18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राराको यात्राः बाटाको जात्रा

नियात्रा भीम रानाभाट July 16, 2025, 3:15 am
भीम रानाभाट
भीम रानाभाट

मानिस यात्राको कल्पनामा हराउँछ । नयाँ नयाँ सपनाहरू बुन्छ र सजाउँछ । यिनै कुराहरू पूरा गर्न ऊ यथार्थमा सल्बलाउँछ । यही कारणले नै उसलाई क्रियाशील बनाउँछ । अनि जिज्ञासु तुल्याउँदै आविष्कारको जननी बनाउँछ । यात्राको अवसर हत्तपत्त जुर्दैन । जुरे पनि समय मिलाउन गाह्रो पर्छ । त्यसैले यात्रामा जान पाउनु पनि महत्वको विषय हुन आउँछ । फेरि यात्रा एक्लै भन्दा समूहमा वा साथीसँग गर्दा महत्वपूर्ण हुन्छ । मभित्र पनि यात्रा गर्ने, भ्रमण गर्ने, नयाँ ठाउँको अवलोकन गर्ने रहर भित्री मनमा लुकेर बसेका छन्, बेलाबेला फुत्तफुत्त बाहिर निस्किरहन्छन् र मलाई नौला पाखापखेरा घुम्न जाऊँ भनिरहन्छन् ।

२०८० को नयाँ वर्षसँगै लेखक कलाकारहरूलाई कर्णाली प्रदेश भ्रमण गराउने, त्यहाँ भएका सभ्यता, सम्पदा र सम्भावनाको उत्खनन र उजागर गराउने ध्येयले प्रलेस केन्द्रले अवधारणा बनाएको कुरा प्रगतिशील लेखक संघका साथीहरूले सुनाउनुभएको थियो । प्रलेसका केन्द्रीय अध्यक्ष डा. मधुसुदन गिरीले फोन गरेर यात्रा तय भएको जानकारी दिँदै भ्रमण गर्ने निम्तो दिनुभयो । डा. कृष्णराज अधिकारीले यो अवसरमा कर्णाली जानु उपयुक्त हुन्छ, जाऊँ भनेर फोन गर्नुभयो । यात्राको मिति २०८० साल वैशाख १४ गते हुने पनि जानकारी पाएँ ।

पोखराबाट गरिने यात्रामा प्रायः नछुट्ने साथी नारायण मरासिनी यसपटक बिरामी भएका कारण सहभागी हुन सक्नुभएन । यादव, निर्मल र म तीनजना मात्रै पोखराबाट त्यस भ्रमणमा जाने निधो भयो । प्रलेसका साथीहरू देशैभरिबाट सहभागी हुने साथै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूको साथ रहने भएकाले पनि भ्रमण थप ओजपूर्ण बन्ने निश्चित थियो । म भित्रभित्रै हर्षले गद्गद् बनेको थिएँ । कल्पनाको गहिराइमा डुबेको थिएँ । कौतुहलताको सागरमा पौडी खेलेको थिएँ । साँच्चै भन्दा कर्णाली क्षेत्रको यात्राका लागि खुट्टो उचालेको थिएँ । यात्राका लागि चाहिने सामलतुमल कसेर म तयारी अवस्थामा बसेँ । सामानहरूले झोला अघाएको अजिङ्गरझैँ टुन्न देखियो । म ढुक्कले सुतेँ ।

वैशाख १४ गते ३ बजे सुर्खेतको बसमा चढ्यौँ । बस आफ्नो बाटो लाग्यो हामीलाई पेटमा बोकेर । पृथ्वी राजमार्गमा निर्माण कार्य हुँदै गरेकाले बसको यात्रा कष्टकर थियो । बस ७ बजे तिर बल्लतल्ल मुग्लिन पुग्यो । त्यसपछि बसले दाँया मोडेर नारायणगढ पट्टिको सडकमा साइड लगाएर केही यात्रु झार्‍यो र केही चढायो । बस खचाखच भरिएको थियो । राजमार्गमा यात्रा गर्नु नेपालमा जोखिमपूर्ण छ । ठाउँ ठाउँमा शौचालय नहुनु, सुविधायुक्त खाना खाने होटल नहुनु, बसका स्टाफको कर्कस बोली, यात्रुको मर्मलाई ध्यान नदिने प्रथा, सवारी साधनको मर्मतसम्भार नहुनु र यात्रामा बजाइने छाडा गीतहरू । यिनलाई व्यवस्थित नगरी यात्रा आरामदायी हुनै सक्दैन, यसैबाट पीडित छौँ हामीहरू । साँझ झमक्क पर्दा बस नारायणगढको बाटामा गुडिरहेको थियो । म यसो झकाएछु, बसले ब्रेक हान्दा ब्युँझें । त्यतिबेला म भृकुटी कागज कारखानाको अस्थिपञ्जर देखेर बेस्सरी झस्किएँ । अहिले कागजको भाउले आकाश छोएको छ । यति राम्रो उद्योग बन्द भयो । गैँडाकोटबाट निदाएको म एकैचोटि कोहलपुरमा बिहानपख ब्युँझें । बस रोकियो, चियानास्ता गरेपछि उत्तरतिर मोडियो । कोहलपुर चौरस्ता रहेछ । पूर्व मेची, पश्चिम महेन्द्रनगर, उत्तर सुर्खेत, दक्षिण नेपालगञ्ज यहीँबाट जाने रहेछ । हामी बाङ्गेसिमल हुँदै सुर्खेततिर लाग्यौँ । कस्तो अचम्म ! एक वर्ष पहिले प्युठान जाँदा भालुवाङबाट उत्तर मोडिँदा बाङ्गेसाल आएको थियो । अहिले बाङ्गेसिमल आश्चर्य लाग्यो मलाई ठाउँको नाम सुन्दा । अब भने नयाँ नयाँ वातावरण नयाँ समाज, नयाँ बस्ती र रहनसहन देखिँदै थियो । बस कछुवा गतिमा अगाडि बढिरहेको थियो । हामीहरू बाहिरका दृश्य हेर्दै भावुक बनिरहेका थियौँ । पहाडी पाखा घुम्ती र कुइनेटा वनजंगल र सानासाना खोला आदि पार गर्दै बस सुर्खेततिर लम्कँदै थियाँै । वरपर स्थानीयहरू खेतबारीमा श्रम गर्दै थिए । जेठी खोला, गाभर भ्याली, वैजनाथ, चिसापानी, ठाडो पुल, रातमाटे खोला, मौदी खोला, चेपाङ खोला, बाँसगढी, बबई नदी÷बबई बजार हुँदै बस कर्णाली देखिने ठाउँमा पुग्यो । आहा ! कति सुन्दर कर्णाली नदी । वनपाखा भीर पहाडको बाटो उराठैलाग्दो पनि थियो । ताउला खोला, टोली खोला, भेरी गङ्गा नगरपालिका आइपुग्यो । यसरी हामी चढेको बस सुर्खेतको छिन्चु बजार हुँदै प्रहरी चौकीमा पुगेर रोकियो । छिन्चु बजार सानो तर मनोरम रहेछ । कति हुन् खोला ? म यी खोला देखेर गोरखाको उत्तरी दुर्गम क्षेत्र सम्झन्छु । जसलाई अठार सय खोला भनिन्छ । लगभग ११ बजे हामी कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत पुगियो । आहा कति राम्रो उपत्यका सम्मो परेको सुन्दर ठाउँ रहेछ वीरेन्द्रनगर । बसबाट झरेपछि हामी झोला बोकेर अशोक होटल खोज्दै थियौँ, अलि पर दक्षिणतर्फ देखियो । हाम्रा खुट्टा बसमा रातभर कुँजिएर लैना पाडाका जस्ता भएका थिए । हामी लर्खराउँदै होटलमा प्रवेश गर्‍यौँ । हाम्रो खाना खाने व्यवस्था यहीँ रहेछ । केही क्षण आराम गरेपछि सुर्खेतको बुलबुले तालतिर लागियो । होटेलबाट १५-२० मिनेटको दुरीमा रहेछ । कस्तो अचम्म ! २०४३ सालमा आउँदा खुल्ला र सामान्य भएको ताल पुनर्निमाण हुन लागेछ । सबै जग्गा कम्पाउण्ड गर्न लागिएको रहेछ । बच्चैमा सुनेको गीतको याद आयो “सुर्खेत बुलबुल ताल मै सानी हुनाले छुट्यो मायाजाल” मनमनले गुनगुनाएँ । सानो तालमा बुल बुल गर्दै पानीका फोका उत्रिका थिए । हामी वातावरण अवलोकन गर्दै फर्कियौँ ।

