१. पृष्ठभूमि
रविलाल अधिकारीको निबन्धसङ्ग्रह 'कुरौटेको कुटुरो' (२०७०) निबन्धकारको वैचारिकतालाई अभिव्यक्त गर्ने कृति हो। यसमा २५ ओटा निबन्धहरू सङ्कलित छन्। निबन्धसङ्ग्रहको नाम 'कुरौटेको कुटुरो' राख्नाको रहस्य खोल्दै उनले भनेका छन् - "डा. ईश्वर बरालले 'निबन्ध एक किसिमको कुरा गराइ हो' भनेर परिभाषा गर्नुभएको छ। निबन्धका माध्यमले कुरा गर्ने मान्छे कुरौटे हो। उसले आफ्ना केही सामग्रीहरू जम्मा गरेर कुम्लो पार्यो भने त्यो कुटुरो हुन्छ भन्ने आशयले प्रस्तुत सङ्कलनको शीर्षक 'कुरौटेको कुटुरो' राखेको छु।" रविलाल प्रगतिवादी धारका स्रष्टा हुन्। उनका निबन्धहरूले त्यही धारकै प्रतिनिधित्व गरेका छन्। भूमिकाका रूपमा लेखेको निबन्धकारको 'कुरौटेको थप कुरो' मा उनले आफूलाई समालोचनात्मक निबन्धकार र प्रगतिवादी विचार प्रवाह गर्ने उद्देश्यले निबन्धको बाटो समातेको निबन्धकार भनेर चिनाएका छन् अनि अरू बुर्जुवाका प्रतिनिधि निबन्धकारहरू विशेषतः कृष्णचन्द्रसिंह प्रधान र शङ्कर लामिछानेलाई मात्रै होइन लक्ष्मीप्रसाद देवकोटालाई नै पनि नराम्ररी छासेका छन्। यी भनाइहरूले उनको निबन्धलेखनको कित्ता स्पष्ट पारेको देखिन्छ -
(१) निबन्धमा भावुकता र वैचारिकता दुवै कुरा हुन्छन्। भावुकताले हृदयको संवेदनातिर चियाउँछ भने वैचारिकताले धारणाको स्पष्टतातिर चियाउँछ। ...यस सँगालाका निबन्धहरूमा म धेरै मात्रामा धारणाको स्पष्टतातिर चियाउने हुन पुगेको छु; यद्यपि कतिपय भावुकताका अभिव्यक्ति यसमा रहेका निबन्धमा पनि छन्, तर मूल रूपमा वैचारिकतातिरै हेरेर धारणा स्पष्ट पार्ने बौद्धिकता यीमध्ये धेरै निबन्धमा छ (पृ. ग)।
उनको यस धारणाबाट उनी वैचारिकता पोख्नका लागि निबन्ध लेख्छन् भन्ने स्पष्ट हुन्छ।
(२) समसामयिक परिवेशलाई ग्रहण गर्दै अग्रगमनको समर्थन गर्ने निबन्ध सिप र शैलीको फुर्ती नभएको भए पनि पठनीय बन्छ। यसमा कलाको कसरत चाहिँदैन। बुर्जुवाहरूको अग्रगमन छाडावाद हुन्छ र परिणाम पतनशीलता हुन्छ; त्यसो भएकाले जनता अलमल्याउन उनीहरू कलाका कुरा गर्दछन्। यद्यपि रूप पक्षलाई पूरै रूपमा नकार्ने काम प्रगतिवादले पनि गर्दैन; तर पनि प्रगतिवादको मूल पक्ष अन्तर्वस्तु हो। ...कृष्णचन्द्रसिंह र शङ्कर लामिछानेको धर्ती प्रयोगको धर्ती हो भने हृदयचन्द्र र श्यामप्रसादको धर्ती जनसमर्थनको धर्ती हो। प्रयोगको धर्ती पतनमा पुगेर टुङ्गिन्छ भने जनसमर्थनको धर्ती अग्रगमनमा गतिशील हुन्छ (पृ. घ)।
उनको यस दृष्टिबाट उनी प्रगतिवाद विचारका पक्षधर हुन् र यही दृष्टिकोणलाई अग्रगमनका रूपमा जनसमर्थनको धर्तीलाई अँगालेर कलावादी वा रूपवादीका विरुद्ध उभिई अन्तर्वस्तु वा जनता र समाजको यथार्थको गतिशील विषयमा कलम चलाउने निबन्धकारका कोटिमा उभिन चाहन्छन्।
यिनै निबन्धकारका लेखनका माध्यमबाट प्रगतिवादी दृष्टिले कुनै स्रष्टा समाज र जीवनलाई कसरी बुझ्छ र आफ्ना दृष्टिहरूको अभिव्यक्ति कुन रूपमा गर्छ भन्ने कुराको लेखाजोखा यस छोटो लेखमा गरिएको छ।
२. निबन्धहरूको विश्लेषण
कृतिभित्र सँगालिएको पहिलो निबन्ध 'राईकै रने हो हरिप्रसाद पनि' हो। शिवकुमार राईको 'माछाको मोल' कथाभित्रको रने माझीसँग आफ्नै नातेदार हरिप्रसाद अधिकारीको जीवनसँग तुलना गर्दै दुवै जनाको स्थितिलाई सामान्यीकृत गरेर सुखका निम्ति गरेको दुःखले जीवन अल्पायुमै समाप्त भएको सन्दर्भलाई यसमा निबन्धीकृत गरिएको छ। माछा मार्ने माझीको चरम दुःख र सुख प्राप्तिको आशामा जीवनयात्रा गर्दागर्दै खोलाले बगाएर समाप्त भएको उसको जीवनलाई देखाउनमा यो निबन्ध केन्द्रित छ। गरिबदुःखीको बयान गरिएको हुनाले वैचारिक रूपमा प्रगतिवादी दृष्टि अभिव्यक्त गर्न खोजिएको पाइन्छ। परन्तु यस विचारमा निबन्धकार बढी भावुक बनेर आफ्नै विचारका विरुद्ध उभिन पुगेका छन् निस्सारताको बखानमा टाँसिएर। उनको कथन छ - "मैले हरिप्रसादको सम्झना गर्दा यो पक्ष पनि सम्झन्छु; तर उसको दयनीय जीवनको पक्ष सम्झँदा दुःखैदुःख मात्र रहेछ यो संसार भन्ने लाग्छ। ठिकै भनेका छन् चक्रपाणि चालिसेले "दुःखैको अखडा रहेछ बुझियो निःसार संसार यो।" निबन्धकारको यस उद्धरणले उनको प्रगतिवादी विचारलाई पूर्णतः क्षति पुर्याएको छ र संसारको निस्सारतावादी विसङ्गतिवादी दर्शनमा अडेसिएकाले उनको वैचारिकतामा आघात उत्पन्न गरेको छ। उनले अन्तमा यस्ता दुःस्थिति उत्पन्न गर्नेहरूमा देश चलाउने नेताहरूलाई उत्तरदायी ठहर्याएका छन् भने दुःस्थितिबाट मुक्त हुने बाटो चाहिँ शिक्षा र सम्पन्नतालाई देखाएका छन् तर कुनै राजनीतिक विचार वा पद्धतिलाई सङ्केत गरेका छैनन्।
