झण्डै पचासबर्ष अघिको कुरा हो, धादिंगको सदरमुकामबाट चारघण्टा टाढा पाँचघरे गाउँमा बस्दथिन् - गोमा आमा । उनको परिवारमा आफू, तीन छोरा र श्रीमान गरी जम्मा पाँचजना थिए । छिमेकीको घर वनाउन पर्म जाँदा जंगलबाट काठको खम्बा बोकेर ल्याउँदै गर्दा भीरबाट खसेर श्रीमानको मृत्यु भयो । त्यसपछि सम्पुर्ण घर-व्यवहारको जिम्मा उनको काँधमा आइपर्यो । छेउछाउमा उनका आफन्तहरू कोही थिएनन् । गोमा आमाका एकमात्र भाइको परिवार घरछेउमा पहिरोको समस्याले केहिवर्ष अघि नै झापाको शरणामती गाउँमा बसाईं सरेका थिए । गोमा आमाका घरपटिका आफन्तहरू कोही मोरंगको गोविन्दपुर र कोही झापाको मागुरमाढीमा बस्दथे ।
गोमा आमाको जेठो छोरा हरि केही सुस्त थियो । शारीरिक रुपमा ठीकै जस्तो भएपनि बोली प्रष्टसँग आउँदैनथ्यो । अह्राएको कामहरू अरूको साथ लागेर गर्न सक्ने तर पुर्ण जिम्मेवारी लिएर केही काम गर्न सक्दैनथ्यो । जेठो हरि प्रायः आमासँगै छरछिमेकमा जनमन गर्न जान्थ्यो । गाउँमा खेतबारीको काम साथै पात टिप्ने, घाँस काट्ने, दाउरा बोक्ने कामहरू पाइन्थे । ज्याला वापत अन्न पाइन्थ्यो ।
शम्भु, माइलो छोरा, सानैदेखि अल्छी र आफुखुशी गर्ने लापर्वाह खालको थियो । पढाईमा ध्यान नदिने र विद्यालयमा फटाई गर्ने साथीहरूको संगतमा थियो । शिक्षक शिक्षिकाहरूले सम्झाएको कुराहरू एक कानले सुनेर अर्को कानबाट उडाउँथ्यो । माइलो छोरा बिल्टुवा भएको देखेर गोमा आमा साह्रै पिह्रोलिन्थिन् । कहिले शम्भु गाउँघरमा चोरी-फट्के गर्थ्यो । कुटाई खाएर चोट लिएर घर आउँथ्यो । गोमा आमाले रूँदै सम्झाउँथिन्, "शम्भु! तँ कहिल्यै सुध्रिने भईनस् । जोरीपारी हँसाएर आफु बिग्रिएको थाह छैन! म अब आजित भएँ, तेरो आफ्नो जिन्दगी कसरी पार लगाउँछस्, बिचार गर् ।" शम्भु चुपचाप आमाका कुरा सुन्थ्यो मात्र । उमेर बढेसँगै शम्भु अलिक एकोहोरो र गम्भीर स्वभावको हुनथाल्यो । विद्यालयबाट भाग्ने र दिनभर जंगलतिर घुमेर बेलुकामात्र घर आउने । धेरैजसो समय गाँउको शिवालयमा एक्लै बिताउने गर्दथ्यो । एकपल्ट आमाको सिरानीबाट ३५ रूपैया चोरेर शम्भु घरबाट हरायो । छरछिमेकी, गाउँघर र सदरमुकाम सम्म चिनेजानेकाहरू सवैतिर सोधिखोजी गर्दापनि पत्ता लागेन । फाल्गुण महिनाको अन्त्यतिर सात कक्षाको वार्षिक परिक्षा सकेपछि बिदाको समय थियो । धादिंग सदरमुकाममा व्यापारीका सामान पुर्याएर फर्केको ट्रकमा चढेर शम्भु काठमाण्डौं गएछ । त्यहाँ ट्रक ग्यारेजमा दुःखले तीन रात र पशुपतिनाथ मन्दिर छेउको सत्तलमा साधुहरूसँग तीन रात बसेर घर फर्केर आयो । नसोधी घर छोडकोमा गोमा आमालाई रिस उठेको भएपनि छोरो घर आईपुगेकोमा आँखाभरि आँसुपारेर, "कहाँ गएको थिईस्, माइला? खान पाईस् के? कति चाँडै दुब्लाएछ, हेर!" भन्दै उनले माया दर्शाइन् । शम्भुले