तीन बजे अशोक होटलको माथिल्लो हलमा साहित्यिक कार्यक्रमको आयोजना गरिएको रहेछ । सुर्खेत बहुमुखी क्याम्पसको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा सभापति सुरेन्द्रकुमार पोखरेल (नेपाली भाषा विभाग प्रमुख, सुर्खेत ब. क्याम्पस) प्रमुख अतिथि प्रलेसका केन्द्रीय अध्यक्ष तथा प्राज्ञ डा. मधुसुधन गिरी उद्घोषक थानेश्वर लामिछाने रहेको कार्यक्रममा थुप्रै कविहरूले आ–आफ्ना रचना वाचन गरेका थिए ।

२०८०-१-१६ गते बिहान ८ बजे हामी त्यहाँबाट राराको यात्रामा हिँड्यौँ । उकालो बाटो, घुम्ती बाटो, साँघुरो बाटो हाम्रा हलगोरु जस्ता बस खुरुखुरु अगाडि बढिरहे । डाँडाबाट तल सुर्खेतको विशाल फाँट मनमोहक देखिएको थियो । मैले अघाइन्जेल हेरिरहेँ । यो यात्राको नियमै हो क्यारे हस्याङफस्याङ, सबै कुरा अस्तव्यस्त, सधैँ हतार हतार । आज पनि हाम्रो यात्रा यस्तै भैरहेको छ । साथीहरू आ–आफ्नै धुनमा मस्त । चिया खान हिँडेकाहरू फोटो खिचेर जात्रा ! यात्रामा छुट्छन् कि भन्ने पीर । हाम्रो बसमा युद्धविक्रम शाही, बिन्दु दाहाल मुकदर्शक, टीका चापागाईँ, पार्वती दाहाल, डा. देवी दुलाल, डा. बद्रीविशाल पोखरेल, डा. मधुसुदन गिरी, म लगायत ३२-३५ जना थियौँ । गाडी चालक लोकेन्द्र शाही र सहचालक गणेश तामाङ थिए । अर्को बसमा डा. कृष्णराज, कवि वैरागी जेठा, डा. कौशिला रिसाल, बाबा बस्नेत, अशोक बलेवा, विष्णु परियार, दुर्गा परियार, भीम कुमाखी, डा. धनप्रसाद लगायत थिए । अब हाम्रो बस उकालामा ठसठस कन्दै बिरामीझैँ स्वाँस्वाँ गर्दै गुडेको थियो सानो बाटो, भीरको बाटो, उकालो बाटो, वनजंगलको बीचमा घुम्ती घुम्ती रोडमा । सिद्धपाइला, रातानाङ्लाको उकालो काटेपछि थोरै ओरालो झर्दै गयो । कति राम्रो डाँडाको थाप्लो । मलाई मेरै गाउँको लाँकुरी भञ्ज्याङ जस्तै लाग्यो । हैन के भा’को हो ? जता गए पनि आफ्नै रनवन घुमे जस्तो ? मलाई मात्र हो की सबैलाई यस्तै लागेको छ ? मनभरि प्रश्नैप्रश्न छन् । यो ठाउँको नाम गुँरासे लेक रहेछ तर खासै गुँरास भएझैँ लागेन । गाईवान्ला, घोडाबास, तालपोखरी हुँदै सातसल्लीको ओरालो झर्दै माथिल्लो डुङ्गेश्वर, चुप्रा पार गरेर दैलेखी राजाको कोटमा पुग्यौँ । कोटगढी डाँडाको थाप्लामा रहेछ । यसलाई कम्पाउण्ड गरेर संरक्षण गरिएको रहेछ । त्यहाँ पुरानो तोप पनि सजाएर राखिएको थियो । ठाउँ सुन्दर, आकर्षक र वैरी आएको देखिने टाकुरामा थियो । त्यतिबेलाका राजाहरूले दुर्ग यस्तै ठाउँमा बनाउँदा रहेछन् । जहाँ पनि यस्तै प्रकृतिका छन् । त्यहाँ हामीलाई दैलेखका उच्च पदस्थ सबै कर्मचारी र स्थानीय निकायका जनप्रतिनिधिहरूले स्वागत गरे । वरपरका सुन्दर डाँडाहरू चुपचाप थिए । कति स्वाभिमानी देखिएका ? यिनैले हो हामीलाई परिश्रम र स्वावलम्बनको पाठ सिकाएका, नैतिकताको परिभाषा पढाएका । कति मेहनतले बनाएका रहेछन् यो गढी लडाईँको दुर्ग ? यो गढी त्यस बेलाका राजा पृथ्वी मल्ले बनाएको भन्ने कुरा जानकारीमा आयो । हाम्रो जम्बो टोली देखेर स्थानीयले कौतुहलता जनाएका थिए । हैन कहाँबाट किन आए यतिका मान्छे ? अहिलेसम्म यत्रो ठूलो हुल कहिल्यै आएको थिएन भन्दै थिए । यहाँको प्रचलित गीत “बनेको बनाउनु के छ ? दैलेखको गढी, गुरुज्यूको नाम चलिजाउ विद्या आइजाउ बढी ।”

