सिँगापुर भन्ने बित्तिकै नेपाली नेताहरूले भोट पाउन गरेको “नेपाललाई सिँगापुर बनाउँछौँ” भाषणको संझना आउँछ । नेपाल सिँगापुर बनेको देख्न कहिले पाइने हो थाह भएन तर, सिँगापुर हेर्ने रहर अहिले नै लाग्यो । नेपाली नेताको भाषण पुरानो भइसक्यो, उनीहरू सिँगापुर छोडेर स्विजरल्यान्डतिर लागिसके तर, मैले भने सिँगापुर हेर्ने रहर भने मेट्न पाएकी थिइनँ । जाने मान्छेले भन्थे, “सिँगापुर सानो छ दुई घन्टामै एकछेउबाट अर्को छेउ पुग्न सकिन्छ” भनेर । अनि एक दिनमै सिङ्गो देशको हरेक पाटो हेरेर सकिन्छ अरे भन्ने पनि सुनेकी थिएँ । कुरा जति सुन्यो रहर उति बढ्यो भैराखेको थियो अचानक सिँगापुर हेर्ने मेरो रहर मेट्ने साइत जुर्यो । अचानक केही महिनाअघि इन्दु दिदी अमेरिकाबाट नेपाल आइपुगेर ‘सिँगापुर जाने?’ भनेर सोध्नु भयो । ‘के खोज्छस् कानो, आँखो’ भनेजस्तै लाग्यो किन जान्न भन्थेँ र खुट्टा उठाइहालेँ । इन्दु दिदी र उनकी छोरी शिफा अनि बहिनी शीतल र म चारजनाको टोली बन्यो सिँगापुर जाने । अर्थात् सिँगापुरमा रमाइलो गर्ने एउटा जत्थो तयार भयो घरमै ।
अमेरिकाबाट आउनेको एकथरी अनि हामी नेपालबाट जाने शीतल र मेरो अर्को थरी गरी दुई थरी, हाम्रो फ्लाइट पनि त्यस्तै दुई थरीकै थियो । हामीले लिएको फ्लाइट भारतको दिल्लीको बाटो भएर जाने थियो । केही खोजीनीति बढी नै होला भनेर सजग भएकै थियौँ । किनभने कहिल्यै विदेश जान रहर नगर्ने शीतल पहिलो पटक जाँदै थिई । नेपालीलाई भारतबाहेक अन्यत्र जान भिसा चाहिन्छ भन्ने भनाइ सुनेकाले पनि होला, सिँगापुरमा नेपालीलाई भिसा लिनु पर्दैन भन्ने नियम सुने पनि पढे पनि त्यसले केही अनौँठो र डर पनि मनमा बसेको थियो । नेपालमा अध्यागमनको एउटा प्रक्रियाबाट म केही वर्षअघि परिचित हुन भ्याएकी थिएँ । महिला बेचविखन विरुद्धको त्यो प्रक्रिया (पछिका समाचारले जे देखाए पनि त्यतिबेलासम्म बनेको बिचारअनुसारको) पुरा गरुन्जेलका प्रश्न र उत्तरले हाम्रो रातभरिको यात्रामा रमाइलाको एउटा पोको पनि थपेको थियो । दिल्लीको लगभग चार घन्टाको बसाइमा त्यस्ता अनेक पोका खुले र हरेक पोकामा केही मसला थप्दै अझै ठुलठुला पोका बने । त्यही रमाइलाका साथ आइतबार साँझ ५ बजे काठमाडौँबाट उडेका हामी भोलिपल्ट बिहान सात बजे सिँगापुर पुग्यौँ ।
