18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रविलाल अधिकारीः जीवनका बहुआयामिकतामा

जीवनी प्रा.डा. यदु नन्दन उपाध्याय July 28, 2025, 12:42 am
प्रा.डा. यदु नन्दन उपाध्याय
प्रा.डा. यदु नन्दन उपाध्याय

१. जन्म र बाल्यकाल
रविलाल अधिकारीको जन्म २००२ असार १६ गते हालको गण्डकी प्रदेशअन्तर्गत कास्की जिल्लाको मादी गाउँपालिका वडा नम्बर ९ गोर्जेमा भएको हो । सो गाउँ २०३२ पूर्व लमजुङ जिल्लाअन्तर्गत पर्दथ्यो । अधिकारीका पिताको नाम काशीनाथ अधिकारी र माताको नाम राधिकादेवी अधिकारी हो । अधिकारी दम्पतीका दुई सन्तानमध्ये रविलाल जेष्ठ सन्तान र एक मात्र पुत्र हुन् । उनकी बहिनीको नाम बुद्धिमाया अधिकारी हो । बाबुआमा कृषिकर्ममै केन्द्रित भइआएका हुनाले सानैदेखि उहाँहरूलाई सघाउनेसमेत गरेका अधिकारीको बाल्यकाल आर्थिक दृष्टिले त्यति सुखसन्तुष्टिको नभए पनि एक मात्र छोरो भएकाले मातृपितृवात्सल्यको थप लाभ प्राप्त भएको बुझिन्छ । यसो भएकाले तत्कालीन अवस्थामा ग्रामीण परिस्थितिअनुसारका सङ्घर्ष र उकालीओरालीका साथ घरायसी कामकाज गर्दै मायाममतासहितको परिवेशमै अधिकारीको बाल्यकाल गुज्रिएको बुझिन्छ ।

२. शिक्षा
रविलाल अधिकारीको शिक्षारम्भ छसात वर्षको उमेरपछि गाउँमै २००६ सालमा स्थापित तथा सञ्चालित गोर्जे भाषा पाठशालाबाट भएको हो । सामान्य लेखपढ गर्नसक्ने भएपछि परिवारबाट श्राद्ध आदि कर्मकाण्ड गर्नसक्ने बनाउन भनी पाण्डितहरूका सल्लाहअनुसार उनले संस्कृत भाषाका ‘अग्निस्थापना’, ‘एकोदिष्ट पार्वण श्राद्धविधि’लगायतका पुस्तकहरू पढ्न थालेका थिए । पछि सोही पाठशालाका गुरु कास्की, अर्घौँका हेमराज अधिकारीले त्यसका लागि पनि संस्कृत भाषामा दखल बढाउनुपर्ने भनी पाणिनिको संस्कृत व्याकरण ‘लघु सिद्धान्त कौमुदी’का साथै ‘अमरकोश’, ‘हितोपदेश’ आदि कृति पढ्नुपर्ने भनी उत्प्रेरित गरेकाले ती पुस्तकको ज्ञानतिर पनि उनी लागे (अधिकारी, २०७२ पृ.४५) । यस क्रममा उनले करिब १९ वर्षको उमेरसम्म पठनपाठनलाई अघि बढाउँदै घरायसी काम सघाउने र बाबुआमाको सान्निध्यमा जीवन व्यतीत गर्नु पर्‍यो । पिताको वृद्धताका कारण घर छोडेर पढाइ अघि बढाउन नपाएका अधिकारीले २०२१ सालमा पिता काशीनाथको निधनपछि एक वर्षजति काठमाडौँस्थित रानीपोखरी संस्कृत प्रधान पाठशालामा र पछि थप अध्ययनका लागि २०२२ सालमा बनारस प्रस्थान गर्दछन् । बनारसमा उनले नेपाली संस्कृत महाविद्यालय, मङ्गलागौरीमा २०२२ देखि २०२७ सम्म नियमित अध्ययन गरी तत्कालीन वाराणसेय संस्कृत विश्वविद्यालय तथा हालको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट साहित्य र नेपाली मूल विषय लिएर पूर्वमध्यमा, उत्तरमध्यमासहित शास्त्री (स्नातक) तहसम्मको अध्ययन सम्पन्न गरेका हुन् ।

रविलाल अधिकारीको स्नातकोत्तर तहको अध्ययन २०३१ सालमा प्राइवेट विद्यार्थीका रूपमा त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा सम्पन्न भएको हो । उनले प्राध्यापन कर्मको थालनी गरेसँगै पेसागत अभिवृद्धिका निम्ति त्रिविबाटै २०५५ सालमा विद्यावारिधि (पिएच.डी.) उपाधि हासिल गरेका हुन् । उनको विद्यावारिधि नेपाली विषयअन्तर्गत ‘प्रगतिवादी नेपाली समालोचनाको विश्लेषणात्मक अध्ययन’ शीर्षकमा सम्पन्न भएको हो । पारिवारिक रूपमा अधिकारीको पढाइमा पहिले आमाको उत्प्रेरणा र पछि परिवेश निर्माणमा चाहिँ श्रीमती सम्झनादेवी अधिकारीको महत्त्व रहेको बुझिन्छ । घरव्यवहारका सबै जिम्मेवारी श्रीमती अधिकारीले पूरा गरेर पठनपाठनमै केन्द्रित हुने परिवेश निर्माण नगरिदिएका भए रविलाल अधिकारीको आजको व्यक्तित्व प्रकट हुन सम्भव थिएन नै । उनको औपचारिक अध्ययन उपर्युक्त विवरणअनुसारको रहे पनि अनौपचारिक अध्ययनको आयाम फराकिलो छ । प्रायः नेपालीसहित हिन्दी र संस्कृत भाषाका पनि जानकार अधिकारीले ती भाषाका अनेकौँ कृतिहरूको अध्ययन गरेका छन् । उनको अध्ययनको फराकिलोपन आफ्ना दुई दर्जन भन्दा बढी कृतिका विभिन्न सन्दर्भमा प्रसिद्ध साहित्यिक प्रतिभाका आनीबानी र विशेष खालका अनेकौँ प्रसङ्गहरू, समाविष्ट सूचना एवं विविध समृद्ध ज्ञानानुभवका प्रसङ्गहरूले पनि पुष्टि गर्दछन् ।

३. पारिवारिक जीवन र स्वभाव
रविलाल अधिकारीको पारिवारिक जीवन निम्नमध्यम वर्गीय किसान परिवारबाट सुरु भएको हो । उनको बाल्यकाल सामान्य केटाकेटीको जस्तो जीवन व्यवहारमा हुर्केबढेको देखिन्छ । निम्नमध्यम वर्गीय परिवारका भएकाले उनले बाल्यकालीन अवस्थामा आर्थिक दृष्टिले सुखसन्तुष्टिको स्याहारसुसार नपाउनु अस्वाभाविक होइन । उनको परिवारमा पहिला बाबाआमाका अतिरिक्त स्वयं अधिकारी र बहिनीसहित चार जना रहेका हुन् । पछि २०२८ सालमा पहिलो विवाह रुक्मिणी सुवेदीसँग भएपछि पाँच जनाको पारिवारिक जीवन सुरु हुन्छ । पिताको स्वास्थ्य त्यति राम्रो नभएकोले घरको व्यावहारिक नियन्त्रण आमाकै मातहत रहने गरेको र स्वयं अधिकारीबाट पनि आमाकै मातहतको पारिवारिक अनुशासन प्राप्त गरेको स्वीकारोक्ति विभिन्न कृतिहरूमा पाइन्छ । पहिलो विवाह असफल भएपछि अधिकारीको दोस्रो विवाह २०३१ सालमा रिस्ती रम्घा हालको मध्यनेपाल नगरपालिका लमजुङ निवासी चन्द्रकान्त आचार्य र पिमला आचार्यकी छोरी सम्झनादेवी अधिकारीसँग भएको हो । तत्कालीन परिवेशअनुसार १२ वर्ष पूरा भएर १३ वर्ष लागेको कलिलो उमेरमै सम्झना अधिकारीसँग विवाह गरेका रविलालले श्रीमतीलाई पढाउन भनी कन्या मा.वि. नदीपुर, पोखरामा ल्याई भर्ना गराएका भए पनि घरायसी व्यावहारिक कठिनाइले सो कार्य अघि बढ्न नसकेको बुझिन्छ ।
रविलाल अधिकारी विभिन्न साहित्यिक कार्यक्रममा पोखराका साथै अन्य ठाउँहरूमा पनि सहभागी हुने स्वभावका थिए । साथसाथै उनले यदाकदा घुमफिर गर्न श्रीमतीलाई पनि सँगै लैजाने गरेको जानकारी प्राप्त हुन्छ । यो कुरो कलैया, बन्दीपुर, कालीगण्डकी जलविद्युत परियोजना, लमजुङ दरबार आदि थुप्रै स्थानका भ्रमण प्रसङ्गहरूले प्रस्ट पार्छन् । उनी भारतको बनारस, कलकत्ता, दिल्ली, पटना, दार्जलिङलगायत अरू विभिन्न स्थान र नेपालका पनि थुप्रै जिल्लाहरूको भ्रमणमा पुगेको देखिन्छ । ती धेरै स्थानहरूमा एक्लै र कतिपय ठाउँमा साहित्यिक सहकर्मीसँग भ्रमणमा सहभागी भएको पाइन्छ । परिवारमा अधिकारीका दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । जेठा छोरा प्रमोद अधिकारी राष्ट्रिय वाणिज्य बैङ्कका अधिकृत छन् भने कान्छो छोरा प्रमाण अधिकारी गैरसरकारी संस्थामा कार्यरत छन् । छोरी प्रमिता अधिकारी हाल अमेरिकाको न्यूयोर्कस्थित नेपालको स्थायी नियोगमा कार्यरत छन् । प्रमोदको विवाह मञ्जु सापकोटासँग तथा प्रमाणको विवाह सुस्मिता सुवेदीसँग भएको हो । छोरी प्रमिताको विवाह बुटवल, रूपन्देहीका नवीन पौडेलका साथ भएको हो । हाल अधिकारीका छजना नातिनातिना छन् ।

