18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

द नेक्स्ट न्यू लाइफ

कथा तेजराज दाहाल July 28, 2025, 12:10 am
तेजराज दाहाल
तेजराज दाहाल

आज पनि ईनोवा र थोमस विद्यालय गेट अगाडिको कफिसपको सडकपारी झुलुक्क देखिए । बच्चाहरू पुर्याउन ल्याउन आउने जाने क्रममा जुली र जोहनले दुईतीनपटक ईनोवा र थोमसलाई त्यसरी नै सँगै हिंडिरहेको देखे । उनीहरूले प्रायः नीलो ड्रेस र कालो शर्ट लगाएको देखिन्थ्यो । सँधै गार्वाला स्ट्रीटको विद्यालय गेट अगाडिको कर्नरमा देखिन्थे र एकैछिनमा त्यहाँ कतै छेलिन्थे ।

जोहनले जुलीलाई भन्यो, "ईनोवा र थोमस ज्यूँदैछन् । यो कुरा पक्का हो । तर कसरी निश्चित गर्ने?" जुलीले पनि सहमति जनाइन्, "हो, उनीहरू पक्कैपनि ज्यूँदैछन्" । भोलिपल्टदेखि बच्चा विद्यालयमा छोडेपछि कफिसप अगाडिको सडकपारी कर्नरमा ईनोवा र थोमसको बाटो ढुक्ने सल्लाह गरे । तर, एकदिन दुईदिन गर्दै हप्तादिन बित्यो, ईनोवा र थोमस देखिएनन् ।

जोहनले केही बिचार गरेर जुलीसँग भन्यो, "अब हामी एकपटक ११ जुन २०२३ को सडक दुर्घटनाका बारेमा सोधखोज गरेर बुझौं, यसमा पक्कै कुनै रहस्य हुनुपर्छ" ।
उनीहरू मेरी स्ट्रीटस्थित ब्रिसवेन सिटी पुलिस स्टेशनको तथ्यांक तथा सूचना शाखामा गए । ११ जुन २०२३ को राति अल्वानी क्रिक, ओल्ड नर्दर्न् रोडमा भएको विभत्स सडक दुर्घटनाका सम्वन्धमा आफुहरू सरोकारवाला भएको भन्दै विस्तृत जानकारी मागेर निवेदन दिए । तीन दिनपछि सिटी पुलिस स्टेशनबाट ईमेल आयो । ईमेलमा लेखिएको थियो, "त्यो मध्यरातमा गराइएको एक नक्कली सडक दुर्घटना थियो, 'अर्को नयाँ जीवन' सिनेमाको एउटा दृश्यको छायांकनका लागि" ।

यो जवाफले जुली र जोहनले थोमस र ईनोवा पक्कैपनि जिउँदैरहेको निर्क्यौल गरे । थोमस र ईनोवाले आफूहरूलाई ठूलो भ्रममा राखेर धोका दिएको ठहर गरे । अब आफूहरुपनि सँगै बस्न थाल्ने निधोमा पुगे । मोरेटन बे काउन्सिलको म्यारिज ब्यूरोमा दुवैजनाले पुराना सम्वन्धहरू स्वैच्छिक रुपमा अन्त्य गर्न चाहेको आशयपत्र बुझाए । थोमस र ईनोवाको नाममा काउन्सिलले पत्र काट्यो । उनीहरूको कतै कुनै सम्पर्क पत्ता नलागेकोले ७ दिने सूचना निकालेर काउन्सिलले जुली र जोहनको आशयपत्र अनुसारको निर्णय दियो । उक्त निर्णयको कानुनी परिपक्वताको अवधिका लागि एकहप्ता पर्खेर जुली र जोहनले कन्ट्रयाक्चुअल लिभिंग टुगेदरको आवेदन प्रक्रिया पूरा गरी काउन्सिलबाट प्रमाणपत्र लिए । जोहन बसेको घर ठूलो, नयाँ र राम्रो थियो, त्यसैले जुली पनि सिमोनीसहित वार्नर लेक्सस्थित जोहनको घर (अब जुलीको पनि!) मा सरिन् । लुकास र सिमोनीले स्टेप सिस्टर र ब्रदर पाए । अबोध बालकहरूलाई के थाह? नाता कति नजीक कति टाडा? उनीहरूको मेल हेरिरहन लायक थियो - सँगै खाने, सँगै खेल्ने, सँगै विद्यालय जाने र आउने, सँगै घुम्न जाने, लुगाहरू पनि जुम्ल्याहाका जस्ता म्याचिंग कलरका लगाउने । जुली र जोहनको 'अर्को नयाँ जीवन' साँच्चै नयाँ र राम्रोसँग चल्न थाल्यो । दैनिक पालो गरेर बच्चाहरु विद्यालय पुर्याउन र लिन जाने गर्दथे । घरभित्रका कामहरूपनि समय मिलेसम्म सँगसँगै गर्दथे । सप्ताहान्तमा बच्चाहरू लिएर समुद्र किनारातिर घुम्न जान्थे । रेडक्लिफ जेट्टीमा बसेर कफी पिउँदै सुर्यास्तको आनन्द लिनु दुवैजनाको शोख जस्तै वनेको थियो ।

