"तँ किन यति शान्त ?" घरको कुनामा चुपचाप थन्किएको देखेर मैले सोधेँ ।
"किनभने तेरो जस्तो प्रेस-डिप्रेसन छैन मलाई !" किताबले मुस्कुराउँदै भन्यो ।
त्यसैबेला अस्ताउँदै गरेको घामको सुनौलो डल्लो भित्तामा पग्लँदै थियो । मेरी व्यक्तिगत गृहमन्त्रीजी आँखा ठाडो पारेर, कम्मरमा हात राखी, मेरो सामु उभिइन् । हातमा थियो- कुचो।
"तपाईंको आशीर्वादले आज फेरि म प्रेसबाट बाँचेर फर्किएको छु ।" भन्दै म भुइँतिर हेरेँ ।
"एक त घरेडी किन्ने पैसा दिएर प्रेसवालालाई मालामाल बनायौ," उनले भनिन्; "अब त यिनै सौता-सौता भित्र्याएर मेरो सुत्केरी शान्ति पनि चोरेका छौ !"
"सौता ?" मैले झस्किएर सोधेँ ।
"हो ! यी सबै किताबहरू ! झट्टै लखेट नत्र..."
"के नत्र ?"
"डिभोर्स दिन तयार होऊ !"
त्यसपछि उनी चुपचाप घर बढार्न थालिन्।
म भने फेरि किताबतिर फर्किएँ ।
उसको फिक्का हाँसोमा आफ्नै सङ्घर्ष देखेँ ।
"सुन्छस् ?" मैले भनें, "म त तीनचोटि मरेको मान्छे हुँ-
पहिलो चोटि लेख्दा, पाखुरा दुखाएर;
दोस्रो चोटि छाप्दा, प्रेसवालाको ‘प्रेसर’ झेलेर;
तेस्रो चोटि कार्यक्रम दौडेर किताब बोक्दा- भोकै, नाङ्गै, हाँस्दै !"
"अनि बाँचेको कहिले ?"
"तँसँग गफ गर्दा ।"
किताब हाँस्यो-
"तिमी लेखकहरू त चिहान खनेर पनि पाठक खोज्ने जीव हौ, हैन ?"
मैले उसको टाउकोमा हात राखें, ममता झल्काउँदै भनें- "चुप ! होइन भने तेरो चिहान पनि म आफैं लेखिदिन्छु !"
त्यसपछि किताबले प्याच्चै भनिदियो-
"तीनचोटि मरे पनि लेखक किताबसँग गफ गर्न पाइने बहानाले बाँचिरहन्छ !"