आदरणीय रविशंकर गुरुदेव,
नमस्कार!
आशा छ तपाईँको स्वास्थ्य राम्रो छ। तपाईंले सुरु गरेको “आर्ट अफ लिभिङ्ग” ध्यान अभियान संसारभर फैलिएको थाहा पाएँ। कम्बोडियाको गृह युद्धलाई जितेर त्यो देशमा शान्ति ल्याउन तपाईँको योगदानको यत्रतत्र चर्चा सुनेको छु। संसारमा शान्ति ल्याउन सक्ने तपाईंले शुरु गर्नु भएको ध्यान अभियानको अङ्ग हुन सक्दा म जस्ता मनुवाको मनको शान्ति कसो नफर्केला भनेर म पनि नर्थ क्यारोलिनाको बुन स्थित आर्ट अफ लिभिङ्गको रिट्रिट सेन्टर तर्फ हानिएँ। तनावको उकुसमुकुसले गुम्सिएको मन लिएर बुनका डाँडाको चिसो हावा खाँदा नै मैले नयाँ जीवन पाएको अनुभूति गरेको थिएँ।
बुनमा मैले बिताएका पाँच दिनहरूमा मैले धेरै कुरा पढेँ। सबैभन्दा बढी आफैंलाई पढें। वर्तमानमा छरपस्ट व्यवहारलाई बाल नदिई भविष्यको अन्त्यहीन भास तर्फ भासिन झोज्ने अटेरी मनलाई पढेँ। यो दिमाग भनेको आकाशमा उडिरहेको चङ्गा रहेछ, अनि हाम्रो स्वास भनेको त्यो चङ्गालाई नियन्त्रण गर्ने लट्टाई रहेछ। योग र ध्यान सँगै सिकाइएको प्राणायामले चङ्गा रूपी दिमागलाई ठाउँमा राख्न सहयोग गर्ने रहेछ। ध्यान भनेको आफूलाई चिन्नु रहेछ अनि आफू बसेको संसार चिन्नु रहेछ। दुनियाँलाई बुझ्नु रहेछ। दिमागलाई खुट्टाको गति सँगै हिँडाउनु रहेछ। थाहा छैन मैले मलाई कति चिने। दुनियाँका नियम कति बुझें। तर तपाईंलाई चाहिँ थोरै चिन्ने मौका पाएँ। जति चिने त्यतिले मलाई धेरै कुराको पर्दा उघारिदिएको आभास भयो। तपाईँको सरलता नजिकबाट महसुस गर्ने मौका पाएँ। तर थाहा छ तपाईं त साह्रै सोझो मान्छे हुनुहुन्छ। विश्वभरि तपाईंका अनुयायीहरूले ढाकी सक्दा पनि पटक्कै आफूलाई भगवान जस्तो नदेखाउने।
हेर्नुस्, गुरु भनेको त भगवान पो हो त। मानव रूपधारी २१ औं शताब्दीका भगवान। तपाईंले हामी जस्ता साधकसँग दूरी कायम गर्नु पर्छ। बुनको वेद भवन दुईमा साधना गरिरहेको बेला हामीलाई भनियो, "तपाई आउनु हुँदैछ।" भव्य तयारी गरियो। तर त्यो दिन हाम्रा प्रशिक्षकले भनेको समयमा तपाईं आउनु भएन। अलिक ढिलो गरेर आउनु भयो। फिरंगी जोगी जस्तो लुसुक्क ढोकाबाट छिर्नु भयो। तपाईं ढोकामा आएपछि मात्र भित्र थाहा भयो। हाम्रा प्रशिक्षकहरू स्याँस्याँ र फ्याँफ्याँ गर्न थाल्नु भयो। यस्तो लाग्थ्यो तपाईंको आगमन एउटा आँधी हो। यस्तो लाग्थ्यो तपाईंको आगमन एउटा त्रास हो। डर हो। तपाईं विशेष स्वागत र सत्कार खोज्ने मानिस हो, त्यसैले भव्य तयारी चाहिन्छ। मेरो मन पनि हल्लिएको थियो। अमेरिकाका विभिन्न विश्वविद्यालयका झन्डै ९० जना प्राध्यापक र विद्यार्थीले खचाखच भरिएको त्यो कक्षमा पहिलो पटक मैले त्यस्तो बेचैनी देखेको थिएँ।
जब तपाईँ छिर्नु भयो, फटाफट कतै नहेरी अग्रभागमा जानु भयो। तपाईं फोनमा बोल्दै हुनुहुन्थ्यो। ढोकाको छेउ देखी करिव तीन मिटरको दुरी तपाईं हिंड्नु भयो।
तपाईंका केही भक्तजनहरू आशीर्वाद थाप्न टाउको पसारिरहेका थिए। केही लम्पसार पर्न खोज्दै थिए। केही 'गुरुदेव, गुरुदेव' भनेर भक्ति गान गाउन तम्सेका थिए। तपाईंको चरणको दास हुन मास तम्तयार थिए तर तपाईं त त्यता पट्टि हेर्दै नहेरी अगाडि बढ्नु भयो। फोनमा कुरा गर्दै गरेको देखेर मुख खोली सकेका भक्तहरूको पनि मुख टालियो।