थोमस र ईनोवाको बारेमा धेरै कुराहरू जुली र जोहनका लागि रहस्यात्मक रह्यो । उनीहरू साथै बस्न थालेको केही समयपछि जुली र जोहन ब्रिसवेन शहर जाने क्रममा स्त्राथपाइन ट्रेन स्टेशनबाट ट्रेन चढेका थिए । त्यही ट्रेनमा उनीहरूको छेउको सिटमा एकजना ह्याट लगाएका जेन्टलमेन बसेका थिए । ती मानिसले जोहन र जुलीलाई पहिले कतै देखेको वा भेटेको जस्तो लाग्यो भनेर परिचय गर्न खोजे । जोहनले अलि अफ्ठ्यारो मान्दै आफुहरूको परिचय दिए । ती मानिसको नाम जेम्स रहेछ, फिल्म निर्देशन गर्दा रहेछन् । भरखरै हलहरूमा लागेको अंग्रेजी सिनेमा, 'द नेक्स्ट न्यू लाईफ' जेम्सले निर्देशन गरेका रहेछन् । जोहन र जुलीको नाम सुन्ने बित्तिकै जेम्सले, "त्यसो भए तपाईंहरूले थोमस र ईनोवालाई राम्ररी चिन्नुहुन्छ! यदि तपाईंहरूसँग समय छ भने ट्रेनबाट ओर्लिएर मेरो अफिसमा जाऊँ! म तपाईहरू चारजना (थोमस, ईनोवा, जुली र जोहन) को चाख लाग्दो कथा सुनाउँछु" । जुली र जोहनले, "हामीहरूसँग करीब २ घण्टा समय छ" भने । "म छोटकरीमा भन्ने छु", भन्दै जेम्सले जोहन र जुलीलाई आफ्नो अफिस बेरी स्ट्रीटमा लिएर गए । जेम्सले उनीहरूलाई सुनाएको कथा तलका अनुच्छेदहरूमा प्रस्तुत छ ।
***
"ओहो, म क्षमा प्रार्थी छु", भुईंमा छरिएका सामानहरू उठाउन सघाइदिंदै उसले भन्यो । "केही छैन, मेरो पनि गल्ती भयो, बेहोसियारी मेरो हो", उनले पनि नरम स्वरमा भनिन् । वार्नरको मार्केटप्लेसमा अल्डीमा हतार हतारभित्र पस्दै गरेको उ असावधानीबश यौटी महिलासँग जोडले ठोक्कियो । ती महिलाका हातमा भएका सौदाले भरिएका दुईझोलाहरू भुईमा झरे । सामानहरू छरिए । धन्न पसल बन्द हुने समय बेलुकीको आठ बज्नै लागेको भएर धेरै भिडभाड थिएन । सामानहरू उठाइ सकेर फेरि उसले भन्यो, "म लज्जित छु, यहाँलाई परेको असुविधाप्रति" । महिलाले फेरि पनि, "केही छैन, कहिले कहीं यस्तो हुन्छ", भनिन् । छुट्नलाई उसले ती महिलालाई हेर्यो, एक्कासी उसको मुखबाट निस्क्यो, "ईनोवा, तिमी?" । त्यो सुनेर ती महिला अचम्भित भईन्, तर एकैछिन रोकिएर भनिन्, "तिमी थोमस?" एकअर्कालाई हेरेर उनीहरूले अचम्म माने । अल्डी बन्द हुने बेला भएको र आफुलाई केही सामान नकिनी नहुने भएकोले थोमसले, "तिमीसँग फेरि भेटेर कुरा गरौंला, अहिलेलाई छुटौं" भन्दै बिदा माग्यो । ईनोवाले पनि भनिन्, "खुशी लाग्यो यतिका बर्षपछि भेटेर । हाम्रा पुराना सम्झनाहरू ताजै छन्, फेरि भेटौंला । मेरो ईन्स्टा आईडी आईएचत्रिपलसेभेन हो । सम्पर्क गर्न सक्छौ" । थोमसले आफ्नो मोबाईलको नोटमा ईनोवाको आईडी लेख्यो र उनीहरू छुटिए ।

