18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बेखात बालबिज्याइँ

कथा हिमाल लिम्बु July 30, 2025, 12:24 am
हिमाल लिम्बु
हिमाल लिम्बु

एकपटक मैले मेरा ड्याडी-ममीसँग राजधानी सहरबाट निकै टाढा पूर्वाञ्‍चलको रमणीय स्थलहरूको भ्रमण गर्ने टुरको सेडुलमा नाम निकालेँ । टुर सेडुलको टायम टेबलअनुसार ममीड्याडी पूर्वतयारीमा व्यग्र हुनुहुन्थ्यो । म पनि त्यस शुभ अवसरको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको थिएँ । अप्रतिम शरद ऋतुसँगै नजिकिँदै आइरहेको बडादशैँको निकै लामो बिदा भएकाले म प्राथमिक तहको सिनियर विद्यार्थी भए पनि बुकस्याचेल र स्कुलको मोफसलबाट मुक्त थिएँ । ती फुर्सदका दिनहरू म प्रायः साथीहरूसँग खेल्दै बिताइरहेको थिएँ । विशेषतः दशैँ तिहार चङ्‍गा उडाउने सिजन नै हुन् । मेरो बचकाना सौख पनि चङ्‍गा उडाउने भएकाले म नयाँनयाँ अनौँठा चङ्‍गाहरूका डिजाइन बनाउँदै समय बिताउँथेँ ।

मेरो चङ्‍गा डिज़ाइन कला साथीहरूको माझमा स्वर्णपदक विजेता नै माने हुन्थ्यो । साथै चङ्‍गा उडानमा पनि मेरो चङ्‍गालाई चुनौती दिने अरू कुनै अर्को चङ्‍गा थिएन । म कैयौँचोटि औपचारिक 'चङ्‍गाचेट प्रतियोगिता' (Kite Flying Contest) मा प्रथम पुरस्कार प्राप्त गर्न सफल भैसकेको थिएँ । दशैँको पूर्व सन्ध्यामा एजेन्डाअनुरूप पूर्वी पहाडको टुरमा जाने निर्धारित दिन पनि आइपुग्यो । म खुसीले अफ्रिँदै हाम्रो सानो चिटिक्‍क परेको निलो मारुती कारमा गएर बसेँ । ड्याडी ममी पनि सबै भिजिटिङ रिक्वायरमेन्ट्सलाई कारमा लगाएर कारको फोरहुडलाई पूर्व जाने हाइवेतर्फ अघि बढाउनुभयो । टुर सेडुलअनुसार हामीले पहिले इलामको चिया बगान र मनोरम पहाडी दृश्य हेर्दै देउमाई र कन्काइमाईको सङ्‍गमस्थल दोमुखाको दर्शन गर्ने मनसायले तराईको समथर मैदानमा यात्रालाई तराई समथरमा गतिशील बनायौँ । म ड्याडी ममीको मायाको रातीगेडी प्रकृतिसँगै रमाउँदै यात्रा गरिरहेको थिएँ । हाम्रो निश्चित टायमटेबलअनुसार हामी चुरे पर्वतको फेदी हुँदै कन्काइमाईको नहरैनहर कङ्क्रिटको ढोका भएको ठाउँमा पुग्यौँ । त्यहाँको दृश्य सुरम्य र मनमोहक लाग्यो मलाई । म त्यहाँ असाध्यै रमाएँ । ड्याडी ममीसँग माईको चिसो पानीमा पौडी खेल्दा म आनन्द‌को सागरमा डुबेको थिएँ । माईको किनार दर्शनाभिलाषीहरूले टनाटन भरिएको थियो । हामीले स्नानपश्‍चात मर्निङ ब्रेकफास्टका लागि तयारी पकवानको टिफिनबक्स निकाल्यौँ । हामी बसेदेखि केही दूरीमा तीन चार जना ससाना केटाहरू मान्छेहरूको आवतजावत खानापन इत्यादिलाई पुलुपुलु हेर्दै बसिरहेका देखिन्थे । तिनीहरू माउबिनाका बचेरा जस्ता निस्सहाय टुहुरा थिए । उनीहरूको पहिरन फोहोरी झुत्रे थियो । दुब्ला पातला खिनौटे ती बालकहरू टुलुटुलु हेरेर आगन्तुहरूको स्वागत गर्दथे । एउटा झनै दुब्लो लुरे बालक भने त्यो केटाहरूको झुण्डभन्दा अलग्गै टुक्रुक्‍क बसेर हामी तीन जनातर्फ हेरिरहेको थियो । इयाडीले क्यारियरबाट निकालेर केक र जेरीका टुक्राहरू त्यस मरन्च्याँसे बालकतिर हुर्‍याइदिनुभयो । त्यो बालकले हाम र झाम गर्दै त्यो टुक्राहरू बटुल्दै थियो । ती अरू बालकहरू आएर खोसाखोस गर्न थाले । लुरेले एउटा टुक्रा खानलाई मुखमा पुर्‍याउँन खोजेको थियो अर्को केटाले उसको मुखैमा प्याट्‍ट हान्यो । हातबाट केकको टुक्रा उछिट्‍टिएर भुइँमा झर्‍यो । अर्को बालकले हत्तपत्त टिपेर क्वापै खायो । विचरो लुरे बालक हेरेको हेर्‍यै भयो ।

