आदरणीय मम्मी,
सादर प्रणाम ।
मम्मी, कस्तो छ तपाईँलाई अहिले सन्चै हुनु हुन्छ नि ! तपाईँलाई थाहै छ, आमालाई हामी मम्मी र हजुर आमालाई आमा भन्ने गर्दछौँ । 'मम्मी' शब्द नेपाली नभए पनि र अङ्ग्रेजीमा 'मम्मी' शब्दले बुझाउने अर्थ नराम्रो भए पनि यो शब्द हामी नेपालीहरुले आफूलाई आधुनिक देखाउनका निम्ति आमाको साटोमा प्रचलनमा ल्याएको हुनु पर्छ । हाम्रो घरमा मम्मी शब्द पहिलो पल्ट प्रयोगमा ल्याउने म नै हुँला जस्तो मलाई लाग्छ । तपाईँलाई दादाले सानी भाउजू, दिदीले भाउजू र मैले मम्मीको प्रयोग गरेकाले भाइले पनि मम्मी नै प्रयोग गरेको होला जस्तो मलाई लागेको छ । दादाको बिहे भए पछि बल्ल दिदीले पनि तपाईँलाई 'मम्मी' शब्दले सम्बोधन गर्न थालेकी हो । हैन त मम्मी !
तपाईँका हामी चार जना छोरा छोरी सानामा भात खाएको वेलामा झगडालु थियौँ । हाम्रो झगडाको विषय नै मलाई भुटेको आलु (तारेको आलु वा तरकारी) थोरै भयो र फलानालाई धेरै भयो भन्ने हुन्थ्यो । तपाईँले केही वेर त फकाउनु हुन्थ्यो, साथै केही तरकारी थपी दिनु पनि हुन्थ्यो । एउटालाई तरकारी थपे अर्कालाई थोरै हुने समस्या एकातिर थियो भने अर्को तिर तरकारी थपिने मक्ख पर्थ्यो र नथपिनेले झगडा सुरु गर्थ्यो । त्यस क्रममा तपाईँ हामीलाई फकाउने प्रयास गर्नु हुन्थ्यो तर अति नै भयो भने जग भरिको पानी हाम्रो टाउकोबाट खन्याई दिनु हुन्थ्यो । त्यसको भोलि पल्ट देखि अब कसैले झगडा गर्ने हिम्मत गरोस् त !
सानै हुँदा मैले सबै भन्दा बढी माया पिताजी (हजुरबुवा), त्यस पछि सान्दाजु (बुवा), अनि आमा (हजुर आमा) र त्यस पछि मात्र तपाईँलाई गर्थेँ होला जस्तो मलाई लाग्छ । आज समयको चक्रले फेरो मारी सकेको छ । म कसलाई कति माया गर्छु भन्ने कुराको लेखाजोखा गर्ने र माया जोख्ने त तराजु नै हुँदो रहेनछ । भनिन्छ संसारमा सबै थोक खोज्दा भेटिन्छ तर जन्म दिने आमा भेटिँदैन । कसैलाई पनि आफ्नी आमा राम्री लागेन भने र त्यस्तै कागको फुल पनि झिक्न सक्ने बाठी अर्काकी आमालाई आमा भन्न सकिँदो रहेनछ । अन्य आमाहरुले जति माया देखाए पनि तपाईँले गर्ने जस्तो निस्वार्थ माया मलाई अरु कसैले पनि गर्न सक्तैन रहेछ । तपाईँको सोझोपन र सरल स्वभावले मेरो मन सधैँ छुने गर्छ ।