'जमाना र रुचि' निबन्धमा हाम्रो समाजमा परम्परागत रूपमा गीत गाउने पेसा गरेर बसेका गाइनेहरूलाई हेर्ने दृष्टिकोण फेरिएकाले अब गाइनेहरूले आफ्नो पेसाको सार्थकता बुझेर नयाँ रूपमा समाजका मानिसहरूका नयाँ रुचिलाई आत्मसात् गरेर पाइला चाल्नुपर्छ भन्ने धारणा प्रकट गरिएको छ। अब गाउँघर वा सहरबजारमा गाइनेका गीतहरू सुनेर त्यसले प्रवाह गर्ने सन्देश वा सूचनाको कुनै अर्थ छैन किनकि सूचनाका लागि अनेकौँ सामाजिक सञ्जाल र आमसञ्चारका साधनहरू छ्यासछ्यासती उपलब्ध छन्। हिजोका गाइनेका सूचनाजन्य सामग्री अब पर्याप्त छैनन् र तिनका गीतहरू सुन्नमा मानिसहरू कुनै रुचि राख्दैनन् भन्ने उदाहरण आफ्नै घरपरिवारका सदस्यले दिक्क मानेर छिटोछिटो दुई रुपियाँ दिएर गाइनेलाई भगाएको सन्दर्भ प्रस्तुत गर्छन्। जमाना वा युगका चाहनालाई प्रतिनिधित्व गर्ने गीतहरू गाउनु जरुरी छ भने अर्कातिर समयको चाहनालाई बुझेर पेसामा परिमार्जन आवश्यक छ भन्ने दृष्टि निबन्धकारको रहेको छ। निबन्धकारले भनेका छन् - "गीत गाएर अरूको निगाहबाट बाँचिन्छ भन्ने धारणा राख्ने गाइनेहरू अब निरर्थकतामा बाँच्छन्। उनीहरूको माग समाजमा हुँदैन र उनीहरूका कलाको मूल्य देखिँदैन। यसतर्फ गन्धर्व जातिले सोच्नु आवश्यक छ।" (पृ. ७) यसरी निबन्धकारले सोच्नु आवश्यक कुरा मात्र भनिदिएका छन् तर युगअनुसार हाम्रा संस्कृतिका वाहक गाइनेहरूले कुन बाटो अँगाल्ने त भनेर कुनै विकल्प सुझाएका चाहिँ छैनन्। यस्तै दृष्टि उनले नेपाली साहित्यको लेखनमा हुनुपर्ने बताउँदै भनेका छन् - "जमानालाई बिर्सेर लेखिने साहित्य आजका आँखामा उहिलेको महाकाव्यजस्तो हुन्छ। त्यसमा पाठकको रुचि पलाउन सक्तैन।" (पृ. ७) यसरी नेपाली साहित्यमा जमानाको रुचिअनुसारको प्रगतिवादी साहित्य रचिनुपर्छ भन्ने आशय उनको झल्कन्छ।
'गणेशसंस्कृति' निबन्धमा चाकरी र धुर्त्याइँको वर्तमान अकर्मण्य संस्कृति वा अपसंस्कृतिमाथि तिखो व्यङ्ग्य प्रहार गरिएको छ। विशेषतः प्राध्यापन गर्ने निबन्धकारले आफ्नै शैक्षिक क्षेत्रमा देखेका गणेशसंस्कृतिका खराबीलाई छ्यास्नुसम्म छ्यासेका छन्। युवाहरूको निकम्मापन, चाटुकारी, स्वार्थान्धता, दुर्गुण, बेइमानी, अनभ्यासी र कामचोर प्रवृत्तिहरूलाई तीव्र प्रहार गरेका छन् अनि यस्तै रोग राजनीतिमा सल्केर देशै बर्बाद हुने लागेकोप्रति गहिरो चिन्ता प्रकट गरेका छन्। गणेशसंस्कृतिलाई चिनाउँदै भनेका छन् - " 'गणेशसंस्कृति' भनेको यस्तै पढेर पास हुन खोज्नेभन्दा उत्तरपुस्तिकामा जाँचकीलाई नोट लेखेर पास हुन कोज्ने संस्कृति हो। अथवा भनौँ कर्ममा विश्वास गर्नेभन्दा चाकडी र चाप्लुसीमा विश्वास गरेर चलाख बनी आफ्नो काम पट्याउने संस्कृति हो।" (पृ. ११) निबन्धकार कर्मशील बन्नुपर्ने धारणा प्रकट गर्छन्, पराश्रयी र चाकरीप्रथाको विपक्षमा उभिन्छन् जुन प्रगतिवादी विचारधाराको प्रबल पक्ष हो। नेपालको शैक्षिक क्षेत्रको चर्को विकृतिप्रति उनी प्रहार गर्छन् र चरित्रहीन नक्कली बन्दै गएको युवापिँढीमाथि कटाक्ष गर्दै यस्तै प्रवृत्तिकाले देश आज चलाइरहेका र भोलि पनि यस्तैले चलाउने हुन् भन्दै नेपाली विकृत र चरित्रहीन समाज, राजनीति तथा प्रशासनमाथि व्यङ्ग्यको सशक्त लाठो बजार्छन्। अहिलेका छट्टु र चोरजस्ता विद्यार्थीहरूलाई कडा व्यङ्ग्य गर्दै निबन्धकारले भनेका कुरा एकदमै गहन लाग्छन् र साँच्चै मननीय ठहर्छन् - "भाइ ! तपाईंहरूको सोचाइ ज्यादै अग्रगामी छ। चलाखीले आफ्नो काम पट्याउने कलामा तपाईंहरू ज्यादै कुशल हुनुहुन्छ। राम्ररी पढेर परीक्षामा उचित उत्तर लेखी परीक्षकका सामु नपस्रनेहरू ज्यादै मूर्ख हुन्। तपाईंहरूको जस्तो चलाखीको कला नजानी पढेर र लेखेर पास हुन्छु भन्ने सोच ती मूर्खहरूले राखेका छन्। त्यस्ता मूर्खहरू पास भए पनि अग्रगमनमा पुग्न सक्तैनन्। पढेर पास हुनेभन्दा ४-५ नम्बरको कृपा मागेर पास हुने तपाईंहरू जस्ता चलाखले नै भोलि यो देश हाँक्ने हो। आज पनि यस्तैले हाँकिरहेका छन् र भोलि पनि यस्तैले हाँकेर नयाँ नेपाल बनाउने हो। मेहेनत गरेर पढ्ने मोराहरू भर्सेला परून्; तर गणेशलाई सबभन्दा पहिले पूजा गर्ने गणेशसंस्कृतिको बोलबाला भएका हाम्रा देशमा तपाईंहरूको सम्मान हुनुपर्छ, होइन भने यस देशको उन्नति र प्रगति हुन सक्तैन तथा यो देश नयाँ नेपाल बन्न सक्तैन।" (पृ. ११) निबन्धकार पौराणिक कथा गणेश र कुमारको सुमेरु पर्वत भ्रमण गरेर आउने प्रसङ्गलाई अगि सारेर गणेशले शिवपार्वतीसामु चाकरीवृत्ति अँगालेर सबैभन्दा ठुलो देवता बन्न सफलता प्राप्त गरेको तर साँच्चै सुमेरु परिक्रमा गरेर आएका कर्मवादी कुमारलाई पछि पारिएको सन्दर्भ बताउँछन्। यसै