आफु काठमाण्डौ गएको र त्यहाँ भोगेको सवैकुरा आमालाई बेलिबिस्तार लगायो । उसले पशुपतिनाथ मन्दिरको बखान गरेको गोमा आमाले ध्यान दिएर सुनिन् र भनिन्, "हामी पनि भगवानले पुर्याए भने कुनैदिन दर्शन गर्न पुगौंला" । शम्भुले भन्यो, "आमा! पशुपतिनाथको मन्दिर छेउमा कल्की भगवानको मुर्ति आधाभन्दा बढी जमीनमाथि निस्किसकेको रहेछ । पूरै निस्किएपछि पृथ्वीमा प्रलय हुन्छ रे! संसार सवै ध्वस्त हुन्छ रे!" यसो भन्दै गर्दा शम्भु गम्भिर देखियो । गोमा आमाले भनिन्, "हो, बाबु कलि व्याप्त भएपछि केही रहँदैन, सवै सकिन्छ भनेको छ त धार्मिक किताबहरूमा पनि ।" त्यसपछि, अरूबेला पनि शम्भु आमासँग कुरा गर्दा धर्म-पाप, पुर्वजन्म-पुनर्जन्मका कुराहरू चासो राखेर सोध्दथ्यो ।
गोमा आमाको कान्छो छोरो दिपक निकै होशियार र मिहिनेती, स्कूलमा पनि अव्वल भएर निस्कियो । सानैदेखि कक्षामा पहिलो वा दोस्रो हुन्थ्यो । साथीहरू र शिक्षक-शिक्षिकाहरूको प्यारो भएको थियो । आफूले जानेको पाठ साथीहरूलाई झर्कोफर्को नगरी सिकाइदिन्थ्यो । कान्छो दिपकलाई हेरेर गोमा आमा ढुक्क हुन्थिन् र छरछिमेकीसँग कुरा गर्दा भन्थिन्, "जेठो र माइलोको भर नभएपनि कान्छोले मलाई बुढेस् कालमा पक्कै पाल्छ ।"
समयसँगै गोमा आमाका छोराहरू पनि बढदै गए, परिवारको लाउने खाने खर्च बढ्यो, जनमन गरेर कति पो पुग्थ्यो र? आफ्नो खेतीपाती र उब्जनी केही थिएन । दुःखले कहिल्यै छोडेन । शम्भुले पनि पढाई छोड्यो र सदरमुकाममा यौटा होटलमा सरसफाई र भाँडा माझ्ने काम गर्न थाल्यो । उसलाई आफुलाई खानबस्न पुर्याउँथ्यो । २-३ हप्तामा एकपल्ट घर आउँथ्यो, आमालाई दुःख सुनाउँथ्यो । काममा उ सन्तुष्ट थिएन । घरै बसेर कमाइ गर्न सकिने अरू उपायहरू केही थिएनन् । शम्भुले एकपटक आमासँग, "म झापा मामाघर गएर आउँछु" भनेर बिदा माग्यो । त्यसवेला नौविसेबाट त्रिभवन राजपथ (बाईरोड) को बाटो हेटौंडा झरेर पुर्वपश्चिम महेन्द्रराजमार्गबाट झापा पुगिन्थ्यो । गोमा आमालाई, "शम्भु चलाख नै छ झापा पुग्न सक्छ", भन्ने लाग्यो । "छिट्टै फर्किनु", भनेर पोल्टाबाट झिकेर १० रुपैयाँका पाँचवटा नोट दिएर बिदा दिइन् ।
दिन, हप्ता, पन्द्रह गर्दै महिना बित्यो, माइलो घर फर्केर आएन । झापाबाट गोमा आमाको भाइ दिदीलाई भेट्न पाँचघरे आउनुभयो । मामाबाट थाह भयो, शम्भु मामाघर पुगेको नै रहेनछ । गोमा आमाको घरमा रुवाबासी चल्यो, छरछिमेकमा पनि हल्ला भयो शम्भु हराएको कुरा । हरि त झन् भाइ हराएको खवर सुनाउँदै गाउँका सबै घर घुम्यो । कान्छो दिपक र गाउँलेले पनि सकेसम्म खोजे - प्रहरी चौकी, सदरमुकामका चिनजान सवैतिर । तर शम्भुको केही पत्तो लागेन । कतिपय गाउँलेले लख काटे, "कतै फटाईं गरेर मानिसले कुटेर पो मारे कि? कतै खोलाहरूमा डुबेर पो मर्यो कि?" बिस्तारै शम्भु हराएको कुरा सामसुम हुँदै गयो ।
