18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रगतिशील साहित्य र विचार

विचार प्रा.डा. यदु नन्दन उपाध्याय July 21, 2025, 4:21 pm
प्रा.डा. यदु नन्दन उपाध्याय
प्रा.डा. यदु नन्दन उपाध्याय

आजको साहित्यमा प्रगतिशील विचार

साहित्य स्वयं विचार नभए पनि यसका माध्यमबाट कुनै न कुनै विचार वा मान्यता अभिव्यक्त हुन्छ नै । साहित्यका कविता, नाटक, कथा, उपन्यास, निबन्धजस्ता विधाका विधागत कलात्मक मूल्य र मान्यतामा साधनारत रहेर सो विचार अभिव्यक्त गरिएको पाइन्छ । आज नेपाल लोकतान्त्रिक गणतन्त्रको सङ्घीय समावेशी राजनीतिक शासन पद्धतिमा रहेको छ । यसपूर्व राणाशासन, पञ्चायत र राजतन्त्रको अन्तसँगै पुरानो सामन्तीतन्त्र बिस्तारै बिस्तारै राजनीतिक रूपमा ढलेको छ तर समाज र पारिवारिक जीवनका अनेकौँ स्वभाव र संस्कारमा त्यसका गढेर बसेका थुप्रै अवशेषहरू हटेका छैनन् । यस क्रममा नेपालको विद्यमान व्यवस्था र संविधानले हाम्रो समाज र भूगोलको विविधतासमेतलाई आत्मसात गरी सबै समुदायलाई विकासको मूल प्रवाहमा हिँडाएर समृद्धिको मार्गमा पुर्‍याउन समावेशी चरित्रको बनाएको छ । नेपाली इतिहासकै सबभन्दा प्रगतिशील चरित्रको आजको राजनीतिक र सामाजिक व्यवस्थाको सूक्ष्म ढङ्गले चरित्राङ्कन गरी यसका प्रगतिशील चरित्रको संरक्षण र सुदृढीकरणका साथै समृद्ध र समाजवाद उन्मुख गन्तव्यमा रूपान्तरित गर्नका निम्ति प्रत्येक सिर्जनकर्मी क्रियाशील हुन जरुरी छ । प्रगतिशील साहित्यको प्रतिपादन गर्ने मार्क्सवादी दर्शन (विचार) ले सारा जीवन र जगतको व्याख्या गर्ने मात्र होइन, त्यसलाई बदल्ने विचार पनि प्रस्तुत गर्ने भएकाले समाज रूपान्तरण आजका प्रगतिशील साहित्यको मुख्य दायित्व हो । सोका निम्ति आजको साहित्यले सामाजिक विविधताबाट विषय ग्रहण गरी ती विषयका सूक्ष्मतम पक्षभित्र पसेर जीवन यथार्थका मर्महरूलाई बिम्बाङ्कन गर्दै समृद्ध समाज निर्माणको कलासाधनामा क्रियाशील हुन जरुरी छ ।


प्रगतिशील साहित्यको विषय

- नेपाली जनजीवन र समाजका बहुआयामिक पक्ष नै आजको प्रगतिशील साहित्यका विषय हुन् । तिनमा नेपालको शिक्षा, स्वास्थ्य, कृषि, राजनीति, अर्थतन्त्र, भूगोल, संस्कृति, राष्टियता, साहित्य, भाषा, गाउँ, सहर, पहाड, मधेस, दुर्गम, सुगम, पर्यटन, पर्यापर्यटन, सूचना प्रविधि, जलवायु परिवर्तन, गरिबी, महँगी, वैदेशिक रोजगारी, बसाइ सराइ आदि जीवनशैली र जनजीविकाका असीमित कुरा पर्दछन् । ती विषयभित्रका सूक्ष्म एवं संवेदनशील र मन छुने पक्षहरू मात्र भाव वा विषयका रूपमा साहित्यका विविध विधामा उपयोग गर्न सकिन्छ ।


- हाम्रो समाज परम्परादेखि नै आर्थिक रूपले सम्पन्न र विपन्न हुनाको मनोविज्ञानको उच्चता र हीनताबोधको घेरामा छ । हाम्रै समाजमा मानव मानवमा भेदभाव गर्ने उँचनिचको जातीय पर्खाल छ जुन आजको समाजको सबैभन्दा ठुलो कलङ्कको विषय हो । पितृसत्तात्मक संस्कारले परिवार रूपी एउटै रथका दुई पाङ्ग्रा नारी र पुरुषका बिचको असमानताको पर्खाल पनि हाम्रो समाजमा कठोर सांस्कारिक समस्या बनेको छ । यसका साथै सुगममा बस्नेका सुविधा र दुर्गममा बस्नेको विकटताको चिरा पनि हाम्रै समाजमा व्याप्त छ । यसले समाजका सबै क्षेत्रमा विभेदका विकराल समस्या खडा गरिरहेका यथार्थ पनि आजका साहित्यका विषय बन्नसक्ने देखिन्छ ।


- हाम्रो समाजमा बिहान बेलुकाको छाक टार्न नसकेका श्रमिक किसान र मजदुरहरूको भोको पेट र नाङ्गो आङ ढाक्न देशमा केही काम नपाएर विदेशिन बाध्य युवाहरूका यथार्थ पनि कहाली लाग्दा छन् । आफूसँग काम गर्ने सिप र राष्ट्रका निम्ति केही गर्ने विचार पनि नपाएर तिनीहरू भक्कानिदैँ र रुँदै वैदेशिक रोजगारीमा जान विवश छन् । त्यति मात्र होइन तीमध्ये कतिपय त बाकसमा लाससमेत बनेर भित्रिन विवश बनेका छन् । यस्तो स्थितिमा परेका परिवारभित्रका मार्मिक भाव र सूक्ष्मतम कारणहरू पनि आजको साहित्यका विषय बन्न सक्ने देखिन्छ ।