ईनोवा र थोमस लगभग सातबर्षपछि भेट भएका थिए । ब्रे पार्कस्थित सरकारी हाईस्कुलमा छ कक्षादेखि सँगै पढेका थोमस र ईनोवा १२ कक्षा उत्तिर्ण गरी क्विन्स्लेण्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा ४ बर्षे स्नातक तहमा आईटीसँगै पढेका थिए । एकअर्कालाई मन पराउने दुवैजना अलिक भरपर्दो कामको ब्यवस्था भएपछि आफ्नो छुट्टै संसार शुरूगर्ने सल्लाह गर्दैथिए । त्यसैबीच अस्ट्रेलियन आर्मीमा काम गर्ने थोमसका पिताको टाउन्सभिल सरूवा भयो, उनीहरू सपरिवार उता बसाईं सरे । ईनोवा र थोमस टाडा बसेरपनि सम्पर्कमा थिए तर बिस्तारै उनीहरू बीचको सञ्चार सम्पर्क पातलियो । दुवैले सामाजिक सञ्जालका आफ्ना सम्पुर्ण आईडीहरू नाम र तस्वीर परिवर्तन गरेर लुकाए । समयसँगै दुवैजनाले आफ्नालागि अरू नै साथी रोजे । घरजम गरे, थोमसको एक छोरी र ईनोवाको एक छोरा भए ।

यौटै कम्पनीमा काम गर्ने साथीहरू ईनोवा र जोहन बीचको मित्रता विस्तारै प्रेमी प्रेमिका र पछि श्रीमान र श्रीमतीको रूपमा बद्लियो । उनीहरू ब्रेण्डल उपनगर क्षेत्रको यौटा मध्यमस्तरको घरमा बस्दथे । सँगै बस्दै गर्दा ईनोवा र जोहनको छोरा लुकास जन्मियो । ईनोवा फेसनेवल र खर्चालु थिईन्, तर जोहन साधारण लवाई खवाई भएको र खर्चमा किफायती थियो । कहिले कहीं यस्ता स्वभावहरूको कारण दुईजना बीच खट्पट् पनि हुन्थ्यो तर दुवैजना लुकासलाई धेरै नै प्यार गर्दथे । लुकासप्रतिको प्यारले दुवैलाई सँगै बाँधेर राखेको थियो । ईनोवाको काम ब्रिसवेन शहरको रोमा स्ट्रीटमा भएको यौटा आईटी कम्पनीमा थियो । पुर्णकालिन काम गर्ने ईनोवा बिहान ८:३० बजे अफिस पुगिसक्नु पर्दथ्यो र दिउसो ४:३० बजे मात्र बिदा हुन्थ्यो । काममा जान आउन सडकयात्रा समय ट्राफिकको अवस्था हेरी एकतर्फी ४० मिनट देखि १ घण्टा लाग्दथ्यो ।

टाउन्सभिलमा थोमसले जेम्स कूक यूनिभर्सिटीको फ्रेस वाटर वायोलोजी र ईकोलजी विभाग अन्तर्गत अनुसन्धान एकाईमा सूचना तथा प्रविधि अधिकृतको रूपमा काम गर्यो । काम कै शिलशिलामा भेट भएर शुरू भएको जुली र थोमसको मित्रता केहि समयपछि बिवाहित जोडीमा परिणत भयो । बस्दै जाँदा उनीहरूको एक छोरी सिमोनी जन्मिइन् । थोमस अलिक खर्चालु स्वभावको थियो, ब्राण्डेड लुगाहरू मात्र लगाउने, एक्लै बाहिर खाना खान रेस्टुरेण्ट धाउने । सिमोनीको हेरचाहदेखि घरव्यवहार सवै जुलीले गर्दथिइन् । थोमसले ब्रिसवेनको साउथ बेंकस्थित यौटा राम्रो आईटी सोलुसन्समा पुर्णकालिन काम पाएकोले परिवारसहित यहाँ आएको थियो । आफूहरू बसेको पुरानो ठाउँ र केही आफन्तहरू अझै बसिरहेको साउथ पाइन रोडमा उनीहरू एउटा घर लिएर बसे ।

