14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

परिवर्तन

कविता सङ्गीत आयाम December 11, 2008, 2:27 pm

भर्खर भर्खरै हो

मान्छेहरू नाच्दै सडकमा

विजयोत्सव मनाउदैछन्

भर्खर भर्खरै त हो

भनिन्छ, मान्छेहरू अब रैतीबाट

मालिक हुन पाएका छन्

जतासुकै हातहरू उठिरहेछन्

जुन हातहरूले सधै सधै

मुक्तिकामी गीत मात्र गाएका छन्

लाग्छ, अब तिनै हातहरूले

तानाशाहका बर्बर कथालाई

निसाना साध्नेछन्

चारैतिर खुट्टाहरू दौडिरहेछन्

जुन खुट्टाहरूले सधै सधै

इतिहास बदल्ने लडाइ“ मात्र लडेका छन्

लाग्छ, ती खुट्टाहरूमा झुक्दै

जङ्गली इतिहास घोप्टो परेर

याचना गरिरहेछ

दृश्यहरू उही रहेनन्

परिदृश्यहरू त्यस्तै छैनन् ।

के साच्चै नै अब

देशको पीडाले

निकास पाउने भयो त ?

के वास्तवमै

इतिहासको शैली अब

प्रायोजित नहुने हो त ?

के साच्चै नै अब

समयले आतङ्कका कथा

लेख्नै नपर्ने भयो त -

के वास्तवमैं

शक्तिरूपी तानाशाह बन्ने क्रम

रोकिएकै हो त ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।