18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चोर उज्यालो

निबन्ध चिरञ्जीवी दाहाल July 11, 2025, 2:16 pm
चिरञ्जीवी दाहाल
चिरञ्जीवी दाहाल

मानव जीवन प्रकृतिसँग अभिन्नरूपमा गाँसिएको हुन्छ । प्रकृतिको नियमित चक्र, दिन र रात केवल भौतिक परिवर्तन मात्र होइन, मानव जीवनको गहिरो प्रतीक हो । दिनमा सकारात्मक उर्जा प्रवाह भैरहेको हुन्छ भने रातमा नकारात्मक उर्जाको प्रवाह हुन्छ । त्यसैले “दिन हाम्रो हो रात होइन ।" सबै त होइन, रातको उज्यालोमा तयार गरिएका केही योजना, विभिन्न चलखेल र रात्रिकालीन कर्महरू खतरनाक हुने गरेको छ । मलाई सम्झना छ, उहिले हजुरआमाले भन्नु हुन्थ्यो, “राती भुत प्रेत र पिशाचहरू निर्वाधरूपमा डुलिरहन्छन् । मान्छेलाई यिनको छायाँ मात्र पर्यो भने पनि मान्छे मर्न सक्छ नभए पनि पक्कै बिरामी हुन्छ ।" मैले रातको सुनसानमा पचभैया, मरेका मान्छेहरूको आत्मा र डाइनहरूको चलखेल हुन्छ भन्ने निकै पटक सुनेको छु तर यिनलाई देखेको छैन र सत्य असत्य बीचको भ्रमको पर्खाल पनि भत्काउन सकेको छैन । के नकारात्मक उर्जा भनेको सबै यही हो ? जेसुकै होस् तर यथार्थ के हो भने दिनमा प्राकृतिक उज्यालो हुन्छ रातमा कृत्रिम ।

म बिहान उठ्ने बित्तिकै, झ्यालबाट बाहिरको उज्यालो नियाल्छु । किनकि करिब दश एघार घण्टाको लामो समयदेखि म प्राकृतिक उज्यालोबाट बञ्चित भएको हुन्छु । हुन त मलाई राती एघार बजेतिर मात्र निन्द्रा लाग्ने गरेको छ । एघार बजे निदाए पनि साँझ छ सात बजेदेखि भोलिपल्ट बिहानसम्म हरेक दिन कृतिम उज्यालोको सहारामा रहनुपर्छ । रातमा वास्तविक र प्राकृतिक उज्यालो हुँदैन । राती देखिने उज्यालो केवल भ्रमको खेती मात्र हो । यसर्थ रातीको उज्यालोलाई चोर उज्यालो भन्दा फरक पर्दैन । यदाकदा म रातमा पनि लेख्ने गर्छु । नलेखे पनि वर्तमान मोबाईल संस्कृतिमा थोरबहुत योगदान त गर्नै पर्यो । अधिकांश मान्छे त्यही चोर उज्यालोको सहारामा रमाउने गरेका छन् , नरमाउने हो भने पनि अन्य विकल्प नै के छ र ? मान्छेहरू रमाइ रहेका हुन्छन् त्यसको देखासिकी मैले पनि गर्नुपर्छ । वाध्यताले चोर उज्यालोको साथमा रहनुपरे पनि मेरो मन भने यस्तो उज्यालोसँग भित्रदेखि त्यति विधि खुशी हुँदैन । सायद रातको निस्तब्धतालाई झुक्याउन र छकाउन कसैले बिजुली , टुकी, दियो, मैनबत्ती, सोलार र अन्य प्रसस्त चोर उज्यालोको आविष्कार गरेको हुनुपर्छ । हरेक क्षेत्रमा झुक्याउने र छकाउने कार्य आजबाट सुरु भएको भने होइन । फरक के हो भने पहिले पहिले मान्छेले मान्छेलाई मात्र झुक्याउने प्रयास गर्थे भने कुनै समयदेखि रातलाई पनि झुक्याउन खोजिएको रहेछ । आराम गर्न र शयनकक्षमा मस्त निदाउनका लागि सृष्टि गरिएको रातलाई वर्तमानले जागा गराउने गरेको छ । चोर उज्यालोको प्रकाश देखेर रात पनि दिनमा परिणत भएको भ्रममा, मख्ख पर्ने गरेको छ ।