- केही दशकदेखि हाम्रो समाजमा केही नयाँ र ताजा विषयहरू पनि थपिइरहेका छन् । तिनमा सबभन्दा बढी आर्थिक र चारित्रिक भ्रष्टाचार बढिरहेको, कृषि उत्पादन र पशुपालन घटिरहेको, खुलापनका नाममा वैदेशिक हस्तक्षेप र सांस्कृतिक अतिक्रमण बढिरहेको, देश केवल अरू देशका वस्तुको आयात र उपभोगमा मस्त बनिरहेको, रोजगारीमा परनिर्भरता दिनानुदिन बढिरहेको, बलियो श्रमशक्ति मात्र होइन लाखौँ लगानी गरेर तयार भइरहेको ऊर्जाशील प्रतिभा विविध अवसरको खोजीमा पलायित भइरहेको, देशभित्रै पनि विस्फोटक ढङ्गले बेरोजगारी बढिइरहेको, पैसा नभएका कारण न्यायालयमा गरिबको पहुँच पुग्न नसकेको आदि र यी कारणहरूले समाजमा धनी झन धनी अनि गरिब झन गरिब बनेर वर्गभेद झन विकराल बनिरहेको यथार्थ प्रस्फुटित भइरहेको छ । यस्ता अनेकौँ यथार्थभित्रका सूक्ष्म भावका कारणहरू पनि आजका साहित्यका विषय बन्न सक्छन् ।


- हाम्रो समाजमा प्रचालित शिक्षाले पनि दुई प्रकारका मानिसहरूको उत्पादन गरी समाजमा वर्ग विभाजन बढाइरहेको छ । पहिले जमिनबाट अनि पुँजीनिर्माण र सञ्चयबाट सजिलै जसो छुट्टिने गरेको वर्ग हाल सूचना र प्रविधिमा पहुँचबाट झन झन परिवर्तित र अस्पष्ट पनि भइरहेको छ र यसले आर्थिक विपन्न समुदायका चुनौतीहरू पनि बढाइरहेको छ ।


- हाम्रो समाजमा सबै नेपालीका मातृभाषा र संस्कृतिभित्रका भिन्न भावनालाई सम्मान र सहअस्तित्वको बोध नगर्ने, परम्परादेखि चालिआएका नाममा अन्धविश्वास र विभेदका परम्परालाई जोगाइराख्ने, भूगोल वा वर्णको भिन्नताका आधारमा हेप्ने र अपमानित गर्ने, सफाइका काम गर्ने, कबाडीका वस्तु उठाएर हाम्रा घरटोललाई सफा राख्न सघाउने परिश्रमी

श्रमिकलाई अपमानित गर्ने आदि खराब र गलत संस्कार व्यापक मात्रामा भेटिन्छन् जुन कुराभित्रका भाव र दुखदर्दहरू पनि आजका साहित्यका विषय बन्ने असीमित सम्भावना छन् ।


- नेपाली समाजमा व्याप्त अन्धविश्वास र विभेदले रुकुमका नवराज वि.क.को हत्या हुन्छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान सफल हुँदैन । चितवनकी सालिन पोखरेलका बाबाआमाको व्यवहारको मनोविज्ञानको समाधान हुँदैन र आत्महत्या गर्ने विवश परिवेशको सिर्जना हुन्छ । दुर्गममा घर भएकी गर्भवती महिलाले बाटोमै बच्चा जन्माउँदा जीवन गुमाउन बाध्य हुनुपर्छ । सन्तानको लोभमा अर्को कुनै नाबालकको बलि चढाउने कुबुद्धिमा हाम्रै नवलपरासीको नगरको मानिस सुरिन्छ । यस्ता कुरीतिभित्रका कार्यकारणका घटनाहरू पनि आजका साहित्यका विषय हुनसक्छन् ।


- हाम्रो समाजमा छुआछुत वा बोक्सीका नाममा महिलालाई दिसा खुवाएका समाचार सुन्नमा आउने, दाइजो नल्याएको भनेर बुहारीलाई यातना दिने मात्र होइन जघन्य तरिकाले हत्या गर्ने जस्ता घटना पनि सुन्नमा आएका छन् । यी विषयभित्रका कथाव्यथा ज्यादै व्यापक, गरुङ्गा, हृदयविदारक र करुणाजनित छन् र तिनका अनेकौँ भावहरू प्रगतिशील लेखनमा अभिव्यक्त हुनुपरेको छ ।

- हाम्रो समाजका अन्तरकुन्तरबाट राजा भनेको ईश्वरको अवतार हो भन्ने भावना कतिपयको दिमागमा अझै पनि गढेर बसेको छ । हामी पुराना कथामा विश्वास गर्छौँ तर वास्तविक जीवनलाई नियाल्न र पाठ सिक्न खोज्दैनौँ । राजा भनिएको रणबहादुर शाहले पाँचवटी रानी भित्र्याएपछि पनि राम्री भएकी विधवा कान्तिमतिलाई नभित्र्याई छोडेनन् र तिनकै सर्तमुताबिक जेठो छोरो राजा हुने परम्परालाई लत्याएर कन्तिमतिकै छोरालाई नाबालक अवस्थामा गद्दीमा बसालेको स्वेच्छाचारिता पनि राजाले गरेको भनेर सम्मानै गर्न तम्सन्छौँ ।


- विलासी जीवन, सयौँ रानी र पटरानी, एकअर्काका विरुद्धको षडयन्त्र गरेर सत्ताको लुछाचुँडी, जघन्य हत्या आदिका राजसंस्थाका घटना मात्र होइन वीरेन्द्रको शासन, वंशनाश र त्यसवरिपरि राजखलकबाट भएका लागु पदार्थको उपयोग, मूर्तिचोरी, सर्वसाधारणको हत्या र सत्तादोहन अनि दुरुपयोगलगायतका कुरा पनि नेपाली जनताले बिर्सिसकेका छैनन् । यसले जन्मजात कसैलाई हाम्रो शासक बनिदेऊ भनेर गुहार मागिरहेका पुराना दास मानसिकतालाई मनै छुने गरी विगतका यथार्थहरूबाट परिचित गराउने कुरा पनि आजका साहित्यको विषय बन्नुपरेको छ ।


