025, 5:55 pm
नवीन पौड्याल
नवीन पौड्याल

१.संस्कृत साहित्य र महाकाव्य
संस्कृत र भारतीय साहित्य परम्परामा महाकाव्य महत्त्वपूर्ण स्थान रहेको छ। नाटकका साथै महाकाव्यका तीन तत्वहरूको उल्लेख पाइन्छ- वस्तु, नेता र रस। यद्यपि महाकाव्य मुख्य त्तव नै कथावस्तु र यसको सङ्गठन हो। यसका आफ्नै संरचना हुन्छ। धेरै वर्ष लगाएर, धेरै चोटिको लेखनमा खुब सचेत भएर, भव्य भाव, भव्य शैली र भव्य भाषामा लेखिने काव्य नै महाकाव्य हो। वस्तुलाई प्रबन्ध काव्यको एउटा प्रमुख घटक तत्वका रूपमा महत्त्व दिइएको छ। वस्तुभित्र धेरै कुराहरू समेटिएका छन्। कथावस्तुका विभिन्न मोड उपमोडलाई अर्थप्रकृति र कार्यावस्थाका रूपमा अध्ययन गरिन्छ। यसका साथै यी अर्थप्रकृत्ति र कार्यावस्थाको योगलाई पञ्चसन्धिसित गाँसेर हेरिन्छ। बीज, विन्दु, पताका, प्रकरी र कार्य अर्थप्रकृतिका अङ्गहरू हुन भने प्रारम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति र फलागम कार्यावस्थाका मोडहरू हुन्। यसैगरी बीज प्रारम्भको सन्धिस्थलको नाम मुखसन्धि, विन्दु र यत्न मिलेर प्रतिमुख सन्धि, पताका र प्राप्त्याशा मिलेर गर्भसन्धि, नियताप्ति र प्रकरी मिलेर अमर्श सन्धि र कार्य र फलागम मिलेर निर्वहणसन्धि बन्दछन्।

रामको जीवनी नै यसको मुख्य कथा हो। त्रेता युगमा रावणको दुस्ट्याइँ, द्रोह र संसारलाई दुःख दिने कार्यलाई कथाको बीज मान्न सकिन्छ। रामको जन्मको तयारी र जन्म र उनको बाल्यावस्था, सितासित विवाह र वनगमन यसको कार्यावस्थाको प्रारम्भ भाग हो। रावणको अन्त्यलाई लक्ष्य लिनु विन्दु हो भने यता त्यसका निम्ति गरिने प्रयास यत्न हो। मूल कथालाई सहयोग गर्न अरू प्रासाङ्गिक कथाहरू जस्तै, हनुमान, इन्द्रजीत, कुम्भकर्ण, बालि-सुग्रीव इत्यादि गाँसिएर आउने पताका, अझै त्यसलाई सघन र संश्लिष्ट पार्न विभिन्न ससना उपकथा, उपघटना आदि आई अति रोचक बनाई कथालाई जटिल बनाउने प्रकरी भाग हो। यसको कार्यावस्था रावणले सीता हरेर लङ्का पुर्‍याउनु, रामको संकटावस्था आउनु इत्यादि प्राप्त्याशा भाग हो। अन्तमा सुग्रिव र हनुमानका विभिन्न सहयोगले राम लङ्का गई रावणसित घनघोर लडाइँ गरी विजय हासिल गर्नु यसको कार्य हो भने सीताको खोजी पत्ता लगाई राम लङ्का गई रावणसित युद्ध गरी विजय हासिल गर्नु, संसारलाई रावणको दुःख-कष्टदेखि मुक्त पार्नु इत्यादि यसको कार्यावस्थाको फलागमको अवस्था हो। यता पञ्चसन्धिलाई पनि सँगसँगै जोड्दै हेर्न सकिन्छ।

