१.१. विषयप्रवेश
'बर्दी’ जगदीश घिमिरे (२००२) को समसामयिक कथा हो । कथाकार घिमिरेको बर्दी कथा सङ्ग्र्रह (२०६६) मा सङ्ग्रहीत प्रस्तुत कथामा सत्तामा रहेर आधिकारिकताको खोल ओडेका शासकहरूले राष्ट्रमाथि गरिरहेको शोषणलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ ।
सङ्कथन विश्लेषणमा कुनै पनि साहित्यिक कृतिको विश्लेषण त्यसैमा प्रयुक्त भाषाका आधारमा गरिन्छ । कुनै रचनालाई एउटा सङ्कथन (Discourse) मानेर अध्ययन गरिने यस पद्धतिमा ध्वनिदेखि अनुच्छेद एवम् सङ्कथनात्मक स्तरसम्मलाई अध्ययनको आधार मानिन्छ । प्रस्तुत शोध लेखमा ॅबर्दी’ कथाको भाषिक प्रयोगलाई आधार मानेर त्यसमा प्रयुक्त शाब्दिक शृङ्खला, सन्दर्भ र प्रतिस्थापनका आधारमा यसको प्रयोगले कथाको भावलाई पारेको प्रभावको अध्ययन गरिएको छ ।
२. सङ्कथन विश्लेषणको परिचय
कुनै पनि किसिमको पूर्ण भाषिक अभिव्यक्तिलाई सङ्कथन भनिन्छ । लामो वा छोटो जुनसुकै आयामको भए पनि यो पूर्ण अर्थयुक्त हुनुपर्छ । सङ्कथन विश्लेषण मूलतः भाषिक पक्षको अध्ययन हो । यसमा भाषाको आन्तरिक र बाह्य पक्षहरुका आधारमा अभिव्यक्तिको अध्ययन गरिन्छ । वर्ण, रुप, पद, पदावली, वाक्य आदि यसको आन्तरिक पक्ष हो भने विभिन्न सन्दर्भ आदि बाह्य पक्ष हो । भाषाका यिनै बाह्यान्तरिक पक्षहरुको सहसम्बन्ध र त्यसबाट निसृत अर्थको अध्ययन यसमा गरिन्छ । लियो स्पिटजरको स्टाइल स्टडिज (सन् १९२८) लाई सङ्कथन विश्लेषणको पहिलो नमुना मानिन्छ भने सङ्कथन विश्लेषण पदावलीको प्रयोग र विस्तार भने भाषाविद् जेलिङ ह्यारिसले सन् १९५२ पछि गरेका हुन् । यो भाषाविज्ञानको क्षेत्रमा विकसित भए पनि मानविकीका विभिन्न क्षेत्रमा यसको विस्तार भएको छ । यसै क्रममा विशिष्ट भाषिक अभिव्यक्ति मानिने साहित्यको अध्ययनमा पनि यसको क्षेत्र विस्तारित भएको छ । कुनै पनि साहित्यिक रचनालाई एउटा सङ्कथनमा रुपमा स्वीकार गरेर त्यसका बाह्यान्तरिक पक्ष र अर्थको अध्ययन यसमा गरिन्छ ।
सङ्कथन विश्लेषणका विविध क्षेत्र एवम् आयामहरू रहेका छन् । प्रस्तुत लेखमा सङ्कथनका विविध आयाममध्ये शाब्दिक शृङ्खला, सन्दर्भ र प्रतिस्थापनलाई आधार मानेर ॅबर्दी’ कथाको विश्लेषण गरिएको छ । शाब्दिक शृङ्खलाभित्र समान किसिमका भाव वहन गर्ने शब्दको आवृत्ति र तिनले कथाको भावमा पारेको प्रभावको अध्ययन गरिएको छ भने सन्दर्भअन्तर्गत समय सन्दर्भ, स्थान सन्दर्भ र सहभागी सन्दर्भको अध्ययन गरिएको छ । यसका साथै प्रतिस्थापनभित्र वाक्यात्मक सम्बन्ध र आर्थी सहचार्यलाई अध्ययन गरिएको छ । उपयुक्त सैद्धान्तिक पर्याधारहरूको चर्चा कृति विश्लेषणको क्रममा यथास्थानमा गरिएको छ ।
३. सङ्कथन विश्लेषणका आधारमा ‘बर्दी’ कथाको अध्ययन
सङ्कथन विश्लेषणका विभिन्न आधारहरू मध्ये यहाँ बर्दी कथामा प्रयुक्त शब्दहरूको शृङ्खला र त्यसले पाठको अर्थमा परेको प्रभाव, सहभागी, स्थान र समय सन्दर्भ तथा तिनीहरूको प्रधान्यता र प्रतिस्थापदन पदको आधारमा यस कथाको विश्लेषण गरिएको छ ।
३.१ शब्दशृङ्खलाका आधारमा बर्दी कथाको विश्लेषण