"ममी यिनीहरू को हुन् ?" जसरी प्राकृतिक सौन्दर्य देख्दा म जिज्ञासा राख्दथेँ त्यसरी नै ती निस्सहाय प्राणीप्रति पनि प्रश्न गरेँ । "यिनीहरू भुस्याहा मान्छे हुन् । नहेर तिनीहरूलाई, अगति परिन्छ ।" ड्याडीले अलिक खस्रो स्वरमा भन्नुभयो । हेर, यी नालिका किराहरू थुकेको थुकमा पनि लड्‍डी गर्दै छन् ।" ममीले झन् घृणास्पद मनोभावना ओकल्नुभयो । मैले पहिले आमा बाबुको मुखबाट सुनेको थिएँ 'कुकुर मान्छे' हुन्छ भन्ने कुरा तर त्यसदिन आँखैले देखेकाले असमञ्जस्यतामा परेँ । मैले त्यो लुरे कुकुरसँग मसँग तुलना गरी हेरेँ केही भिन्नता पाइनँ । सहरको सडक‌मा दौडने खुइलेको चारखुट्टे भुस्याहा कुकुर जस्तो मैले देखिनँ । हामीले खाजा खायौँ । तर आज मलाई किन हो खाजा अलिक बेस्वादिलो भयो । सायद मैले इलामको गेष्टहाउसमा खाएको खाना पचिनसकेकाले होला । मैले खाइनसकेका खानेकुरा र पकवानहरू लुरे बालकलाई लगेर दिएँ । उसले पाउने बित्तिकै एकै सासमा एकैगाँस बनाउन खोज्यो । उसले खाइ नसकुन्जेल उसको छेउमा उभिरहेँ । उसलाई राम्ररी नियालेँ । उसले पनि मलाई अव्यक्त रूपले धन्यवाद अर्पण गर्दै खुल्ला नजरले हेर्दैथ्यो ।

"प्रफुल्ल!" ममीको बोलाहटले गर्दा त्यो लुरे बालक कुकुर हो या मान्छे हो खुट्याउने समय भएन । त्यसपश्‍चात् हामीले विभिन्न कोणबाट फोटोहरू खिच्यौँ । त्यहाँको दृश्यावोलकनपछि सिधै घर फर्कने योजना अनुरूप कारमा बस्यौँ । कार चालिस पचास किलोमिटरको गतिमा दौडियो । करिब बाह्र घन्टाको यात्रामा मेरो मनले अनेक कुराहरू सोच्यो । "के मान्छे पनि कुकुर हुन्छ ?" मेरो मनले यो प्रश्नको जवाफ खोजिरह्यो । म आठ वर्षको केटोले आफ्नै जवाफ बनाउँदै बसेँ । "मान्छे कुकुर हुन्छ तर कसरी ? बिचरा लुरे कसरी कुकुर भयो होला ? म पनि एकपटक सिकिस्त विरामी हुँदा त्यस्तै हड्डी र छालाको मात्र लिखुटे भएको थिएँ । मैले पनि च्यातिएको मैलो कपडा लाएको थिएँ भने मेरा ममीड्याडीले मलाई पनि कुकुर भन्नुहुन्थ्यो होला ।"