२.भानुभक्तीय रामाय़ण के महाकाव्य हो?
भारतीय साहित्यमा रामायणको ठुलो स्थान छ। रामकथालाई आधार बनाएर विभिन्न विधा उपविधामा लेखिएका छन्। कतै महाकाव्यका रूपमा कतै नाटकका रूपमा, कतै गद्याख्यानका रूपमा प्रस्तुत गरिएका छन्। यसलाई उपजीव्य बनाएर यसका विभिन्न कथा-उपकथा, घटना-प्रसङ्ग आदिलाई लिएर पनि धेरै प्रकीर्ण काव्यहरू लेखिएका छन्। उदाहरणका निम्ति हाम्रै नेपाली साहित्यमा नै भानुभक्तको रामायण अनुवाद काव्य, लक्ष्मीप्रसाद देवकोटाका नेपाली रामायण, सीताहरण र रावण जटायु युद्ध जस्ता खण्डकाव्यहरू, लेखनाथ पौड्यालको मेरो राम खण्डकाव्य, सोमनाथ सिद्यालको आदर्श राघव महाकाव्य, प्रेमराज पौड्यालको रामायण काव्य (उति चर्चा नपाएको, वि.सं. १९८२ मा प्रकाशित), चक्रपाणी चालिसेको संक्षिप्त रामायण आदि प्रमुख हुन्।

भानुभक्तको रामायणलाई महाकाव्य नै मानिन्छ। यसमा महाकाव्यमा हुनुपर्ने वस्तु प्राय सबै लक्षण र नियमावली विद्यामना छन्। भानुभक्तीय रामाय़णमा औपचारिक रूपमा मङ्गलाचरण नभए पनि शुरूको एक दिन नारद सत्यलोक पुगिगया लोक्‌को गरूँ हित भनी भन्नेबाट नै वस्तुनिर्देशात्मक मङ्गलाचरणको निर्वाह गरिएको पाइन्छ। रामायणको शुरूमा नारद र ब्रह्मको संवादबाट नै लोककल्याणको कामना गरिएको भविष्यको बिग्रिने सम्भावना रहेको समाज, मानिसको मतिभ्रष्ट अवस्था आदिबारे चिन्ता र चिन्तन गरिएको छ। यस महाकाव्यमा वीर रसलाई अङ्गीरस र अन्यलाई अङ्गरस मान्न सकिन्छ। यसमा पनि प्रकृति चित्रण, चाडपर्वको वर्णन, विवाहोत्सव, यज्ञादि आदिको निर्वाह भएको छ। रामजस्ता धीरोदात्त नायक, सीताजस्ती स्वकीया नायिका, पञ्चसन्धिको निर्वाह आदि सबै विद्यामान छन्। यसमा लोककल्याणको कामना गरिएको छ। यसमा धर्म अर्थ, काम मोक्ष चार पुरूषार्थको वृतान्त पाइन्छ। काव्य पढ्दा वा सुन्दा पाठक वा स्रोतालाई आनन्दमग्न बनाउँछ। यसलाई महाकाव्य नै मान्न सकिन्छ।

३.भानुभक्तको रामायणको आधिकारिक कथावस्तु –
रामायणका सात काण्डहरूमा रामकथालाई विस्तृत रूपमा वर्णन गरिएको छ। रामको मुख्य कथालाई सहयोग गर्न र उत्कर्षता दिन प्रासाङ्गिक कथावस्तुहरूको प्रस्तुति पाइन्छ। सातकाण्डकै आधारमा यसको आधिकारिक कथावस्तुलाई संक्षिप्तमा अध्ययन गर्न सकिन्छ। प्रत्येक काण्डका वस्तुसङ्गठन छन् अनि सबैमा कथावस्तुको आदि, मध्य र अन्त्यको निर्वाह भएको पाइन्छ।

(क) बालकाण्ड – यस काण्डलाई रामायणको कथानकीय प्रारम्भिक भाग मान्न सकिन्छ। यस काण्डमा धेरै घटना र प्रसङ्गहरू सघन रूपमा समेटिएका छन्। शिवले पार्वतीलाई रामको अवतारको कथा सुनाउँदै जान्छन्। रावणको उपद्रोको कारण रामको जन्म ग्रहण र बाल्यकाल, विश्वमित्रले होमको सुरक्षाको निम्ति राजा दशरथलाई रामको गुहार माग्नु, राम-लक्ष्मण गई मारीच -सुबाहुलाई मार्नु जनकपुर गई शिवको पुरानो शिवधनु भाँची राजा जनककी छोरी सीतालाई विवाह गर्नु, बाटामा परशुरामसित भेट हुँदा परशुरामले रामको परीक्षा लिनु र राम सहजै उत्तीर्ण हुँदा परशुरामले माफी माग्नु र अन्तमा दरबार फर्किनु यसको मुख्य कथा हो। बीचमा ताडका वध गर्नु, गौतमीलाई चरण स्पर्श दिएर उद्धार गर्नु आदि जस्ता ससाना घटना संलग्न छन्।