आफैँ खोजी खोजी सिँगापुर घुम्ने मनस्थितिले सिँगापुरको एयरपोर्ट पुग्दा त्यही एयरपोर्टमै एउटा प्रशिद्ध अनि सुन्दर जङ्गल छ भन्ने जानकारी पायौँ । जङ्गल अनि एयरपोर्टमा यो एउटा अनौठो खुलदुली जाग्यो मनमा । ‘हरियो बन नेपालको धन’ भन्ने नारा सुनेर हुर्केकाले होला त्यहाँको धन पनि हेरौँ हेरौँ लागिहाल्यो । सोधिखोजी गर्दा त्यो बगैँचा भएको टर्मिनलबाट हामी टाडा रहेछौँ । रातभरिको यात्राको थकान अनि हिँड्ने दिनको कुदाकुदबाट थाकेका हामी बगैँचातिर नलागेर हाम्रो कोठा भएको होटलका लागि ट्याक्सी लिनेतिर लाग्यौँ । त्यसभन्दा अघि मोबाइलको सिम लिएर तयार पर्यौँ । व्यवस्थित सिँगापुरसँग त्यहीँ परिचित भयौँ एककिसिमले । प्रहरीको पोसाकमा बसेकी स्त्रीले ट्याक्सी खोजेको हो ? भन्ने प्रश्न सोधिन् र हाम्रो उत्तरसँगै फोन गरेर तुरुन्तै ट्याक्सी बोलाइन् । हाम्रा देशमा ट्याक्सीमा ठगीसँग परिचित हामी अलिअलि सङ्का र अलिअलि विश्वासको दोधारे मनस्थितिमा ट्याक्सी चढ्यौँ । तर, ठगी त के त्यहाँ त ट्याक्सी ड्राइभरहरू त असल गाइड पो हुँदा रहेछन् । यसको सकारात्मक अनुभव फेरि फेरि पनि हरेक पटकको ट्याक्सी चढाइमा गर्यौँ । होटल पुगेर पहिला भोक अनि पछि थकान मेट्न करिब तीन घन्टा लागेछ, त्यसपछि सिँगापुरको दर्शनका लागि हामी तयार भयौँ ।
सिँगापुर पुगेपछि हाम्रो पहिलो रोजाइमा ‘गार्डेनस् बाई द बे’ (Gardens by the bay) पर्यो । त्यहाँ पनि अनेक ठाउँ रैछन् पर्यटक लोभ्याउने । तिनैमध्येको ‘बादलको जङ्गल’ (Cloud Forest) सिँगापुर चैतको महिनाको धेरै हैन अलि अलि गर्मीमा रोजाइको पहिलो बिन्दु बन्यो । जङ्गल घुमाइ त्यस्तो दिनका लागि साँच्चै उत्कृष्ट हुँदो रहेछ । दिनभरि हरियो जङ्गल हेरेर नसक्नु थियो । सिसाको छानोभित्र हरियो डाँडा, डाँडाको हरियालीमा अनेकौँ जात जातिका फुल, बिरुवा अनि लिफ्टमा चडेर ५/६ तला माथिदेखि तलसम्म हेर्दै जाँदा देखिएका पानी र फुलका बगैँचाका अनेकौँ कलात्मक खेलहरूसँग खेल्दा आउने मानसिक शान्ति त्यो ठाउँको विशेष गुण रहेछ । एकपटक त लाग्यो सिँगापुरले यही शान्तिका लागि मानिसलाई लोभ्याइरहेको हो कि ! त्यहाँ पुगेपछि मौसम के हो ? कुन स्थानमा कुन फुल कहिले फुल्ने हो? त्यसको हिसाब वनस्पति विज्ञानका विज्ञले पनि बिर्सिँदा हुन् ।
बाहिर गर्मी थियो, जसै बगैँचाभित्र पस्यौँ माथि अनेक आँख्लाबाट झरेका पानीको झरनाको आवाज र वातावरणानुकुल मेसिनको हिसाब मिलाइएको तापक्रमले होला एकाएक जाडोसँगै पवित्र मनसुनको महसुस हुन थाल्यो । नेपालीहरू झरना र पानी बगेको आवाज विशेष मन पराउँछन् कि के हो ! त्यो आवाजसँगको पानीको छिट्टाले हाम्रो मन लोभ्याई राखेको थियो । हुन त हिसाब गरेर हो कि कथन मात्रको भरमा हो ‘नेपाल जलस्रोतको दोस्रो धनी देश’ भनेका नेताहरूले थाह छैन । त्यो कथन पनि सुनेर हुर्केको हाम्रो दिमागलाई आफ्ना देशको जस्तै लागेर मन पर्यो त्यो झरनाको आवाज पनि । अनि झलक्क गए आफ्ना देशका सुन्दर झरनाका नामहरूमा मन । एउटै झरनाका पानी पहाडबाट अनेक भागमा ठोकिँदै अनि केही नठोकिँदै तलको पोखरीमा झरेको आवाजमा भने आफ्नोपन थिए । मेरो मन त नेपाली मेरा पहाडमा पुगेँ एकछिन लिफ्ट बनाउन, पानी झार्न, फुल रोप्न । तर कसले गर्ने होला त्यस्ता विकासका काम हामीकहाँ? भन्ने प्रश्नले एकैछिनमा झसङ्ग बनायो ।
