18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जयदेव गौतमको 'किताबको अँगालोमा' पढी हेर्दा

कृति/समीक्षा प्रा. डा. कपिल लामिछाने July 26, 2025, 11:22 am
प्रा. डा. कपिल लामिछाने
प्रा. डा. कपिल लामिछाने

नेपाली समालोचनात्मक साहित्यको इतिहासमा जयदेव गौतमको किताबको अँगालोमा (२०८२) कृतिले थप तरङ्ग ल्याउने देखिन्छ । सुन्दर स्वदेश पब्लिकेसन, काठमाडौँले प्रकाशन गरेको यो कृति लेखक जयदेव गौतमको चौथो प्रकाशित पुस्तक हो । यसअघि उनका दुई निबन्धसङ्ग्रह र एक खेलकुद विषयक ग्रन्थ प्रकाशित भइसकेका छन् । २०२२ मा पाल्पाको दर्लमडाँडामा जन्मेका गौतमले त्रिविबाट कानुनमा स्नातक र अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका छन् । पत्रकारिता र स्वतन्त्र लेखन गर्दै आएका गौतम लामो समयदेखि अमेरिकाको भर्जिनियामा रहेर स्वतन्त्र अध्ययन तथा साहित्यकर्म गर्दै आएका छन् । प्रस्तुत ग्रन्थ त्यही साहित्यकर्मको परिणति हो । जहाँ रहे पनि मन त नेपाली नै हो । एउटा सचेत नेपाली भूगोलले जति टाढा गए भए पनि आफ्नो भाषा, साहित्य र संस्कृतिदेखि टाढा रहन सक्दैन ।


समीक्षा समालोचनात्मक साहित्यको एउटा विधा हो । साहित्यका मुख्य दुई फाँट छन्– (क) सिर्जनात्मक साहित्य र (ख) समालोचनात्मक साहित्य । कविता, कथा, उपन्यास, नाटक, निबन्ध आदि सिर्जनात्मक साहित्यका प्रमुख विधाहरू हुन् भने समालोचना, समीक्षा, पुस्तक परिचय, भूमिका आदि समालोचनात्मक साहित्यका प्रमुख विधा हुन् । नेपालीमा भने आलोचना, समालोचना, समीक्षा, विवेचना आदि समालोचनाका समानार्थी वा पर्यायवाची शब्दका रूपमा प्रयुक्त भइआएको देखिन्छ । समीक्षा सोही समालोचनात्मक साहित्यको एक प्रमुख विधा हो । यसमा लेखकका बारेमा कम र कृतिका बारेमा बढी भनिन्छ ।


यस पुस्तकलाई पुस्तक समीक्षासङ्ग्रह भनिएको छ । तर यसमा केही समीक्षा अर्थात् पुस्तक समीक्षा छन् भने केही समालोचना पनि समाविष्ट छन् । त्यसैले यो पुस्तक समीक्षा र समालोचनाको छ्यासमिस सङ्ग्रह देखिन आउँछ । विधाका दृष्टिले यसमा उपन्यास, कथा, निबन्ध, नियात्रा, संस्मरण, जीवनी, कविता आदि विधा केन्द्रित तथा केही व्यक्ति केन्द्रित समीक्षा र समालोचना रहेका छन् । नाटक, एकाङ्की र समालोचना विधा यहाँ परेका छैनन् भने बालसाहित्य र लोकसाहित्य पनि समीक्षकका पोल्टामा परेका छैनन् ।


सङ्ख्याका दृष्टिले यहाँ सबैभन्दा बढी उपन्यासको समीक्षा भएको पाइन्छ । कृष्ण, द्रौपदी अवशेष, हरित भूमि, अहल्या, कम्प, लिभिङ टुगेदर, योगमाया, एक्लो, याङ्सिला र गोपीचा नेपाली उपन्यासमा नाम कमाएका र नाम कमाउँदै गरेका उपन्यासहरू हुन् । यहाँ यिनलाई प्राथमिकताका साथ समीक्षा गरिएको छ । ‘प्रारब्ध र कर्मयोगले जेलिएको जीवनलीला कृष्ण’, ‘द्रौपदी अवशेषको सन्देश’, ‘परिचय खोज्दै एक्लो परिचय’, ‘जवाफी साहित्यको अब्बल नमुना हरित भूमि’, ‘न चारित्रिक न नैतिक उपन्यास अहल्या’, ‘कल्पनाको उडानमा उनिएको उपन्यास कम्प’, ‘उपन्यास लिभिङ टुगेदर: सुरा, सुन्दरी र सेक्सको त्रिवेणी’, ‘योगमाया उपन्यास पढेपछि’, ‘फरक स्वादको उपन्यास याङ्सिला’, ‘के उसले दिएको उमेरको आशीर्वाद एक्लोलाई लाग्ला ?’, ‘गोपीचा अर्थात् इतिहासका गुमनाम पात्रको उपन्यास’ आदि शीर्षकमा यहाँ केही नेपाली उपन्यासको समीक्षा भएको छ ।


उपन्यासको समीक्षा गर्दा सुरुमा लेखकका अन्य कृतिको जानकारी दिँदै लेखकको सामान्य परिचय दिइएको छ अनि यथेष्ठ र कहीँ अलिक बढी नै उद्धरण दिएर उपन्यासको समीक्षा गरिएको छ । उपन्यास के कति कारणले पठनीय र सङ्ग्रहणीय छ भनेर त्यसको महत्त्व र उपादेयता औँल्याइलो छ र उपन्यासका तथ्यगत, विषयगत र भाषिक त्रुटि, कमी, कमजोरी औँल्याएर लेखकलाई सचेत गराइएको छ । उपन्यासको मर्म खोतल्ने काम भए पनि विधातात्त्विक कोणबाट उपन्यासलाई परखने काम भने गरिएको छैन । उपन्यासले दिने सन्देशका बारे भने उनी सचेत छन् । उदाहरणका लागि गोविन्द गिरी प्रेरणाको उपन्यास लिभिङ टुगेदरले दिएको सन्देश बारे लेखकको भनाइ छ -

