आजभन्दा करीब पचपन्नबर्ष अघिको कुरा हो । तेत्रु भर्खर ५-६ बर्षको थियो । खोरी किसान, तेत्रुको बुवा, जेठा मुखियाको घरमा मासिक तलब ६० रुपैया र खानबस्नको सुविधासहित खेतीको काम गर्न बसेको थियो । त्यो बेलाको चलन अनुसार त्यसरी खेतीमा काम गर्ने र गराउने कार्यलाई हली बस्ने र हली राख्ने भनिन्थ्यो । खोरीकी श्रीमती कान नसुन्ने र नबोल्ने थिई, उसको वास्तविक र बोलाउने नाम नै लाटी । उसको घाँटीमा गलगाँड थियो । तेत्रुलाई असाध्यै मायाँ गर्दथी, छरछिमेकी वा मालिकको घर कै भएपनि कोही केटाकेटीले तेत्रुलाई जानी नजानी केही गरेमा लठ्ठी लिएर झम्टिन्थिई । आमाको मायाँ र साथ पाएको तेत्रु खेल्दा समेत कसैले छोयो भने पनि रुँदै लाटीलाई भन्न पुग्दथ्यो, अनि केटाकेटीको भागाभाग हुन्थ्यो । कतिपय भाग्न नसक्नेले लाटीको पिटाई पनि पाउँदथे र रुँदै घर जान्थे ।
खोरीले बर्खाको बेलामा खेतका समाहा र पैनी-कुलोका निकाशमा माछा थाप्न सानाठुला ढोक्साहरू बनाएको थियो । हरेक साँझ ढोक्सा लगेर खाल खेतका समाहा र पैनीका निकाशहरुमा थापेर फर्कन्थ्यो र बिहानै गएर ढोक्साहरु घर लिएर आउँदथ्यो । आँगनमा ढोक्सा खन्याउँदा सानाठुला हिलेमाछा, पोठीमाछा, कैंचीबाम, अन्धाबाम, टेंग्रा, मागुरमाछा, घूँगी, गँगटा, भ्यागुता, र ढोडेसर्पहरु निस्कन्थे । तेत्रु र घरका केटाकेटीहरू रमाएर हेर्दथे । जिउँदा भ्यागुता र सर्प भाग्दथे, केटाकेटीहरू रमाउँदै उफ्रन्थे । यसरी ढोक्सा थाप्ने काम श्रावण-आश्विनको समयसम्म चल्दथ्यो, धेरथोर माछा परिरहन्थे । लाटी र तेत्रु जंगलबाट च्याउ र निगुरो खोजेर ल्याउँदथे कहिले काँही । यता काम गर्ने घरमा खाना खानेबेला भएपछि जहिलेपनि खोरी उसको लागि पस्किएको खानाको थाल बोकेर उनीहरूको आफ्नै भान्छामा जान्थ्यो र लाटीले पकाएको थप तरकारीसँग खाना खान्थ्यो । मालिकको घरको भान्छामा पाकेको दाल तरकारी जे भएपनि लाटीलाई पनि दिन्थ्यो । लाटी फिस्स हाँस्दथी । जिन्दगी साधारण भएर पनि सुन्दर र रमाइलो थियो । जेठा मुखियाको घरपरिवार पनि सज्जन थियो, हली नै बसेको भएर पनि खोरीको परिवार सहज ढंगले धेरैबर्ष उनीहरूको खेतीको काम गरेर बस्यो ।