हामीसँग प्रकृतिका लगभग सबै राम्रा रङ्गहरू छन् । तर, तिनलाई फुलमा, बगैँचामा सजाउने कसले होला ! ‘हामी नेपाललाई सिँगापुर बनाउँछौँ’ भन्ने सपना देखाउनेले त्यो सपना कति समयमा पुरा गर्लान् ! त्यहाँ पुगेका दिनदेखि गन्न मन लागेको छ दिनहरू । त्यहाँका बगैँचामा अनेकौँ फुल र वनस्पति तलागत संरचनामा यसरी सजाइएका थिए, मानौँ स्वर्ग त्यही थियो । अनेकौँ जनावरका सजीवझैँ देखिने मूर्तिहरूले ती बगैँचालाई मौलिक बनाई रहेको भान हुन्थ्यो । ठाउँ ठाउँमा मान्छे हिँड्ने र नहिँड्ने सिँडीमा बगेका पानी अनि छेउछाउमा जमेका पानीमा बेला बेलामा उठ्ने बाफहरूले सिनेमामा देखिने स्वर्गको झल्को दिई नै राखेका थिए । प्राकृतिक रूपमा नै स्वर्गजस्तो देश हाम्रो कहिले बनिसक्छ होला यस्तै लोभलाग्दो र यस्तै पर्यटकलाई नतमस्तक बनाउने? यस्ता प्रश्न अनेकौँ जन्मिए मनमा ।
गार्डेनको यो भाग एउटा सिसाको ठुलो भकुण्डोमा बेरिएको थियो भने, अर्को भाग भुईँमा थियो । अनेक विरुवाबाट सजाइएको त्यो भागको आकर्षण चाहिँ जापानी साकुराको सजावट थियो । रातभरिको यात्राबाट पुगेका हामी त्यो बगैँचामा पुग्दा गलेर खुत्रुक्क भैसकेका थियौँ होला । हामी गएको मार्च महिना साकुराको मौसम थियो कि त्यसले पनि मौसम विर्सेको थियो कोनि, रङ्ग बिरङ्गका साकुराका झुप्पाले दर्शकलाई थाक्न दिई राखेको थिएन । हामी पनि झुल्दै थियौँ तिनै फुलमा, भुल्दै थियौँ आफ्नो थकान अनि घुल्दै थियौँ फुलका रङ्गमा । मानौँ आँखामा ती रङ्ग र रमाइलो दृश्य बन्द गरेर लिएर आउँछौँ घर नै जस्तै गरी ।
तर, ‘गार्डेन बाई द बे’ को टिकटको काम सकिएको थिएन त्यतिमा । एउटै टिकटमा यहाँको अर्को पाटो बाँकी नै थियो । सानो सिँगापुर पछिल्ला दिनमा पर्यटकको ठुलो गन्तव्य बन्नका लागि यसले गरेका विकासका कार्यको अर्को एउटा भाग हेर्नका लागि हामीले सात बजेसम्म पर्खिनु पर्ने भएकाले होटलतिर गुड्यौँ सुरुरु । एउटा मूल ठाउँको वरिपरि जता घुमे पनि नजिकै देखिन्थे सिँगापुरमा ठाउँहरू । तर, बाटाको एकतर्फी कानुनले ट्याक्सीमा अलि ढिलो पुगेजस्तो लाग्थ्यो हेर्दा त्यही देखिने ठाउँ पनि । जे होस् त्यसपछि हाम्रो थकाइले पनि विश्राम पायो केही मात्रामा । छ बजेपछि फेरि त्यही गार्डेनको एउटा पाटामा रहेको ठुला ठुला खजुरका रूखजस्ता आकारका खम्बामा खोलेको छाता जस्तो देखिने गरी सजिएका