18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उपन्यासकार जानुका खतिवडाको ‘आतोओडा’ उपन्यास

कृति/समीक्षा प्रा.डा. यदु नन्दन उपाध्याय August 7, 2025, 12:35 am
प्रा.डा. यदु नन्दन उपाध्याय
प्रा.डा. यदु नन्दन उपाध्याय

विषय प्रवेश
उपन्यासकार जानुका खतिवडाद्वारा रचित “आतोओडा” अल्पसङ्ख्यक एवं सीमान्तकृत नेपाली समुदायको जीवनसङ्घर्षलाई चित्रित गरिएको महत्त्वपूर्ण उपन्यास हो । यसमा जङ्गल फाँडेर जमिन आबाद गर्ने र बस्ती बसाउने श्रमिक समुदाय नै कालान्तरमा जमिनबाट विस्थापित भई श्रमशोषण र राज्यको चरम लापर्बाहीको मार भोग्न बाध्य भएको विषयलाई अभिव्यक्त गरिएको छ । उपन्यासमा आफ्नै पुर्खाहरूले आबाद गरेको जमिनमा आश्रय खोजिरहेका सन्थाल जाति र भाषाभाषी समुदायका परिवारजनका यथार्थ समस्याको चित्रण गरिएको भए पनि यसले त्यस प्रकारका शोषण एवं विस्थापनको मारमा परेका अरू सम्पूर्ण समुदायका परिवारको प्रतिनिधित्वसमेत गरेको छ ।

उपन्यास सुरु हुनुपूर्वका घटनामा झापा जिल्लाको सन्थाल वा सतार समुदायको जीवनसङ्घर्षको पृष्ठभूमि प्रस्तुत गरिएको छ । त्यसमा झापाका र्गौरादह, बरगाछी, खजुरगाछी, दमक, अनारमनी आदि ठाउँहरूमा पहिले कुनै बस्ती नभएको बेला सन्थाल समुदायका मानिसहरूले मेची तरेर आई सरकारकै आदेशमा जङ्गल फाँडेर बस्ती बसाउने काम गरेका थिए । त्यतिखेर दिनभरि जङ्गल फाँड्ने अनि रातभरि हिंस्रक जङ्गली जनाबरसँग लड्दा कति मानिसहरूले जीवन गुमाउनु परेको थियो । बस्ती बस्न र खेती गर्नलायक भएपछि भने त्यसै ठाउँमा पहाडलगायत बहिरका मानिसहरू आए । पहिले बसिरहेको समुदायको अशिक्षा र अज्ञानताको फाइदा उठाएर नयाँ आएकाहरूले आदिवासीलाई डर देखाई, फकाएर अनि कहिले झुक्याएर औँठा छाप लगाई जमिन आफ्नो बनाए । अब बर्सौँसम्म हिंस्रक जनावरसँग लडेर जमिन आबाद गर्नेहरू स्वामित्वबाट विस्थापित भएर हली र गोठाला बने अनि पछि आएर जमिन हडप्नेहरू क्रमशः मालिक बने । यसरी जमिनका वास्तविक मालिकहरू हली बनेको अनि तिकडम र षडयन्त्र गर्नेहरू मालिक बनेको यथार्थ उपन्यास सुरु भएपछिका कथानकबाट बुझ्न सकिन्छ ।

उपन्यासको कथानक
‘आतोओडा’ उपन्यासमा फूलमुनि र बुधिन मुख्य पात्रका रूपमा आएका छन् भने सुराही तुरसा, शुकरदेव, लुखी, लक्खी, मुखिया, मालिक आदि चरित्रलाई पनि विभिन्न भूमिकामा प्रस्तुत गरिएको छ । यसको थालनी फूलमुनि र सुराहीको बिहेको प्रसङ्गबाट भएको छ । फूलमुनि मालिकको काम गर्ने, जाँडरक्सी खाने र बेरोजगार केटासँग बिहे नगर्ने तर आफ्नै जमिन भएको, केही काम गर्ने केटोसँग मात्र बिहा गर्ने सोच बनाएकी पारिवारिक जीवनप्रति सचेत चरित्र हो । विवाह भने उसले सोचेभन्दा पृथक जाँडरक्सी खाने, स्वतन्त्र काम गर्नभन्दा मालिकको हली बनेर काम गर्न खोज्ने सुराहीसँग हुन्छ । सुराहीको अल्पायुमै मृत्युपछि एकल महिलामा परिणत भएकी फूलमुनिको पुनः विवाह गाउँकै मझिहडाम (मुखिया)का प्रस्तावमा सुराहीकै भाइ पर्ने बुधिनसँग हुन्छ । फूलमुनि र सुराहीबाट जन्मेको छोरा मङ्लु एक वर्षको हुँदा नै सुराहीको अकस्मात् मृत्यु भएको छ ।