पुतलीगढीको तोपगढी साह्रै रोचक रहेछ, पुर्खाप्रति गर्व गर्ने खालको । डाँडाबाट तल तल पाखा पखेरा, फाँटहरू रोमाञ्चक रहेछन् हेरिरहुँ जस्तो । गढीबाट केही तस्बिरहरू खिचेर हामी बिदा भयौँ । तर तोपगढीले आज यतै बसे हुँदैन र ? भनेर खुसुक्क मसँग सोध्यो । मैले धेरै ठाउँ भेट्नु छ भनेर बाईबाईँ गरेँ । अब हाम्रो टोली भूर्तिमा रहेको पच्चिस देवलको अवलोकन गर्न गयौँ । त्यहाँ सुरुमा पच्चिस देवल कलात्मक रुपमा बनाए पनि ऐले केही देवल मात्र बाँकी रहेछन् । ती पनि संरक्षणको अभावमा अस्तव्यस्त रहेछन् । किन होला हामी र हाम्रो सरकार यस्ता कामलाई बेवास्ता गरेका ? मलाई दुःख लागेर आयो । बजेट छ, जनप्रतिनिधि छन्, शिक्षित वर्ग छन् तर निर्माण र पुनर्निर्माणको सोच छैन । आखिर सभ्यता र समृद्धि आकाशबाट खस्दैन क्यारे ! त्यहाँबाट पहाडी लोकमार्ग नजिकै वनको बीचमा खोलाको किनारमा रहेको ज्वाला मन्दिर हेर्न गयौँ । त्यहाँ मुक्तिनाथ क्षेत्रको जस्तै मन्दिरभित्र ज्वाला रहेछ । तल खोलाको पानी पनि भुलभुल गरिरहने । सलाई कोरेर बालेको पानीमा आगो बल्यो । यहाँ पनि ग्याँस आउँदो रहेछ । भूगर्भ विभागले अन्वेषण गरी ग्याँस भएको कुरा पत्ता लगाएको र केही समयपछि उत्खनन हुँदै छ भन्ने कुरा सुनियो । खुशी पनि लाग्यो । हाम्रो देशमा प्राकृतिक सम्पदाको खानी नै छ तर हामी अज्ञानी छौँ, अशिक्षित छौँ । हाम्रो अनुसन्धान पद्धति सही छैन ।

हामी फर्किएर पहाडी लोकमार्ग हुँदै केही बेरमा जगत्रा बजार दैलेख प्रवेश गर्‍यौँ । त्यतिबेला दिउँसोको बाह्र बजेको थियो । दुल्लु न.पा.को चमेनागृहमा हाम्रो खानाको व्यवस्था रहेछ । हामी समूहमा खाना खान बस्यौँ । त्यहाँको चिसो पानीमा पकाएको स्थानीय खाना कति स्वादिष्ट ! साह्रै मीठो खाइरहुँ जस्तो । भोक मिठो कि भोजन मिठो ? नेपाली उखान सम्झेँ मैले । खाना बनाउनेहरूप्रति नमन भने र पोखरा आउने निम्तो सहित बिदा भएँ । उनीहरू खै कैले समय जुर्ला ? अनि आउँला भन्दै थिए । खानापछि दुल्लु नगरपालिकाले आफ्नो ऐतिहासिक आँगनमा (जहाँ २०३८ को दामुपालको नेपाली भाषामा लेखिएको पहिलो शिलालेख थियो) एक साहित्यिक कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रम भैरहँदा मैले पूर्वप्रकाश नेपाल यात्रीलाई सम्झेँ । उहाँले मलाई यस क्षेत्रका बारेमा २०४३ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा पढाउनुभएको थियो । उहाँले दर्जनौँ यहाँका बारेमा पुस्तक लेख्नुभएको छ । यो शिलालेख पनि उहाँले नै खोजीनिती गरेको इतिहास छ । मेरा बाका साथी योगी नरहरिनाथ जो मेरा ज्योतिष हजुरबुवा लालबहादुरका चेलालाई पनि मैले स्मरण गरेँ । जसले नेपालको इतिहास, राजनीति, भूगोलका बारेमा २०३५ सालमा मलाई सिंजा र जुम्लाको कथा सुनाउनु भएको थियो । उहाँका पनि दर्जनौँ पुस्तक छन् । कार्यक्रम छोटाछरितो भयो । हामीलाई त्यहाँको न.पा.को परिचय सहितका पुस्तकहरू उपहार दिइयो । हामी ती उपहारलाई बोकेर अलि माथि थाप्लामा बन्दै गरेको साहित्यिक पार्क हेर्न गयौँ । सबै अग्रज साहित्यकारका सालिक बन्दै रहेछन् । यो महान् कार्यको प्रशंसा गर्दै हामी कालिकोटतर्फ लाग्यौँ । सिंजा यस्तो सभ्यता हो जहाँ सबै जातिको भाषाको उद्गम स्थल हो । हाम्रो पुख्र्यौली घर रहेछ समग्रमा सिंजा प्रान्त, नेपाली भाषाको उद्गम स्थल रहेछ । हाम्रा संस्कृति र सभ्यता यतैबाट फैलिएका रहेछन् । धन्य छ सिंजा ! तिमीलाई कोटी कोटी सलाम ! सिंजाको काखमा एकरात बसेर, नेपाली भाषाको कथा सुन्न कति लालायित थिएँ तर समय खै र ? हामी बिदा हुँदा सिंजाका आँखामा आँसु टिल्पिलाएका थिए ।

दुल्लुबाट हिँडेका बस तल्लो डुङ्गेश्वर हुँदै लोहोरे खोलातर्फ गुड्छन् । लोहोरे खोला तरेर कर्णालीको किनारैकिनार पूर्वतर्फ मोडिएर कर्णालीलाई बाँया पारेर । टुनी बगर सानो बजार जहाँ २-४ वटा खाजा चियाका पसल भेटिन्छन् । केहीमाथि पुगेपछि कर्णालीलाई बायाँ छाडेर अझै पूर्व लाग्यौँ । सानो बजार र प्रहरी चौकी रहेछ तिला नदीको किनारमा । सानो ओरालो झरेपछि हामीले तिला नदीलाई भेट्यौँ । तिला नदीको किनारै किनार पूर्वतिर गुडिरह्यौँ । तिलाको पुल तरेर उत्तरको उकालो बाटो समायाँै हामीले । साँझ झमक्क पर्दा हामी मान्माको बेसीमा थियौँ । धेरै माथि टापुमा बत्ती बलेको थियो हामी त्यसैलाई ताकेर उक्लिरहेका थियौँ । रातको ८-९ बजेतिर हामी कालिकोट जिल्लाको खाडाचक्र न.पा.को मान्मा बजार पुग्यौँ । हाम्रो आजको बास त्यहीँ हुने भयो । हामी चन्द्रसूर्य होटलमा बासका लागि पस्यौँ । बाहिर पानी सिमसिम परिरहेको थियो । रातको समय जाडो भएकाले बाहिरी वातावरणको मेसो भएन । तातो खाना खाएर आरामले सुत्यौँ ।

