लामै सायदेखि नाम सुन्दै आएको भए पनि भौतिक रूपमा भवानीप्रसाद पोखरेलसँगको मेरो भेटघाट भने केही सालअघि मात्र भएको हो । विशेष गरेर नवराज पोखरेल ‘नवशिला’ मार्फत् मैले उनलाई राम्ररी चिन्ने अवसर पाएँ । त्यसपछि हाम्रो नियमित रूपमा भेटघाट हुँदै आएको छ । आज म उनीद्वारा लेखिएको ‘प्रयुसी’ बालकवितासङ्ग्रहका बारेमा छोटो समीक्षा लेख्तै छु । यसलाई समीक्ष नभनी पाठकीय प्रतिक्रिया भनेर बुझ्दा पनि फरक नपर्ने मेरो ठम्याइ रहेको छ ।
२०१५ साल चैत १० गते शनिवार साबिकको खार्पा, खोटाङ, (हालको रावाबेँसी, गाउँपालिका –२), खोटाङमा पिता ईश्वरीप्रसाद पोखरेल र माता सावित्रादेवी पोखरेलका पहिलो सन्तानका रूपमा भवानीप्रसाद पोखरेलको जन्म भएको हो । विराटनगर –१०, ब्रह्मकुमारी मार्ग, मोरङमा स्थायी बसोबास रहेका उनी २०४० सालमा इनरुवा, सुनसरी निवासी पिता केदारप्रसाद बराल र माता तुलसादेवीका माहिली छोरी शिला बरालसँग विवाह बन्धनमा बाधिएका हुन् । उनीहरूका रुजा पोखरेल र डा. प्रयन पोखरेल नाम गरेका दुई सन्तान रहेका छन् । त्रिविबाट एम.ए र पूर्वाञ्चल विश्वविद्यालयबाट एम.एड् सम्मको शिक्षा लिएका उनी निजामती सेवाबाट अधकृत पदबाट स्वेच्छिक अवकाश लिएर साहित्य लेखनमा सक्रिय रहँदै आएका व्यक्ति हुन् ।
इनरुवा सुनसरीबाट प्रकाशित हुने ‘समचार जगत्’ साप्ताहिकमा ‘मेरो भाइ पनि पङ्स भएछ’ शीर्षकको कविता प्रकाशित गरेर नेपाली साहित्यमा प्रवेश गरेका उनी कविताका अतिरिक्त, कथा, निबन्ध, समीक्षा तथा बालसाहित्यमाकलम चलाउँछन् । उनका नै दोषी को ? (कथासङ्ग्रह – २०५४), लोडसेडिङ (कवितासङ्ग्रह–२०७३), स्वर्गद्वारी (कवितासङ्ग्रह –२०७५), सपना (कवितासङ्ग्रह –२०७६), होमियोप्याथिक (एक झलक – २०७७), हिमाल (कवितासङ्ग्रह –२०७८), साहित्यका फूलहरू (समीक्षासङ्ग्रह –२०७९), भवानी पोखरेलका कथा र अनुभूति (२०८१) र प्रयुसी (बालकवितासङ्ग्रह –२०८१) गरी १० ओटा विभिन्न विधाका साहित्यिक कृति प्रकाशित भइसकेका छन् । यसका अतिरिक्त उनका फुटकर रूपमा रचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् ।
२०६६ सालमा नेपाल सरकारको निजामति सेवाबाट स्वेक्षिक अवकाश लिएर साहित्य लेखनमा रमाउँदै आएका भवानीप्रसाद पोखरेलले पछिल्लो समय आफूलाई मूलतः समीक्षकका रूपमा प्रस्तुत गर्दै आएका छन् । डा. नरेन्द्र चापागाई स्मृति प्रतिष्ठान, विराट साहित्य सङ्गम, सुनसरी वाचनालय इनरुवा, प्रलेस नेपाललगायतका विभिन्न साहित्यिक सङ्घसंस्थामा संलग्न रहँदै आएका उनी निरन्तर रूपमा लेखि रहनेमध्येमा पर्दछन् ।
प्रयुसी कवितासङ्ग्रहको विवेचना
‘प्रयुसी’ भवानीप्रसाद पोखरेलद्वारा लेखिएको बालसाहित्यिक कृति हो । विराट साहित्य सङ्गम प्रकाशक रहेको यस कृतिमा प्रा.डा. हरिहर भण्डारीको विशेष भूमिका रहेको छ । प्रकाशकीयका तर्फबाट विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल र लेखकका तर्फबाट लेखकीय मन्तत्व आदि आएका छन् । जसले लेखकको कवित्वको बारेमा जान्न सजिलो भएको छ ।
२०८२ साल वैशाखमा प्रकाशित यस सङ्ग्रहभित्र विभिन्न भावका छोटा लामा गरेर ४८ ओटा कविता रहेका छन् । यो उनको दसौँ साहित्यिक कृतिका रूपमा बाहिर आएको छ । कवि, कथाकार तथा समीक्षकको परिचय बनाइसकेका उनी यस कृतिमार्फत बालसाहित्यकारका रूपमा पनि उपस्थित भएका छन् ।
पछिल्लो समय धेरै पढिने विधाका रूपमा विकास भएको पाइन्छ । बालसाहित्यले बालबालिकालाई पठन संस्कृतिको विकास गर्न मद्दत गर्दछ । उनीहरूलाई बाल साहित्यिक सिर्जनामार्फत पठनमा प्रवशे गराउन सकिने प्रशस्त आधारहरू रहेका छन् । त्यही भएर पनि बालसाहित्यको महत्त्व बढ्न गएको हो ।