फूलमुनिले आफ्नो घरजग्गा नहुँदाको अन्योलपूर्ण पारिवारिक परिस्थिति बुझेकी छे । यसैले सुराहीसित बिहा हुनुअघि नै उसले मालिककोमा हली भएर बस्न नहुने भन्ने सर्त राखेकी थिई र सो सर्तमा सुराही राजी पनि थियो । ऊ नयाँ र स्वतन्त्र काम गर्ने सोच नभएको र मालिककोमा काम गर्दिन भन्ने चुनौती पनि झेल्न नसक्ने कमजोर र भइआएको चलनमै चित्त बुझाएर बस्ने चारित्र हो । त्यसै भएर उसले आफू मात्र मालिकको गोठ (गुहाली)मा बस्न गएन अझ फूलमुनिसँग बाचा गरेभन्दा विपरित उसलाई पनि जान बाध्य पार्‍यो । ऊ आफू जाँडरक्सी (हन्डीपौरो) नखाएका बेला सद्दे भए पनि खाएपछि अचेत जस्तै बनी बहुलाउन थाल्छ । ऊ दिनभरि काम गरेर कमाएको रकम जाँड वा रक्सीमा खर्च गरेर प्रयः मदमत्त भएर फर्किन्छ र निहु खोजी खोजी फूलमुनिलाई पिट्छ । गर्भवती भएकी फूलमुनिलाई लात्तैलात्ताले भकुर्छ र शरीरमा निल डाम पर्ने गरी गोदेर खपिनसक्नु भएपछि एक पटक त रातबिरात माइत जान बाध्य पार्छ । ऊ गरिबी, अशिक्षा, अज्ञानता र कुलतको सिकार छ र यही बानीब्यहोरा र मालिकको श्रमशोषणसमेतले गर्दा उसको जीवनस्तर र चेतनाको स्तर पनि उठ्न सकेको छैन ।
उपन्यासको मुख्य कथानक फूलमुनि र बुधिनसँगको विषयमा जोडिएको छ । दुई दाजुभाइका सन्तान सुराही दाजु र बुधिन भाइ भएकाले फूलमुनिलाई बुधिनले भाउजू भन्थ्यो । बुधिनले फूलमुनिकी साथी लुखीलाई निकै रुचाउँथ्यो तर लुखीका बाबाले आइत भन्ने अर्कै केटासँग विवाह गरिदिएपछि खुम्चिएर बसेको थियो । लुखी आइतसँग बस्न नसकी माइत आएर बसेका बेला पनि फूलमुनिकै सहयोगमा पुनः घरजम गर्ने प्रयत्न बुधिनले गरेको हो । त्यसमा रीत (जारी) तिर्ने रकम नपुगेपछि बाध्य भएर अविवाहित नै बसेको थियो । सुराहीको असामयिक मृत्युपछि मुखियाले फूलमुनिसँग विवाहको अप्रत्याशित प्रस्ताव गर्दा बुधिन सुरुमा अन्यमनस्क हुन्छ तर फूलमुनिको स्वभाव र विचारसमेत राम्ररी बुझेकोले तत्कालै फूलमुनिले माने आफूले स्विकार्ने कुरो बताउँछ । सुराहीको बाबु शुकरदेवले फूलमुनिलाई दाइजोसहित छोरीलाई झैँ विवाह गरी बिदा गर्ने महानता प्रदर्शन गरेको छ ।
बुधिन सुराहीजस्तो मालिकको हली बनेर जीवन बिताउन राजी हुने स्वभावको नभई स्वतन्त्र रूपमा केही गर्नुपर्छ भन्ने विचारको चरित्र हो । फूलमुनिको विचारसँग मिल्ने उसले उपन्यासको थालनीदेखि नै कहिले मेलामा बरफ बेचेर, कहिले फिरफिरे बेचेर र कहिले दोकान किनेर स्वतन्त्रतापूर्वक आफ्नो काम गरेको छ । कहिले ऊ सीतापुरी गएर ढलानको काम गरेर आउँछ । उसको यो स्वभाव मालिकका अधीनमा बसेर काम गर्ने होइन कि आफ्नै काम स्वतन्त्र भएर गर्ने किसिमको छ । फूलमुनि छोरो मङ्लुलाई स्कुल पढाएर शिक्षित र सचेत पार्न खोज्छे । उसले पटक पटक सुराहीसित र पछि बुधिनसित पनि छोराछोरीलाई पढाउने कुरा गरेकी छे । उसले गाउँका मालिकहरूले आफ्ना पुर्खाहरूको जमिन शिक्षा र चेतनाका कमीले हडपेको भन्ने कुर भलीभाँती बुझेकी छ । नभए आफैले जङ्गली जनाबर र औलोको जोखिम झेलेर आबाद गरेको जमिन कागजी झमेलामा पारेर मिहेनत र पसिना नबगाएका मानिसहरूलाई बुझाउनुपर्ने परिस्थिति सिर्जना हुने थिएन ।