“उपन्यास विषयवस्तुको उठानप्रति गम्भीर देखिँदैन । उपन्यासमा थोरै पात्र छन्, त्यसमध्ये तीनजना युवकहरू छन् जो लिभिङ टुगेदरका रूपमा केवल सेक्स–पार्टनर मात्र खोज्न इच्छुक छन् भने लिभिङ टुगेदरका लागि तयार जे जति युवती छन्, ती सबैजना विपन्न र कथित तल्लो जातिका मात्र छन् । के नेपाली समाजमा हाल देखा परिरहेको लिभिङ टुगेदर अवस्थाको यथार्थ यही र यति मात्र हो त ? के यसका सकारात्मक पक्षहरू हुँदै नभएका हुन् त ? अथवा, केही पनि छैनन् त ? के यो सम्बन्धमा कथित उपल्लो जातिका युवती-महिलाहरू छैनन् त ? के लिभिङ टुगेदरमा बसेका कुनै पनि जोडीले सफल जीवन बिताउन सकेका छैनन् त ? के लिभिङ टुगेदरको अवधारणा नेपाली परिवेशका लागि अभिशाप नै बनेको हो त ?” (पृ.१६१)

समीक्षक लेखकभन्दा अझ बढी संवेदनशील र जवाफदेही हुनुपर्ने देखिन्छ । लेखकले बाटो बिराए बाटो सोझ्याउने काम समीक्षकको हुन्छ । यस मामिलामा गौतम सजग देखिन्छन् । यही समीक्षाको अन्तमा लेखकलाई उनले सुझाउ अघि सारेको पाइन्छ । जस्तै - “प्रश्नहरू अनेक छन् किनभने उपन्यासकारले स्थितिको एउटा पाटो, त्यसमा पनि अत्यन्त सङ्कीर्ण पाटो मात्र, लाई आफ्नो विषयवस्तु बनाएका छन् । उपन्यासमा सुरा, स्न्याक्स र सेक्सको अत्यधिक प्रसङ्गहरू उल्लेख गरिएको छ जसले उपन्यासलाई समग्रमै एउटा ननभेज उपन्यासको दर्जामा उभ्याइदिएको छ । यसले गर्दा गम्भीर अध्येताहरूका लागि उपन्यास सिफारिसयोग्य मान्न सकिँदैन भने यसको साहित्यिक गुणवत्ताबारे पनि प्रश्न उठाउनुपर्ने हुन्छ ।” लामो समयदेखि साहित्यमा संलग्न लेखक गोविन्द गिरी प्रेरणाका लागि यो भनाइ निश्चय नै मार्गदर्शक बन्नेछ । अरु उपन्यासको समीक्षाका सन्दर्भमा पनि यस्तै बोली रहेको छ ।


लेखक भगवतीचरण वर्मा र अलेक्जान्डर सोल्झेनित्सिन गैर नेपाली लेखक हुन् । ‘चित्रलेखा’ भगवतीचरण वर्माको चर्चित उपन्यास हो । यसलाई यहाँ ‘चित्रलेखा: पढ्नै पर्ने उपन्यास’ शीर्षकमा समीक्षा गरिएको छ । यो सन् १९३३ मा प्रकाशित कृति हो, जसको तारिणीप्रसाद कोइरालाले गरेको नेपाली अनुवाद सन् १९६३ मै प्रकाशित भएकोमा वि.सं. २०७१ मा यसको पुनः प्रकाशन भएको हो । यहाँ यसैको समीक्षा गर्दै यसलाई पढ्नै पर्ने उपन्यासको दर्जामा राखिएको छ । यो एक विचारप्रधान उपन्यास हो । यस्तै, ‘जुँगामुठे स्टालिन र सोल्झेनित्सिन साहित्य’ शीर्षकको समालोचना व्यक्ति केन्द्रित हुन पुगेको छ । रसियन साहित्यकार अलेक्जान्डर सोल्झेनित्सिनको आत्मपरक उपन्यास ‘इभान डेनिसोभिचको जीवनमा एक दिन’लाई अघि लगाएर यहाँ लेखकीय प्रवृत्तिको समालोचना गरिएको छ । यसमा उपन्यासको कम र लेखकको जीवन र जीवनीका कुरा बढी भए पनि यो उपन्याससितै सम्बद्ध समालोचना हो ।

यस सङ्ग्रहमा ४२ शीर्षकमा समालोचनात्मक लेखहरू समावेश हँुदा ‘एक निर्बन्ध कथासङ्ग्रह कठपुतला’ शीर्षकमा एउटा मात्र कथासङ्ग्रहले समीक्षित हुने अवसर पाएको पाइन्छ । त्यो हो, अर्चना थापाको कठपुतला । समीक्षकले यसलाई निर्बन्ध कथासङ्ग्रह भनेका छन्, “घटना र प्रवृत्तिहरूको सामाजिक यथार्थवादी वर्णन (यद्यपि जम्मैजसो कथा लेखकको कल्पनाका उपज हुन्) पढ्दा पाठकको मन छुन्छ, कतै चिमोट्छ, कतै परम्परा र संस्कारप्रति पुनर्विचार गर्न घच्घच्याउँछ त कतै ज्ञानकुण्डमा डुबाएर गम्भीर सोच–चिन्तनप्रति उत्प्रेरित पनि गर्दछ । खासमा यो एक निर्बन्ध कथा–सङ्ग्रह हो ।” (पृ.१४६) निर्बन्धले कतै नबाँधिएको अर्थात् स्वच्छन्द भन्ने अर्थ दिन्छ । यसले नारी स्वतन्त्रतालाई ध्वनित गरेको छ ।


