18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एल.बी. क्षेत्रीको ’अमेरिकामा ४३ दिन’ एक पाठक प्रतिक्रिया

कृति/समीक्षा सञ्जीव पौडेल August 2, 2025, 12:59 am
सञ्जीव पौडेल
सञ्जीव पौडेल

वरिष्ठ साहित्यकार एल.बी. क्षेत्रीद्वारा लिखित “अमेरिकामा ४३ दिन“ यात्रा संस्मरण प्रकाशित भएको खबर मैले अस्ट्रेलियामा रहँदा सामाजिक सञ्जालमार्फत थाहा पाएको थिएँ । नेपाल फर्केपछि यो पुस्तक पढ्ने अवसर मिल्यो । संस्मरण भनेको अनुभूतिको आवाज हो । सन् २०१६ मा गरिएको भ्रमणको झन्डै नौ वर्षपछि संस्मरण लेखिएको छ । “नौ दिनमा नौलो, बीस दिनमा बिर्‍यो“ भन्ने नेपाली उखान यहाँ लागू भएको छैन । भर्खर घुमेर आएजस्तै अनुभूति पाठकलाई हुन्छ । यसमा अमेरिकामा बस्ने नेपालीहरूको आर्थिक र सामाजिक अवस्था, उनीहरूको व्यवहार र भ्रमण गरिएका विशेष स्थानहरूको अनुभव प्रस्तुत गरिएको छ । साथै, अमेरिकाका गोरा र अश्वेत व्यक्तिहरूसँगका मीठा सम्झनाहरू पनि समेटिएका छन् ।
अमेरिका यात्राको सुरुवातमै लेखकले हवाईजहाजमा ह्विलचेयरको प्रयोग गरेका छन् । यसो गर्दा सुरक्षा जाँच र ट्रान्जिटका सहजताबारे जानकारी दिएका छन्, जुन धेरै पाठकका लागि उपयोगी छ । यसबाट उनी एक अनुभवी यात्री भएको कुरा पनि देखिन्छ । अमेरिकामा रहेका आफ्ना पुराना विद्यार्थीहरूबाट पाएको सम्मान र सहयोग, आफूले घुमेका अमेरिकी मुख्य सहरहरूको भौगोलिक सुन्दरता, मानिसको जीवनशैली र नेपाली समुदायका आर्थिक–सामाजिक स्वरूपहरूलाई स्पष्ट, सहज र कहिलेकाहीँ हल्का कटाक्षपूर्ण शैलीमा प्रस्तुत गरिएको छ ।

उत्तमकी बहिनी रेणूको घरमा पहिलो रातको ’रिफ्रेसमेन्ट’ सम्बन्धी अनुभव लेखकले मनलाई साक्षी राखेर बेहिचक प्रस्तुत गरेका छन् । उनले आफूलाई ड्रिंक्स नपुगेको कुरा सम्झँदै लेखेका छन्, “त्यो फोरेको भन्दा नफोरेको वाइनको बोतल निकालेको भए र चिकेन दुई टुक्रा अझै भएको भए!” । यस प्रकारको हास्यपूर्ण र कलात्मक प्रस्तुतिले पाठकलाई न्यानो मुस्कान दिन्छ । यस्तो आत्मस्वीकृति र स्पष्ट लेखनशैलीले संस्मरणलाई औपचारिकता र बनावटीपनबाट जोगाएको छ ।

भ्रमणका क्रममा फेरी यात्रा, ट्विन टावर आक्रमणपछि बनेको स्वतन्त्रता टावरको व्याख्या, दैनिक ३ लाख ३० हजार पर्यटक आउने टाइम्स स्क्वायर, ३०५ फिट अग्लो ’स्ट्याच्यु अफ लिबर्टी’ को तामाको प्रतिमालगायतका अनुभवहरू प्रस्तुत गरिएको छ । यसले अमेरिकाको भव्यता देखाउँछ । तर त्यसैबीच लेखकले सेलरोटी, चटपटे, चना र नेपाली बोलीचालीको स्वाद पस्किएर पाठकको देशप्रेम पनि जगाउने प्रयास गरेका छन् ।

अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) को कार्यक्रमबारे गरिएको विश्लेषण विशेष लाग्छ, किनभने लेखकले कार्यक्रम सोचेजस्तो प्रभावकारी नभएको निष्कर्ष निकाल्नु केवल व्याख्या मात्र नभई आत्मसमीक्षा पनि हो । साँझ र बिहान गरी दुई भागमा कार्यक्रमको व्याख्या गर्नु लेखकको रमाइलोपन बचाउनका लागि गरिएको अनुमान गर्न सकिन्छ । ’मस्ती साँझ’ र बियर–ह्विस्कीको उल्लेखले अमेरिका भ्रमणलाई ’सांस्कृतिक’ मात्र नभई ’सामाजिक यथार्थ’ सहित चित्रित गरेको छ ।