कृति वा पाठमा प्रयोग भएका शब्दहरूबीच एकअर्कामा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । ती शब्दहरू कुनै एक विषयमा केन्द्रित भएर आएका हुन्छन् र ती शब्दहरूको समुच्चय निर्माण भएको हुन्छ । त्यसरी निर्माण भएको शब्दहरूको समुच्चयलाई शब्दशृङ्खला भनिन्छ । कृतिमा कुनै शब्दको प्रयोग बढी भएको हुन्छ भने कुनै शब्दको प्रयोग कम भएको हुन्छ । त्यस्तै कुनै शब्दको प्रयोग लगातार भएको हुन्छ भने कुनै शब्दको प्रयोग लामो अन्तरालमा भएको हुन्छ, कुनै शब्द अगिल्लो शब्दको अर्थलाई पुनर्पुष्टि गर्न आएको हुन्छ भने कुनै शब्द घटनाको प्रसङ्ग परिवर्तन गर्न आएको हुन्छ । ती शब्दहरूको सम्बन्धको विश्लेषणका आधारमा कृतिको अर्थ बोध गर्न सकिन्छ । यसरी कृतिको अर्थलाई प्रभाव पार्ने अन्य बाह्य तङ्खवहरूलाई छाडेर त्यसका शब्दशृङ्खला र तिनीहरूको सम्बन्ध तथा साहचर्यका आधारमा कृतिको विश्लेषण गर्न सकिन्छ । शब्दशृङ्खला र साहचर्यका आधारमा कथाकार जगदीश घिमिरेको 'बर्दी’ कथालाई यस प्रकार विश्लेषण गरिएको छ :
शब्दशृङ्खलाका रुपमा 'बर्दी’ कथाका वाक्यको सङ्ख्या यस प्रकार छन् :
वाक्य सङ्ख्या वाक्यहरू
१. बाह्रौं बलात्कारी भित्र पस्ता उसले हलचल गर्न छोडीसकेकी थिई ।
२. बलात्कारीलाई यो ज्यादै मन पर्यो किनभने पहिलेपहिलेका बलात्कारीहरूलेजस्तो उसले बलात्कृतको लात सहनु पर्ने भएन ।
३. (हुनत ऊ दुध दिने गाईको लात सहन राजी थियो ।)
ं४. उसले पहिलेपहिलेका बलात्कारीहरूलेजस्तो बलात्कृतका खाँबामा बाँधेका हातखुट्टा थिच्न, चुल्ठो समाउन, मुखमा उसकै सारी कोच्न अन्य बलात्कारी साथीहरूको सहयोग सहभागिता लिनुपर्ने भएन ।
५. उससँग गसिबगुरुवा र बेसहाराको मदतका लागि अफिसले दिएको लाइट थियो ।
६. उसले त्यो बालेर हेर्यो — बलात्कृत नेपालको हिमाल, लेक, बेँसी र हरिया फाँट जस्ती छ ।
७. अनुहारमा शान्ति छ ।
८. त्यो देखेर बलात्कारी मुग्ध भयो ।
९. ऊ आफ्नो कर्तव्यबोधले झन्झन् प्रेरित हुन लाग्यो ।
१०. आलिङ्गन, चुम्बनका लागि अग्रसर भयो ।
११. उसले एघारौँ बलात्कारीको विसर्जन वक्तव्य सम्झ्यो — ॅठाउँमा आइसकी’ ।
१२. बदमासी गर्न छाडीसकी ।
१३. निर्धक्क भै गए हुन्छ ।
१४. गजबकी छ ।
१५. अतएव ऊ निर्धक्क भएर पसेको थियो ।
१६. अतएव ऊ निर्धक्क भएर पूर्ववत् क्रियामा संलग्न भयो ।
१७. उसले बर्दी लगाएको थियो ।
१८. यसअघि उसले बर्दी लगाएर बलात्कार गरेको थिएन, अतः हिचकिचायो ।
१९. उसले आफैँसँग सोध्यो — 'बर्दी लगाएर बलात्कार गर्नु हुन्छ कि हुन्न ?’
२०. उसलाई थाहा छैन ।
२१. तालिममा कसैले बताएको होइन ! काममा कसैले सिकाएको होइन ! कसरी जान्ने ! उसले सम्झने प्रयत्न गर्यो ।
२२. बर्दी लगाएर सब थोक गरेको सम्झ्यो — सबै कुकर्म गरेको सम्झ्यो ।
२३. उसले आफैँलाई जवाफ दियो — 'बर्दी लगाएपछि जे गरे पनि हुन्छ, सब फिरी !’
२४. एक झम्टामा उसले काम सिद्धायो ।
२५. मुर्दा–शान्त नदीमा पौडेर पारी पुग्यो ।
२६. बाहिर निस्केर घोषणा गर्यो — 'हलचल गर्दिन ।’
२७. प्रतिक्षारत् बलात्कारीले क्रुद्ध भएर सोध्यो — 'मन तातो छ कि छैन तेरी आमाको’
२८. 'मन त तातै छ’ — उसले जवाफ दियो — 'तेरी आमाको ।’
२९. 'धुकधुकी बाँकी छ कि छैन ?’ अर्को प्रतिक्षारत्ले सोध्यो।
३०. 'धुकधुकी बाँकी नै होला ।’
३१. प्रतिक्षारत् बलात्कारीहरू अधीर भइसकेका थिए, अतः पहिलेपहिलेजस्तो एक्लाएक्लै नगएर तँछाठमछाड गर्दै एक बथान भित्र पसे ।
३२. भन्दै थिए — 'मन तातो भए भै हाल्छ नि...’