प्रसङ्गबाट लेखकको दृष्टि यसरी गणेशसंस्कृतिको विरोध र कुमारसंस्कृतिको समर्थन गर्छन् अनि नेपाली समाजलाई कुमारसंस्कृतिको मार्गमा चल्न उत्प्रेरित गर्छन् - "गणेशसंस्कृतिले हाम्रो कर्म गर्ने र कर्मका आधारमा फल प्राप्त गर्ने कुमारसंस्कृतिलाई पाखा लगाइदियो।" (पृ. १२) यसरी गणेशसंस्कृतिले विकृत पारेको हाम्रो युवापिँढी र शैक्षिक, सामाजिक, राजनीतिक आदि पक्षहरूलाई चाकरीमा होइन कर्ममा विश्वास गरेर अगि बढ्न सचेत पार्छन्। सच्चा कर्मशील हुने श्रमको पूजक भई सोही विचारले समाजका विकृतिको अन्त्य गर्नुपर्ने प्रगतिवादी दृष्टिको अभिव्यक्ति गर्नमा यो निबन्ध व्यङ्ग्यात्मक रूपले सफल बनेको छ। प्राध्यापनका क्षेत्रमा रहँदा परीक्षा तथा मूल्याङ्कन प्रणालीमा रहेका गम्भीर समस्याहरूबाट प्रवेश गरेर समग्र समाज र राष्ट्रको समस्यालाई केलाउने यो निबन्ध विषय र शैली दुवै दृष्टिले एक उत्कृष्ट रचना हो।
'पराधीनताको जीवन' निबन्धमा निबन्धकारले आफू केही कुराले गर्दा अरूकै अधीनमा बस्न बाध्य हुनुपरेको र त्यो पराधीनता आफ्नै परिवारका सदस्यहरू श्रीमती र छोराबाट झेल्नुपरेको मर्मलाई पोखेका छन्। आमाको मृत्युपछि पत्नीको हैकम सहनुपरेको कुरा गर्छन्। अहिले प्रविधिको आधुनिक जीवनशैलीमाझ छोराले आफूमाथि अधीनता देखाउन खोजेको पीडा पनि पोखेका छन्। पठनपाठन र साहित्यको सिर्जनामा क्रियाशील हुनुपर्दा व्यावहारिक मामिलामा अलि अकुशल हुने स्थिति आएको र त्यसलाई श्रीमतीले आफ्नो कमजोरी ठानिदिएर अधीनता प्रदर्शन गरेको तथ्यलाई निबन्धकारले प्रस्टसित निश्छल बयान गरेका छन्। यसै प्रसङ्गमा मनुले नारीलाई स्वतन्त्र नभएको भनी गरेको व्याख्याप्रति लेखकले आजभोलि मनुको विरोधमा क्रान्तिकारी हुँ भन्नेहरूले गरेको अपव्याख्यालाई अस्वीकार गरेका छन्।
'विमोचनसंस्कृति' निबन्धमा निबन्धकारले कमजोर लेखकहरूले आफ्ना कमसल कृतिको विज्ञापन गर्ने शैलीमा गर्ने गरेका विमोचनका ढर्राहरूप्रति विरोध गरेका छन्। व्यङ्ग्यात्मक शैलीमा लेखकले भनेका छन् -"लेखकलाई आफ्नो लेखकीय क्षमतामाथि विश्वास भएन भने ऊ पुस्तकविमोचन गराएर आफूलाई लेखक भनाइमाग्न खोज्छ।" (पृ. १७) आजभोलि विमोचनसंस्कृति ठेक्कापट्टाको व्यवसाय हो भन्ने गुह्य कुरा पनि लेखकले खोलेका छन्। त्यसैले प्रमुख अतिथि र टिप्पणीकर्ताले मात्रै होइन श्रोता वा दर्शकले पनि किनिएर आफूलाई सहभागी बनाएका हुन्छन्। लेखक भन्छन् -"भित्री तहमा प्रमुख अतिथि वा पुस्तकको टिप्पणीकर्ता लेखक वा प्रकाशकका तर्फबाट किनिइसकेका हुन्छन् र लेखकलाई आकाशमा पुर्याउनुपर्छ भन्ने ज्ञान प्रमुख अतिथिले बोकेको हुन्छ अनि पुस्तकलाई अमूल्य रत्न बनाउनुपर्छ भन्ने ज्ञान टिप्पणीकर्ताले बोकेको हुन्छ।" (पृ. १९) यतिले मात्रै विमोचनसंस्कृति पूर्ण हुँदैन किनकि श्रोता वा दर्शकलाई पनि किन्नैपर्ने हुन्छ। व्यङ्ग्यका भाषामा लेखकले भनेका छन् -"अब दर्शक वा श्रोतालाई पनि किन्न जरुरी छ।...यसैले आजभोलि विमोचन गरिएको पुस्तक नबाँडी मासुच्यरा बाँडेर अथवा मिठाईहरू बाँडेर उनीहरूलाई सन्तुष्ट बनाइन्छ रे।" (पृ. २०) यसप्रकारले निबन्धकार आजभोलि साहित्यिक कृतिको मूल्यमा आएको ह्रास र प्रकाशनमा झाँगिँदै गएको विसङ्गतिमाथि निर्मम व्यङ्ग्य प्रहार गर्छन्।
'नेपाल र हिलारी' निबन्धमा सगरमाथामा पहिलो पटक पाइला टेक्ने तेन्जिङ नोर्गे र एडमन्ड हिलारीको नेपालप्रतिको व्यवहारको तुलना गर्दै नेपालको हितप्रति नमरुन्जेल सहयोग र साथ दिने हिलारीप्रति उच्च सम्मान व्यक्त गरिएको छ। निबन्धकारले भनेका छन् -"नेपाल सरकारले 'नेपालतारा' प्रथम श्रेणीको तक्माबाट विभूषित गरे पनि तेनजिङले नेपालको नागरिकता परित्याग गरेर भारतको नागरिकता लिनुभयो; नेपाली राष्ट्रिय स्वाभिमानलाई बचाउन सक्नुभएन; नेपाललाई बिर्सेर भारतीय नागरिकसरह दार्जिलिङमा बस्नुभयो; तर हिलारीलाई नेपालले सामान्य किसिमको तक्मा दिए पनि उहाँले नेपाललाई बिर्सन सक्नुभएन, न्युजिल्यान्डमा घर भए पनि र नेपाली नागरिक नभए पनि बर्सेनि कम्तीमा एक पटक मृत्युपर्यन्त नेपाल आउने गर्न थाल्नुभयो र ...न्युजिल्यान्डको सम्पत्ति ल्याएर नेपालमा विकास गरी आफ्नो मान बचाउनुभयो। यसले गर्दा हाम्रा निमित्त तेनजिङ शरीरको रोगजस्तो र हिलारी जङ्गलको ओखतीजस्तो साबित हुनुभएको हो।...नेपाललाई माया गर्ने हिलारीलाई विशिष्ट मान्छेका रूपमा गन्छौँ।...हामी हिलारीप्रति भक्तजस्तै बनेर श्रद्धानत छौँ। (पृ. २५) यसरी तेन्जिङले नेपाली स्वाभिमान बचाउन नसकेकाले उनी सामान्य मानिससरह बनेका हुन् तर हिलारीले नेपाललाई माया गरेर हाम्रा लागि उच्च र सम्मानित व्यक्तित्व बनेका हुन् भन्ने निबन्धकारको धारणाले राष्ट्रप्रति को कति मात्रामा जिम्मेवार र सहयोगी भई योगदान दिन्छ त्यसैअनुसार उसको व्यक्तित्वको सही मूल्याङ्कन गर्नुपर्ने हुन्छ भन्ने बुझिन्छ। जसले हृदयदेखि नै देशका निम्ति विकासमा समर्पित भएर सम्मान अर्पण गर्छन् तिनैलाई नै जनता र देशले सबैभन्दा बढी सम्मानयोग्य ठान्छन्। यही सार निबन्धले व्यक्त गरेको छ।