मेरा यस्तै कौतुहलत आफैँमा अस्पष्ट भए पनि कौतुहलमै रहिरह्यो । मैले ममीड्याडीलाई सोध्ने दुस्साहस गरिनँ किनभने यस्ता बिषयमा आमा-बुबा रिसाउनुहुन्थ्यो । यात्राले मार्ग समाप्त गरेपछि हामीले हाम्रो बासस्थानको छत्र छहारीमा पाइला राख्यौँ । ड्याडीममी थकानले निकै व्याकुल हुनुभएको जस्तो देखिनुहुन्थ्यो तर म चुलबुले आफ्नो आँगनमा ओडारभित्रको साहसी स्याल जस्तो चकचके बहादुर भएको थिएँ । ड्‌याडीले कारबाट ओर्लिएर सामानहरू बाहिर निकाल्न थाल्नुभयो । कारको पछिल्लो सिटमुनिबाट ड्याडीले लुरे फुच्चेलाई निकाल्नुभयो । "यो कुकुर पनि मेरो गल्ली दुषित पार्न आएछ बाफ रे । राजा बस्ने गाउँमा आइपुग्यो यो कुत्ता ।" यति भन्दै ड्याडीले लुरेलाई कानमा समातेर भुइँमा थेचार्नुभयो । बिचरा लुरे सुकसुकाउन थाल्यो । ड्याडीको यस्तो दुर्व्यवहार देखेर म रूष्ट हुन्थेँ तर मसँग विरोध गर्ने साहस थिएन । तैपनि मैले वहाँलाई त्यो लुरे केटामाथि दया गर्न अनुरोध गरेँ । तर वहाँले उल्टै मलाई गाली गर्नुभयो । म पछाडि हेर्दै आमाको पछि लागेँ । गेटको पालेले लुरेलाई घोक्रेघुती पार्दियो । त्यसबेला मेरो कन्सिरी हल्लिए तर मैले हेर्न सिवाय केही गर्न सकिनँ । म चङ्‍गा उडाउँदै आराम लिने आशयले सरासर माथिल्लो छतमा गएँ ।

फूलपातीको दिन थियो । गोर्खाबाट ल्याएको फूलपाती बाजागाजासाथ हाम्रै महल अगाडिको मार्गबाट हनुमानढोका दरबार लगिन्थ्यो । त्यसैले त्यो दिन एकाबिहानै म पनि बाटाको रमिता हेर्न अङ्‍कलको छोरासँग गल्लीतर्फ दौडिएँ । हाम्रै महलको ठिक अगाडि गल्लीको पेटीमा मैले लुरे कुकुरलाई कागज, प्लाष्टिक र फोहरी कपडाहरूमा सुतिरहेको देखेँ । ऊ मस्त निदाइरहेको थियो । तर उसको च्याउसे अनुहार मलिन देखिन्थ्यो । उसका ओठ सुकेका थिएँ । यथार्थमा ऊ बिरामी थियो । "काठमाडौँको हावापानीले कुकुरलाई पनि प्रभाव पारेछ ।" मलाई कताबाट अमानवीय भावनाले मनमा सुटुक्‍क बोलायो । उसको टाउकोनेर केही चङ्‍गा र धागोका गुच्छाहरू छरपस्ट छरिएका थिए । त्यसबेला मैले उसलाई चेवाचासो गर्नुको कारण नै ती चङ्‍गाहरू थिए । म चङ्‍गाप्रेमी, त्यसमा पनि उसका चङ्‍गा अनौठा र आकर्षक देखिन्थे । मलाई झटपट टिपिहालूँ जस्तो लाग्यो तर मनको एक कुनामा कुकुरको खेलौना चोर्ने भन्ने सोचेर मेरा हातहरू अडिए । मैले गल्लीमा रमिता हेरिसकेपछि गेटतर्फ पाउहरू हालेँ । अझसम्म लुरे सुतिरहेको थियो । मेरा आँखाहरू तिनै चङ्‍गाहरूमा केन्द्रित हुन्थे । म सरासर गेटभित्र छिरेँ । आवश्यक सामग्रीहरू लिएर लुरेको चङ्‍गाहरू जस्तै बनाउन प्रयास गर्न थालेँ । पाना आकारको चङ्‍गामा एउटा पुतलीको आकृति थियो । मैले त्यस्तै बनाउन प्रयास गरेँ तर असफल भएँ । मैले उसको चङ्‍गामाथि आँखा गाडिसकेको थिएँ । अपरान्हको बेला यदि लुरे निदाइरहेको छ भने दाउ परेमा उसको चङ्‍गा चोर्ने र साथीहरूलाई चुनौती दिने विचारले सडकतर्फ हानिएँ । लुरे अझै लमतन्न परेर सुतिराखेको थियो । म उसको समीपमा गएँ । ऊ निदाएको छ कि छैन भनी ध्यान दिएर हेरेँ । जाँच्नलाई कागजको डल्लो बनाएर उसको शिथिल गालामा प्याट्टै हानेँ । ऊ आ-आईया भन्दै मतर्फ फर्कियो । मेरो योजना विफल भएकाले म स्तब्ध भएँ । केहीछिन् अलमल्ल परेँ तर मेरो मनमा एउटा विचार आयो । लुरेसँग सम्बन्ध बढाउने, आवश्यक परे सहयोग गर्ने र चङ्‍गा फुत्काउने विचार गरेँ । उसले मलाई आशावादी दृष्टिमा हेरिरहेको थियो । मैले हल्का आकर्षक मुस्कान दिएर उसको नगिचै गएँ । "तिमीलाई केही भएको छ हो ?" मैले आफ्नो मिजासिलो गुण देखाएँ । "हो मलाई ज्वरो आको छ । मलाई बचाईदिनुस्, सानुराजा ।" झिनो स्वरमा अड्किँदै लुरे बोल्यो । उसका आँखामा आँसु नाचिरहेको थियो । "अहो ! तिमीलाई ज्वरो आको रैछ । औषधी खानुपर्छ, सब ठिक भैहाल्छ । तिमीलाई केही हुँदैन नरोऊ है । म डक्टर लिएर आउँछु, एकैछिन् पर्ख ।" उसलाई सहयोग गर्ने वचन दिएर म गल्लीको दाहिने साइडबाट निस्केँ । हाम्रो परिवारको एक जना पर्सनल डाक्टर हुनुहुन्थ्यो डा. दयानन्द झा म उनकै क्लिनिकतर्फ दौडिएँ । डाक्टरसाब बिरामीहरू हेर्न व्यस्त हनुहन्थ्यो । तैपनि मैले सम्बोधन गरेँ । मलाई देखेर डक्टरसाब छक्‍क पर्नुभयो । "सानुराजा, तपाईँ यहाँ आफैँ ! कसलाई के भो हजुर ?" डाक्टर साबलाई मेरो परिवारको बारेमा राम्ररी थाहा छ । म ढाँट्न सक्तिनथेँ । मैले मन्द मुस्कानमा साँचो कुरा बताएँ । मेरो उदार दिलको बात सुनेर डाक्टरसाबले धन्यवाद दिनुभयो । म मख्खै परेँ । "तर सानुराजा म अहिले व्यस्त छु । त्यो खातेलाई चेक गर्न जान भ्याउँदिनँ । यसो गरौँ, औषधी लिएर जानुस्, उसलाई दिनुहोला ।" डाक्टरको प्रशंसाको अर्थ त्यसबेला बुझेँ मैले । डाक्टरले दिएको ज्वरोको औषधी लिएर म लुरेकोमा आएँ । उसको छेउमा प्लाष्टिकको बोटलमा भएको पानीसँगै औषधी खान लाएँ । बाँकी चक्‍कीहरू उसैलाई खानु भनेर दिएँ । दबाई खाने बित्तिकै लुरेको अनुहार हँसिलो भयो । मैले पनि खुसी हुँदै सोधेँ, "तिम्रो नाम के हो ?"
"खाते ! मलाई सबैले खाते भन्छन् ।" लुरेले बिस्तारै भन्यो ।
दुनियाले चिन्ने नाम बतायो उसले, "खाते" ।
मैले उसको नाउँ उच्चारण गरेँ । खाते पनि मान्छेको नाम हुन्छ र !
मैले निर्क्योल गर्नै सकिनँ ।
"तिमी चङ्‍गा उडाउँछौ ?" उसको प्रश्न सुनेर मलाई के खोज्छस् कानो आँखो भनेझैँ भयो । म फुरुङ्‍ग भएँ । "उडाउँछु ।" मैले हत्तपत्त उत्तर दिएँ । "लेऊ यी चङ्‍गाहरू ।" मैले चङ्‍गाहरू लिएर ओल्टाईपल्टाई गरी हेरेँ । "दबाईको पैसा तिर्न मसँग पैसा छैन ।" खातेले झिनो स्वरमा भन्यो । "तिमीले तिर्नु पर्दैन, खाते ।" मैले मैत्रीपूर्ण तरिकाले भनेँ ।
"तिमीले आफैँ बनाको चङ्‍गा हुन् ?" उसले टाउको हल्लाउँदै "अँ" भन्यो ।