३३. लाग्थ्यो — ऊ विषम परिस्थितिमा जन्मेकी थिई; विषमतर परिस्थितिमा हुर्किएकी थिई र विषमतम परिस्थितिबाट गुज्रदै थिई ।
३४. उसबारे कसैलाई केही थाहा थिएन ।
३५. उसले एकपटक आफ्नो नाउँथरसम्म बताएकी हो — कुन्नि के अरे ।
३६. देब्रे पाखुरामा पनि आफ्नो नाउँथर खोपाएकी रहिछ ।
३७. नाउँचाहिँ बुझिँदैन, तर थर प्रस्ट छ — नेपाल ।
३.१.१ तथ्य प्रस्तुति
शब्द शृङ्खला – १
शब्द – बलात्कार
सम्बद्ध शब्द र पदावली – बलात्कारी भित्र पस्ता, बलात्कारीलाई, बलात्कारीहरूले, बलात्कृतको लात बलात्कारीहरूलेजस्तो, बलात्कृतका खाँबामा बाँधेका, अन्य बलात्कारी, बलात्कृत नेपालको हिमाल, बलात्कारी मुग्ध भयो, एघारौँ बलात्कारीको, बलात्कार गरेको थिएन, बलात्कार गर्नु हुन्छ कि हुन्न, जे गरे पनि हुन्छ (बलात्कार गरे पनि हुन्छ), काम सिद्धायो (बलात्कार गरेर सिद्धायो), पौडेर पारी पुग्यो (बलात्कार), प्रतिक्षारत् बलात्कारीले, बलात्कारीहरू अधीर भइसकेका ।
आवृत्ति र शृङ्खला – वाक्य १ देखि १८ सम्मको शृङ्खला,सोझै चौधपटक र आशयका रूपमा तीनपटक प्रयोग, शृङ्खला सम्बन्ध सुदृढ
शब्दशृङ्खला – २
शब्द – क्रम बुझाउने शब्द
सम्बद्ध शब्द र पदावली – बाह्रौँ, पहिलेपहिलेका, पहिलेपहिलेका बलात्कारीहरूले, उसले पहिलेपहिलेका, एघारौँ बलात्कारीको, प्रतिक्षारत् बलात्कारीले ¬(क्रम पर्खेर बसेका), प्रतिक्षारत्ले सोध्यो (पालो पर्खेर बसेकाले), प्रतिक्षारत् बलात्कारीहरू ¬(क्रम पर्खेर बसेकाहरू), पहिलेपहिलेजस्तो, एक्लाएक्लै नगएर । यसको वाक्य १ देखि वाक्य ३१ सम्मको शृङ्खला छ ।
आवृत्ति र शृङ्खला – सोझै सातपटक र आशयको रूपमा तीनपटक प्रयोग, शब्दको दुरी बढी हुनाले त्यति सुदृढ बन्न सकेको छैन
शब्दशृङ्खला – ३
शब्द – दबाबमूलक क्रिया
सम्बद्ध शब्द र पदावली – खाँबामा बाँधेका हातखुट्टा थिच्न, चुल्ठो समाउन, मुखमा उसकै सारी कोच्न ।
आवृत्ति र शृङ्खला – वाक्य ४ को शृङ्खलामा छ । यसको प्रयोग तीनपटक, एउटै वाक्यमा आवृत्ति हुँदा पनि शृङ्खला राम्रो बन्न सकेको छैन
शब्दशृङ्खला – ४
शब्द – अचेत अवस्था बुझाउने
सम्बद्ध शब्द र पदावली – हलचल गर्न छोडीसकेकी, लात सहनु पर्ने भएन (अचेत भई), ठाउँमा आइसकी (बेहोस भइसकी), बदमासी गर्न छाडीसकी (बेहोस भइसकी), हलचल गर्दिन, मन तातो छ कि छैन, मन त तातै छ, धुकधुकी बाँकी छ कि छैन, धुकधुकी बाँकी नै होला, मन तातो ।
आवृत्ति र शृङ्खला – वाक्य १ देखि वाक्य ३२ सम्मको शृङ्खला,सोझै सातपटक र आशयको रूपमा तीनपटक प्रयोग, शृङ्खला १ जति सुदृढ बन्न सकेको छैन ।
शब्दशृङ्खला – ५
शब्द – खुशी भाव बोधक क्रिया
सम्बद्ध शब्द र पदावली – ज्यादै मन पर्यो, मुग्ध भयो, आलिङ्गन, चुम्बन ।
आवृत्ति र शृङ्खला – वाक्य १ देखि वाक्य १० सम्मको शृङ्खला, चारपटक प्रयोग, कम सुदृढ शृङ्खला
शब्दशृङ्खला – ६
शब्द – पोसाक शब्द
सम्बद्ध शब्द र पदावली – बर्दी लगाएका, बर्दी लगाएर, बर्दी लगाएर, बर्दी लगाएर, बर्दी लगाएपछि ।
आवृत्ति र शृङ्खला – वाक्य १७ देखि वाक्य २३ सम्मको शृङ्खला, प्रयोग पाँचपटक भएको, शृङ्खला सुदृढ छ
शब्दशृङ्खला – ७
शब्द – ज्ञान प्राप्तिसँग सम्बन्धित शब्द
सम्बद्ध शब्द र पदावली – तालिममा, बताएको, सिकाएको, जान्ने, सम्झने प्रयत्न, सम्झ्यो, सम्झ्यो ।
आवृत्ति र शृङ्खला – वाक्य २१ देखि वाक्य २२ सम्मको शृङ्खला प्रयोग सातपटक भएको, शृङ्खला सुदृढ रहेको छ ।
