18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सिक्किममा भानु जयन्तीको परम्परा

नियात्रा अर्जुन चामलिङ यावा July 19, 2025, 2:00 am
अर्जुन चामलिङ यावा
अर्जुन चामलिङ यावा

प्रत्येक वर्ष 13 जुलाईको दिन सिक्किमभरि नै विभिन्न स्थानमा आदिकवि भानुभक्तको जन्मजयन्ती बढ़ो हर्सोल्लासका साथ पालन गर्ने गरिन्छ। नेपाली साहित्य परिषदले राज्यस्तरीय भानु जयन्ती समारोह आयोजन गर्ने गरेको छ। यसबाहेक पनि राज्यभरिनै भानुजयन्ती मनाइने गरिन्छ। सिक्किमेली नेपाली भाषी समुदयका लागि भानु जयन्तीले एकप्रकार पर्वको रूप नै लिएको छ, जसले सम्पूर्ण सिक्किमेली जनमानसलाई एकसूत्रमा बाँधेको पाइन्छ। भानु जयन्ती कुनै जाति-समुदायमा सीमित नरहेर यो सम्पूर्ण सिक्किमेली जनमानसकै पर्व बनेको छ। शीर्षक पढ़ेर बुझिसक्नुभएको छ कि सिक्किममा भानु जयन्ती मनाउन शुरु गरेको 50 वर्ष भइसकेको छ। यद्यपि, यसको परम्परा कहिलेदेखि र कसरी बस्यो त? कसले शुरु गरेका थिए? यो लेखको विषय यही नै रहेको छ। यही विषयमा छोटो चर्चा गर्न लागिरहेका छौँ।

सिक्किममा भानु जयन्तीको परम्परामाथि चर्चा गर्नअघि सिक्किमेली नेपाली साहित्यको पृष्ठभूमि थोरै केलाउँ-
‘निर्माण’ साहित्यिक पत्रिकाको ‘सिक्किम वाङ्मय विशेषाङ्क’ अनुसार सिक्किमेली नेपाली साहित्यको इतिहास लगभग 150 वर्ष पुरानो पाइन्छ। नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यभन्दा 7 वर्ष कान्छो अर्थात भानुभक्तकै समकालिक थिए सन्त ज्ञानदिलदास। पूर्व नेपालबाट दार्जीलिङ हुँदै सन् 1877-मा सिक्किम आएका उनी मृत्युपर्यन्त सन् 1883 सम्म पश्‍चिम सिक्किमको गेलिङ च्याखुङमा थिए। यही समयावधिमा उनले गरेको सिर्जना थियो ‘जमगीता’ अर्थात ‘यमगीता’। सम्भवतः यहीँबाट शुरु भएको पाइन्छ सिक्किमेली नेपाली साहित्यको इतिहास।

यद्यपि, सिक्किमेली नेपाली साहित्यको विकासको इतिहास खोज्नु हो भने सन् 1947-मा आएर ‘अपतन साहित्य परिषद’को स्थापनापछि मात्र भएको पाइने कुरा उदय छेत्रीले आफ्नो शोधपत्र ‘नेपाली साहित्यको विकासमा सिक्किमका सङ्घ-संस्थाहरूको योगदान’-मा उल्लेख गर्नुभएको छ। तर, त्यस समय सिक्किममा राजतन्त्र थियो, जहाँ नेपाली साहित्यको उत्थान तथा विकासका लागि खुलेर काम गर्ने परिवेश थिएन। नेपाली भाषा-साहित्यको माया गर्नेहरूले लुकीलुकी साहित्य सिर्जना गर्नुपर्ने अवस्था थियो। त्यसैले आशाअनुरूप नेपाली साहित्यको विकास त्यो समय हुन सकेन, नेपाली साहित्यिक गतिविधिहरू खुल्ला रूपमा हुनसकेनन्।

सन् 1975-मा जब सिक्किम गणतन्त्र भारतको 22 औँ राज्यको रूपमा विलय भयो, त्यसपछि भने सिक्किममा नेपाली भाषाको विकासले गति समाएको पाइन्छ। यतिबेलासम्म व्यक्तिगत स्तरबाट साहित्य सिर्जनाका कामहरू भइरहेका भए पनि साङ्गठनिक पहलहरूभने 1975 पछि नै खुल्ला रूपमा हुन थालेको पाइन्छ। यतिमात्र होइन, सन् 1975 देखिनै सिक्किममा भानु जयन्ती खुल्लारूपमा भव्यताका साथ मनाउन थालियो।

