18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली समाजमा ढोंग, पाखण्ड र आडम्बर

निबन्ध सञ्जीव पौडेल August 4, 2025, 8:00 pm
सञ्जीव पौडेल
सञ्जीव पौडेल

नेपाली समाजमा ’ढोंग’, ’पाखण्ड’ र ’आडम्बर’ शब्दहरू निकै प्रचलित छन् । यिनले मानिसका विभिन्न व्यावहारिक पक्षहरूलाई चित्रण गर्छन् । शब्दकोशअनुसार ढोंगले ’देखावटी काम’ भन्ने अर्थ लाग्दछ । ढोंग भनेको झूटलाई साँचो र नक्कलीलाई सक्कली देखाउने एक किसिमको नाटक हो । यो त्यस्तो अवस्था हो जहाँ व्यक्तिले आफ्नो वास्तविक रूप लुकाएर अरूलाई भ्रममा पार्न खोज्छ । समाजमा यस्ता ढोंगीहरू प्रशस्तै भेटिन्छन् जसले आफ्नो स्वार्थ पूरा गर्न, अरूको सहानुभूति बटुल्न वा आफ्नो छवि सुधार्नका लागि अनेकौँ जालसाजी गर्छन् । आफूलाई असल र परोपकारी देखाउन समाजसेवाको खोल ओढेर भित्रभित्रै व्यक्तिगत लाभका लागि काम गरिरहेका हुन्छन् ।


पाखण्डले ’वेदविरुद्ध आचरण गर्ने व्यक्ति वा सम्प्रदाय’ भन्ने बुझिन्छ । मानिसले गर्ने नक्कली व्यवहार पाखण्ड हो, अर्थात् विधिलाई नमान्नेहरू जहाँ व्यक्तिको भित्री सत्य एउटा हुन्छ भने बाहिरी व्यवहार अर्कै । पाखण्डीहरू आफूलाई नैतिकवान्, धार्मिक वा इमानदार देखाउन प्रयत्न गर्छन्, तर उनीहरूको वास्तविक चरित्र त्यसको ठीक विपरीत हुन्छ । यो एक प्रकारको दोहोरो चरित्र हो । उदाहरणका लागि, धर्मको आडमा गलत कार्य गर्ने, नैतिकताका ठूला कुरा गर्ने तर आफैँ अनैतिक व्यवहारमा संलग्न हुने पाखण्डका उत्कृष्ट उदाहरण हुन् ।

आडम्बरले देखावटी धाक वा बाहिरी ढाँचा बुझाउँछ । आडम्बर भनेको आफूमा नभएको क्षमता, सीप वा गुणलाई भएको देखाउने प्रवृत्ति हो । आडम्बरी व्यक्तिहरू आफूलाई अरूभन्दा उत्कृष्ट र शक्तिशाली देखाउन चाहन्छन्, यद्यपि उनीहरूमा त्यो क्षमता हुँदैन । उनीहरूले आफ्नो सामाजिक प्रतिष्ठा, धन वा शिक्षाको झूटो प्रदर्शन गरेर अरूलाई प्रभावित पार्न खोज्छन् । उदाहरणका लागि, ऋण काढेर महँगो गाडी चढ्ने वा अनावश्यक प्रदर्शन गर्ने, आफूलाई ठूलो विद्वान् देखाउन अनावश्यक शब्दाडम्बर प्रयोग गर्ने जस्ता व्यवहारहरू आडम्बरका सूचक हुन् ।


यसरी यिनीहरूको शाब्दिक अर्थ दिए पनि नेपाली परिवेशमा यिनको प्रयोग र प्रभाव अझ व्यापक रूपमा देखिन्छ । सारमा यी तीनै शब्दले झूटोपन, कपट र देखावटीपनलाई सङ्केत गर्छन् । यी शब्दहरूले व्यक्तिगत सम्बन्धदेखि सामाजिक तथा राजनीतिक क्षेत्रसम्म गहिरो असर पार्छन् ।