बिहान ६ बजे उठियो । कपडा फेर्दा मेरो पैसा खसेछ । त्यो कवि बिन्दु दाहालले भेट्टाउनुभएछ । कसको पैसा हो भन्दा म झसङ्ग भएँ, गोजी छामेँ, आखिर पैसा मेरै रहेछ । कविज्यूलाई धन्यवाद ज्ञापन गरेँ । प्रलेस कर्णालीले कार्यक्रम राखेकाले ७ बजे हामी जि.वि.स.को हलमा सामेल हुन हिँड्यौँ । बाहिर चिया पिउन तेजविलास, डा. कृष्णराज अधिकारी र म पसलतिर गयौँ । चिया दुनोट खाएर हामी हलमा प्रवेश गर्‍यौँ । जिविसको हलमा कार्यक्रम सम्पन्न भयो । अजय गिरीको सभापतित्व, डा. मधुसुदन गिरीको प्रमुख आतिथ्यता रहेको त्यो कार्यक्रमको सञ्चालन पुष्पराज आचार्यले गरेका थिए । त्यसैदिन प्रलेस कालिकोटको २१ सदस्यीय समिति महेन्द्र चौलागाईँको अध्यक्षतामा गठन भयो । रचना, वाचन, शुभकामना र धन्यवाद ज्ञापन पछि हाम्रो यात्रा रारातिर सोझियो । होटलबाट झोला झिकेर बसमा बसियो । ओहो ! मान्माको परिवेश उत्तर फर्किएको पाखो, सुर्का बारी, पहिरै पहिरो, बेँसीमा तिला नदी सुसाएको उराठलाग्दो वातावरण, कष्टकर जीवन । यहाँको भूगोल दर्शाउने प्रचलित गीत “बाँके जिल्ला पुरै पुर सुर्खेत काँडै काँडा, कालिकोट कोटै कोट जुम्ला बाडै बाडा ।” कसरी बाँच्ने होला जिन्दगी ? मलाई दार्जिलिङ्ग र सिक्किमको याद आयो । त्यहाँ विकास छ यहाँ विनाश मात्र ! २ वटा बस र १ स्करपियो हामीलाई बोकेर कच्ची बाटो लम्किए । हामी पाखामा थियौँ, अझ माथि भीरको पहाड थियो भने तल बेसीमा सुर्कासुर्की गरा र पुछारमा तिला नदी वेदनामा सुसाईरहेकी थिई। चारैतिर पहाडहरू थिए र तिनका शरीरमा पहिराका पुराना खत र नयाँ घाउहरू छरपष्ट थिए । त्यतिबेला मैले आफ्नै बाल्यकालमा पकुवा लुतोले सताएको सम्झेँ । कति दुःखदायी थिए ती दिन अहिलेको कर्णाली जस्तै । यो कर्णालीको लुतो कहिले कसले सफा गर्ने ? मभित्र जब्बर प्रश्नले घोच्छ । अलि अगाडि पुग्दा फेरि म झसङ्ग हुन्छु । हाम्रा अगाडि माथिबाट बडेमानको ढुङ्गा खसिरहेको । हाम्रो बस तर्केर अगाडि पुग्यो । एकछिन पछि भएको भए के गति हुँदो हो ? मुटु चसक्क भयो । अहिले हामी कुइनेटो पार गरेर मान्माको सम्मुख भयौँ । कति घुम्ती, कति पहिरो, कति भीर, मनभरी पीरैपीर । धन्न मोटर आएर नत्र कति दिन हिँड्नु पथ्र्यो ? प्रश्नका झटाराले छातीमा हान्यो । कति महङ्गो छ, भाडा ! कसरी यात्रा गर्छन् स्थानीय ? हामी पिली भन्ने भीरको गाउँमा पुग्यौँ । वि.संं. २०६२ साउन २३ गते सेनाको पिली क्याम्पमा माओवादी छापामारले आक्रमण गर्दा ६२ जना सेना, २८ जना माओवादी लडाकु र १३ जना नजिक घर भएका सर्वसाधारण मारिएका थिए । पिलीको भिरमा यो युद्ध कहालीलाग्दो थियो । यो आक्रमण माओवादी छापामारको अन्तिम आक्रमण थियो । यसपछि सरकारबाट शान्ति वार्ताको अन्तिम चरण सुरु भएको थियो ।

हाम्रो यात्रा सेरावडा, गाल्जे हँदै नाग्मा बजार पुग्यो । हाम्रो खाना कनका सुन्दरी मा.वि. लुड्कु जुम्लामा पाकिरहेको थियो तर हामी बाटोमा ढिलाई रहेका छौँ । नाग्मा बजारमा आ–आफ्नै इच्छामा मन लागेका चिजहरू खाने सहमति भयो । कसैले केरा, कसैले स्याउ, कसैले समोसा, पाउरोटी, चिउरा तरकारी र रोटी खायौँ । हामी अगाडि बढ्यौँ, बिस्तारै बिस्तारै । आम्मामामा ! पहिरोले घर किचेको दृश्य कति हृदय विदारक । अघिल्लो साल बाढी र पहिरोले यो क्षेत्रमा गर्नु गरेछ । पहिरोमा बगेर आएको ठूलो ढुङ्गाले २-३ वटा घर र मोटरसाइकल पनि पुरिएछ । अहिले ढुङ्गाले किचेको अस्थिपञ्जर मात्र बाँकी देखिएका छन् । मलाई लाग्यो कर्णालीको अर्को नाम पहिरो हो क्यारे ! जता पनि पहिरो । कतै वास पाइँदैन, कतै खाना पाइँदैन, कतै बाटो सजिलो छैन त्यसैले पाइला मिलाएर हिँड्नुपर्छ लेकतिर दुर्गम भेगमा । प्रकृतिको सारमा ताल मिलाएर हिँड्नुपर्छ । त्यहाँ कुनै विज्ञानले काम गर्दैन न कुनै गणितका सुत्रले काम गर्छ । त्यसैले सातु, चामल रसद पानी बोकेर हिँड्नुपर्छ नि ! चिउरा खाँदै कुद्नुपर्छ, मौसमको विचार गरेर पाइला बढाउनुपर्छ । बस एकनासले गुडिरहेको थियो । ड्राइभर होसियारी साथ बस चलाइरहेका थिए । गीत बजिरहेको थियो । “तिम्रो थर मेरो थर बनाउ एउटै घर ।” हामी अग्ला अग्ला पहाड हेर्दै थियौं, मनमा उत्सुकता बोकेर । साथी युद्धविक्रम शाहीले एउटा प्रचलित उखान सुनाउनुभयो । “कालिकोटे कोठेवाडा सुनका फूल हुन्या । भन्दिए भन्दियो भन्ने, नभने भूल हुन्या ।” अर्थ त गहिरो छ नि ! बुझ्नै गाह्रो !