सिक्किममा भानु जयन्ती समारोह आयोजनकै सन्दर्भमा कुरा गर्नु हो भने सन् 1975 अघि पनि पालन नगरिएको होइन, तर लुकीछिपी गर्नुपर्ने भएको हुनाले त्यसका तथ्यहरू पाउन नसकिने साहित्यविदहरू बताउँछन्।

9 मई 2025-को हिमाली बेला दैनिकमा प्रकाशित लेख ‘सन्दर्भः स्रष्टा र पश्‍चिम सिक्किम साहित्य प्रकाशनको सङ्घर्ष’ अनुसार सन् 1975-मा सिक्किम भारतको राज्य बनेपछि पहिलोपल्ट श्री केदार गुरुङ, श्री केबी सुवेदी, श्री चक्रधर रिछेनबुङ, श्री वीरबल तामलिङहरूद्वारा सिक्कम भारतमा विलय भएकै वर्ष सन् 1975-मा पहिलोपल्ट पश्‍चिम सिक्किमको क्योङ्सामा भानु जयन्ती समारोह आयोजन गरिएको थियो। पश्‍चिम सिक्किम साहित्य प्रकाशनद्वारा आयोजित यही कार्यक्रम सम्भवतः प्रजातान्त्रिक भारतको 22औँ राज्य सिक्किमको पहिलो भानु जयन्ती समारोह थियो। त्यसपछि भने आजपर्यन्त क्योङ्सा, गेजिङमा प्रत्येक वर्ष नै भानु जयन्ती समारोह आयोजन गरिँदै आएको पाइन्छ।

सन् 1970-मा स्थापित ‘पश्‍चिम सिक्किम साहित्य प्रकाशन’-ले 1978-को भानु जयन्तीदेखि ‘स्रष्टा’ पत्रिका शुरु गर्‍यो। यतिबेलासम्मा स्रष्टा प्रकाशनमा छिरिङ पाजो, दलमान मुखिया ‘पीर’, गोबरधन बास्तोला, लक्ष्मीप्रसाद गुरुङ आदि जोड़िसकेका थिए। त्यसपछि क्योङ्सा गेजिङमा नेपाली साहित्यिक एवं सांस्कृतिक अनुसन्धान केन्द्र भनेर भानु उद्यानको स्थापना गरिएपछि त भानु जयन्ती आयोजन मात्रै होइन भानुभक्त आचार्यमाथि अझै धेरै काम भएको पाइन्छ। पश्‍चिम सिक्किम साहित्य प्रकाशन टोलीले भानुभक्तको जन्मस्थलसम्म पुगेर उनीबारे तथ्यहरू सङ्कलन गरी स्रष्टाको भानु विशेषाङ्क नै प्रकाशित गरेको थियो। भानु जयन्तीको अवसरमा भानुभक्तको परिवारका 54 जनालाई क्योङ्सा, गेजिङमा निम्त्याइएको पनि थियो।

यता गान्तोकमा पनि पहिलेदेखि नै गोप्यरूपमा कार्यक्रमहरू भइरहेका भए पनि सन् 1979-मा आएर मात्र ‘भानु सालिक निर्माण समितिले भानु जयन्ती पालन गर्न शुरु गरेको नेपाली साहित्य परिषदका संस्थापक अध्यक्ष श्री राजके श्रेष्ठ बताउनुहुन्छ। उहाँअनुसार 1979 अघिसम्म गान्तोकमा खुल्लारूप भानु जयन्ती आयोजन गरिएको जानकारी प्राप्त छैन। 1979-मा गान्तोकमा भानुभक्तको सालिक निर्माणार्थ ‘भानु सालिक निर्माण समिति’ गठन गरिएको थियो। यही समितिले 1979-मा पहिलोपल्ट भानु जयन्ती समारोह आयोजन गर्‍यो। त्यसको अर्को वर्ष सन् 1980-मा यो समितिले प्लास्टर र पेरिसको प्रयोगमा भानुभक्तको सालिक निर्माण गरेको थियो, जसका लागि कलकत्ताबाट मूर्तिकार ल्याइएको थियो। त्यसपछि सन् 1981-मा भानुभक्तको कास्य प्रतिमा निर्माण गरियो भने यही वर्ष ‘नेपाली साहित्य सम्मेलन, सिक्किमको’ स्थापना पनि गरिएको थियो। यही सम्मेलनलाई वर्तमानमा ‘नेपाली साहित्य परिषद, सिक्किम’ भनेर जानिन्छ।