(ख) अयोध्याकाण्ड – नारद आएर रामलाई आफ्नो कर्तव्य सम्झाउनु, बुढा दशरथ राजाले रामलाई राजगद्दी सुम्पने उपक्रम गर्दा कैकेयीले रामलाई बनवास र भरतलाई राजगद्दी खोज्नु, राम सीता र लक्ष्मण वनवासका लागि प्रस्थान गर्नु, नन्दीग्राम, चित्रकुट हुँदै अत्रि ऋषिको आतिथ्यमा रहनु आदि पर्दछन्।

(ग) अरण्यकाण्ड – यस काण्डमा चित्रकुटमा बसेका बेला रावणकी बहिनी सुपर्णखासित रामहरूको भेट हुँदा उसले रामलाई बिहे गर्ने इच्छा व्यक्त गर्नु रामले लक्ष्मणलाई देखाउनु तर उनले पनि नमान्दा सुपर्णखाले सीतालाई झम्टिन खोज्दा रामको आदेश पाई लक्ष्मणले नाक र कान काटी पठाइदिन्छन्। उ दाजु रावणसित गएर पोल लगाई सीताहरणको निम्ति उक्साउँदछे। यसपछि रावणले भिक्षुकको भेषमा आई सीताहरण गरी लङ्का पुर्‍याएको मूल प्रसङ्ग पाइन्छ।

(घ) किष्किन्धाकाण्ड – रामहरू ऋष्यमूक पहाड गएर सुग्रीवसित मित्यारी लाएको, बालिवध गरी सुग्रीवलाई सीताको खोजीका निम्ति निवेदन गरेको मुख्य घटना हुन्। यसभित्र पनि आफ्नै किसिमको कतावस्तुको संगठन रहेको छ। यसमा कथावस्तुको आदि, मध्य र अन्त्यको राम्रो निर्वाह भएकको छ।

(ङ) सुन्दरकाण्ड – यस काण्डमा सुग्रीवका वीर वानर हनुमान उडेर लंङ्का गई सीताको खोजी गर्नु, सीतालाई भेटेर रामकहानी सुनाउनु, रावणको वगैंचामा उपद्रो गरी रावणको सम्मुख हुनु र रावणलाई सम्झाउनु, रावणले शास्तीका रूपमा पुच्छर डड़ाउने हुँदा हनुमान उडेर गई लङ्का दहन गरी राम भए ठाउँसम्म फर्केर जानु मुख्य घटना हो। आमपाठकका निम्ति यो काण्ड सबैभन्दा रमाइलो, आनन्द लागेर सुन्दर काण्ड भनिएको हो। यस काण्डको कथावस्तुलाई पनि आदि, मध्य र अन्त्यमा विभाजन गर्न सकिन्छ। हनुमान आफ्ना साथीभाइ नील, अङ्गद आदिसित विदा मागेर मनमा काम फत्ये गर्छु भन्ने दृढ्ता लिएर आफ्नो उड्ने शक्तिका साथ लङ्कातिर प्रस्थान गर्नु, बाटामा सुरसा र सिंहिकाहरू आएर आफ्नो बाटो अवरोध गरी त्यसलाई पन्छाएर अघि बढ्नुसम्मलाई आदिभाग मान्न सकिन्छ। त्यसपछि मैनाक पर्वतले हनुमानको बुद्धि बल र दृढता जाँच गर्न मैनाकमा बस्न लाउनु तर त्यहाँबाट हिँडिहाल्नु, अनि लङ्का पुगेर त्यहाँको प्राकृतिक सौन्दर्यपान गर्नु, प्रवेशद्वार पुगेर लङ्किनीको लात खानु, लङ्किनीलाई जितेर आशीर्वाद पाउनु, सीता भेट्नु आदि जम्मै मध्यभाग हुन्। त्यस्तै गरी हनुमानले विभिन्न काम तमाम गरेर सकुशल किष्किन्धा फर्कनुलाई अन्त्य भाग मान्न सकिन्छ। यस काण्डमा पनि कौतूहल, सङ्घर्ष, सङ्कट, सङ्घर्षह्रास आदिको प्रयोग भएको पाइन्छ। यस काण्डका केन्द्रीय चरित्र हृनुमान हुन् भने सीता, रावण, मेघनाथ आदि सहायक पात्र-पात्रा हुन्। सुरसा, सिंहिका, लङ्किनी, विभिषण, त्रिजटा, मैनाक, आदि गौण पात्र हुन्। अक्षय कुमार, राक्षसीगण, रावणका सिपाही, आदि अतिगौण पात्र हुन्।