वार्नर मार्केटप्लेसमा ईनोवासँग भेट भएको रात थोमसले ईनोवाको ईन्स्टा आईडी र प्रोफाईल खोजेर फलो रिक्वेष्ट पठायो । एकैछिनमा उताबाट एसेप्ट भएको मेसेज आयो । थोमसले सरसर्ती फोटोहरू हेर्यो, प्रायः फोटोहरूमा ईनोवा एक्लै थिईन्, एक-दुईवटामा छोरासँगका फोटा थिए । थोमसले चासो राखेर ईनोवालाई मेसेज पठायो, 'हेलो ईनोवा, म थोमस यहाँ । ईन्स्टामा तिम्रा तस्वीरहरू हेरें, सुन्दर! छोरापनि कति राम्रो! तर तिम्रो श्रीमान त देखिनुहुन्न त तस्वीरहरूमा?" उताबाट तुरुन्तै जवाफ आयो, "हेलो थोमस, फोटोहरूको प्रशंसाकालागि धन्यवाद! मेरो श्रीमान अलिक फरक खालको छ, उसलाई सामाजिक सञ्जाल मन पर्दैन" । "ए! मैले बुझें, मेरो श्रीमती पनि त्यस्तै छन्", थोमसले जवाफ लेख्यो । उनीहरूले एक अर्काको कामको बारेमा सोधे । दुवैको काम शहरमा नजीकै भएकोले काम सकेर सँगै कफी पिउने सहमति गरेर मेसेन्जरको गफ टुंग्याए ।

कामपछि रोमा स्ट्रीटस्थित स्क्वेयर्ड एस्प्रेसोमा भेट भएर ईनोवा र थोमसले धेरैबेर बाल्यकालदेखि अहिलेसम्मका कुराहरू गरे । पहिलो भेटमा नै दुवैजना आफ्ना परिवारसँग खुशी नरहेको कुरा एकअर्कालाई भन्न छुटाएनन् । "म त छोराको मायाले बाँधिएकी छु तर मेरो मन खुशी छैन", ईनोवाले भनिन् । थोमसले पनि भन्यो, "म आफु टाउन्सभिल जाने बित्तिकै जुलीको संगतमा फसेँ र तिमीलाई जवर्जस्ति बिर्सिएको जस्तो गरेँ । मेरो गल्ती त्यही भयो, तर मैले तिमीलाई मनबाट कहिल्यै भुल्न सकिनँ" । थोमसले थप्यो, "म न जुलीको हुन सकेँ, न त तिमीलाई नै पाउनसक्ने स्थिति थियो । सामाजिक सञ्जालबाट सम्पर्क टुटीसकेको थियो" । ईनोवाले पनि, "परिस्थितिले मात्र टाडा वनायो, मन टाडा हुन कहिल्यै हुन सकेन" भनेर लामो सास फेरिन् ।

