18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वर्गविभेदजन्य मनोद्वन्द्वात्मक 'परिणति'मा हीरामणिको सामर्थ्य

कृति/समीक्षा केशवराज आमोदी July 30, 2025, 1:43 pm
केशवराज आमोदी
केशवराज आमोदी

१ . प्राक्कथन
सङ्कल्पबिनाको सङ्घर्षले जीवनका पारिणामिक सतह पहिल्याउन सकिदैन । त्यसो त जीवन सङ्घर्षको पहेली हो जसको सम्भावित परिणति पहिल्याउन त्यति सहज हुँदैन । शिशिरऋतुपश्चात् मधुमासको आगमनले प्रकृति परिवर्तन भए झैं जीवनका परिदृश्यहरू स्वयमेव आनन्ददायी , रमणीय , स्पर्शनीय , दर्शनीय र हृदयसंवेद्य हुनुपर्दछ । यिनै विचारको निकट रहेर मानवतावादमा नै जीवनवादी दर्शनको गोेरेटो खोज्ने आख्यानकार हुन्- हीरामणि शर्मा ।

२. हीरामणि शर्माको सामान्य परिचय :

वि. सं. २०२१ श्रावण २२ मा माता सुमित्रा उपाध्याय र पिता ज्यो.पं. महोदत्त उपाध्यायका पुत्र-रत्नका रूपमा गण्डकी प्रदेश , स्याङ्जा जिल्लाको प्रकृतिरम्य आँधीखोलामा हीरामणिको शुभमुहूर्तमा जन्म भएको हो । गुण-रूप-शीलयुता विनीता न्यौपानेसँग पाणिग्रहण भई ज्येष्ठपुत्र इन्जिनियर सन्देश पौडेल ( विद्यावारिधि ) र कनिष्ठपुत्र इन्जिनियर सन्दीप पौडेलहरू जस्ता सुयोग्य पुत्रहरूका पिता बन्ने अवसर पाएका हीरामणि शर्माले त्रि वि वि' बाट एम ए , बी एड गरेका छन् ।

उनीसँग मेरो परिचय भएको धेरै भएको छैन । इलाम साहित्य मञ्चको आमन्त्रणमा २०७७ चैत्र २५ , २६ र २७ सम्मको त्रिदिवसीय पूर्वाञ्चल साहित्यिक भ्रमण कार्यक्रम रहेको र संसारकै पहिलो लायन्स क्लब अफ चितवन वाङमयको आयोजनामा यात्रारत रहदा द्रुतगतिमा कुँदिरहेको बसभित्र भएको हो । यो अविस्मरणीय यात्रासँगै हाम्रो मित्रता अझै अविस्मरणीय र प्रगाढ बन्दै अगाडि बढिरहेको छ ।

सर्सर्ती हेर्दा उहाँका लोकार्पित कृतिहरू 'माटो र मुटु' कवितासङ्ग्रह ( २०७६ ), स्वाभिमान ( मुक्तकसङ्ग्रह , २०८१ ) , मनबीरेका सपनाहरू ( कथासङ्ग्रह , २०८१ ) र 'परिणति' रहेका छन् । समाज रूपान्तरणका लागि सबै कृतिहरू उत्तिकै चेतनाभिमुख र सशक्त छन् ।

३. साहित्यिक संस्थाहरूमा हीरामणिको संलग्नता :
अनुराग साहित्य समाज रूपन्देही , युगीन साहित्य समाज रूपन्देही , पीताम्बर विष्णुराज्य प्रतिष्ठान कास्की , हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवन , पल्लव सा. प्र. चितवन , नवसाहित्य मञ्जरी चितवन जस्ता संस्थाहरूका आजीवन सदस्य रहनुका साथै लायन्स क्लब अफ चितवन वाङ्मयसित सम्बद्ध छन् ।