- राजनीतिक व्यवस्थामा हामीले फड्को मारिसक्यौँ तर आर्थिक गतिशीलता र सामाजिक जीवनभित्र हाम्रो खुसी भित्रिन सकेको छैन । राणाकाल गयो । पञ्चायत गयो तर त्यतिखेरको सामन्ती संस्कार हाम्रो समाज, परिवार र व्यक्तिबाट पनि गइसकेको छैन । हामी नयाँ बोतलमा पुरानै रक्सी भर्न र स्वाद लिन विवश छौँ । व्यवस्था मात्र बदलेर भएन अवस्थामा बदलाव ल्याउनका निम्ति हाम्रो सामाजिक र आर्थिक जीवनमा परिवर्तन र खुसीको उज्यालो भित्र्याउन जरुरी छ र यस्ता कुरालाई मर्मस्पर्शी ढङ्गले बोध गराउनु पनि आजका प्रगतिशील साहित्यको विषय बन्नुपरेको छ ।


- नेपाली समाजका विभिन्न जातिका संस्कृति : गाईजात्रा, ह्लोसार, माघी, इद, दसैँ, तिज, छठ, बुद्ध पूर्णिमा आदि सबै समुदायका भइसकेका र भइरहेका छन् । संस्कृत पढ्ने मुस्लिम महिला अनि कुरान पढ्ने ब्रह्मण मात्र होइन लिम्बू समुदायका स्वामी प्रपन्नाचार्य वा संस्कृतिविद् जगमान गुरुङका हिन्दु धार्मिक प्रवचन पनि निमग्न भई भई सुनिने गरिएकै छन् । यस्ता पक्षले हामी नेपालीको समन्वयात्मक संस्कृतिको परिचय र पहिचान दिइरहेका छन् । यस्ता कुराले नेपाली नेपालीमा विभाजन र विखण्डन होइन मेल र समन्वयको संस्कृतिको प्रवर्धन पनि गरिरहेको छ र यस्ता कुरा पनि आजका साहित्यका विषय बनाउनु परेको छ ।


- नेपाल भारत र चिनजस्ता दुई विशाल जनसङ्ख्या र भूगोल भएका मुलुकका बिचमा छौँ । यसका सकारात्मक पक्षको उजागर गर्नुका साथै देशमा ती र अन्य मुलुकसमेतबाट भइरहेका अवाञ्छित हस्तक्षेपका विरुद्ध र राष्ट्रिय अस्मिताको रक्षाको विषयलाई पनि साहित्यमा महत्त्वका साथ उठाइने गरिएको छ र गरिरहनुपर्छ । राष्ट्रियताको विषय नेपाली लोकतान्त्रिक अभियानका सँगसँगै जोडिएको र नेपाली साहित्य सिर्जनाको महत्त्वपूर्ण स्रोत पनि हो । त्यसभित्रका सूक्ष्मतम भावहरूको कल्पना र अनुसन्धानसमेतबाट हाम्रो प्रगतिशील सिर्जनालाई समृद्ध बनाउनु जरुरी छ ।


- हाम्रो समाजमा रामायण, महाभारत, अठार पुराण, उपनिषद, वेद, कुरान, बुद्ध दर्शनलगायतका अनेकौँ ग्रन्थ र समृद्ध ज्ञानको व्यापकता पनि छ । यति मात्र होइन विकसित आजको हाम्रो समाज बुद्ध, मुस्लिम, इसासहित तीभित्रका विविध भावना र सम्प्रदायका मानिसहरूको मिलेर बस्ने मिश्रित संस्कार पनि छ । ती कृतिको उपजीव्यतालाई सामयिक सन्दर्भमा जोड्ने सन्दर्भमा केही काम भएका छन् तर तिनका धेरै र असङ्य भावका कुरालाई पनि आजका साहित्यमा विषय बनाउनु परेको छ ।


- नेपालका पौराणिक महत्त्वका धार्मिक स्थल, सांस्कृतिक पहिचान बोकेका विविध पक्ष, वनजङ्गल, जडीबुटी, र वन्यजन्तु, यहाँका प्राकृतिक सौन्दर्यले भरिएका रमणीय स्थलसहित जनसम्पदा आदिको पर्यटकीय महत्त्व झल्काउँदै तिनबाट हुने अर्थोपार्जन र रोजगार सिर्जनाका अनन्त सम्भावनालाई झल्काउने किसिमका कथ्यको निर्माणमा पनि प्रगतिशील साहित्यले भावानुसन्धान गर्नु जरुरी छ ।


- द्रौपदीका कथाबाट नारीमाथिको दमन वा त्यस दमनविरुद्धको अन्तर्वस्तु निर्माणका अनन्त सम्भावना छन् । ‘देवासुर सङ्ग्राम’ मा मोदनाथ प्रश्रितले पुराणमा वर्णित देवता र राक्षसका कथ्यलाई विपरित विनिर्माण गरी श्रमका कारण देवताभन्दा राक्षस असल रहेको अन्तर्वस्तु निर्माण गरेका छन् । महाभारतका कर्णको कथालाई राजेश्वर देवकोटाले ’द्वन्द्वको अवसान‘मा नयाँ अन्तर्वस्तुमा ढालेका छन् । कृष्ण धरावासीले ‘राधा’ उपन्यासमा नारी वर्चस्वको नयाँ अन्तर्वस्तुको विन्यास गरेका छन् । रामायणकी अछुत भनिएकी सबरीको जुठो बयर खाने रामको कथालाई सामायिक अन्तर्वस्तुमा ढाल्नुपरेको छ । यस्ता हाम्रै पुर्खाले रचना गरेका कृतिहरूबाट सामयिक जीवनसँग जोडिएका कैयौँ कथ्यहरूको पुनर्निर्माण पनि आजको प्रगतिशील लेखनले गर्नुपरेको छ । यस्ता विविध विषयलाई सामाजिक यथार्थका धरातलमा अभिव्यक्त गरी यथार्थको बोध र परिवर्तनको चेतना छर्नुपरेको छ ।


