छोएन मलाई
जनताको पीडाले
दिन दिनै सुन्ने गालीले
हाम्रो बारे आउने
नकारात्मक समाचारको बाढीले
अहँ! मलाई छुँदै छोएन
तपाईहरु आम जनताले
सँधै देख्ने, सुन्ने र भोग्ने
समस्याको चांगले
रोकेन मलाई
नियम र कानूनले ।
मैले देखेको छु
तपाईहरुको जीवन
चलेको चलै छ
प्रकृतिको बरदानले
जस्तो सुकै होस् जे सुकै होस्
स्वास प्रस्वास रोकिएको छैन
दुई खुट्टाको सहाराले
जीवनको रथ अघि बढेकोछ ।
नियती नै यस्तै छ
उति बेला भावीले लेखेर ल्याएको
तपाईको भाग्य मैले मेट्ने हैन
तपाईको जीवनको मार्ग
मैले बदल्ने हैन
जे छ तपाईले भोग्ने हो
तपाईको जीवन
तपाईले नै बदल्ने हो।
मैले मेरो जीवन बदलें
मेरो समस्या
मेरो परिवारको समस्या
मैले हल गरें
मलाई अहिले दु:ख छैन
कुनै पीर चिन्ता छैन
तपाईको पीडाको ख्याल छैन
कुनै गालीको पर्वाह छैन
अरुको समस्याको वास्ता छैन
यहाँ जीवन चल्ने हो
तपाईको पनि चलेको छ
मेरो झन राम्रो चलेको छ।
जे गरेपनि जसो गरेपनि
मैले निरन्तर ताली पाएको छु
तपाईको साथ र भोट पाएको छु
फेरी अर्को पटक पनि
पाउने नै छु
मैले लेखेर ल्याएको भाग्य
तपाईले मेट्ने हैन
किनकी, तपाईं कै भोटले
यहाँसम्म पुगेको
म एक नेता हुँ
जनताको मान सम्मान पाउने
तपाईले तिरेको करले
सुख सयल भोग्ने
म एक भाग्यमानी हुँ ।
डार्टफोर्ड, बेलायत।