"खाते, तिमीलाई भोक लागेको छ ? म खाना ल्याइदिन्छु ।" मलाई चङ्‍गा पाएपछि उडाउन हतार भैसकेकाले खाना ल्याइदिने वाचा गर्दै महलतर्फ छिरेँ । साँझ पर्‍यो । म छतमा बसेर चङ्‍गा उडाउँदै थिएँ । अँध्यारो भएको पत्तै भएन । बेलुकीको भोजन खाने बेला भएको खबर आयो । डाइनिङ रूममा पसेँ । ड्याडी, ममी, अङ्‍कल, आन्टी सबै आ-आफ्नो ठाउँमा बसेर आनन्दले खान थाल्नुभयो । म पनि आफ्नो सिटमा बसेँ तर त्यसदिन मलाई सधैँको जस्तो खानामा उत्साह थिएन । मैले 'राजु' र 'राकेश' को टेबलमा हेरेँ । ती दुवैले दुधभात च्वापच्वाप खाँदै सँगसँगै मासु ल्यापल्याप चाट्दै र हड्‍डी चर्‍याकचर्‍याक पार्दै चपाइरहेका थिए । ड्‌याडी ममी र अरूलाई वक्रदृष्टिले हेरेँ । उनीहरू पनि 'राजु' र 'राकेश' जसरी एकतमासले खाइरहनुभएको थियो । उनीहरूलाई ती चौपायासँग तुलना गरेँ । केवल आकृतिको भेद थियो । मैले खातेलाई सम्झेँ । उसले मेरो बाटो हेरिरहेको होला भन्ने भान भयो मलाई । भान्सा उठेपछि अङ्‍गुरको खाली बास्केटमा केही खाने कुराहरू लुकाएर राखेको थिएँ । त्यो लिएर बाहिर निस्किएँ । गल्लीमा कुनामा खाते सुतिरहेको थियो । मैले उसको छेउमा त्यो बास्केट राखिदिएँ । स्ट्रिट ल्याम्पको मधुरो प्रकाशमा खातेले बास्केटमा हात घुसाउँदै गरेको देखेँ मैले । म सुटुक्‍क महलको गेटबाट छिरेँ ।

