18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मञ्जु घिमिरे दाहाल र उनको ‘चेतनाको तरङ्ग’

कृति/समीक्षा केशु बिरही July 14, 2025, 4:49 pm
केशु बिरही
केशु बिरही

२०३२ साउन २४ गतेका दिन साबिकको मुँगा धनकुटामा पिता कृष्णप्रसाद घिमिरे र माता मेनुका घिमिरेका दोस्रो सन्तानका रूपमा जन्मिएकी मञ्जु घिमिरे दाहाल नेपाली साहित्यमा उदियमान स्रष्टा हुन् । नोबले साकोस साहित्य संस्था कोसी प्रदेश शाखाकी अध्यक्षसमेत रहेकी मञ्जु खेमनाथ दाहालसँग विवाह बन्धनमा बाँघिएकी छन् । उनीहरूका प्रतिक्षा र प्रतीक नाम गरेका दुई जना सन्तान रहेका छन् ।

'चेतनाको तरङ’ २०७९ सालमा प्रकाशित साहित्यिक पुस्तक हो । नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश प्रकाशक रहेको यस पुस्तकका लेखक मञ्जु घिमिरे दाहाल हुन् । नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्षसमेत रहेका समालोचक बाबुराम पोखरेलको भूमिका र लेखक स्वयम्को भनाइले पनि कृतिकारलाई चिनाउने काम गरेको छ ।

'आमा’ शीर्षकको कविता प्रकाशित गरेर नेपाली साहित्याकाशमा प्रवेश गरेकी मञ्जु कविता, मुक्तकलगायतका विधामा कलम चलाउँदै आएकी छन् । उनका मेरो प्रतीक (कवितासङ्ग्रह –२०७६) र चेतनाको तरङ्ग (मुक्तकसङ्ग्रह –२०७९) गरी दुईओटा विधा साहित्यका कृति प्रकाशित भएका छन् । यसका अतिरिक्त विभिन्न पत्रपत्रिकामा फुटकर सिर्जनाहरू प्रकाशित हुँदै आएका छन् ।

विभिन्न साहित्यिक सङ्घसंस्थामा रहेर काम गरिरहेकी उनी नोबेल साकोस साहित्य संस्था कोसी प्रदेश शाखाको अध्यक्षका रूपमा कार्यरत छिन् । उनको नेपाली साहित्यमा व्यक्तिगत तथा संस्थागत दुवै सक्रियता पाउन सकिन्छ ।

'चेतनाको तरङ्ग’ मुक्तकसङ्ग्रहको विशलेषण
मञ्जु घिमिरे दाहालका रचनामा विषयवस्तुको विविधता पाइन्छ । विशेष गरेर गद्य कविता लेख्न रुचाउने उनी समसामयिक विषयमा कलम चलाउने स्रष्टा हुन् । ‘चेतनाको तरङ्ग’ भित्र विभिन्न विषयहरू समेटिएका छन् । जीवन भोगाइका क्रममा अनुभूत गरेका यावत विषयवस्तुलाई मुक्तकारले आफ्नो विषय बनाएको पाइन्छ ।

कृषि प्रधान देश भनिए पनि कृषकमैत्री कार्यक्रम बन्न नसक्ता देशले प्रगति गर्न सकेको छैन । कृषि आफैँमा सम्मानित पेसा हो तर यसलाई हेर्ने दृष्टिकोण भने त्यत्ति राम्रो छैन । किसान भनेपछि तुच्छ पेसाका रूपमा लिने गरिन्छ । उसैले उब्जाएका अन्नबालीबाटै पेट भर्ने तर कृषकलाई भने हामी हेयका भावले हेर्ने गछौँ । तर लेखकले यहाँ कृषी कर्मलाई हेला गर्न नहुने, कृषकलाई सम्मान गर्नुपर्ने विचार व्यक्त गरेकी छन् । अझ उनले किसान हुनुलाई गर्वको विषय बनाएकी छन् । उनका सिर्जनामा किसान भएकामा गर्व गर्नुपर्ने भाव यसरी व्यक्त गरिएको छ :
किसान हुँ नलजाउँ अन्नबाली लगाऊ बरु
खेत खन, रोप, बाली काट, कर्म गर्न रमाऊ बरु
फुटेका हात खुट्टा देखी नाक किन खुम्च्याउँछौ
अरूको भर नपर्ने असली ओखती किनेर खाऊ बरु । (पृ.४)

मानिस पैसाका लागि जे पनि गर्न तयार हुन्छ । पैसाका लागि मानिस इज्जत इमान सबैथोक लिलाम गर्न पनि पछि पर्दैन । कालो धन्दा गरेरै भए पनि ऊ पैसा कमाउन चाहन्छ, भौतिक सुखसुविधाको अन्धो छ मानिस । ऊ जसरी भएर यो सुविधा भोग गर्न चाहन्छ । अर्थात् ऊ पैसा कमाउन चाहन्छ । त्यही पैसाका भरमा ऊ आफूलाई इज्जतदार पनि ठान्दछ । तर उसलाई थाहा छैन इमान बेचेर कमाएका पैसा क्षणिक हुन्छ भन्ने कुरा । बेइमानीबाट प्राप्त भएको धन डुङडुङती गनाउने भावलाई यसरी व्यक्त गरिएका छ M
इमान बेच्यो, जमान बेच्यो केवल पैसा कमायो
र पनि आफूलाई इज्जतदार ठान्यो र हसायो
वरिपरिको दुनियाँले कालो धनलाई तुच्छ ठान्दा
सुवास होइन, गाउँमै सिनो दुङदुङ्ती गनायो । (पृ.१९)