नेपालबाट टाढा भए पनि नर्थ क्यारोलाइनामा नेपालीहरूले संस्कृति र अपनत्वको मायालाई कायम राखेको अनुभूति र महामहिम अर्जुन कार्कीको भोजमा भएको सत्कारको वर्णनले लेखनलाई ऊर्जाशील बनाएको छ । लेखकले शब्दहरूमा यात्रा मात्र नभएर मनको चाल, पेटको भोक र आत्माको तिर्खा पनि भरेका छन् । त्यसैले यो संस्मरण पढ्ने मात्र नभई अनुभूत गर्नुपर्ने यात्रा हो । यो संस्मरण केवल यात्राको नक्सा होइन, नेपाली सपनाको बहुआयामिक दस्तावेज पनि हो ।

मीराको घरमा बस्ने प्रदीप चौधरीको अमेरिका यात्राको वर्णन निकै कारुणिक छ । थाइल्यान्ड, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुग्ने कठिन र जोखिमपूर्ण यात्रा यसमा समेटिएको छ । रातभर डुङ्गामा हिँड्नुपरेको बाध्यता, जङ्गलको अनिश्चित बाटो, शरणार्थी क्याम्पको बसाइ र सिमाना पार गर्दाको त्रासजस्ता भोगाइहरूले पाठकको संवेदनशीलतामा चोट पुर्‍याउँछ । यस संस्मरणभित्रको अमेरिका सपनाको मात्र नभई यात्राको पीडादायी मूल्य बुझाउने देश पनि हो ।
संस्मरणमा भेटिएका पात्रहरू उत्तम, लिन्डा, प्रमोद, तारा, विकम कहिले आफन्त, कहिले पथप्रदर्शक र कहिले अतिथि सत्कार गर्ने फरक अनुहारका रूपमा आएका छन् । नेपालीले खोलेको नङ काट्ने पसल र वाइनको स्वादमा रमाइलो प्रसङ्गले लेखकको आत्मीय र इमानदार शैली झल्काउँछ । कसैले फोनमा पाहुना बनाउँछु भनेर बोलाए पनि घर जाने बेला अर्को मान्छेलाई साथ लगाएर पठाएको गुनासोले समाजको चरित्र देखाउँछ । एयरपोर्टमा झोलाको तौल घटाउन आफ्नै लुगा कुर्सीमै छाड्नुपरेको घटना पनि मार्मिक छ । स्यान एन्टोनियोमा होटल नपाएर गाडीमै सुत्नुपरेको कथा वा नासाको वैज्ञानिक चमत्कार हेरेको क्षणले एक व्यक्तिको जीवनको दायरा कति फराकिलो हुन्छ भन्ने देखाउँछ ।
लिन्डाको घरमा भेट भएका १०२ वर्षीय ’अल’ को प्रसङ्ग प्रेरणादायी छ । जसले आफैँ खाना पकाउँछन् र गाडी चलाउँछन्, यसले बाँच्ने साहस र ऊर्जा प्रदान गर्छ । उनीसँग भएका साहित्य, यौन र युद्धका कुराकानीले जीवनका विविध पक्षहरूको सङ्केत गर्छन् भने पुराना पात्रहरूसँगको भेटघाटले भावनात्मक गहिराइ दिन्छ । सबैभन्दा महत्त्वपूर्ण, लेखकले ’गैंडाको छाप’ सहित १०० थान टिसर्ट अमेरिका पुर्‍याउनु राष्ट्रप्रेमको जीवन्त उदाहरण हो । “अमेरिका किन गयौ?“ भन्ने प्रश्नमा “आफ्नो लागि होइन, सन्तानका लागि“ भन्ने जवाफले आजको पुस्ताको प्रवृत्ति र अभिभावकीय त्याग दुवैलाई उजागर गर्छ । यस संस्मरणमा कुनै बनावटीपन छैन, यथार्थ छ, पीडा छ, हास्य छ र अनुभवको रस छ । यो केवल अमेरिका पुगेको कथा मात्र नभई नेपाली सपनाको मूल्य र मानवीयताबीचको अन्तरयात्रा पनि हो ।

अमेरिकाको यात्रा आर्थिक अभावले मात्र गरिँदैन । रोशनजस्ता नेपालमै सम्पन्न मानिसहरू पनि अमेरिका पुगेका छन् । अमेरिका जाँदा “आफ्ना लागि होइन, सन्तानको सुरक्षित भविष्यका लागि“ भन्ने र “मनले जा भन्यो“ भन्ने भनाइ अमेरिका पुगेकाहरूको कुरा पनि प्रस्तुत भएको छ । न्युजर्सीबाट एट्लान्टिक जाँदा देखिएको ७५० किलोमिटर फैलिएको फार्महरू, जसमा फलफूल, गहुँ, स्ट्रबेरी, गोलभेँडालगायतका बाली छन्, यसले अमेरिकाको कृषि सामर्थ्य मात्र होइन, योजनाबद्ध भू–परिकल्पना पनि देखाउँछ । हलिउड स्टुडियोमा एक जोकरको भनाइ, “१० वर्षदेखि म यहाँ छु, तर हलिउडका हिरो–हिरोइन भेट्न पाएको छैन,“ यसले सांस्कृतिक सोबिजको आभासी दुनियाँ र सुरक्षा संरचनाको कठोर यथार्थतर्फ सङ्केत गर्छ ।