समाज रूपान्तरणको विचार

- कुनै पनि साहित्यकारका निम्ति साहित्यमार्फत अभिव्यक्त हुने विचारका तीन सम्भावना रहन्छन् । आफ्नो सिर्जनामार्फत (१) पुराना विचार (प्रतिगमन)को समर्थन वा पक्षपोषण गर्ने (२) यथास्थितिको समर्थन वा चालिरहेको स्थितिमा चित्त बुझाउने (३) र उन्नत वा प्रगतिशील विचारको पक्षपोषण गर्ने । आजको विकसित समाजको सिर्जनशील मस्तिष्कले पुराना विचारको पक्षपोषण गर्ने वा जे जस्तो छ त्यसमै चित्त बुझाएर बस्ने भन्ने कुरा सुहाउँदैन । त्यसैले आजको प्रगतिशील साहित्यले विद्यमान यथार्थको मार्मिक र प्रभावकारी चरित्राङ्कनमार्फत भइरहेका विसङ्गति वा कमीकमजोरी हटाई आगामी जीवनलाई सुखी र समृद्ध बनाउने अनि समाज निर्माणको समाजवादी गन्तव्यलाई सघाउने कुरा नै सही र उचित पनि हुन्छ र यसैलाई स्रष्टाले साहित्य सिर्जनाको केन्द्रीय पक्ष बनाउनुपर्दछ ।


- पौराणिक, ऐतिहासिक वा सामाजिक जुनसुकै स्रोतका विषय भए पनि अहिलेको समाजको सन्दर्भमा वा आजको लोकतान्त्रिक जीवनलाई सौन्दर्यपूर्ण बनाई मृदु सन्देश प्रवाह गर्ने सन्दर्भमा नेपाली सर्जकले धेरै काम गर्नुपरेको छ । यही कुरालाई मनन गरी माथि प्रस्तुत गरिएका बहुआयामिक विषयहरूका सूक्ष्म एवं संवेदनशील भावहरूलाई भरिलो सौन्दर्यसहित विचारमा उन्ने प्रयत्न गर्नु र त्यसका अनुशीलन र साधानामा जुट्नु जरुरी छ ।


- अबको समाज विभेद र असमानताविरुद्धको हुनुपर्‍यो र परिश्रमी गरिबका जीवनमा उज्यालो छर्ने हनुपर्‍यो । यो उज्यालो कठोर काम गर्ने श्रमजीवी किसान र कारखानामा काम गर्ने गरिबलाई सम्मान दिने र उनीहरूका खाना, छाना र नानासहित शिक्षा, स्वास्थ्य र सुरक्षाको दायित्वसहितको हुनुपर्‍यो । दलित र गैरदलितमा रहेको छि छि र दुरदुरको भावना गलत हो भन्ने चेतनाको दियो बल्नु पर्‍यो । नारी र पुरुषका बिच आर्थिक, सांस्कारिक र सामाजिक काममा एकरूपमा निर्मित हुनुपर्‍यो र त्यसले समाजमा बदलावको मूर्त तस्बिर पनि खिच्नुपर्‍यो ।


- भावको स्फुरणमार्फत पाठकको मनलाई आकर्षित पारी आह्लादको संसारमा प्रवेश गराउने काम पनि साहित्यले गर्नुपर्‍यो तर के त्यो सिर्जना आह्लादका निम्त मात्र हो त ? हाम्रो सिर्जना क्षणिक आनन्दमा रनभुल्ल हुनका निम्ति मात्र होइन बरु सामाजिक उत्तरदायित्वसहितको कालजयी सिर्जनाका निम्ति हो । हाम्रो सिर्जना रक्सीमा लट्ठ परेर युवासहितका पाठकमा भ्रम, बेहोसी र मृत्युन्मुखी भाव र जीवन विसर्जनतिर होइन यथार्थ, सचेतता, सामाजिक उत्तरदायित्व र जीवनमुखी एवं भविष्यमुखी बाटोतिर हो भन्ने कुरालाई बलियो गरी स्थापित गर्नु जरुरी छ ।


- हाम्रो सिर्जना जीवनका व्यक्तिगत उत्तेजना, अश्लीलता र सुन्दरीका नखशिखा (पैतालाको नङदेखि चुल्ठोसम्मका अङ्गप्रत्यङ्गका सौन्दर्य)का केस्रा केस्रा केलाउनतिर होइन बरु समाज जीवनका दर्द र मर्महरूका सूक्ष्म भावहरू पहिल्याई तिनबाट केही सहजताको मल्हम लगाउनका निम्ति हो भन्ने कुरा प्रत्येक सिर्जनाबाट अभिव्यक्त हुनु जरुरी छ ।


- सिर्जनाले व्यक्तिमा आत्मसन्तुष्टि पस्किने कि समूहको सन्तुष्टि पस्किने भन्ने कुरा पनि महत्त्वपूर्ण छ । मानवको विकास व समाजको विकास व्यक्तिको सुख समृद्धिबाट मात्र नभई समाजको वा समूहको सुख समृद्धिबाट अभिव्यक्त हुन्छ । समाजको आमा समूह, टोलको कुनै क्लब, कुनै समिति वा कुनै सामाजिक संस्था समुदायको हित संरक्षण र विकासका निम्ति खटिएका हुन्छन् । भारतका ठुला उद्यमी रतन टाटाले पनि आफूले निजी फाइदाका लागि पैसा कमाएर नभई अरूलाई वा समुदायलाई सहयोग गरेबाट महान आत्मसन्तुष्टि प्राप्त गरेको बताएका छन् । यसो भएकाले प्रत्येक सिर्जनकर्मीले पनि आफ्नो व्यक्तिगत हित मात्र नसोची समूहको हित र सन्तुष्टिमा आफ्नो पनि सन्तुष्टि अन्तर्निहित रहेको महसुस गर्ने अनि त्यो समूह निम्न वर्गको र श्रममा केन्द्रित वर्गको हित हुने गरी सिर्जना पस्कनु परेको छ । यही प्रगतिशील वा समाजवादी साहित्यको चारित्र हो र यस कुरालाई प्रत्येक प्रगतिशील सर्जकले आत्मसात गर्नुपरेको छ ।


