प्रेमी हुन् ती, सवै तिर हेर्छिन्
सवै तिर ती तिमी मात्र देख्छिन् ।
हिजो आज ती सगर तिर हेर्छिन्
वटवृक्ष हेर्छिन् मिठो भाव पोख्छिन्:
तिमी सुर्य हौ, हौ प्राणै सवैको
तिमी वायु हौ, हौ स्नायु सवैको
तिमी अग्नि, वृक्ष, सवैनै तिमी हौ
तिमी प्रेम मेरो, तिमी नै सखा हौ।
तिमी अन्नपुर्ण, हौ अन्न मेरो
तिमी रक्षक हौ, तिमी आश्रय मेरो ।
तिमी वास बस्त्र तिमी अस्त्र मेरो
तिमी शीतल हौ, बायु हौ, प्राण मेरो ।
तिमी औषधी हौ , दिन्छौ जीवन मलाई
तिमी उर्जा हौ, शक्ति दिन्छौ मलाई ।
तिमी शितोष्ण नातिशितोष्ण कोष्ण
अनि त श्रीकृष्ण ! म हुन्छु अतृष्ण।
सधैँ नै म पूर्णा न छ केहि तृष्णा
नदेख्दा श्रीकृष्ण अपुर्णा म कृष्णा ।
छाया शितल हुन्छ ताप जतिनै आन्द्रिय हुँदा पनि
मात्र पिपल फेदमा रहरले पुगे जसोरी पनि।
त्यहाँ शितलमा सखीहरु सँगै वसेर ति अङ्गना
पोख्दै रहिन भावना हृदयका प्रेमाञ्जली भावका:
म के गरौँ म के भनौं तिनी म छेउमा हुँदा
चटक्क चट्ट देखिँदा मसक्क मस्किदा सदा।
अजस्र प्रेममा तिनी अगाडि आउँदा सधैँ
हसाँउने रुवाँउने कुदाँउने यसै सधैँ ।।
म हेर्न खोज्छु माथ त्यो लटक्क केश छन् जहाँ
झरेर छोप्छ चम्किलो मुहार मस्किने सदा।
जहाँ टपक्क टाँसिने छ नाक एक सुन्दर
टलक्क टल्किने ति ओठ छन् अझै मनोहर।।
अवक्र छन् ति लोचनै तथापि वक्र देखिने
यता उता यता उता चारै तिरै घुमाउने।।
सुदृष्टि हो कुद्रष्टि हो नबुझिने कसै गरि
बुझे न साट्नु शब्दको अगाध प्रेम मन्जरी ।।
अकण्ठ कण्ठ भै सधैँ म हेर्छु कण्ठ सुन्दर
लता ति स्वर्णपर्णका झुलेका कर्ण सुन्दर ।
वलिष्ठ त्यै उरै त हो सवैका चित्त गाडिने
मुजुक्क पद्म नाभिमा सुटुक्क नै ति अड्किने ।।
सवै सवै त मोहक छन् सलक्क पद्मपाद छन्
मसक्क मस्किदै सधैँ सुटुक्क चित्त चोर्दछन् ।
कता हेरौँ कता हेरौँ भनेर अल्झिएँ सखी
ति पद्मपाद दृश्यले म स्थिरनै बनेँ पछि ।।
झुलुक्क झुल्किए यतै तरक्क तर्किए पछि
कता छिरे कता हिडे ति खोज खोज लौ सखी।
सदैव लुक्दछन् तिनी घमण्ड देखिनै रहे
गमक्क गम्किनै रहे झनक्क झंकिनै रहे।।
असुर्य सुर्य हुन् तिनी असीम प्रेम भन्दछन्
असह्य होस् कि अन्य होस् खुसीले सह्य मान्दछन्।
सवै मिलेर चोर्दछन् सवै मिलेर खाँदछन्
तथापि दण्ड दोषको उनै न एक भोग्दछन्।।
सुन सुन सुन सखी! हुने अधेर्य कत्ति हो
मनै न हो कसो गरौँ रुदै रुदै वसौँ भयो।
न सम्झिने कसो गरी रुदै झरेका आँशु ती
झरेर नाकमा तिनै वगे सवै नदी सरी।।
अचम्म है सखीहरु ! ति सुर्यका कथासुधा
डरै सवै डराउछन् तिनी अगाडि आँउदा।
तथापि ती रुदै रुदै तुरुक्क आँशु झार्दछन्
थचक्क भूमिमा बसी थपक्क कान छाम्दछन्।।
तिनी लुसुक्क लम्किए, सुनेर झट्ट निस्किएँ
हतारमा कुदी कुदी उनै तिरै म हुँइकिएँ।
म आँउदा नदी छेउ , पारि तिरै थिए तिनी
यता बसेँ म आँशुमा, र युद्धमा उता तिनी।
उता छ युद्धको कथा, कथा छ प्रेमको यता
न नाचगान छन् उता, न छन् कथा ति नादका।
ति बाँसुरी यतै छुटे, छुटे ति धून नै यतै
न वज्छ धून नै उता, न हुन्छ प्रेम गीत सधैँ।।
अचम्म नै अचम्म भो यति पछी ति फर्किए
भनेर दौडिदा सवै, पछी पछी म दौडिएँ ।
तिनै तिनै ति चालढाल अङ्गरङ्ग भेष छन्
सुरम्य प्रेममुर्ति ती अभिज्ञ प्रेमदूत हुन् ।।
ति प्रेमपत्र ल्याँउदछ्न् र प्रेम विर्स भन्दछन्
नराख्नु चित्र चित्तभित्र ज्योति राख्नु भन्दछन्।
विचित्र चित्त भित्रका ति चित्र प्रेमचित्र हुन्
ति चित्त चित्रपूर्ण छन्, ति ज्योति चै कहाँ वसुन् ?
म चिन्छु चित्र एक चित्त भित्रभित्र वस्छ जो
खुशी सँग हास्छ त्यो हँसाई हँसाई वस्छ त्यो।
अतीत हो भविष्य हो पवित्र हो छ सुन्दर
वनाउने पुरंदरा हुदाँ यहाँ पुरंदर।।
अचम्म चित्र हुन् सदा ति चित्र प्रष्ट निर्मल
हुदाँ विचित्र मोहक सौम्य शान्त उज्वल।
सधैँ सधैं म हेर्छु देख्छु भित्र ती सखा सदा
हिडे हिडुन जता जता हुन्छु है सँगै सदा ।।
लिएर प्रेम चित्तमा सुदीप्त वुद्ध भावमा
बसेँ सखी म शान्त शान्त भागिरथी तिरमा ।
उतै झसङ्ग झस्किएँ उनी झुलक्क झुल्किदा
उनी मुसुक्क मस्किदा म तृप्त तृप्त नै सदा ।।
लन्डन