19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म देश पढ्दैछु

कविता मातृका पोख्रेल December 11, 2008, 8:18 pm

म एक्काइसौं शताब्दीको विद्यार्थी

देशको इतिहास पढ्दैछु ।

देश गहिरिएर पढ्दैछु ।

देशलाइ पढ्दै जाँदा –

अक्षरहरू भित्रका पनि अक्षरहरू पढ्दैछु

सजिएका शान्तिका अक्षरहरू भित्र

किरिङ मिरिङ

अशान्ति र कोलाहलका चित्रहरू पनि हेर्दैछु ।

न्यायका शब्दहरू पढ्दा

जेल, नेल, बन्दुक र पुलिसका

यातनाहरू पनि भोग्दैछु ।

म एक्काइसौं शताब्दीको विद्यार्थी

देशको इतिहास पढ्दैछु ।

देश गहिरिएर पढ्दैछु ।

इतिहासका शब्दहरूभित्र खोज्दै जाँदा

राष्ट्रभक्ति जस्ता शब्दहरूभित्र

कोशी र जङ्गल बेचिएका

सहिछापहरू पनि देख्दैछु

देशलार्इ बनधकमा राखेका

सम्झौताका आला अक्षरहरू पनि देख्दैछु

जनभक्तका कानूनभित्र

युवाका रगत बेचिएका

राता टाटाहरूमा एक थोपा आँसु पनि खसाल्दैछु

म एक्काइसौं शताब्दीको विद्यार्थी

देशको इतिहास पढ्दैछु ।

देश गहिरिएर पढ्दैछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।