४. सम्मान पुरस्कार :
नेपाली भाषा , साहित्य र शैक्षणिक उन्नयनमा हीरामणिले निम्न संस्थाहरूबाट सम्मान-पुरस्कार प्राप्त गरेका छन् । यथा-
क. कदरपत्र : जिल्ला शिक्षा कार्यालय (बुटवल स्रोतकेन्द्र)रूपन्देही ( २०५७ )
ख. सम्मानपत्र : गाउँ परिषद् देवदह गाविस रूपन्देही, २०५८
ग. प्रशंसापत्र : जिल्ला शिक्षा कार्यालय रूपन्देही शिक्षादिव
( २०५९ )
ङ. राष्ट्रिय शिक्षा पुरस्कार ( शिक्षा दिवस २०७२ ) पदक तथा
प्रमाणपत्रद्वारा नेपाल सरकारबाट पुरस्कृत ।
च . शिक्षण संस्थाहरूमा रहँदा प्रशंसनीय कार्य सम्पन्न गरेबापत उत्तिकै पुरस्कार-सम्मानहरू पनि प्राप्त गरेका छन् ।

५. अमानवीय वर्गविभेदमा अल्झेको सामाजिक यथार्थ र परिणति :

यतिखेर उनी आफ्नो सद्य प्रकाशोन्मुख आख्यानपरक नवीनतम कृति परिणति ( उपन्यास ,२०८१ ) को प्रकाशनको तयारीमा छन् । सो कृतिको नामिकपदगत अर्थले अवस्था , परिपाक , झुकाइ , नम्रता , समाप्ति , प्रौढता , पुष्टता , परिवर्तन हेतु नयाँ रूपादियुक्त अवस्था आदिको भावोद्दीपन प्रकट गर्ने शाब्दिक अनुरणनमा अनुगुञ्जित लाक्षणिक ध्वनितार्थले कुतूहलता र जिज्ञासाको सुन्दर बिम्बलाई कथानकतामा रूपान्तरित गरिदिंए झै लाग्दछ ।
साहित्यका कविता , नाटक , निबन्ध र आख्यान गरी प्रमुख चारवटा विधाहरूमा सम्प्रति सर्वाधिक लोकप्रिय विधा आख्यान रहेको छ ।आख्यानले कथालाई नै इङ्गित गर्दछ र उपन्यासले यसको समूचा भार-बहन गर्दछ । उपन्यासको सान्दर्भिक अर्थले वाक्यको प्रयोग , प्रस्ताव , विचार वा कल्पित र लामो कथा जो अनेक पात्रहरू , घटनाहरू , परिघटनाहरू र सङ्घटनाहरूको योजनाबद्ध आकलनलाई सङ्केत गर्दछ । कथायोजना , पात्रस्थापना , परिवेश , दृष्टिबिन्दु , सारवस्तु , प्रतीकयोजना , बिम्बविधान , पात्र र परिवेशअनुकूल संवाद , भाषाशैलीको मनोरम सुष्ठुतर प्रयोगका माध्यमबाट उपन्यासकारद्वारा निजी सोच , चिन्तन र धारणामुताबिक आदर्शवाद , अस्तित्ववाद , यथार्थवाद र प्रगतिवाद जस्ता कुनै वादमा देश , काल ,परिवेश , राजनीति , सामाजिक विधि-व्यवहार र लोकजीवनशैलीको पृष्ठभूमिको आधारमा आख्यानको तान लगाइन्छ ।
कवि एवम् उपन्यासकार हीरामणि शर्माले यस कृतिमा २०३६ साल अघिको कुनै पहाडी दुर्गमगाउँ जस्तो लाग्ने लाँकुरीबारी , रानीबारी , कालीखोला , कृषकहरूको अविराम चल्दो कृषिकर्म , स्कुल , विद्यार्थी , शिक्षक अनि सेतीखोलाको दोभान नजिकको सानो बजार , जहाँ सिधासाधा गाउँलेहरठुलाबडाको चरम हैकम , शोषण छ र गाउँलेहरू अभाव र उत्पीडनमा नै जीवन ज्यूँन विवश छन् । यिनै पृष्ठभूमिको आधारमा कथावस्तुलाई कलात्मक शैली र शिल्पमा ढालेर तयार पारिएको मात्र छैन अपितु धनी र गरिब ,सम्पन्न र विपन्न , शोषक र शोषित र सज्जन र दुर्जनबिच पन्पिएको सामाजिक अन्तरविरोधका साथै व्यक्ति-व्यक्तिका अन्तर्द्वन्द्वलाई कथानकताको केन्द्र बनाएर चुल्याइएको छ ।अन्तत: द्वन्द्वव्यवस्थापनबाट नै निकासको मुहान भेटिएको तथ्यमा पुगेर उपन्यास टुङ्गिएको छ ।