- हाम्रो सिर्जना गरिबी, भ्रष्टाचार, बेइमानी, झुठ र छलकपटभित्रका समाजका कुकृत्यको उद्घाटनमार्फत समाजमा सचेतना र सुखी जीवनका बाटा पहिल्याउन हो । यस्ता समस्याबाट निरपेक्ष रहेर समाजलाई तिनै विकृति र विसङ्गतिमा अलमल्याएर विवश जीवनको यथास्थितिलाई मलजल गर्नतिर होइन । हाम्रो सिर्जना समाजमा आशा, उत्साह र सक्रियता बढाउनका निम्ति हो निराशा, निरुत्साह र निष्क्रियता बढाउनका निम्ति होइन । यही छनोटका निम्ति हाम्रो स्वतन्त्रता कतातिर उपयोग गर्छौँ त्यसैमा हाम्रो जीवनको विचार र उद्देश्य निहित हुन्छ र प्रगतिशील सिर्जना सकारात्मक परिवर्तनको दिशालाई मलजन गर्नतिर हुनु आवश्यक ।


- यहीँनिर मान्छेको जिम्मेवारी र दायित्वको कुरो पनि जोडिएर आउँछ । पहिला मान्छे के हो ? भनी विचार गरौँ । यो प्राणीहरूमध्येको चेतनशील प्राणी हो । यो गोरु, बाख्रो वा किरा फट्याङ्ग्रा जस्तो तत्कालको लोभ मात्र हेर्ने, आफ्नो वा आफ्ना सन्ततिहरूको आहारा मात्रको खोज गर्ने प्राणी होइन । यो लाखौँ प्राणीमध्ये चेतना भएको आफूसहित अरूको भलो कुभलोमाथि पनि दृष्टि पुर्‍याउन सक्ने, क्षणिकभन्दा अलि लामो समयको परिणाम पनि विचार गर्ने, विवेक, बुद्धि र सिर्जनात्मकता भएको प्राणी हो । यो क्षणिक रमाइलो र व्यक्तिगत सुखभोगमा मात्र रमिरहने प्राणी होइन ।


- मानिस सारै निच, दुष्ट, भ्रष्टाचारी, दुराचारी, बलात्कारी र पशुवत् विवेकशूल्य वा विवेकको गलत उपयोग गर्ने पनि हुन्छ अनि समाजको उच्च, सदाचारी, इमान्दार, समाजको सुखका निम्ति योगदान दिने र त्यसका निम्ति नेतृत्व गर्ने पनि हुन्छ । यी दुबैथरीका बिचको यथार्थ र औसत स्वभावको पनि हुन्छ । यी सबै विशेषता भएको मान्छेमध्ये पनि साहित्यकार आम मान्छेभन्दा अझ उच्च चेतना र समाजप्रति जागरुक मान्छे हो । सिर्जनकर्ममा लाग्ने दिमागको मान्छे सामान्यभन्दा विशिष्ट हुन्छ । नेपाली जनसङख्या करिब तिन करोड छ भने त्यसभित्रका केही न केही लेख्ने साहित्यकारको सङ्ख्या धेरै भए अनुमानित २०/२२ लाखसम्मको होला । अर्थात् प्राणीमध्ये सचेत अनि सचेतमध्ये सिर्जनशील र उच्च मस्तिष्कको उपज साहित्यकार हो र ऊ समाजलाई कता लग्ने र कस्तो रचनात्मक आनन्द प्रवाह गर्ने भन्ने विचार पुर्‍याउन सक्ने दायित्वसहितको व्यक्ति पनि हो ।


- हामीले भन्ने बेला जे पाई त्यै पनि भन्न सक्छौँ तर लेख्दा जे पाई त्यै होइन छानेर अलि जिम्मेवार भएर र पछि त्यसको जबाफ पनि दिनसक्ने भएर मात्र लेख्छौँ । अझ साहित्यकारको सिर्जना हल्का लेखाइ होइन जिम्मेवार लेखाइ हो । यो आम मानिसभन्दा सिर्जनशील व्यक्तिको लेखाइ हो र यो समाजप्रति जिम्मेवार र कर्तव्यसहितको भावनाले युक्त लेखाइ हो र हुनु पनि पर्छ ।


- के साहित्यमा युवाहरूको कामकुण्ठा जगाएर सामाजिक बलात्कारका घटना बढाउन सक्ने कुरो उचित हुनसक्छ । क्षणिक रमाइलो र भोगको सुख त त्यहाँ पनि छ । लागू पदार्थको दुर्व्यसनले दिने आनन्दतिर वा यस्तै नकारात्मक आनन्दमा मान्छेलाई अलमाल्याउनतिर लाग्नु सचेत स्रष्टाका निम्ति उचित हो र ? निसन्देह यस्तो कुरो ठिक हुन सक्दैन । साहित्यकार समाजको अगुवा हो । समाजको सिर्जनशील र उच्च चेतना भएको स्रष्टा हो । समाजका कुरूप पक्षको उद्घाटन गरी समाजभित्रका अन्याय, बेथिति, विसङ्गति र व्यभिचारका भित्री यथार्थ देखाएर पाठकलाई सजग र सचेत पार्ने जिम्मेवार व्यक्ति हो । यसैले उसले रमाइलोका नाममा समाजलाई गुमराहमा राखेर क्षणिक रसरङ्गको भुलभुलैयामा राखी यथास्थितिको पक्षपोषण गर्नु सर्वथा अनुचित कर्म हो । उसको कलम सिर्जनशील जीवन र सिर्जनशील संसार निर्माणका निम्ति निरन्तर प्रवृत्त र सक्रिय रहनुपर्छ भन्ने कुरामा विमति जनाउनु उचित होइन ।