उपन्यासमा फूलमुनि र बुधिनले जग्गामालिकले आफ्नो बनाएको जमिनमा छाप्रो हालेर बस्नु परिवारको भविष्य अनिश्चित बनाउनु हो भन्ने बुझेर आफ्नै जमिनमा घर बनाउने प्रयत्न गर्दछन् । उनीहरूले घरमा भएका खसीबाख्रा, कुखुरा, धान, मकै आदि बेचबिखन गरेर र जम्मा भएको रकम पनि जोडेर घडेरीका निम्ति पैसा तयार गर्छन् । त्यसले पनि नपुगेपछि फूलमुनिले साना किसानमा जम्मा गरेको बचत रकमसमेत निकालेर जम्मा दस धुर मात्र जग्गा लिन खोज्दा नागरिकताको प्रमाणपत्र नभएका कारण लिन पाउँदैनन् । बुधिन नागरिकता बनाउनका निम्ति कार्यालय, नगरपालिका एवं वडा कार्यालयतिर धाउँछ तर जन्मदर्तालगायतका अभिलेख कहीँकतै पाउँदैन । उसलाई यस्ता कागजी प्रक्रियाका बारेमा कुनै जानकारी नै छैन । केही उपाय नलागेपछि उसले वडाध्यक्षका सल्लाहमा छोरा मङ्लु र छोरी तुरसाको जन्मदर्ता गरी आफूहरूले जस्तो परिचयहीन अनागरिकको दुखद स्थिति उनीहरूले भोग्नु नपर्ने कुरा सुनिश्चित गर्छ ।

उता घरमालिकले घर बेच्ने भनेर छोड्न अत्याइरहेको हुन्छ । नागरिकता नभएकाले पक्की लालपुर्जा नपाएपछि घरायसी कागज मात्र बनाएर भए पनि जमिन किन्छन् र बाँस, पराल आदि वस्तुको प्रयोग गरी छिमेकी र साथीहरूका सहयोगमा कच्ची घर बनाएर केही राहत महसुस गर्छन् । तर पन्ध्र दिन पनि नबित्दै अर्काथरी मानिसहरू आएर घर बनाएको जमिन आफूले किनेको भनी कागज देखाउँछन् । घरायसी कागज बनाएर पैसा दिएको मानिसले ठगी गरेको कुरो फूलमुनि र बुधिनले बल्ल थाहा पाएर छाँगामा खसेझैँ हुन्छन् । यसरी प्रक्रियागत रूपले नागरिकता नभएपछि जग्गा पास गर्न असम्भव भएको र घरायसी कागजबाट बाउबाजेझैँ फेरि पनि ठगिनु परेको बोध हुन्छ । यसबाट हाम्रै समाजको कुनै समुदाय औपचारिक कागजी प्रक्रिया बुझ्न र राज्यले बुझाउन पनि नसकेकाले नागरिकता र पहिचानबिहीन बन्न बाध्य भएको यथार्थ प्रस्तुत उपन्यासले गराएको छ ।

’आतोओडा‘ उपन्यासले आज (२०७८) को समयमा पनि स्वतन्त्र र सम्मानजनक मानवीय जीवन निर्वाह गर्न नपाएका नेपालकै एउटा समुदायका जीवन यथार्थको चित्रण गरेको छ । उपन्यासमा आएका पात्रहरू साना हुँदा मालिकका घरमा गोठालो हुने अनि ठुला भएपछि मालिककै घरगोठमै बसेर पूरै समय एकमुष्ठ सीमित ज्याला लिने गरी बस्दछन् । तिनले करिब करिब सामन्ती समाजका दास वा करियासरहको जीवन व्यतीत गरिरहेका छन् । त्यति मात्र होइन कामदारका परिवारलाई पनि त्यहीँ काममा लगाउने, बस्न पनि सकेसम्म खालि भएको घरमा बस्ने अनुमति नदिएर पशुहरूलाई बाँधेर राख्ने गोठमा दिने गरेको देखिन्छ । सुराहीले फूलमुनिलाई मात्र सँगै लगेको छैन बाबुआमासमेतलाई लगेर मालिकका घरका काममा लगाउनुपरेको छ । बाबु त रुखको घाँस काट्दा लडेर गम्भीर घाइते पनि भएको छ । यसरी यस उपन्यासका चरित्रले आजका मानिसहरूले भोग्न पाउने स्वतन्त्र र सम्मानजनक मानवीय जीवन पाइरहेका देखिन्नन् ।