शम्भु हराएपछि सन्तानको विछोडमा जन्मिएको सन्तापले गर्दा गोमा आमा एकोहोरिन थालिन् । उनी हरेक साँझ तुलसीको मोठलाई प्रदक्षिणा गरेर, बत्ती बालेर र तुलसीलाई ढोगेर मात्र सुत्दथिन् । जेठो हरि आमाले तुलसीको मोठमा बत्ती बालेको सँधै हेरिरहन्थ्यो । छरछिमेक साथीभाइसँग आमा भन्ने गर्थिन्, "फर्किन्छ मेरो छोरो! सपना त देख्न पाइन्छ नि!" हरि त झन् विक्षिप्त जस्तै भएर जो सँग भेट्दा पनि, "शम्भुलाई कतै देखेनौ?" भनेर सँधै यौटै कुरा सोध्दथ्यो ।
जस्तै पीडा र दुःख आइपरे पनि मानिसले आफ्नो र परिवारको जीवनका लागि समयलाई झेल्नैपर्छ । गोमा आमाको पारिवारिक अवस्था पनि त्यस्तै थियो । दिदीको परिवारलाई केही सजिलो ठाउँमा लैजान सकिन्छ कि भनेर झापाको धाईजनमा गोमा आमाको भाईले १० कठ्ठा जग्गा कमाउन बन्दोवस्त गरे । जग्गाधनीलाई एकबर्षको २४ दिन खेताला सघाउनु पर्ने शर्त थियो । मामाले हिउँदमा पाँचघरे (धादिंग) बाट दिदीको परिवार झापा बसाईं लिएर गए । नयाँ ठाउँमा सवैथोक शुरूवात गर्नुपर्यो, मामा माईज्यूले राम्ररी सघाईदिएर एकसरो वन्दोबस्त गरिदिए । जग्गावाला खन्तरे प्रसाईं बा को परिवार दयालू रहेछ, पहिलो वर्ष सित्तै गर्नुपर्ने खेताला ज्यालावेगर गराएनन् । आफुले कमाएको जग्गाबाट उत्पादन भएको थोरै अन्नपात र सिजनल सागसव्जी र अरूहरूको दैनिक ज्यालादारी काम गरेर पाएको अन्नपात र केही पैसाले घर ठीकसँग चल्नथाल्यो ।
कान्छो छोरा दिपकले धुलावारी वजारका महेन्द्र साहूको किराना पसलमा काम गर्दै आठकक्षामा भर्ना भई आफ्नो पढाईलाई निरन्तरता दियो । महेन्द्र साहू धार्मिक र दयालू स्वभावका थिए, दिपकलाई कामदार भन्दापनि आफ्नै परिवारको सदस्य जस्तो व्यवहार गर्दथे । चाडबाड र विशेष पर्वहरूमा दिपकको परिवारलाई खानेकुरा र लत्ताकपडाहरूको व्यवस्था गरिदिन्थे । हाईस्कुलबाट दिपकले एसएलसी पास गर्यो, महेन्द्र साहूले उसलाई धुलावारी क्याम्पसमा आईकम पढ्नलाई सहयोग गर्ने वचन दिएर भर्ना गराइदिए । आईकम पनि पढाईमा मेहनती दिपकले राम्रो नतिजा ल्याएर पास गर्यो । महेन्द्र साहूका जेठा छोराले दिपकलाई आफ्नो घरानिया ईम्पोर्ट एक्सपोर्टको व्यापारको हरहिसावको जिम्मा दिए । लेखा राख्ने, तिरो भरो गर्ने, र बैंकको कारोबार सवै दिपकले हेर्दथ्यो । घरको अवस्था र कामको जिम्मेवारी सोचेर दिपकले पढाईलाई थाँती राख्ने निर्णय लियो । साहूले उसलाई राम्रो तलवसुविधा दिएका थिए । दिपक खुशीसाथ काममा दत्तचित्त भएर लागेको थियो । घरव्यवहार चलाउन चाहिने सामानहरू र रकमको व्यवस्था गर्दथ्यो । समय मिल्नासाथ आमासँग बसेर गफिने, हाँस्ने र हसाँउने गर्थ्यो । गोमा आमाले उसलाई मायाले "डल्ले" भनेर बोलाउँथिन् । दिपकमा आमाको बुढेसकालको साहारा बन्ने सवै लक्षणहरू थिए ।