रङ्गबिरङ्गी बत्ती नाच्तै थिए, पालैपालो गरी । यस्तो बत्ती नाचेको मैले दुबईमा देखेकी थिएँ । दुबई मलको पानीको फोहोरा (फाउन्टेन) सँगै बत्ती र संसारकै अग्लो घरका बत्तीहरू नाचेका थिए त्यहाँ । त्यसैको सम्झना आयो एकपटक । सङ्गीतको धुनसँगै बत्ती मात्रै नाचेको त्यो ठाउँमा पानी त थिएन तर, धेरै खम्बामा कहिले हात समातेजस्तै गरी, कहिले पर पर पुगेर भेट्न आतुर भएका प्रेमिल जोडीजस्तै गरी नाचेका ती बत्तीले मन भुल्याइरहेको रहेछ क्यारे दिनभरि घामले तातेका ढुङ्गामा उत्तानो परेर मोबाइलका क्यामेराले भिडियो थाहै नपाई खिचिरहेका रहेछौँ । एकछिन त्यो नाचले विश्राम लिएका बेला उठेर मूल खम्बाको छैटौँ तलामा पुगेर रातमा धपक्क बलेको सिँगापुर सहरको दृश्य आँखा र क्यामेरामा खिचेर एकछिन रम्यौँ । त्यहाँबाट हेर्दै सिँगापुरको बत्तीको विशेष रमझममा एकछिन् सबैथोक बिर्सिन मन लाग्यो । तर, बिर्सिन कहाँ हुने रैछ र त्यो त निश्चित् समयमा बन्द पनि हुँदो रहेछ । ओर्लियौँ तल । खम्बाका बिच बिच तलामा सिधा सिधा हिँड्ने आकासे बाटाबाट पनि बत्तीको रोमाञ्चक नृत्य हेर्दै तल आई पुग्दा फेरि बत्ती नाच्ने क्रम बाँकी नै रहेछ । अब भने जानी जानी ढुङ्गामा उत्तानो परेर निर्धक्क बत्तीको नृत्यसँगै मनले प्रेम कथा कोर्न थालेछौँ । अत्यन्त रोमाञ्चकारी त्यो दुनियाले चार मन चार कथा मनभित्रै कुँद्न दिएपछि बत्ती पनि थाक्यो र नाच्न छोड्यो । हामीलाई पनि थकाइ लाग्दै थियो । तर, त्यसअगाडि नै मन आफ्नो देशको धनमा पुग्यो । हाम्रो जलस्रोतको धनी देश भएपनि हामीले न त पानीको न त बत्तीको रमाइलो देखाउन सकेका छौँ कसैलाई । हाम्रो बत्तीको चाड तिहारमा धित मर्ने गरी बत्ती बाल्न सकेका पनि छैनौँ भन्ने सोचले एकछिन बिरक्त्याउने काम गर्यो ।
अर्को दिनको भ्रमणमा परेको ‘युनिभर्सल स्टुडियो’ (Universal Studios) सिँगापुरको स्यान्टोसा टापु ( Santosa island) आफैमा मनोरञ्जनको अनगिन्ति विकल्प लिएर पर्यटकहरूलाई अँगाल्न हात फैलाइरहेको रहेछ । विश्वभरका पाँचओटा युनिभर्सल स्टुडियोमध्ये यो स्टुडियो त्यो क्षेत्रको पहिलो र विशाल स्टुडियो रहेछ । यहाँ पुग्दा हामीले अमेरिकामा रहेको ‘हलिउड’ (Hollywood) को जस्ता अनेक सिनेमाका अंशहरू भेट्यौँ । त्यहाँ चढेको डरलाग्दो रेल ‘रोलर कोस्टर (Rollar Coaster) को जीवन्त डरको अद्वितीय अनुभव बटुलेर हामी कहिले सिनेमाको सुटिङ हेर्न व्यस्त पनि भयौँ भने कहिले सामुद्रिक आँधी आउँदा कसरी सिनेमामा डरलाग्दो देखिन्छ भन्ने सत्य हेर्न व्यस्त भयौँ । तर, त्यो सिनेमाको साँच्चिकै सुटिङ थियो कि थिएन त्यो चाहिँ गोप्य मै राखौँ जस्तो लाग्यो है !