थोमस र ईनोवा शहरमा सँधैजसो सँगै भेटघाट गर्ने, सपिंग जाने, कहिले रात्रीकालिन पार्टीहरूमा समय विताउने गर्न थाले । उता दुवैका घरमा क्रमशः श्रीमान र श्रीमतीका बद्लिएको दिनचर्या र कामबाट घर फर्कने समयमा आएको परिवर्तनले तनाव सिर्जना हुन थाल्यो । स्वभावजन्य कुराहरूले परिवार भत्कन कति पनि बेर लाग्दैन, सम्वन्ध वनाउन समय लाग्छ । जोहनले ईनोवासँग कुरा गर्यो, "के भयो तिमीलाई? किन तिमी बद्लिंदै गएकी जस्तो लाग्यो मलाई?" ईनोवाले, "अफिस भित्र व्यवस्थापन बद्लिएको र कामको दवाव बढेको छ, म प्रयत्न गर्दैछु, केहीसमयमा ठीकठाक होला" भनेर जवाफ दिईन् । उता जुलीलाई थोमसले, "नयाँ कम्पनी र आफु नयाँ भएकोले समय मिलाउन गाह्रो भएको हो", भनी भनेको थियो ।
थोमस र ईनोवाले बिस्तारै आफुहरूलाई बाल्यकाल देखिका साथी र पुरानो सम्वन्धको सेरोफेरोमा वर्तमानका पारिवारिक दायित्वलाई महत्व दिन छोड्दैगए । ईनोवालाई छोरो लुकासको ज्यादै मायाँ लाग्दथ्यो । "पारपाचुके गरेर सँगै बसौं", भन्ने थोमसको प्रस्तावलाई ईनोवाले, "पर्ख" भनेर टार्दै थिईन् । थोमसले एकदिन सोध्यो, "तिम्रो छोरा कुन विद्यालयमा पढ्छ?" ईनोवाले, "गार्वाला स्ट्रीटको सरकारी विद्यालय!", भनिन् । "ओहो, मेरो छोरीपनि त्यही विद्यालयमा राख्ने प्रक्रियामा छौं", थोमसले भन्यो । उसले थप्यो, "ल उसो भए यौटा काम गरौं! हामी त्यहि विद्यालयको आसपासमा फ्ल्याट लिएर बसौं, तिम्रो छोरा र मेरी छोरीलाई हामी टाडाबाट भएपनि दैनिक देख्न पाउनेछौं ।" ईनोवालाई थोमसको प्रस्ताव मन पर्यो । थोमसको साथीको नाममा हाउस रेन्टल कम्पनी मार्फत दूई बेडरूम सहित किचन, डाइनिंग, लिभिंगरुमहरू भएको सानो एकलघर विद्यालयको छेउमा नै पाए उनीहरूले ।
थोमस र ईनोवासँग आफ्ना परिवारसँग कानुनी रूपमा पारपाचुके गरेर नयाँ जीवन शुरु गर्नसक्ने उपाय थियो । तर त्यसो गर्दा व्यहोर्नु पर्ने अल्पकालिन र दीर्घकालिन आर्थिक तथा सामाजिक दायित्वहरूबाट जोगिन उनीहरूले चलाखी गर्ने बाटो रोजे । एकदिन काम सकेपछि उनीहरू दूईजनाले थोमसको एकजना साथी जेम्सलाई भेटे । जेम्स सिनेमा निर्माण व्यवशायमा संलग्न थियो । थोमस र ईनोवाले सवैकुरा बेलिबिस्तारमा जेम्ससँग शेयर गरे । उनीहरूका कुरा सुनिसकेर जेम्स एकपटक हाँस्यो, हाँसो पनि कस्तो कस्तो - कृतिम जस्तो । हुनपनि सिनेमाको दुनियामा त्यस्तै हुँदो हो । जेम्सले सोध्यो, "के तिमीहरूसँग तिमीहरूका अहिलेका श्रीमान र श्रीमतीले देख्दै चिन्ने कुनै बिशेष ड्रेसहरू छन्?" एकैछिन सम्झेर दुवैले भने, "छन्!" ईनोवाले, "म सँग 'फरेभर न्यू' ब्राण्डको नीलो स्लिभलेस ड्रेस छ", भनिन् । थोमसले भन्यो, "म सँग B&A Co. ब्राण्डको कालो शर्ट छ" । जेम्सले फेरि सोध्यो, "के तिमीहरू ती दुवै ड्रेसहरूका एक-एक थान मलाई नयाँ किनेर दिनसक्छौ?" उनीहरूले, "हुन्छ, हामी खोजेर भोलि खवर गर्छौं" भनेर बिदा भए । थोमस र ईनोवा त्यहाँबाट चम्साइडको माएरमा गए । जेम्सले भने अनुसार 'फरेभर न्यू' ब्राण्डको नीलो स्लिभलेस ड्रेस र त्यहीं पोलिटिक्स सेक्सनमा ईटालियन B&A Co. ब्राण्डको कालो शर्ट पाइयो । दुवैजना खुशी भए ।
भोलिपल्ट कामपछि थोमस र ईनोवा बेरी स्ट्रीट गए, जेम्स आफ्नो अफिसमा पर्खिबसेको थियो । उनीहरूले किनेर ल्याएका ड्रेसहरू जेम्सलाई दिए । जेम्सले यौटा पर्मानेन्ट मार्करले शर्टको भित्री ट्यागमा TS 2023/06 र नीलो ड्रेसमा IH 2023/06 लेखेर छेउको घर्रामा राख्यो । कुराकानी अघि बढाउँदै जेम्सले भन्यो, "अब ११ जुन २०२३ राति १२:०० बजेपछि तिमीहरू दुईजना आ-आफ्ना परिवारका लागि समाप्त हुनेछौ र अर्को नयाँ जीवन शुरुवात गर्न सक्नेछौ ।