'मेरो विद्यालय र मेरो संलग्नता' निबन्धमा निबन्धकारले आफ्नै गाउँमा शिक्षक तथा प्रधानाध्यापक भएर कार्य गर्दाका जटिलता र असङ्गतिहरूलाई संस्मरणका रूपमा प्रस्तुत गरेका छन्। विद्यालयको स्थापना र सञ्चालनमा केकस्ता कठिनाइहरूको सामना विकट क्षेत्रमा स्थापित विद्यालयले गर्नुपर्छ अनि त्यसमा संलग्न शिक्षकहरूले आर्थिक तथा भौतिक समस्याहरू वा अभावहरू झेलेर कसरी जीवन चलाउनुपर्छ भन्ने कुरा देखाइएको छ। यस्तो बेहाल र बेथितिमा पनि ग्रामीण क्षेत्रमा शिक्षाको विकासका लागि समर्पित भएर लाग्नु नै देशसेवाको पुनीत कार्य हो भन्ने निबन्धकारको देशभक्तिपूर्ण दृष्टि यहाँ व्यक्त भएको छ।
'१९८ औँ भानुजयन्तीका सन्दर्भमा' र '१९९ औँ भानुजयन्ती मनाउँदा' शीर्षकका दुई निबन्धहरूमा भानुभक्तको जयन्तीका विषयमा भएका गतिविधिहरूको चर्चा छ। पहिलो निबन्धले २०६८ असार २९ गते भानुजयन्ती नमनाउँदा निबन्धकारलाई त्यसले मनमा पारेको प्रभाव प्रकट गरिएको छ भने दोस्रो निबन्धले सोही दिन भानुजयन्ती मनाउँदा निबन्धकारका मनमा उत्पन्न भएको खुसी व्यक्त गरिएको छ। नेपाली साहित्यको उन्नयनमा कवि भानुभक्त आचार्यले पुर्याएको योगदानको भानुजयन्ती नमनाउँदा कदर हुँदैन भने मनाउँदा उनको साहित्यिक मूल्यभित्र निहित साहित्यिक गुणयुक्त मौलिक योगदानप्रति सच्चा सम्मान भएको अनुभूति हुन्छ। भानुभक्तका साहित्यिक मूल्यको आकलन गर्ने निबन्धहरूका रूपमा यिनलाई लिन सकिन्छ जसमा लेखकको भानुभक्तप्रतिको सम्मान अभिव्यक्त भएको छ। भानुभक्तको योगदानलाई निबन्धकारले यसरी प्रकट गरेका छन् -"तत्कालीन अवस्थामा संस्कृतबाजहरूले उपहास गर्दागर्दै पनि नेपाली भाषाप्रति मोह राखेर नेपालीलाई जनभाषा बनाई रामायणको अनुवाद गरेकामा भानुभक्तको कार्य स्तुत्य मानिएको छ। उहाँको कार्यको अनुकरण गरी जनभाषाका पक्षमा समर्थन जुटाउँदै देश र जनताको हित गर्ने साहित्य लेख्ने र लेखाउने सपना सँगाल्नु र सही अर्थमा उहाँको बाटो पच्छ्याउनु भानुजयन्तीका दिन भानुलाई सम्झनुको तात्पर्य हो।" (पृ. ३५) जनभाषाका पक्षधर निबन्धकार अधिकारीको प्रस्तुत विचार भानुप्रतिको सही सम्मान साबित हुन्छ।
'पहिलो खुला दिसामुक्त जिल्ला' निबन्धमा हामी नेपालीहरूको हल्लाबाज प्रवृत्तिमाथि तीव्र कटाक्ष गरिएको छ। कास्की जिल्लालाई नेपालको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गर्ने नेपालका प्रधानमन्त्री र कास्कीका तत्कालीन नेताहरूको चरित्रप्रति केन्द्रित भई नेपालीहरूको आम प्रवृत्तिलाई उद्घाटन गरिदिने यो निबन्ध व्यङ्ग्यात्मक रूपमा प्रकट भएको छ। भूपी शेरचनको नेपाललाई हल्लैहल्लाको देश भन्ने उक्तिलाई सम्झाउँदै निबन्धकारले भनेका छन् -"हामी हल्लैहल्लामा बाँचेका छौँ। हल्लासंस्कृति हाम्रो मूल धर्म भएको छ। काम गर्नभन्दा हल्ला गर्नमा हामी आफ्नो पुरुषार्थ सम्झन्छौँ। हल्लाबिना हाम्रो अस्तित्व खतरामा छ।...नारा र घोषणाको हल्ला जनता अलमल्याउने बाटो मात्र हो, समाधान होइन, समाधानका लागि सबैमा नैतिकता र इमानदारीको कर्म चाहिन्छ।" (पृ. ३९) यसरी निबन्धकार हल्लाखोर नेपाली होइन नैतिक इमानदार नेपाली भई देशसेवामा लाग्न सबैलाई सचेत गर्छन् र प्रेरित तुल्याउँछन्।
'कापीको कथा' निबन्धमा आफूमै घटेको एक ज्वलन्त उदाहरण दिँदै नेपाली समाजमा उपहार दिने प्रवृत्तिलाई तारो बनाई मिठो व्यङ्ग्य प्रहार गरिएको छ। निबन्धकारले कुनै खास कामै नगरी आफूलाई उपहार प्राप्त हुँदा ज्यादै खल्लो अनुभव हुन्छ। यसैले उनी भन्छन् -"उपहारको उपयोगिता योगदान गर्नेलाई प्रदान गर्नमा देखिन्छ, तर हाम्रा समाजमा योगदान गर्नेले उपहार नपाउने र योगदान नगर्नेले उपहार कुम्ल्याउने भए पनि कुनै असहज कुरो मानिँदैन। ठुलोबडो छ भने उसलाई दस्तखत मात्र गराएर उपहार दिने गरिन्छ। सामान्य किसिमको मानिस छ भने उसलाई योगदान पुर्याएको छ भने पनि केही दिने चासो राखिँदैन।" (पृ. ४१) अनेकौँ संस्थाहरूमा हस्ताक्षर मात्र गरेर बैठकभत्ता गोजीमा हाल्ने प्रचलन छ जो घोर आपत्तिजनक छ। यस्तो प्रचलन वा संस्कृति ठुलाबडालाई मान गर्ने चाकरीमूलक पक्ष हो जसको तीव्र विरोध निबन्धकारले यस निबन्धमा गरेका छन्।