उपन्यासमा सुराही शुकरदेवलगायतका पात्र मालिकको विरोध गरेर आफ्नो स्थितिलाई सुधार्ने जोखिम लिन चाहन्नन् । एकठाउँमा सुराही मालिकको घरमा जान आनाकानी गरेकी फूलमुनिलाई भन्छ “मालिक रिसाए भने यो छानो पनि रहँदैन अनि काँ बस्छेस् ?” अर्को ठाउँमा हाम्रै पुर्खाले झोडा फाँडेर आबाद गरेको जमिन मालिकको कसरी भयो भनी फूलमुनिले प्रश्न गर्दा सुराही भन्छ “यस्तो खोज खबर गरेर केइ हुँदैन । उल्टै भको पनि गुम्छ पृ.६६) ।” तुरसा भने यथास्थितिविरोधी चरित्र हो । मालिकको घरमा गोठालो भएर जान कर गर्दा तुरसाले आमाबाबुसँग “पशु नै बनाउन मन छ भने घाँटीमा दाम्लोले बाँधेर घिस्याएर पुर्‍याइदेऊ मलिकका घरमा, नभए मान्छेजस्तै बाँच्न देऊ (पृ. ७५)।” भनेर प्रतिवाद गर्छ । अर्को ठाउँमा उसले “हामी उनेरका गुहाली(गोठ)का पशु हुम् र उनेरुजस्तै मालिक हुम् (पृ.७६)।” भनी आफूहरू मालिकजस्तै मानिस भए पनि समान र सम्मानजनक जीवन नपाएकोमा विरोध गरिरहेको छ ।

सन्थालपुर्खाले सरकारबाट आदेश पाएर आबाद गरेको जमिन कसरी हरण गरियो भन्नेबारे उपन्यासमा यसो भनिएको छ । “हडम्बा (हजुरबा) लाई कहिले डर देखाएर, कहिले फकाएर मालिकले कागतमा बुढी औँलाको छाप हाल्न लगाए । हडम्बालाई कागत पढ्न आउँदैनथियो । अलिअलि गर्दै सप्पै जमिन उनको भयो (पृ.८२) ।” यही यथार्थ कुरा बुझेको तुरसाले आफ्नो अधिकार नपाएकाप्रति भित्रभित्र असन्तोष र आक्रोशको झिल्को ओकलेको छ । उसले रातिरातिमा गएर समुदायलाई गुमेका अधिकारप्रति सचेत पार्ने, जमिनमा रातो झन्डा गाड्ने, स्थानीय किसानमाथि दमन गरिरहेको सेनाका विरुद्ध विस्फोटक पदार्थ राख्ने, रकम र अन्न लुटेर ल्याउने जस्ता काम गरेर अधिकार प्राप्तिको प्रयत्न गरेको छ तर ऊ सैनिक कारबाहीमा मारिएको छ । उपन्यासमा तुरसाको विद्रोहबारे कुनै विरोध पाइन्न बरु उसले मालिकको विरोध गर्न नहुने, गरेको काम त समुदायको अधिकारका निम्ति उचित नै हो भन्ने विचार पनि उसकै समुदायबाट प्रकट भएको छ । फूलमुनि र बुधिनले छोरीको नाम तुरसा राखेर त्यही विद्रोहको झिल्को छोरीमार्फत फैलाउने अकाङ्क्षा लिएका छन् । यसरी स्थानीय सन्थाल समुदायका अधिकांश मानिसहरू आफ्नो हकअधिकारप्रति अज्ञानी रहेका र राज्यले पनि ती कुरामा सचेत गराउने दायित्व पूरा नगरेका कारण जमिनविहीन र नागरिकताविहीन भएर पहिचानविहीन भएका छन् र त्यसका विरुद्ध भएका छिटफुट विद्रोह पनि दबाएर समाप्त पारिएको छ भन्ने कुरा उपन्यासमा चित्रित छ ।

उपन्यासले मुख्यतः पूर्वी नेपालको झापा जिल्लाका विभिन्न स्थानका आदिवासीका रूपमा रहेका सन्थाल समुदायको राज्यका अगाडिको पहिचानविहीता, अनागरिकता, जग्गाजमिनको शोषण, आजको युगमा पनि न्यूनमूल्यमा हली र गोठाला बनाई गरिने श्रमशोषणलगायतका विविध पक्षको चित्रण गरेको छ । त्यसमा त्यस समुदायको रहनसहन, माछा, मुसा आदिको खानपान, जन्म, विवाह, मृत्यु आदि संस्कार र संस्कृति, मेलामा सहभागिता आदि पक्षको चित्रण पनि गरेको छ । केही हदसम्म मायाप्रेमका सुमधुर र स्मरणीय प्रसङ्ग पनि समाविष्ट भएका छन् । साथै मुख्यतः जुन समुदायले जोखिम मोलीमोली ह्रिंसक बन्यजन्तुसँग लाप्पा खेलेर झाडी फाँडेर बस्ती बसायो उसैलाई सो जमिनबाट बेदखल गरेको अन्यायपूर्ण यथार्थ उपन्यासले उतारेको छ । त्यसमा अन्यत्रका भिन्न समुदायका धनाढ्य र नवधनाढ्य बनेका मालिक वर्गले त्यहाँका जमिनको स्वामित्व लिएका, मरीमरी श्रम गर्ने एउटा समुदायले जङ्गल र बन्यजन्तुसँग भिडेर जमिन आबाद गरे पनि ठगीको प्रपञ्चमा परेर स्वामित्व गुमाएको र राज्यले त्यसैलाई वैधता प्रदान गरेर गैरजिम्मेवार व्यवहार गरेको देखाएको छ । यस किसिमको राज्यप्रणालीबाट यहाँ प्रस्तुत सन्थाल समुदाय मात्र होइन नेपालका अन्य थुप्रै अल्पसङ्ख्यक समुदाय पनि यसरी नै किनारीकृत गरिएको समस्याको उद्घाटन पनि भएको छ ।

