चारतले भवनको तेस्रो तल्लाको एउटा कोठामा बसेर गीत सुनिरहेको युवकले तल आँगनमा केही मानिसहरूको तेज हल्ला सुनिसकेपछि गीत बन्द गरेर खिड्कीबाट तलतिर हेर्छ। ऊ छक्क पर्छ। विश्वास नलागेर उसले एकपल्ट आँखा माडेर राम्ररी ठिम्याउँछ—एक झुन्ड मानिसहरूको कडा बहस चलिरहेको रहेछ। उसले गिन्ती पनि गर्छ—जम्मा दशजना रहेछन्। उसले अझै ध्यानसित हेर्छ—दशैजना एउटै व्यक्ति छन्। उसको जिज्ञासाले आकाश छुन्छ। उसले एक-एक गर्दै प्रत्येक व्यक्तिको जाँच गर्न थाल्छ। पहिलो व्यक्तिलाई फनक्क आफूतिर फर्काएर हेर्छ—त्यो त ऊ आफै रहेछ, दोस्रो व्यक्ति फर्काएर हेर्छ—त्यो पनि ऊ नै रहेछ, र तेस्रो व्यक्ति पनि ऊ नै। त्यसरी उसले बाँकी सातैजनालाई फर्काएर हेर्दा पनि आफैलाई पाउँछ। उसको अनेक कोसिसले पनि ती दशजनामध्ये कुनचाहिँ वास्तविक ऊ हो भन्ने खुट्याउनै सक्दैन।
उकुसमुकुसतामा के गरुँ-गरुँ हुँदा-हुँदा अचानक उसको नजर अलिक परको एउटा पुरानो भवनको भित्तामा लेखेको वाक्यमा पर्छ। उसले उत्सुकतापूर्वक पहिलो शब्द पढ्छ—“कविता”, त्यसपछि सट्ट अर्को शब्द पढ्छ—“जीवन”। त्यसपछि ‘कविता’ मा फर्किन्छ, र त्यहाँदेखि ‘जीवन’ मा। ‘जीवन’ मा अलिकति रोकिएपछि अर्को शब्द पढ्छ—“हो”। ‘हो’ पछिको निशान ‘।’ मा पुगेर ऊ एउटा विलक्षणतामा पुग्छ। त्यहाँबाट ऊ न त अघि नै जान सक्छ न त पछि नै फर्कन सक्छ। ऊ त्यहाँ अड्किएर छट्पटाउँदा-छट्पटाउँदा एक्कासि अघि बन्द गरिराखेको गीत खोलिपठाउँछ। तरैपनि मस्तिष्क फुलिएर अटसमटस हुन्छ। मुटु जोर-जोरले ढुकढुकाउँछ। केही क्षण गीत सुनिसकेपछि खिड्की बन्द गरेर एकपल्ट लामो सास लिन्छ। त्यसपछि ‘कथा’ भन्ने कथा पढ्नमा व्यस्त हुन्छ।
दार्जीलिङ