साहित्यले काल्पनिक उडान भराउन सिकाउँछ । त्यही कल्पनाशीलताकै काणले सुन्दर सिर्जना भएका उदाहरण पनि छन् । तर उनका रचनामा जीवनको यथार्थको बयान पाइन्छ । उनी भन्छिन् :
जिन्दगी एउटा उकाली हो कहिल्यै चढेर नसकिने
जिन्दगी एउटा सपना हो कहिल्यै देखेर नसकिने
सधैँ यसको कहानी पढ्न र बुझ्न लागिरहन्छु तर,
जिन्दगी त क्षितिज रहेछ कहिल्यै भेटेर नसकिने । (पृ.५)

प्रेमले संसार चलेको छ । प्रेमका अभावमा सबै कुरा वाइहात लाग्न सक्छन् । अझ प्रगति, उनन्ति आदि कुरा त प्रेमकै उपज हुन् भन्दा पनि अत्युक्ति नहोला । उनी फूललाई रातकी रानीको संज्ञा दिन्छिन् । त्यही फूलको सुवाससँग उनी हराउन चाहन्छिन् । उनी आफ्नो जीवनमा पनि प्रेमको फूल फुलाउन चाहन्छिन् । उनका रचनाहरूमा प्रेम यसरी अभिव्यक्त भएर आएका छन् :
रातकी रानी फूलजस्तै सुवास छर्न मन छ
त्यही दिलमा मायासँगै खुसी भर्न मन छ
जिन्दगीको गोरेटामा लामो यात्रा हिँड्दाखेरि,
आफूभन्दा बढी तिमीलाई माया गर्न मन छ । (पृ.६)

कोरोनाले देशको आर्थिक व्यवस्थालाई तहसनहस पारिदियो । धेरैको परिवार तहसनहस पारिदिएको छ कोरोनाले । उनमा रचनामा कोरोना कहर यसरी अभिव्यक्त भएको छ M
घरभित्रै बस्नु पर्ने कोरोनाको कहर
आज मलाई कति छैन बाहिर जाने रहर
घरभित्र कति बस्नु काम केही नपाएर
संक्रमितको बृद्धिले सुन्य छ यो सहर । (पृ.११)

विवाहपछि छोरीले अर्काको घर जानुपर्ने र त्यहीँबाट आफ्नो नयाँ जीवन सुरु गर्नुपर्ने परम्परा रहिआएको छ । यसका राम्रा नराम्रा दुवै पाटा रहेका छन् । नेपालको संविधानले नारी र पुरुषलाई कुने विभेद नगरेता पनि केही मूल्य र मान्यताका कारण नारीहरू विभेदको सिकार बन्न विवश हुँदै आएका छन् । अझै पनि ती केही मान्यतालाई तोड्नुपर्ने कुरामा उनले सिर्जनामार्फत उठाएकी छन् । उनी भन्छिन् :
आफ्नै घरमा किन बस्नु सन्त्रास र डरमा
गर्व गर्छन् पुरुष आफ्नो नाम र थरमा
घर उनको थर उनको नाम पनि उनकै छ,
सधैँभरि हुकुम चल्छ मेरो भान्सा घरमा । (पृ.४५)

चेतनाले नै गर्दा नै मानिसलाई सर्वोत्कृष्ट प्राणि मानिएको हो । चेतना नहुँदो हो त मानिस मानिसजस्तो नै हुने थिएन । अर्थात् यही चेतनाकै कारणले मानिस र पसुमा भिन्नता देखिएको हो । चेतनालाई अर्को भाषामा विवेक पनि भनिन्छ । विवेक वा चेतना गुम्न पुग्दा निकै घृणित र त्रासदीपूर्ण घटना पनि घट्ने गरेका उदाहरण पनि प्रशस्त पाइन्छन् । तसर्थ मानव जीवनमा चेतनाको महत्त्वपूर्ण भूमिका रहेको छ ।

मुक्तक नेपाली साहित्यको निकै पुरानो विधा हो । कविताको लघुरूप मानिने यस विधाको आचार्य भामहले छैटौँ शताब्दिमै परिभाषा गरेका छन् । संस्कृत साहित्यमा रहेका ऋग्वेदकालीन एक श्लोकी शुक्त तथा मन्त्रहरूलाई मुक्तकका आरम्भ मानिने गरिन्छ । परिष्कारले सिर्जनामा निक्खरपन ल्याउने हो । तसर्थ मञ्जुलाई पनि परिष्कारको खाँचो छ । आगामी दिनमा अझ परिष्कृत रचना आउने आशा व्यक्त गर्दै उनको थप साहित्यिक उन्नयनको कामना गर्दछु । जय साहित्य ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।