समुन्द्र मन्थन पछि अमृत वितरणमा विष्णुले एउटी निकै सुन्दरी युवतीको भेषमा दानव हरूलाई झुक्याएर देवताहरूलाई मात्र अमृत वितरण गरेको प्रसङ्ग आउँछ । जालन्धरले शिवजीको रूप धारण गरेर पार्वतीलाई झुक्याउन जाँदा त्यसको वदला लिन विष्णुले जालन्धरको रूप लिएर वृन्दाको पतिव्रता धर्म नष्ट गरि दिएको कथा पटक पटक पढेकै हो । त्रेतायुगमा रामले वालीलाई झुक्याएर मारेको कथा सबैलाई थाहा छ । द्वापरयुगमा दुर्योधनलाई झुक्याउन आठौँ गर्भ यही हो भन्दै कृष्णका ठाउँमा योगमायालाई साटफेर गरेकै हो । झन् वर्तमान त कलियुग हो, कलियुगको के कुरा गर्नु ! यो युग नै छलछामको युग हो ‌ । आजभोलि बिष्णु जालन्धर, राम, कसैको पनि विद्यमानता देखिँदैन तर त्यो छकाउने र झुक्याउने प्रवृत्तिले भने परम्पराको रूप धारण गरिसकेको छ । झुक्झुयाउने सिलसिलामा वर्तमान मान्छेहरू विष्णु, राम र जालन्धर भन्दा पनि निकै अगाडि देखिएका छन् ।

झुक्याउने र छकाउने धन्दाको विकास दिन दुईगुना रात चौगुनाका दरले बढिरहेको छ । यो धन्दा निकै पुरानो भएको र दिनको उज्यालोमा भन्दा रातमा धेरै झुक्याउने र छकाउने काम गरेको देखिन्छ । रातको सुनसानमा प्रायः दिनमा भन्दा बढी अपराधिक क्रियाकलाप हुने भएकोले यो उखानमा पनि रातमा चार गुना र दिनमा दुई गुना उल्लेख गरिएको कुरा किटेर भन्न सकिन्छ । आखिर नकारात्मक कुराको अप्रत्यासित वृद्धि हुने भनेकै रातमा हो । त्यसैले मलाई दिनमा भन्दा रातमा धेरै डर लाग्छ । संसारमा जति पनि ठूला ठूला अपराधिक गतिविधिहरू भए ती अधिकांश रातको अँध्यारो र चोर उज्यालोको सहयोगमा हुनेगरेको तथ्यांक बाहिर आउने गरेका छन् । यसरी रातभरी निसासिरहेको मेरो मन कतिखेर बिहान हुन्छ र प्राकृतिक उज्यालोसँग साक्षात्कार गर्न पाइन्छ भन्दै वास्तविक उज्यालोको प्रतिक्षा गरिरहेको हुन्छ ।

प्राकृतिक उज्यालोको आरम्भ समयमा, बिहानको ताजा र सफा हावाको कुरै बेग्लै हुन्छ, यसबेला बहने हावा रातको जस्तो गुम्सिएको र चुक घोप्ट्याएको जस्तो कालो हुँदैन । बिहानको हावा एकदम स्वच्छ र शान्त हुन्छ । जब हावा चल्छ, मानौं प्रकृतिले मेरो शिरमा हलुका स्पर्श गरिरहेकी छन् । लाग्छ, हावा सकिएको फुटवलमा हावा भरे झैँ रातमा सास फेर्दा फेर्दै निख्रिएको फोक्सो भित्रको रिक्ततालाई पुनः चौविस घण्टाको लागि चाहिने आवश्यक हावा यही विहानीपख स्वयं प्रकृतिले भरिरहेकी हुन्छिन् । त्यसैले मलाई रातको चोर उज्यालोको तुलनामा बिहान र दिउँसो देखिने प्राकृतिक उज्यालोको भर विश्वास लाग्छ । दिनको उज्यालो भय रहित हुन्छ, निश्कलङ्क हुन्छ । स्वभावत दिनको उज्यालो, चोर उज्यालोको तुलनामा निकै शान्तिप्रिय र गम्भिर हुन्छ । त्यसैले म दिनको उज्यालोमा घण्टौँ पैदल यात्रा गर्न सक्छु । निर्वाधरूपमा अपरिचित मान्छेको सवारी साधनमा यात्रा गर्न सक्छु । यही सुविधा म रातमा उपयोग गर्न फिटिक्कै सक्दिन । किनभने रात स्वयं चोर उज्यालोको सहारामा बाँचेको हुन्छ ।