'म पोखरामा बस्छु' निबन्धमा निबन्धकारले आफू पोखरा बस्न थालेको सन्दर्भलाई प्रस्तुत गर्दै पोखरामा शिक्षा र साहित्यको विकासमा भूमिका खेल्ने परिवार तथा व्यक्तिहरूको नालीबेली दिएका छन्। गहन खोजमा केन्द्रित यस निबन्धमा आफूलाई चिनाउँदै निबन्धकारले भनेका छन् -"मेरो जन्मभूमि लमजुङ हो र मेरो नागरिकता पनि लमजुङकै छ। २०३२ सालमा जिल्ला र जिल्लाका इलाकाहरू यताउता पारेर मिलाउँदा मेरो मिजुरेडाँडा गाविस लमजुङबाट कास्कीमा आयो र म कस्केली भएँ। २०३५ सालको फागुनदेखि पृथ्वीनारायण क्याम्पसमा आएर प्राध्यापन गर्ने भएपछि मैले पोखरामा नै वासस्थान बनाउनपर्ने भयो र म पोखरेली भएँ।" (पृ. ४९) यसरी पोखरेली बनेका निबन्धकार अधिकारीले कास्कीलाई विद्याको केन्द्र भन्ने हल्लाबाजी विचारको पनि खण्डन गरेका छन् -"गोरखाका राजा राम शाहका पालामा गोरखा न्यायको नमुनालायक भएकाले 'विद्यामा काशीजस्तै न्यायमा गोरखा नमुना भएको छ' भन्ने जनाउन काशीलाई उपमाका रूपमा विद्याको खानी भनेर नाम दिइएको हो, अन्धा भक्तहरूले भनेजस्तो कास्की विद्याका खानीका रूपमा काशीजस्तो थिएन र त्यसको नाम लिएको होइन भन्ने मलाई लाग्छ।" (पृ. ४३) यसरी व्यर्थका भ्रमहरूलाई चिर्दै आफू कस्केली भएको तथा कास्कीले शिक्षा र साहित्यको विकासमा पुर्याएको योगदानको मूल्याङ्कनमा निबन्धकार स्पष्ट देखिएका छन्।
'गीत कसरी आउँछ ?' निबन्धमा तिजे गीतको अध्ययनका सन्दर्भमा मनमा उत्पन्न भएको विचारलाई साछी राखी वास्तविक रूपमा गीतको रचना कसरी गर्छ कुनै पनि गीतकार वा रचनाकारले भन्ने प्रश्नको उत्तर खोजेका छन्। निबन्धकारले भनेका छन् -"आफूलाई पीडा र वेदना भोग्न परेपछि त्यो पीडा र वेदनाको अभिव्यक्ति मार्मिक बनेर गीतमा आउँछ...। गीतको स्रोत मर्म, वेदना, पीडा, अत्याहट, छटपटीहरू हुन्।" (पृ. ५५) कुनै पनि साहित्यिक रचना व्यक्तिगत सीमा नाघेर सार्वजनिक भावमा रूपान्तरित भई साधारणीकरण भएमा त्यो सार्थक र समाजोपयोगी हुन्छ भन्ने दृष्टिकोण निबन्धकारको छ। निबन्धकार भन्छन् -"गीत वा कविता सिर्जना गर्दा कविले समाजका निमित्त भनेर सिर्जना गर्दैन, आफूभित्रको अनुभूतिको तीव्रता व्यक्त गर्ने सोच मात्र बनाउँछ; तर परिणाममा यस् किसिमले अनुभूतिको तीव्रता व्यक्त भएका गीत वा कविता सुन्दर हुन्छन् र सामान्यीकरणका अवस्थामा पुग्छन्।...सङ्घर्ष, दुःख, पीडा, वेदना, मर्म आदिबाट अनुभूतिको तीव्रता अत्यधिक प्रभावशाली बनेर निस्कन्छ र दुःख, वेदनाका गीतकविताहरू सबैलाई मन पर्ने हुन्छन्।" (पृ. ५७) यसै प्रसङ्गमा निबन्धकारले आजभोलि तिजे गीतहरू विकृत भइसकेको धारणा प्रकट गरेका छन्। तिनको मूल आत्मा मरेको छ। सहरबजारमा तिनीहरूको स्वरूप मृतवत् बनेको छ तर गाउँमा अझ जीवित छन्। निबन्धकार आफ्नो यही दृष्टिकोणलाई यसरी पोख्छन् -"आजका तिजे गीत भनेका गहना, कपडा देखाउने, अङ्ग प्रदर्शन गराउने, काम भावना जगाउने जस्ता लक्ष्यमा लक्षित पुतलीहरूका गीत हुन्।...गाउँघरमा गाइने तिजे गीतहरू भने अझै जीवन्त छन्।" (पृ. ५७) निबन्धकारको दृष्टि के पनि छ भने 'शासकहरूको शक्ति र सामर्थ्यको आड लाएर कवि वा साहित्यकार हुन खोज्नेले सच्चा साहित्य लेख्न सक्तैन।' यसबारेमा अनेक नेपाली साहित्यकारहरूको नामावलीसमेत उनले पेस गरेका छन्।
'सबैलाई मन पर्ने साहित्य लेख्ने धुनमा' निबन्धमा निबन्धकारले आफ्नो साहित्य लेखनबारेको आत्मालोचना प्रकट गर्दै आफू सबैलाई खुसी पार्ने वा सबैले मन पराउने साहित्य लेख्न नसक्ने र एउटा निश्चित साहित्यिक पक्षधरतालाई अँगालेर त्यसकै हितमा साहित्यिक सिर्जनाहरू उत्पादन गर्ने धारणा राखेका छन्। उनले आफूले अब वर्गीय साहित्यको मात्रै रचना गर्ने प्रतिबद्धतालाई स्पष्टतः यसरी व्यक्त गरेका छन् -" 'सबैलाई मन पर्ने साहित्य लेख्छु' भनेर साहित्य लेखनमा म सफल हुन सकिनँ। साहित्य लेखनमा वर्गीय पक्षधरता हुनुपर्दो रहेछ। एउटा वर्गमा संलग्नता, त्यसका नीतिको पालन, त्यसैबमोजिमको विश्वदृष्टि आदि कुरा वर्गीय पक्षधर बनेर लिनुपर्ने रहेछ। साहित्यकार अराजक हुन्छ भनेर फैलाइएको भ्रम जनपक्षीय साहित्यका गतिमा रोकावट हाल्न तेर्स्याइएको तगारो मात्र बन्दो रहेछ। साहित्यकार अराजक नभएर देश र जनतालाई दिशाबोध गराउने परिवर्तनको वाहक हुँदो रहेछ। पुराना कुराहरूका ठाउँमा नयाँ कुराहरू प्रतिस्थापन गर्ने प्रेरणाको पुजारी हुँदो रहेछ। यसैले आज साहित्यका सच्चाइको वास्तविकता बुझी एउटै लेखकले सबैलाई मन पर्ने साहित्य लेख्न सक्ने रहेनछ भन्ने जानेर जनताको पक्षधरता अँगाल्ने साहित्य मात्र लेख्छु, सबैलाई मन पर्ने साहित्य लेख्तिनँ भन्ने अठोट गरेको छु।" (पृ. ६२) वस्तुतः निबन्धकार आफूले पहिले लेखेको साहित्य जनपक्षीय नभएकाले आत्मालोचना गर्दै अबदेखि लेख्ने आफ्नो साहित्य जनपक्षीय र परिवर्तनकारी विचारधारामा आधारित हुने बताउँछन्।