११ जुन २०२३ को रात 'द नेक्स्ट न्यू लाईफ' (अर्को नयाँ जीवन) सिनेमाको यौटा दृश्य छायांकन अल्बानी क्रिक, ओल्ड नर्दर्न रोडमा थियो । दृश्यमा यौटा बिभत्स सडक दुर्घटना भएको र त्यसमा एक महिला र एक पुरुषको मृत्यु भएको देखाईएको थियो । सिनेमाका लागि तयार पारिएको सेट अनुसार थोमस स्मिथ र ईनोवा ह्युगको मृत्यु भएको समाचार अनलाईन खवरहरूले छापे । राति नै प्रहरीहरू आएर जोहनलाई घटनास्थलमा लगेर लाश देखायो अनुहार नचिनिने भएकोले प्रहरीले जिम्मा लिएर अन्तीम संस्कार गर्ने सहमति गरायो । जोहनलाई रगतमा लतपतिएको नीलो ड्रेस पनि देखाइयो । यसरी नै जुलीलाई पनि राति नै घटनास्थल ल्याएर थोमसको भनिएको लाश र कालो शर्ट देखाएर प्रहरीले बाँकी प्रक्रिया पुरा गर्ने भनेर घर पुरयाईदियो । यी घटनाहरू यति वास्तविकरूपमा भए कि जोहन र जुलीलाई त्यो कुनै सिनेमाको दृश्य र त्यससँग सम्वन्धित घटनाहरू थिए भन्ने कल्पनासम्म पनि भएन । दुर्घटनाको हृदय बिदारक दृश्य आफैले देखेको र आफ्ना प्रियजनको मृत्युभएको घटनाले बिक्षिप्त भएको बेला त्यस्तो सोच्ने कुरा पनि त भएन । रातको १२:०० बजे शुरूभएको सिनेमाको दृश्य छायांकन बिहानको २:०० बजे सकियो ।

जेम्सको सिनेमा निर्देशन गर्ने चतुर दिमागले अन्तीम समयमा 'द नेक्स्ट न्यू लाईफ' सिनेमाका मुख्यपात्रहरूको नाम थोमस र ईनोवा राखिदिएको थियो । यसले गर्दा वास्तविक जीवनका थोमस र ईनोवा अनि सिनेमाका पात्र थोमस र ईनोवाको नाम र विवरण उक्त सिनेमाका सेटमा काम गर्ने सवैका लागि उस्तै र यौटै लाग्यो । कुनै ठुलो नाटकीय प्रयत्न बेगर नै सवैतिरको तारतम्य मिल्यो । वास्तविक थोमस र ईनोवालाई यौटा रुपबाट अर्को स्वरूपमा अर्को नयाँ जीवन शुरुवात गर्न बाटो खुल्यो ।