सिनेमामा देखाउने सफा, सुन्दर र चिटिक्क परेको सहरमा हराएका थियौँ, त्यो नहेरी छोड्न पनि मन लागिराखेको थिएन । मन लागोस् पनि कसरी हामीले त्यहाँ डाइनोसर पार्क, राता माटाका पर्वतबाट बगेका झरना, खै कति डी को हो छोटो सिनेमा सबै हेर्न भ्याएका थियौँ । साथमा एकछिन सिनेमाको हिरोइन नै पो भएका हौँ कि! भन्ने कल्पनामा डुबुल्की मार्न थालेका पनि थियौँ । फर्किने बारेमा सोच्ता त झण्डै चार बजिसकेको रैछ । अनि त्यसैको एउटा पाटामा रहेको समुद्री दुनियाँलाई अर्को दिन भेट्ने बाचा गर्दै त्यहाँ छेउमा देखेको भित्तालाई दुई पाङ्ग्राको बिचमा राखेर हिँड्ने सानो रेल लगायत स्यान्टोसा टापुभित्रका अनौँठा साना यातायात सित्तैमा चढेर समुद्रलाई कहिले परबाट हेर्दै, कहिले नजिकै गएर छुँदै हिँडेका थियौँ । ती दृश्यहरूले धेरै नेपालीले देखेका दुनियाँभन्दा फरक दुनियाँमा पुर्याएर हामीलाई लोभ्याउन प्रशस्तै काम गरिरहेका थिए ।
सिँगापुरको कथामा सिंह खोज्दै गयौँ अर्को दिन । पानी परेर हामीभित्रको अल्छीलाई अलिअलि जगाउँदै थियो । तर, अल्छी गरेर धर पाउँने थिएनौँ पनि । पुगेका ठाउँको नामको अर्थ खोज्ने दिन थियो त्यो । सिँगापुर नामसँग जोडिएको कथामा झण्डै १४औँ शताब्दीको घटना जोडिएको रहेछ । एकजना राजा सुमात्राबाट यात्रा गर्दै सिङ्गापुर टापुमा आएका थिए रे । उनले त्यहाँ सिंह देखेका थिए अरे । त्यो भ्रम थियो वा सत्य त्यो त पुष्टि भएन तर, त्यै उनको भ्रममा टेकेर उनैले त्यस ठाउँको नाम ‘सिँहपुर’ दिए भन्ने कथन पढेर हामी सिँगापुरको ‘मेरलायन’(Merlion) ठाउँ पुग्यौँ । ‘मेरलायन’को अर्थ ‘समुद्री सिँह’ हुन्छ भन्ने जानकारी सिँगापुरका ट्याक्सी ड्राइभरले दिए । उनका अनुसार समुद्रको त्यो सिँह, मत्स्यकन्यामा माछा र कन्याको आधा आधा रूप भएजस्तै, तलको भाग माछाको र माथिको आधा भाग सिँहको स्वरूपको हुन्छ अरे । समुद्री सिँहको कल्पना हाम्रा हिमालका कथामा भेटिने ‘यति’को कल्पनाजस्तो रहेछ । ‘मेरलायन’मा त्यो जनावरको काल्पनिक स्वरूपको आकृति सिमेन्टमा बनाएर शिव भगवानको जटाबाट पानी निस्किएजस्तै सिँहको मुखबाट पानी निक्लिएर समुद्रमा धाराजस्तै बगेको दृश्य अनौठो तर, हाम्रा धर्मशास्त्रको मिथकीय कल्पनाको जस्तो रमाइलो थियो । त्यस्तै यतिको सालिक वा शिवको जट्टाबाट गंगा बगिरहेको सालिक हामीले पर्यटकका लागि सजाइदिएका थियौँ भने हाम्रो मिथकीय कल्पना पनि त्यत्तिकै आकर्षक हुन्थ्यो होला भन्ने सोच पनि बटुलेका थियौँ त्यहाँ पुग्दा ।