यस सङ्ग्रहमा रहेका समालोचनात्मक लेखहरूमध्ये यहाँ ‘परिचय खोज्दै एक्लो परिचय’ र ‘हास्यरसले भरिएको निबन्ध–सङ्ग्रह अन्तरविरोध’ शीर्षकमा क्रमशः श्रीओम श्रेष्ठ रोदनको एक्लो परिचय र जीवन सुवेदीको अन्तर्विरोध निबन्धसङ्ग्रको २/२ पृष्ठमा समीक्षा भएको छ । रोदनका निबन्ध सरल रहेको भन्दै सरल निबन्धसङ्ग्रहमा जटिल र ल्किष्ट भूमिका नसुहाएको भनी आलोचना गरिएको छ । ‘हास्यरसले भरिएको निबन्ध–सङ्ग्रह अन्तर्विरोध’मा जीवन सुवेदीको निबन्धसङ्ग्रह अन्तर्विरोधको समीक्षा गरिएको छ । सुवेदीका हास्य निबन्धमा निबन्धमा अपेक्षा गरिने भावनाको स्वच्छन्द उडान, वैचारिकता, आवेग, संवेग आदि नभेटिने भन्दै आलोचना गरिएको छ । यस ग्रन्थमा सबैभन्दा थोरै शब्दमा समीक्षा निबन्धकै भएको छ । साहित्यमा सबैभन्दा कम पढिने विषय भनेकै निबन्ध हो भन्ने उनको मान्यता रहेको छ (पृ.११४) । वास्तवमा यसका बारेमा कुनै औपचारिक अध्ययन भने भएको छैन । यहाँ समीक्ष्य यी दुवै कृतिको प्रकाशन वर्ष पनि दिइएको छैन ।


यस्तै यहाँ ‘अशोकनाथको ठम्याउने प्रयास मैले नचिनेको म’मा अशोकनाथ तिवारीको मैले नचिनेको म तथा ‘महाकविको लक्ष्मी निबन्धसङ्ग्रहको पुनर्पठन अनुभव’मा लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी निबन्धसङ्ग्रहको पनि समीक्षा गरिएको छ । मैले नचिनेको म दार्शनिक कृति हो । यसमा आध्यात्मिक चिन्तन भन्दा पनि औपदेशिक भएको समीक्षकको भनाइ छ । ‘लक्ष्मी निबन्धसङ्ग्रहको पुनर्पठन अनुभव’मा यो कृति सार्वकालिक वा क्लासिकल भएको विचार प्रकट गर्दै यसको प्रशंसा गरिएको छ ।


यीमध्ये ‘आफ्नो जमानाका बेस्टसेलर लेखक कृष्णप्रसाद पराजुली’ तथा ‘जुँगामुठे स्टालिन र सोल्झेनित्सिम साहित्य’ शीर्षकका समालोचना व्यक्ति केन्द्रित छन् । पहिलोमा राम्रो रचना मीठो नेपाली बढी चर्चामा भए पनि यो लेखक पराजुलीको ८७ औँ जन्मजयन्तीका सन्दर्भमा उनका योगदानको चर्चा गर्दै लाखिएको छ । दोस्रो, रसियन साहित्यकार अलेक्जान्डर सोल्झेनित्सिनको ‘इभान डेनिसोभिचको जीवनमा एक दिन’ उपन्यासको कम र लेखकका जीवन र जीवनीका कुरा बढी छन् । पुस्तक समीक्षा भनेपछि पुस्तकमै केन्द्रित हुनुपर्छ । लेखक वा व्यक्ति बारे कम र पुस्तकका प्राप्ति र अप्राप्ति बारे बढी लेखिएको हुनुपर्ने हुन्छ । समीक्षक गौतमले यसलाई ठाउँ ठाउँमा बेवास्ता गरेको देखिन्छ ।


आफ्नो जीवनका अनुभव र अनुभूतिलाई आफैँले कथन गरिएको भए त्यो आत्मकथा कहलाउँछ । नेपाली साहित्यमा आत्मकथा लेखन हुँदै आएको छ । यसमा समवेश भएका ‘डा. मीना आचार्यको स्वतन्त्रता र समानताको निरन्तर यात्रा’ र ‘शान्ता मानवीको विगत चियाउने आँखीझ्याल पर्दाभित्रको व्यथा’मा यस्तै आत्मकथाको समीक्षा गरएको छ । ग्रन्थमा सबैभन्दा अगाडि राखिएको ‘डा.मीना आचार्यको स्वतन्त्रता र समानताको निरन्तर यात्रा’मा मीना आचार्यका विचारलाई पनि उच्च महत्त्व दिइएको छ । डा. मीना आचार्यको स्वतन्त्रता र समानताको निरन्तर यात्रा ग्रन्थ २०८१ मा प्रकाशित भएको हो । यहाँ उनका जीवनका विभिन्न प्रसङ्ग, उतारचढाव र मोडहरूलाई खुलाइएको छ । मौका मिलाएर आत्मकथा सिद्धान्त र आत्मकथा लेखनका उदाहरण, दृष्टान्त दिइएको छ । आवश्यकताभन्दा बढी नै उद्धरण पनि गरिएको छ । मीनाका बारेमा उनको भनाइ : “आजको समयसम्म आइपुग्दा डा. मीना आचार्य आफैँमा एक विश्वविद्यालय भइसकेकी व्यक्तित्वको नाम हो । उनीबाट अनि उनको ज्ञान र अनुभवबाट सिक्नुपर्ने धेरैधेरै कुरा छन्, अनेकअनेक पक्ष छन् । उनको यो आत्मकथाले थुप्रै कुरा भन्छ तर छोटकरीमा मात्र ।” व्यक्तिका योगदानको कदर हुनैपर्छ । तर देवत्वकरण हुनु राम्रो होइन । त्यतिमात्र होइन, मीनासम्बन्धी यस समीक्षाले सबैभन्दा बढी (१५) पृष्ठ पनि ओगटेको छ । अँ, मीना आचार्यको ‘स्वतन्त्रता र समानताको निरन्तर यात्रा’मा साहित्यिक प्राञ्जलता नभएको भन्ने एउटा टिप्पणी भने अवश्य छ ।