अधिकारीको पछिल्लो पारिवारिक व्यक्तित्व पनि सरल, मिलनसार र व्यावहारिक किसिमको पाइन्छ । उनले प्राध्यापनको व्यस्तता र सिर्जना एवं समालोचनात्मक क्रियाशीलताका कारण घरका काममा बढी समय दिन नसकेको उल्लेख गरेका छन् । घरेलु काममा दक्षता नरहेकाले नै आफू घरव्यवहारमा अकुशल रहेको अनि त्यसै कारण आफूले पारिवारिक पराधीनता स्वीकार्न बाध्य भएको जानकारी उनले विविध लेखमार्फत समेत गराएका छन् । उनले परिवारमा पहिले बालकिशोर वयमा आमाका अधीनमा रहनु परेको र पछि श्रीमती र अन्य पारिवारिक सदस्यकै अधीनमा नियन्त्रित भई बस्नु परेको अभिव्यक्ति आफ्नै सिर्जनामार्फत यसरी व्यक्त गरेका छन् (अधिकारी, २०७० पृ.१४, १६) ।
व्यवहारमा म आफै अकुशल भएकाले अरूका पराधीनतामा रहेर जिततिन जीवन घिच्याउन परेको छ । परिस्थिति र परिवेशले परिवारमा म भन्दा अरू नै टाँठाबाठा र व्यावहारिक बनेर ममाथि शासन गर्न सक्ने भए । हिजोदेखि आजसम्म अरूबाट शासित बनेर आफू पराधीनतामा बाँच्न पर्ने भयो । मेरै सुन्दर भविष्यको कल्पना गरेकी भए पनि विशेष ताडना गरेर मलाई अधीनमा पारी आफ्नो हैकम जमाउने कुशलता म सानो छँदा मेरी आमाले देखाउनु भयो । उहाँ आफू व्यवहारमा कुशल भएपछि उहाँका इसारामा मैले चल्नै पर्ने भयो । ‘पिता रक्षति कौमारे’ (यहाँ कुमारको सन्दर्भ) भन्ने मनुका मान्यतालाई मैले स्वीकार गरेँ । आमाको निधनपछि ५/७ वर्ष मेरा हैकममा घर चल्यो होला तर त्यसपछि मैले श्रीमतीको हैकम स्वीकार नगरी भएन । हैकम चलाउने नाममा श्रीमतीसँग असहमत बनी काम व्यवहार गर्ने र कटु सम्बन्ध कायम गर्ने हो भने त्यस किसिमका छत्तिसे दाम्पत्य जीवनलाई उपयुक्त दाम्पत्य जीवन भन्न सकिँदैन ।...हिजो मेरी आमाका पालादेखि आज कान्छा छोरासम्मले मलाई आफ्ना मुठीको माखो बनाउन र अधीनमा राख्न खोजेको तितो अनुभव छ ।
रविलाल अधिकारीलाई पारिवारिक आड र हौसला प्रदान गरिरहेकी ममतामयी आमा राधिकादेवी अधिकारीको मृत्यु २०४० मा भयो । यस दुखद घटनाबाट आहत रविलालले ‘आँसुको अँजुली’ नामक शोककाव्य पनि रचेर आफ्ना शोकाकुल भावहरू व्यक्त गरेका छन् । आमाको निधनपछि पारिवारिक जिम्मेवारी सबै श्रीमती सम्झनादेवीमा थपियो । यसबारे छोरी प्रमिता अधिकारीको देहायबमोजिमको भनाइ (अधिकारी, २०८१, पृ.११५) पनि यहाँ सान्दर्भिक देखिएको छ ।

घरमा आउने पाहुनापाछा, तिनको सेवासत्कार, पारिवारिक भेटघाट, चाडपर्व, विवाह ब्रतबन्धलगायतका सांस्कृतिक क्रियाकर्ममा आमाले बालाई सकेसम्म संलग्न हुन भन्नुभएन । बरु बाको सोधीखोजी हुँदा बहाना बनाएर नआउनुको कारण ढाकछोप गरिदिनु भयो होला तकि बाको पढाइलेखाइमा बाधा नपुगोस् । घरव्यवहार प्रायः आमाले धान्नु भयो । त्यसैले पनि होला पारिवारिक इष्टमित्र, नातागोतामा बाको भन्दा आमाको बढी खोजी भयो र बाको अनुपस्थिति पनि सहज बन्यो ।

रविलाल अधिारीको कर्मशील र मिहेनती स्वभावबारे छोरा प्रमोद अधिकारीको भनाइ (अधिकारी, २०८१, पृ. १०६) पनि सान्दर्भिक छ । उनका भनाइमा “बुबा अध्ययनमा यति लगनशील हुनुहुन्थ्यो कि उहाँ हरेक बिहान चार बजेपछि उठ्नुहुन्थ्यो र बत्ती बालेर पढ्दा आमाको निद्रा बिथोलिएला भनेर भान्छाकोठा खोलेर पढ्नुहुन्थ्यो ।” परिवारिक सदस्यका यस्ता अनुभवले पनि रविलालको कामप्रतिको नियमित र निरन्तर लगावको परिचय दिन्छन् । उनले सधैँ प्राध्यापन पेसा र साहित्यसेवामा मात्र चिन्तनमनन एवं विचार विमर्श गरिरहे । बोली र व्यवहारमा कत्ति पनि आडम्बर प्रदर्शन नगर्ने, अरूप्रति ईर्ष्या, डाह, बदला वा प्रतिशोधको भावनाभन्दा माथि उठेका व्यक्तित्वका रूपमा उनी परिचित रहे । यीबाहेकका राजनीतिक एवं सामाजिक गफगाफमा उनी सितिमिति सहभागी हुँदैनथे । तुलनात्मक रूपमा शब्द र कर्ममा एकरूपता भएका, सादा जीवन र उच्च विचारका धनी स्वभावका, आफ्नै कर्मसंस्कारका कारण लगनशीलता, इमान्दारिता, कर्तव्यनिष्ठा र अनुशासनको पाठ सन्ततिमा हस्तान्तरण गरेका र छोराछारीमा भेदभावको व्यवहार नगर्ने व्यक्तिका रूपमा रविलाल अधिकारी देखापर्छन् ।

रविलाल अधिकारीमा केही स्वभावगत कमजोरी रहेको कुरा उनलाई नजिकैबाट बुझ्नेहरू बताउँछन् । मुखमा आएको कुरा नमिलाइकन प्वाक्क बोलिदिनाले कतिपय घटनामा समस्या बढाउने गरेका, कतिपय साहित्यिक साथीबारे पनि समग्रतामा नबुझीकन आंशिक घटना वा प्रवृत्तिका आधारमा हल्का टिप्पणी गरिदिने गरेका, सबैथरि साहित्यका पाठकका लागि लेख्न खोज्दा कसैको पनि हुन नसकेको महसुस आफै गरेका, प्रगतिशील एवं प्रगतिवादी साहित्यकारका रूपमा प्रतिष्ठित भए पनि जुनसुकै विचार र पुरातन चिन्तन बोकेका कृतिको भूमिका लेख्न अस्वीकार गर्न नसकेका, जस्तासुकै पुरस्कार एवं सम्मान पनि ग्रहण गरेर आफ्नो वैचारिक प्रतिष्ठा जोगाउन नसकेका आदि उनीमाथिका आलोच्य पक्ष पनि देखापर्छन् । यस्ता स्वभावजन्य कमजोरीहरू उनका मानवीय त्रुटिका रूपमा रहे पनि उनबाट ग्रहण गर्नुपर्ने प्रेरणादायी पक्षहरू भने धेरै रहेको देख्न सकिन्छ ।

४. शिक्षण एवं प्राध्यापन
सामान्य किसान परिवारमा जन्मेका र पारिवारिक आर्थिक स्थितिमा पनि बलिया नभएका रविलाल अधिकारीले आजीविकाका निम्ति कुनै न कुनै पेसा अँगाल्नु पारिवारिक आवश्यकता र बाध्यता पनि थियो नै । उनले गाउँमा पढ्ने बेला घरायसी काममा सघाउने तथा बनारसमा पढ्दा जसोतसो खर्चपर्च चलाउने गरेको बुझिन्छ । स्नातक उत्तीर्ण गरेपश्चात् जीविकोपार्जनका निम्ति पहिले आफ्नै गाउँमा शिक्षण पेसामा संलग्न भए । उनले नवलपरासीको वर्दघाटमा सुकुम्बासी भएर बसेका बेला गाउँबाट नेपाली पढाउने मास्टर भएर बस्न आग्रह भएपछि गाउँमा फर्केर शिक्षण कार्यको थालनी गरेको जनाएका छन् (अधिकारी, २०७० पृ. ३१) । उनले गाउँकै तत्कालीन हिमालय निम्नमाध्यमिक विद्यालयमा २०२८ सालदेखि २०३५ सालसम्म सात वर्ष शिक्षण कार्य गरेको देखिन्छ । उनले त्यहाँ प्रधानाध्यापकसमेत भई नेपाली, संस्कृतलगायतका विषयको शिक्षण गरी स्थानीय शैक्षिक जागरणमा पनि भूमिका खेलेको पाइन्छ । आर्थिक रूपले कमजोर परिवारका रविलाल अधिकारीलाई शिक्षकमा नियुक्त गरेपछि स्थानीय खानदानी भनिएकाहरूबाट विवाद झिकिएको र त्यसले उग्र रूप लिई त्यस खानदानी संस्कारको सिकार आफूसमेत भएको एउटा सन्दर्भ रघुनाथ अधिकारीले पनि व्यक्त गरेको पाइन्छ (अधिकारी, २०८१, पृ ५०) अधिकारीले भने आफ्नो जीवनका सात वर्ष गोर्जेमा शिक्षणसेवा गर्न पाएको स्मरण गर्दै “जन्मभूमिका निमित्त केही काम गरेकाले केही मात्रामा भए पनि जन्मभूमिको ऋण तिर्न सकेँं भन्ने लागेको (अधिकारी, २०७० पृ. ३२)” जनाएर जन्मभूमिप्रतिको कृतज्ञभाव व्यक्त गरेका छन् । यही शिक्षण पेसाका सिलसिलामै उनले एम.ए. पनि उत्तीर्ण गरेका हुन् । यसका अतिरिक्त केही वर्ष उनले फिस्टेल बोर्डिङ स्कुल, पोखरामा पनि नेपाली विषयको शिक्षण कार्य गरेको देखिन्छ ।

रविलाल अधिकारीले नेपालीमा एम.ए.उत्तीर्ण गरेपछि पनि केही वर्ष क्याम्पसमा प्राध्यापनको मेलोमेसो जुटेको थिएन । प्रमाण अधिकारीको संस्मरणमा उल्लेख भएअनुसार आमा राधिकादेवीको “गाउँबाट चामल र घ्यु पोखरा लगेर बेचेँ । खर्च जुटाएर पढाएँ । अनि यो सबै दुख गरेको गाउँकै स्कुलको मास्टर मात्र भएर बस्न हो (अधिकारी, २०८०, पृ ११७) ?” भन्ने भनाइले पनि रविलाललाई पिरोलिरहेको थियो । यही क्रममा उनलाई त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनको अवसर जुट्यो । उनले त्यहाँ २०३५ सालमा सहायक प्राध्यापकमा नियुक्ति लिए । प्राध्यापनकर्ममा क्याम्पसमा सक्रिय भएका उनले स्थायी हुने क्रममा २०३९ सालमा महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज बाँके गएर ठिक एक वर्ष त्यहाँ सेवा गरेपछि सरुवा भई पुनः पोखरास्थित पृथ्वीनारायण क्याम्पसमै फर्केर प्राध्यापनकार्यलाई निरन्तरता दिए । यसै क्याम्पसमा उनले क्रमशः २०४२ सालमा उपप्राध्यापक, २०५४ सालमा सहप्राध्यापक र २०६५ सालमा प्राध्यापक भई उच्च तहको प्राध्यापन एवं अनुसन्धानको उपक्रम अघि बढाए । क्याम्पसमा उनले प्रवीणता प्रमाणपत्र, स्नातक एवं स्नातकोत्तर तहको शिक्षण कार्य गर्नुका साथै शोधनिर्देशन, शोधविशेषज्ञसमेत भई प्राज्ञिक जिम्मेवारीलाई सफलतापूर्वक अघि बढाएको पाइन्छ । विश्वविद्यालयमा प्राध्यापन गर्नुलाई गौरवमय पेसा ठानेर सन्तुष्टिको अनुभव गर्ने अधिकारीले नेपाली विभागको विभागीय प्रमुखको प्राज्ञिक जिम्मेवारीमा पनि रही पठनपाठन र अध्ययन अनुसन्धानको समग्र नेतृत्व पनि गरेका हुन् । यस क्रममा विभागबाट प्रकाशित हुने ‘पृथ्वीवाङ्मय’ पत्रिकाको प्रकाशनलाई पनि निरन्तरता दिएका थिए । उनी २०७० सालमा अनिवार्य अवकाश प्राप्त गरी त्रिवि सेवाबाट निवृत्त भएका हुन् ।