(च) युद्धकाण्ड – यसमा रामले वानर सेना लिई लंका पुगी युद्धको तयारी गर्नु, रावणसित भीषण युद्ध हुनु, अनेक उपाय लगाएर रावण वध गर्नु र विभीषणलाई लङ्काको राजगद्दी सुम्पनु, रामले सीतालाई अग्निपरीक्षा लिनु, वनवासको मियाद पूरा भएपछि रामहरू अयोध्या फर्किनु, रावणहरूको जन्म कथा आदि मुख्य घटनावली हुन्।

(छ) उत्तरकाण्ड - यसमा रामद्वारा अयोध्यामा रामराज्यको स्थापना, लोकापवादमा परी रामले सीतालाई त्याग गर्नु, सीताले ऋषि वाल्मीकिको आश्रममा गई लव र कुश जस्ता पुत्र जन्माउनु, लवकुशहरू वीर र पराक्रमी हुनु, रामले अश्वमेध यज्ञ गर्नु, राम एघार हजार वर्ष बाँची अन्तमा आ-आफ्ना छोराहरूलाई राजगद्दी सुम्पेर रामहरू परमधाम जान्छन्। कथाको अन्तमा फेरि शिवले पार्वतीलाई कथा भनेर टुङ्ग्याएको प्रसङ्ग पनि देखा पर्छ।

यसमा रावणवधसम्मको घटना शृङ्खलालाई कथानकको संवृत्त भाग र त्यसपछिको घटनावलीलाई विवृत्त भाग मान्न सकिन्छ। रावण सुग्रीव, हनुमानलगायत अन्य प्रकरी कथानकका कथाहरूलाई पूर्वद्वीप्तिका रूपमा प्रस्तुत गरिएको पाइन्छ। बीच बीचमा धेरै गर्भे कथाहरू पनि पाइन्छन्। यसरी हेर्दा रामायण धेरै घटनाहरूको सञ्जालबाट निर्मित एउटा वृहताकाय महाकाव्यका रूपमा लिनसकिन्छ।

४. रामायणको प्रासाङ्गिक कथावस्तु- भानुभक्तको रामायणमा आधिकारिक कथावस्तुलाई सहयोग पुर्‍याउन र त्यसको उत्कर्षता थप्न प्रासाङ्गिक कथावस्तु पनि निकै सघन देखिन्छ। यसका पनि पताका र प्रकरी गरी दुई भाग हुन्छन्। रावण. हनुमान र बालि-सुग्रिवका कथा पताका हुन् भने अन्य ससाना केही उपकथाहरू पनि आधिकारिक कथावस्तुलाई सहयोग गर्न गाँसिएका छन्।