जब बिहान हुन्छ, यो वास्तविक उज्यालोले रातको शून्यतालाई चिर्दै रातले दिएको अँध्यारो अवशेषहरू मेटाउँछ । ब्रह्ममुहूर्तको कलिलो उज्यालोमा चलेको स्वच्छ, चिसो र सिरसिर हावाले रातमा उकुसमुकुस भएको मेरो फोक्सो एकदमै सामान्य गतिमा चल्न थाल्छ । म सहजसँग सास फेर्न थाल्छु । जिउ हलुका भएझैँ लाग्छ, जब म बिहानीसँग साक्षत्कार हुन्छु मलाई पुनर्जीवन प्राप्त भएको अनुभूति हुन्छ । दिनको शुद्ध र स्पष्ट उज्यालोले रातले झैँ जीवन अनिश्चितता तिर धकल्दैन बरु यतिखेरको प्रकाशले हरेकदिन नयाँ जीवनको लागि आह्वान गरिरहे झैँ लाग्छ ।

मलाई लाग्छ, नसा नसामा रक्तप्रवाह र मन प्रफुल्लित गर्ने उत्साह , चोर उज्यालोले कसैगरे पनि प्रदान गर्न सक्दैन यसको लागि त दिनको प्राकृतिक उज्यालो चाहिन्छ । दिनको उज्यालो, जसले सिमित मात्र होइन सारा अन्धकारलाई चिर्छ । जसले म र मजस्तै मान्छेहरूको कुरुपतामा सुन्दरताको लेप लगाइदिन सक्छ । अल्छीहरूलाई जोस र जाँगर आउने उर्जा थपिदिन सक्छ । यही उज्यालोले हरेक मान्छेलाई कर्ममा लाग्न प्रेरणा दिइरहेको हुन्छ, धर्म संस्कार र संस्कृति जोगाउन मद्दत गरिरहेको हुन्छ । परिवार, गाउँ, समाज र देशका खातिर केही गरौँ भन्ने भावना विकसित गरिदिन सक्छ । निर्वाधरूपमा घरको दैलो खुला राख्न हिम्मत दिन्छ , झ्यालका पर्दाहरू खोलिदिन मद्दत गर्छ । ती ढोका र झ्याल अनि झ्यालका पर्दा चोर उज्यालोमा खुला राख्न प्रायः सकिँदैन । यसले जीवनका वास्तविक तथ्यहरूसँग भेट गराइदिन सक्छ ।

दिनको उज्यालो न सत्ता पक्षको हो न विपक्षीको ! यसबाट कसैले कमिसनको खेल खेल्न पनि सक्दैन । प्राकृतिक उज्यालोको नाममा कसैले घुस खान र भ्रष्टाचार गर्न पनि सक्दैन । यो धनीमानीहरूको मात्र पनि होइन । न यो पदमा बसेर शक्ति प्रदर्शन गर्ने हरू कै हो ! यो त दैवी प्रकाश हो, जुन स्वतन्त्र, स्वभाविक र सार्वभौम हुन्छ । यसको उपस्थिति कसैको नियन्त्रणमा हुँदैन, न त यो उज्यालो कसैको स्वार्थको निम्ति बनाइएकाे हो । यो सत्य, ज्ञान, स्पष्टता र आत्मबोधको प्रतीक हो। त्यसैले दिनको उज्यालो सत्यको ऐना हो भने चोर उज्यालो असत्यको आधार शिविर हो । दिनको उज्यालोमा हामी वस्तुहरूलाई स्पष्ट देख्न सक्छौ । फुलिरहेको पँहेलो गुलाबका हरेक पत्रहरू दिनको उज्यालोमा स्पष्ट देखिन्छन् । गहिरिएर हेर्ने हो भने फूलको आत्मा समेत देखिनसक्छ तररातमा त्यही गुलाब फूल दिनमा जस्तै प्रष्ट देखिदैन, मुस्किलले त्यसको वाह्य अङ्ग मात्र देखिन्छ । फूलमा मौरी र भवँराहरूको आगमन रातमा होइन दिनमा मात्र हुनेगर्छ । मौरी र भवँराहरूलाई राम्रोसँग थाहा छ, चोर उज्यालो खतरनाक हुन्छ र यसबाट बच्नुपर्छ । चोर उज्यालोको वास्तविक यथार्थ नबुझ्ने त मान्छे र ब्रोइलर कुखुराहरू मात्र हुन् । यी कुखुरा पनि चोर उज्यालो र वास्तविक उज्यालो बीचको भ्रम छुट्याउन सक्दैनन् र त मध्यरातको चोर उज्यालोलाई वास्तविक उज्यालो ठान्दै दिनमा जस्तै चारा टिपिरहेका देखिन्छन् ।