सुस्त मनस्थितिको हरिको विवाह नहोला भन्ने धेरै पीर बोकेकी थिइन् गोमा आमाले । एकदिन मामाले हरिको लागि बुहारीको वन्दोबस्त गरेको खवर लिएर आए, सवैजनाको अनुहारमा खुशी छायो, सवैभन्दा खुशी गोमा आमा देखिइन् । हुनेवाला बेहुलीको माइती मामाका छिमेकी थिए शरणामतीका प्रसाईं परिवार । दुवै परिवार बीच भेटघाट र विवाहको साधारण तयारीपछि बेहुलो हरि, कान्छो दिपक र मामा तीनजना भएर कुम्ले बिहा गरी बेहुली भित्र्याए । परिवारमा रमाइलो थपियो । सवैले माइलोलाई सम्झिए, "उ पनि साथै भएको भए अझ रमाइलो हुने थियो!"
घडीको सूई आफ्नै चालमा चलीरह्यो । एकवर्षपछि गोमा आमा हजुरआमा बनिन्, जेठो छोरा हरि र जेठी बुहारीको छोरा जन्मियो । परिवारमा खुशी छायो । समयको खेल! खुशी धेरैसमय रहेन, बच्चा जन्मिएको बेलादेखि नै जेठी बुहारीको पाठेघरमा गम्भीर समस्या आयो । स्वास्थ्य चौकीको ओैषधी उपचार, गाउँघरको घरेलु ओैषधी र झारफुक केहीले फाईदा गरेन । बच्चा तीन महिना पुरा भएकैदिन बुहारीले संसारबाट बिदा लिइन् । घरमा शोकको बादल मडारियो । नातीको स्याहार पनि पुर्णरुपमा गोमा आमाको काँधमा आयो । श्रीमतीसँगको वियोगले हरिको मानसिक अवस्था अझ खच्कियो । काममा जान मन नगर्ने, आमा र बच्चासँगै टोल्हाएर बसिरहने गर्न थाल्यो । आमाले पनि बढी समय घरमै बच्चाका लागि दिनु पर्नेभयो । घरव्यवहार फेरि कठीन बन्यो । गोमा आमा यस्तो बेलामा माइलो घरमा भएको भए कति सहयोग हुनेथियो भन्दै शम्भुलाई सम्झन्थिइन् । आमाको मन त हो! आशा मारेकी थिइनन्, "शम्भु, मेरो माइलो छोरो एकदिन पक्कै फर्केर आउँछ" ।
जेठी बुहारी बितेको वर्षदिनपछि कान्छो छोरा दिपकको विवाहको कुरा चल्यो । दिपकको सुजाता नामकी एक असल स्वभावकी केटीसँग विवाह भयो । सुजाता असल घरकी सुसंस्कारी छोरी थिईन् । उनी एकदम जिम्मेवार र बुझक्की थिइन् । सुजाताले घर सम्हालिन्, बिना कुनै संकोच सासूआमा, जेठाज्यू, सानो बाबु र दिपकको यथोचित हेरचाह र सेवा गरिन् । समयमा खाने, आराम गर्ने र व्यक्तिगत सरसफाईमा ध्यान दिंदा हरिको पनि रूपरंग फेरियो, जेठाज्यूको सानो बच्चाले पनि दुईवटा न्यानो काख पायो । घर व्यवहार देखि ईष्टमित्र र छरछिमेकी सवैतिर राम्रो हुँदै गयो । सुजाताले साथीभाइसँग कुरा गर्दा भनेको सुनिन्थ्यो, "मानिसलाई खुशी हुन धेरै सम्पत्तिभन्दा पनि राम्रो सम्वन्ध चाहिन्छ" ।
विवाह भएको डेढ वर्षपछि दिपकको परिवारमा जुम्ल्याहा छोरी जन्मिए । सधैँ अनुहारमा मुस्कान झल्किने ती छोरीहरू गाउँकै उज्यालोझैं लाग्थे । हरिको छोरो पनि खिरिलो, बाठो परेको राम्रो थियो । जेठो र कान्छाका बच्चाहरू खेलाउँदै गोमा आमा टोल्हाउँथिन्, "माइलो घरै भएको भए उसको पनि विवाह हुन्थ्यो! बालबच्चाहरू हुन्थे! कति राम्रो हुन्थ्यो!"