‘शान्ता मानवीको विगत चियाउने आँखीझ्याल पर्दाभित्रको व्यथा’मा शान्ता मानवीको पर्दाभित्रको व्यथा (२०७०) आत्मकथाको समीक्षा भएको छ । आत्मकथा भनिए पनि यो पत्रपत्रिकामा पूर्वप्रकाशित ५३ लेखको सङ्ग्रह हो भन्दै पुस्तकको भाषा सरल र प्रस्तुति इमान्दार रहेको भन्ने समीक्षकको टिप्पणी रहेको देखिन्छ । यो समीक्षा सवा दुई पृष्ठमा रहेको छ ।


जीवनी साहित्यको महत्वपूर्ण एउटा विधा हो । आफ्नो जीवनका बारेमा आफैँले लेखे त्यो आत्मकथा कहलाउँछ भने कसैको जीवनका बारेमा अरु कसैले लेखे त्यो जीवनी कहलाउँछ । यहाँ गोविन्द गिरी प्रेरणाबाट लेखिएको पारिजातको जीवनी, उज्ज्वल प्रसाईंबाट लेखिएको खगेन्द्र सङ्ग्रौलाको जीवनी, मञ्जु थापाबाट लेखिएको ईश्वरादेवी थापाको जीवनी, नातिनी शैलजा श्रेष्ठबाट लेखिएको नरप्रसाद र शान्ता श्रेष्ठको जीवनीसम्बन्धी ग्रन्थको समीक्षा गरिएको छ । शीर्षक यस्ता छन् - ‘जीवनी साहित्यको महत्वपूर्ण उपलब्धि सुश्री पारिजात’, ‘बगावतको बीउ छर्दै हिँडेका एक अकिञ्चन बागी’, ‘समाज चिनाउने जीवनी जीवन सङ्घर्षका पलहरू’, ‘नातिनीको साहित्यिक कोसेली तम्घासका हाम्रा अजाअजी’ ।

जीवनीमा जीवनीकारले नायकको बचाउ र बढाइचढाइ गर्ने र उसका भएका यथार्थ घटना र जीवन सन्दर्भलाई ढाकछोप गर्ने आम प्रचलन रहेको छ । यहाँ समीक्षक गौतमले जीवनी लेखकले त्यसो गर्न नहुने बताएका छन् । नायक खगेन्द्र सङ्ग्रौलालाई बागी भनेकोमा उनले आपत्ति गरेका छन् । उनले प्रस्ट लेखेका छन् - “साँचो अर्थमा भन्दा खगेन्द्र सङ्ग्र्रौला बागी होइनन् । उनी हिजो पनि बागी थिएनन्, आज पनि छैनन् । किनभने कुनै व्यवस्थाविरुद्ध अथवा खास राजनीतिक विचारधाराका विरुद्ध असहमति राख्नु मात्र बागी हुनु होइन । खास मुद्दा उठाएर ती मुद्दासँग सम्बन्धित मागका लागि आन्दोलन गर्नु तात्कालिक आन्दोलनकारी हुनु हो, तात्कालिक विद्रोही हुनु हो । बागी धेरै व्यापक अवधारणा हो र यसले कमोबेश समग्र राजनीतिक वा सामाजिक व्यवस्था नै परिवर्तनका लागि आफूलाई समर्पित गर्दछ ।” (पृ.२०१)


गोविन्द गिरी प्रेरणाबाट लेखिएको पारिजातको जीवनी सुश्री पारिजातको ‘जीवनी साहित्यको महत्त्वपूर्ण उपलब्धि सुश्री पारिजात’ शीर्षकको समीक्षामा जीवनी महत्त्वपूर्ण भए पनि यसमा लेखक गिरीको आफ्नो दृष्टिकोको अभाव रहेको बताइएको छ । जीवनीमा रहेका त्यस्ता कमजोरीलाई उनले यसरी उल्लेख गरेका छन् - “किताबका लेखक त निःसंदेह गोविन्द गिरी हुन् तर किताबमा उनको आफ्नो लेखन वा दृष्टिकोणको अभाव खड्किइरहन्छ । मौलिक लेखन दिनुभन्दा बरु उनले पारिजातबारे बृहत्देखि खुद्रास्तरसम्म लेखिएका र आफूले भेटे जतिका व्यक्तित्वका लेख–रचना सङ्ग्रह गरेका छन् र ती सबैका लेखनबाट भनाइहरू साभार गरेका छन् । त्यसकारण घरिघरी पुस्तक मौलिक लेखनभन्दा पारिजातबारे उपलब्ध विविध लेखोटहरूको सङ्कलन जस्तो पनि लाग्छ ।” (पृ.६३) यहाँ जीवनीका सकारात्मक पक्षको समर्थन गर्दै तथ्यगत र भाषागत त्रुटिहरू औँल्याइएको छ ।


यस सङ्ग्रहमा रहेका समालोचनात्मक लेखहरूमध्ये यहाँ ‘जङ्गलको यात्रामा निस्केकी कमला न्यौपाने’, ‘हास्य र प्रणय चेतले भरिएको लजाएका परेलीहरू’ र ‘कोइँच भाषी कविता सङ्ग्रह उरुरको पहिचानवादी स्वर’मा कविताकृतिको समीक्षा भएको छ । जङ्गलको यात्रा कमला न्यौपानेको कवितासङ्ग्रह हो भने लजाएका परेलीहरू शरद निरोलाको कवितासङ्ग्रह हो । उरुर शोभा सुनुवार ’जुलियट’को कवितासङ्ग्रह हो । ‘कोइँच भाषी कविता सङ्ग्रह उरुरको पहिचानवादी स्वर’मा उनले लेखेका छन् - “एउटा नयाँ साहित्यिक पुस्तक बजारमा आएको छ । यो एक कविता–सङ्ग्रह हो र एक विशेषतापूर्ण साहित्यिक कृति पनि । यसको विशेषता के हो भने यो पुस्तक परम्परागत कृतिहरूभन्दा निकै भिन्न छ । ’उरुर’ शीर्षकको यो कविता–सङ्ग्रह सुनुवार अथवा ’कोइँच’ भाषामा लेखिएको छ र त्यससँगै पाठकलाई थप सजिलो होस् भनी नेपाली भाषामा पनि उनै कविताहरू दिइएको छ ।” (पृ.१६८) वास्तवमा यस कवितासङ्ग्रहमा कोइँच भाषा र सुनुवारहरूको उकुसमुकुस वा पहिचानवादी स्वर प्रकट भएको छ । उरुरको अर्थ उकुसमुकुस हो । संयोग नै होला, समीक्ष्य तीनवटै कविताकृति गद्यकविता हुन् । यहाँ यी कविताकृतिबाट आवश्यक कवितांश उद्धृत गर्दै कविताका प्राप्ति र कमीकमजोरी औँल्याइएको छ ।