हामी तिला नदीको किनारै किनार उत्तरतिर लाग्यौँ । बीचमा पुग्दा हामीलाई खबर आयो तपाईहरू सिधै तिला नदीको बायाँ किनारै किनार ढुटी आउनुहोस् । हाम्रा गाडी जुम्ला जाने बाटो छाडेर दायाँ मोडिएर ढुटीतिर लागे । त्यहाँको सामुदायिक भवनमा कर्णालीका सांसद नरेश भण्डारीले साहित्यिक अन्तरक्रियाको कार्यक्रम राखेका रहेछन् । हामी पुग्दा स्थानीयहरू जम्मा भैसकेका रहेछन् । जम्बो टोली देखेर सबै छक्क परे । छिट्टै कार्यक्रम सञ्चालन भयो । त्यस ठाउँमा सम्मो धरातलमा नदीको वारिपारि स्याउका बोटहरू हुर्किरहेका रहेछन् । हावामा फरफराइरहेका थिए, वातावरण शान्त सौम्य थियो । तिलाको कञ्चन पानी पनि टक्क रोकिएर हामीलाई नियाली रहेझैँ लाग्यो । कर्णालीको मुहारमा थोरै मुस्कानको झलक देखेझैं लाग्यो मलाई । त्यहाँबाट फर्कँदा झण्डै चार बजेको थियो । बड्की, भूगोलपाटा हुँदै हिमानदीका किनारै किनार खत्रीवाडा पुग्यौँ । पानी परेर बाटो हिलाम्मे भएकाले हाम्रो बस हिलोमा फस्यो । सबै मिलेर ढुङ्गा हाल्दै, धकेल्दै, ठेल्दै बसलाई हिलोबाट पार गरायौँ । १५-२० मिनेटको समय खर्च भयो । भोको पेटमा सोला हान्यो । उसै त नुगेको डाली भनेजस्तै भयो । यहाँ पनि बाटाका दायाँ बायाँ बारीमा, पाखामा स्याउका बोटमा पालुवा पलाएकाले वातावरण मगमग बसाएको थियो, प्रकृतिको सुवासले ।

अब हामी जुम्ला प्रवेश गरिसकेका थियौँ । वरपर पाखामा पहिराका खत देखेपछि मेरो मनमा कुरा आयो यो कर्णालीमा पहिरो पनि कति जान सकेको ? मोटर बाटोले केही उत्साह थपे पनि विविध अभावले कर्णालीका गाउँहरू टाक्सिएका रहेछन् । हामी झमक्क साँझ पर्दा लुड्कु जुम्ला पुगियो । यहाँको कनक सुन्दरी मा.वि.को मूल गेटमा हामीलाई स्कुलका शिक्षक विद्यार्थीले भव्य स्वागत गरे । तयार पारिराखेको स्वागत गीत सुनियो, देउडा नाच हेरियो । कर्णालीको संस्कृतिले लट्ठ बनायो । कति मीठो स्वागत गीत, कति राम्रा कलाकार, कति सुरिलो कण्ठ, एकताको नाच प्रशंसालायक थियो । पाकेको दालभात तरकारी खायौँ र रसेटाको आगो तापेर शरीर न्यानो पार्‍यौँ । अन्तमा धन्यवाद दिँदै हाम्रो टिम स्थानीयका घरघरमा बाँडिएर सुत्यौँ । म साथीहरूसहित कनकासुन्दरी मा.वि.का प्र.अ. लोकेन्द्रप्रसाद उपाध्यायकाका घरमा सुतें । दिनभरिको थकाइले होला भुसुक्क निदाइएछ । बिहान ६ बजे उठियो । सरकी धर्मपत्नी कल्पना उपाध्यायले दिएको तातोपानी पियौँ, हातमुख धोएर चिया पियौँ र बिदा भएर स्कुलतिर झर्‍यौँ । त्यतिबेला सबै घरबाट पाहुना निस्कँदा वरियात निस्के जस्तै थियो ।

स्कुलमा प्रलेसको बैठक बस्यो । हामी केही साथीहरू छुट्टै छलफलमा स्कुलको एक कोठामा बस्यौँ । अब भने हाम्रो यात्रा राराको लागि तयार भयो । उकालो बाटो बिस्तारै गाडीहरू अगाडि बढिरहे । जङ्गलको बीचमा खोल्सो पार गरेपछि एउटा भीर आयो । गत साल काठमाडौंबाट शैक्षिक भ्रमण लिएर आएको बस यहीँबाट २०० फिट तल खसेर दुर्घटना हुँदा २० जना विद्यार्थीको मृत्यु भएको रहेछ । बाबा कस्तो सास्ती र पीडा भयो होला, मुटुमा चसक्क काँडा बिझ्यो । न अस्पताल, न सुगम कति छटपटाए होलान् घाइते मान्छे । एउटा अस्पताल भए कति बेश हुन्थ्यो । गाडी अगाडि बढ्यो रारा पुग्नका लागि । गाडी हिलोमा फस्यो, हामीले गाडी धकेल्न खोज्यौँ तर सकेनौँ । अरु गाडीका मान्छेले सघाए । स्थानीय ४–५ जना केटाहरू आए । मैलाधैला फाटेका कपडा, फाटेका चप्पल, मैले देउडा गाउन लगाएँ । उनीहरूले मीठो गीत गाए । मैले १०० रुपैयाँ दिएँ, अरुले पनि थपेपछि रु. ५०० जम्मा भयो । मैले कापी कलम किनेर पढ है भनेँ उनीहरू खुशी भए । एकजना भलाद्मी साथीले तीनलाई अपशब्दले गाली गरे, उनीहरू निन्याउरा भए । मलाई ती व्यक्तिप्रति घृणा जागेर आयो । मीठो बोली र सरल व्यवहारको जहाँ पनि प्रशंसा हुन्छ ।