तीनजना बच्चाहरू र दूईजना जेष्ठ नागरिकहरू भएको घरको दिपक र सुजाता पाईलट र को-पाईलट थिए । खान लगाउन पुगेको भएपनि उनीहरूले घर वनाउन सकेका थिएनन् । बाँसको टाटीलाई माटो र भुसको लिउनले लिपेको भित्ता र जस्तापाताले अस्थायी रूपमा छोपेको छानो भएको सानोघरमा दु:खजिलो गुजारा गरिरहेका थिए । दिपकले अहिले बसेकै ठाउँमा एककठ्ठा जग्गा जोडेको थियो जागिरको कमाईले ।
गाउँघरका युवायुवतीहरू रोजगारीका लागि विदेश जाने लहर र लहड चलेको थियो । दुईचार वर्ष ईजरेल जाने रहर गरिन् सुजाताले पनि । जुम्ल्याहा छोरीहरू सुजाताको माईतीमा आमासँग राख्ने सल्लाह भयो । दिपकले सुजाताको लागि चाहिने पासपोर्ट र कागजपत्रहरू तयार पार्न सघायो र रोजगारीमा पठाउने कम्पनीलाई दिने रकमको जोहो गरिदियो । गोमा आमाले आँखाभरि आँसु पारेर बुहारीलाई बिदाई गरिन्, "आफ्नो राम्रो ख्याल राख्नु। म त डाँडामाथिको घाम भएँ । छिट्टै फर्कनु ।" मुटुभरि छोरीहरूको मायाँ र परिवारजनको मुहारको चित्र बोकेर भारी मनले सुजाता बिदेश उडिन् ।
ईजरेलमा सुजाताको काम बृद्धबृद्धाको सेवा गर्ने, ओैषधी दिने, खाना पकाउने, ख्वाउने, सरसफाई गर्ने हुन्थ्यो । कहिले कहिं रात रातभर सुत्न नपाउने, बिरामी र अशक्तहरूका भिजेका डायपर फेर्दै । त्यहाँ साथीहरूसँग मिलेर खानवस्न राम्रै व्यवस्था भएपनि आफनोलागि समय एकदमै कम निस्कन्थ्यो । कहिले कहिंमात्र नेपालमा फोन सम्पर्क गर्दथिन् । एकदिन थकित अनुहार लिएर सुजाताले भिडियो कलमा सासूसँग कुरा गरिन्, “आमा, यता मलाई सवै ठीक छ, हजुरहरू पीर नगर्नु । म छिट्टै बिदा मिलाएर आउँछु ।" यति भनेर सुजाताको गला अड्कियो, सासूआमाले सुजाताका आँखाबाट निस्केर गालाबाट झरेका आँसुका थोपा देखिन् । गोमा आमाले पनि आँशु झार्दै भनिन्, "हामीलाई जेनतेन पुगेकै छ, यतै केही काम गर्नु बरू! फर्केर आउनु ।" सुजातालाई पनि सानाबच्चा नेपालमा छाडेर र परिवारबाट टाढा भएर बस्न अति नै कष्टकर लागिरहेको थियो ।
समय बित्न कति लाग्छ र? तीनबर्षपछि सुजाता नेपाल आइन् - बिदेश नफर्कँने गरी । उताबाट उनले पठाएको र बचाएर ल्याएको पैसामा दिपकले थपथाप गरेर सिमेन्ट, बालुवा, ईटाको गारो लगाएको एकतले चार कोठाको घर जस्ताको छाना लगाएर बनाए । हरिको छोरो र दिपकका छोरीहरू नजिकको सरकारी स्कूलमा बालकक्षामा जान थाले ।
