संस्कार सिकाइरहनु परेन हजुर
कसैले खुट्टा तेर्साउँदा पनि म शिर झुकाउँछु
यो मेरो कमजोरी होइन, मेरो चिनारी हो
रगतमा बगेको शिष्टताको धार हो
जसलाई मैले अहिलेसम्म
शब्दमा ब्याख्या गर्न सकेको छैन्
प्रार्थना नगरेहुन्छ कसैले
म हराएको सुन्न
म अलि टाढा भए पनि यो शहरसँगै छु ।
दुनियाँ रंग फेरिरहन्छ
तर मान्छेहरू संसारलाई अझै फिका भन्छन्
शब्द बुझ्न किताब पर्याप्त होला
तर अर्थ बुझ्न त चोटको संगत चाहिन्छ
र त्यो संगत मैले एक्लै भोगेको छु
प्रार्थना नगरेहुन्छ कसैले…….।
म खुट्टामा उभिएको छु
सघाउने काँधको आश छैन अब
म त उसैलाई नतमस्तक गराउने छु
जो एकदिन मेरो आँसुमा हाँसेका थिए
आज ती नै नमस्ते गर्दै फर्किएका छन्
प्रार्थना नगरेहुन्छ कसैले…….।
पहिले छिमेकी पनि परिवार जस्तै थिए
अहिले परिवार पनि छिमेकीझैँ लाग्छन्
सामिप्यता अब सम्झनाको कुरा हो
जुन हात समाएर हिड्न सकिन्थ्यो पहिले
आज ती हातहरू सलाम गर्न आउँदैनन्
प्रार्थना नगरेहुन्छ कसैले…….।
बालापन कहाँ मिल्छ फेरि?
जहाँ चोट छालामा लाग्थ्यो, मनमा होइन
आज सानो शब्दले पनि घाउ चिर्छ
र साँचो हाँसो, सम्झौताको खोलमा बाँधिन्छ
त्यो सरलता अब कथाहरूमा मात्रै बाँकी छ
प्रार्थना नगरेहुन्छ कसैले …….।
साँचो साथी सुभचिन्तक होइन
इमान्दार सत्रु हो आजकाल
जो घाउ दिन्छ, तर पीठमा होइन
सामुन्ने लड्छ, मुखमा मिठासको मखुण्डो लगाउँदैन
मैले यस्ता केही शत्रुहरूलाई माफ गरिसकेको छु
प्रार्थना नगरेहुन्छ कसैले…….।
हार कहिल्यै स्वीकार गरेको छैन मैले
तर फुल्नुभन्दा पहिले कति पटक भाचिएँ
त्यही भाचिएको पीडाले नै मलाई बनायो
म जब झुकें, दुनियाँले कमजोरी ठाने
तर त्यो झुकाइ नै मेरै शक्ति बन्यो
प्रार्थना नगरेहुन्छ कसैले…….।
मन हलुङ्गो भएको छ अब
“सबै नाता आफ्ना हुन्” भन्ने भ्रम चुँडिएको दिनदेखि
म बाँधिन रोकिएको छैन तर बाँधिन डराउँदिन पनि
आफ्नै भावनालाई चिन्ने प्रयास जारी छ
र अब म आफैँमा घर बनाउन थालेको छु
प्रार्थना नगरेहुन्छ कसैले…….।
जसलाई मन दिएँ, उनीहरूकै नजरमा अनावश्यक भएँ
खुशी बाँड्दा मलाई उपयोगी लाग्यो
तर उपयोग सकिएपछि म नै दोषी बनें
अब म उपकारको पनि हिसाब राख्न थालेको छु
स्वार्थमा लपेटिएको सम्बन्धभन्दा टाढा बसेको छु
प्रार्थना नगरेहुन्छ कसैले…….।
सहेर बाँच्ने कला सधैं सजिलो हुँदैन
छातीमाथि कुल्चिएर जानेलाई पनि माया दिनु
यही मेरो “मान्छे” रहनु हो
तर यस्तो “मान्छेपन” ले आदर्श गलाउँछ,
ढुङ्गा जस्तो कठोर नहुनु नै गाह्रो हुन्छ कहिले काँही
प्रार्थना नगरेहुन्छ कसैले…….।
बिष देख्दा पनि पिउन सकिन
तिर्खा मेट्न आत्मघाती निर्णय गर्न मिल्दैन
धर्मको नाममा जुत्ता खोले पनि
यदि मनमै अशुद्धता छ भने त्यो पूजा होइन
आज धर्मको मुखमा
दम्भ मिसिएको देखिरहेको छु
प्रार्थना नगरेहुन्छ कसैले…….।
म चुप रहें — कमजोर भनिएँ,
बोलेँ — अहंकारी भनिएँ,
नजिक भएँ —प्रयोग भयो
टाढा भएँ स्वार्थी
अब म अरूको परिभाषाभन्दा बाहिर बाँच्न चाहन्छु,
आफ्नै मौनतालाई स्वर दिँदैछु अब
प्रार्थना नगरेहुन्छ कसैले…….।
सत्य बोल्न चाहन्छु, तर कसलाई सुनाउनु?