रविलाल अधिकारीले तत्कालीन त्रिविको नीतिबमोजिम कालिका बहुमुखी क्याम्पस, काजीपोखरीको स्थापनामा सहयोग गरी त्यस क्याम्पसका संस्थापक प्राध्यापकको जिम्मेवारीमा पनि रहेर काम गरेको देखिन्छ । उनले त्यहाँ करिब २६ वर्षसम्म आंशिक समयमा प्राध्यापनकर्मका साथै पत्रिका प्रकाशन र त्यस संस्थाको विकास र कार्यक्रम विस्तारमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन् । उनले त्यहाँ सहायक क्याम्पस प्रमुखको प्रशासनिक भूमिकाका साथै नेपाली विभागको विभागीय प्रमुखको जिम्मेवारीसमेतमा कार्यसम्पादन गरेको देखिन्छ । साथै उनले आफ्नो समग्र प्राध्यापन पेसा र त्यसबाट अर्जित आर्थिक आय अनि सन्तानप्रतिको शैक्षिक दायित्वबारे यस्तो सन्तुष्टिभाव व्यक्त गरेका छन् “मैले प्राध्यापक पेसा लिएकामा कहिल्यै दुख मानिन । व्यावहारिकतामा धेरै पैसा नदिए पनि आर्थिक कारोबारमा यसै पैसाले सघायो र सञ्चयकोषको सापटी ऋण मागी मागी घर बनाएँ । विशेष फुर्तिफार्तीका बोर्डिङ र उच्च माविमा नपढाए पनि तीनवटै सन्तानलाई त्रिवि. कीर्तिपुरबाटै स्नातकोत्तर गर्न लगाएँ (अधिकारी, २०७२ पृ. ४६) ।” यसरी आफूले अँगालेको प्राध्यापन पेसा र पारिवारिक दायित्वप्रति अधिकारीले सन्तुष्टि र प्रसन्नता व्यक्त गरेको पाइन्छ ।

५. सामाजिक, राजनीतिक एवं आर्थिक जीवन
रविलाल अधिकारी आजीवन शैक्षिक एवं साहित्यिक क्रियाकलापमा सक्रिय सहभागी देखापर्छन् भने आंशिक रूपमा समाजका अन्य क्रियाकलापमा पनि सहभागी देखापर्छन् । उनमा पठनपाठनका निम्ति बनारस जानुअघि सामाजिक जागरणप्रति खासै चासो नदेखिएकोले उनका सुरुतिरका कवितामा देशभक्ति र राजभक्तिसमेतको भाव प्रकट भएको देखिन्छ । उनले सो कुरालाई स्वीकार गरी २०२० सालको टीकाराम अधिकारी र बाबुराम अधिकारीसहितको आफ्नो संयुक्त कविता सङ्ग्रह ‘दुखको आवाज’ मा “मेरा कवितामा राजभक्ति र देशभक्तिको भावना प्रबल भएको सन्दर्भ पनि यहाँ गाँस्नु प्रासङ्गिक नै होला किनभने २०२० सालमा देखाएका राजाका भक्तिलाई लुकाएर म त्यतिबेलै गणतन्त्रवादी थिएँ भन्न चाहन्न (अधिकारी, २०७० पृ५९)” भन्ने अभिव्यक्ति प्रकट गरेका छन् । यसबाट त्यतिखेरसम्म उनमा सामाजिक एवं राजनीतिक चेतानाप्रतिको चासो र सक्रियता नरहेको बुझिन्छ । यस क्रममा उनले आफ्नो बाल्यकाल एवं यौवनकालका स्वभावबारे यसो (अधिकारी, २०६० पृ. ५९, ६०) भनेका छन् ।

”केटाकेटी छँदा म पनि सबैजस्तै उद्दण्ड थिएँ र साथीभाइका लहैलहैमा लागेर चराहरूका गुँड भत्काउने, बचेराहरू लुट्ने, काँक्रा चोरेर खाने, अरूलाई गाली गर्ने, ढुङ्गा हान्नेजस्ता काम मैले पनि गरेँ । जबानी लागेपछि कसैका छोरीबुहारीप्रति वासनाका दृष्टिले हेरेछु भने त्यसलाई पनि अस्वाभाविक मनोवृत्ति भन्न नमिल्ला । तर आजका परिवेशका म ‘अशक्तस्तु भवेत् साधुं’ बनिसकेको छु र मेरा दृष्टिमा कसैले शङ्का गर्नुपर्दैन । स्वाभाविक रूपमा यौवनकालमा वासनाका कुरा मसँग पनि सम्बन्धित हुन सक्ने हुँदा मैले माथिका कुरा कोट्याए पनि १९ वर्षमा पुग्दा बाबु बिती आमाले घर धान्न परेको र अध्ययनार्थ आफू बनारस जानु परेको तथा पढेर आएपछि विवाहित बनी बाहुनका आदर्शमा बस्न परेको हुँदा मैले उद्दण्ड बनी कसैका पछि लाग्ने र घरव्यवहार बिगार्ने गर्न पाइन तर बनारसमा बसेर पढेको र मार्क्सवादको प्रभाव पनि केही मस्तिष्कमा गढेको हुँदा गाउँमा रहेका पञ्चायती व्यवस्थाका नायक प्रधानपञ्चलगायतका शोषकहरूका शोषणनीतिको विरोध गर्दा केही उद्दण्ड देखिने काम मैले गरेँ । ... त्यसैले उद्दण्ड बनेर शोषकहरूको विरोधमा बोल्ने विचार राम्रै भए पनि पालन गर्न सकिएन र कतिपय मात्रामा शिथिल हुन पुगियो । आजभोलि गावै पनि छोडिएको र व्यवस्था पनि फेरिसकिएको हुँदा मुखले बोलेर भन्दा कलमले कोरेर म अन्यायको विरोध गर्छु ।
बाल्यकाल र प्रारम्भिक युवाकालका स्वभाव र केही गतिविधिबारे उनका यी भनाइले नै प्रकाश पार्छन् । अर्को ठाउँमा उनले २०३०/३१ सालतिर गाउँमा मास्टर भएको र बनारसबाट मार्क्सवादी शिक्षासमेत सिकेर आई शोषणको विरोध गर्नुपर्छ भन्ने मानसिकता बोकेको युवक भएको कुरा पनि उल्लेख (अधिकारी, २०६० पृ. २७) गरेका छन् । त्यहीँ पुष्पलालबाट मार्क्सवादको प्रशिक्षण लिएर उनले नेकपाको सदस्यतासमेत लिएको जनकारी उनका सहपाठी रघुनाथ अधिकारीबाट प्राप्त भएको छ । यसरी मार्क्सवादी शिक्षा र कम्युनिस्ट पार्टीको सदस्यसमेत बनिसकेका उनले तत्कालीन गाउँका प्रधानपञ्चका बेठ (बिनाज्याला खेतालो बनेर काम गर्ने प्रथा) प्रथा र गाउँलेसँग पैसा उठाएर व्यक्तिगत शिवालय बनाउने गलत प्रवृत्तिको विरोध गर्दा आफूलाई प्रहरीले प्रक्राउ गरेको तर पछि मिलापत्र गरेर उम्किएको पनि उल्लेख गरेका छन् । यस्ता कुराबाट उनमा गाउँमा हुने शोषणप्रथाको विरोध र स्थानीय पञ्चहरूका विभेद र अन्यायविरुद्ध क्रियाशील भएको स्थिति पनि देखापर्छ । साथै उनी श्रममा विश्वास गर्ने तथा धर्मकर्ममा विश्वास नगर्ने स्वभावका थिए । उनले कतिपय घरायसी कामकाजमा पनि परम्परागत प्रचलनभन्दा पृथक संस्कारको निर्माण गर्न खोजेको देखिन्छ । “ज्युँदै छँदा केही दिन र केही गर्न सकिएन भने मरेपछि दिएर पितृले के पाउँछन् र (अधिकारी, २०७२ पृ. ७०) ।” भन्ने मान्यता राखी बाबुआमाको श्राद्ध समाजमा भइआएको चलनका रूपमा नगरी बहिनीज्वाइँलाई बोलाएर खाना खुबाई दक्षिणा दिने र सिधा उठाएर पठाउने मात्र गर्ने गरेको उल्लेख गरेका छन् । यस्तो परम्पराविरुद्धको चेतना निर्माणमा मार्क्सवादी ज्ञानको भूमिकाले काम गरेको बुझिन्छ ।

रविलाल अधिकारी पहिले बनारसमै नेकपामा आबद्ध भई मार्क्सवादी विचारअनुकूलको सिर्जनात्मक एवं सामाजिक गतिविधिमा सक्रिय रहेको कुरो माथिको प्रसङ्गमै आइसकेको छ । पछि उनी पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत रहँदा तत्कालीन भूमिगत नेकपा मालेको बुद्धिजीवी सङ्गठनमा आबद्ध रहेका (साहनी, २०८१, पृ ४३) देखिन्छन् । यसै क्रममा उनी प्रगतिशील साहित्यिक एवं पेसागत संस्थामा पनि क्रियाशील देखिन्छन् । समयक्रममा उनको घर राजनीतिक बैठक र आश्रयस्थलका रूपमा उपयोगी हुनपुग्छ । पञ्चायती अनुदारताका बेला उनको रामघाटस्थित घरमा झलनाथ खनाल, माधव नेपाल, जीवराज आश्रित, सी पी मैनाली, मदन भण्डारीसमेतका उच्च तहका नेताको सहभागिताका राजनीतिक बैठकसमेत आयोजना हुने गरेको कुरो त्यतिखेर नेतृत्वमा रहेका त्रिलोचन ढकालको संस्मरणमामा उल्लेख गरिएको पाइन्छ (ढकाल, २०८१, पृ ५८ । पछिल्लो अवधिमा उनी नेकपा एमालको विचारनिकट रहे पनि साङ्गठनिक संलग्नता भने पाइन्न ।