शब्दशृङ्खला – ८
शब्द – अनुमान बोधक शब्द
सम्बद्ध शब्द र पदावली – लाग्थ्यो ।
आवृत्ति र शृङ्खला – वाक्य ३३ मा एकपटक, शृङ्खला कमजोर
शब्दशृङ्खला – ९
शब्द – परिस्थिति
सम्बद्ध शब्द र पदावली – विषम परिस्थितिमा, विषमतर परिस्थितिमा, विषमतम परिस्थितिबाट ।
आवृत्ति र शृङ्खला – वाक्य ३३ मा तीनपटक, शृङ्खला कमजोर
शब्दशृङ्खला – १०
शब्द – अज्ञानता
सम्बद्ध शब्द र पदावली – कसैलाई केही थाहा थिएन, कुन्नि के अरे, नाउँचाहिँ बुझिँदैन ।
शब्दशृङ्खला – वाक्य ३४ देखि वाक्य ३७ सम्मको शृङ्खला, तीनपटक प्रयोग भएको, शृङ्खला कमजोर
शब्दशृङ्खला – ११
शब्द – पहिचान
सम्बद्ध शब्द र पदावली – नाउँथर बताएकी, नाउँथर खोपाएकी, नेपाल ।
शब्दशृङ्खला – वाक्य ३५ देखि वाक्य ३७ सम्मको शृङ्खला, सोझै प्रयोग तीनपटक भएको, शृङ्खला कमजोर
३.१.२ तथ्य विश्लेषणः
प्रस्तुत सङ्कथनको शब्दशृङ्खला १ को बलात्कार र त्यससँग सम्बद्ध शब्दहरूले बलात्कार क्रियालाई अभिव्यक्त गरेको छ । बलात्कार क्रियामा संलग्नलाई जनाउने बलात्कारी र बलात्कृत शब्दहरू यसमा आएका छन् । बलात्कारी एकभन्दा बढी व्यक्तिहरू रहेको कुरा शब्दशृङ्खला २ को बाह्रौँ, पहिलेपहिलेका, एघारौँ बलात्कारी, प्रतिक्षारत् बलात्कारी आदि शब्दहरूबाट देखिन्छ । शब्दशृङ्खला १ को बलात्कार क्रियामा बलात्कारीले गर्नुपर्ने हर्कतहरू शब्दशृङ्खला ३ को हातखुट्टा थिच्न, चुल्ठो समाउन, मुखमा उसकै सारी कोच्न शब्दहरू आएका छन् । शब्दशृङ्खला ४ को अचेत अवस्थाबोधक शब्दशृङ्खला १ को बलात्कार क्रियामा बलात्कृतको अवस्था बुझाउन आएको छ । शब्दशृङ्खला ५ का शब्दहरू शृङ्खला १ को बलात्कार कार्यमा संलग्न बलात्कारीको शृङ्खला ४ को अवस्था देखेपछिको प्रतिक्रियाका रूपमा आएको छ । शब्दशृङ्खला ६ बलात्कारीको पहिरनसँग सम्बन्धित भएर आएको छ । शब्दशृङ्खला ७ का शब्दहरू शृङ्खला १ को बलात्कारीले प्राप्त गरेको ज्ञानसँग सम्बन्धित भएर आएको छ । शब्दशृङ्खला ८ र ९ ले बलात्कृतको पूर्व अवस्थाबारे अनुमान गरेको छ । शब्दशृङ्खला १० ले शृङ्खला १ को बलात्कृतको बारेको अज्ञानता देखाएको छ । शब्दशृङ्खला ११ शृङखला १ को बलात्कृतको पहिचानसँग सम्बन्धित भएर आएको छ । यसरी शब्दशृङ्खला १ को बलात्कारसँग सम्बद्ध भएर आएको बलात्कार क्रिया, बलात्कारी र बलात्कृत शब्दहरूसँग सम्बद्ध भएरै अन्य शृङ्खलाका शब्दहरू आएका छन् । शब्दशृङ्खला ३ र ५ शृङ्खला १ को बलात्कार क्रियासँग सम्बद्ध भएर आएको छ । शब्दशृङ्खला २, ६ र ७ शृङ्खला १ को बलात्कारीसँग सम्बद्ध भएर आएको छ । शब्दशृङ्खला ४, ९, १०, ११ शृङ्खला १ को बलात्कृत शब्दसँग सम्बद्ध भएर आएको छ । यस प्रकार यसको पाठ बलात्कारसँग सम्बन्धित रहेको कुरा स्पष्ट हुन्छ । यसको सुरुको बलात्कार शब्दशृङ्खलासँग सम्बद्ध .भएर अन्य सबै शब्दशृङ्खलाहरू आएको हुनाले यसको शब्दप्रयोगको शृङ्खलात्मक सम्बन्ध सुदृढ बन्नपुगेको छ र यो पाठ सुसङ्गठित बनेको छ ।
जुन शब्दशृङ्खलाका शब्दहरू कम दुरीमा बढी आवृत्ति हुन्छन् त्यही शृङ्खला सबैभन्दा सुदृढ बन्न पुग्छ । माथिको शब्दशृङ्खलामा शृङखला एकको आवृत्ति अठारवटा वाक्यमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सत्रपटक भएको छ । यो शृङ्खला यस पाठको सबभन्दा सुदृढ शृङखला हो । त्यसैले शृङ्खला एकले अभिब्यक्त गरेको बलात्कार नै यस पाठको मुख्य विषय रहेको देखिन्छ । यसरी पाठमा निश्चित शब्दशृङ्खलाहरू एकआपसमा सम्बद्ध भएर आएका हुन्छन र सबै भन्दा सुदृढ र सुगठित शृङ्खलाले अभिव्यक्त गर्ने विषय उक्त पाठको मुख्य विषय हुने देखिन्छ ।