समय बित्दै गयो । म फुर्सद हुनासाथ खातेको गल्लीमा जाने गर्न थालेँ । उसको चङ्‍गा बनाउने कला र दन्त्यकथाले म ऊतिर आकर्षित भएको थिएँ । दिनभरि म दरबार हाइस्कुलमा हुन्थेँ भने खाते सहरको गल्लीमा हुन्थ्यो । उसले ढलनाला, बाटोघाटोमा भेटिएका प्लाष्टिक र धातुका टुक्राटुक्री बटुलेर त्यसलाई जोडेर आकर्षक तर विचित्रका चङ्‍गाहरू निर्माण गर्थ्यो । विभिन्न कागजलाई काटेर वा मिलाएर चङ्‍गामा विभिन्न किसिमका चित्रहरू बनाउथ्यो । काठलाई खोपेर छाप बनाउने हस्तकलाले खारिएको थियो खाते । कर्दको टुप्पो र सुइरोले खोपेर छापमा चित्रहरू बनाउन सिपालु थियो । उसका चङ्‍गाहरूमा कागजका कलात्मक आकृतिहरूले भरिएका हुन्थे । म दिनहुँजसो साँझमा उसकहाँ जान्थेँ र चङ्‍गा उडाउँथेँ । कैँची, रङ्‍गहरू, कलर-पेन्सिलहरू र गमहरू दिएर मैले उसलाई चङ्‍गाहरू बनाउन सहयोग गर्थेँ । उसले मलाई विभिन्न आकृति भएका स्ट्याम्पहरू दिन्थ्यो । हामी एकान्तमा रहेको पर्खालमा गएर चङ्‍गा उडाउँथ्यौँ । उसका चङ्‍गाहरू धेरै जसो रकेट आकारका थिए । कुनै पौराणिक कथामा वर्णन गरेका विमान जस्ता थिए । बिस्तारै हावाको बहावसँगै चङ्‍गा उडेर जाँदा तिनीहरूसँगै त्यसभित्रका मान्छेहरू अनन्त आकाशमा उड्दै गइरहेका छन् जस्तो लाग्थ्यो । खातेसँग खेलेको देखेर मलाई साथीहरूले गिज्याउँथे । फोहरी खातेसँग खेल्ने भुस्याहा भनेर जिस्क्याउँथे । मलाई भने उनीहरूको स्वभावप्रति क्रोध नलागी टीठ लाग्थ्यो ।