रविलाल अधिकारी गाउँमा रहुन्जेल बाबुआमाले नै बनाइदिएका घुमाउने घरमा जीवन निर्वाह गर्दछन् । पोखरामा उनले अहिले बनाएको घरको जमिन २०३९ सालमा किनी पहिले ढुङ्गा र माटोको कच्ची घर बनाएर २०४२ साल असारमा सरेको र पछि त्रिविबाट पाएको तलब र सञ्चयकोष सापटीसमेतबाट धेरै वर्ष लगाएर २०५५ मा पिल्लर उठाएर चार वर्षपछि २०५८ सालमा रङ्गरोगन गरी पक्की घर बनेको उल्लेख पनि (अधिकारी, २०६० पृ. १३९) गरेका छन् । उनले चितवनको गोपालगन्जमा पटकपटक गरी एक बिघा जग्गा किनेर त्यसैको अन्नबाट परिवारको पेटपाल्ने काम भएको पनि जनाएका छन् (अधिकारी, २०७० पृ. ५९) । घरको आर्थिक परिवेश अनुकूलनमा श्रीमती सम्झनादेवी अधिकारीको क्रियाशीलता र भूमिका पनि रहेको बुझिन्छ । यसबाट उनले प्राध्यापन पेसा र कृति प्रकाशनसमेतका काममा निरन्तर क्रियाशील भएर पारिवारिक आर्थिक जीवनलाई सहज र सुविधाजनक बनाएका छन् । आर्थिक व्यवहारमा उनी फजुलखर्ची त पटक्कै देखिन्नन् भने बाहिरी चिया खानालगायतमा पनि निकै मितव्ययी स्वभावका देखिन्छन् । उनी यस्ता खर्चमा अरूबाट पाइयोस् भन्ने लोभ पनि गर्दैनन् र निशङ्कोच रूपमा साथीभाइ जम्मा भएर गरेका खर्चमा आआफूले ब्यहोर्नुपर्छ भन्ने खुलस्त स्वभावका पनि देखापर्छन् । उनी हिँडेरै क्याम्पस आइजाइ गर्ने तथा बाटामा कसैले मोटरसाइकल वा निजी कारमा जाऊँ भन्दा पैदलै हिँड्न रुचाउने स्वभावका थिए । साथै क्याम्पसबाट फर्किँदा फलफूल र तरकारी किनेर ल्याई घरका काम पनि सघाउने, छोराछोरीका बिच समानताको व्यवहार प्रदर्शन गर्ने असल स्वभावका व्यक्तिका रूपमा पनि देखापर्छन् ।

६. साहित्यिक प्रेरणा र प्रभाव
रविलाल अधिकारीले आफ्ना सिर्जना एवं समालोचनाहरू रविलाल अधिकारी, गोरला (गोर्जेका रविलाल अधिकारी) लमजुङे अधिकारी जस्ता नाम एवं उपनामबाट प्रकाशित गरेका छन् र आज उनी नेपाली साहित्य एवं समालोचनामा प्रगतिशील साहित्यकारका रूपमा प्रसिद्ध छन् । उनको यो प्रसिद्धि मुख्यतः साहित्यिक व्यक्तित्वका रूपमा रहेको छ । उनको आज बनेको व्यक्तित्वको निर्माणमा कुन कुन व्यक्ति वा के कस्ता घटना वा परिस्थिति कारक छन् भन्ने कुरा पनि जिज्ञासाको विषय बन्नु स्वाभाविक हुन्छ । यस विषयमा उनले आफ्नो साहित्य सिर्जनाको प्रेरक तत्त्वमा धेरै पक्ष कारक रहेको जनाएका छन् । उनी तत्कालीन समाज, साहित्यिक संस्कृति, शैक्षिक चेतना जस्ता वातावरणबाट प्रेरणा प्राप्त गरी सिर्जनामा लागेको जनाउँछन् । यसका लागि उनले २००७ सालपछिको प्रजातान्त्रिक नेपालको जाग्दो समाज, भानुभक्त, लेखनाथ र देवकोटाका कवितामा रमाउने संस्कृति, शिक्षातर्फ उन्मुख वातावरण र आफ्ना रुचिका कारण पनि आफू साहित्य सिर्जनाका निम्ति आकर्षित भएको जनाएका छन् (मरासिनी, २०८१, पृ. १८० (अन्तर्वार्ता) । उनले आफ्नो सिर्जनाको प्रारम्भिक चरणमा गोर्जे भाषा पाठशालाका गुरु हेमराज अधिकारीको हौसला पनि प्रेरक रहेको जनाएका छन् । उनले देवकोटाको ‘मुनामदन’, धर्मराज थापाको ‘पहाडी सङ्गीत’, ‘रत्न जुनेली’, ‘वनचरी’ जस्ता लोकलयका कृति र भानुभक्त, लेखनाथ र माधव घिमिरेका संस्कृत छन्दका कविता पढ्नका कारणले आफूले पनि लोकछन्द र संस्कृत छन्दमा पहिला फुटकर कविता र खण्डकाव्यसम्मका रचना गरेको तर बृहत् रूप महाकाव्य रचनाको आँट गर्न नसकेको पनि जनाएका छन् । उनी सिर्जनाको पछिल्लो अवधिमा निबन्ध र नियात्रा लेखनतिर केन्द्रित भएका देखिन्छन् ।

रविलाल अधिकारीले हिन्दी र संस्कृत भाषाका अनेकौँ कृतिको अध्ययनबाट आफूलाई सिर्जना एवं समालोचनामा परिपोषण प्राप्त भएको पनि उल्लेख गरेका छन् । उनी हिन्दी साहित्यको प्रभाव आफूमा रहेको जनाउँछन् र उनले ‘हिन्दी साहित्यका मेरा गुरुहरू’ भन्ने निबन्धमा सो प्रभाव र भाषिक पहुँचबारे यसो भनेका छन् ।
-म नेपाली साहित्यको विद्यार्थी हुँ र नेपालीबाहेक हिन्दी वा संस्कृत भाषामा मैले कलम चलाइन तर ज्ञान र सिप आर्जन गर्ने सन्दर्भमा नेपाली भाषा र साहित्यमा मात्र म सीमित रहन सकिन । नेपाली साहित्यलाई स्तरयुक्त रूपमा बुझ्न र मूल्याङ्कन गर्न मलाई हिन्दी साहित्य र संस्कृत साहित्यले विशेष आधार प्रदान गरेका छन् । संस्कृत साहित्य मेरो अध्ययनको क्षेत्रगत विषय हो तापनि संस्कृत साहित्यकै कतिपय कुरालाई राम्ररी ठम्याउन म हिन्दी भाषाको सहयोग लिन्छु । यसबाहेक साहित्य र संस्कृतिमा ज्ञातव्य मानिएका बङ्गाली, फारसी, उर्दु, अङ्ग्रेजी आदि भाषाका सामग्रीहरूको अध्ययन गर्न म हिन्दी भाषाकै आश्रय लिन्छु । नेपाली भाषामा ती उपलब्ध नहुने र अङ्ग्रेजी भाषामा आफ्नो गति नहुने हुँदा मैले त्यसो गर्न परेको हो (अधिकारी, २०७० पृ.१०६) ।

अधिकारीको उपर्युक्त अभिव्यक्तिबाट उनको भाषिक पहुँच र अध्यनको क्षेत्र र सीमाबारे बुझ्न सकिन्छ । यसका अतिरिक्त उनले आफू रुसी साहित्यकार म्याक्सिम गोर्की, चिनिय साहित्यकार लु सुन आदिका रचनाबाट पनि उत्प्रेरित भएको विचार व्यक्त गरेका छन् । उनले समालोचनातर्फ अग्रसर हुनुपरेको सन्दर्भलाई पनि कुनै आडम्बर नदेखाई यसरी “प्रमोसन हुन खोज, अनुसन्धान र व्याख्या विश्लेषणका कामहरू महत्त्वपूर्ण छन् भनेर कविता लेख्न छोडी लेख, समालोचना र अनुसन्धानतिर जागरुक बनेँ (अधिकारी, २०७० पृ.८१)” भन्ने उल्लेख गरेका छन् । यसरी रविलाल अधिकारीले तत्कालीन परिवेश, स्रष्टाका कृति एवं व्यक्तित्वबाट साहित्य सिर्जना एवं समालोचनामा लाग्ने प्रेरणा प्राप्त गरेको बुझिन्छ ।

८. बहुमुखी साहित्यिक व्यक्तित्व
रविलाल अधिकारी सिर्जना, समालोचना र साहित्यिक पत्रिकाको सम्पादन एवं प्रकाशनसमेतमा आजीवन सक्रिय रहेकाले बहुमुखी साहित्यकारका रूपमा स्थापित छन् । उनको औपचारिक साहित्य सिर्जना २०२० को ‘दुखको आवाज’ संयुक्त कविता सङ्ग्रहबाट भएको छ र बनारसमा गएपछि उनका कवितासहित निबन्ध र समालोचनातिर पनि प्रारम्भिक कलम चल्छ । त्यहाँबाट सक्रियता बढाएका रविलाल अधिकारीका सिर्जना एवं समालोचना गरी हालसम्म जम्मा दुई दर्जन पुस्तकाकार कृति प्रकाशित भइसकेका छन् । उनका फुटकर लेखहरू ‘भानु उदय’, ‘सन्देश’, ‘पाताल छाँगो’, ‘प्रलेस’, ‘माछापुच्छे’, ‘झिसमिसे’, ‘वेदना’, ‘नौलो हाँक’, आदि हुँदै ‘शुङ्खला’, ‘लहर’, ‘मिर्मिरे’, ‘जनमत’, ‘गरिमा’, ‘मधुपर्क’, ‘गण्डकी सङ्गम’, ‘जमर्को’, ‘पृथ्वीवाङ्मय’, ‘अनुशीलन’, ‘शब्दसंयोजन’, ‘चन्द्रागिरि’ आदि थुप्रै पत्रिकाहरूमा प्रकाशित छन् । उनले आफ्नो साहित्य लेखनका सम्बन्धमा “मेरा जीवनको ध्येय जनपक्षीय साहित्य लेखन हो र जनचेतना जगाउने, जनतालाई परिवर्तनको दिशाबोध गराउने जस्ता काम मेरा साहित्यले गर्‍यो भने मात्र लेखन सार्थक हुन्छ र मलाई सन्तुष्टि हुन्छ (अधिकारी, २०७० पृ. ६१)” भन्ने विचार व्यक्त गरेको पाइन्छ । उनको साहित्यिक कृतिहरूबारेको सूक्ष्म विश्लेषण सम्बद्ध शीर्षकमा गरिएकाले यहाँ साङ्केतिक विवरण मात्र प्रस्तुत गरिएको छ । उनको साहित्यिक व्यक्तित्वका बहुमुखी पक्षहरूबारे तल संक्षेपमा प्रकाश पारिएको छ ।