'आत्मपुराणका प्रसङ्गहरू' निबन्धमा आत्मप्रशंसामा रमाउने नेपालीहरूको आम प्रवृत्तिमाथि कटाक्ष गरिएको छ। निबन्धकारले नचाहिँदो प्रशंसा खोज्ने हाम्रो प्रवृत्ति अत्यन्तै निन्दनीय रहेको दर्साएका छन्। निबन्धमा भनेका छन् -"सदनदेखि सडकसम्मका मान्छेले श्रम, सिप, बुद्धि, विवेक, त्याग, इमानदारी, नैतिकता जस्ता कुनै कुराको पनि भरोसा नगरी कुनै रोकटोकबिना आत्मपुराण फलाकेर हिँड्ने गर्दा नै आफूलाई सक्षम मान्छे साबित गराउन सक्ने संस्कृति विद्यमान रहेको हाम्रो समाजमा आत्मपुराणको स्थान विशेष छ र हामी सबै आत्मपुराण सुनाएर सन्तुष्टि लिन खोज्छौँ।...श्रम, सिप, मेहनत, बुद्धि, विवेक जस्ता कुराले आफूलाई विशेष देखाउनभन्दा आत्मपुराण फलाकेर नै आफूलाई विशेष देखाउन हाम्रो जाँगर चल्छ। हाम्रो संस्कृति नै यस्तै छ।" (पृ. ६७) यस्तो आत्मपुराणको संस्कृतिलाई नत्यागी नयाँ नेपाल पनि बन्दैन र बाठाले सोझासिधालाई ठगी खाने प्रवृत्तिको पनि अन्त्य हुँदैन भन्दै निबन्धकार सत्यवादी र परिश्रमी हुन प्रेरित गर्छन् अनि कामचोर गफाडी नहुन सुझाउँछन्।
'गण्डकी साहित्य पुरस्कार पाउँदा' निबन्धमा निबन्धकार पुरस्कृत हुँदाको खुसी र उनले लेख्ने साहित्यिक रूपरेखा कस्तो हुन्छ अब भन्ने प्रतिबद्ध विचारको अभिव्यक्ति भएको छ। आफ्नो लेखनबारे अरूले गरेको मूल्याङ्कनलाई समेत नढाँटी उनले यसमा व्यक्त गरेका छन्। आफ्नो प्रगतिवादी विचारधारा नै पुरस्कृत भएको ठान्ने निबन्धकार अधिकारीले आफ्नो लेखन प्रगतिवादी नेपाली साहित्यको विकासमा सक्रिय रहिरहने धारणा व्यक्त गरेका छन्। निबन्धमा सामन्तवादी र पुँजीवादी धारबाट अलग रही देशभक्त र प्रगतिवादी बाटामा लाग्ने जनवादी लेखक बन्ने विचार स्पष्टसँग राखिएको पनि छ -"जनवादी लेखकले गर्नपर्ने व्यवहार, जनतासितको सम्पर्क, सहिष्णुता, उदारता, धैर्य जस्ता कुराहरूले मलाई हिजोभन्दा आज परिपक्क साबित गर्छन् भन्ने पनि लाग्छ। देशभक्त र प्रगतिवादी बाटालाई फराक बनाउन म यथाशक्य क्षमताले सङ्घर्ष गरिरहेको छु। सामन्तवादी र पुँजीवादी शैलीका पदप्रतिष्ठाको प्रलोभन मेरा मानसिकताबाट हटिसकेको छ। वर्गीय पक्षधरतामा मेरो अडान दृढ बनेको छ।" (पृ. ७२) यसरी साहित्यिक पुरस्कारले निबन्धकारलाई जनवादी र प्रगतिवादी साहित्य रच्ने नवीन ऊर्जा थपेको सन्दर्भ यस निबन्धमा व्यक्त भएको छ।
'हिजोका मास्टरको याद गर्दा' निबन्धमा विगतमा आफूसँगै काम गर्ने मास्टर वा शिक्षकहरू कस्ता चरित्रका थिए भन्ने सम्झना गर्दै वास्तवमा शिक्षक कस्तो हुनुपर्छ भन्ने दृष्टिकोण प्रकट गरिएको छ। यसलाई प्रस्तुत गर्न रमेश विकलको उपन्यास 'अविरल बग्दछ इन्द्रावती' मा चित्रित गिरी मास्टर भन्ने शिक्षकको उदाहरण दिइएको छ। माझी गाउँलाई जगाउन शोषणको विरोध गर्ने वर्गचेतना ती मास्टरले युवाहरूमाझ बाँडे। यस्तै गरी निबन्धकार अधिकारीले गाउँमा आफू मास्टर भएर बस्ता भोगेका थिए। उनले निबन्धमा भनेका छन् -"गाउँका शोषक-सामन्तहरू र समितिका सदस्य महानुभावहरूका स्वार्थमा बाधा पुर्याएकाले उनीहरूका आँखाको कसिङ्गर भई गाउँमा मास्टर हुनु नमज्जाको कुरो लागेर उच्च शिक्षामा शिक्षक हुने बाटो खोज्नुपरेको मेरो अनुभव अहिले पनि ताजै छ।" (पृ. ७५) अनेक समस्या झेलेर गाउँलेहरूका आँखा खोल्ने हिजोका गुरुहरूको उच्च व्यक्तित्वप्रति यहाँ सम्मान प्रकट गरिएको छ। निबन्धमा भनिएको छ -"सामूहिक भावनामा गाउँलेको आँखा खोल्ने र हामीलाई उत्पादन गर्ने हाम्रा गाउँका गुरुहरूको महत्त्व हाम्रोभन्दा धेरै माथिल्लो छ। गाउँको सेवा, सद्भाव र त्यागले गर्दा उनीहरूको याद गर्ने हामी नतमस्तक हुन्छौँ।" (पृ. ७६) सच्चा शिक्षकको दायित्व नै सेवा, सद्भाव, त्याग र चेतनाको लगानी समाजमा गर्नु हो भन्ने दृष्टि निबन्धकारको छ र उनी पनि त्यही बाटामा लाग्ने प्रण यहाँ पोखिएको छ।