भवानीप्रसाद पोखरेलका सिर्जनामा विषयवस्तुको विविधता पाइन्छ जुन कुरा यस कृतिमा समावेश भएका कविताका शीर्षक हेर्दा प्रस्ट हुन आउँछ । आफूले अनुभूत गरेका वा आफूवरिपरि रहेका कुरालाई विषयवस्तु बनाउनु लेखकको धर्म नै हो । हो, यही धर्म निभाउन उनी सफल देखिएका छन् । हरेक विषयलाई टपक्क टिपेर सिर्जना गर्नु उनको विशेषता रहेको पाइन्छ । यस सङ्ग्रहभित्रका कवितालाई बाल र्सिजना र बालबालिकाका लागि लेखिएका सिर्जना गरेर दुई भागमा विभाजन गरेर हेर्नुपर्ने हुन्छ ।
यस सङ्ग्रहभित्रका कविताहरू प्राय उपदेश तथा नैतिक शिक्षा दिने खालका छन् । केही उपदेशात्मक त केही बालबालिकालाई अनुशासनको पालना गरी अघि बढ्न आग्रह गरिएका कविता पनि छन् । त्यसो त बालबालिकालाई आफ्नो भाषा संस्कृतिको रक्षा गर्न आग्रह गरिएका, प्रकृतिको चित्रण तथा देशप्रेममा आधारित रचना पनि रहेका छन् । सारमा भन्दा यस सङ्ग्रहमा समावेस भएका रचनाहरू बालबालिका लागि उपयोगी छन् । यसमा विविध कुराको जानकारी पाइन्छ । बालबालिकाकालाई अभिप्रेणा जगाउने खालका छन् ।
आफ्ना सिर्जनामा सरलताले अँगाल्नु उनको निजित्व रहेको छ । यो उनको मौलिकता हो । कतिपय सन्दर्भमा कसको रचना भनेर छुट्ट्याउन कठिन हुन्छ । तर भवानीप्रसाद पोखरेललाई सहजै चिनिन्छ ।
यसमा समावेस रचनाहरू बालबालिकाको उमेरलाई ख्याल गरेर लेखिएको पाइन्छ । बालबालिकालाई खुराक हुने खालका कविता रहेका छन् । केही कवितालाई बालबालिकालाई केन्द्रमा राखेर लेखिएका छन् केही कविता भने बालबालिका लक्षित गरेर लेखिएका छन् । धेरैजसो बालबालिकालाई मन पर्ने विषयमा कविता लेखेका छन् । यसमा देशप्रेम जागृत गराउने खालका कविता रहेका छन् । विभेदका विरुद्धका केही कविता रहेका छन् । भाषाशैली र शब्दको प्रयोगले बालबालिकाका लागि बोधगम्भ बन्न पुगेको छ । पापा, माम, हाम्म जस्ता शब्दको प्रयोग गरिएका छन् ।
यसमा आएका पँधेरो, अँगेनो, खोलेजस्ता शब्दले बालबालिकालाई पुराना कुराको जानकारी दिने काम गरेको छ । किनकि यस्तो कुराको जानकारी हराउँदै गएका छन् । सिर्जनामार्फत भए पनि यस्ता कुराको जानकारी दिन खोजनु लेखकको उद्देशय रहेको देखिन्छ । यो लेखकको निजत्व पनि हो । यो नै उनको शक्ति पनि हो ।
केही कविता र केही श्लोकमा बोकेका छन् । झ्याउरे लयमा, लोकलयमा लेखिएका । उनका कवितामा गेयत्कमता पाइन्छ ।
कविता राम्रा हुँदाहुादै पनि केही असावधानीका कारण केही कमजोरी भने अवश्य नै रहेका छन् । यसलाई बालबालिकामलाई पढ्न सहज हुने खालको बनाउन सकिने अवस्था थियो । त्यस्तै आवरणमा वास्तविक तस्बिरका ठाउँमा कलात्मक तस्बिर राखेको भए बेस हुने थियो । कृतिभित्रको लामो भूमिकाले यो कृति बालबालिकाका लागि नभएर बालबालिकाका विषयमा पाकाले लेखेको कृति बन्न पुगेको छ । पहिलो कुरा त बाल साहित्यिक कृतिमा यसरी भूमिका लेखाउन जरुरत नै ठानिन्न । लेखिगए पनि सरल तथा सटिक हुन आवश्यक छ । किनकि बालबालिकाले यति गहन कुरा कुरा बुझ्नै सक्तैनन वा बुझ्ने उमेर नै भएको हुँदैन । यस कुरामा लेखक तथा भूमिका लेख्ने दुवै जना चुकेको देखिन्छ ।
भवानीप्रसाद पोखरेललाई सारमा चिन्दा उनी एक जना साहित्यलाई माया गर्ने असल स्रष्टा हुन् । उनी निकै मेहनती छन् । केही न केही लेखिरहन्छन् । निरन्तर रूपमा साहित्य साधानामा लागिरहेका हुनाले उनीबाट अझै साहित्यमा थप कृतिको आशा गर्न सकिन्छ । स्रष्टा पोखरेलको थप साहित्यिक उन्नयनको कामना गर्दछु । जय साहित्य ।