बुझ्नेहरू चुप छन्, बोल्नेहरू व्यस्त छन्
दुनियाँ प्रमाण खोज्छ, अनुभव हैन
मेरो मौनता आँधी हो या आँसु
कसैले देख्दैन, केवल म जान्दछु
प्रार्थना नगरेहुन्छ कसैले…….।
सुखले हाँस्न सिकायो
दुखले बोल्नै रोक्यो
जसको हाँसो मीठो लाग्थ्यो
उही लुकेर रोएको देखेँ
त्यसैले म अब आँखाबाट होइन, मनबाट हेर्छु
प्रार्थना नगरेहुन्छ कसैले…….।
नगरेको कुराको दोष पाइन्छ यहाँ
जसको पीडामा थिइन्
उसले मलाई दोष दिन पनि पछि परेन
भगवानमाथि रिसाउनेहरू भन्छन्
“कसैको सुन्दैन”,
म त थोरै पाउँदा पनि आभारी छु
प्रार्थना नगरेहुन्छ कसैले…….।
मेरो भाग्य लेख्न आएका थिए उनीहरू
जो आफ्नो अनुहार ऐनामा हेर्न डराउँछन्
तर मलाई साँचोको मूल्य थाहा छ
चुपचाप पीडा थामेर बाँच्नु कति गाह्रो छ
त्यो त म जस्ता हरूलाई मात्र थाहा हुन्छ
प्रार्थना नगरेहुन्छ कसैले…….।
बिर्सिएकाहरूलाई सम्झन रोक्दिन
तर आफन्तको आडमा सधैं बसेको छैन
अब त मनमै बस्नेहरू मात्र साँचो लाग्छन्
प्रतीक्षा त मैले पनि गरेको छु
तर अब धैर्य मेरो आदत बनेको छ
प्रार्थना नगरेहुन्छ कसैले…….।
गुनासोको किताब लेख्न सक्छु म
तर त्यो पढ्न सक्ने हिम्मत सायद थोरैमा छ
काउकुति लगाएर हाँस्छु दुनियाँअगाडि
भित्रको रुवाइ केवल म मात्र बुझ्दछु
किनकि
साँचो भावना लुकाउन सक्नु पनि कला हो
प्रार्थना नगरेहुन्छ कसैले…….।
मैले हेरें
जसको पैसाले हतियार किनिएको थियो
त्यसैलाई त्यही हतियारले घाइते बनाइयो
म पनि त आवश्यकतामा प्रिय थिएँ
तर जरुरत सकिएपछि बिर्सिदिए
त्यही दिन मैले आफैलाई प्रेम गर्न सिकेँ
प्रार्थना नगरेहुन्छ कसैले…….।
जिन्दगीले चिता त देखाईएको छैन
तर म जिउँदै जलिरहेको छु
झरेको पात फिर्ता रुखमा झुन्डिदैन
ठीक त्यसैगरी केही सम्बन्धहरू
अब सम्झनाको सासमा बाँच्छन्,
तर फिर्ता कहिल्यै आउँदैनन्
प्रार्थना नगरेहुन्छ कसैले…….।
धोका दिनेहरू
“धोकेबाज” भन्ने शब्दसँग डराउँछन्
तर ऐनामा हेर्न सक्दैनन्
सत्य बोल्दा दोष लाग्छ यहाँ
मनमा कालो भएर मन्दिर जानु
त्यो त केवल अभिनय हो
पवित्रता त मनमा हुने हो
प्रार्थना नगरेहुन्छ कसैले…….।
साँचो पीडा नाटक ठान्ने
तर फिल्म हेरेर रुन सक्ने दुनियाँ
कसरी बुझ्छ हाम्रो मौनता?
जब जीवन आफैँ अभिनय बन्छ
त्यसपछि न आँसु देखिन्छ, न दुख बाँडिन्छ
प्रार्थना नगरेहुन्छ कसैले…….।
सहारा तब मात्र लाग्दछ
जब आफ्नै हात बलियो हुन्छ
बैशाखी टेक्नको लागि पनि आत्मबल चाहिन्छ
हात कमजोर भए, साथलाई के दोष?
सपना त हिम्मतमा उभिन्छन्
प्रार्थना नगरेहुन्छ कसैले…….।
छाता ओडेर नसोच, सुरक्षित छु भनेर
किनकि डुबाउने पानी पैतलाबाट आउँछ,
टाउकोबाट होइन
दुनियाँ यही भ्रममा बाँचिरहेछ
कि खतरा सदैव माथिबाट आउँछ
प्रार्थना नगरेहुन्छ कसैले…….।
रातभर जाग्राम बसेर
समस्या समाधान खोज्नेहरू थाकिसके
न निद्रा छ, न उपाय
बाँचिरहनुको नाममा हिँडिरहेछु
तर कहिले समाधानभन्दा जीवन नै गाह्रो लाग्दछ
प्रार्थना नगरेहुन्छ कसैले…….।
समाजले कमाइ अनुसार इज्जत बाँड्दछ
अब त्यो पसल लाग्न थालेको छ मलाई
जहाँ मान्छे होइन, वस्तुहरू तौलिन्छन्
र म त्यहाँ एक मौन सामान बनेर
तर अझै बोल्न सक्ने आत्मा भएर बाँचेको छु
प्रार्थना नगरेहुन्छ कसैले
म हराएको सुन्न
म अलि टाढा भए पनि यो शहरसँगै छु ।