धरान छोडेर २०४२ सालमा काठमाडौँ आए पछि मात्र मैले तपाईँलाई मेरी आमाका रूपमा राम्ररी बुझ्ने मौका पाएकी हुँ । एकल परिवारमा छोरा छोरीलाई आमा बाबुले मात्र एक्लै हुर्काउनु पर्ने हुनाले आमाको भूमिकालाई छोरा छोरीले नजिकैबाट महसुस गर्ने रहेछन् तर ठुलो परिवारमा हुर्किएका केटाकेटी अन्य सदस्यहरुका बिचमा हुर्किने हुनाले सबैमा बाँडिने रहेछन् र सबैलाई उत्तिकै माया गर्ने रहेछन् । सगोलको परिवारमा जो बलियो छ त्यसले शासन गर्ने रहेछ र निर्धो दबेर रहेको अवस्थामा हुने रहेछ र त्यस निर्धाको महत्त्व ओझेलमा पर्ने रहेछ । त्यसै कारणले होला मम्मी मैले तपाईँको महत्त्वलाई केटाकेटीमा राम्ररी बुझ्न पाएकी थिइन ।
तपाईँले समयमा नै कुनै काम बिर्सिएर नगर्दा र आफू भन्दा मान्य सदस्यहरुले तपाईँलाई गाली गरेको सुन्दा आफूलाई असाध्यै नरमाइलो र दुख लाग्थ्यो । बिर्सन त जसले पनि त सक्छ नि गाली नै किन गर्नु पर्थ्यो होला भनेर मलाई गाली गर्ने सदस्य प्रति केही रिस पनि उठ्थ्यो । म केटाकेटी हुँदा, सगोल परिवारमा नै हुँदा तपाईँका बारेमा कुनै परिवारकै सदस्यहरुले कुरा काटी रहेको सुनेकी थिएँ, त्यस वेला मलाई ती कुरा काट्ने सदस्यहरु प्रति असाध्यै रिस उठेर आएको थियो । तपाईँ आफ्नो घरमा रात दिन काममा जोती रहनु भएको हुन्थ्यो, त्यत्रो काम गरी रहँदा त ती सदस्यहरुले कुरा नै काटी रहने रहेछन् भने यसै कुरा काट्ने उसै कुरा काट्ने, तपाईँले काम पो किन गर्नु परेको होला जस्तो लाग्थ्यो तर म केही पनि गर्न सक्तिन थिएँ । त्यो तपाईँ प्रतिको मेरो माया नभए के होला त ! मेरी सरल, गौ प्राणी मम्मी तपाईँ ती सबै कुराहरुलाई ध्यान नदिई आफ्नो कर्तव्य निर्वाह गरी रहनु हुन्थ्यो ।
बाबा अनि हजुर आमाहरुको माया पाएर हुर्किएकी तपाईँलाई पराइ घर कस्तो हुन्छ र त्यस घरको बुहार्तन गर्न सक्छु कि सक्तिन होला भन्ने चेत त्यस समयमा थियो कि थिएन होला । पराइ घरमा जति काम गरे पनि सबैलाई रिजाएर राख्न सक्ने खुबी तपाईँमा थियो कि थिएन होला ! बुहारी त फलामले बनेका हुन्छन् भन्ने सोच भएका नेपाली समाजको पुरानो परम्परामा तपाईँ कतिको पास हुनु भयो त्यो त मलाई पनि थाहा छैन । पराइ घरमा एकलौटी बुहारीको बुहार्तन तपाईँले कतिको सहनु पर्यो र त्यस वेलाका मनमा बिझेका काँडा अनि घाउ चोट तपाईँ भित्र कति होलान् त्यो पनि मलाई थाहा छैन । घरकी सानी दुलही भएर मनमा बिझेका हरेक काँडाहरुलाई तपाईँकी कान्छी छोरीले उखालेर मलम दल्ने प्रयास गरेकी छ । जे जति भए पनि मेरा सबै पितृहरुकी तपाईँ प्यारी बुहारी नै हुनु हुन्थ्यो भन्ने कुरो चाहिँ मलाई थाहा छ ।