'क्याम्पसबाट बिदा हुँदा' निबन्धमा निबन्धकारले पृथ्वीनारायण क्याम्पसमा प्रवेश गर्दादेखि त्यसबाट बिदाइ हुनुपर्दासम्मको नकारात्मक र सकारात्मक सम्झनालाई शब्दचित्रमा कैद गरेका छन्। शिक्षणलाई आयआर्जनको प्लेटफर्म मात्रै सम्झने अनेक कामचोर, अवसरवादी, अहङ्कारी तथा सुविधाभोगी शिक्षकहरूको चियोचर्चो गर्दै आफू तीभन्दा फरक रहेको धारणा निबन्धकार व्यक्त गर्छन्। अनुरोधपूर्ण भाषामा लेखकले अन्तमा भनेका छन् -"चलाख हुन नपर्ने क्षेत्रमा बढी चलाख भएर धुर्त्याइँको रोल खेलेकाले यस्ता प्राध्यापक साथीहरू प्राध्यापकीय इतिहासमा छलिएर पाखा लागेको पनि मैले देखेँ; त्यसैले आफूलाई अध्ययनशील बनाएर सोझो रूपबाट काम गर्ने र अर्काको ईर्ष्या नगर्ने, आत्मपुराण फलाक्तै नहिँड्ने प्राध्यापकहरूले नै विद्यार्थीहरूलाई सही शिक्षा दिन र उनीहरूको मन जितेर सम्मान पाउन सक्छन् भन्ने मलाई लागेको छ। नयाँ साथीहरूले अवसरवाद र अहङ्कारको बाटो छोडी सरल विद्वान् बनेर विद्यार्थीहरूको सेवा गर्नुहुनेछ भन्ने आशा राख्तै त्याग र सेवालाई पनि चियाउनुपर्छ भन्ने अनुरोध गर्छु।" (पृ. ८४) लेखक २०३५ फागुन १० देखि २०७० असार १५ सम्म पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गर्दा विद्यावारिधि गरी प्राध्यापकको गरिमामय पद हासिल गरेको र पञ्चायतकालदेखि गणतन्त्रकालसम्मका अनेकौँ तितामिठा अनुभवहरू सँगालेको संस्मरण यहाँ राख्दै निबन्धकारले आफू निष्ठापूर्वक प्राध्यापनमा सफल भएको अनुभूति प्रस्तुत गरेका छन्।
'किञ्जल्कको कविता र मेरो उत्तर' निबन्धमा कवि गोपाल वैद्य किञ्जल्कको साहित्यिक प्रवृत्ति र आफ्नो साहित्यिक प्रवृत्तिको तुलना गर्दै सोखका निम्ति कविता लेख्ने किञ्जल्कभन्दा आफू भिन्न रही वर्गीय अनुभूतिलाई गद्यका माध्यमबाट साहित्यमा उतार्ने समाजवादी साहित्यकार बनेको दृष्टिकोण व्यक्त गरेका छन्।
'मैले बुझेको उत्तरआधुनिकतावाद' निबन्धमा उत्तरआधुनिकतावादप्रतिको निबन्धकारको समालोचनात्मक दृष्टि प्रस्तुत गरिएको छ। यसमा निबन्धकारले उत्तरआधुनिकताका बारेमा ऋषिराज बराल र निनु चापागाईंकै कित्तामा आफूलाई उभ्याएर मार्क्सवादविरोधी उत्तरआधुनिकतावादको तीव्र आलोचना गरेका छन्। केही हिन्दी साहित्यका समालोचकहरूको समेत सहायता लिई निबन्धकार अधिकारीले भनेका छन् -"पथभ्रष्ट बनाउने यसै दुःस्वप्नलाई उत्तरआधुनिकतावादले लक्ष्य बनाएको छ र सुविधाभोगी वर्गलाई समर्थन गर्नेहरू सामान्य कुरालाई विशेष ठानेर यसका प्रचारप्रसारमा जुटेका छन्।" (पृ. ९४-९५) लेखक सुविधाभोगी वर्गको पक्षपोषण गर्ने र सुविधाहीन दुःखीगरिबका पक्षमा उभिने मार्क्सवादी साहित्य र चिन्तनमाथि प्रहार गर्ने पुँजीवादी साहित्यिक र दार्शनिक चिन्तन नै समग्रमा उत्तरआधुनिकतावाद भएकाले यसका चङ्गुलमा फस्नु हुँदैन र यसको विरोध गरी जनपक्षीय चिन्तन र लेखनमा केन्द्रित हुनुपर्छ भन्ने दृष्टिकोण यहाँ राख्छन्।
'अघाएकाको साहित्य' निबन्धमा पुँजीवादी र मार्क्सवादी चिन्तन तथा साहित्यको भिन्नताको रेखाङ्कन गरिएको छ। अघाएकाको साहित्य भनेको धनी वा पुँजीपतिका पक्षमा लेखिएको साहित्य हो र यो यौनमूलक पतनशील विषयले भरिएको हुन्छ। मार्क्सवादी वा प्रगतिवादी साहित्य भोकाहरूको साहित्य हो र यसले यौनलाई खास महत्त्व दिँदैन त्यसैले निबन्धकारले आफू यही पक्षमा उभिएको सन्दर्भ अङ्ग्रेजी साहित्यको र लेखकहरूको उदाहरणबाट प्रस्ट पारेका छन्। आफू पेट भर्न नपाउनेहरूको जीवनस्तरमा सुधार गर्ने कलासाहित्यको निर्माणमा क्रियाशील रहने प्रतिबद्धता निबन्धकार अधिकारीले जाहेर गरेका छन्। निबन्धको अन्तमा युगीन जागरणमा उत्प्रेरित गर्ने साहित्यले पतनशील सुखभोगमा लट्ठ भई सुतिरहने साहित्य रच्नेहरूलाई सुत्न नदिने विचार प्रकट गर्दै निबन्धकार कडा शब्दमा चुनौती दिन्छन् -"पूर्ण जीवन प्राप्त गर्न पाउँदा आहार र विहार दुवै कुरा आवश्यक छन्; तर अपूर्ण जीवन प्राप्त गर्नपर्दा आहारमा जोड दिएर विहारलाई गौण मानिन्छ। आहारका निमित्त चिन्ता नहुनेहरू विहारलाई बढी जोड दिन्छन्। विहारमा पनि यौन नै उनीहरूको प्रमुख विषय हुन्छ। भोकाहरू सबै आफूहरूजस्तै यौनतिरै अलमलियून् र आफूहरू चैनको निद्रा सुत्न पाइयोस् भन्ने उनीहरूको चाहना छ; तर युगीन जागरणले गर्दा उनीहरू त्यस किसिमले सुत्न पाउनेछैनन्।" (पृ. १०५) यसरी जनवर्गीय साहित्यका पक्षमा निबन्धकार उभिन्छन्।
'हिन्दी साहित्यका मेरा गुरुहरू' निबन्धमा निबन्धकारले जीवनचेतना र युगीन परिवेशबमोजिम ज्ञान र सिप आर्जन गर्न हिन्दी साहित्यका कवि, निबन्धकार, समालोचक, दार्शनिक, आख्यानकार, लोकसाहित्यविद् आदिका अनेक पुस्तकहरूको अध्ययन गरेकाले ती उनका साहित्यिक जीवनको विकासका लागि गुरु भएको उल्लेख गरेका छन्। हिन्दीका प्रसाद-पन्त-निराला, महादेवी वर्मा, छायावादी कवि तथा काव्यकार, राहुल सांकृत्यायन, प्रेम चन्द, हजारीप्रसाद द्विवेदी, राजेन्द्रप्रसाद, जवाहरलाल नेहरू, बलदेव उपाध्याय, रामचन्द्र शुक्ल, डा. रामविलास शर्मा, नामवर सिंह, शिवकुमार मिश्र, मैनेजर पाण्डेय, डा. नगेन्द्र, डा. कृष्णदेव उपाध्याय, डा. सत्येन्द्र, दयानन्द सरस्वती, तुलसीदास, सूरदास आदिका अनेक कृतिहरू अध्ययन गरेर आफूलाई प्राध्यापक तथा समालोचक व्यक्तित्वका रूपमा विकसित गरेको धारणा निबन्धकारले प्रस्तुत गरेका छन्। तिनको गुण र मूल्यलाई सम्मान गरेका छन्।