४.१. रावणसँग सम्बद्ध पताका कथावस्तुको अध्ययन- रामायणको एउटा अति प्रभावशाली पात्र रावण हो। भानुभक्तले उसलाई एकातिर अन्यायी, अत्याचारी, दुराचारी, स्वेच्छाचारी, निरङ्कुश र राक्षस शासकका रूपमा प्रस्तुत गरेका छन् भने अर्कोतिर आत्मज्ञानी, तत्त्वज्ञानी, वीर, पराक्रमी, शौर्यपुरूष, उद्योगी राजाका रूपमा पनि देखाएका छन्। रावणले रामलाई जे जति सतायो, यो त रामद्वारा आफु मारिइ राक्षस कुलबाट मोक्ष पाउनका लागि गरेको हो। रामकी प्यारी सीतालाई हरेर लगी बाहिरी रूपमा रूखो व्यवहार गरे तापनि सीतालाई नछोई स्वयम लक्ष्मी हुन् भन्ने ज्ञान मनमनमा राखी पुज्ने गर्थ्यो। रावण साँच्चै पराक्रमी, साहसी, वीर थियो। उसले देवलोक, भूलोक र पाताललोक सबैतिर लडाईं गरी पराक्रमले जितेर लिएको थियो।

रावण र उसको कूलको उत्पत्तिको उपकथा यस्तो छ- ब्रह्मका पुत्र पुलस्त्य ऋषिले कठोर तपस्याका निम्ति सुमेरू गएका थिए जो राजर्षि तृणविन्दुको राज्य थियो। केही देवकन्याहरू आई उनको तपोभङ्ग गर्नाले उनले जो मेरो पहिलो नजरमा पर्छे, त्यो नारी गर्भवती हुन्छे भन्ने श्राप दिन्छन्। केही दिनमा अज्ञानतावस् तृणविन्दुकै पुत्री उक्त आश्रामतिर घुम्दै आँउदा ऋषिको नजर परी गर्भ धारण गर्छिन्। केही दिनमा आफ्नी कन्याको गर्भधारण बुझेर राजर्षिले अगस्त्य ऋषिलाई कन्या विवाह दान गरिदिन्छन्। तिनीहरूबाट विश्रवाको जन्म हुन्छ र पछिवाट विश्रवाको बिहे भारद्वाज ऋषिकी पुत्रीसँग सम्पन्न हुन्छ। उनीहरूबाट कुबेरको जन्म हुन्छ। ब्रह्मले कुबेरलाई धेरै धनदौलत र पुष्पक विमान दिन्छन्। पछिबाट ब्रह्मले इन्द्रद्वारा लडाईंमा धपाइएर राक्षसहरूबाट खाली भएको लङ्काको राजा बनाई कुबेरलाई राख्छन्। त्यसैबिचमा एकपल्ट लङ्काबाट खेदिएको सुमाली नामक राक्षस आफ्नी तरूणी छोरी कैकसीलाई लिएर लङ्का घुम्दा कुबेरले राज्य गरेको र उसको बाबु बिश्रवाबाट धेरै प्रतापी सन्तान हुने कुरो थाहा पाउँछ। यसरी थाहा पाएपछि कैकसीलाई बिश्रवाबाट ऋतुदान (गर्भाधान) मागी पराक्रमी सन्तान जन्माउन लगाउँछ। कैकसीले पनि बाबुको आज्ञा मानेर बिश्रवालाई ऋतुदान मागी सन्तान जन्माउँछे। त्यसरी पाएका सन्तानहरूमा रावण, कुम्भकर्ण, सूपर्णखा र विभीषण हुन्। महत्वाकांक्षी, वीर, पराक्रमी र राक्षसी गुण भएको रावणले पछिबाट कुबेरबाट लङ्का खोसी आफै राजा भई विश्वविजेता बन्छ। उनका भाइहरू कुम्भकर्ण र विभीषणका पनि आ-आफ्नै विशेषता थिए। रामको हातबाट रावण र कुम्भकर्ण मारिन्छन्।

रावणसित सम्बन्धित पताका कथावस्तुलाई आदि, मध्य र अन्त्य गरी तीनवटा भागमा विभाजन गर्न सकिन्छ- तृणविन्दुदेखि विश्रवा र रावण र उसका भाइबन्धुको जन्मलाई आदिभाग, रावणादिको बाल्यकाल, तप, पराक्रम, राजशासन सम्हालेर विभिन्न देव-देवताहरूलाई जितेर अनेक अन्याय, अत्याचार, उदण्डता आदि गरेको कथासम्मलाई मध्यभाग र मारीचलाई सुनको मृग बन्न लगाई आफुले सीताहरण गरेदेखि रामद्वारा उसको बध भएसम्मलाई अन्त्यभाग मान्न सकिन्छ। कथाको आदिभाग र मध्यभाग रामलाई अगस्त्य ऋषिले सुनाएको पूर्वद्वीप्ति र संक्षिप्त रूपमा प्रस्तुत छ भने अन्यभाग भने निकै वर्णन गरिएको दीर्घ रूपमा रहेको छ।