आफ्नो विगत जीवनका उल्लेख्य सन्दर्भलाई गद्यभाषिक लेखन संस्मरण हो । यसलाई आत्मसंस्मरण पनि भनिन्छ । यहाँ भारती गौतमको विगत र बाडुली, दुर्गा घिमिरेको उनको सम्झना, राधाकृष्ण मैनालीको नलेखिएको इतिहास र राधा पौडेलको खलंगामा हमला, वसन्त श्रेष्ठको अँगालोभरिको अनुभूति गरी संस्मरणका पाँच पुस्तकको समीक्षा भएको छ । यिनलाई क्रमशः यसरी शीर्षकीकरण गरिएको छ - ‘विगत र बाडुलीभित्र बिन्दास विचरण’, ‘जगदीश घिमिरेको नाममा दुर्गाको उनको सम्झना’, ‘इमानदार लेखनको प्रयास नलेखिएको इतिहास’, ‘नर्सको संस्मरणलाई मदन पुरस्कार खलंगामा हमला’ र ‘अँगालोभरि अनुभूति बटुल्दै वसन्त विहार’ ।


यी कृतिमध्ये विगत र बाडुली प्रभावपूर्ण उच्चस्तरीय रहेको, उनको सम्झना त्यति प्रभावपूर्ण हुन नसकेको, नलेखिएको इतिहास नेपाली राजनीतिक इतिहासको लामै कालखण्डको आँखीभयाल भएको, खलंगामा हमला अत्यन्त प्रभावकारी रहेको तथा अँगालोभरिको अनुभूति संस्मरणभन्दा आत्मकथा भएको टिप्पणी गरिएको छ ।


‘अँगालोभरि अनुभूति बटुल्दै वसन्त विहार’ समीक्षा पढेर पाठक रनभुल्ल्मा पर्छ । वसन्त श्रेष्ठको अँगालोभरिको अनुभूति कविता हो कि संस्मरण ? एकातिर यसलाई संस्मरण भन्नुभन्दा आत्मकथा भन्नु उचित हुने सल्लाह दिइएको छ भने अर्कातिर कुनै कविताकृतिको समीक्षामा झैँ कतिांश बग्रेल्ती उद्धृत गरिएको छ । यस्तै सुरुका दुई पृष्ठभन्दा बढी कवि वसन्त श्रेष्ठको काव्यकौशलको बयान गरिएको छ । यहाँ त्यतातिरको लोभ छाडिदिएको भए जाती हुन्थ्यो ।


समीक्षा साहित्येतर पुस्तकको पनि हुन्छ । विन्दा पाण्डेको भुइँमान्छे (२०८१) एउटा त्यस्तै पुस्तक हो । ‘भूमिगतकालमा कम्युनिष्टका निश्छल सारथि, तर अहिले..!’ शीर्षकमा यहाँ यसको समीक्षा गरिएको छ । यहाँ यस पुस्तकले कम्युनिस्ट पार्टी निर्माणमा आधारभूमिका रूपमा रहेका भुइँमान्छेका योगदानको चर्चा गर्दै यता आएर तिनका योगदानको कदर नभएको भनी गुनासो गरिएको छ । इतिहासलाई भुइँमान्छेका कोणबाट पनि हेरिनुपर्छ भन्ने समीक्षकको धारणा रहेको छ । ‘कर्णालीको कहालीलाग्दो कथा शून्यको मूल्य’ डा. नवराज केसीको शून्यको मूल्य (२०७९) कृतिको समीक्षा हो । डा. नवराज केसी एक चिकित्सक हुन्, जसले कर्णालीका कुना कुनामा उपचार गर्दै शून्य (अभाव) मा मूल्यको खोजी गरे । उनले यस पुस्तकका माध्यमबाट उज्यालो विचार प्रवाह गरेका छन् । यहाँ उल्लेख्य अंश उद्धृत गर्दै भाषिक त्रुटिको सूची प्रस्तुत गरिएको छ । सुरुका डेढ पृष्ठमा कृतिको विमोचनसम्बन्धी कार्यक्रमको समीक्षा गरिएको छ । कार्यक्रमको समीक्षा नहुने होइन, हुन्छ । तर पुस्तक समीक्षामा त्यसलाई घुसार्नु समीक्षाप्रति अन्याय हुन्छ । यहाँ समीक्ष्य कृतिबाट आवश्यक अंश उद्धृत गर्दै तिनका प्राप्ति र अप्राप्ति औंल्याइएको छ ।


यात्रा विषयक निजात्मक निबन्ध नै नियात्रा हो । जब यात्रासम्बन्धी विवरण, विषय, विचार र निजी अनुभूतिलाई निबन्धको आयाम, स्वरूप र संरचनामा ढालिन्छ त्यो नियात्रा हुन पुग्दछ । यो निबन्धको नवीनतम प्रभेद हो । नयाँ भए पनि यता आएर यसले लोकप्रियता हासिल गर्दै आएको छ । नियात्रा भनेर लेखिए जति सबै नियात्रा हुन नसकेका हुन सक्छन् । यस पुस्तकमा समीक्षा गरिएका कृतिमध्ये बबिता बस्नेतको समय साक्षी, भीष्म उप्रेतीको एकपटक टोकियो, प्रतीक ढकालको त्यो उज्यालो कर्णाली, कृष्ण बजगाईंको युङफ्राउ नियात्रा वा यात्रासंस्मरणात्मक कृति हुन् । यिनलाई क्रमशः यसरी शीर्षकीकरण गरिएको छ - ‘फरक जीवनभोगाइको उद्बोधन समय साक्षी’, ‘एक पटक टोकियो पुग्दा आइडिया म्याराथन’, ‘त्यो उज्यालो कर्णालीका अँध्यारा पाटा’ र ‘वर्तमानमा विगत कोट्याउँदै यात्रा–आख्यान युङफ्राउ’ ।