(क) कवि व्यक्तित्व
रविलाल अधिकारीले २०१५ सालको “बन्ने थियो गोर्जेको डाँडा एउटा मास्टर झिकाइदेऊ महेन्द्र” भन्ने गीतका माध्यमबाट अनौपचारिक सिर्जनाको थालनी गरेको पाइन्छ । त्यसमा गोर्जे गाउँ बन्न नसकेकोमा शिक्षा र शिक्षकको समस्याको सन्देश व्यक्त भएको छ । यस्तो सन्देशमूलक गीत साथीहरूसँग गाउँदा गाउँदै हिँडेको र प्रकाशित पनि नभएको कुरा स्वयं अधिकारीले औँल्याएका छन् (ढकाल, २०७४ पृ ४६) । उनको औपचारिक रचना प्रकाशन उनीसहित टीकाराम अधिकारी र बाबुराम अधिकारीको संयुक्त कविता सङ्ग्रह ‘दुखको आवाज’ (२०२०) बाट भएको पाइन्छ । यहीँबाट अधिकारी सार्वजनिक प्रकाशनमा देखापरेका हुन् र उनका प्रकाशित कविताकृतिहरू तल उल्लेख गरिएका छन् ।
१. ‘दुखको आवाज’ (संयुक्त कविता सङ्ग्रह, २०२०)
२. ‘बुकीफूल’ (कविता सङ्ग्रह, २०३१)
३. ‘एकलव्य’ (लघुकाव्य, २०३५)
४. ‘परदेशीलाई पत्र’ (कवितात्मक चिठीको सङ्ग्रह, २०४१)
५. ‘आँसुको अँजुली’ (शोककाव्य, २०४१)
६. ‘हर्के’ (ऐतिहासिक लघुकाव्य, २०४६)

रविलाल अधिकारीको साहित्यिक व्यक्तित्वमध्ये पहिलो सिर्जनात्मक र प्रभावशाली व्यक्तित्व कवि व्यक्तित्व हो । उनले थालनीका कवितामा राजभक्ति, राष्ट्रप्रेम तथा देशविकासप्रतिको तीव्र आकाङ्क्षा व्यक्त गरेका छन् । त्यतिखेर अधिकारीका कवितामा स्वतःस्फुर्त स्वच्छन्दतावादी भाव व्यक्त भएको पाइन्छ । पछि विस्तारै सामाजिक यथार्थ र दायित्त्वप्रति सचेत भई सामाजिक विकृति र विसङ्गतिप्रतिको असहमति एवं विरोध र विद्रोहको भाव पनि व्यक्त गरेर प्रगतिशील र प्रगतिवादी चेतना प्रकट गरेको पाइन्छ । उनको दोस्रो कविता सङ्ग्रह ‘बुकीफूल’ सहितका सबै कवितामा प्रगतिशील एवं प्रगतिवादी भाव व्यक्त भएको छ । उनले ‘एकलव्य’मा त पौराणिक विषयको कथ्य लिएर त्यसमा आफ्नै मौलिक विचारमार्फत आफ्नै शिष्यलाई ठग्ने द्रोणाचार्यका औँठाको माग गर्ने कुराको अवज्ञा गरी नयाँ कथ्यको निर्माण गरेका छन् । ‘आँसुको अँजुली’मा मातृवियोगका पीडामा व्यथित कविका शोकभावहरू अभिव्यक्त भएका छन् । ‘परदेशीलाई पत्र’ र ‘हर्के’ जस्ता पछिल्ला कृतिहरू प्रगतिवादी वैचारिकता र कलात्मक उच्चताका दृष्टिले पनि बढी महत्त्वका देखिएका छन् । उनका कविताले नेपाली जीवनको समृद्धि र देशभक्तिको स्वरलाई प्रगतिवादी अन्तर्वस्तुका साथ प्रस्तुत गरेका छन् ।

रविलाल अधिकारीको कविता सिर्जना पञ्चायती अनुदार शासनको सुरुतिरबाट थालिई त्यसको अवसानसँगै समाप्त भएको छ । उनका कवितामा सरल जीवन यथार्थका मार्मिक भावहरू पाइन्छन् । शार्दूलविक्रीडित, मन्दाक्रान्ता, भुजङ्गप्रयात, शालिनी, मालिनी आदि शास्त्रीय र लोकछन्दको स्वाभाविक र कर्णप्रिय अभिव्यक्ति एवं विविध शब्दालङ्कार एवं अर्थालङ्कारको सुन्दर प्रयोग उनका कवितामा पाइन्छ । पञ्चायती अनुदारताको वक्रदृष्टिले प्रगतिवादी कविता रचनामा केही शिथिलता दखापरेका बेला उदाएका अधिकारीले आफ्ना सिर्जनमार्फत निरन्तरता र प्रभावकारिता बढाएर समग्र नेपाली प्रगतिवादी कवितामै गहकिलो योगदान पुर्‍याएको मूल्याङ्कन गर्न सकिन्छ ।

(ख) समालोचक व्यक्तित्व
रविलाल अधिकारी प्रगतिशील समालोचकका रूपमा परिचित छन् । उनको २०२७ सालमा लेखिएको ‘नेपाली साहित्यमा चेतना’ शीर्षकको पहिलो समालोचकीय लेखले उनमा रहेको प्रगतिशील चेतना र गुणदोषसमेतको व्याख्या गर्ने प्रारम्भिक समालोचकीय गुण अभिव्यक्त गरेको छ (अधिकारी, २०४६, पृ. ६) भने त्यसपछि उनमा प्राध्यापनको थालनीसँगै समालोचकीय व्यक्तित्वको विकास पनि भएको देखिन्छ । उनले क्याम्पसमा प्राध्यापन थालेपछि शैक्षिक गतिविधि र प्राज्ञिक उन्नयनका निम्ति सिर्जनाको भन्दा समालोचना र अनुसन्धानात्मक कार्यको अपेक्षा रहने हुनाले आफूले त्यतैतिर सक्रियता बढाएको जनाएका छन् । उनी समाज रूपान्तरणको मार्क्सवादी विचारबाट अभिप्रेरित भएका हुनाले उनको समालोचाना प्रगतिवादी चिन्तनबाट प्रेरित र प्रभावित छ । उनको पहिलो समालोचना कृति २०४४ सालको ‘प्रगतिवादी नेपाली कविता’ हो । यस कृतिअघि (२०३९) उनले ‘नेपाली कवितामा गण्डकी अञ्चलको योगदान’ शीर्षकको त्रिविमा प्रस्तुत गर्ने प्रयोजनको लघु अनुसन्धान प्रतिवेदन पनि तयार पारी बुझाएको भेटिन्छ । सो प्रतिवेदनमा तत्कालीन गण्डकी अञ्चलका कविहरू र कविताबारे चिनारी दिइएको छ । उनका समालोचनाहरू सैद्धान्तिक एवं व्यावहारिक दुवै प्रकृतिका छन् र ती देहायबमोजिम छन् ।
१. ‘प्रगतिवादी नेपाली कविता’ (इतिहास र विश्लेषण, २०४४)
२. ‘अनुभव र आँखाहरू’ (लेख, समालोचना, २०४६)
३. ‘प्रगतिवादी दृष्टिमा यौनसम्बन्ध र सांस्कृतिक चिन्तन’ (लेख सङ्ग्रह, २०४७),
४. ‘नेपाली समालोचनाको रूपरेखा’ (इतिहास र विश्लेषण, २०५१),
५. ‘छेलिएका छविहरू’ (पाँच प्रतिभाको परिचय, २०५२)
६. ‘प्रगतिवादी नेपाली समालोचना’ (इतिहास र विश्लेषण, २०५६)
७. ‘साहित्यिक सन्दर्भ : चर्चा र टिप्पणीहरू’ (लेखसमीक्षा सङ्ग्रह, २०५८)
८. ‘साहित्य सारथि’ (पूर्वीय साहित्य सिद्धान्त, २०५९),
९. ‘अलि मियाँ : व्यक्ति र कृति’ (व्यक्तित्वपरक अध्ययन, २०६०)
१०. ‘कमल दीक्षितका नियात्रा’ (व्यक्तित्वपरक अध्ययन, २०६५)
११. ‘नेपाली लोकसाहित्यको झलक’ (लोकसाहित्य, २०६५)
१२. ‘गद्यकारका रूपमा देवकोटा’ (व्यक्तित्वपरक अध्ययन, २०६६)
१३. ‘भानु–उदयको नालीबेली’ (इतिहास समालोचना, २०७७)
पोखरामा प्रकाशित हुने पत्रिकामा लेख मागेपछि प्रायः रित्तै नफर्काउने अधिकारीका उपर्युक्त कृतिहरूबाहेक पनि करिब २५० भन्दा बढी फुटकर समालोचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित पाइन्छन् । यी समालोचनाहरूमा अधिकारी निरन्तर साधनामा संलग्न व्यक्तित्वका रूपमा देखापर्छन् । उनका समालोचना बढी मात्रामा कविता विधातिर केन्द्रित छन् भने सँगसँगै कथा, उपन्यास, निबन्धका साथै स्रष्टा एवं प्रवृत्तिपरक पनि देखापर्छन् । उनको सिर्जनाका साथै समालोचनाको वैचारिक प्रवृत्तिबारे उनकै आकलन पनि एक हदसम्म उपयोगी छ । उनले “एउटा कलमजीवीको लेखन सामाजिक परिवर्तन र उपयोगिताका दृष्टिले सार्थक हुनुपर्छ भन्ने कुरालाई मैले जीवनमा ठहर गरेको छु । उत्ताउलो क्रान्तिकारिता र जनपक्षधरविहीनता मेरा लेखनमा नआओस् भन्ने चाहना बढ्दै आएको छ (अधिकारी, २०७१ पृ. नियात्राबारेका केही कुरा) ।”

अधिकारीका प्रकाशित सम्पूर्ण समालोचना कृतिहरूमा भिन्न भिन्न विषयका फुटकर लेखहरूको सङ्कलन गरिएका र मूलभूत विषयक्षेत्र एउटैलाई बनाई विविध मान्यता, कोण, विकास र प्रवृत्तिका आधारमा विवेचना र विश्लेषण गरिएका गरी दुई किसिमका छन् । तिनमा पहिलो वर्गकामा समालोचना मुख्यतः क्रमसङ्ख्या २, ३, ५ र ७ मा रहेका छन् । त्यस्तै अर्काथरि कृतिहरूमा ‘प्रगतिवादी नेपाली समालोचना’सहितका १, ४, ८, ९, १०, ११ र १२ को क्रमसङ्ख्यामा रहेका छन् । यी सबै समालोचनाको अध्ययन एवं विश्लेषणबाट अधिकारी नेपाली समालोचना क्षेत्रका वरिष्ठ प्रगतिवादी समालोचक हुन् । उनको समालोचना सिद्धान्तका सूत्रमा मात्र केन्द्रित नभई कतिपय सन्दर्भमा प्रभाववादी र सिर्जनात्मक प्रवृत्तिबाट पनि निर्देशित रहेको देखिन्छ । नियमित र निरन्तर साधनामा संलग्न अधिकारीले एक दर्जन सङ्ख्याका महत्त्वपूर्ण कृतिहरू र २५० भन्दा बढी फुटकर समालोचनाहरू पस्किएका छन् । उनले प्रगतिवादी वैचारिक प्रखरता मुखरति गर्न नसकेका, सबै (प्रगतिवादी र गैरप्रगतिवादी)का प्रिय हुन खोज्दा कसैका प्रिय हुन नसकेका, सिर्जनाको महत्त्वबारे यदाकदा हल्का टिप्पणी गर्ने गरेका जस्ता कमीकमजोरीको आलोचना पनि हुने गरेको देखिन्छ । समग्रमा कृतिगत परिमाण र गुण अनि विषय क्षेत्र व्यापक भएका रविलाल अधिकारीले निरन्तर साधनाबाट प्रगतिशील एवं प्रगतिवादी नेपाली समालोचनालाई निकै समृद्ध र सशक्त बनाएको मूल्याङ्कन गर्न सकिन्छ ।