तपाईँ मलाई र दिदीलाई हतपत कहीँ जान दिनु हुन्नथ्यो । हाम्रो बानी चाहिँ अनुमति नलिई कहीँ कतै जाने थिएन । तपाईँलाई 'बजार जान्छौँ' भनेर सोध्यौँ भने, "किन जानु पर्यो ? के काम छ ? अर्को दिन गए हुँदैन ?' भन्ने जस्ता प्रश्नहरुको ओइरो लाग्थ्यो । अनुमति पाएर बजार गयौँ र फर्कँदा केही गरी अलिकति ढिलो भयो भने गाली गर्न थाल्नु हुन्थ्यो । मलाई त्यस वेला तपाईँको त्यो सबै भन्दा मन नपर्ने बानी लाग्थ्यो । त्यति खेरको त्यो व्यवहार हाम्रो अनुशासनको शिक्षा र मायाको प्रकार रहेछ भन्ने आज मैले बुझेकी छु ।
मम्मी, तपाईँ धर्मका कुरालाई लिएर असाध्यै चोखोनितो मन पराउनु हुन्थ्यो । अष्टमी र एकादशीको व्रत धेरै वर्षदेखि लिई रहनु भएको छ । त्यस्तै अन्य देवी देवताको पनि व्रत लिनु हुन्थ्यो । आज तपाईँ बिरामी भएर हिँडडुल गर्न त्यति सक्नु हुन्न भने पनि आफन्त कसैको घरमा पूजा भयो भने आफ्ना सबै व्यथा बिर्सनु हुन्छ भन्ने मलाई लाग्छ । तपाईँको चोखो नितोकै कारण घर भित्र कुखराको मासु मनाही भएकाले खसीको मासु र माछा मात्र भित्रिन्छन् । सान्दाजु र तपाईँ दुवै जना मासु नखाने हुनाले धेरै जनाले मलाई प्रश्न पनि गर्ने गर्छन् 'तिम्रो बुवा मम्मी वैष्णव हो ?' र कतिले भन्ने गर्छन् 'मासु नखाने भए त तिमीहरुको घरमा खाना मिठो हुँदैन होला हगि ?' तर ती प्रश्न गर्नेलाई के थाहा मिठो खानेकुरा भनेको मासु बाहेक अरु पनि हुन्छन् भन्ने !
मम्मी, मलाई कसैले दुख सुनायो भने 'म उसको ठाउँमा भए' भन्ने सोचेर उसको दुख मलाई आफ्नै लाग्छ । तपाईँलाई पनि त्यस्तै लागेर होला छरछिमेक र कोही गरिव दुखी घरमा आयो भने उसलाई आर्थिक सहयोग गर्न पनि पछि पर्नु हुन्न थियो । पहिले पहिले बेरोजगार युवाहरु नयाँ नयाँ सामान घर घरमा बेच्न आउँदा घरमा उपयोग नै नहुने चिज बेच्न ल्याए भने पनि त्यस व्यक्तिलाई मद्दत गरूँ भन्ने ठानेर उनीहरुको सामान किनी दिनु हुन्थ्यो । तरकारी बेच्न ल्याउनेसँग पनि उसको दुख बुझेरै त होला नि तपाईँ मोलमलाई पनि गर्नु हुन्न थियो । अर्काको दुख आफ्नै लागेर टिभी हेरेका वेलामा आँसु झार्नु हुन्छ । पहिले एक्लै बसेका वेलामा कहिले काहीँ धेरै सिरियल (टेलिफिल्म) हेर्नु भएको छ भने रुँदा रुँदा आखै रातो रातो पारेर 'आज मलाई कस्तो भएको छ' भन्नु हुन्थ्यो । रुनु नै हो भने कोही सिरियल हेरी हेरी पनि रुन्छ त !