त्यो जमानामा झापा मोरंगतिर धान, मकै र नगदेवालीको रुपमा धेरै पाटा (जुट)को खेती गर्ने चलन थियो । पाटाको खेतीमा मानव-श्रम धेरै लाग्दथ्यो । माटोको तयारीदेखि पाटा सुकाएर बिक्रीकालागि बजार पुर्याउनेसम्मको श्रम र खर्च जोड्ने हो भने कृषकलाई खासै आर्थिक फाइदा पनि थिएन । पाटा खेतीको प्रसंग आउँदा त्यसबेलाको उमेरदार र बलियो खोरीको नाममा गाउँमा २ वटा रेकर्डहरू थिएः अरु खेतालाहरू भन्दा डब्बल नै छिटो काट्ने र धुँदा पनि सवैभन्दा धेरै धुँने । पाटाको फसलसँग सम्वन्धित गणनाको एकाई तारी, लाछा, मुठा र बिटा हुन्थे, हिजो आज यस्तो एकाई कतै सुनिंदैन । पाटा काट्ने र धुँने सम्वन्धि कामको लागि सकेसम्म खोरीको खोजी सवैले गर्दथे । धेरै नबोल्ने, गठिलो शरीर भएको, हाँस्दा पनि खिस्समात्र गर्ने खोरी जो सुकैकोमा काम गरेपनि ईमान्दारितापुर्वक गर्दथ्यो । हुन पनि उनीहरूको जाति किसान समग्रमा सरल र सोझो हिसावले आफ्नो जिविका चलाउँने जातिको रूपमा चिनिन्थ्यो । खोरी काम सकेर सँधै पल्लो किसान गाँउमा हाँडी (जाँड) - दारू (रक्सी) पिउन जान्थ्यो । हरेकदिन रक्सी पिएर प्रायः एकै समयमा फर्कने खोरी फर्कँदा, "आई एम खोरी किसान! तेत्रु माई सन!" भन्दै फर्कँन्थ्यो । फर्केर खाना खाएर जेठी मुखेनीलाई, "मुखिनी, भोलि के के काम छ?", भनेर सोध्दथ्यो । बचन र कामको पक्का खोरी भोलिपल्ट कसैले केही नभनी आफ्नो काममा लाग्दथ्यो ।
एकरात पल्लो किसान गाँउबाट खोरी फर्केन, अबेरसम्म सबैले बाटो कुरे तर खोरीको अत्तोपत्तो भएन । लाटीले हातको ईशाराले, "उ किन आएन?", भन्दै मुख बिगारी । ढिलो खाना खाएर तेत्रु र लाटी पनि सुते । बिहानै उठेर हेर्दा तेत्रु र लाटी पनि रातारात आफ्ना लुगाफाटा लिएर गएछन् । अचम्म भयो, खोरीको परिवार नै गाँउबाट गायब भयो । गाउँमा कसैले, "अर्को गाउँ बसाईँ गए" भने । धेरैले, "ईण्डियातिर चिया बगानमा काम गर्न गए" भने । दुईचार दिनपछि उनीहरूलाई सवैले बिर्सिए ।
खोरीको परिवार गाउँबाट हराउँदा अर्को गाउँबाट पनि ५-७ घर किसानहरू रातारात गाउँ छोडेर हिंडेका रहेछन् । त्यस समयमा गाउँघरमा बिफर बिरुद्धको खोप लगाउने टोली आएको थियो । खोप लगाउने टोलीले नागरिकता पनि खोज्छ र नहुनेलाई कारवाही गर्छ भन्ने हल्ला चलेको रहेछ। खोरीले पनि रक्सी पिउने ठाउँमा ‘पल्टने कान्छा’ बाट यस्ता कुरा सुनेकोरहेछ ।
करीब एकबर्षपछि बेलुकीपख खोरीको परिवार जेठा मुखियाको आँगनमा टुप्लुक्क आइपुग्यो । खोरीको अनुहारमा मुस्कान उस्तै, लाटीको अनुहार उस्तै गम्भीर, तेत्रुको पोशाक फेरिएछ, अलिक ठुलो, अग्लो र राम्रो भएछ । खोरीले जेठी मुखेनीलाई भन्यो, "हामी त फेरि फर्केर आयौं, बस्न दिनुहुन्छ कि?" मुखेनीले भनिन्, "आज बस! भोलि अरू कुरा गरौंला । उनीहरूले मतानमा भएको अगेनोमा खाना पकाएर खाए । मतानमाथि राखेको पराल र खोसेला सारेर आफुसँगै भएका ओड्ने ओछ्याउनेले दुईवटा ओछ्यान वनाएर सुते ।