(ग) निबन्धकार /नियात्राकार व्यक्तित्व
रविलाल अधिकारीका निबन्ध तथा नियात्राहरू पछिल्लो अवधिमा बढी प्रकाशित भए पनि लेखनको थालनी बनारस कालीन पढाइका समयबाटै भएको देखिन्छ । उनले बनारसमा पढ्दाताक “कविता सुनाउँदा राम्रो भनेर सबैले वाहवाही दिएका छन्’ ठानेर मक्ख परिरहेका बेला ‘अबका जमानामा कविता मात्र लेखेर काम चल्दैन भाइ, गद्य पनि लेख्न जान्नुपर्छ’ भनेर भमके दाङका वामदेव आचार्यले गद्य लेखनमा उत्प्रेरित गरेको जनाएका छन् (अधिकारी, २०७० पृ. ३२) । उनले अर्को सन्दर्भमा त्यहीँ (बनारस) पढ्दा हिन्दीका वरिष्ठ साहित्यकार सूर्यकान्त त्रिपाठी निरालाको ‘सङ्घर्षको भाषा गद्य हो’ भन्ने भनाइलाई मनन गरेको पनि बुझिन्छ (अधिकारी, २०६६ पृ. लेखकको कुरो) । साथै उनले निबन्धबारेको प्रेरणाको सन्दर्भ उल्लेख गर्दै आफू गाउँमा शिक्षक छँदादेखि नै निबन्धकार देवकोटा, हृदयचन्द्रसिंह प्रधान, शङ्कर लामिछाने, भैरव अर्याल आदिका निबन्धबाट प्रभावित भएको र दुईचार निबन्ध गाउँमा छँदा नै लेखेको कुरो सो भूमिकाको ‘लेखकको कुरो’ मा उल्लेख गरेका छन् । क्याम्पसमा आएपछि हिन्दीका रामचन्द्र शुक्ल, हजारीप्रसाद द्विवेदी आदिका निबन्ध पढ्न थालेबाट आफूलाई निबन्धको संसार निकै रमाइलो लागेको अनि यसमा पाइने कवितात्मक भावावेग, लयात्मकता, आलङ्कारिकता, कथात्मकता, हाँसोठट्टा, व्यङ्ग्य एवं बौद्धिकता जस्ता कुराबाट अभिप्रेरित भएको उल्लेख पनि उनले गरेका छन् ।

कृति प्रकाशनका दृष्टिले अधिकारीका गद्य विधाअन्तर्गतका निबन्ध रचनाहरू कविता र समालोचनापछि मात्र देखापरेका छन् । उनले आफ्ना निबन्ध, नियात्रा र संस्मरणबारे “मेरा जीवनका धेरै भागको जानकारी पनि मेरा निबन्ध, नियात्रा र संस्मरणहरूले गराउँछन् । यस परिवेशमा मेरा यी नियात्राहरू मेरा जीवनका आत्मकथाका भागहरू हुन् (अधिकारी, २०७१ पृ. नियात्राबारेका केही कुरा)” भन्ने विचार व्यक्त गरेका छन् । उनका प्रकाशित निबन्ध र नियात्राहरू देहायबमोजिमका छन् ।
१. ‘बिर्सिदिने परम्परा’ (निबन्ध सङ्ग्रह, २०५७)
२. ‘मनोरमा’ (निबन्ध सङ्ग्रह, २०६०)
३. ‘फेरि बनारस जाँदा र अन्य नियात्राहरू’ (नियात्रा सङ्ग्रह २०६६)
४. ‘कुरौटेको कुटुरो’ (निबन्ध सङ्ग्रह, २०७०)
५. ‘घुमन्तेको सेरोफेरो’ (नियात्रा सङ्ग्रह, २०७१)
६. ‘अस्ट्रेलिया : छोटो बसाइ र थोरै हेराइ’ (नियात्रा र निबन्ध सङ्ग्रह, २०७२)
यी सबै कृतिहरूमा अधिकारीले शिक्षण, प्राध्यापनसँगै जीवन व्यवहारमा भोगेका अनुभवहरू र आफूलाई लागेका विविध विषयबारेका प्रतिक्रिया व्यक्त गरेका छन् । उनले “म झुटो कुरो गरेर आफू र आफ्नो परिवेश, पारिवारिक स्थिति, दैनिक व्यवहार जस्ता कुरालाई लुकाएर राम्रो लेखक हुन सक्छु जस्तो लाग्दैन र मैले आफूलाई खुला किताबका रूपमा प्रस्तुत गरेको छु (अधिकारी, २०७१ पृ. नियात्राबारेका केही कुरा) ।” भन्ने धारणा व्यक्त गर्दछन् । वैयक्तिक अनुभवका साथै समाज, देश र सामाजिक प्रचलनबारे विविध अनुभव र मान्यताबारे प्रकाश पार्ने उनका निबन्ध र नियात्राहरू देशभित्रकै र विदेश भ्रमणसँग पनि सम्बन्धित छन् । यसबारे उनी भन्छन् “मेरा निबन्ध, संस्मरण र नियात्राहरू मेरा वैयक्तिकतामा रुमलिएका पनि देखिन्छन् तर पनि व्यक्तिगत गुनासो मात्र गर्ने कुरो मलाई ठिक लाग्दैन (अधिकारी, २०७१ पृ. नियात्राबारेका केही कुरा) । यी अभिव्यक्तिबाट पनि उनका निबन्ध र नियात्राहरूको लेखन ती विधाका मूल तत्त्व मानिएको आत्मपरकतामा घुलमिल भई सामाजिक अनुभव र अनुभूतिका अभिव्यक्ति रहेको बुझिन्छ । निबन्ध रचनामा उनले काल्पनिक र बौद्धिक विमर्शको कलात्मक उचाइ छुन सकेको भने पाइन्न ।

(घ) सम्पादक एवं अनुवादक व्यक्तित्व
रविलाल अधिकारीले नेपाली भाषा र साहित्यसँग सम्बन्धित विभिन्न कृतिका साथै साहित्यिक पत्रपत्रिकाको सम्पादन र कतिपय सूक्तिहरूको संस्कृतबाट नेपालीमा अनुवाद पनि गरेका छन् । उनले ‘भानु उदय’ पत्रिकाका विभिन्न अङ्कको सहसम्पादन बनारसको अध्ययनका क्रममा गरेका हुन् भने ‘गण्डकी सङ्गम’, ‘प्रलेस’, ‘पोखरेली पराग’, ‘अलि मियाँको आवाज’ (कविता सङ्ग्रह) एवं ‘पृथ्वीवाङ्मय’ अनुसन्धानमूलक पत्रिकाका साथै ‘पानस’ आदि पत्रिकाको सहसम्पादन गरेका छन् । उनका एकल सम्पादनमा प्रकाशित गरिएको कृति ‘गोविन्द भट्टका समालोचना’ (२०५५) हो । यसमा नेपाली प्रगतिवादी समालोचनाका शीर्ष व्यक्तित्व गोविन्द भट्टको समालोचकीय पक्षको समीक्षा गर्नुका साथै उनका केही समालोचनाहरूको सङ्कलन एवं प्रकाशन पनि गरिएको छ । साथै उनको ‘सुभाषित शिरोमणि’ (अनुवाद र सम्पादन, २०७७) नामक कृति ‘पञ्चतन्त्र’, ‘हितोपदेश’, ‘चाणक्यनीति दर्पण’, ‘भर्तृहरिको नीतिशतक’ जस्ता संस्कृत भाषाका महत्त्वपूर्ण सूक्तिहरूको उद्धरण र तिनको अनुवादसमेत गरी प्रकाशित गरिएको छ । यसमा उनले नेपाली समाजमा नारीको अवमूल्यन गर्ने, जातीय रूपमा ब्राह्मण र क्षेत्रीलाई माथि राखेर वैश्य र शूद्रलाई अपमानित गर्ने खालका सामन्ती समाजका अभिव्यक्तिलाई छोडी समाजलाई सचेत गराउने र आफ्ना अन्य अभिव्यक्तिमा यिनलाई मिसाएर अभिव्यक्तिको प्रभावकारिता बढाउन उपयुक्त हुने ठानेर प्रकाशित गरेको उल्लेख गरेका छन् । कृतिभित्रका सूक्तिहरूलाई नियाल्दा भने आफ्नो सो भनाइमा खरो उत्रन सकेको देखिँदैन । जे होस् यस्ता कार्यबाट रविलाल अधिकारीको सामाजिक उत्तरदायित्त्वको चेतना अझ मुखर भएर प्रकट भएको भने सहजै देखिन्छ ।

(ङ) संस्थाको विकास/ निर्माणगत व्यक्तित्व
रविलाल अधिकारीले विभिन्न साहित्यिक एवं वैचारिक संस्थाको स्थापना र विकासमा पनि भूमिका निर्वाह गरेका छन् । कतिपय पहिलेदेखिका संस्थामा संलग्न भएर तिनको क्रियाशीलतामा उल्लेख्य भूमिका खेलेका छन् भने कतिपय संस्थाको स्थापना र विकासमा पनि सक्रिय भूमिका निर्वाह गरेका छन् । सुरुमा उनले ‘प. ३ नं. (पश्चिम तीन नम्बर) अध्ययन मण्डलमा संलग्न भएर काम गरेको भेटिन्छ भने ‘प्रलेस’, ‘गण्डकी साहित्य सङ्गम’, ‘साहित्य शृङ्खला’, ‘जनसाहित्यिक मञ्च’, ‘राष्ट्रिय जनसांस्कृतिक महासङ्घ’, ‘अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान’, ‘लेखनाथ साहित्य प्रतिष्ठान’ आदि संस्थाहरूको स्थापना गरी तिनीहरूको क्रियाशीलतामा पनि नेतृत्व प्रदान गरेका छन् । यसका साथै रविलाल अधिकारीले प्राध्यापन पेसामा संलग्न रहेका बेला ‘नेपाल प्राध्यापक सङ्घ’ तथा ‘नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन’मा पनि आबद्ध रहेर सामान्य भूमिका निर्वाह गरेको देखिन्छ ।