पर्ल हार्बरको ’अरिजोना मेमोरियल’ को प्रसङ्गमा जापानी हमला र त्यसको प्रतिक्रियामा अमेरिकाले हानेको हिरोसिमा–नागासाकी बमको सम्झनाले इतिहासलाई भावनाको आँखाबाट हेर्ने गहिरो दृष्टिकोण प्रकट गर्छ । यस प्रसङ्गले पाठकलाई युद्ध, बदला र स्मृतिको शक्तिबारे सोच्न बाध्य बनाउँछ । संस्मरणमा वाइनको प्रसङ्ग पटक–पटक आउँछ । वाइन यहाँ केवल एक पेय मात्र नभई लेखकको खुला, उदार र रमाइलो स्वभावको प्रतिबिम्ब पनि हो । यसले पाठकलाई यात्राको औपचारिकता र अनौपचारिकता दुवै महसुस गराउँछ । डालसमा फोन गरेर पनि कुनै साथीले समय नदिएको अनुभवजस्ता खुला स्वीकारोक्तिले संस्मरणमा पारदर्शिता ल्याएको छ । यसले पाठकलाई संसारभर नेपाली समाजको व्यावहारिक संरचना र आत्मीयताको गहिराइ बुझ्न मद्दत गर्छ ।

कति ठाउँमा झन्डै बस छुटेको, कुनै ठाउँमा रेलबाट झर्नुपर्ने ठाउँमा झर्न बिर्सेको, आइडी नभएर होटलमा बास नपाएर गाडीमा सुतेको र पटक–पटक मीना म्याडम बिरामी पर्दा कठिनाइ बेहोर्नु परेको कुरा दुःखदायी अनुभव पनि प्रस्तुत भएको छ । दुःख पर्दा जहाजमा केरा र पानी दिने होस्, मीना म्याडम बिरामी हुँदा आइसले टाउकोमा भिजाउने काम होस् या बाटो भुल्दा बाटो देखाउनेसम्म अश्वेतले सहयोग गरेको कुराको अनुभव पढ्दा रङ्गले होइन मानिसको दिल महान् हुनुपर्छ भन्ने कुराको पाठ सिकाइएको छ ।

कडा आवरणसहितको यो पुस्तकमा १८५ पृष्ठ छन्, जसमध्ये ३३ पृष्ठ त तस्बिर मात्रै छन् । प्रेसमा राम्रै खर्च भएको हुनुपर्छ । यात्रा संस्मरणको एक पाटो तस्बिर पनि हो । भ्रमणका परिवेशसँग कथाले मागेअनुसार तस्बिर राख्नु उचित नै होला । यसले पाठकलाई दृश्यानुभव दिलाउने प्रयास गरेको पनि हुनसक्छ । कसैलाई यति नराखेको भए पनि हुन्थ्यो भन्ने लाग्न पनि सक्छ ।

अन्तमा, अमेरिकाको न्युयोर्कबाट शुरु भएर होनुलुलुमा अन्त्य भएको यात्रामा होटलभन्दा आत्मीय घरमा बसेर गरिएको यात्रा, साहित्यिक कार्यक्रम, पुराना विद्यार्थीसँगको भेटघाट पुनरमिलन गराएको देखिन्छ । नेपालप्रतिको माया “मेरो देश नेपाल धेरै सुन्दर छ एक पटक अवश्य भ्रमण गर्नुहोस्” लेखिएको गैंडाको छाप भएको टिसर्ट बोकेर जानु यसलाई केवल यात्राको कथा नभएर संस्कार र आत्म–पहिचानको खोज बनाएको छ । यो संस्मरण ’अमेरिका पुगेको’ यात्रा मात्र होइन, ’नेपाल नछाडिएको’ यात्राको कथा हो । “अमेरिकामा ४३ दिन“ एउटा सामान्य विदेश यात्रा संस्मरण मात्र नभएर यो एउटा सजीव अनुभूतिको दस्तावेज हो । आत्म–अनुभूति, प्रवासमा बनेको नेपाली साहित्य र संस्कृतिको स्वरूप, अमेरिकाको जीवनमा समयको महत्त्व र व्यस्तता अनि कतै–कतै अमेरिकाजस्तो महाशक्तिको चम्किलो संसार पनि यसमा समेटिएको छ । एल.बी. क्षेत्री पुराना क्याम्पस चिफ, शिक्षक वा आर्मीभन्दा पनि एक वरिष्ठ साहित्यकारका रूपमा अमेरिकामा प्रस्तुत भएका हुन् भन्ने अनुभूति यो संस्मरण पढ्दा हुन्छ । त्यसैले भनिन्छ, साहित्यको कुनै देशको सिमाना हुँदैन, कुनै जातजाति र धर्मको घेरा हुँदैन । कुनै सम्प्रदाय वा समूहले यसमा भेदभाव गर्दैन । त्यसैले त भनिन्छ “ साहित्यकार कहिल्यै भूतपूर्व हुँदैन ।”

भरतपुर १०, चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।