‘फरक जीवनभोगाइको उद्बोधन समय साक्षी’मा समय साक्षीलाई यात्रासंस्मरणको पूर्ण रसास्वादन प्राप्त नहुने कृतिका रूपमा तथा ‘एक पटक टोकियो पुग्दा आइडिया म्याराथन’मा एकपटक टोकियोलाई पेन इन्टरनेसनल कङ्ग्रेसमा सहभागी हुँदाको संस्मरणका रूपमा लिइएको छ । ‘त्यो उज्यालो कर्णालीका अँध्यारा पाटा’मा त्यो उज्यालो कर्णालीलाई यात्राकेन्द्रित भए पनि विभिन्न सन्दर्भसामग्री समेतको प्रयोगले अनुभूतिको निखार नपाएको तथा ‘वर्तमानमा विगत कोट्याउँदै यात्राख्यान युङफ्राउ’मा युङफ्राउलाई वर्तमानमा टेकेर इतिहासलाई खोतल्ने कृतिका रूपमा लिन सकिने बताइएको छ । यहाँ युङफ्राउलाई इतिहासको सतही सूचना र निश्चित बिदा अवधिमा धेरैभन्दा धेरै ठाउँमा पुग्ने हुटहुटीमात्र भएको निष्कर्ष निकालिएको छ । यस्तै यहाँ नियात्राबाट उल्लेख्य अंश उद्धृत गर्दै भाषिक त्रुटि पनि केलाइएको छ । समीक्षकले यी नियात्रामा अनुभूतिगत तीक्ष्णता तथा भाषिक शौष्ठवको कमी देखेको पाइन्छ ।


समीक्षाका लागि यहाँ लोकतन्त्रका योद्धाहरू जीवराज आश्रित र शोभाकर भुसालसम्बन्धी दुई स्मृतिग्रन्थ पनि लिइएको छ । ‘स्मृति–ग्रन्थमा शोभाकर भुसाल’ र ‘वाम इतिहासको उपलब्धि आश्रित स्मृति–ग्रन्थ’ शीर्षकमा तिनको समीक्षा गरिएको छ । अर्घाखाँचीको बाङ्लाका शोभाकर भुसालको माओवादी द्वन्द्वमा वीभत्स हत्या गरियो । बयालिस वर्षअघि पञ्चायती शासकबाट उनकै भतिजा मोतीलाल भुसालको हत्या भएको थियो । जनजीविका, शिक्षा र सामाजिक सेवामा समर्पित त्यस्ता व्यक्तिको हत्या निन्दनीय कार्य हो । शोभाकर भुसाल स्मृतिग्रन्थ (२०७८) को सम्पादन चन्द्रकान्त आचार्यले गरेका हुन् । स्मृतिग्रन्थमा भुसालकी सहधर्मिणी ईश्वरादेवी भुसालको नाम नलिनुलाई उनले विभेद ठह¥याएका छन् । यति भईकन पनि यस स्मृतिग्रन्थले शोभाकर भुसाललाई विविध दृष्टिकोणबाट चिनाउने काम सफलतापूर्वक गरेको भन्ने निष्कर्ष निकालिएको छ ।


‘वाम इतिहासको उपलब्धि आश्रित स्मृति–ग्रन्थ’ समीक्षामा जीवराज आश्रितसम्बन्धी स्मृतिग्रन्थको समीक्षा गरिएको छ । जीवराज आश्रित स्मृतिग्रन्थमा आश्रितसम्बन्धी सामग्रीहरू रहेका छन् । यो ग्रन्थ २०६९ मा बुटवलबाट प्रकाशित भएको हो । यहाँ जीवराज आश्रितलाई नेपाली वामपन्थी आन्दोलनका एकजना त्यस्ता पात्र भनिएको छ जो सधैं नेपथ्यमा रहेर आजीवन प्रभावशाली काम गरिरहे । नेपालका सर्वाधिक रहस्यमय दुर्घटनाहरूमध्ये पनि प्रमुख मानिने ३ जेठ २०५० को हृदयविदारक दासढुङ्गा जीप दुर्घटनामा प्रभावशाली नेता मदनकुमार भण्डारीसँगै जीवराज आश्रितको पनि निधन भएको थियो । गुल्मी चन्द्रकोटको हरेवामा १८ साउन २००१ मा जन्मेका आश्रित दासढुङ्गा दुर्घटनाको समयसम्म नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख तथा तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका एक प्रखर व्याख्याता रहेको बताउँदै ग्रन्थको प्रकाशनमा हतार गरिएकोले केही कमजोरी देखिए पनि समग्रमा यो स्मृतिग्रन्थ एक सार्थक प्राप्ति र उल्लेखनीय उपलब्धि भएको निष्कर्षमा पुगेको पाइन्छ ।


भावलिपि (२०८०) भावेश भुमरी र प्रणिता चामलिङको पत्रसाहित्य हो । ‘पत्र–मित्रतादेखि जीवनसाथी बनेको कथा भावलिपि’ शीर्षकमा यसको समीक्षा गरिएको छ । हस्तलिखित चिठी लेख्ने चलन नै हराइसकेको अवस्थामा यसको बेग्लै उपादेयता छ । यो प्रचलित ढर्रा वा ढाँचाका तमाम किताबहरूको दुनियाँमा नितान्त फरक शैली एवं भिन्न संरचनाको किताब हो भन्ने समीक्षकको ठहर छ ।