रमाइलो दीपावली घरआँगनीमा आउने तरखरमा थियो । विद्यालयबाट फर्केपछि बिचरो खातेको समीपमा गएर उसको दन्त्यकथाका परी, राक्षस र देवताहरूको कथा नसुनी र चङ्‍गा उडानमा भाग नलिई मलाई दिन नै रमाइलो लाग्दैनथ्यो । एकदिन म ऊसँगै बसेर उसको दन्त्यकथाको विश्लेषण गर्दै चङ्‍गा निर्माण कलाबारे प्रशङ्सा गर्दै विविध जिज्ञासा राख्दै थिएँ । "ए, खाते, के तिम्रो ममी ड्याडी हुनुहुन्न ?"
"ममी ड्याडी भनेको के हो ?" उसले अनभिज्ञता जनायो ।
"आमाबुबा, मातापिता" भनेर मैले खुलस्त पारेँ ।
"हुनुहुन्छ ।" खातेले घोर तपमा डुबेर सम्झे जसरी भन्यो ।
"कहाँ हुनुहुन्छ ? तिमीलाई माया गर्नुहुन्न हो ?"
केहीबेर सोचेर विचारणीय शब्द ओकल्यो उसले "मेरा आमाबुबा यो आकाशको सबैभन्दा माथि हुनुहुन्छ । उहाँहरूले मलाई असाध्यै माया गर्नुहुन्छ ।"
"अनि तिमीलाई लिन किन आउनुहुन्न ?"
"उहाँहरू सधैँ मलाई भेट्न आउनुहुन्छ । तर मैले पो उहाँहरूलाई भेट्न जान सकिरहेको छुइनँ ।" मैले कुरै नबुझी सोधे, "कहिले भेट्न जान्छौ त खाते तिमी ?"
"अब चाँडै जाने छु । म यस्तो चङ्‍गा बनाउँदै छु जुन हावाबिना पनि उड्न सकोस् । रकेट, हवाइजहाजभन्दा छिटो उड्ने चङ्‍गा बनाएर म आमाबुबालाई भेट्न जाने छु ।"
ऊ फुरुङ्‍ग भएर आकाशतिर हेर्दै उसको निसाना बताइरहेको थियो । उसको नयनहरूमा दृढताको ज्योति झल्किरहेको थियो ।
"फेरि फर्केर आउँछौ कि आउँदैनौ, खाते ?"
"आउँछु, प्रफुल्लदेव । म चङ्‍गाको यानमा चढेर तिमीलाई लिन आउने छु । पालैसँग तिमी अनि सबै मान्छेहरूलाई आमाबुबा भएको ठाउँमा लैजाने छु ।" ऊ हृदयबाट उद्‍भव शब्दहरूले सपना बुन्दै उसको काल्पनिक योजनाको चित्रण गर्दै थियो ।
"त्यो हलुवा पसलेलाई त लाँदैनौ होला होइन ?"
मैले हाँस्दै प्रश्न गरेँ । एकपटक उसलाई त्यो पसलेले रोटी चोरेको अभियोगमा निकै दख्खल पुग्ने गरी पिटेकाले त्यसको स्मरण गराएँ ।
"अँ त्यसलाई झन् पहिल्यै पल्ट यानको अघिल्तिर राखेर लान्छु नि । त्यहाँ पुर्‍याएपछि पिताले नै उसलाई सजाय दिनुहुने छ ।" उसले विश्वस्त हुँदै उत्तर दियो । उसले सुनाएका कथा-कहानीहरू भन्दा त्यस दिनको संवादले निकै गम्भीर भएँ म । उसले बनाउन अठोट गरेको विचित्र चङ्‍गाको काल्पनिक आकृति मेरा आँखामा तरङ्‍गित भैरह्यो । उसको घर अनि आमाबुबा आकाशभन्दा माथि हुनुहुन्छ भनेको सुनेर म विस्मयमा परेँ ।

झमक्‍क साँझ परिसकेको थियो । ऊबाट छुट्टिएर मनमा नानाथरी कुरा खेलाउँदै आफ्नो बुबाको महलतिर आइरहेको थिएँ । अचानक झस्किएँ । " ए, पाले ! यो कुकुरलाई गेटबाट छिर्न न दे ।" मेरो ड्याडीको रुखो हुकुमी आवाज गेटको रडहरू रननन रन्काउँदै मेरा कानका जाली थर्काउन पुग्यो । म तर्सिएँ । ड्‌याडीले मलाई घृणा र क्रोध मिश्रित नजरले हेरिरहनुभएको थियो । "यो कर्णसिंह शाहदेवको छोरो एउटा गल्लीको कुत्ताको सङ्‍गतमा पछि लाग्दै छ हाहा हाहा । क्या गजब छ बा ।" ड्याडी गर्जँदै हुनुहुन्थ्यो । म गेटको सङ्‍घारमा गेटको रड समाती शिर झुकाएर उभिएँ । ड्याडीले मैले खातेसँग खेलेको र सङ्‍गत गरेको सुइँको पाउनुभएको थियो । ड्याडीममीले मलाई प्राय भुवन सेठ, लालजी गोयल, जयविक्रमको छोराछोरीसँग खेल्न वातावरण बनाइदिनुहुन्थ्यो । तर म उनीहरूलाई छकाएर खातेको आकर्षक चङ्‍गा उडान हेर्न र मिठामिठा कथाहरू सुन्न जाने गर्दथेँ । "आइन्दा गेटबाहिर निस्किएको थाहा पाएँ भने हातगोडा भाँचेर लडाइदिन्छु ।" ड्याडीले वहाँका गार्डहरूलाई दिएको जस्तो हुकुम जारी गर्नुभयो । गेटको पालेले मलाई हातमा समातेर भित्र तान्यो । मलाई लाग्छ ड्याडीले ऊतिर फर्केर सङ्‍केत दिनुभएको थियो र पाले अङ्‍कलले मलाई माया देखाउनुभयो । म महलभित्र लुसुक्‍क छिरेँ । त्यस दिनदेखि मलाई गेटबाहिर जान मनाही गरियो । त्यस दिनदेखि म साततले बिल्डिङ्‍गको माथिल्लो छतबाट खातेलाई हेर्न सडकहरूमा आँखा डुलाउँदथेँ । तर त्यो सानो आत्मा कहाँ देखिन्थ्यो र ! अपरान्हमा चङ्‍गा उडाउँदा भने सडकको जुनसुकै कुनाबाट पनि उसको चङ्‍गा आकाशमा नाचिरहेको देखिन्थ्यो । म पनि उसको चङ्‍गा भएतिरै मेरो चङ्‍गा पठाउथेँ । उसका चङ्‍गा आकर्षक मात्रै होइनन् उड्नमा पनि धेरै माथिसम्म पुग्दथे । कतै खाते त्यही चङ्‍गामा चढेर उसको बुबालाई भेट्न जाँदै छैन ? म आशङ्‍काले उत्तेजित हुन्थेँ । पहिले अपरान्हमा उसलाई भेटन जाँदा म उसका लागि केही खानेकुरा लगिदिन्थेँ । उसलाई भेट्न जान नपाएको धेरै भैसकेको थियो । के खाँदै छ होला खातेले ? कतै चोरी, पकेटमारी गर्दा पिटिने होइन ? मलाई किनकिन दया जागेर पीडाको अनुभूति हुन्थ्यो । तर ऊसँग मित्रताको अनन्त यात्रालाई निरन्तरता दिन म असमर्थ थिएँ किनकि म पिँजडाको सुगा जसरी कैदी थिएँ भने ऊ छाडा छोडिएको मरुभूमिको सहाराविहीन कङ्‍गारू जस्तो ।