बिहान भयो । खोरीले मुखेनीसँग भन्यो, "के गर्नु मालिक्नी! डरभन्दा ठुलो केही हुँदो रहेनछ । ‘पल्टने कान्छा’ ले नागरिकता नभएका तिमीहरूलाई अब जेल हाल्छ भागेर ईण्डिया गई हाल भन्यो, त्यहि भएर कसैलाई नसुनाई हामी भागेका थियौं" । आफु र आफ्ना परिवारको पनि नागरिकता नभएकोले डरले खोरी आफ्नो परिवार लिएर हातीकिस्सा, ईण्डिया चिया बगानमा काम गर्ने आफन्तहरू कहाँ आश्रय लिन गएको रहेछ । त्यहाँपनि आफुसँग सरकारी निस्सा र कागजहरू नहुँदा अपहेलित भएपछि जे भएपनि आफु जन्मेको देश ठाउँ फर्कने भनेर नेपाल फर्किएका रहेछन् । खोरीको कुरा सुनिसकेपछि जेठी मुखेनीले भनिन्, "आफ्नै जनमन गरेर खानु, म मतानमा बस्न दिन्छु । जहिलेसम्म बस्छौ बस! घरमा कामपर्दा म ज्याला दिएर लगाउँछु ।" उनीहरू खुशी भएर त्यहिं बसे ।
गाउँघरमा सवैलाई थाह भएकै कुरा थियो, पहाडीमुलका मानिसहरू स्थायीरुपमा बस्न थाल्नुभन्दा दशकौं अगाडिदेखि झापामा आदिबासी किसानहरूको बसोबास थियो । तर पनि अशिक्षा, अज्ञानता र असल सहजकर्ताको अभावमा खोरी किसान जस्ता सयौं किसानहरूको नागरिकता नहुँदा 'पल्टने कान्छा' जस्ता उट्पट्याँगहरूले समेत उनीहरूलाई तर्साएको कुरा सज्जन मानिसलाई मन पर्नेकुरै थिएन । खोरीको बह सुनिसकेपछि जेठा मुखेनीले त्यसबेलाका वार्ड सदस्य आफ्ना देवर साईला मुखियासँग खोरीको समस्या बताएर सहयोग गरिदिन भनिदिइन् । त्यसबेलाको प्रशासनिक प्रक्रिया अनुसार वार्ड सदस्य, गाउँ पञ्चायतका प्रधानपञ्च, जिल्ला पञ्चायतका सभापतिको सिफारिस हुँदै जिल्ला प्रशासन कार्यालयबाट खोरी र लाटीको नागरिकता प्रमाणपत्र एकहप्ताभित्र वन्यो ।
नागरिकताको प्रमाणपत्र लिएर आएपछि खोरीले भन्यो, "हेर त, पहिला हामीसँग यो कागज भएको भए, हामी भाग्नु पर्ने त थिएन, बिफरको खोप पनि लगाउन पाइने थियो"। खोरी प्रफुल्ल हुँदै मनमनै भन्यो, "अब तेत्रु १६ बर्ष पूरा हुँनासाथ नागरिकता प्रमाणपत्र वनाईदिन्छु" ।
केहि समयपछि, गाउँघरमा सुनियो, "पल्लो गाउँको 'पल्टने कान्छा' बिफर लागेर मर्यो रे!" । यो खवर सुनेपछि खोरीले आफ्नो र लाटीको नेपाली नागरिकताको प्रमाणपत्र झोलाबाट निकालेर एकपल्ट हेर्यो र मुसुक्क हाँस्यो ।
कोटेश्वर, काठमाण्डौं, हाल: ब्रिसवेन, अस्ट्रेलिया