गुरुदेव, मेरो प्रश्न छ। तपाईंलाई भगवान बनाउन तम्तयार ती मान्छेहरुलाई "तथास्तु तथास्तु" भनेर टाउकामा छुने अवसर किन गुमाउनु भयो? एउटा सेतो धोती र चप्पल लगाएर भित्र छिर्नु भयो, साधकहरूलाई ध्यान र व्यायामको महत्व बारे थोरै बोल्नु भयो, अनि केही बेर भलाकुसारी गरेर निस्कनु भयो। गुरु, हामी त सेल्फी खिच्न हातमा फोन बोकेर तम्तयार थियौं। हजुरलाई साधकसँग फोटो खिचेर सामाजिक संजालमा भाइरल हुन मन लागेन? त्यति बेला मेरो मनमा अरू पनि प्रश्न उठेका थिए। तपाईंलाई तथास्तु नबाँडी हिंड्न बुनमा जस्तो संसारका अरू ठाउँमा पनि सम्भव हुन्छ? भक्तहरू निराश हुदैनन्। भक्तहरू भांडिदैनन्। जति भाषा र वर्ण मिल्ने भक्तहरूको जमातमा ठोकियो त्यतिनै उनको चरणास्पर्शको अभिलाषालाई पुरा गर्न गाह्रो हुदैन? ज्ञानको कित्ताकाट गरेर आफ्नो बनाउने जमानामा कसरी सबैलाई एउटै ज्ञानको सूत्रमा बाँध्न सम्भव भयो?
त्यो दिन तपाईं संयुक्त राष्ट्रसंघको सभाकक्षबाट डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेर सिधै हाम्रो शिविरमा आउनु भएको थियो। विश्वलाई प्रतिनिधित्व गर्ने नायक हामी जस्ता सामान्य मान्छेको नजिकै बसेर बोल्ने हो र! ठूलो सभा हलमा सिङ्गारिएको आसनमा बसेर हात पो हल्लाउने हो त? अनि पो मान्छेहरू हजुरलाई भगवान जस्तो देखेर खुट्टा समाउन लालायीत हुन्छन्। अनि पो गुरु भएको मज्जा आउँछ।
हजुरले एउटा कुरा बुझिदिनु पर्यो, हामी मान्छेमा दास मानसिकता छ। उहिले हामी आफैं जस्ता मान्छेका कमारा थियौं। अहिले हामी विज्ञान र प्रविधिका दास भएका छौँ। उहिलेका दासहरू क्रूर शासक थिए। उनीहरूले हामीलाई स्वतन्त्र हुन दिएनन्। एकै ठाउमा बाँधेर राखे। उनका लागि मात्र काम गर्ने बनाए। त्यही भएर हामीले ती दासकहरूको उन्मूलन गर्यौं, तर समय बित्दै जाँदा थाहा भयो मान्छे आफ्नो दिमागको मालिक हुन सक्दैन। कम्तिमा सबै मानिसहरू उनको दिमागको मालिक हुन सक्दैनन्। उनीहरूले आफुलाई चिन्न अरुको भर पर्नुपर्ने हुन्छ। उनीहरूलाई आफ्नो खुशी थाहा पाउन अरूमा आधारित हुनुपर्ने हुन्छ। त्यसैले आधुनिक मान्छे मेसिनका दास छन्। इजरायली दार्शनिक युभल नोह हरारीले आफ्नो बहु चर्चित “सापिएन्स: मानवजातीको छोटो इतिहास" नामक किताबमा आधुनिक युगको दासताको सविस्तार बयान गरेका छन्। उनले औल्याएका आधुनिक दासहरू हामी सबै हौँ किनकि कुनै न कुनै रुपमा हामी तथाकथित खुशी र सुविधाका दास भएका छौँ। एघार महिना बँधुवा गोरु जस्तो भएर काममा जोतियो। एक महिना त्यहि कमाएको पैसामा मोज गर्यो , अनि फेरी त्यही सिसिफ़सियन कर्ममा फर्कियो। सम्झिनलाई आफू केवल स्वतन्त्र छु भनेर सम्झिने तर वर्षभरि कमाउने कार्य तालिकाको दासता स्वीकार्ने। जो जीवनभरि कामको मात्र दास भएर मर्छ, त्यो ठूलो पौरखी हुन्छ। जो स्वतन्त्र भएर, थोरै काम गरेर अनि धेरै जीवनलाई पर्व बनाएर जिउन खोज्छ, त्यो चाहिँ लुरे। हेर्नुस् त गुरुजी, हाम्रो समाजका खुशी मान्छेहरू। हास्न पनि गुरुले सिकाउनु पर्ने भाको छ।