त्यहाँबाट निस्किएर हामीलाई सानो भारत (Mini India) र चिनिया सहर (China Town) पनि त्यही दिन घुम्नु पर्यो, नत्र नभ्याइला भन्ने सोचले । चीनिया बजार चीनभन्दा कत्ति फरक थियो भन्ने थाह नपाएका हामीले सिँगापुरको चीन हेरेर चीन पुगेको अनुभव गर्यौँ । सानो भारतमा पुग्दा, दक्षिण भारतमा देखिने स्वरूपमा मन्दिरमा दर्शन गरेर, सुन बजार निहाल्न पुग्यौँ । अचम्मको लाग्यो त्यो सुन बजार । सुनका गहना नेपालका फुटपाथमा राखिएका मोजाको थुप्रोजस्तै गरी थुप्रो बनाएर राखिएका थिए पसलमा । साँच्चैका सुनै हुन् त ती भन्ने प्रश्नलाई अर्काका देशमा प्रस्फुटन हुन दिन पनि भएन । तर अचम्म भने लाग्यो । अनि अर्को अचम्म सुनको दाम त्यो बजारमा अरुतिरको दामभन्दा धेरै नै कम पनि थियो । हाम्रामा त जहाँ गए पनि बनाउने ज्याला र जर्ती भनेर काट्ने सुनको मात्राका कारण सुनका गहनाका दाम धेर थोर होलान् तर सुनको दाम त एउटै राखेको देखिन्छ । त्यसले पनि होला हामीलाई त्यहाँको सुनका गहना देख्ता ‘साँच्चैका हुन्?’ भन्ने लागेको पनि ।
बाहिर पानी परी नै राखेको थियो । धेरै पानी पर्दो रैछ, सिँगापुरमा क्यार; एकछिन पनि बिसिएन । होटलबाट निस्किएदेखि नै परेको पानीले निथ्रुक्क भएको थियो हाम्रो ज्यान । चौरको बिचबाट र बाटाको छेउबाट हिँडेका थियौँ हामी । तर, नेपालमा जस्तो हिलोको छिट्टा त त्यहाँ देखिएन । सेता जुत्तामा पानी पर्दा पनि हिलोले नछोए झैँ भिजेको ज्यानमा थकानले पनि एकरति छोएको थिएन । पसलमा पस्ता टिलिक्क पारिएका सफा सेता भुइँमा हाम्रो टेकाइले छाप छोड्ला कि भन्ने डरले टेकेका ठाउँलाई फर्केर पनि हेर्न भ्यायौँ तर, दाग भने भेटेनौँ नेपालमा जस्तो । पुरै भिजेर घुमाइ सँगै किनमेल पनि थपिएको त्यो दिन । तर, थकाइ भने होटल पुगेर पनि लाग्न भ्याएन । रातिको खाना पछि त्यही होटलको माथिल्लो तलामा रहेको पौडी पोखरी र त्यहाँबाट देखिएको धपक्क बलेको सिँगापुरले मनलाई थाक्न नदिई राखेका थिए ।
शिफाको रोजाइको होटल विशेष आरामदायी थियो । कोठाको पर्दा खोलेर बाहिर हेर्दा मनले थाक्न दिँदैन थियो । दिनभरि हामीलाई भुल्याउने दृश्यलाई त्यो पर्दाबाहिरको बत्तीले कुत्कुत्याउँदै थियो । त्यही कुत्कुत्याइले मलाई सिँगापुरको यात्रामा पहिल्यै पाइलामा पुगिएको बादलको जङ्गलका बारेमा जान्न मन लगायो । त्यो जङ्गल हेर्दा कतै लागेको थिएन कृतिम थियो भन्ने । तर, समुद्री तटमा माटो भरेर (Land reclamation) त्यो जमिन नै भरखरै (२००७-२०१२ ई) बिचमा कृतिम रूपले बनाइएको पो रैछ । अनि त्यसमा बनाइएको त्यो रमाइलो जङ्गल रैछ । जहाँ घुम्दा हाम्रो प्राकृतिक धन र उनीहरूको विकास गर्ने मनको तुलनामा मेरो दिमाग पुरै घुमिराखेको थियो । त्यो त पछिल्लो समयमा निर्माण भएको पो थियो भन्दा त्यसले मनमा झन उच्चता हासिल गर्यो ।