शिव रेग्मीले महाकविका भूमिका (२०६६) प्रकाशमा ल्याएपछि गौतमको ध्यान तानियो । उनले ‘महाकविको भूमिका–लेखक छवि उजिल्याउने सङ्ग्रह’ भनेर लेखे । यहाँ उनले लक्ष्मीप्रसाद देवकोटाको सिर्जनशीलताको चर्चा गर्दै यस पुस्तकको सामान्य परिचय दिएका छन् । अन्तमा विवरण पनि । हो, यो पुस्तक परिचयबाट माथि उठ्न सकेको छैन ।

लेखकीय भूमिकाका रूपमा रहेको ‘रचना जस्तो छ, त्यस्तै भन्न सक्नुपर्छ’ आफैँमा एउटा समालोचना हो । यो कृति र व्यक्ति केन्द्रित नभएर विषय केन्द्रित छ । यसको विषय समीक्षा र समालोचना हो । समीक्षाका बारेमा उनको मान्यता यस्तो छ - “कुनै पनि व्यक्ति, वस्तु अथवा विचारलाई राम्रो नराम्रो–ठीक्कको वा सही–गलत–कामचलाउ आदि भन्नु नै पनि साधारण समीक्षा हो । अझ एक पाइला अगाडि बढेर हेर्दा आलोचना वा प्रशंसा गर्नु पनि समीक्षाकै स्वरूप हो । यद्यपि केही पढिसकेपछि गमेर र केही घोत्लिएर त्यसमाथि जिम्मेवार एवं सन्तुलित ढङ्गले विचार पस्किनु समीक्षा त हो तर यसले औसतभन्दा माथिको विचार माग गर्दछ । सतहभन्दा गहिराईको अपेक्षा गरेको हुन्छ । त्यसै कारण त यस्तो समीक्षाले कमजोर पक्ष औंल्याउँछ, सबल एवं सकारात्मक पक्षको प्रशंसा गर्दछ र सुधारका सम्भावनाहरूबारे इङ्गित गर्दछ ।” (पृ.११)


समालोचना एक बौद्धिक कार्य हो । यसले समालोचकमा अध्ययनशीलता र बौद्धिकताको अपेक्षा गर्दछ । समालोचना गर्दा समालोचक विषयकेन्द्रित भएर घोत्लिन्छ । नघोरिई नघोत्लिई समालोचना समालोचना बन्दैन । सायद त्यसैले समालोचक तारानाथ शर्माले आफ्ना समालोचनालाई घोत्ल्याइँहरू भनेका छन् । समालोचनाका बारेमा गौतमको भनाइ छ -“समालोचना गर्नका लागि सम्बन्धित व्यक्तिमा समालोचनाको गहिरो सैद्धान्तिक ज्ञान हुनु अनिवार्य हुन्छ । समालोचनात्मक सैद्धान्तिक ज्ञानका साथै साहित्यमा चलिरहेका प्राचीन, अर्वाचीन र समकालीन सबै वाद, शैली एवं विचारधाराहरूबारे कमोबेश जानकारी हुनु पर्दछ । योसँगै कृतिमा प्रयुक्त भाषा, शैली, भाव र सम्भावित अर्थका साथै साहित्यका विभिन्न विधागत–जोनर बेस्ड–ज्ञान हुनु पनि उत्तिकै आवश्यक हुन्छ । (पृ.११)


यसरी यहाँ समीक्षा र समालोचनाको परिचय, आवश्यकता र औचित्य, समीक्षा गर्दाका बौद्धिक र व्यावहारिक समस्याका बारेमा प्रकाश पारिएको छ । त्यसैले यो आफैँमा एक समालोचना हो ।


यस ग्रन्थमा समीक्षाका लागि कृति छनौट गर्दा गौतम साहित्यमा मात्र सीमित भएका छैनन् । वाङ्मयका अन्य विषयमा पनि पौडी खेल्न पुगेका छन् । त्यसो नगरेका भए डा. मीना आचार्य, राधाकृष्ण मैनाली, दुर्गा घिमिरे, शान्ता मानवी, विन्दा पाण्डे, डा. नवराज केसीसँग यहाँ यसरी पाठकको भेट हुने पनि थिएन ।


सामान्यतया समीक्षाका लागि सद्यःप्रकाशित कृति छनौट गरिन्छ । समीक्षाको मुख्य उद्देश्य नयाँ कृति बारे पाठकलाई जानकारी गराउनु हो । यहाँ सद्यःप्रकाशित कृतिमात्र लिइएको छैन । उहिल्यै छापिएको देवकोटाको लक्ष्मी निबन्धसङ्ग्रह पनि लिइएको छ । समीक्षाबाट लेखकको सम्मान हुन्छ । लेखकलाई थप प्रोत्साहन र पाठकलाई नयाँ कृतिको जानकारी हुन्छ । यसबाट पुस्तकको बजार प्रवद्र्धनमा सघाउ पुग्छ । त्यसैले समीक्षाका लागि प्रायः सद्यःप्रकाशित कृति नै छानिने गर्दछ ।


यहाँ समीक्षा गर्दा समीक्ष्य कृतिको अन्तर्वस्तु र त्यसको प्रस्तुतीकरणको शैली, तथ्यगत त्रुटि, कृतिले पार्न सक्ने प्रभाव र माध्यम भाषालाई पनि सँगसँगै पारख गर्ने प्रयत्न गरेको पाइन्छ । ‘नर्सको संस्मरणलाई मदन पुरस्कार खलंगामा हमला’मा शीर्षक र लेखाइमा पत्रकारी शैली छ । ‘आफ्नो जमानाका बेस्टसेलर लेखक कृष्णप्रसाद पराजुली’मा निजात्मकता बढी छ । ठाउँ ठाउँमा निबन्ध पढेजस्तो लागिरहन्छ ।


समीक्षामा उद्धरण दिइन्न । दिनै परे अत्यन्त कम दिइन्छ । यहाँ भने कतिपय समीक्षामा समीक्ष्य कृतिका लामा लामा र अधिकाधिक उद्धरणहरू पनि प्रस्तुत गरिएको छ ।