हामी १० बजे भुटु ब्यारेकको चेकपोष्टमा पुग्यौँ । गाडी जाँचपास गरेपछि केही बेरसम्म चौरमा गुड्यौँ । छाँयानाथ हुँदै रारा न.पा.को प्रवेशद्वारमा पुग्यौँ । केही उकालो पार गरेपछि सल्लेरी बेस क्याम्प पुगेर रोकिए हाम्रा सवारी साधन । पानी सिमसिम परेको थियो । हावा स्याँठ बनेर चलिरहेको र भोक बढिरहेकोले हामी खानाको तर्खरमा लाग्यौँ । पालैपालो सल्लेरीको लामा होटलमा भात खायौँ । आहा ! कति मीठो भात । त्यहाँबाट केही साथीहरू प्लास्टिक र छाता ओढेर हिँडे भने केही साथीहरू घोडामा सवार भए । कहिल्यै नचढेको मानिसलाई त घोडा चढ्नु पनि गाह्रो हुन्छ । हामी हिँडेरै गयौँ । तेजविलास, कृष्णराज र म सरासर हिँड्यौँ । बाटो हिलोले गजगज थियो तैपनि हिँडियो रारा ताकेर । बीचमा सम्मो चौर रहेछ कति सुन्दर । लगभग ४० मिनेटमा हामी लड्दैपड्दै रारामा पुगियो । रारा पुग्ने बेला केही ओरालो रहेछ । घोडाका टापले बिगारेको बाटो अप्ठ्यारो थियो । सल्लाको बाक्लो वन थियो कल्पनामा डुबेको मन थियो, अझै पनि रारा देखिएन । बल्ल हामी राराको आँगनमा झर्‍यौँ । आम्मामामा ! कति राम्री रारा । कति शान्त रारा ! कति विशाल रारा ! म राराको रुपमा मोहित भएँ । चारैतिर नियालेँ । सुटुक्क सोधेँ, रारा सन्चै छौ ? म पोखराबाट आएको ज्यालादारी चिनिनौ होला ? उहाँ तेजविलास, उहाँ डा. कृष्णराज, उहाँ तिला लेकाली । हामी सबै तिमीलाई भेट्न आएको । रारा केही बोलिनन् मात्र मुस्कुराइरहिन् ।

२०५८ साल कार्तिक २३ गते दरबार हत्याकाण्ड प्रत्यक्ष देखेकाहरू प्रेक्षा शाह, दानबहादुर शाही लगायतको टिम डोल्पा घुमेर रारा फर्किएका थिए । ब्यारेक नजिकै राराको काखमा चियापान गरी हेलिकप्टरमा उडेपछि राराको फन्को मार्दा हेलिकप्टर दुर्घटना भएको किस्सा सुनाइएको थियो । जसमा प्रेक्षा शाह, दानबहादुर शाही र अन्य दुईजना रारामै समाहित भएको र पाइलट समेत एकजना जिउँदै उत्रिएको भन्ने सुन्नमा आएको थियो । वास्तविकता के हो ? कति नम्बरको हेलिकप्टर दुर्घटना भएको हो ? ती दुईजना कसरी बाँचे ? घटना रहस्यमय छ । मैले सुटुक्क रारासँग सोधेँ, खास कुरा के हो, तिमीलाई थाहा छ ? उनी चुपचाप टोलाइरहिन् बोल्दै बोलिनन् । त्यति नै बेला कवि विन्दु दाहाल मुकदर्शकले कविता लेखेर मलाई दिए । त्यो कविता राराको मौनताप्रति लक्षित थियो ।

राराको पानी अञ्जुलीमा उठाएर नमन गरेँ र मेले कसम खाएँ म जीवनभर नागरिकको पक्षमा काम गरिरहने छु । मैले देशप्रति घात गर्ने छैन । म बाँचुञ्जेल श्रम र पसिनाको सम्मान गर्नेछु । राराको आँगनमा थुप्रै मान्छे र घोडाहरू थिए । प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति र प्राज्ञहरू डुङ्गामा पलेँटी बसेर साहित्यिक कार्यक्रम चलाउँदै पाँच बुँदे रारा घोषणापत्र २०८० जारी गरे । उक्त घोषणापत्रमा नेपालका सबै भाषा, साहित्य, संस्कृति र कलाका बारेमा प्रज्ञा–प्रतिष्ठानको धारणा व्यक्त थियो, सबैको प्रज्ञा प्रतिष्ठान बनाउने लक्ष्य थियो ।

त्यसपछि साथीहरूले कविता वाचन गरे र फोटो खिचे । मैले पनि घोडामा बसेर राराको दृश्यलाई मोबाइलमा कैद गरें । रारालाई मैले अघाइन्जेल नियालेँ । चारैतिरका पहाडको छायाँ राराका आँखामा थिए । पारिपट्टि होटेलहरू थिए । त्यहाँ सेनाको ब्यारेक पनि थियो । उत्तर पूर्वमा मुगुको सदरमुकाम गमगढी पर्दो रहेछ । पूर्व ताल्चा विमानस्थल रहेछ । मेरा पखेटा भए हररर उडेर सबै ठाउँ हेरेर आउने थिएँझैँ भयो । ? पानी परिरह्यो, चिसो बढिरह्यो यो ज्यानले चुपचाप सहिरह्यो । कति कष्ट सहेर, कति समय खर्चेर बल्ल बल्ल कर्णाली पुगेको तर अघाइन्जेल राराको सौन्दर्य हेर्न पाइन । पानी परेर उछार दिएन । कुहिरो लागेर छेकिरह्यो । म बेस्सरी चुक्चुकाएँ ।

रारामा घोडाको लिदीले फोहोर बढाएको रहेछ । घोडाका धनीहरू चप्पल, जुत्ता र कपडा पनि च्यातिएका लगाएका थिए । केटाकेटीहरू पनि घोडाको सइस भएका थिए । दिनभरि घोडामा मान्छे बोकेर दाना पुर्‍याउन मुस्किल छ, भोकै पनि परिन्छ भन्थे । यसरी पनि जिन्दगी बाँचिन्छ ? प्रश्नको झटाराले मुटुमै हान्यो । म मर्माहत बनेँ । कति दुःख हो कर्णालीमा ? सुख त केन्द्र काठमाडांैले लुटेको छ । कर्णालीका नाममा तारे होटलमा भोज र भतेर गरेर । अहिलेसम्म बाटो नपुर्‍याएकामा सरकारसँग रोष प्रकट गरेँ । हामी फर्केर सल्लेरीमा चिया खाजा खायौँ र गाडी चढेर फर्कियौँ । बिहानैदेखिको पानीले चिसो बढाएको थियो । साँझ लुड्कुको होटल बास हिलैहिलोले अस्तव्यस्त थियो । तातो भात खाएर न्यानो ओछ्यानमा मीठो निन्द्रामा सुतियो । बिहान ६ बजे उठेर चियापान गरी हामी कनकासुन्दरी मन्दिर परिसर हेर्न गयौँ । मन्दिर निक्कै पुरानो कलात्मक रहेछ । समग्रमा यो राजाको हिँउदे दरबार रहेछ । फर्किएर आउँदा खाना सकिएकाले चिउरा तरकारी खाइयो र दिउँसो कनकासुन्दरी गा.पा.को भवनमा कवि गोष्ठीमा सहभागी भइयो । कार्यक्रम छोटो भयो तर मैले फेरि पनि कविता वाचन गर्न पाइनँ । तर मैले राराको यात्रा त गरेको छु भन्ने भावना आयो । स्थानीय भेषभूषाका महिला देख्दा पुरानो संस्कृतिको माया लाग्यो । छाँट परेको लवाई र बान्की परेका युवतीहरू देखेर लोभ लाग्यो । बेलुका हामी बास बस्न जुम्ला बजार पुग्यौँ । साँझ ८ बजेतिर हामी जुम्लाको दौँतरी होटलमा बास बसियो भने अर्को टोली विराट दरबारमा बस्यो ।