उपर्युल्लिखित शाब्दिक एकाइहरूको विश्लेषणबाट यस कथामा बलात्कार क्रिया भइरहेको देखिन्छ । शब्दशृङ्खला २ को क्रम बुझाउने शब्दहरूले बलात्कारीको सङ्ख्या धेरै रहेको र उनीहरूले पालैपालो बलात्कार गरिरहेको क्रियाकलापलाई देखाउँछ । शब्दशृङ्खला ३ को दबावमूलक क्रियाले बलात्कारको क्रममा प्रतिरोधको सामना गर्नु परेको अवस्थालाई देखाउँछ । शृङ्खला ४ को अचेत अवस्था बुझाउने शब्दहरूले बलात्कृतको बेहोश अवस्थालाई द्योतन गर्दछ । त्यसपछिको खुशी भावबोधक शब्दहरूबाट बलात्कृत बेहोश भई हलचल नगर्दा बलात्कारी झन् खुशी देखिन्छ । शृङ्खला ६ को पोसाक शब्दले बलात्कारी बर्दीधारी वा अधिकार प्राप्त व्यक्ति रहेको देखिन्छ । शृङ्खला ७ को शब्दहरूले बलात्कारीले प्राप्त गरेको ज्ञान, शिक्षा र अनुभवको भ्रष्टतालाई देखाउँछ । शृङ्खला ८ को अनुमान बोधक शब्दले बलात्कृतको विगतको सन्दर्भलाई देखाउँदै कथा रेखा बलात्कारीबाट बलात्कृतर्फ मोडिएको छ । त्यसपछिका शृङ्खलाहरूमा आएका शब्दहरूले बलात्कृतको परिस्थिति अत्यन्तै नाजुक रहेको, उसको पहिचान ॅनेपाल’ मात्र रहेको र त्यो पनि हराउन लागेको छ भन्ने देखाएको छ । यहाँ आएको नेपाल शब्दले बलात्कृतको थर नबुझाएर यस कथाको बलात्कृतले जस्तै विभिन्न राजनीतिक परिस्थितिका कारण अन्याय, अत्याचार, शोषण र पीडा सहन बाध्य नेपाल देशलाई पनि प्रतीकात्मक रूपमा प्र्रस्तुत गरेको छ । यसको पुष्टि यसै कथाको वाक्य ६ र ७ मा आएका बलात्कृत ॅनेपालको हिमाल, लेक, बेँसी र हरिया फाँट जस्ती छ । अनुहारमा शान्ति छ ।’ भन्ने वाक्यहरूले पनि गर्दछ । यस कथामा बर्दी लगाएका व्यक्तिहरूले एउटी अवला नारीलाई बलात्कार गरिरहे जस्तै वर्तमान नेपालमा शासन अधिकार प्राप्त व्यक्तिहरूले नै मातृभूमिमाथि शोषण र भ्रष्टाचार गरी देशको पहिचान सङ्कटमा पारिरहेकाले प्रस्तुत कथाको बलात्कृत नारी र नेपाल मातृभूमिबीच साधर्म्य रहेको छ । यसरी माथिको शाब्दिक शृङ्खलाहरूको विश्लेषणका आधारमा यस कथामा नेपालको पहिचान नै गुमनाम हुन लागेको अवस्थामा पनि बर्दी लगाएका अधिकार प्राप्त व्यक्तिहरूले नै लगातार बलात्कार गरिरहेका सन्दर्भलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ ।
३.२ बर्दी कथाको सन्दर्भ–विश्लेषण
कुनै कथन अथवा पाठमा सहभागी, स्थान र समय प्रसङ्ग वा सिलसिलामा मिलेर आएका हुन्छन् । यसरी आएको सहभागी, स्थान र समयको प्रसङ्ग वा सिलसिलालाई सङ्कथन विश्लेषणमा सन्दर्भ–विश्लेषणअन्तर्गत अध्ययन गरिन्छ । जुन सुकै पाठमा यी तीनवटै प्रसङ्ग समान रूपमा आएका हुँदैनन् । कुनै पाठ सहभागी केन्द्री हुन्छ, कुनै स्थान केन्द्री हुन्छ भने कुनै समय केन्द्री हुन्छ । यसरी पाठमा कुन सन्दर्भ प्रभावकारी भएर कसरी आएको छ भन्ने कुराको अध्ययन सन्दर्भ–विश्लेषणमा गरिन्छ । सामान्यतः पाठको पहिलो अनुच्छेदमा नै उपर्युक्त सन्दर्भहरूको सूचना दिइएको हुन्छ र त्यसैको आधारमा त्यस पाठमा कुन सन्दर्भ प्रमुख भएर आएको छ भनी पहिचान गर्न सकिन्छ । बर्दी कथामा आएका सहभागी, स्थान र समय सन्दर्भ, तिनीहरूको सिलसिला र प्रधानताको अध्ययन तथा विश्लेषण यस प्रकार गरिएको छ :
३.२.१ तथ्य प्रस्तुति
१.
