19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डा० गोकुल सिन्हाकृत “ज्ञ-देखि अ-सम्म”

कृति/समीक्षा राजु “हिमांशु” August 14, 2025, 2:26 pm
राजु “हिमांशु”
राजु “हिमांशु”

प्रारम्भ
डा० गोकुल सिन्हाको जन्म १५ डिसेम्बर १९४० मा महारानी चिया कमान,टुङ,दार्जीलिङमा भएको हो । पिता कर्णबहादुर अनि माता लच्छिमी खड्काका पुत्रका रूपमा जन्मिएका डा॰ सिन्हाले एम॰ ए॰,पीएच॰डी गरेका छन्। भाषा-साहित्य सम्बन्धी अगणित लेखहरू लेखिसकेका तथा पवित्र कुरान,चालीस हदिस,गालिब,चीरकुमार सभा,बहाई घर,नयाँ नियम,पुरानो नियम,भगवद्गीता आदिका नेपालीमा अनुवाद गरिसकेका डा॰ सिन्हाले अङ्ग्रेज़ी भाषामा पनि A Treatise on Nepali Language, A Critical Inventory of the Ramayana Studies in the World(vol. I & II),Master pieces of Indian Literature,(Nepali stories),Role of the Gorkhas in making of Modern India, A Lexicon of Linguistic and Literary Terms, Medieval Indian literature प्रभृति पुस्तकहरू लेखिसकेका छन् साथै भानुभक्तीय रामायणलाई अङ्ग्रेजीमा अनुवाद पनि गरेका छन् । भाषा-साहित्यबारे धेरै कलम चलाइसकेका डा॰ सिन्हाको भाषा विषयक पुस्तक “ भाषा भारती” सन् २०२१ मा छापियो । “अङ्ककोष”(सङ्ख्यावाची शब्दावली) सन् २०२१ मा देखा पर्यो । उनको “भाषा भारती” जस्तै भाषा र व्याकरणसम्बन्धी अर्को कृति छ “भाषा भास्कर”।अठारवटा भाषा-व्याकरण सम्बन्धी लेखहरू सङ्गृहीत महत्त्वपूर्ण,भाषाज्ञानप्रद, पठनीय र सङ्ग्राह्य छ “भाषा भास्कर”।मई २०२५ मा उनको “देवनागरी लिपि तथा नेपाली वर्ण र वर्तनी” शीर्षकयुक्त पुस्तिका पनि प्रकाशित भएर विमोचित भइसकेको छ । एउटा भूमिका सङ्ग्रह प्रकाशोन्मुख रहेको छ । कुशल अनुवादक तथा कथाकारका रूपमा पनि उनी सुचर्चित छन् । सन् २०१९ मा प्रकाशित “वसुदैव कुटुम्बकम्” उनको कथा सङ्ग्रह हो ;जुन सङ्ग्रहभित्र विविध समयमा लिखित उनका एघारवटा कथाहरू सङ्गृहीत पाइन्छन् । यी कथाका पठनबाट डा० सिन्हा एकजना कुशल कथाकार पनि रहेछन् भनी स्पष्ट हुँदछ । यस पुस्तकको “कथा कथन”-मा उनी लेख्छन् –“भाषा,व्याकरण,अनुवाद अङ्ग्रेजी जस्ता तथाकथित असाहित्यिक लेखनहरूलाई केही दिन पर सारेर साहित्यिक कृति(कथा,कविता,नाटक,निबन्ध आदि)पुस्तकाकारमा छाप्ने आग्रह र उत्साह आत्मीयजन र हितैषी मित्रहरूबाट बारम्बार पाइरहिएको भएता पनि छापिएका पत्र-पत्रिकाहरूका अप्राप्तिले सो हुन सकिरहेको थिएन अनि अझै पनि हुन सकेको छैन भन्नु पर्छ कारण सबै कथाहरू यहाँ पर्न पाएका छैनन्। .....कथा,कविताहरू लेख्न गत सन् सन्ताउन्नदेखि नै थालिएको भएता पनि शुरू शुरूमा लेखिएका कथाहरूको एउटा सङ्ग्रह बनारसमा प्रकाश धवनको प्रेसमा हरायो। ....साठीको दशकका केही अघिका र केही पछिका दीयो र दीपक,आमा र जनदुत,देवराली र सैनिक समाचार जस्तामा ती कथाहरू प्रकाशित होलान्। त्यसपछि लेखिएका कथाहरूमा पनि ,सम्झिएसम्म धुवाँ–मा प्रकाशित नलेख्नु पर्ने कुराहरू,
झिल्का-मा प्रकाशित एउटा धुपीको रूख र सम्झनामा पनि आउन नसकेको कुन पत्रिकामा प्रकाशित कोलाज यस सङ्ग्रहमा पर्नुपर्थ्यो,पर्न पाएनन्,पत्रिकाकै अप्राप्तिले।”