तर त्यही खुशी किन्न गरेको मरिहत्तेले पनि उनीहरूलाई मानसिक शान्ति दिन सकेको छैन। त्यसैले उनीहरू भगवानको खोजीमा छन् जसमा आश्रित भए उनको दिमागी घाउले केही मलम पट्टि पाउँछ होला। त्यसैले म भन्दैछु यो समय गुरुहरूको लागि भगवान पल्टिने र आफ्नो व्यापार बढाउने सुन्दर समय हो।
मलाई अचम्म लाग्यो त्यत्रो पुर्नेली दर्शनको ज्ञाता हजुरले त धाराप्रवाह आफुले जानेको कुरा खोक्नु पर्ने होइन र? सुन्नेले सुनुन कि नसुनुन, बुझुन कि नबुझुन, उपयोगी ठानुन कि नठानुन, पटटट भाषण मार्नु पर्ने होइन र! किन हजुरले त ध्यान गर्नु पर्छ भन्नु भयो। योग, ध्यान र व्यायाम नगर्ने मान्छे अब पछि पर्छ भन्नु भयो। देखाउन पाइने ठाउँमा आफ्नो हैसियत प्रदर्शन गर्न किन चुक्नु भो? अमेरिकनका अगाडि अंग्रेजीमा पूर्वीय दर्शनका क्लिष्ट सिद्धान्त ओकलेर आफूलाई अब्बल दर्जाको अमुल्य गुरू भएको देखाउनु पर्ने होइन र?
हजुरले बजारमा भाइरल गुरुहरूबाट केही सिक्नु पर्यो। हेर्नुस् यहाँ कोही बुद्ध छन्। कोही शिव छन्। कोही ओशो छन्। हजुरले पनि यसो हाम्रा अत्याधुनिक बुद्धहरूको विलासी जीवनबाट केही सिक्नु पर्यो। आखिर बुद्ध शुद्ध भए नि जुठो भए नि भक्तजन फालाफाल छदै छन्। मानिसलाई केहि चाहिएको छैन। केवल साधु रुप धारण गरेको एउटा प्राणी भए पुग्छ। हामीहरू उनलाई भगवान मानेर ढोग्न ब्यग्र प्रतिक्षामा छौं। गुरुलाई ढोगेपछि, गुरुको दर्शन पाएपछि, गुरुको पाउ छुन पाएपछि, गुरुका हातको स्पर्श पाएपछि गुरुको ऊर्जा आफुमा सर्छ। अनि त के चाहियो। जस्तै सुकै महामारीले पनि छुने छैन।
त्यसैले गुरुदेव, हजुरले एउटा काम गर्नु पर्यो। अरू गुरुहरू जस्तै तपाईंले पनि आफूले गुरु रुप धारण गरेको दिनलाई दिवसको रूपमा मनाउनु पर्यो। तपाईलाई याद होला नि, आफु भित्र भगवान छिरेको दिन। आफु भित्र कसरी भगवान छिर्छन् भन्ने कुरा थाहा नभए नजिकका छिमेकीहरू तर्फ नजर डुलाए पुग्छ। गुरु, ढुक्क हुनुस्, मानिसहरू तपाईंको गुरु रुपको जन्मदिन मनाउन ब्यग्र प्रतिक्षामा छन्। केवल तपाईंले मुख खोल्न मात्र पर्छ। खासमा स्वयं भगवान बुद्ध, कृष्ण र राम भन्दा अहिलेका हाम्रा गुरुहरू स्मार्ट देखिए। किन नदेखिउन र? समय नै स्मार्ट मान्छेको छ। विचरा बुद्ध कति सोझा होइन त! बोधगयाको रुखबाट उठेको दिनदेखि नै आफ्नो जयन्ति मनाउन थालेका भए जीवनभरिमा कति खादा र माला लाउन पाउँथे होला। सय किलोका माला त कति हो कति। जति ठूलो माला लगायो त्यति ठूलो समाज सेवी, राष्ट्र प्रेमी नेता भइन्छ नि। पत्यार लागेन? छिमेक तिर हेर्नुस्।
तपाईंको नाम अगाडिको एउटै श्रीले लाखौँ अमूर्त श्रीहरूको भन्दा बढी काम गरेको पाएँ। हजुरका कुरा सुनेर धन्य भएँ। मान्छेलाई आफ्नो मालिक आफैं बनाउन सिकाउने तपाईंको अभियानले संसारलाई खान सकोस्। यही शुभेच्छा सहित बिदा हुन्छु।
उही तपाईंको अपरिचित चेलो,
नारायण भट्टराई
(२०८२ असार, मधुपर्कमा प्रकाशित)