सन्दर्भ – सहभागी
विवरण – बाह्रौँ बलात्कारी, बलात्कृत, पहिले पहिलेका बलात्कारीहरू, अन्य बलात्कारी साथीहरू, एघारौँ बलात्कारी, प्रतिक्षारत बलात्कारी, आमा, नेपाल
२.
सन्दर्भ – स्थान
विवरण – भित्र, नेपालको हिमाल, लेक, बेँसी, हरिया फाँट, बाहिर, नदी
३
सन्दर्भ – समय
विवरण – समय स्पष्ट नभएको,
क्रियाको कालिक समय — भूत (छाडिसकेकी थिई, थियो, हेर्यो, मुग्ध भयो, हुन लाग्यो, अग्रसर भयो, पसेको थियो, संलग्न भयो, हिचकिचायो, सोध्यो, जन्मेकी थिई, हुर्किएकी थिई, गुज्रदै थिई, खोपाएकी रहिछ ), वर्तमान (जस्ती छ, शान्ति छ, हलचल गर्दिन, तातै छ, बुझिँदैन, प्रस्ट छ )
३.१.२ तथ्य विश्लेषण
'बर्दी’ कथाको पहिलो वाक्यमा नै सहभागी (बाह्रौँ बलात्कारी, उसले), स्थान (भित्र) र समय (छाडिसकेकी थिई) को क्रमिक प्रस्तुति रहेको छ । यसमा सहभागीको रूपमा बलात्कारीहरू र बलात्कृत रहेका छन् । कथाको सुरूमा नै बाह्रौँ क्रममा आउने बलात्कारी भनेर जानकारी दिनुले ऊअघि एघारजना बलात्कारी रहेका पूर्व सन्दर्भलाई जनाउँछ । यसको पुष्टि दोस्रो वाक्यमा आएको ॅपहिले पहिलेका बलात्कारी’ भन्ने पदावलीले पनि गर्दछ । सहभागीकै रूपमा बाह्रौँ बलात्कारीपछि प्रतिक्षारत बलात्कारीहरू पनि रहेकाले बलात्कारीहरूको सङ्ख्या धेरै रहेको देखिन्छ तर तिनीहरूको सङ्ख्या कति भनेर प्रस्ट उल्लेख छैन । साथै बलात्कारीहरू को हुन् भन्ने जानकारी पनि पाइँदैन तर ती बलात्कारीहरू बर्दीधारी हुन् भन्ने जानकारी पाइन्छ ।
बर्दी कथामा अर्को सहभागीका रूपमा बलात्कृत रहेकी छे । उसलाई कथाको पहिलो वाक्यमा उसले भनेर चिनाइको छ । ऊ कथामा घटना सुरू हुनु अगाडिदेखि नै बलात्कृत भइरेहेकी छे । कथा सुरू हुँदा उसको अवस्था हलचल गर्न नसक्ने छ । उसको नाम, ठेगाना केही पनि छैन तर उसको पाखुरामा खोपाएको लेखोटको आधारमा ऊ नेपाल थरकी हो भन्ने मात्र प्रस्ट हुन्छ । त्यस्तै यस कथामा आमा शब्दको पनि प्रयोग गरिएको छ । यहाँ आमा भनेर तिनै बलात्कृतलाई सम्बोधन गर्ने क्रममा बलात्कारीहरूले भनेका छन् । त्यसैले आमा अर्को कुनै सहभागी नभई तिनै बलात्कृत हुन् । यसरी प्रस्तुत कथामा सहभागी सन्दर्भका रूपमा बलात्कारीहरू र बलात्कृत आएका छन् । यस कथाको सुरूमा नै सहभागीहरूको सन्दर्भमा पाठक जानकार छन्जस्तो गरेर (बाह्रौँ बलात्कारी, उसले) प्रस्तुत गरिएको छ । यहाँ सहभागीहरूलाई पश्च सन्दर्भको रूपमा प्रस्तुत गरिएको छ । उनीहरूका बारेमा सुरूमा कुनै सूचना दिइएको पाइँदैन । कथाको घटनाको विकाससँगसँगै उनीहरूबारे जानकारी दिइएको छ ।
बर्दी कथामा स्थान सन्दर्भको प्रस्ट उल्लेख गरिएको छैन । यस कथाको घटना कुन स्थानमा घटित भएको हो भन्ने यहाँ प्रस्ट छैन तर पहिलो वाक्यमा प्रयोग गरिएको ॅभित्र’ शब्दले यस कथाको घटना घटेको स्थान कोठाभित्र हो भन्ने देखिन्छ । त्यस्तै यस कथाको वाक्य २६ मा प्रयुक्त 'बाहिर’ शब्दले कोठाबाहिरको स्थानलाई पनि देखाएको छ । यसरी प्रस्तुत कथाको घटना घटेको स्थान कोठाभित्र र बाहिर रहेको छ । कथामा कोठाभित्र बलात्कारीहरूले बलात्कार गरिरहेका छन् भने बाहिर अन्य बलात्कारीहरू प्रतिक्षारत् छन् । त्यस्तै प्रस्तुत कथामा नेपाल, लेक, बेँसी, हरिया फाँटजस्ता स्थानिक शब्दहरू पनि आएका छन् तर यस कथामा ती शब्दहरूको प्रयोग स्थानबोधक रूपमा नभएर बलात्कृतको शालिन अवस्थाको चित्रण गर्ने क्रममा भएको छ । त्यसैले यस कथाको स्थान सन्दर्भ कोठाभित्र र बाहिर रहेको छ ।