बिहान ६ बजे उठेर प्रातकालीन हिँडाइका साथमा हामी चन्दननाथको मन्दिर परिसरमा पुगियो । त्यो मन्दिर पुरानो रहेछ । यसै मन्दिरमा आएका योगीले मार्सी धानको बिउ ल्याएर जुम्ला जस्तो चिसो र उच्च स्थानमा धानको खेती गर्न सिकाएको इतिहास रहेछ । यो पनि क्रान्तिकारी परिवर्तनमुखी पाइलो हो । अचेल निक्कै महङ्गोमा मार्सीको चामल बेचेका छन् जुम्लीहरूले । मन्दिर घुमेपछि हामीले बाहिर होटलमा आएर चिया पियौँ ।

हामी कर्णालीका पाखामा गएको पहिरोका घाउ हेर्दै तलतिर झर्‍यौँ । सल्लाका बोटहरू सुसाइरहेका थिए । झरना, खोला, नदीहरू पनि एकतमासले सुसेल्दै वेगले बगेका थिए । म भने राराले किन घुम्टो नखोलेकी ? कर्णाली किन रोएको ? जनजीवन किन पीडामय छ ? कर्णालीलाई कसले यस्तो बनायो ? आदि प्रश्नहरूको उत्तर खोज्ने ध्याउन्नमा टोलाइरहेको थिएँ । आम्मै ! कति छिटो बस त ताडीबजारमा आइसकेछ । बाह्र बजेको हुँदो हो खानाको तर्खरमा लाग्यौँ । २ वटा होटलमा हामी ७०-८० जना यात्री खानाका लागि बस्यौँ । चिसो पानीमा पकाएको खाना, कुखुराको मासु, तरकारी, अचार र कलेजा जस्तो दही आहा कति मीठो ! त्यो स्वाद आजसम्म बिर्सिएको छैन । पर एउटा घरमा विवाहको कार्यक्रम हुँदै रहेछ । त्यहाँ मंगल गान सुनियो । महिलाहरू स्थानीय पोसाकमा सजिएर देउडा खेलेका पनि मैले नजिकैबाट हेर्ने अवसर पाएँ । यतिबेला मैले २०४८ सालमा बितेकी मेरी हजुरआमालाई सम्झेँ । उहाँले यस्तै कार्यमा मीठोसँग माङ्गल गाउनुहुन्थ्यो । म सधैँ उहाँको पछि लागेर जान्थेँ । कर्णाली लोक साहित्यको खानी हो भन्ने कुरा मेरा गुरु पूर्णप्रकाश नेपाल यात्रीले २०४३ सालमा पढाउनुभएको थियो । पछि अर्का गुरु हुमकान्त पाण्डेले कर्णाली पुगेर त्यहाँको माङ्गल र अन्य संस्कृतिको संकलन गरेर लोक साहित्यको २ वटा पुस्तक लेख्नुभएको थियो । जुन किताब मसँग अझै छ । नेपाली कपडा, गरगहना लवाईखवाई कति मिलेको मलाई असाध्यै मन पर्छ हाम्रो संस्कृति । म फर्किएर होटलमा आएँ । हिसाबकिताब के कसो भयो ? साथी युद्धविक्रम शाहीसँग सम्पर्क गरेँ । होटलका दिदीबहिनीलाई भेटेर बिदा हुन खोज्दा उनीहरूले दुखेसो गरे । सर तपाईहरू शहर र सुगमबाट आउनुभएको हो । कर्णालीमा दुःख छ । हामीसँग पैसा भएर पनि खानेकुरा र औषधीको अभाव छ । हामी खानालाई सम्मान गर्छौँ भन्दै गुनासो गरे, हामीलाई खानेकुरा फालेको मन पर्दैन । कुरो के भएछ भने केही साथीहरूले खाना फाल्नुभएछ । भात डढेको रहेछ, मलाई हड्डी मात्र परेछ भनेर रिसाएछन् । हामीले त्यसका लागि क्षमा माग्यौँ । यात्रामा आएकाहरूबाट केही यस्ता भैहाल्छन् । श्रम, पसिना र खाद्यान्न चिन्न हामीलाई अझै समय लाग्छ भनेर बिदा मागेँ । उनीहरूले चित्त बुझाए । आखिर उक्त टोलीका लेखक, कलाकारहरू प्रगतिशील नै थिए किन यसो गरे ? म छक्क परेँ । हामी सबैजना बसभित्र बस्यौँ, यात्रा अगाडि बढ्यो । कति रमाइलो ताडी बजार मैले पारीको कुइनेटोबाट हेरिरहेँ र बाइबाई गरेँ । समय घर्किरहेको थियो, हाम्रो मन पाकिरहेको थियो यात्रा निरन्तर चलिरहेको थियो जीवनको बाटोमा । पारीपट्टी नाग्मा बजार हामीलाई स्वागत गरिरहेको थियो । कति मीठा छन् कर्णालीका गीत । आखिर कर्णालीका सम्पदा अपार छन् र सुनको सिरानी हालेर मस्त सुतेको छ यो क्षेत्र ।