दिनको उज्यालोले मान्छेलाई भ्रमरहित बनाउँछ। मान्छे सत्य, नीतिगत सोच, र विवेकपूर्ण निर्णयतर्फ उन्मुख हुन्छ । यसैले दिनको उज्यालोलाई वास्तविक, निस्वार्थ, र परम सत्यका रूपमा बुझ्न सकिन्छ। म रातको चोर उज्यालो र दिनको वास्तविक उज्यालो बीच पटकपटक तुलना गर्छु , रातको चोर उज्यालो त दिनको उज्यालोको खुट्टामा बाँध्न पनि सुहाउँदैन । रातको चोर उज्यालो, केवल कृत्रिमता र भ्रममा अडेको हुन्छ । एकदिन यो सांसारिक जगतबाट अचानक विज्ञान गायव भैदिने हो भने रातले जुनकिरीको उज्यालो बाहेक केही पनि नपाउन सक्छ । रात स्वभाविक रूपमा अन्धकार मय हुन्छ । यसलाई उज्यालो बनाउन चोर, नक्कली र कृतिम प्रकाशको व्यवस्था गरिएको हो । यी कृतिम प्रकाशले सीमित क्षेत्रलाई मात्र देखाउँछन् र बाँकी भाग लुकाइ दिन्छन् । यही कारण हो रातको उज्यालोलाई "चोर उज्यालो" भन्नुको मूल कारण पनि । चोर उज्यालो कहिले पनि पूर्ण हुँदैन, न त सत्यमा आधारित नै हुन्छ । गहिरिएर हेर्ने हो भने चोर उज्यालो र वास्तविक उज्यालोमा सत्य र भ्रमको द्वन्द्व लुकेको हुन्छ । म देखिरहेको छु, दिन र रात बीचमा भयङ्कर ठूलो द्वन्द्व चलिरहेको हुन्छ । जसरी मान्छेको चेतनामा रहेको विवेक र अज्ञान बीचको द्वन्द चलिरहेको छ ।

जब मान्छे आन्तरिक रूपमा उज्यालो हुन्छ, तब उसले सत्यलाई प्रत्यक्ष देख्न सक्छ तर जब मान्छे मोह, लोभ वा झूटको अन्धकारमा हराइरहेको हुन्छ, तब ऊ रातको चोर उज्यालोमा जस्तै भ्रमको प्रकाशमा बाँचिरहेको हुन्छ । केही मान्छेहरू साँचो उज्यालो भन्दा चोर उज्यालोसँग सन्तुष्ट देखिन्छन्। यथार्थमा, हिजो आजका मान्छेहरू पैसाको लोभमा चोर उज्यालोसँग आत्मसमर्पण गर्न वाध्य भएका हुनसक्छन् । त्यसैले केही वाध्यात्मक अवस्थालाई छोडेर रातमा आर्जन गरिने धन प्रायः कालो हुन्छ । यही धनको आकर्षणले आजको युगमा मान्छेहरू बिस्तारै रातको उज्यालोमा रमाउन पल्किएका हुन् भन्न सकिन्छ । तर के, चोर उज्यालो साँच्चिकै भरोसा योग्य उज्यालो हो ? र यो उज्यालो पवित्र हुन्छ ? या मान्छेहरू भ्रममा मात्र बाँचिरहेका हुन्छन् ! मान्छेले आत्मबोध कहिले प्राप्त गर्छ ? मेरो मनले भन्छ, रातको उज्यालो मिथ्या प्रकाश हो , जुन सत्यजस्तो देखिन्छ यथार्थमा त्यो सत्य हुँदैन । यो त त्यस्तो ज्ञान हो जुन आधा र अधुरो छ, जसले मानवलाई अहंकार, मोह र स्वार्थतर्फ घिस्याउन सक्छ । सबै रातका उज्यालाहरू झूटका तेज हुन् , झलक्क हेर्दा शानदार, तर भित्र खोक्रो ।

चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।