चरित्र र चरित्र चित्रण
‘आतोओडा’ उपन्यासका प्रमुख चरित्रमा फूलमुनि, बुधिन, सुराही, तुरसा आदि छन् भने शुकरदेव, लक्खी, आइत, लट्टुमई, सनुमई आदि गरी बहुचरित्रहरूको उपस्थिति रहेको छ । फूलमुनि उपन्यासको आदिदेखि अन्तसम्म सबैभन्दा बढी सक्रिय भूमिकामा व्याप्त चरित्र हो । ऊ अल्पसङ्ख्यक सन्थाल समुदायकी भएर पनि कक्षा तिनसम्म पढेकी र मानवीय हक एवं अधिकारप्रति पनि केही हदसम्म सचेत चरित्र हो । उसले आफूले विवाह गर्ने पुरुष पनि जाँडरक्सी नखाने, मालिकका घरमा हली वा गोठालो भएर नबस्ने, बेरोजगार नभएको हुनुपर्ने सर्त राखेकी छ र सुराहीसित बिहा गर्दा यी सबै सर्तमा प्रतिबद्ध भएको जनाएपछि मात्र तयार भएकी हो । यद्यपि सुराहीले ती कुनै पनि सर्त मानेन । ऊ मालिकको घरगोठ वा जमिनमा झुप्रो बनाएर बस्नेहरूको जीवन असुरक्षित रहेको बुझेकी चरित्र हो । त्यसरी बस्नेका सन्तानहरूको जीवन पनि अनिश्चित हुन्छ भन्ने राम्ररी बुझेकी हुनाले पछि बुधिनलाई जोड गरेर घरका सबै वस्तु र अन्नसमेत बेचेर भए पनि आफ्नै जमिनमा घर बनाउन उसले उत्प्रेरित गरेकी छे । यसरी स्वतन्त्र र सम्मानजनक जीवन निर्वाहको धारणा राखी सङ्घर्षमा क्रियाशील हुँदाहुँदै पनि अन्तमा नागरिकताका अभावमा जमिन आफ्नै नाममा गर्न नपाएर समस्यामै पर्न बाध्य भएकी चरित्रका रूपमा देखिएकी छ ।

बुधिन उपन्यासको फूलमुनिपछिको अर्को सक्रिय र महत्त्वपूर्ण चरित्र हो । ऊ आफ्नो समुदायका प्रचलनमा रहेको मालिकको जमिन कमाउने, हली बन्नेजस्तो सजिलो बाटोमा नलागेर स्वतन्त्र काम गर्छ । सानो छँदा मालिककोमा गोठालो बसे पनि ऊ मौका पाउनासाथ भागेर घरै आइपुग्थ्यो । उसले सुरुमा दुधाली मेलामा बरफ बेचेर, सीतापुरीमा गएर ढलानको काम गरेर, दोकान किनेर व्यापार व्यवसाय गर्ने र फिरफिरे बेचेर आजआर्जनको बाटो रोज्ने स्वतन्त्र काम गरेको छ । ऊ लुखीलाई मन पराउने र त्यसको बिहा भएर घरमा मनमुटावपछि माइत आएर बसेका बेला फूलमुनिका सहयोगमा उसकै घरमा ल्याएर लुकाएर राख्ने र रीतअनुसार जारी तिर्न नसकेपछि लुखीसितको सो प्रयास पनि असफल हुँदा निकै दुखी हुन्छ । पछि सुराहीको मृत्युपछि फूलमुनिसँगै विवाह गरेर बसेको छ । ऊ फूलमुनिका विचारसँग सहमत भई आफ्नो र सन्तानको सुरक्षित भविष्यका निम्ति सक्रिय बनेको छ । त्यसकै निम्ति उसले छोराछोरी दुबैको जन्मदर्ता गरिदिएर उनीहरूलाई आफूहरूले भोग्नु परेको नागरिकताविहीनताबाट बचाउने काम गरेको छ । उसले आफ्नै छोरो नभए पनि फूलमुनि र सुराहीको छोरो मङ्लुलाई र आफ्नी छोरी तुरसालाई पनि समान व्यवहार गर्ने असल बाबुको भूमिका निर्वाह गरेको छ । आफै विद्रोहमा ओर्लने आँट नभए पनि तुरसाले गरेको विद्रोह समाजमा आवश्यक छ भनेर नै छोरीको नाम तुरसा राखेको बुझिन्छ ।