मम्मी, हाम्रो घर जोक (ठट्टा) को भण्डार हो भनेर मैले तपाईँलाई यहाँ भनी रहनु पर्दैन होला । मम्मी, मैले तपाईँका बारेमा ठट्टा गर्दा नरिसाउनु है ! हाम्रो घरमा कसैको जिब्रो रड्कियो भने त्यस कुराले जोक बन्ने मौका पाउँछ । तपाईँले कहिले काहीँ एक थोक बोलेँ होला भनेर अर्कै थोक बोल्नु हुन्छ । एक दिन तपाईँले घरमा आएको पाउनासँग 'माइतीघर' सानेपाबाट पच्चिस मिनेटमा पुगिन्छ भन्नु पर्ने ठाउँमा 'मैतीदेवी' भन्नु भएछ । त्यस्तै कीर्तिपुरमा गावाहाल र मंगल बजार (गावाहाल र मंगल बजार पुलचोकमा छ ।) खोज्नु भएको कुरो तपाईँलाई सम्झना छ कि छैन होला ? तपाईँको त्यो गुण वंशानुगत समस्या हुन सक्छ किन भने मैले पनि एक पल्ट त्यस्तै बेवकुफी गरेकी छु । मेरी एउटी साथीको बिहेको निम्तोमा मैले साडी लगाएर, शृङ्गार र उपहार सहित खुमलटारमा गएर पार्टी प्यालेस खोजेकी थिएँ तर बिहे सुइचाटारमा रहेछ । तपाईँको त्यही गुण भएको फाइदा उठाएर घरका बाँकी सदस्य तपाईँको त्यस्ता गल्तीमा हाँस्ने गर्छन् । मम्मी, ती कुराहरुले केही वेर त म पनि हाँस्छु तर मेरो आफ्नो साइनोलाई लिएर संवेदनशील हुने प्रवृत्तिले गर्दा होला मेरी मम्मी तपाईँलाई जोक बनाएर मेरा दादा, दिदी र भाइहरु पनि हाँसेको मलाई मन पर्दैन ।
मम्मी, मलाई तपाईँको सोझोपनको अर्को कुरो सम्झना आयो । मेरा बिहेमा सालीहरुले जुत्ता लुकाउने र भिनाजुसँग पैसा माग्ने जस्तो सालीहरुलाई रमाइलो लाग्ने खेलमा कामना (बहिनी) ले जुत्ता लुकाएका वेलामा तपाईँले बेहुलालाई खुरुक्क जुत्ता निकालेर दिनु भएको थियो अरे । त्यो कुरो म एक्लै बसेका वेलामा सम्झेँ भने पनि मरी मरी हाँस्ने गर्छु । पहिलेको ठट्टा गर्ने खेल हिजो आज जुत्ता लुकाई एउटा डर लाग्दो खेल बन्न थालेको छ । मम्मी, हिजो आज त्यै जुत्ता लुकाउने सालीले भिनाजुसँग लाख भन्दा घटी माग्दैनन् रे । पसलेसँग तिन हजार (३०००) तिरेर किनेको जुत्ताको मूल्य भिनाजुका सालीले एक डेढ लाख तोक्न थालेका छन् रे । अहिलेको अवस्थामा त्यो जुत्ता लुकाईलाई रमाइलोका लागि खेलिने खेल भन्ने कि आजको समस्या भन्ने हो थाहा छैन ।
सान्दाजु र तपाईँ जापान गएका वेलामा (२०५१सालमा) कोवे सहरमा डर लाग्दो भुइँचालो गएको थियो । मलाई थाहा भए अनुसार त्यस वेला कोवे सहरमा गएको पहिलो अत्यन्त शक्तिशाली भूकम्प थियो । हामी सानेपाको डेरामा तपाईँका चार जना छोरा छोरी मात्र थियौँ । त्यस वेला तपाईँहरुलाई 'केही भएको त छैन नि' भन्ने डरले थरहरि भएका थियौँ । हामी पिरले भात पनि नखाई बसेका थियौँ तर भगवान पशुपति नाथको कृपाले त्यही साँझमा तपाईँहरुको फोन आयो । हामी त्यस वेला खुसी अनि ढुक्क भएका थियौँ ।