'गौरा प्रसाईंको आत्मकथा र मनु महाराजको श्लोक' निबन्धमा नारीलाई पुरुषले गर्ने यौनजन्य हिंसाका विविध घटनाहरूलाई गौरा प्रसाईंद्वारा लिखित 'मेरा जीवनका पाना' आत्मकथाका सन्दर्भहरूबाट मूल्याङ्कन गरिएको छ। यिनै सन्दर्भहरूलाई मनुका दृष्टिबाट केलाउने प्रयास गरिएको छ। नारीलाई भोग र वासनाका रूपमा लिने यौनपिपासु पुरुषका आँखाले कम्युनिस्ट वा अन्य राजनीतिक दल वा अन्य सामाजिक पक्षबाट कहिल्यै पनि बच्न सक्ने अवसर दिँदैन भन्ने कुरालाई निबन्धकारले देखाइदिएका छन्। प्रशासनिक क्षेत्र पनि यौनका दृष्टिले समेत महाभ्रष्ट र दुराचारी हुन्छ भनी देखाइएको छ। निबन्धकारले यसै प्रसङ्गलाई व्याख्याविश्लेषण गर्न मनुद्वारा रचित 'मनुस्मृति' को उद्धरणलाई जोड्दै भनेका पनि छन् -"गौरा प्रसाईंका आत्मकथामा व्यक्त भएका पुरुषले नारीमाथि यौन आसक्तिका कारणले गरेका आक्रमणका घटनाहरूले नारीलाई हरेक ठाउँमा पुरुषबाट आक्रमण हुने वास्तविकता देखाउँछन्। यस किसिमका पुरुषका आक्रमणबाट बँच्न महिलालाई पुरुषको संरक्षण अपरिहार्य छ। यही कुरालाई ध्यानमा राखेर मनु महाराजले आफ्नो 'मनुस्मृति' भन्ने ग्रन्थमा व्यक्त गरेको (हो) ... कुमारी अवस्थामा बाबुले रक्षा गर्दछ, यौवन अवस्थामा भर्ता (श्रीमान्) ले रक्षा गर्दछ र बुढ्यौलीमा छोराले रक्षा गर्दछ। यिनीहरूको संरक्षणबिना नारी स्वतन्त्र भएर रहँदा संरक्षित हुन सक्तैनन्।" (पृ. ११८) निबन्धकार यहाँ यस प्रसङ्गबाट के बुझाउन कोसिस गर्छन् भने आजभोलि मनुको यही विचारलाई उदाहरण बनाएर नारीको स्वतन्त्रताविरोधी भनी क्रान्तिकारी भनाउँदाहरूले उनको सत्तोसराप गर्छन् जो गलत छ। यसै गरी 'जहाँ नारीहरू पुजिन्छन् त्यहाँ देवता रमाउँछन् र जहाँ उनीहरू पुजिँदैनन् त्यहाँ सबै क्रियाहरू अफला वा निष्फल हुन्छन्' भन्ने श्लोकसमेत अत्यन्त मननीय र महनीय छ। त्यसैले लेखकले स्पष्टतः मनुप्रति श्रद्धा गर्दै 'मनु महाराजको श्लोक नारीका संरक्षणलाई लक्षित गरेर लेखिएको हो' भन्ने निष्कर्ष दिएका छन्। यसरी मनुको भनाइलाई बङ्ग्याएर बहुत ठुलो क्रान्तिकारी हुन खोज्नुभन्दा नारीलाई साँच्चै व्यावहारिक रूपमा मनुले भनेझैँ सम्मान र संरक्षण दिनु सबैको कर्तव्य हो भन्ने तात्पर्य निबन्धमा व्यक्त गरिएको पाइन्छ।
'पत्नीले लेखेको शोककाव्य' निबन्धमा नारीहरूले पुरुषभन्दा कम अनुरक्तिका कारणले नभई अशिक्षाका कारणले पतिको देहावसानपछि शोककाव्य लेख्न नसकेका हुन् भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ। कुनै कृति महिलाका नाममा छापिएका भए पनि तीसमेत पुरुषले नै लेखेका हुन् भन्ने पनि देखिएको उल्लेख छ। परन्तु आगामी दिनमा विकसित र शिक्षित महिलाहरूले अवश्यै शोककाव्य लेख्लान् भन्ने विश्वास पनि गरिएको छ।
'चन्द्रकला र वधूशिक्षाको रचना प्रसङ्ग' निबन्धमा आदिकवि भानुभक्तकी पत्नी चन्द्रकलाको प्रसङ्ग ल्याई भानुभक्तलाई उनले कवि बनाउनमा पुर्याएको योगदानलाई केलाउन खोजिएको छ। 'भानुभक्तका 'वधूशिक्षा' मा पाइने आदर्श नारीको परिकल्पनासँग चन्द्रकलाको आदर्श चरित्र प्रतिबिम्बित' भएको तथ्य यहाँ उल्लेख गरिएको छ। भानुभक्तले 'हाँस्नु छैन कदापि नारीहरूले...' जस्तो पद्यको दोस्रो पङ्क्तिमा नारीप्रतिको आक्षेपलाई कम गर्ने खालको थप विचार प्रस्तुत गर्न लगाउने नारी उनकै पत्नी चन्द्रकला हुन् भन्ने जिकिर निबन्धकारले गरेका छन्।
३. निष्कर्ष
निबन्धकार रविलाल अधिकारीको निबन्धसङ्ग्रहमा सङ्कलित निबन्धहरूमा अनेक प्रसङ्गलाई झल्काउने अरूका भनाइहरूलाई उद्धृत गरिएको हुन्छ। ससाना विषयबाट थाली जीवन र जगत्बारेका गहन पक्षलाई निबन्धकारले कतै सोझै त कतै व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका हुन्छन्। उनी विचारधारात्मक रूपले आफूलाई प्रगतिशील वा प्रगतिवादी तथा जनपक्षीय र जनवर्गीय साहित्यका स्रष्टाका रूपमा चिनाउन चाहन्छन्। धेरैजसो निबन्धमा त्यो देखिएको छ भने कतिपय निबन्धहरू विचारधारात्मक रूपमा ऋणात्मक रहेका छन्। समालोचनात्मक चेतले उनी निबन्धहरू लेख्न तम्सेको देखिन्छ र उद्धरणहरूको भरमार प्रयोगसमेत गर्नमा तल्लीन देखिन्छन्। नैतिक चेत, सामाजिक उत्तरदायित्व र आत्मालोचनालाई आधार बनाई लेखिएका उनका निबन्धहरू मौलिक प्रकृतिका छन्। तथ्यहरू, घटनाहरू र सन्दर्भहरूले भरिएका उनका निबन्धहरू नेपाली प्रगतिवादी निबन्धका फाँटमा स्तरीय सिर्जना बन्न पुगेका छन्।