18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खुल्ला घर

लघुकथा ईगम खालिङ August 4, 2025, 7:58 pm
ईगम खालिङ
ईगम खालिङ

जङ्गलहरूको बिचमा एउटा घर छ। त्यस घरको खिड्कीहरू भने पनि ढोकाहरू भने पनि एउटै ढोकामात्र छ। त्यो ढोका सधैँ खुल्ला नै रहिरहन्छ, मानौँ कि त्यस घरलाई कसैको पर्खाइ छ।

त्यो श्रापित घर होइन। त्यो घर घरमात्रै पनि होइन। त्यो कसैको विश्वासको घर हो। त्यस घरले सोच्छ कि कुनै समय त्यसले पर्खिरहेको मान्छे आउनेछ र त्यो पूर्ण हुनेछ। दुई हात फैलाएर बसेको ढोका भएर पनि सोच्छ कि जुनबेला त्यो मान्छे आउनेछ त्यतिबेला उसलाई समाएर एउटा युगसम्मको अङ्गालो हाल्नेछु। त्यसपछि मात्र ढोका बन्द गर्नेछु। त्यसका निम्ति ढोका बन्द गर्नुभनेको अन्त होइन। सुरु हो। अव्यक्त अभिव्यक्तिको सुरु हो।

एउटा सुनसान रात एकजना मान्छे ती जङ्गलहरू भित्रभित्र हुँदै त्यस घरको ढोकासम्म आइपुग्छ र ढोका बाहिरबाटै भित्रका चारैतिर निहाल्छ र आँखा चिम्म गरेर आवाज सुन्ने कोसिस गर्छ। उसलाई कोही निदाइरहेको जस्तो महसुस हुन्छ। उसले निर्णय लिनै सक्दैन, र अन्त्यमा छल सम्झेर त्यहाँबाट आफ्नो यात्रा पुन: सुरु गर्छ। त्यतिबेला त्यो खुल्ला घरचाहिँ महा निन्द्रामा परिरहेको हुन्छ।

त्यो मान्छे त्यहाँबाट केही टाढा पुग्नसाथ घरले सपना देख्न थाल्छ कि त्यस मान्छेले एउटा कार्यक्रममा एउटा नोस्टाल्जिक गजल गाउँदै छ: “एक बन्द घरझैँ सुनसान छु म, नबाँध प्रीतिले बदुनाम छु म, तिमीले सोचेको म कहिल्यै होइन, तातिएर नपोल्ने घाम हुँ म, नखोज तर्न भत्किसकेको पुल हुँ म, सच्याई तिमीले सच्याई नसक्ने भूल हुँ म।” त्यसपछि घर झसङ्ग भएर एक्कासि बिउँझी पठाउँछ।
(नोट: गायक: पवन नामदुङ, गीत/सङ्गीतकार: ध्रुव चौहान, संयोजन: महेश्वर लामा, एल्बम: भुल्न नसक्दा)

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।