यी समीक्षा एउटै स्तरका छैनन् । समीक्षा कुनै लामा (१५ पृष्ठ) र कुनै छोटा (२ पृष्ठ) का छन् । यसो हुनुको एउटा कारण योजनाबद्ध रूपमा नलेखिनु रहेको हुनसक्छ । यीमध्ये कतिपय समीक्षा यसअघि पत्रपत्रिकामा प्रकाशित भएका हन्, तर यहाँ त्यो स्रोत खलाइएको छैन । कृष्ण बजगाईको जन्म सुनसरी जिल्लाको धरानमा भएको । यहाँ इटहरी भनिएको छ (पृ.२२२) ।


भाषिक प्रयोगमा भएका कमीकमजोरी औँल्याउने गौतमका यी समीक्षा पढ्दा दाँतमा ढुङ्गा लागिरहन्छ । शुद्धाशुद्धिका सन्दर्भमा उनले नेकशुले (२०६९) लाई आधार बनाएको बताएका छन् (पृ.२२) भने त्यसलाई छाडेर पनि यहाँ भरमार भाषिक र अन्य त्रुटि रहेका छन् । जस्तै - श्वैरकल्पना (पृ.७२), नामाकरण (पृ.७२, १२३, १८०), शकुनी (पृ.७५), सारथी (पृ.७६) बेष्टि (पृ.७६), यक्कीन (पृ.७७), प्रासाङ्गिक (पृ.७८), सटिक (पृ.८८), एक्कासी (पृ.९८) सिद्धी (पृ.१००), प्रामाणिक (पृ.१११), व्यवहारिक (पृ.१२४), वारिपारी (पृ.१२६), प्रस्तति (पृ.१६९), सुक्ष्मतम (पृ.१७२), निर्भिक (पृ.१७३), किम्बदन्ती (पृ.१८१), प्रस्तुतिकरण (पृ.१९३), तत्व (पृ.१९३), उज्जवल (पृ.२०१), घरिघरी (पृ.२०६), आँसु कवि (पृ.२७३), हेर्छन (पृ.२१८), प्रसिद्धी (पृ.२१८), केन्द्रीत (पृ.२२७), स्वभाविक (पृ.२२७), किताबबमा (पृ.२११), विद्वान (पृ.२२८), कोशेढुङ्गा (पृ.२६१) आदि । यहाँ पढाकू (पृ.१९२, पृ.२०३), रहरालु (पृ.१७३) जस्ता केही नयाँ शब्दको प्रयोग पनि पाइन्छ । सिम्फोनी (पृ.१७८), पञ्चसर (पृ. १७९), महारथ (पृ.१०९), भान (पृ.११५), जुनून (पृ.२२३), बेहतर, पैमाना आदि केही हिन्दी र अङ्ग्रेजी शब्दको प्रयोग पनि भएकै छन् । यससम्बन्धमा कति भन्न सकिन्छ भने जुन स्तर र किसिमका समीक्षा र समालोचना यहाँ छन्, त्यसअनुरूप पर्याप्त सम्पादन हुन नसकेको देखिन्छ ।


कुनै पनि पुस्तक समीक्षा गर्दा लेखकमा कम, सम्बन्धित किताबमा बढी ध्यान केन्द्रित गर्नु सर्वथा अपेक्षित हुन्छ । त्यसमा पूर्वाग्रह, पनपक्ष वा प्रतिशोधको गन्ध आउनु हुँदैन (गौतम, पृ.१९)। हो, समीक्षा वस्तुगत र लेखक तटस्थ हुनुपर्छ । यहाँ भने गौतमले आफ्ना ज्ञान, विचार र अनुभूति पनि मिसाएको देखिन्छ । शून्यको मूल्य पुस्तकको चर्चाका क्रममा सुरुमै विमोचनको लामो प्रसङ्ग छ । वसन्त श्रेष्ठको अँगालोभरिको अनुभूतिको समीक्षा गर्दा सुरुमै कविता र कविको कवि व्यक्तित्वको चर्चा छ । युङफ्राउको समीक्षा गर्दा सुरुमै लामो भूमिका बाँधिएको छ । सुश्री पारिजातको समीक्षा गर्दा जीवनीका लेखक गिरीले धेरै उद्धरण दिएको भन्दै सुरुमै ससात उद्धरण दिइएको छ । यसरी उनी ठाउँ ठाउँमा चिप्लिएको पाइन्छ ।

समग्रमा जयदेव गौतमको प्रस्तुत कृति समालोचनात्मक साहित्यको इतिहासमा एक उल्लेख्य उपलब्धि भएको छ । समीक्षा वस्तुगत र समीक्षक तटस्थ रहनुपर्नेमा समीक्षा गर्दा गौतमले आफ्ना ज्ञान, विचार र अनुभूति पनि खुसुक्क मिसाएको देखिन्छ । यसबाट उनी निसमीक्षा वा निसमालोचनातर्फ ढल्केको हो कि भन्ने लाग्छ । कताकति बढाइचढाइ देखिए पनि तटस्थता उनको विशेषता रहेको छ । समीक्षा र समालोचना त हुँदै आएकै छन् । केही अपवाद बाहेक गौतमले भने निर्भीक, तटस्थ र खरो समालोचनाको मार्ग अवलम्बन गरेको पाइन्छ, सुरुका ताना सर्माले झैँ । यहाँ चोर औँलोसम्म ठड्याइएको छ । गौतम अङ्ग्रेजी भाषा साहित्यका पनि ज्ञाता भएकाले उताका रचना र विचारलाई सुटुक्क आफ्ना भनेर यहाँ ठुलो पल्टनेहरूलाई रामकृष्ण शर्माले झैँ पानीसिस्नो लगाउने ल्याकत गौतममा देखिन्छ । त्यसो हुन सक्यो भने नेपाली साहित्य अझ चोखो, खाँटी र मानक भएर विश्वसामु उभिन सक्ने थियो । जयदेव गौतमको किताबको अँगालोमा पढी हेर्दा एउटा सचेत पाठकका मनमा लाग्ने कुरा यही हो ।


भैरहवा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।