मम्मी, तपाईँले कहिले काहीँ कुनै कुरो 'प्वाक्क' बोलेको पुग्ने गर्छ । बुढापाकाले भन्ने गरेका रूढि 'भगवान तथास्तु गरेर हिँडी रहेका हुन्छन्' भन्ने कुरो मलाई हो कि क्याहो जस्तो लाग्छ । केटाकेटीमा दिदी र म झगडा गरी रहन्थ्यौँ । तपाईलाई झर्को लागरै होला 'तिमीहरु दुइटीमा एउटीलाई पूर्व र अर्कीलाई पश्चिम दिन्छु' भन्नु हुन्थ्यो तपाईँले भने जस्तै भयो, एउटीको तेह्रथुम र अर्कीको चितवन तर बसाइ चाहिँ दुवैको मण्डिखाटारमा ओल्लो घर र पल्लो घर छ ।
कुनै चाडपर्व आयो भने वा बावुको मुख हेर्ने औँसीमा म सान्दाजुलाई सधैँ मिठो मिठो परिकारहरु घरमै पकाएर लाने गरेकी छु तर आमाको मुख हेर्ने दिन आयो भने तपाईँकै चिनी रोगको कारण मैले करेलाका परिकारहरु बनाएर लाने गरेकी थिएँ । मम्मी त्यही करेला पनि धेरै खाएकाले गर्दा आज तपाईँलाई केही पनि खानै नहुने समस्या छ । डाइवेटिजकै कारण तपाईँको पहिले बिहान, दिउँसो, बेलुका खाना खाएर हिँड्ने दिनचर्या थियो तर आज त्यो पनि टुटेको छ । पिता पुर्खाले धेरै माया गरेकाले तपाईँले माइतीबाट दाइजोमै ल्याउनु भएको चिनी रोगले गर्दा तपाईँलाई हिजो आज मृगौलामा समस्या देखिएर दिनको ३ पल्ट सम्म पानीको डाइलोसिस गर्ने क्रम जारी छ । हामीलाई तपाईँले २०७३- ७४ सालदेखि चार पाँच पल्ट अत्याई सक्नु भयो । तपाईँलाई हेमोग्लोविनको कमीले गर्दा वेला वेलामा समस्या देखा परी रहन्छ । सान्दाजु र तपाईँ पछिल्लो पल्ट (२०६५ -६६ साल) जापान जानु भएका वेलामा तपाईँलाई त्यसै समस्याले थला पारेछ । 'आमाले छोरा छोरी बिरामी भएको जहाँ भए पनि थाहा पाउँछन्' भन्ने भनाइ छ तर छोरीले आमा बिरामी भएको थाहा पाउँछन् कि पाउँदैनन् मलाई थाहा छैन । सान्दाजु र तपाईँ जापानमा हुँदा तपाईँ बिरामी भएको खवर हामीलाई दुवै जनाले सुनाउनु हुन्न थियो । प्रविधिको विकासले हामीलाई धेरै सजिलो बनाएको थियो । हामी skype मा कुरा गर्थ्यौँ । तपाईँ केही दिन skype मा नआए पछि मैले तपाईँ असाध्यै बिरामी भएको सपना देखेँ र सान्दाजुलाई सोधेकी थिएँ, 'सान्दाजु, मम्मी त हुनु हुन्छ नि !' त्यस प्रश्न पछि सान्दाजुले भाव विभोर भएर जवाफ दिनु भएको थियो 'तिमीहरुकी मम्मी बिरामी छ, तिमीहरुलाई चिन्ता लाग्छ भनेर नसुनाएको थिएँ, तँ त सेटलाइटबाट सबै कुरा देख्छेस्, मैले लुकाउन पनि पाइन' भन्नु भएको थियो ।