गोबर्धन पूजाको दिन थियो । कारणवश म पनि ममी ड्याडीको साथमा निस्कने मौका पाएँ । कारभित्रैबाट मैले खातेलाई देख्छु कि भनेर ऊ सुत्ने सडकको पेटीमा आँखा तन्काएर हेरेँ । तर त्यसबेला खाते त्यहाँ थिएन । हामी निश्चित काम सकेर आफ्नै महलतिर फर्कियौँ । जब हाम्रो कार गेटनेर सडकमा आइपुग्यो त्यसबेला हाम्रो घर अगाडिको सडकको बायाँ साइडमा केही मानिसहरूको भिड थियो । कोही दयाले शब्दोपहार चढाउँदै थिए । कोही आश्चर्य मान्दै हेर्दै थिए । केही ट्राफिक प्रहरीहरू भिडलाई पन्छाउँदै पहरा दिँदै थिए । ड्याडी हाम्रो गेटनेर कार रोकेर भिड भएतर्फ लम्कनुभयो । म पनि ममीको हातबाट चिप्लिएर भिडतर्फ दौडिएँ । म एक दर्जन वर्ष पनि पार नगरेको फुच्चे पनि त्यो भिडभित्र पस्न सकिनँ । मैले झलक्‍क देखेँ कि एउटा सानो केटा भुइँमा लमतन्न परेर सुतेको थियो । ड्याडी कारतर्फ बढ्नुभएकाले म हत्तपत्त ड्याडीलाई उछिनेर ममीको छेउमा गएर सिटमा बसेँ । "के भएको रहेछ, राजासाब ?" ममीले ड्याडीसमक्ष जिज्ञासा राख्नुभयो । "त्यो भुस्याहा मरेछ ।" ड्‌याडीले ठाडो उत्तर दिनुभयो ।
"चचच बिचरा ! के भएर मरेछ ?" ममीले कारको सिटमा बसेको राजुको नरम रौँहरू सुमसुम्याउँदै दयाभाव देखाउनुभयो । ड्याडी चुपचाप कारभित्र पस्नुभयो । ड्‌याडीको कुराले म संशयमा परेँ किनकि मैले त त्यहाँ मान्छे देखेको थिएँ । "ममी, त्यो सानो भुस्याहालाई मार्ने ठुलाठुला कुकुर होलान् नि ?" मैले अनौठो कुरा सोधेकाले ममी मौन रहनुभयो । ड्याडीले भने एकपटक आँखा तरेर मलाई हेर्दै गिएर दबाएर दरबारभित्र कार हुइँय्य छिराउनुभयो ।