६. वर्ग-विद्रोहको डढेलो र परिशमन :

गरिबीमा पिल्सिरहे पनि राम्रो चरित्र भएको कर्मी कान्छोको छोरो स्वीकार उपन्यासको प्रमुखपात्र बनाइएको छ । गाउँभरिको सबैभन्दा दुष्ट खलपात्रको रूपमा रिठ्ठे महाजन रहेको र यसैकी छोरी भावना प्रमुख पात्राको रूपमा दर्साइएको छ । यी दुवै किशोर किशोरीहरूमा बालककालदेखिसँगै गोठालो जाँदा वा विद्यालय आवतजावत गर्दाको बालसुलभ स्नेहभाव उमेरसँगै बढ्दै प्रेमप्रणयमा रूपान्तरित हुँदै जानु र रिठ्ठे महाजन नै चट्टानझैं ठडिनु र दुईजोडीको मधुर मिलनको बाधक हुनु जस्ता वर्गीय प्रसङ्गहरू कुन मोड , कुन परिवेश र कुन परिणतिमा पुगेर तर लाग्छन् ? लेखकबाट पात्र-पात्राहरूप्रति न्याय भए नभएको कुराहरूको छिनोफानोका लागि स्वयम् उपन्यासका असली पाठकहरू र समीक्षकहरूका जिम्मा छाडिदिएको छु , किनकि उपन्यास अर्काले भनेको सुनेर भन्दा आफैले पढेर लिइने आनन्द हो । यो आनन्दको मौलिक हक चैं पाठकहरूमा सुरक्षित राखिदिनु समालोचकीय धर्म पनि हो ।

७. उपसंहार :

कथानकता गाउँदेखि तन्किएर सहर हुँदै जापानसम्म पुगेकोमात्र छैन अपितु पाठकीय उत्कण्ठा र जिज्ञासालाई अधीर बनाउँदै कौतूहलतापूर्ण रोचक पाराले नारायणीको निर्मल जल-प्रवाह झैं सरस र सरल शैलीमा अविरल प्रवाहित भएको छ । आख्यानीकरणका गुण-गरिमामा माझिदै र खारिदै जीवनवादबाट तन्किदै मानववादमा पुगेर सतह फैलिन पुगेको छ । नारी नै संस्कार र संस्कृतिका संरक्षक हुन् भनिने सुदुक्तिको पालनासहित आख्यानमा आउनु पर्ने जीवनका सकारात्मक र नकारात्मक परिस्थितिहरूको द्वन्द्वात्मक नाटकीयताको प्रस्तुति , परम्परा र प्रवृत्तिको परिष्करण , सञ्चरित मनोविज्ञानको रेखाङ्कन तथा सामाजिक सभ्यताको रूपान्तरण नै परिणतिका पारिणामिक रूप हुन् ।
फ्रायडेली चिन्तनको झिनो प्रयोगानुरूप सामाजिक तहमा प्रसरित मनोतरङ्ग र वास्तविकता नै आख्यानको मूलप्राप्तिमा अनुवादित हुनु आख्यानको गन्तव्य रहेको छ । सम्पन्न र विपन्न बिच चर्किंदो मनोमालिन्यको परिशमापन नै कृतिगत उपलब्धि भएको छ । यसप्रकार परिणति शीर्षकले सार्थकता पाएसँगै कृति सर्वाङ्ग सुन्दरमात्र भएको छैन अपितु सर्वथा पठनीय र सङ्ग्रहणीय बन्न पुगेको छ । केही प्राविधिक कमी-कमजोरी रहे पनि सरल , सरस कथानकताको प्रवाहमयतामा ती त्यसै हराएका छन् ।
अन्त्यमा यति सुन्दर कृतिको पहिलो पाठक बन्ने अवसर दिने कवि एवं उपन्यासकार हीरामणि शर्मा र उहाँका परिवारप्रति धन्यवाद दिंदै पूर्वकृतिहरूले झैं यस कृतिले पनि पाठक , समीक्षक र अध्येता आदि सबैतिरबाट प्रशंसासहित लोकख्याति र लोकसमर्थन प्राप्त गरोस् भन्ने शुभकामनासहित बिदा हुन्छु ।

चितवन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।