बर्दी कथाको समय सन्दर्भ वर्ष, ऋतु, महिना, गते, बार आदिका रूपमा प्रस्ट उल्लेख गरिएको पाइँदैन । यस कथामा प्रयुक्त कालबोधक क्रियाका आधारमा मात्र यसको समय सन्दर्भ पहिचान गर्न सकिन्छ । यसमा भूत काल र वर्तमान कालबोधक क्रियाहरूको प्रयोग गरिएको छ । भूतकालमा पनि सामान्य भूत (भएन, थियो, हेर्यो, लाग्यो, सम्झ्यो) पूर्ण भूत (छोडिसकेकी थिई, पसेको थियो, भैसकेका थिए) र अज्ञात भूत (खोपाएकी रहिछ) पक्षहरू आएका छन् । वर्तमान कालबोधक क्रिया (जस्ती छ, शान्ति छ, हलचल गर्दिन, तातै छ, बुझिदैन, प्रष्ट छ) आएका छन् तर ती क्रियाहरू भूतकालमा नै घटित भइसकेका तर प्रत्यक्ष कथनमा आएका छन् । ( उसले आफैँसँग सोध्यो — 'बर्दी लगाएर बलात्कार गर्नु हुन्छ कि हुन्न ? उसलाई थाहा छन ।’ यसरी प्रस्तुत कथामा बिशेष गरी भूतकालिक क्रियाहरूको प्रयोग गरिएको हुनाले यसको घटना भूत कालमा घटित भएको छ ।
३.३ बर्दी कथामा प्रतिस्थापन
पाठमा पहिले नै भनिएको कथन, कार्य वा घटनाको पुनरुक्तिका सट्टा त्यस ठाउँमा निदर्शकको प्रयोगलाई प्रतिस्थापन भनिन्छ । प्रतिस्थापनले पाठको कथनलाई सङ्क्षिप्त पार्नुका साथै वाक्यवाक्य वा वाक्य र उपवाक्यबीच सम्बन्ध स्थापित गर्न पनि सहयोग गर्छ । एउटै कथन बारम्बार दोहोरिँदा कथन प्रभावकारी हुँदैन । प्रतिस्थापनले कथनलाई दोहोरिन नदिई चुस्त र सङ्क्षिप्त बनाउँछ । यसले कथनलाई प्रभावकारी बनाउनुका साथै संसक्तिमूलक अर्थको सिर्जनामा समेत सहयोग गर्छ ।
पहिले नै भनिएको कथनको प्रतिस्थापन गर्न आउने पदलाई निदर्शक (डेक्सिस) भनिन्छ । यो व्यक्तिवाचक, स्थानवाचक, सामाजिक, अन्तःसन्दर्भित, पूर्वसन्दर्भित, पश्चसन्दर्भित आदि विभिन्न प्रकारका हुन्छन् । यसले वाक्यको पद, पदावली, उपवाक्य, वाक्य तथा अनुच्छेदको प्रतिस्थापन गर्छ ।
३.३.१ तथ्य प्रस्तुति
'बर्दी’ कथामा पनि विभिन्न पद, पदावली, उपवाक्य, वाक्य तथा वाक्यहरूलाई निदर्शक पदहरूले प्रतिस्थापन गरी वाक्यीय संरचनालाई सङ्क्षिप्त र सबलीकृत बनाएको छ । यस कथाका विस्थापित अंश र प्रतिस्थापित पदहरू यस प्रकार रहेका छन् :
पातिस्थापित पद (निदर्शक) विस्थापित अंश
उसले बलात्कृतले
यो हलचल गर्न छाडेको
उसले बलात्कृतले
त्यो गरिबगुरुवा र बेसहाराको मदतका लागि अफिसले दिएको लाइट
त्यो देखेर बलात्कृत नेपालको हिमाल, लेक, बेँसी र हरिया फाँट जस्ती छ । अनुहारमा अनन्त शान्ति छ ।
जे गरे पनि सबै कुकर्महरू गरे पनि
३.३.२ तथ्य विश्लेषण
माथिको तालिकामा बाँया भागमा प्रतिस्थापित पद र दाँया भागमा विस्थापित अंश दिइएको छ । प्रतिस्थापनको माध्यमबाट यस कथाको पाठ सङ्क्षिप्त, सूत्रात्मक, साङ्केतित तथा सारकथनमूलक बनेको छ । यस कथामा पाइने चरित्र, घटना, कार्य आदिको वर्णनमा प्रतिस्थापित पदहरूले सहज र सङ्क्षिप्त बनाएको छ । यस कथाको वाक्य ५, ६, ७, र ८ मा प्रयोग भएको प्रतिस्थापन पदले यसको कथनलाई बनाएको सङ्क्षिप्तता र सहजता यस प्रकार रहेको छ :
५) उससँग (बलात्कारीसँग) गरिबगुरुवा र बेसहाराको मदतका लागि अफिसले दिएको लाइट थियो ।