अधिकारीले सर्वप्रथम बनारसमा अध्ययन गर्दा (२०२२–२०२७) ‘प. ३ नं. अध्ययन मण्डल’ (कास्की, तनहुँ र स्याङ्जा) नामक संस्थाका नेतृत्वमा रहनुका साथै त्यसको सम्पादक मण्डलमा बसेर पनि काम गरेको पाइन्छ । खागगरी बनारसमा पढ्ने विद्यार्थीहरूलाई बौद्धिक र साहित्यिक गतिविधिमा जागरुक बनाउने र उनीहरूका रचना प्रकाशित गर्ने भन्ने मूल ध्येयका साथ ‘भानु उदय’ पत्रिकाको प्रकाशन गरिएको (अधिकारी, २०७७ पृ.२३) देखिन्छ । यसको प्रकाशनमा सम्पादकीय भूमिका खेली अधिकारीले महत्त्वपूर्ण योगदानको थालनी गरेको देखिन्छ । त्यसैगरी अधिकारीले २०३६ सालपछि ‘प्रगतिशील लेखक कलाकार सङ्घ’को गण्डकी अञ्चल तयारी समितिको संयोजक भएर प्रगतिशील साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्नुका साथै पछि ‘प्रलेस’को कास्की जिल्ला अध्यक्ष भएर पनि सङ्गठन निर्माणको काम गरेको देखिन्छ । उनी ‘प्रलेस’का केन्द्रीय सदस्यसम्मको जिम्मेवारीमा रही सक्रियताका साथ साहित्यिक एवं वैचारिक काममा संलग्न भएका व्यक्तित्व हुन् । यसैगरी उनी ‘जनसांस्कृतिक महासङ्घ’को स्थापना गर्ने र त्यसअन्तर्गतको नेतृत्वमा पनि रहनुका साथै ‘जनसाहित्यिक मञ्च’मा पनि सल्लाहकारका रूपमा सक्रिय भूमिकामा रहेका व्यक्तित्व हुन् ।

रविलाल अधिकारीले जनस्तरबाट ‘गण्डकी साहित्य सङ्गम’ स्थापना गर्न संस्थापक उपाध्यक्षको भूमिकामा रही निकै खटेर राष्ट्रिय स्तरको “गोकुल वाङ्मय पुरस्कार” तथा क्षेत्रीय स्तरको “गण्डकी साहित्य पुरस्कार” स्थापना गर्न अहम् भूमिका निर्वाह गरेका हुन् । यस कार्यमा संस्थापक अध्यक्ष कुलप्रसाद खनाल एवं सचिव घनश्याम ढकालसहित अधिकारीको प्रमुख भूमिका रहेको छ । साथै साहित्यकारलाई रचना लेख्न, वाचन गर्न र कृति प्रकाशित गर्ने वातावण बनाउने उद्देश्यले पोखरामा ‘साहित्य शृङ्खला’ नामक संस्था पनि स्थापना गरिएको थियो । त्यसमा पनि अधिकारीको महत्त्वपूर्ण भूमिका रहेको छ । नव प्रतिभालाई जागरुक गराउने र पुरानालाई सुस्ताउन नदिने कार्य गर्न भनी यस संस्थाले ढुकुटी सञ्चालन गरी साहित्यकारका कृति प्रकाशन गर्ने र यस कार्यमा प्रोत्साहन प्रदान गरेको पनि देखिन्छ । यसका साथै अधिकारीले ‘अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान’ र ‘लेखनाथ साहित्य प्रतिष्ठान’मा पनि संस्थापक एवं सल्लाहकार भएर पुरस्कार स्थापनासहित महत्त्वपूर्ण कार्य गरेको पाइन्छ । त्यस्तै पोखरा रामबजारस्थित ‘समाज कल्याण समिति, पोखरा’ का संस्थापक उपाध्यक्ष तथा पछि सल्लाहकारसमेत भएर सामाजिक भूमिकामा सक्रिय भएको पनि देखिन्छ । यसरी निरन्तर साधना र क्रियाशील भइरहने रविलाल अधिकारीले स्थानीय र राष्ट्रिय स्तरका विभिन्न साहित्यिक एवं गैरसाहित्यिक संस्थामा सक्रिय भई महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बुझिन्छ ।

(च) भूमिका लेखक व्यक्तित्व
प्रकाशन योग्य कृतिको पाण्डुलिपिको अध्ययन गरेर कृतिको अन्तर्वस्तु एवं रूप पक्षका साथै स्रष्टाका क्रियाकालापबारे गरिने समीक्षा एवं सुझाव आदिका विषयहरू भूमिका लेखनमा गरिने प्रचलन छ । रविलाल अधिकारी पोखराका स्थापित प्रगतिशील स्रष्टा एवं द्रष्टा पनि भएकाले विभिन्न व्यक्तिहरूले आफ्ना कृतिको भूमिका लेख्न आग्रह गर्नु स्वाभाविक पनि हुन्छ । यस क्रममा अधिकारीले कति कृतिहरूको भूमिका लेखे भन्ने कुराको किटान गर्न नसकिए पनि उपलब्ध देहायबमोजिमका कृतिहरूको भूमिका लेखनको कार्य गरेको भेटिएको छ ।
कृतिकार -- --- कृति -----विधा --------प्रकाशन वर्ष
१. नुमराज बराल भ्रूणहत्या - खण्डकाव्य - २०४३
२. अर्जुन सुवेदी केही जनलोकगीत तथा कविताहरूको सँगालो २०४८
३. चन्द्रप्रसाद न्यौपाने बेचिएकी चेली खण्डकाव्य २०४९
४. नारायण परिश्रमी परिश्रमीका केही गीत गीति सङ्ग्रह २०५१
५. नारायण मरासिनी समयका धब्बाहरू मुक्तक सङ्ग्रह २०५१
६. देवेन्द्र लम्साल स्मृतिपटलमा बुबा विश्वनाथ स्मृति काव्य २०५२
७. यमबहादुर पौडेल क्षेत्री मितेरी निबन्ध सङ्ग्रह २०५७
८. पुण्यप्रसाद खरेल मताने साइँलो कथा सङ्ग्रह २०५७
९. डिल्लीरमणशर्मा अर्याल जीवनका कथाव्यथाहरू संस्मरण सँगालो २०५८
१०. परशुराम कोइराला नर्कमा रमाउने देवताहरू कविता सङ्ग्रह २०५८
११. चिन्तु गिरी बिरामी वर्तमान कविता सङ्ग्रह २०५९
१२. नुमराज बराल माटो र पसिना कविता सङ्ग्रह २०६०
१३. नारायण परिश्रमी खोरिया कविता सङ्ग्रह २०६०
१४. भेषजराज शर्मा आँधीखोलाको बगर खण्डकाव्य २०६२
१५. डा. कृष्णराज अधिकारी स्मृतिका बिम्बहरू यात्रा संस्मरण २०६३
१६. पीताम्बर नेपाली उखरमाउलो निबन्ध सङ्ग्रह २०६९
१७. त्रिलोचन ढकाल नाच सानू नाच बाल कविता सङ्ग्रह २०६९
१८. शेषराज भट्टराई कहिले सासूको पालो कहिले बुहारीको पालो निबन्ध सँगालो २०६९
१९. छविलाल आचार्य बेमौसमी बाढी कविता सङ्ग्रह २०७१
२०. छविलाल आचार्य बाटो र माटो कविता सङ्ग्रह २०७२
२१. त्रिलोचन ढकाल रातो गण्डकी लेख तथा अन्तर्वार्ता सँगालो २०७६
उपर्युक्त कृतिका भूमिकाहरू मूलतः फुटकर कविता सङ्ग्रहका साथै गीत, खण्डकाव्य, निबन्ध, कथा, संस्मरण, लेख तथा अन्तर्वार्ता आदि विविध विधामा आधारित छन् । वरिष्ठ प्रगतिवादी साहित्यकारको परिचय बनाएका अधिकारीले भूमिका लेखनको आग्रह गरेपछि जस्ता कृतिको पनि लेखिदिने गरेको स्थिति पनि देखापर्छ । यिनमा अधिकारीले कतिपय भूमिका सम्बद्ध विधाको नेपाली साहित्यका इतिहासको रेखाङ्कनसमेत गरी स्रष्टा र कृतिको समीक्षा पनि गरेको देखिन्छ भने कतिमा स्रष्टा परिचयसहित कृतिगत परिचय प्रदान गरेको पाइन्छ ।

९. सम्मान तथा पुरस्कार
रविलाल अधिकारी नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्व भएकाले तदनुकूलको सम्मान एवं अभिनन्दनबाट विभूषित भएका छन् । उनले प्राप्त गरेका सम्मान, अभिनन्दन एवं पुरस्कारहरू देहायबमोजिम छन् ।
पुरस्कारको नाम ----------------------------------प्रदान गर्ने संस्था
क) युद्धप्रसाद मिश्र स्मृति पुरस्कार २०५२ - युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान
ख) रत्न श्रेष्ठ पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार २०५७ - रत्न–श्रेष्ठ पुरस्कार गुठी, बागलुङ्
ग) शुक्ला साहित्य पुरस्कार २०५९ - शुक्ला साहित्य प्रतिष्ठान, बाटुलेचौर
घ) गण्डकी साहित्य पुरस्कार २०६९ - गण्डकी साहित्य सङ्गम
ङ) राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संस्थापक सम्मान -२०६९ राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपाल
च) सहिद दशरथ चन्द स्मृति पुरस्कार २०७० - हाम्रो सिर्जना, चितवन
छ) राष्ट्रिय प्रतिभा पुरस्कार २०७१ - नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौँ
ज) विश्वराधानेत्रा साहित्य पुरस्कार २०७७ - ज्याग्दी खोला साहित्य प्रतिष्ठान, स्याङ्जा

रविलाल अधिकारी उपर्युक्त सम्मान एवं पुरस्कारका अतिरिक्त अन्य सङ्घसंस्थाहरूबाट पनि सम्मानित एवं अभिनन्दित पनि भएका छन् । उनले त्रिविबाट दीर्घसेवा सम्मान, पृथ्वीनारायण क्याम्पस एवं त्यहाँस्थित प्राध्यापक सङ्घ एवं स्वतन्त्र विद्यार्थी युनियनका साथै कालिका बहुमुखी क्याम्पसलगायत अन्य विभिन्न साहित्यिक एवं सामाजिक सङ्घसंस्थाबाट पनि सम्मान एवं अभिनन्दन ग्रहण गरेका छन् ।

११. प्रेरणादायी व्यक्तित्व
रविलाल अधिकारी समाजका लागि प्रेरक व्यक्त्विका रूपमा पनि देखिएका छन् । उनले साहित्यलाई समाजका निम्ति, सामाजिक विकृति र विसङ्गतिको चिरफार र रूपान्तरणका निम्ति काम गरे । उनको लेखनले व्यक्तिगत गुनासा, भावना र कथ्यलाई कहिल्यै महत्त्व दिएन । उनले समाजलाई र वर्गलाई महत्त्व दिएर सिर्जना एवं समालोचना गरे । यसमा पनि उनी वैचारिक दृष्टिले कति गहिरो र सशक्त दृष्टि भएका व्यक्तित्व हुन् भन्ने तर्क पनि गर्न सकिएला तर पनि उनले आफ्नो क्षमता र बर्गतले भ्याएसम्म जनताका लागि इमानका साथ लेखे र त्यसमै रमाएर गए । उनले सुरुदेखिकै लेखनमा राष्ट्रप्रेमलाई महत्त्व दिएर राष्ट्रिय समृद्धिका उपायहरू आफ्ना कृतिमार्फत अभिव्यक्त गरे । समाजका अन्धविश्वास, विभेद र असमताको विरोधमा लेखे । यी साहित्यिक जनहरूले ग्रहण गर्ने प्रेरणादायी पक्षहरू हुन् ।