४.२. हनुमानसँगको पताका कथावस्तु- हनुमान रामायणको एक प्रभावशाली पात्र हो। रामायाणको किष्किन्धाकाण्डदेखि अन्त्यसम्म नै हनुमानको प्रसङ्ग पाइन्छ। वानर जातिका रामभक्त हनुमान ब्रह्मचारी, सदाचारी र पराक्रमी पात्र हो। उनी शुरूमा वानरराज सुग्रीवको सहयोगीको रूपमा रही पछिबाट रामका अनुचर बनेका छन्। उनको जन्मकथा यस्तो छ- एकपल्ट केशरीकी पत्नी अञ्जना नाम गरेकी वानरीको वायुदेवको वरदानबाट एउटा बालकको जन्म हुन्छ जसको नाम हनुमान राखिन्छ। यसकारण हनुमानको अर्को नाम हो पवनपुत्र। एकपल्ट बालक हनुमान सूर्यलाई रोटी भनेर खान भनेर उडेर जाँदा देवराज इन्द्रबाट रोकिई अनुहारमा चोट खाई फर्किएका थिए। उनी सुग्रीवको सेवक भई किष्किन्धा नगरीमा सेवा गर्न बसेका थिए। रामसित सुग्रीवसित मित्यारी भएपछि रामको अनन्य भक्त बने। उनैले चारकोसको समुद्रलङ्घन गरेर लङ्का पुगी सीताको पत्तो लगाई, सीता र रावण भेटी, लङ्कामा उपद्रो गरी, वीरता देखाई सकुशल किष्किन्धा फर्किएका हुन्।

४.३. सुग्रीवसँगको पताका कथावस्तु- रामायणमा सुग्रीवको भूमिका महत्त्वपूर्ण छ। भानुभक्तले उनलाई एक विशिष्ट पात्रका रूपमा प्रस्तुत गरेका छन्। उनी वानरराजका रूपमा परिचित छन्। रामायणको कथाअनुसार रावणले सीता हरेपछि विलाप गर्दै राम-लक्ष्मण ऋश्यमूक पर्वत पुगेका र त्यहाँ सुग्रीव र हनुमानसित भेट हुन्छ। सुग्रीवले आफु आफ्नो दाजु बालिको डरले निर्वासित भई त्यहाँ बस्नुपरेको पूर्वकथा सुनाएपछि रामले उनीसित मित्यारी लाउँछन्। दुईजनाको जन्मको पूर्वकथा यस्तो छ- एकपल्ट ब्रह्म सुमेरू पर्वतमाथि गई तप गर्न बसे। त्यस योग-तपमा उनी अति मग्न हुँदा उनको आँखाबाट आँसु खस्यो र त्यो आँसु एउटा बानर भयो। कालान्तरमा एकपल्ट त्यो बानर तलाउमा पानी खान खोज्दा आफुजस्तै स्वरूपको आफ्नो छाँया तलाउमा देख्दा त्यसमा फाल हान्यो। पानीबाट चोबल्लिएर बाहिर निस्कदा भने उसको स्वरूप एउटी स्त्रीमा परिणत भयो। त्यस बानर स्त्रीलाई इन्द्रले गर्भाधान गर्दा वीर्यचाँहि बाल (रौं) मा झर्छ। त्यसबाट बालीको जन्म हुन्छ। त्यसैगरी त्यस बानरस्त्रीलाई सूर्य आई गर्भाधान गर्दा वीर्य चाँहि ग्रीवा (फिला) मा खस्दा त्यहाँबाट अर्को बालकको जन्म भयो - सुग्रीव।