- कतिपय साहित्यकारहरू साहित्य कुनै वाद वा विचारको घेरामा लेखिनु हुँदैन र लेखिन सक्दैन भन्ने पनि मान्यता राख्दछन् । के मान्छेको हित हुने कुरा वादमा आधारित छ भनेर नलेख्न हुन्छ र ? अनि अहित हुन्छ भन्ने जान्दाजान्दै पनि त्यस्तो कुरो लेख्नुलाई विचारको घेरा भनिन्न र ? के त्यसो भन्ने साहित्यकारले परिवार र समाजलाई चरित्रहीन र अराजक बन्न सक्ने विषय लेखेर दिनसक्छ र ? के आनन्दका नाममा अश्लील चलचित्रलाई जिम्मेवार समाजले स्विकार्न र प्रोत्साहन दिन सक्छ र ?


- प्रगतिशील लेखनमा घटनाको आरम्भ र विकास पढिसकेपछि अब यस पात्रले यसो गर्ला र यसको उत्थान र यसको अवसान यसरी होला भन्ने अनुमान पाठकले गर्न सक्ने बनाएको पनि देखिन्छ । यसलाई नवीनता र मौलिकतासहित रहस्यमय अन्तर्वस्तुको संयोजनमा अन्वेषण हुन जरुरी छ । यसमा नयाँपन दिन स्रष्टाको सिर्जनशील समयको लगानी र अध्ययन र अभ्यासको आवश्यकता छ ।


- साहित्य लेखनमा “कला कलाका निम्ति” भन्ने मान्यता पनि पाइन्छ । मान्छेको आजको जीवनका यथार्थतिर ध्यान नदिई केवल बुद्धिविलासमा ध्यान मोड्न खोज्ने, साहित्यको अन्तर्वस्तुका सट्टा रूप वा शिल्पसज्जालाई नै सर्वोपरि महत्त्वको मान्ने प्रवृत्ति पनि पाइन्छ । आजको प्रगतिशील साहित्यले त्यसविरुद्ध पनि क्रियाशील हुनुपरेको छ आनन्दमय उल्लासका साथ परिवर्तनको चेतना पनि छर्नुपरेको छ ।


- यसले उत्तरआधुनिक साहित्यका नामका विनिर्माणवाद, उत्तरसंरचनावाद, विपठन आदि सबै मान्यताभित्रका मानव जीवन निरपेक्ष साहित्यिक मान्यताप्रति विमति राख्दछ र यथार्थपरक साहित्यको पक्षपोषण गर्दछ । साहित्यलाई विचारविहीन, भविष्यविहीन, क्षणिक, व्यक्तिपरक र मनलाग्दी अर्थको र इतिहासको अन्त्य र लेखकीय उत्तरदायित्वविहीनताको वस्तु बनाउने मान्यता पनि समाजहितमा केन्द्रित छैन भनेर बुझ्न जरुरी छ । प्रगतिशील सिर्जनामा स्रष्टाले लेखेको र जीवनमा त्यसैअनुसार आचारण गरेको वा नगरेको कुरालाई पनि सँगसँगै राखेर हेर्ने गरिन्छ । अर्थात् लेखकले सिर्जनामा व्यक्त गरेको विचार उसले आफ्नै जीवन व्यवहारमा उतारेको छ कि छैन भनेर पनि मूल्याङ्कन गरिन्छ ।


- आजभोलि समाजका हरेक क्षेत्रमा अरूलाई दोष दिएर आफूले कुनै जिम्मेवारी नलिने गैरजिम्मेवार प्रवृत्ति देखिन्छ । खेतबारी मासेर प्लटिङ गरिएको, उद्योगहरूको विकास हुन नसकेको, रोजगारी सिर्जना हुन नसकेको, प्रतिभा पलायन व्यापक भइरहेको, सहकारीमा ठगी बढिरहेको, भ्रष्टाचार विकराल बनिरहेको, समाजका अनेकौँ सङ्घसंस्थामा सामाजिक दायित्वका भन्दा व्यक्तिगत स्वार्थका काम बढिरहेको र चरित्रमा ह्रास वा पतन बढिरहेको आदि तमाम क्षेत्रका खराबीलाई राजनीतिक नेतृत्वलाई मात्र गाली गरेर वा अरूलाई दोष लगाएर आफू चोखो देखिने प्रवृत्ति पाइन्छ । त्यसमा आफ्नो जिम्मेवारी र दायित्व के हो भन्ने कुरापट्टि पटक्कै ध्यान नदिनु वा आँखा चिम्लिनु ठिक होइन ।


- उपर्युक्त प्रवृत्तिले सतहमा दुईचार वाक्यमा भने जस्तो सजिलो र सरल रेखाको समस्यालाई मात्र सङ्केत नगरी समाजका घरपरिवारदेखि टोल र बस्ती बस्तीसम्मको धाँजा पारिदिएको छ । यसलाई मेटाउन भनेर अनेकौँ औपचारिक प्रयत्न भए पनि भित्री जीवनमा चाहेको परिवर्तन आउन सकेको छैन । यसभित्रका विभेदहरूलाई सिर्जनशील र सचेत मस्तिष्कले सोचीविचारी र चिन्तनमनन गरी समस्याका जरामा पुग्ने र तिनलाई पहिल्याई उपचारका कारणहरू खोज्नुपरेको छ । त्यसका निम्ति नै गम्भीर चिन्तनसहितको प्रगतिशील साहित्य सिर्जनाको आवश्यकता छ ।