रविलाल अधिकारीको जीवनकर्मबाट आफू जुन काममा संलग्न भएको छ त्यसमै केन्द्रित भएर र रमेर लाग्नुपर्छ भन्ने प्रेरणा प्राप्त गर्न सकिन्छ । उनी साहित्यिक सृजना र समालोचना एवं प्राध्यापनकै सेरोफेरोमा केन्द्रित रहे । उनको औपचारिक र अनौपचारिक गफगराइ, विचारविमर्श, चिन्तनमनन आदि सबै कर्म यिनै काममा केन्द्रित रहे । उनी यिनै कर्ममा आनन्दमग्न हुने र यस्ता काममा प्रतिकूल परिस्थिति सिर्जना हुँदा विचलित हुने स्वभावमा उठेका व्यक्तित्व हुन् । उनको कर्म सामान्यताया खरायो दौडको नभएर कछुवा दौडको गतिको रह्यो । उनले हतार नगरी नियमित र निरन्तर रूपमा कर्ममा क्रियाशील रहनुलाई नै ठुलो ठाने । कसैसँग अस्वस्थ प्रतिस्पर्धा पनि गरेनन् अनि कसैप्रति ईर्ष्या, डाह, प्रतिशोध र घात पनि गर्ने सोचाइ राखेनन् । यो पनि रविलालका जीवनकर्मबाट प्रेरणा लिनुपर्ने कुरा हो । उनले कुनै पद, पुरस्कार, सम्मान आदिका निम्ति भित्री इच्छा राखे होलान् तर त्यसका निम्ति मरिहत्ते गर्ने, भनसुन गर्ने गराउने आदि गरेको कसैबाट सुन्न र थाहा पाउन सकिएन । उनको यही प्रेरणादायी परिचय मौलिक पहिचान बन्यो र पोखरेली समाज, नेपाली साहित्यिक समाज र अझ विशेष गरी नेपाली प्रगतिशील साहित्यिक समाजका निम्ति उनी सधैं सम्मान र श्रद्धाका पात्र बनेर गए ।

१२. देहावसान
जीवनको पछिल्लो अवधिमा क्यान्सर रोगबाट पीडित रविलाल अधिकारीको देहावसान ७८ वर्षको उमेरमा २०७९ फाल्गुण १६ गते भएको हो । उनले इच्छामृत्यु वरण गरेर क्यान्सर रोगबाट उत्पन्न पीडाबाटसमेत विमुक्ति प्राप्त गरे ।

१३. निष्कर्ष
गण्डकी प्रदेश, कास्कीको मादी गाउँपालिकामा २००२ सालमा जन्मेका रविलाल अधिकारीले स्थानीय भाषा पाठशालाबाट शिक्षारम्भ गरी बनारसबाट स्नातक तथा त्रिविबाट स्नातकोत्तर एवं विद्यावारिधि तहसम्मको औपचारिक अध्ययन सम्पन्न गरेका हुन् । कविता सिर्जनामा २०२० मा र समालोचना एवं निबन्ध रचनामा २०२७ तिरदेखि सार्वजनिक भएका उनी २०२८ देखि विद्यालयमा शिक्षण एवं २०३५ देखि क्याम्पसमा प्राध्यापन कार्यमा आबद्ध भएका हुन् । पहिले घरायसी आर्थिक परिवेश कमजोर रहे पनि निरन्तरको मिहेनत र कुशल अर्थव्यवस्थापन गरी उनले परिवार र सन्तानलाई सहज जीवनयापनको परिवेश सुम्पेका छन् । आफ्ना अग्रज पुस्ताप्रति आदरभाव, सहकर्मी र समकालीन पुस्तासित सरल सान्निध्यको व्यवहार एवं पछिल्लो पुस्ताप्रति स्नेहपूर्ण व्यवहार प्रदर्शन गर्ने अधिकारी मूलतः प्रगतिशील व्यक्तित्वका रूपमा समाजमा सुपरिचित छन् ।

साहित्यका कविता, समालोचना र निबन्ध एवं नियात्रा विधामा केन्द्रित रहेका रविलाल अधिकारी प्रसिद्ध प्रगतिशील साहित्यकारका रूपमा परिचित छन् । उनी सुरुका रचनामा समाज र सामाजिक परिवर्तनप्रति निरपेक्ष देखिएका छन् र बनारसको पढाइसँगै साहित्यिक प्रगतिशीलता र सामाजिक अव्यवस्थाप्रति पनि केही सक्रिय हुन थालेका पाइन्छन् । त्यहीँ उनले नियमित पठनपाठनका अतिरिक्त साहित्यिक संस्थामा सक्रिय रहने र राजनीतिक विचारप्रति आबद्ध हुने वातावरण प्राप्त गर्छन् । बनारस र गाउँमा शिक्षण प्रारम्भ गरेपछिको उनको लेखनले तत्कालीन सामाजका निम्न वर्गका सर्वसाधारणप्रति हुने अन्याय एवं दमनको विरोधको भाव प्रकट गरेको पाइन्छ । पछि उनी राजनीतिक रूपमा पनि नेकपा माले र पछि एमालेसँग आबद्ध रहेका र सामाजिक अन्यायविरुद्ध छिटफुट क्रियाशील रहेको पनि देखिन्छ । यसका साथै बाबुआमाको श्राद्ध आदि कर्ममा परम्परित मान्यता तोडी नवीन विधि खोजेको जस्ता कार्यले पनि उनको प्रगतिशील चरित्र विकसित भएको देख्न सकिन्छ ।

नेपालकै अग्रज पुस्तासहित हिन्दी र संस्कृत साहित्यको उत्प्रेरक वातावरण एवं राजनीतिक र सामाजिक परिवेशबाट अभिप्रेरित रविलाल अधिकारी कविता सिर्जनामा नेपाली जीवन र निम्नवर्गका पिरमर्कालाई सरल तरिकाले अभिव्यक्त गर्न सिपालु देखापर्छन् । उनी सर्वसाधारणका मर्म र कथाव्यथाहरूलाई प्रगतिशील र प्रगतिवादी भावविधानसहित पस्कन सफल छन् । नेपाली पाठकमा परिचित बनेका शार्दूलविक्रीडित, मन्दाक्रान्ता आदि शास्त्रीय छन्दका श्रुतिमधुर अभिव्यक्तिका साथ सरल भाव अभिव्यक्त गर्न उनी कुशल छन् । उनी प्रगतिवादी साहित्य सिद्धान्त बुझेका तर त्यसका मान्यतालाई सूत्रवत् रूपमा भन्दा नेपाली परिवेश, आफ्नो बुझाइ र सामाजिक मनस्थितिअनुसार व्यावहारोपयोगी बनाउन खोज्ने समालोचक हुन् । यसैले उनी खरा प्रगतिवादी नभए पनि अगुवा प्रगतिशील प्रगतिवादी समालोचकका रूपमा चिनिन्छन् । पछिल्लो अवधिमा उनको लेखन निबन्ध र नियात्रातिर केन्द्रित थियो र ती रचनामा उनले छिटफुट विचार र साहित्यिक समालोचनासहित मूलतः विविध जीवनानुभवहरूलाई आत्मपरक एवं विवरणात्मक अभिव्यक्तिमा पस्केका छन् । उनले पेसागत वृत्तिविकासका निम्ति कविता छोडेर समालोचनामा लागेको स्वीकारोक्ति ठाउँठाउँमा दिएका भए पनि बढुवाको उच्चतम पद प्राध्यापक हासिल गरेपछि र सेवानिवृित्तपछि पनि आजीवन लेखनमा संलग्न भइरहे । रविलाल अधिकारीको देहावसान २०७९ फाल्गुण १६ गते भएको हो । समग्रमा रविलाल अधिकारी त्यस्ता समाजसचेत बहुआयामिक प्रगतिशील एवं प्रगतिवादी साहित्यकार हुन् जसले समाज रूपान्तरणलाई केन्द्र बनाएर अटुट साहित्य साधनामार्फत नेपाली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
सन्दर्भ सूचीः
अधिकारी, प्रमाण (२०८१), “बा मेरा गुरु र प्रेरणाका स्रोत”, सम्पा. नारायण मरासिनी र अरू, गण्डकी
सङ्गम (रविलाल अधिकारी विशेषाङ्क), (वर्ष २८, पूर्णाङ्क २०) पृ. ११७ ।
अधिकारी, प्रमिता (२०८१), “मेरो अन्तस्कारणमा बा”, सम्पा. नारायण मरासिनी र अरू, गण्डकी सङ्गम
(रविलाल अधिकारी विशेषाङ्क), (वर्ष २८, पूर्णाङ्क २०) पृ. ११५ ।
अधिकारी, प्रमोद (२०८१), “बुबा अनि बनारस”, सम्पा. नारायण मरासिनी र अरू, गण्डकी सङ्गम
(रविलाल अधिकारी विशेषाङ्क), (वर्ष २८, पूर्णाङ्क २०) पृ. १०६ ।
अधिकारी, रघुनाथ (२०८१), “रविलालसँग सम्बन्धित भएर”, सम्पा. नारायण मरासिनी र अरू, गण्डकी
सङ्गम (रविलाल अधिकारी विशेषाङ्क), (वर्ष २८, पूर्णाङ्क २०) पृ. ५० ।
अधिकारी, रविलाल (२०३१), परदेशीलाई पत्र, पोखरा : लेकाली प्रकाशन ।
.................(२०४६), अनुभव र आँखाहरू, पोखरा : लेकाली प्रकाशन ।
................(२०६०), मनोरमा, पोखरा : लेकाली प्रकाशन ।
................(२०७२), अस्ट्रेलिया : छोटो बसाइ, थोरै हेराइ, पोखरा : लेकाली प्रकाशन ।
................(२०७७), सुभाषित शिरोमणि, पोखरा : सम्झनादेवी अधिकारी ।
ढकाल, त्रिलोचन (२०८१), “क्रान्तिकारी व्यक्तित्व प्रा.डा. रविलाल अधिकारी”, सम्पा. नारायण मरासिनी
र अरू, गण्डकी सङ्गम (रविलाल अधिकारी विशेषाङ्क), (वर्ष २८, पूर्णाङ्क २०) पृ. ११७ ।
ढकाल, रोहिणी (२०६८/६९), रविलाल अधिकारीको नियात्राकारिता, पोखरा : नेपाली विभाग, पृथ्वीनाराण
क्याम्पस ।
मरासिनी, नारायण (२०८१), “साहित्यको मूल मर्म यथास्थितिलाई बदलेर...”, सम्पा. नारायण मरासिनी
र अरू, गण्डकी सङ्गम (रविलाल अधिकारी विशेषाङ्क), (वर्ष २८, पूर्णाङ्क २०)पृ. १७८–८८ ।
साहनी, दिल (२०८१), “रविलाल अधिकारीसँगको भेट”, सम्पा. नारायण मरासिनी र अरू, गण्डकी
सङ्गम (रविलाल अधिकारी विशेषाङ्क), (वर्ष २८, पूर्णाङ्क २०) पृ. ११७ ।

लालीगुराँस शान्तिटोल, पोखरा–१२

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।