६) उसले त्यो (गरिबगुरुवा र बेसहाराको मदतका लागि अफिसले दिएको लाइट) बालेर हेर्यो — बलात्कृत नेपालको हिमाल, लेक, बेँसी र हरिया फाँट जस्ती छ ।
७) अनुहारमा शान्ति छ ।
८) त्यो (बलात्कृत नेपालको हिमाल, लेक, बेँसी र हरिया फाँट जस्ती छ । अनुहारमा शान्ति छ ।) देखेर बलात्कारी मुग्ध भयो ।
माथिको उदाहरणमा वाक्य ५ को उससँग पदले बलात्कारीसँग पदलाई विस्थापित गरेको छ । त्यस्तै वाक्य ६ मा आएको त्यो पदले गरिबगुरुवा र बेसहाराको मदतका लागि अफिसले दिएको लाइट भन्ने उपवाक्यलाई विस्थापित गरेको छ । त्यस्तै वाक्य ८ मा आएको त्यो पदले बलात्कृत नेपालको हिमाल, लेक, बेँसी र हरिया फाँट जस्ती छ । अनुहारमा शान्ति छ भन्ने वाक्य समूहलाई प्रतिस्थान गरेको छ । यसरी पाठमा आएका प्रतिस्थापन शब्दहरूले पाठलाई सङ्क्षिप्त बनाउनुका साथसाथै सूत्रात्मक र सारकथनमूलक पनि बनाउँछ ।
४ निष्कर्ष
बर्दी कथामा निश्चित शब्दहरूको शृङ्खलित प्रयोग गरिएको छ । यस कथामा प्रयुक्त शब्दहरू विभिन्न एघार शृङ्खलाहरूमा आए पनि ती शृङ्खलाका शब्दहरू पहिलो शृङ्खलाको बलात्कार शब्दसँग नै सम्बन्धित भएर आएका छन् । पहिलो शृङ्खलाको बलात्कार शब्दअन्तर्गत बलात्कारी, बलात्कार क्रिया र बलात्कृत तीन शब्दहरू आएका छन् । यिनै शब्दहरूसँग सम्बद्ध भएर अन्य शृङ्खलाका शब्दहरू आएका छन् । त्यस्तै शृङखला एकको आवृत्ति अन्य शृङ्खलाभन्दा बढी अठारवटा वाक्यमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सत्रपटक भएको छ । जुन शब्दशृङ्खलाको आवृत्ति धेरैपटक हुन्छ त्यस शब्दशृङ्खला नै सबैभन्दा सुदृढ हुने हुनाले यस कथाको बलात्कार शब्दको शृङ्खला नै सुदृढ र सुगठित बन्न पुगेको छ र यो कथा बलात्कारसँग सम्बन्धित रहेको पनि स्पष्ट हुन्छ । त्यस्तै यस कथाको शब्दशृङ्खला एघारमा बलात्कृतको थर बुझाउन आएको नेपाल शब्दले उसको थरका साथै प्रतीकात्मक रूपमा नेपाल देशलाई पनि बझाएको छ । यस कथामा बलात्कारीलाई बर्दीधारीहरूले निर्ममतापूर्वक बलात्कार गरिरहे जस्तै नेपाली मातृभूमिमाथि अधिकार प्राप्त सत्तासीन व्यक्तिहरूले शोषण, अन्याय, अत्याचार र भ्रष्टचार गरी देशको अस्तित्वलाई सङ्कटमा पारिरहेको वर्तमान सन्दर्भलाई यस कथामा प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ ।
प्रस्तुत कथामा सहभागी सन्दर्भ मात्र प्रस्ट रूपमा आएको छ । यस कथामा समय सन्दर्भ र स्थान सन्दर्भ प्रस्ट रूपमा आएका छैनन् । यहाँ घटनालाई गतिशील बनाउने भूमिका पनि सहभागी पात्रहरूको नै रहेको छ । यस कथाको सुरूमा नै बाह्रौँ बलात्कारी भनेर सहभागीको सूचना दिइएको छ । यस कथाको अन्त्य पनि सहभागीको थर ॅनेपाल’ भनेर गरिएको छ । त्यस्तै प्रस्तुत कथाको शीर्षक ॅबर्दी’ पनि सहभागी व्यक्तिले लगाउने पोसाकसँग सम्बन्धित रहेको छ । उपर्युक्त साक्ष्यहरूका आधारमा प्रस्तुत कथामा सहभागी सन्दर्भ प्रमुख भएर आएको छ । प्रस्तुत कथामा प्रयुक्त प्रतिस्थापित पदले पाठको वाक्यलाई सङ्क्षिप्त र सहज बनाएको छ । यसले वाक्यात्मक संरचनाको अर्थलाई सङ्केत गर्ने हुनाले वाक्यहरूबीच आर्थी सम्बन्ध स्थापित भएको छ र अनुच्छेद संसक्तिपूर्ण बनेको छ । यसबाट वाक्यात्मक सहसम्बन्ध र आर्थी साहचर्यको सिर्जना हुन गई पाठको संरचना सङ्गठित भएको छ ।