समाजमा ढोंग, पाखण्ड र आडम्बरका केही दृश्यहरू हेरौ । मृत्यु संस्कारमा विकृति देखिएको छ । भगवद्गीताले “मृत्यु नै परम सत्य हो, बाँकी सबै मिथ्या“ भन्दछ । मृत्यु एउटा अन्तर्निहित सत्य हो जुन प्रत्येक प्राणीको नियति हो । तर, यस शाश्वत सत्यलाई बुझ्नुभन्दा बढी नेपाली समाजमा हामीले मृत्युका प्रसङ्गलाई ’प्रदर्शन’ र ’प्रसार’ को साधन बनाउने विकृति जन्माएका छौँ । परिवार शोकमा डुबेको हुन्छ, आँसु सुकेका हुँदैनन्, अनि एक हुल मानिस एउटा ठूलै फ्रेम बोकेर आउँछन् । श्रद्धाञ्जलिको नाममा । त्यो फ्रेममा चिल्ला शब्दहरू लेखिएका हुन्छन् । “हामी स्तब्ध छौँ”, “शोकसन्तप्त परिवारमा गहिरो समवेदना”... आदि । फ्रेममा हुने यी ’शिष्ट’ शब्दहरू न आत्माको शान्तिका लागि लेखिन्छन् न परिवारप्रति समवेदना व्यक्त गर्न । ती त प्रदर्शनका लागि लेखिन्छन् । समाजमा देखाउने, फोटो खिचाउने र फेसबुकको भित्तो रङ्गाउने प्रयोजनका लागि ।


ती फ्रेमहरू श्रद्धाञ्जलिको होइन, ’स्व–प्रचार’ को साधन बन्न थालेका छन् । फ्रेम बनाउन खर्च हुन्छ । बोकेर ल्याउन समय लाग्छ । फोटो खिच्न सारा तयारी हुन्छ तर त्यो मृतकप्रति श्रद्धा होइन, ’हामी उपस्थित थियौँ’ भन्ने प्रमाण हो । परिवार रोइरहेको हुन्छ तर समूह हाँस्दै फोटो खिच्दै फर्किन्छ । साँचो श्रद्धाञ्जलिमा हास्य हुँदैन । यो संवेदना होइन, सञ्चारको पाखण्ड हो ।

त्यसपछि सुरु हुन्छ अर्को प्रहसन । फ्रेम हस्तान्तरण समारोह । उपस्थित ’डेलिगेसन’ को प्रमुखले भाषण दिन्छन्, मृतकको गुणगान गाइन्छ, अनि फोटो खिचिन्छ । त्यो फोटो फेसबुक, टिकटक, इन्स्टाग्राममा पोस्ट हुन्छ । क्याप्सनमा लेखिन्छ । “शोकमा सहभागी भयौँ। अमूल्य योगदान सम्झँदै श्रद्धाञ्जलि।“ । यस्तो सङ्गीतमय सार्वजनिक प्रदर्शन अब त शोक होइन, ’सोसल मिडिया इभेन्ट’ बनेको छ ।


हाम्रो समाजमा वास्तविक भावनाभन्दा पनि ’देखावटी दया’ बढ्दै छ । घरमा ती फ्रेम राख्ने ठाउँ हुँदैन, बोरामा राखेर फाल्न मन लाग्दैन, किनभने फोटो आफन्तको हुन्छ । न फाल्न सकिने न राख्न सकिने । एकजना भूतपूर्व मन्त्री लालबाबु पण्डितले बोरामा प्याक गरिएका र केही भित्ताभरि टाँगिएका फ्रेमहरू देखाउँदै भनेका थिए, “यी फ्रेम अब राख्ने कि बाल्ने कि बोरामा हालेर विसर्जन गर्ने? यसको पनि समाजले जवाफ खोज्नुपर्छ।“ । यो सत्य हो । फ्रेमले आत्मालाई शान्ति दिँदैन । मृतकको आत्माको शान्तिको काम त उसको नाममा गरिएको पुण्यले, परिवारलाई दिइएको साथले, बाँचेका आफन्तप्रतिको सद्भाव र सहयोगले मात्र हुन्छ । हिन्दू दर्शन भन्छ, “असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ, मृत्युबाट अमरत्वतर्फ लैजाऊ“ तर आज हामी सत्यतर्फ होइन, ’सजावट’ तर्फ लागिरहेका छौँ । मृत्युलाई ’फ्रेमबद्ध’ गरेर शोकको गहिराइ होइन, फोटोको ’फ्रेम रेट’ हेर्न थालिएको छ । त्यस्तै बुद्धले भनेका थिए, “संसार दुःखमय छ। दुःखको कारण तृष्णा हो।“ । यहाँ ’श्रद्धाञ्जलिको तृष्णा’ देखिन्छ । मान, प्रचार, देखा पर्न खोज्ने तीव्र आकाङ्क्षा । श्रद्धाञ्जलि फ्रेम होइन, कर्म हो । शब्द होइन, भावना हो । सोसल मिडिया पोस्ट होइन, आत्मासँगको संवाद हो ।