- यी सबै कुरा विद्यमान नेपाली समाजका यथार्थ हुन् र तिनको बिम्बाङ्कनमार्फत आजको समाजका विकृत पक्षको उद्घाटन अनि प्रगतिशील गन्तव्यलाई सघाउने कार्य साहित्यमार्फत गर्न जरुरी छ र त्यसका निम्ति यस्तो सिर्जित साहित्यको अध्ययन गर्ने अध्ययनशील पाठकको सङ्ख्या पनि बढाउनुपर्ने आवश्यकता त ।


रमणीय कलाको उपयोग

- साहित्यमा अभिव्यक्त हुने विचार मन छुने, रमणीय र कलात्मक हुन जरुरी छ । समाजको समृद्धि र उन्नतिको विचार मात्र पस्किने कुरा साहित्य होइन । त्यो वा जुन कुराको पनि विचारलाई रमणीय, भावमय, नाटकीय र प्रभावकारी नबनाए त्यो साहित्य नै मानिदैन । यसैले साहित्यमा विचार र कलात्मक शिल्पको निर्माण अनिवार्य र अपरिहार्य सर्त हो ।

- कोरा विचार, कोरा राजनीति, कोरा नारा वा मोटामोटी समस्याको चित्रण साहित्य होइन । समस्याको कारणका सूक्ष्मतम भावहरूको समुद्घाटन गरी सिर्जनालाई सुन्दर र समृद्ध जीवनका लागि बनाउनु जरुरी छ । कृष्ण धरावासीको ‘झोला’ ले नेपाली समाजको परम्परागत अन्धविश्वासबाट मानवीय जीवनमाथि भएको प्रहारलाई कारणसहित मार्मिक र हृदयस्पर्शी बनाएर अभिव्यक्त गरेको छ । लैङ्गिक विभेदको अन्धविश्वासमा आधारित हाम्रो समाजको विगत कस्तो क्रूर र हृदयविदारक थियो भन्ने कुरा प्रभावकारी बनाएर मृदु सन्देश दिन सो कथा सफल छ । विस्तृत परिवेश, केही रहस्यमय घटना अनि कुप्रचलनको मूल सिकार नारी भए पनि परिवार र समाजमा नै व्याप्त पीडाको मर्मस्पर्शी अभिव्यक्ति कथामा छन् । यो पनि सापेक्ष रूपमा सतीप्रथाको अमानवीय प्रचलनविरुद्धको प्रगतिशील रचना हो । यद्यपि भविष्यमुखी चेतनाका सन्दर्भमा त्यसमा पनि कतिपय कमजोरी नभएका होइनन् ।


- रमेश विकलको ’लाहुरी भैँसी’ कथामा हाम्रो समाजमा गरिबलाई हेप्ने, तिनमाथि शोषणको जाल बिछ्याएर भ्रम सिर्जना गरी तिनैको नक्कली उद्धारकर्ता बन्ने, मिहेनतका बलमा उठ्न खोज्नेलाई निमोठेर पारिवारिक उल्लासै हडप्ने सामन्तका कुरूप यथार्थको उद्घाटन गरी लिखुरे जस्ता किसानमा आत्मविश्वास जगाउनुपर्ने सचेतनाको प्रगतिशील विचार प्रवाह गरिएको छ । यसको प्रभावकारिता घटनाहरूको बुनोट, चारित्रको छनोट र तारतम्य, ग्रामीण परिवेशको विश्वसनीयता, संवादको प्रभावकारिता, दृश्य र संक्षेप पद्धतिको कुशल तारतम्य, आलङ्कारिक, अभिव्यक्ति, भाषिक स्थानीयता र कथ्य बोलीको स्वाभाविकता आदि मूर्त उपकरणका साथै तत्कालीन ग्रामीण समाजका यथार्थलाई नजिकैबाट हेरेको, बुझेको, भोगेको र ती पक्षलाई आत्मसात गरी शोषण र शासनका भित्री यथार्थका गहिरा कारणहरूको खोजतलास र अनुसन्धान गर्ने प्रतिभा, व्युत्पत्ति र अभ्यासको समग्र उत्पादनको प्रभावकारिता प्रस्फुटित भएको छ । यिनै कुराले गाउँका किसानमाथि हुने शोषणका भित्री कारणहरूको उद्घाटन रमणीय र कलात्मक तारिकाले गर्न सफल भएकाले सो कथा प्रगतिशील सिर्जना हुन पुगेको छ ।


- जसरी मान्छेको अनुहारका निधार, आँखा, आँखीभौँ, नाक, कान, गाला, ओठ, च्यापु सबै अङ्ग बेग्लाबेग्लैमा सर्वाधिक राम्रा र उचित ठाउँमा भए पनि अन्ततः ती सबैको एकमुष्ठ अनुहार राम्रो नहुन पनि सक्छ । त्यसै गरी साहित्यको कुनै सिर्जना सबै मूल विचारसहितको उपकरणको अधिकतम सौन्दर्यपूर्ण उपयोग हुँदाहुँदै पनि कृतिको रमणीयता अभिव्यक्त नहुन सक्छ । यसैले सबै उपकरणको विद्यमानताले मात्र उत्कृष्ट सिर्जना नहुन सक्छ । प्रगतिशील साहित्य सिर्जनामा त झन गैरवैचाारिक सिर्जनामा भन्दा अझ विशिष्ट सौन्दर्य अभिव्यक्त हुन जरुरी छ किनभने यसमा सामाजिक यथार्थ र समृद्ध जीवनको सन्देशसमेत अभिव्यक्त गर्नु छ । यसको एउटै सर्त के हो भने विषयलाई मन छुने, सहभाव जागाउने र साधारणीकरण गराउने किसिमको बनाउनुपर्‍यो र त्यही नै कलात्मक र रमणीय कृतिको मापदण्ड पनि मानिन्छ ।


