आदरणीय कवि भानुभक्त आचार्यज्यू !
उच्च सम्मान, हार्दिक नमन !
लामो समय भयो संवाद नभएको
कामको व्यस्तताले हो फोन गर्न नभ्याएको
उदाएदेखि नअस्ताउँदासम्म
बगिरहेछ पसिनाको धारा
बर्बाद छन् सारा
उही त हो नेपालीको पारा
सबै मुलुकमारा ।
अहिले चपला अवलाहरु
पर...देश गएका छन्
उतैको पीआरमा रमाएका छन्
गुनकेशरी बोटमै ओइलाएको छ
देश त सञ्चै छ तर सरकार बौलाएको छ ।
बालाजु सुकेर बाईसधारा तिर्खाएका छन्
ढुङ्गाको बाजा माछाको नाच बन्द भएको छ
डान्सवार र छाडा दोहोरीको धन्दा भएको छ
कान्तिपुरको सौन्दर्य मन्द–मन्द हुँदै बन्द भएको छ ।
कहिलेकाहीं त यसो फोन गरे पनि त हुन्थ्यो बुढा !
गिरिधारीको रिस ममाथि नपोख्नु
म तपाईं जस्तै चम्रेल कवि त हूँ नि !
गुणादी माथिको गाउँ मानुङभन्दा पश्चिम
थान्सिङ हो मेरो घर ।
फेसबुक खोल्नु भो ?
फुर्सदका बेला अनलाईनमा कुरा गरौंला
भाईबरमा बात मारौंला
पैसा लाग्दैन क्या बाजे !
ऐले त मुहार हेरेर कुरा गर्न मिल्छ नि !
त्यहाँ पनि स्मार्ट फोन होला ?
एप्पलको भन्दा राम्रो !
धेरै भो पिण्ड पठाउँदै गरेको तपाइँको स्मृतिमा
पाएँ भनेर कहिल्यै खबर पठाउनु हुन्न क्यारे !
पण्डितले त पुगेकै छ भन्छन् र दक्षिणा बट्याउँछन्
तर पाए\नपाएको तपाइँको एस.एम.एस. आएको छैन ?
पिण्ड पठाउन पनि सही ठेगाना चाहिन्छ नै
कि मैले गलत ठेगानामा पठाएँछु र हो ?
बरु पठाउनुस् न स्थायी ठेगानाका साथ ईमेल पनि
नत्र फोन नम्बर पठाउनू
छ भने एनसेलकोमा छिटो लाग्छ भन्छन् ।
यहाँ चोरलाई चौतारो र
साधुलाई शूली भएको छ
भ्रष्टाचारी मुली भएको छ
बिचौलिया ठूली ठूली भएको छ
तपाइँको जन्मथलो हिजोजस्तो छैन
पर्यटनको हव भएको छ
जो छ विकास सब भएको छ ।
मान्छे चन्द्रमामा पुगिसके !
तपाईं धर्तीमा नआउने ?
आफ्नो देशको माया लाग्दैन र ?
कति निष्ठुरी मन हो ?
जन्मभूमि चुँदी आउन मन छैन कि कसो ?
जताततै तपाइँका सालिक बनेका छन्
असार २९ जन्मजयन्ती भव्य मनाइन्छ
यसपटक तपाइँलाई विशेष सम्मानको कार्यक्रम छ ।
फेसबुक र मेसेन्जरमा निमन्त्रणा पोस्ट्याएको छु
जसरी पनि आउनुस् है
गाउँ प्रज्ञा प्रतिष्ठानको सभाहलमा
उही गाउँ प्रज्ञा प्रतिष्ठानका कुलपति नै
हुँदै छन् प्रमुख अतिथि ।
अरु भेटमा बिस्तार गरौंला
अहिलेलाई बिदा !
ए साँच्चै, एउटा कुरा भन्न त भुसुक्कै बिर्सेको
तपाईंको रामायण छपाएर प्रचार गर्ने
अनि समालोचना लेखी आदिकविको दर्जा दिने
मोतीराम पनि त्यतै आएका छन्, भेट हुन्छ कि हुँदैन ?
उनले पनि तपाईंले जस्तै बिर्खे टोपी लाएका छन्
भिडमा पसेर हेर्नुस् त बाजे कतै उनी पनि भेटिन्छन् कि !
जामुने, तनहुँ, हालः पोखरा