संसारको रीतअनुसार समय चल्दैगयो, सवैको उमेर पनि बढ्दैगयो । उमेरले असी कटिसकेकी गोमा आमा अब बुढ्यौलीले थकित थिइन् । खाना खाँदा सर्किन थालेको दुईतीन वर्ष भैसकेको थियो । दाँत खिएर कमजोर भएका थिए र खाना निल्नलाई गाह्रो हुन थालेको थियो । बिस्तारै हिँडडुल गर्न नसक्ने भइन् गोमा आमा । जोसँग गफगर्दा पनि माइलो छोरोको सम्झना गर्दथिइन्, "अब त एकपटक शम्भु आएदेखि उसलाई देखेर म जाने थिएँ ।" बोलीमा आमाको मायाँ र पीडा एकैचोटी झल्किन्थ्यो । बिहान उठेर हरेकदिन घरको सिकुवा, आँगन र बाटोतिर कसैलाई खोजे जस्तो गर्दथिइन् । एकरात सपना देखिन् - शम्भु फर्किएको, घरको सिकुवामा राखेको खटियामा बसेको, दाह्री झुस्स, दुब्लो अनुहार, आँखा गम्भीर र शान्त अनि निधारमा तीन धर्का तेर्सो चन्दन लगाएको । काँधमा गम्चा, शरीरमा सफा सेता कुर्ता र पाइजामा र खुट्टामा सेता रबरका चप्पल लगाएको ।
खुशी हुँदै बिहानै उठेर गोमा आमाले सवैसँग भनिन्, "शम्भु आउँछ! मेरो माइलो छोरो अवश्य आउँछ!"
आमाका कुरा सुनेर सबै एकपटक हाँसे । दिपकले भन्यो, "आमाले आजपनि सपना देखिछन्!" उसले आमालाई सम्झायो, "आमा! अब माइलो दाज्यु आउँदैन । आए पनि उसलाई कसले चिन्छ र? उ हराएको एकजुग भै सक्यो ।" शम्भु हराएको ३५ वर्ष भैसकेको थियो । यस बीचमा उसको बारेमा कतै कुनै खुट खवर थिएन । अनि कसरी सोच्नु उ आउँछ भनेर! तर गोमा आमाले बलियो स्वरमा भनिन्, "आमाको सपना झूट हुँदैन, आमा भएर मैले भनेको हुँ, शम्भु आउँछ । म चिन्छु मेरो छोरो माइलोलाई ।"
तीनदिनपछि, एकाबिहानै आँगनमा एउटा झुस्स दाह्री पालेको होचो कदको दुब्लो पातलो मान्छे आइपुग्यो । "म… म शम्भु हुँ । आमा घरमा हुनुहुन्छ?" उसले सोध्यो । कसैले उसलाई चिनेनन् । दिपकले भन्यो, "हामीले कसरी पत्याउनु? हाम्रो दाज्यू हराएको पैंतीस वर्ष भयो । अनुहार पनि सम्झना छैन ।" तर गोमा आमाले आँगनमा उभिएको व्यक्तिलाई हेरेर भनिन्, "शम्भु! यो त मेरो छोरा शम्भु हो! मेरो सपना सत्य भयो!" आमाले रुँदै शम्भुलाई छातीमा च्यापिन् । हरि, दिपक र सुजाताहरू अलमल परे । आमाले भनिन्, "तिमीहरूले पत्याएनौ, उसको दाहिने पाखुराको लुगामाथि सारेर हेर! शम्भुको पाखुरामा आगोले पोलेको दाग छ ।" शम्भुले आफैं लुगा सारेर पाखुरा देखायो, त्यहाँ आगोले पोलेको घाउको दाग थियो । सवैका खुशीका आँसु झरे । शम्भुले आमाको गोडामा ढोग गर्यो । सुजाताले शम्भुलाई जेठाज्युको रुपमा निहुरेर ढोग गरिन् । दिपकले दाज्युको खुट्टा ढोग्यो । हरि र शम्भुले अंकमाल गरे । शम्भु सिकुवाको खाटमा आमाको छेउमा बस्यो । सुजाताले भान्छाबाट चिया लिएर आइन्, चिया पिउँदै शम्भुले आफ्नो कथा सुनायो । घर छोडेर हिंडेपछि