मम्मी, तपाईँका मर्महरुलाई मैले पहिले राम्ररी बुझ्न सकेकी थिइन । म नै आमा भए पछि मात्र आज मैले तपाईँका कष्टहरुलाई छर्लङ्ग बुझेकी छु । छोरी आमा भए पछि मात्र आमाका व्यथाहरुलाई बुझ्ने रहेछन् । मेरो छोरो अनुभव सानो छँदा रात भरि 'खुट्टा दुख्यो' भनेर रोएका वेलामा, उसलाई सन्चो नभएर आफूले जाग्राम बसेर निन्द्रा त्यागेका वेलामा म तपाईँका व्यथाहरुलाई केलाउने गर्थेँ । हामी चार जना छोरा छोरीलाई हुर्काउन तपाईँलाई कति गाह्रो भयो होला ! त्यस वेलाको समयमा आजको जस्तो 'प्याट्ट' बाल्दा बल्ने ग्यास वा 'भ्याट्भ्याट्' दम दिँदा बल्ने मट्टीतेलको स्टोभ पनि पाइँदैन थियो । दाउरै बाल्नु पर्ने, पानी परेर दाउरा भिजेका खण्डमा झन् गाह्रो हुने अवस्था, त्यस माथि संयुक्त परिवार । स्कुल र कलेज जाने सदस्यहरुलाई भात समयमै तयार गर्नु पर्ने, केटाकेटीलाई स्कुल पठाउन भात खुवाउनु पर्ने, लुगा ठिक्क पारेर सबैलाई लगाई दिनु पर्ने, घरमा आउने पाहुनाहरुलाई समय अनुसार खाजा, खानेकुराको व्यवस्था गर्नु पर्ने, पानीको सुविधा नभएका दिन तिनधारेमा गएरपानी ओसार्ने, घरभरिका लुगा धुने, त्यही अनुसार घरमा काम गर्ने मान्छे नभएका दिन घाँस काट्नुदेखि लिएर घरका सबै काम आफ्नै थाप्लो माथि आउँथ्यो होला । त्यस्ता अनेक विसम परिस्थितिलाई छिचोलेर वा पार गरेर यस सुविधा सम्पन्न अवस्थामा आउनु भएकी मेरी मम्मी तपाईँलाई नबुझ्ने छोरा छोरी पटमूर्ख हुन्छन् र म त्यस्तो चाहिँ हुन चाहन्न ।
बुहारी त फलामले बनेका हुन्छन् भन्ने अनि बलियाले निर्धालाई हेप्ने नेपाली समाजमा चलेका मान्यतामा पिल्सिएका एउटा सिङ्गै युगको प्रतिनिधित्व गर्ने मेरी मम्मी लगायत सम्पूर्ण आमा तथा हजुर आमाहरुलाई सलाम छ मेरा तर्फबाट । बधाइ छ मम्मी, आज त्यस युगको अन्त्य भएको छ । आज तपाईँका छोरी बुहारीहरुले स्वतन्त्र रूपले सास फेर्ने मौका पाएका छन् ।
मम्मी तपाईँ उमेरमा दुब्ली हुनु हुन्थ्यो र सान्दाजु तपाईँलाई 'मुरली' भन्नु हुन्थ्यो र आज सम्म तपाईँलाई त्यसै शव्दबाट सम्बोधन गरी रहनु भएको छ । सान्दाजुको त्यस मुरलीको हृदयबाट निस्कने प्रत्येक आवाज र स्नेह साँच्चै मुरलीको आवाज भन्दा सुमधुर, कोमल र प्रिय छ । आज हामीले तपाईँलाई न केही खुवाउन पाएका छौँ, न तपाईँसँग कहीँ घुम्न जान नै पाएका छौँ । आज हामी तपाईँका छोराछोरी त्यसैमा खुसी छौँ, कमसेकम 'मम्मी!' 'मेरी माते !' भनेर फोनमा वा नजिकै बसेर गफ गर्न त पाएका छौँ नि जस्तो लाग्छ । कस्तो दिन पनि आउँदो रहेछ । केही गर्न नपाए पनि सँगै बसेर 'मम्मी' भनेर सम्बोधन गर्न चाहिँ पाएका छौँ भनी खुसी हुने । मेरी मम्मी तपाईँ सधैँ निरोगी रहनु, तपाईँलाई मेरा तर्फबाट सुस्वास्थ्य र दीर्घायुको कामना । तपाईँलाई मेरो सादर सादर प्रणाम !
उही तपाईँकी कान्छी छोरी
अपर्णा पोखरेल