- एउटा चित्रकारले वा मूर्तिकारले प्रत्येक नयाँ कलामा पहिलेको भन्दा अझ आकर्षक, अझ भरिलो, र अझ स्वाभाविक बनाउन हप्ता, महिना र वर्षौँको श्रम लगानी गर्ने गर्छ । त्यसमा चित्त बुझेन भने पुनः नयाँ कला निर्माणमा जुट्छ । त्यसमा उसको नैसर्गिक प्रतिभाका अतिरिक्त धैर्य, कल्पना, विवेक, तर्क र निरन्तरको कठोर साधना पनि जोडिन्छ । साहित्य सिर्जनामा पनि माजभित्र पसेर, जीवन भोगाइको मर्मबोध गरेर, आफ्नै आँखाले देखेर र भोगेर त्यहीँबाट भाव निर्माण वा कथानकका घटनाहरू, क्रियाव्यापार, द्वन्द्व आयोजन, घटनाको कार्यकारण सम्बन्धको गहिराइ र स्वाभाविकता, घटनाका कारणको सूक्ष्म खोज, त्यसका निम्ति उच्चस्तरको कल्पनाशक्ति, चरित्र चित्रण, कथ्य निर्माणको कला (भाव वा आख्यानात्मक पक्षको तारतम्यपूर्ण गठन) भाषिक कौशल (आलङ्कारिकता, बिम्ब, प्रतीक, व्यङ्ग्य, मिथक) आदि अनेक पक्षको यथास्थान कुशल आयोजनमा ध्यान पर्‍ुयाउनु जरुरी छ । काठमाडौँ बसेर हुम्लाको वा सहर बसेर गाउँको होइन गाउँ नै पसेर यथार्थका भित्री पक्ष उद्घाटित गर्नु जरुरी छ ।


- साहित्यमा विषयको मोटामोटी विवरण नभई बिम्बमय अङ्कन, मन छुने भाव, समस्याका गम्भीर कारणहरूको सूक्ष्म एवं विश्वसनीय उद्घाटन महत्त्वपूर्ण कुरा हुन् र त्यसैबाट मात्र विचार पनि चित्ताकर्षक बनेर प्रकट हुनसक्छ । त्यसमा जन्मजात प्रतिभा त हुनैपर्‍यो साथसाथै तद्विषयक सैद्धन्तिक पक्ष, उदाहरणीय कृतिहरूको व्युत्पत्तिमूलक अनुशीलनका साथै साधानाशील अभ्यासको पनि उत्तिकै आवश्यक छ । यी सबै पक्षको साधानापूर्ण र धैर्यपूर्ण आयोजन र सिर्जनले नै रमणीय प्रगतिशील कृति जन्मिने विश्वास गर्न सकिन्छ र वर्तमानको आवश्यकता पनि त्यही नै हो ।


निष्कर्ष

प्रगतिशील सिर्जनामा सामाजिक यथार्थका बहुआयामिक विषयहरू अभिव्यक्त हुनसक्ने कुरा देखियो । त्यस्ता विषयहरूको विवरण वा मोटामोटी दृश्याङ्कन नभई यथार्थ भोगाइ निकटका भावको सूक्ष्म एवं गम्भीर कारणसहितको कथ्य निर्माण आवश्यक हुन्छ । त्यसमै स्रष्टाको कल्पना, सम्बद्ध विधा सिद्धान्तको पूर्ण ज्ञान, विवेक, तर्कक्षमता, भाव वा घटना शृङ्खला निर्माणको कला आदिको संयोजनसँगै समाज रूपान्तरणकारी विचारको अनुस्यूति रहन्छ । सो विचार विगतमुखी, निराशाजनक र निष्क्रियता सिर्जना गर्ने वा यथास्थितिका अलमलमा रमाउने किसिमको नभई समाज परिवर्तनको समाजवादी गन्तव्यलाई सघाउने किसिमको हुन जरुरी छ । त्यो व्यक्तिमुखी होइन समाजमुखी, सामाजिक दायित्वप्रति जिम्मेवार कलात्मक सन्देशसहितको हुन पनि जरुरी छ । त्यस्तो सामाजिक समृद्धिलाई सघाउने विचारलाई अरूभन्दा अझ रमणीय, अझ आह्लादजनक र अझ विश्वसनीय तथा कलात्मक बनाउन स्रष्टामा धैर्य, प्रतिभा, यथेष्ट मात्रामा प्रतिभाशाली र प्रसिद्ध कृतिहरूका सिर्जनकलाको व्युत्पत्तिमूलक अभ्यासको व्यापक साधना, भाषिक विन्यासका अनेकौँ उपकरणसहित भावनिर्माणको कौशल पनि आवश्यक हुन्छ । त्यहीँनिर समाजभित्रका मर्मस्पर्शी यथार्थहरूलाई सूक्ष्म सम्वेदनाका साथ कत्तिको मर्मस्पर्शी र कत्तिको कलात्मक बनाई प्रस्तुत गर्न सकेको छ भन्ने कुरा प्रकट हुन्छ । त्यसमा रूपान्तरणकारी विचारलाई रमणीय एवं कलात्मक शिल्पसंयोजनमार्फत प्रभावकारी तरिकाले पाठकलाई अभिभूत पार्ने गरी अभिव्यक्त गएिको छ कि हल्का छ भन्ने कुरा जोडिएर आउँछ । त्यस्तो सिर्जनाका निम्ति सम्बन्धित विधा सिद्धान्तका प्राविधिक उपकरणको पूर्ण जानकारी र उपयोगले मात्र नभई यथार्थका गम्भीर कारणहरूको अन्वेषण अनुसन्धानको व्यापक अध्ययन, अनुशीलन र निरूपण सामर्थ्यको पनि अपेक्षा रहन्छ । यी सबैको रमणीय एवं प्रभावकारी तारतम्यले नै प्रभावकारी एवं कलात्मक प्रगतिशील सिर्जना सम्भव हुने निष्कर्षमा पुग्न सकिन्छ ।


पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।