देवघाटमा भक्तिमार्ग दीक्षा लिई आश्रमको बास गरेकोरहेछ । हराएको पाँचवर्षपछि धादिंग, पाँचघरे गएर शम्भुले घरपरिवारको सोधिखोजी गरेको तर त्यहाँ कसैले बसाईं सरेर कहाँ गएको भन्न सकेनछन् । पुरानाघरहरू बसाईं सरेर सवै गाउँ नै नयाँ भएको थियो रे । आफुले सदरमुकाममा पहिला काम गरेको होटलवालाले झापा कि मोरंग बसाईं सरेर गएको सुनेको भनिदिएछन् । फेरि त्यसको दुईवर्षपछि कतै केहि पत्ता लागिहाल्छ कि भनेर झापा र मोरंगतिर खोज्न गएछ । तर केहि उपाय नलागेर देवघाट फर्केर बृद्धाश्रममा सेवकको रुपमा आफुलाई पुर्णरुपले समर्पित गरेर सन्यासी बनेको रहेछ ।
शम्भुले भनेअनुसार यसपटक तीनदिनअघि सपनामा एकजना सन्यासीबाबाले भनेछन्, "तिम्री आमाले धेरै याद गरेकीछन् । बृद्ध र बिरामी आमा भेट्न तुरुन्त घर जाऊ! ढीलो नगर!" शम्भुले सपनामा सन्यासीबाबालाई भनेछ, "जान त म जान्छु, बाबा! तर मलाई मेरी आमा र घरपरिवार कहाँ छन् थाहछैन ।" सपना मैं सन्यासीबाबाले बताइदिएको घरको ठेगाना पछ्याउँदै आफु घरसम्म आइपुगेको बताउँदा सवैले मुखामुख गरे । गोमा आमाले भनिन्, "भगवान छन्, हामी सवैको विश्वासमा । मैले पनि तीनदिन अघि माइलो घर आएको सपना देखेको थिएँ । मलाई माइलो फर्कन्छ, हाम्रो भेट हुन्छ भन्ने विश्वास सँधै मनमा थियो ।" शम्भुले पनि भावुक हुँदै भन्यो, "त्यहाँ देवघाटमा म बृद्धाश्रममा बृद्ध बुबाआमाहरूको सेवा गर्दथे, तर सँधै आफ्नै आमालाई सम्झिरहेको हुन्थें ।"
शम्भु घर आएपछि गोमा आमाको अनुहार उज्यालियो तर स्वास्थ्य अवस्था भने खस्किंदै गयो । तीनै जना छोराहरूले आमाको अन्तिम दिनहरूमा राम्रो सेवा गरे । तर, हुने हुनामी दैव नटार! गोमा आमाको केही समयमा घरमै निधन भयो । सबै छोराहरू, बुहारी, नाति-नातिनी मिलेर विधिपूर्वक अन्तिम संस्कार सकाए । शोक र पीडाले जतिसुकै सताएपनि घरव्यवहार र जीवन चलाउन बिस्तारै आफ्नो दैनिकीमा फर्किनै पर्छ । गोमा आमाको सपनाले पुनः जोडिएको परिवारपनि विस्तारै पीडा भुलेर सामान्य जीवनमा फर्क्यो ।
जीवनको बाँकी दिनहरू बृद्ध बुबाआमाको सेवा र भगवान भक्ति र भजनमा बिताउने संकल्पसहित शम्भु फेरि देवघाट फर्कियो ।
आफ्नो स्वास्थ्य अवस्थाले गर्दा धेरै कुराहरू बिर्सन थालेको जेठो हरि अहिलेपनि हरेक साँझ तुलसीको मोठमा बत्ती बालेर तुलसीको प्रदक्षिणा गर्न बिर्सँदैन । हरि भन्ने गर्छ, "मलाई विश्वास छ, भाइ फर्किए जस्तै हाम्री आमापनि एकदिन अवश्य फर्केर आउँनेछिन्!"
कोटेश्वर, काठमाण्डौं, (हाल - ब्रिसवेन, अस्ट्रेलिया)