सुराही फूलमुनिको पति र मङ्लुको पिता हो । ऊ सन्थाल समुदायकै र बुधिनको काकाको छोरो वा भाइ हो । उसले फूलमुनिसँग विवाह गर्दा जाँडरक्सी नखाने, मालिककोमा हली नबस्ने कुरामा बाचा गर्छ तर स्वतन्त्र तरिकाले काम गर्ने साहस नभएकोले मालिककोमा हली बनेर आफू मात्र होइन त्यसरी फिटिक्कै बस्न नचाहने फूलमुनिलाई पनि उल्टै मालिकका घरगोठमा आश्रय लिन बाध्य पार्छ । ऊ मालिककोमा काम गर्ने मात्र होइन दिनभरि काम गरेर कमाएको पैसाले जाँडरक्सी धोकेर फूलमुनिमाथि लात्तैलात्ताले भकुर्ने, निलडाम हुने गरी कुटेर असह्य भएपछि माइत जान बाध्य पार्ने चरित्र पनि हो । उपन्यासमा उसको अल्पायुमै र बिचमै मृत्यु हुन्छ ।

उपन्यासमा आएको तुरसा क्रान्तिकारी स्वभावको र भविष्य देखाउने चारित्र हो । उसले आफ्ना हजुरबासँग आफ्ना पुर्खाहरूले दुखजिलो गरेर आर्जन गरेको जमिनमा अरूले नै राइँदाइँ गरिरहेको देखेर असन्तुष्ट बनेको छ । उसले आफूहरू त्यहाँका असली हकदार भएर पनि जमिन हडप्नेहरूकै हली र गोठालो बन्नुपरेको परिस्थिति बुझेको छ । यसै कारण उसले बाल्यकालखदेखि नै मालिकका घरको गोठालो वा हली बन्ने कुरा अस्वीकार गरेको छ । उसले सङ्गठित रूपमा आफ्नो जमिन र श्रमको शोषण गर्ने मालिकहरूको अन्न एवं पैसा लुटेर घरमा ल्याएर लुकाएको छ । त्यतिमात्र होइन भूमिगत शक्तिसँग मिलेर सेनाका विरुद्ध बम विस्फोटको योजना बनाउने, जमिनमा रातो झन्डा गाड्ने जस्तो विद्रोहको बाटो रोजेको छ । यही कुराका अभियोगमा उसलाई सेनाले बेपत्ता पारेर एक महिनापछि रतुवा खोलाका बगरमा मारेर फालेको भेटिन्छ । यसरी आदिवासी समुदायले जोखिम मोलेर बसाएको बस्तीको जमिन विभिन्न तरिकाले हडपेर तिनै आदिवासीलाई हली र गोठाला बनाउने मालिकहरू र त्यही मालिक्याइँलाई वैधानिकता प्रदान गर्ने राज्यप्रतिको ठुलो प्रश्न उठाउने काम तुरसा र प्रस्तुत उपन्यासले गरेको छ ।

‘आतोओडा’ उपन्यासमा आएका अन्य शुकरदेव, लक्खी, आइतु, लट्टुमई, सनुमई आदि सबै चरित्रहरू पहिचान, आर्थिक अधिकार र नागरिक आधिकारविहीन भएर पनि जेजसरी जीवन चलिरहेको छ त्यसमै चित्त बुझाउने प्रकृतिका छन् । तिनीहरू आफ्नो स्वतन्त्र जीवन निर्वाह गर्ने मनस्थितिमा उठ्न नसकेको यथार्थलाई राज्यले किन सम्बोधन गरिरहेको छैन भन्ने प्रश्न पनि उपन्यासमा सँगसँगै उठेको छ ।