हामी भीरपाखामा गुडिरहेका छौँ कर्णालीको मनमा पीरै पीर छ । गाल्जे, सेरावाडा हुँदै फेरी द्वन्द्वकालमा माओवादी सेना र प्रहरीबीचको भिडन्त भएको ठाउँ पिली आइपुग्यौँ । भीरको गाउँ पीरको ठाउँ पिली भन्ने गाउँ मनमा अजङ्गको पहाड उठेर आयो म त्यसैले थिचेर उकुसमुकुस बनेँ । पिली पार गरेपछि मान्मा बजार खाडाचक्र न.पा. कालिकोट बजार आइपुग्यौँ । पेटभरी मैले वातावरण र वरपरका पाखा पखेरा, भीर पहरामा आँखा ओछ्याएँ । कताकता हाम्रै गाउँको सिसा खाने, धुस्ती, कोलथुम्की र परेवा खोलाको भीरझैँ लाग्यो । म त्यसै त्यसै टोलाइरहेको रहेछु । बिन्दु दाहाल मुकदर्शकले बोलाएपछि पो झसङ्गै भएँ । अब हाम्रो रारा यात्रा पुरा भएको र समयको चापले हाम्रा गाडी नरोकिएर अगाडि बढिरहे । मान्माको ओरालो हुँदै तिला नदीको पुल तरेर कर्णालीको किनारै किनार । अलि माथि उक्लेपछि प्रहरी चेकपोष्ट आयौँ । अब सूर्य पश्चिमतर्फ अस्ताचालमा थिए, हामी अगाडि बढिरहेका थियौँ । झमक्क साँझ पर्‍यो । बसमा गीत बजिरहेको थियो “साँझ परिगो झमक्क नाच छमक्क” छत्र शाही र साथीहरूले कर्णाली भेगको गीत गाइरहेका थिए । साथीहरू यही गीतमा हराइरहेका थिए ।
लामो यात्राले हामी गलित बनेका थियौँ । छोटो र नयाँ बाटो सुर्खेततिर आइरहेका थियौँ । तल्लो डुुङ्गेश्वरमा प्रहरी चेकपोष्टले रोक्यो । कारण थियो १० बजे रातको समय । यहाँ यस्तै नियम रहेछ । प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर जानकारी गराउँदा समेत प्रहरीले अनुमति दिएन । फर्किएर माथिल्लो डुङ्गेश्वर हुँदै लामो बाटो सुर्खेत आउँदा रातको १ बजेको थियो । माथि डाँडाबाट रातिको सुर्खेत बजार झलमल्ल थियो लोभलाग्दो । होटल अशोकाका कर्मचारीहरू हामीलाई पर्खेर बसिरहेका रहेछन् । खाना खाएर हामीले उनीहरूलाई धन्यवाद दियौँ र आ–आफ्ना कोठामा छिर्‍यौँ । ओहो ! यात्रामा पानी परेर बसको छतमा भएका हाम्रा झोला निथु्रक्कै भिजेछन् । मेरो झोला छेउमा थियो बसको वर्षादीले ढाकेनछ । सबै सामान बेस्सरी भिजेछन् । सबैभन्दा महत्वपूर्ण यात्राको डायरी भिजेर सबै अक्षर पखालिएछन् । म चुकचुकाएँ, पीडित बनेँ । हामी कपडा फेरेर सुत्यौँ । राती साथीहरूको दोहोरी घुराईले आजितै बनायो । राम्ररी निदाउन पाइएन । बिहानीपख झकाएछु, सपनामा पनि रारा नै देख्न पुगेछु । साथीहरूको हल्लाले ब्यूँझिएँ । रारा भेट्दा पनि घुम्टो उघारिनन् र सपना पनि बितरियो । के गर्ने फेरि कहिले आउँछ र यस्तो अवसर ? म आफ्नै प्रश्नमा अल्झिएँ ।

२०८०-१-२१ गते बिहान नित्यकर्म सकेर चियापान गरी हामी यसो वरपरको अवलोकन गर्न थाल्यौँ । काँक्रेविहारको सम्पदा हेर्न त्यतातिर लाग्यौँ । अटो रिक्साले हामीलाई १५ मिनेटमा त्यहाँ पुर्‍यायो । वनको बीचमा विशाल मन्दिर र त्यसमा कुँदिएका कला अचम्मैका थिए । बुद्ध धर्मका मूर्तिहरू यसमा सजाइएका थिए । लामा लामा ढुङ्गामा खोपिएका सुन्दर कला आकर्षक थिए । पुरानो इतिहासले हामीलाई थप जिज्ञासु बनायो । २०४३ सालमा पृथ्वीनारायण क्याम्पस पोखराबाट हामी शैक्षिक भ्रमणका अवसरमा आउँदा अस्तव्यस्त कलाकौशल सम्पदाहरू वनका बीच बीचमा छरिएका थिए । अहिले त यसलाई व्यवस्थित गरेर संग्रहालय बनाइएको रहेछ । आखिर सभ्यताले नै हामीलाई यहाँसम्म ल्याएको हो । भाषा, साहित्य, कला, संस्कृति र मठमन्दिरहरू आदि हाम्रा सम्पदा हुन् । यिनले मानवताको इतिहास झल्काउँछ । हामी आधा घण्टाको अवलोकनपछि फर्किएर होटलमा खाना खायौँ र आ–आफ्ना घरतिर जान कस्सियौँ । सुर्खेतको अशोक होटल जसले हामीलाई २ रात सुतायो, न्यानो माया दियो, उसलाई धन्यवाद र बाईबाई गरेर बसपार्कतर्फ लाग्यौँ । ११ बजे हामी लोकल माइक्रोमा कोलहपुरका लागि चढ्यौं । आफू आएको बाटो छुटेका कुराहरू हेर्दै फर्कियौँ । तरेली परेका डाँडाहरू, पहाडका खोँच, हिमाली श्रृङ्खला, फाँट, टार र खोलाहरू पार गर्दै ।

जिन्दगी आखिर यात्रा त हो, हामी यसैको कार्यभार पूरा गर्दैछौँ को भाव मनमा आयो । यात्रा एउटा विश्वविद्यालय हो, त्यहाँ जीवनको गहन अध्ययन गरिन्छ । आफै सिक्ने, सिकाउने पाठशालाको अर्को नाम यात्रा, भ्रमण वा घुमघाम हो । यात्राले जीवनमा भाषा, कला र साहित्य सिकाउँछ । समयको बचत, खानपानको तरिका र धैर्यको पाठ पढाउँछ । मानिसलाई स्वाभिमानी र श्रमशील बनाउँछ । हामी कोहलपुरबाट काठमाडौंको बसमा चढ्यौँ । साँझ साढे सात बजे लामो बाटो बुटवल आएर झर्‍यौं, पाल्पाको बाटो पोखरा आउन ।

हामी ‘पाए मकैबारी नपाए ढोडबारी’ भन्ने नेपाली उखानझैँ पाए पोखरा जाने, नपाए बुटवल बसेर भोलि बिहानै जाने मनसायमा थियौँ । निर्मलजी भन्दै थिए, भोलि नौ दिनमा घर जान्नँ त्यसैले आजै पोखरा जाऊँ । हामी सडकमा हिँड्दै थियौँ । एकछिन पछि मेरा अगाडि आएर प्राइभेट कार रोकियो । कहाँ जाने भनेर सोधे, मैले पोखरा भनेँ । उनले कतिजना भनेर सोधे, मैले तीन जना छौँ भनेँ । उनी पोखरा आउँदै रहेछन् । एक्लै भएकाले रातको समयमा डराइरहेका रहेछन्, पाल्पाको केराबारीमा उनले खाना खान रोके । हाम्रा मनभरि भ्रमण अटेसमटेस थियो । तर होटलवालाले रक्सी र मासु नखाएका कारण हामीलाई त्यति वास्ता गरेनन् । मन नलागी नलागी खाना दिए । आखिर पैसा तिरेर खान परेपछि किन यसो गर्छन् राजमार्गका होटलहरू यो बिडम्बना हो । हामीलाई विदेशीले हेलत्व गर्ने पनि यसै भएर हो । यसरी २०८०-१-१४ देखि २०८०-१-२१ सम्मको लामो कर्णाली यात्रा सकेर रातको २ बजे हामी पोखरा आइपुग्यौँ, मनभरि कर्णालीको सौन्दर्यका साथ राराको सम्झना लिएर ।

पोखरा, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।