तिहारको रमझम, उत्साह, केही उमङ्‍ग; केही विस्मयमा बितिरहेको थियो तिहार । भाइटीकाको दिन थियो । सहरमा चङ्‍गाचेट प्रतियोगिता (Kite Flying Contest) मा मैले भाग लिएकाले निकै उत्साहित भैरहेको थिएँ । खातेले उपहारस्वरूप दिएको आकर्षक चङ्‍गाहरू मसँग थिए । ती चङ्‍गाहरू मौलिक डिजाइनका थिए । हावाको थोरै झोँक्‍काले उडाउने सक्ने डिजाइनका थिए । म विश्वस्त थिएँ मेरो हातमा चन्द्रमा दाहिने हुने छ भनी किनकि ती चङ्‍गाहरूमा मेरो हृदयी मित्र खातेको आत्मा थियो । मेरा प्रतिस्पर्धीका चङ्‍गाहरू चेट पारेर खातेको चङ्‍गा उत्कृष्ट ठहरिने छ भन्ने आत्मविश्वास थियो मलाई । प्रतियोगितामा सबेरै गएँ । त्यहाँ जस्तासुकै चङ्‍गाहरू भए पनि मेरो अद्वितीय चङ्‍गालाई चुनौती दिने थिएनन् । वास्तवमा त्यो प्रतियोगितामा मेरो साथी खाते अप्रत्यक्ष रूपले प्रतिस्पर्धा गरिरहेको थियो । चङ्‍गाचेटमा जे हुँदै थियो सबै खाते नै संवाहक थियो । म त केवल साधन मात्र थिएँ । प्रतियोगितामा कैयौँ चङ्‍गाहरूलाई काटेर, उछिनेर म विजेता भएँ । मैले विजयको पुरस्कार प्राप्त गरेँ । तर त्यो सफलताको श्रेय मैले खातेलाई दिएँ । पुरस्कार पनि उसकै नाममा ग्रहण गरेँ । "यो चङ्‍गाचेट मैले लुरे खातेको कारणले जितेको हुँ । धन्यवाद खाते । तिमी मरेर गए पनि म सधैँ सम्झिरहने छु ।" यति भन्दै मैले पुरस्कार लिएँ । विजयको माला, प्रशंसाको ताली र साथी भाइबाट स्याबासीका धापहरू पाएर मेरो चङ्‍गाचेट पनि सकियो ।

भाइटीकाको दिन विजयको उन्मादमै बित्यो । त्यसको भोलिपल्ट बिहानै मुड चलेकाले माथिल्लो छतमा गएर मैले चङ्‍गा उडाउन सुरू गरेँ । पूर्व क्षितिजबाट रविले कविहरूलाई मोहनी लगाउने लालीमा किरण छर्दै टिलपिलाउँदै थियो । शरद् ऋतु भएकोले शीतका थोपाहरू टलपल टलपल मोती दानाझैँ झुलिरहेका थिए । सिर्रसिर्र चिसो बतास चलेकाले आनन्दको अनुपम बिहानी थियो । आकाश सफा खुला थियो । टाढा क्षितिजमा कहीँ कतै सेता बादलको धब्बा मात्रै देखिन्थ्यो । उपत्यका वरिपरिका हरिया डाँडाहरू रमरणीय देखिन्थे । निलो आकाशको अनन्तमा केही चराहरू एक तमासले उडिरहेका देखिन्थे । मैले छतबाट उडाएको चङ्‍गा आकाशमाथि द्रुत गतिमा गइरहेको थियो । धागोले कन्ट्रोल गर्दै चङ्‍गालाई गन्तव्यतर्फ लान म भरमग्दुर प्रयत्न गर्दै थिएँ । तर चङ्‍गा भने अस्वभाविक रूपले सोझै अकासिँदै थियो । अचानक सडकमा चिच्याएको आवाजले मेरो ध्यान तान्यो । मैले छतमाथिबाट हेरेँ । त्यहाँ एउटा मोटे भुँडे मान्छेले लिखुरे सानो केटालाई फलामको रडले निर्ममतापूर्वक पिट्दै थियो । हेर्दाखेरि त्यो केटा पनि सडकको खाते जस्तै लाग्थ्यो । मैले आँखा मिचेर हेरेँ । त्यो खाते भुइँमा भक्लक्‍क ढल्यो र तनक्‍क पर्‍यो । कुटाइले मर्‍यो सायद । मैले खातेलाई सम्झेँ । मैले निचोड निकालेँ, "अरे यहाँ त ठुलो कुकुरले सानो कुकुरलाई मात्र होइन; ठुलो मान्छेले सानो मान्छेलाई पनि मार्दोरहेछ !" म बरबराउन थालेँ, "हे साथी ! यहाँ तिमी जस्ता साना मान्छेहरू कोही नरहने भए । तिम्रो बाबालाई लिएर तिमी कहिले आउँछौ, खाते साथी ? यहाँ खातेहरूलाई बचाउने कोही छैनन् !" मैले पुकारा गर्दै आकाशतिर हेरेँ । मैले उडाउँदै गरेको चङ्‍गा मेरो हातबाट छुटिसकेको थियो । धागोबाट अलग्गिएको चङ्‍गा निलो आकाशको गर्भभित्र घुसेर बिलाउँदै थियो । झल्याक्‍कझिलिक चम्केको बिजुलीको चमकसँगै त्यो खातेको चङ्‍गा बादलपारिको सगरलाई छिचोल्दै गइरहेको थियो ।

धरान, सुनसरी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।