उद्देश्य
‘आतोओडा’ उपन्यासको उद्देश्य आजको युगमा पनि नेपालभित्रको एउटा समुदायले स्वतन्त्र र सम्मानजनक जीवन ज्युन नपाएको यथार्थ देखाउनु हो । झोडा फाँडेर जमिन आबाद गरे पनि जमिनबाट बेदखल बनाइएका र त्यस्तो अन्यायका विरुद्ध लाग्दा सैनिक कारबाहीमा मारिन सक्ने अवस्थासम्मको पक्षलाई पनि देखाइएको छ । त्यसैगरी यसै जमिनका आदिवासी भएर पनि शोषण, अज्ञानता र राज्यको लापर्बाही अनि कागजी प्रक्रिया नजानेका कारण जमिनविहीन मात्र होइन नागरिकताविहीन, मानवीय हकअधिकारविहीन र सीमान्तकृत भएको यथार्थसमेत उपन्यासमा चित्रित गरिएको छ । यसका साथै उपन्यासमा सन्थाल समुदायका मानिसहरूको रहनसहन, खानपान, स्थानीय नेपाली र सन्थाल भाषाका शब्द र वाक्यसमेतको बोलीचाली आदि पक्षलाई आञ्चलिक विशेषताका साथ उपन्यासमा चित्रित गरिएको छ । यसबाट यस्तै प्रकारको स्थिति र समस्यामा परेका नेपाली र अन्य अल्पसङ्ख्यक समुदायका समस्यालाई पनि सङ्केत गर्नु यस उपन्यासको उद्देश्य रहेको बुझिन्छ ।

परिवेश
प्रस्तुत उपन्यासमा नेपालको पूर्वीसीमामा अवस्थित झापा जिल्लाका सन्थाल समुदायका मानिस बसेका विभिन्न बस्तीका स्थानीय परिवेशलाई प्रस्तुत गरिएको छ । त्यस्ता बस्तीमा र्गौरादह, बरगाछी, खजुरगाछी, दमक, अनारमनी, चप्रामारी, ग्वालडुब्बा आदि ठाउँहरू रहेका छन् । सुरुमा मेची नदी तरेर आएका सन्थालका पुर्खाहरूले घना जङ्गल फाँड्दै, हिंस्रक जनाबरसँग लड्दै र आफ्ना प्रियजनलाई पनि वन्यजन्तुका सिकारमा गुमाउँदै बस्ती बसाएको भयलाग्दो परिवेश उपन्यासमा प्रस्तुत गरिएको छ । यसरी पुर्खाहरूले जमिन आबाद गरेर बस्ती बसाले पनि राज्यका कागजी प्रक्रियामा अनजान रहेका कारण यस समुदायका मानिसहरू बस्ती बसाउँदै अनि मालिकलाई बुझाउँदै सर्दै गरेर आठ आठ स्थानसम्म सरेको प्रसङ्ग उपन्यासमा आएको छ । त्यति मात्र होइन उपन्यासमा सन्थाल समुदायको जन्म, विवाह, मृत्यु आदि संस्कार अनि खानपान, रहनसहन, बोलीचाली आदिका भिन्नता र विशिष्टताहरूको सूक्ष्म चित्रण पनि गहिराइका साथ गरिएको छ । यसले स्थानीय विशिष्टता झल्काउने आञ्चलिक उपन्यासका रूपमा पनि यसलाई प्रस्तुत गरेको छ । समयगत सन्दर्भमा यसले राणाशासन (जङ्गे महाराजको सवारीअघि) देखि करिब करिब आजसम्मकै (२०७८) परिवेशका समस्या र यथार्थलाई अभिव्यक्त गरेको देखिन्छ । उपर्युक्त स्थानगत एवं समयगत परिवेशबाट उत्पन्न पात्रहरूका मनस्थितिगत पक्षलाई पनि उपन्यासमा स्वाभाविकता, प्रभावकारिता र विश्वसनीयताक साथ जीवन्त बनाएर प्रस्तुत गरिएको देखिन्छ ।

भाषाशैली
‘आतोओडा’ उपन्यासमा स्थानीय कथ्य बोलीचालीको भाषाको प्रयोग गरेर उपन्यासको विषयलाई स्वाभाविक बनाइएको छ । यहाँ सन्थाल भाषाका शब्द र वाक्यको प्रयोग पनि भएको छ । बाप्ला, हडम्बा, हप्पनगो, गोगो, पौरो, गुहाली आदि सन्थाल भाषाका थुप्रै शब्दहरू र तिनको नेपाली अर्थ उपन्यासको अन्तिममा दिएर पाठकलाई बुझ्न सजिलो पारिएको छ । बढी मात्रामा सरल र सहज भाषाकै प्रयोग गरिएको छ भने कतिपय भाषामा बिम्बसौन्दर्य र प्रतीक सौन्दर्य पनि झल्किएको छ । यस्तो सौन्दर्य “आँखैअघि चिलले टिप्न लागेको आफ्नो बच्चालाई कुखुराले प्वाँखमुनि लुकाएझैँ गरी फूलमुनिले मङ्लुलाई गम्लङ्ङ अँगालो हाली (पृ.१०१)” त्यस्तै “तुरसा एउटा सानो झिल्को बनेर उठेको थिया,े मसाल बन्न नपाउँदै निभ्यो (पृ.८३) ।” यस्ता कलात्मक सौन्दर्यका पक्ष उपन्यासमा छिटफुट रहे पनि यो कलात्मक दृष्टिले त्यति उल्लेखनीय कृति होइन बरु समाजको मूल प्रवाहले उपभोग गरिरहेका अधिकारबाट वञ्चित समुदायको चित्रण गर्नु यसको विशिष्टता हो । उपन्यासको विषय र कथ्यलाई उपन्यासकार बाहिरै बसेर तृतीय पुरुष दृष्टिविन्दुमार्फत प्रस्तुत गरेका छन् । विषय आवश्यकताका आधारमा संक्षेप एवं दृश्यात्मक दुबै पद्धतिमा रचिएको प्रस्तुत उपन्यास भाषाशैलीगत स्थानीयतामा विशिष्ट रहेको देखिन्छ ।