होटलका कर्मचारीसँग र केही गुगलसँग सोधेका र जानेका भरमा हेर्दा सिँगापुरको त्यो विकासको इतिहासमा ‘गार्डेन बाइ द बे’ मानवकलाको अद्वितीय उदाहरण थियो । संसारकै सफा, सुन्दर र विकसित देशहरूमा गनिने सिँगापुर सायद अन्य विकसित मुलुकभन्दा धेरै पछि (सन १९६५) मात्र स्वतन्त्र राज्य भएर विकास हुन थालेको इतिहासमा पाइन्छ । इन्डोनेसियाको सुमात्रा र मालदिप्सको व्यापार मार्गमा पर्नाले सिँगापुर व्यापारिक महत्वको स्थान होला! पछि बाहिररबाटै आएका सुल्तानहरूले व्यापारसँगै धार्मिक कार्यमा पनि सिँगापुरको प्रयोग गरेन। १६/१७ औँ शताब्दीमा डच र पोर्चुगिजहरू त्यहाँ पुगेछन् । १८औँ शताब्दीतिर इस्ट इन्डिया कम्पनीको व्यापारिक चौकीको रूपमा प्रयोग गर्दै बेलायतीले उपनिवेश बनाएको इतिहासमा भेटिँदो रैछ । विश्वमै कहिले धार्मिक र कहिले राजनीतिक चलखेलमा परेको सिँगापुरमा त्यतिबेला नै चिनियाँ, मलाय र युरोपेली मिलेर मिलित समाजको स्थापना भएको देखिन्छ । दोस्रो विश्वयुद्धको समयामा जापानको कब्जामा रहेको सिँगापुर सन १९६३ स्वैच्छिक रूपमा मलेसियासँग मिल्ने निर्णय गर्यो । तर, जातीय समस्याका कारण दुईवर्ष अर्थात् सन १९६५ मा मात्र सिँगापुर राज्यका रूपमा स्थापित हुन पुग्यो । अर्थात् अहिलेभन्दा करिब ६० वर्षअघि मात्र सिँगापुरले विश्व मानचित्रमा एउटा स्वतन्त्र देशका रूपमा स्थान पाएको रैछ । कति गर्वलाग्दो हो यस्तो छोटो इतिहासप्रति पनि त्यहाँका जनतालाई! कति योग्य हुन् त्यहाँका राजनीतिकर्मीहरू जसले देशको विकासलाई सर्वोपरि ठानेर धार्मिक विविधताभित्रको एकता र जातीय विभिदताप्रतिको एकताको त्यो इतिहास रचे । यसले त हामी सुन्नेलाई पनि घचघच्यायो एकपटक ।
जलस्रोतको धनी, जसका बाटाबाट बिजुली सजिलै बनाउन सकिने देश, नेपालको धन भनेर मानिएका तराई, चुरे र पहाडका अनेक किसिमका जङ्गलहरू, कतिब ६८ प्रतिशत पहाडी भूभाग र १७ प्रतिशतजति हिमाली भूभागमा संसारका दशमध्येको आठओटा विशाल हिमाल बोकेको, इतिहासमा कहिल्यै अर्काको अधीनमा नरहेको अनि कहिल्यै धार्मिक र जातीय झगडा नभएको प्राकृतिक सुन्दरताले पूर्ण नेपाललाई सिँगापुर बनाउँछौँ भन्ने नेताले मात्र भोटका लागि यहाँको जातीय एकता तोडेर तहस नहस बनाएको र धार्मिक रूपमा कहिले झगडा नगर्ने नेपालीलाई झगडा गर्ने बनाएको देख्ता नेपालीहरूको मनलाई छिया छिया नबनाओस् कसरी । अझ सिँगापुरको राष्ट्रभाषाका बारेमा सोधिखोजी गर्दा त झनै नेपाली मन रून मात्र सकेन, सिँगापुरमा राष्ट्रभाषाका रूपमा मलाय, सिँगापुरी अङ्ग्रेजी अनि मन्दारिन तिनै ओटा भाषा परिभाषित गरिएको जानकारी पाइयो । अनि भाषिक विविधतालाई एकवद्ध बनाउने सिँगापुरजस्तो राज्यको उदाहरण दिएर अनेक रूपमा एकवद्ध रहेको नेपाललाई टुक्रयाएको वास्तविकता देखेका नेपाली मनले तुरुक्क आँसु मात्र बगाउन सकेन ।