दुःखको कुरा के भइदियो भने, सन् 1981-मा एकातिर भानुभक्तको कास्य प्रतिमा अनावरण गरियो अनि ‘नेपाली साहित्य सम्मेलन, सिक्किमको’ स्थापना पनि भयो, अर्कोतिर ‘भानु सालिक निर्माण समिति’का सचिव श्री एच.पी. छेत्री इङ्ग्ल्याण्ड जानुभएको हुनाले भानुजन्ती समारोह आयोजन नहुने भएको थियो। त्यसपछि एसके बरदेवाको युवा पुस्तकालयमा सभा भएको थियो। पछि, श्रीमती दिलकुमारी भण्डारीले ‘भानु जयन्ती समारोह ‘नेपाली साहित्य सम्मेलन’ले आयोजन गर्नुपर्छ’ भन्ने सल्लाह दिनुभएपछि तत्कालीन नेपाली साहित्य सम्मेलन, सिक्किमले पहिलोपल्ट आफ्नो ब्यानरमा भानुजयन्ती समारोह आयोजन गरेको थियो। त्यसपछि भने निरन्तर आयोजन हुँदै आइरहेको छ, जसमा भानु पुरस्कारसम्मा दिइने गरिएको छ।
यसरी नै सन् 1979-को भानु जयन्ती समारोहदेखि नै गान्तोकमा ‘शोभायात्रा’ निकालेर नगर परिक्रमाको परम्परा पनि बसाइएको साहित्यकार राजके श्रेष्ठ बताउनु हुन्छ, जो आजपर्यन्त बाँचिरहेको छ। यसअघि नै भारतमा देहरादुनबाट 1955-56 देखि नेपाली भाषालाई संवैधानिक मान्यता प्राप्त हुनुपर्छ भन्ने माग उठिसकेको थियो, जसले देशभरिका नेपाली भाषीलाई एकसूत्रमा बाँद्ने काम गरेको थियो, जोड्ने काम गरेको थियो।

यही क्रममा सन् 1972-मा ‘अखिल भारतीय नेपाली भाषा समिति’-को जन्म भयो। यो समितिको माध्यमद्वारा नेपाली भाषालाई संवैधानिक मान्यताका लागि ठूलो सङ्घर्ष गरिएको थियो। यसैबीच सिक्किम 1975-मा भारतमा विलय भयो, जसले देशव्यापिरूपमा चलिरहेको नेपाली भाषा मान्यताको आन्दोलनलाई थप टेवा पुगेको थियो।

यसबिचमा अखिल भारतीय नेपाली भाषा समितिले पनि भानु जयन्ती समारोह आयोजन गर्न थालेको थियो पाइन्छ। यो समितिले सन् 1991-को भानु जयन्तीलाई ‘भारतीय नेपाली भाषाः एकता दिवस’-को रूपमा आयोजन गरेको थियो।

यसरी आजभन्दा 50 वर्षअघि सन् 1975 देखि सिक्किममा भानु जयन्ती आयोजनको परम्परा बसेको पाइन्छ भने आज राज्यका छःवटै जिल्लाका विभिन्न स्थानमा भानु जयन्ती पालन गर्ने गरिन्छ। गान्तोक, पाकिम, रिनाक, रङ्गेली, दलपचन्द, पाण्डम, राङ्का, रूम्तेक, सिङ्ताम, सोरेङ, नाम्ची, जोरथाङ, गेजिङ, देन्ताम, मगन लगायतका गाउँ-गाउँमा, स्कूल-स्कूलमा भानु जयन्ती मनाउने गरिएको छ।

राङ्का, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।