18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

धोका

लघुकथा कृष्ण बजगाईं August 7, 2025, 6:33 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

“यो कथा सत्य होइन ।” कथाकारले कथाको सुरुवात यसरी गरे ।

“यो काल्पनिक कथा होला भनेर तपाईंले सोच्नुभयो होला ।” कथाकारले अर्को अनुच्छेदमा थपे ।

“लन्डनदेखि अक्सफोर्ड जाँदा मैले चलाई रहेको कारलाई उनको कारले ठक्कर दिएपछि एक्सिडेन्ट भयो । एक्सिडेन्टमा के भयो भनेर तपाईंका मनमा थुप्रै जिज्ञाशाहरु उत्पन्न भए होलान् ।” कथाकारले कथामा रहश्य थपे ।

“एक्सिडेन्ले गर्दा हाम्रो विवाह भयो । एक्सिडेन्टले कसरी विवाह हुन्छ भनेर चकित हुनुभयो होला ।” कथाकारले कथामा कौतुहलता थपे ।

“कारको अगाडि सिटमा बसेको उनको लोग्ने एक्सिडेन्टमा मृत्यु भएको दावी गरिन् । तर, कार एक्सिडेन्ट हुनुमा मेरो कुनै गल्ती थिएन ।” कथाकारले कथालाई उत्कर्षमा पुर्याए ।

“वकिलको नाम दिँदै लेनदेनमा मु्द्दा मिलाए मैले जेल नजानु पर्ने तर्क सुनाईन् । त्यसपछि उनलाई विबाह गर्न बाध्य भएँ ।” कथाकारले कथामा नाटकीय मोड दिए ।

“विवाहको केही महिनासम्म हाम्रो सम्बन्ध एकदम राम्रो थियो । उनलाई कारमा राखेर धेरै ठाउँ घुमाएँ । महँगा गहना र उनको नाममा अपार्टमेन्ट किनिदिएँ । अपार्टमेन्ट पाएपछि उनी अचानक परिवर्तन भइन् । हामीबिच खटपट सुरु भयो ।” कथाकारले कथामा अर्को ट्विस्ट दिए ।

“त्यसपछि मेरो मानसिक स्वास्थ्य ठीक नभएको उनले ठोकुवा गरिन् । मलाई कार चलाउन प्रतिबन्ध लगाईन् । उनले चलाएको कारको अगाडि सिटमा बसेर यात्रा गर्न जर्बजस्ती गरिरहेकी छिन् । म मानिरहेको छैन । उनी किन यस्तो जिद्दी गरिरहेकी छिन् भनेर तपाईले सही अनुमान गर्नु भयो ।” कथाकारले कथा टुङ्ग्याए ।

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।