उनीहरूले अष्ट्रेलियन पोष्टमार्फत आफ्नो आफ्नो परिवारसँग पारपाचुकेको लागि अलग अलग आशयपत्र मोरेटन बे काउन्सिलको म्यारिज एण्ड फेमिली ब्यूरोमा दिए । ती पत्रहरूमा उनीहरूको ठेगाना: (मार्फत) ३६५ कार्वाला स्ट्रीट, स्त्राथपाइन लेखिएको थियो । थोमसले आफ्ना बैंकहरूमा ईमेल र फोनबाट सूचना दिएर संयुक्त खाताहरूको पूर्ण स्वामित्व स्वैच्छाले जुलीलाई हस्तान्तरण गरिदियो । ईनोवाले त्यसैगरी जोहनलाई सम्पुर्ण स्वैच्छिक हस्तान्तरण गरिदिइन् । जेम्सको सल्लाह अनुसार थोमस र ईनोवाले उनीहरूले दुर्घटना र मृत्युका बखत लगाएका नीलो ड्रेस र कालो शर्ट च्यारिटीको लागि अपसपमा दिए । ब्रेण्डलको अपसपमा ईनोवाका नातेदार काका काम गर्दथे । जोहन अपसपमा गईरहने भएकोले जोहनलाई उनले चिन्दथे । ईनोवाले काकालाई, "जोहन आउँदा मात्र यो पनि बिक्रीमा छ भनेर कालो शर्ट देखाई दिनु ल", भनिन् । काकाले त्यसै गरे, कालो शर्ट जोहनको हातमा पर्यो । संयोगको कुरा नीलो ड्रेस डिस्प्लेमा राख्दा राख्दै जुली अपसप पसेको मौका परेछ, त्यो ड्रेस हेर्ने बित्तिकै उनलाई मन परेर किनिहालिन् । कालो शर्ट र नीलो ड्रेसले जोहन र जुलीलाई नजीक बनाउँदै उनीहरूको अर्को नयाँ जीवन नै शुरूवात भयो । दुवैले समयसँगै थोमस र ईनोवासँग बिताएका दिनहरू बिर्सिंदै गए ।

"अब त पुराना कुराहरु सबै बिर्सनु भयो हैन र!" भन्दै जेम्स मुसुक्क मुस्कुराए । जोहन र जुलीपनि एकअर्कालाई हेरेर मन्द मन्द मुस्काए । आफ्नै कथाहरू सुनेर जोहन र जुली केही छक्क परे, केही लज्जीत महसुस गरे । छुट्ने बेलामा जेम्सले उनीहरूलाई आफ्नो नयाँ रिलिज भएको फिल्मको दुईवटा पास हातमा राखिदिंदै, "सिनेमा अवश्य हेर्नु है" भने । साथै उनले आफ्नो व्यक्तिगत र कार्यालयको सम्पर्क नम्वर र ठेगाना भएको भिजिटिंग कार्डपनि दिए । "आवश्यकता पर्दा सम्पर्क गर्न सक्नुहुनेछ", भन्दै हात मिलाएर बिदा गरे ।
***
केही समयपछि एक सप्ताहान्त जुली र जोहनसँगै स्त्राथपाइन सपिंग सेन्टर गएका थिए । त्यहाँको किनमेल सकेर फुडकोर्टमा खाजा खाँदै गर्दा जुलीले ११ जुन २०२५ मा रिलीज भएको 'द नेक्स्ट न्यू लाईफ' मुभीको पोष्टर जोहनलाई देखाउँद़ै भनिन्, "आज यो मुभी हेरौं" । समय पनि थियो, दुवैले जेम्सले दिएको पासले मुभी हेरे । मुभीमा थोमस र ईनोवा नाम भएका पात्र मुख्य भुमिकामा थिए तर जुलीका भुपु श्रीमान थोमस र जोहन की भुपु श्रीमती ईनोवा होइन । बरू अचम्म त सिनेमामा सडक दुर्घटनाको दृश्यमा मृत्यु भएको नायक थोमसलाई हेर्न जुली गएको र नायिका ईनोवालाई हेर्न जोहन गएको वास्तविक दृश्यहरू देखाइएको रहेछ । लाशहरू प्रहरीको जिम्मा लगाएको, रगतमा लतपतिएका लुगाहरू पहिचान गरेको जस्ता वास्तविक कुराहरू सिनेमामा देखाइएको देखेर जुली र जोहन एकअर्कालाई हेरेर मुस्कुराए । सिनेमा सकियो । बाटोमा फर्कँदा जोहनले सोध्यो, "तिमीलाई सिनेमा कस्तो लाग्यो?" "मलाई त कथा मन पर्यो तर यो सब के थोमस र ईनोवाको 'अर्को नयाँ जीवन' को लागि थियो? कि हाम्रो 'अर्को नयाँ जीवन'? जुलीले भनिन् । जोहनले अलिक ठट्यौली पारामा भन्यो, "यो त सब 'द नेक्स्ट न्यू लाइफ' को लागि थियो"।

कोटेश्वर, काठमाण्डौ, (हाल: ब्रिसवेन, अस्ट्रेलिया)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।