निष्कर्ष
उदीयमान उपन्यासकार जानुका खतिवडाद्वारा रचित ‘आतोओडा’ पूर्वी नेपालको सन्थाल भाषिक समुदायका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहीनताको विषयलाई प्रस्तुत गरिएको महत्त्वपूर्ण उपन्यास हो । यसमा बर्सौ पहिलेदेखि बनजङ्गल फाँडेर अनि हिंस्रक बन्यजन्तुसँग लडेर अनि लडाइँमा आफन्तहरूलाई गुमाएर पनि त्यहाँको जमिन आबाद गरेको समुदाय कालान्तरमा पछि आएको समुदायबाट ठगिएर भूमिहीन र परिचयहीन हुन पुगेको मार्मिक सन्दर्भ प्रस्तुत गरिएको छ । त्यसरी आबाद गरेको जमिन लुट्न खोज्ने श्रमशोषकहरूका धुर्त्याइँ र शोषणप्रवृत्तिलाई बुझ्न नसकेर स्वामित्व गुमाएपछि तिनै मालिकका हली र गोठाला बनेर थप शोषण र अन्यायको पीडा भोग्न बाध्य भएको समुदायका यथार्थलाई यसमा प्रस्तुत गरिएको छ । त्यस अधिकारहननको प्रक्रियामा राज्यका निकायहरू समुदायका सहयोगी होइन शोषणप्रवृत्तिका सहयोगी भएका छन् । त्यति मात्र होइन आफ्ना समुदायको शोषणका विरुद्ध उठ्न खोजेका विरोध र विद्रोहलाई दमनका माध्यमबाट निमिट्यान्न पार्ने गलत बाटो रोजिएको छ । यसले राज्यसंरक्षित शोषण र अधिकारहननको पाटोलाई पनि उपन्यासमा उजागर गरेको छ ।

प्रस्तुत उपन्यासले सङ्घर्ष गरेर बस्ती बसाउने आदिवासी समुदायको विस्थापनको समस्यालाई प्रस्तुत गरेको छ । साथै नागरिक अधिकारको अभावका कारण नागरिकताबिनाका भई परिचयहीन हुने समस्याको चित्रण पनि गरेको छ । यस्तो अधिकारहीनताले समाजको मूलप्रवाहबाट बाहिर परेर सीमान्तकृत हुने र त्यस्तो अल्पसङ्ख्यक समुदायका भाषिक, सांस्कृतिक अधिकार पनि गुम्ने स्थिति सिर्जना हुने पक्षको सङ्केत पनि भएको छ । साथसाथै उपन्यासमा सन्थाल समुदायका रहनसहन, खानपिन, मायाप्रेम, झगडा, विवाह, मृत्यु आदि संस्कार, भाषा आदि पक्षको आञ्चलिक विशिष्टतासहित सूक्ष्म चित्रण पनि भएको छ । उपन्यासमा तुरसाद्वारा गर्न खोजिएको विद्रोहलाई निरन्तरता दिन र विप्लव उठाउन नसके पनि छोराछोरीको सुनिश्चित भविष्यको प्रयत्न गरिएको देखाइएको छ । यसबाट बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिकसहित अल्पसङ्ख्यक समुदायका पहिचान र अस्तित्वका पक्षलाई राज्यले बेवास्ता नगरोस् भन्ने सचेतना दिलाउने काम पनि भएको छ । उपन्यासलाई कलात्मक शिल्पमा उत्कृष्ट बनाउनतिर भन्दा विषयगत पक्षलाई महत्त्व प्रदान गरिएको छ र यसको भाषाशैलीगत पक्षमा पनि स्थानीय विशेषता प्रकट भएको छ । सन्थाल समुदायका गाउँबस्ती (आतोओडा)का जीवन सङ्घर्षका विषय र समस्यालाई उठाएको प्रस्तुत उपन्यासले राज्यका गैरजिम्मेवार भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ ।

पृथ्वीनारायण क्याम्पस, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।