ओलीसरको अन्त्येष्टिमा छोरालाई अमेरिकाबाट आउन चार दिन लाग्यो । शिक्षण र राजनीति पेसामा जीवन अर्पेका उनी, मृत्युपछि चार दिन अस्पतालको बरफघरमा राखिए, खर्च लाग्यो ४४ हजार ।
त्यसको केही दिनमै गाउँका लाहूरे माइलादाइको निधन भयो । छोरा साउदीबाट आउँनुपर्ने थियो । आफन्त र गाउँलेले २७ हजार सहयोग जुटाएर ३ दिन शव बरफघरमा राख्नुपर्यो ।
मृत्युपश्चात टाडा रहेका परिवारजनको प्रतीक्षामा 'बरफघर' मा शव राख्नु पर्ने गाउँको साझा पीडा बन्दै गयो । शहर बजारका अस्पतालहरूमा पनि सबैमा उक्त सुविधा उपलव्ध नहुने, भएकामा पनि खर्चिलो र झण्झटिलो प्रक्रिया ।
बर्तौला सरले लाहूरे माइलादाइको अन्त्येष्टीमा भनेका थिए, “अब आफ्नै नगर अस्पतालमा बरफघर बनाउनु अनिवार्य भयो । सम्पन्नले शुल्क तिर्ने, विपन्नले सहायता पाउने । यस्तै व्यवस्थाले मात्र सम्मानजनक अन्त्य सम्भव हुन्छ ।”
तर सधैंझैँ, घाटबाट फर्केका सबै आफ्ना दैनिकीमा फर्किए । बर्तौला सर भने चुप लागेनन् । उनी एक्लै पनि यस विषयमा आवाज उठाइरहे । जोसँग भेट्दा पनि प्रसंग मिलाएर बरफघरको कुरा चलाउँदथे ।
त्यो आवाज... सहसा बन्द भयो । बर्तौला सरको ६९ वर्षमा हृदयघातले निधन भयो । उनका छोराछोरीहरू अमेरिका र अस्ट्रेलियाबाट आउन तीन दिन लाग्यो । उनको पनि शव शहरको बरफघरमै राख्नुपर्यो - ३० हजार खर्च लाग्यो ।
तेह्रौँ दिन, उनको कोटको खल्तीबाट एक बन्द खाम फेला पर्यो । भित्र, नगर अस्पतालको नाममा काटिएको ५ लाखको चेक थियो, “बरफघरका लागि सहयोग रकम ।”
भोलिपल्टै परिवारले नगरप्रमुखको उपस्थितिमा चेक हस्तान्तरण गर्यो । मेयरले भने, “स्व. बर्तौला सरको योगदानलाई यसै आर्थिक वर्षको बजेटमा १५ लाख थप विनियोजन गरेर पूरा गरिनेछ ।”
छ महिनापछि पनि अस्पतालको बरफघर बन्न थालेको छैन । तर गाउँमा चर्चा चैं अझै चलिरहेको छ, “बर्तौला सर बाँचेको भए, बरफघर बनाएरै छाड्थे ।” यो भनाइसँगै, अझै पनि 'बरफघर' को आश मरेको छैन ।
कोटेश्वर, काठमाण्डौ, (हाल - ब्रिसवेन, अस्ट्रेलिया)