राजनीतिमा पनि पाखण्ड देखिन्छ । आज हाम्रो राजनीतिमा पनि पाखण्डले गहिरो जरा गाडेर बसेको छ । भाषणमा जनताको नाम लिने नेताहरू वास्तवमा आफ्नै स्वार्थमा रुमल्लिएका हुन्छन् । अस्पतालको उद्घाटन गर्दाका तामझाम, गरिबको मलामी जाँदाका सस्तो अभिनय, मृतकप्रति समर्पणभन्दा बढी फोटो खिचाउने होड लगायत पिर्के सलामी हामीले देखेकै छौँ । यी सबै राजनीतिक ढोंगका नयाँ शैली हुन् । नेताहरू आफूलाई सर्वेसर्वा र सर्वज्ञानी देखाउन खोज्छन् । उनीहरूमा आवश्यक ज्ञान, सीप वा अनुभव नभए पनि आफूलाई योग्य देखाउन अनेकौँ नाटक गर्छन् । विदेशी सहयोग वा विकास आयोजनाको श्रेय लिनका लागि अनावश्यक तामझाम र प्रचारबाजी गर्छन् । आफ्नो शक्ति र प्रभाव देखाउनका लागि अनावश्यक प्रदर्शन गर्नु पनि राजनीतिक आडम्बर हो । भनिन्छ, राजनीति ढोंगबिना टिक्दैन, शब्दमा आदर्श हुन्छ, कर्ममा स्वार्थ ।


धार्मिक क्षेत्रमा उस्तै आडम्बर देखिन्छ । धर्म मानिसलाई आन्तरिक शुद्धताको बाटो देखाउने माध्यम हो । तर अहिले धर्म पनि प्रदर्शनको क्षेत्र बनेको छ । ठूला माइक, झकझके लुगा, स्तुतिगान, चन्दा सङ्कलन, पण्डित–गुरुको प्रचार, उनीहरूको आडम्बर । यस्तो लाग्दै छ, “धर्म अहिले भगवान्को होइन, ब्रान्डको व्यापार बनेको छ।“ । बुढापाकाहरूले भन्ने गर्थे “ढोंगले धर्म हुँदैन, रङले पुजारी हुँदैन।“ । बुद्धले भनेका थिएः “बाह्य क्रियाभन्दा अन्तर्मन शुद्ध हुनु धर्म हो।“ । तर आज ढोंगी धर्मगुरुहरूले यति रङ्गमञ्च तयार पारेका छन् कि सत्य लुक्छ र स्वरूप केवल देखावटी पूजा मात्रै बाँकी रहन्छ ।


अर्को महत्वपुर्ण पक्ष सामाजिक कार्यमा ढोंग देखिन्छ । हामीले गर्ने सामाजिक कार्यक्रमहरू- विवाह, व्रतबन्ध, भात खुवाइ वा पास्नी, जन्मदिन, हामीले मनाउने चाडपर्वहरूमा पनि ढोंग र आडम्बर देखिन्छ । पर्वहरू यति महँगो हुँदै गए कि सामान्य व्यक्तिको आर्थिक हैसियतले पुग्दैन । तर ढोंग र आडम्बरका लागि पनि गर्नुपर्ने जस्तो भएको छ । आफ्नो संस्कृतिभन्दा आयातित संस्कृतिलाई अङ्गाल्न खोज्दा यस प्रकारको आडम्बर देखिएको छ । यसले समाज विचलित हुँदै छ ।


श्रद्धाञ्जलिको फ्रेमलाई बोरामा होइन, चेतनामा विसर्जन गरौँ । धर्मको नाममा आडम्बर होइन, अन्तरात्माको शुद्धि खोजौँ । राजनीतिमा स्वार्थ होइन, सेवाको साँचो मर्म बुझौँ । समाजलाई देखावटी संस्कारबाट मुक्त गरौँ । ढोंग, पाखण्ड र आडम्बर नेपाली समाज र राजनीतिको एक तीतो यथार्थ हो । यी प्रवृत्तिले व्यक्ति, समाज र राष्ट्रलाई नै कमजोर बनाउँछन् । सत्य, इमानदारी र पारदर्शिताले मात्रै यस्ता नकारात्मक प्रवृत्तिको अन्त्य गर्न सकिन्छ । एउटा स्वस्थ र न्यायपूर्ण समाजको निर्माण गर्न सकिन्छ । पाखण्ड त्यागौँ, आडम्बर जलाऔँ, ढोंगलाई यथार्थमा बदलौँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।