त्यसपछि त्यो बानरी फेरि पुरूष भई। त्यो खबर ब्रह्मले सुनेपछि उसलाई ऋक्षाधिप नाम दिएर किष्किन्धाको राजा बनाए। त्यस ऋक्षाधिपले आफ्ना दुई छोराहरूलाई लिएर राजशासन चलाउन थाल्यो। पछिबाट बाबुको निधन भएपछि वीर र पराक्रमी बालीले राजशासन चलाउन थाल्यो। उ यति बलशाली र पराक्रमी थियो कि एकपल्ट रावणले मैमत्ता भएर बालीलाई आक्रमण गर्दा रावणलाई उसले काखीमा च्यापेर पृथिवी नै घुमाएर सेखी झारेको थियो। बालिले त्यस समयको एउटा शक्तिशाली राक्षस दुन्दुभीलाई मारेर टाउको गिडी फेंकिदिएको थियो। त्यसैगरी एकपल्ट मय भन्ने राक्षसले बालिलाई हाँक दिई आक्रमण गर्‍यो। बालीले उसलाई खेद्दै लग्यो र त्यो भागेर एउटा गुफाभित्र लुक्नपुग्यो। बालिले भाइ सुग्रीवलाई बाहिरै रूङ्न लगाई आफु गुफाभित्र गयो। एक महिनासम्म कोही पनि गुफाबाहिर आएन तर रगत भने बाहिर निस्कँदा सुग्रीवले राक्षसले बालिलाई मार्‍यो होला र आफुलाई पनि मार्छ भन्ठानी गुफामा ठुलो ढुङ्गाको बुचो लगाई आफु दरबार आई बालीलाई राक्षसले मारेको कुरा सुनाई राजा भयो। केही दिनपछि बालिले राक्षसलाई मारेर फर्केर आउँदा त भाइलाई राजा भएको देख्दा मार्नलाई खेद्छ। सुग्रीवकी पत्नी रूपालाई समेत आफैंले खोसेर स्वास्नी बनाउँछ। सुग्रीवचाँहि हनुमानलाई लिई भागेर ऋश्यमूक पर्वतमा निर्वासित भई बस्न थाल्छ। त्यस पर्वतमा चाँहि बाली जान सक्दैन थियो। बालिले अघि दुन्दुभी राक्षसलाई मार्दा त्यस राक्षसको रगतको छिटा होम-यज्ञ गरिरहेको मातङ्ग ऋषिलाई लाग्दछ। ऋषिले बालिलाई देखेपछि क्रोधले यदि उ त्यहाँ गएमा मर्लास् भनी श्राप दिन्छन्। सुग्रीवसित रामको भेट भएपछि भने बालिबध हुन्छ र सुग्रीवको एकलौटी शासन कायम हुन्छ।

४. उपसंहार
भानुभक्तीय रामायण एउटा पूर्णरूपेन महाकाव्य हो। यसमा पूर्वीय काव्य मान्यताअनुसारका सबै लक्षण विद्यमान छन्। यसमा रामका पुरूषार्थसित जोडिएका अनेक कथा-उपकथाहरूलाई जोडेर एउटा ठुलो रामायण बनिएको छ। राम र सीताको कथालाई मूल गङ्गा नदी हो भने अन्य जमुना, सोन, घाघरा, कोशी, चम्बल आदि नदीहरू मिसिएर महागङ्गा बनिएको जस्ता अन्य घटना उपघटना आदि मिसिएर रामायण बनिएको छ। राम सीता, हनुमान, रावण, कुम्भकर्ण, सुग्रीव, बालि आदिका विभिन्न कथा उपकथाहरूको समागमले विशाल रामायण बनेको छ। यसमा कथावस्तुका संवृत्त र विवृत्त अंश, कार्यावस्था, अर्थप्रकृति र सन्धिको राम्रो संयोजन गरिएको पाइन्छ। यसमा वस्तुगत प्रौढता, वैचारिक प्रौढता र भाषिक प्रौढ़ता सबैतिरबाट उन्नत छ। अतः भानुभक्तको रामायण नेपाली साहित्यका निम्ति एक उत्कृष्ट महाकाव्य हो जो पूर्वीय काव्य सिद्धान्तका आधारमा सजाइएको छ।

कालिम्पोङ, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।