सन् १९५७ देखि कथा लेख्न थालेका रहेछन् डा० सिन्हाले । तर पुस्तकको पाण्डुलिपि प्रेसमा हराएपछि पुस्तकाकारमा देख्न पाएनौँ हामीले उनका प्रारम्भिककालीन कथाहरू एउटा सङ्ग्रहका रूपमा । पत्र-पत्रिकातिर छरिएका कथाहरू सबै अटाएनन् “वसुदैव कुटुम्बकम्” मा पनि पत्रिकाको अप्राप्तिले र अहिलेका कथा पाठकहरूले पढ्न पाएनन् ती कथाहरू । “वसुदैव कुटुम्बकम्” –भित्रका एघारवटा कथाहरूले उनका कथा लेखनशैली,सीप र भाषालाई राम्ररी दर्साएका छन् ।

डा॰ गोकुल सिन्हा एकजना प्रखर भाषाविद् पनि हुन् । उनी भाषिक एकरूपता हुनुपर्ने ठान्छन्। समस्याहरू पनि देखाउँछन्। उनी त्यही होइन तेही,अहिले होइन ऐले,त्यस होइन तेस,यता होइन एता,त्यति होइन तेति,रोयो होइन रुयो आदि लेख्न मन पराउँछन्। उनी भन्छन्-“प्रकारान्तले रूपभेद ल्याई बहुरूपता ल्याउन जतिको उकालो पर्छ,लेख्य भाषामा एकरूपता ल्याउन उत्तिकै सजिलो पर्छ.....हाम्रा केही उकारान्ते धातुलाई पनि हिन्दीले प्रभावित गरेको छ। रू,धु,छु शुद्ध नेपाली धातु हुन्। रूनु,धुनु,छुनु हामी भन्दैछौँ। हिन्दी धातु हुन् रो,धो,छो-रोना,धोना,छोना। हिन्दीकै अनुकरण गरी हामी पनि भन्न मात्र होइन लेख्नै थाल्यौँ –रोयो,धोयो,छोयो। के अनर्थ होला आफ्नै धातुलाई चलाई नानी रूयो,लुगा धुयो,आकाश छुयो

भन्दा ! अब अरूलाई विशेष अनेपालीहरूलाई रोएको आँसु,धोएको रूमाल,छोएको पानी भनेर नसिकाऊँ,नपढ़ाऊँ कि ! यो एउटा प्रस्तावना हो,एउटा भाषिकी हो तर निर्देशन होइन,व्याकरण होइन। ”
(हेर्नू –प्रथा,अङ्क ५ वर्ष ३ -२००७)।

यसरी डा॰ सिन्हा लेखाइमा नेपालीपन ल्याउने पक्षमा देखिन्छन् र प्रस्तावना राख्छन्। उनको प्रस्तावना स्वागतयोग्य देखिन्छ तर उनी भाषा र व्याकरणका कुरा पनि गर्छन्,व्याकरण होइन पनि भन्छन्। व्याकरणगत छैन भने प्रयोगरत हुने कसरी? प्रश्न स्वत: उम्रन्छ। प्रकाण्ड भाषाविद् हुनाले पनि उनीभित्र विशाल भाषिक सत्ता विद्यमान छ । व्याकरणविद्,गम्भीर अध्येता अनि शोधार्थी हुनाले पनि उनीबाटै भारतीय नेपाली भाषागत उच्चताको मुहार चियाउन सकिन्छ। उनीजस्ता प्रकाण्ड विद्वान् –कृत समीक्षात्मक लेखहरूको सँगालोबारे केही लेख्नु भनेको सगरका तारा गन्न खोजेजस्तै होला। यद्यपि यहाँ आफ्नो पाठकीय दृष्टि पस्केको छु। अब त्यतातिर उन्मुख हुन्छु ।

विषय प्रवेश
सन् २०२१ मा पाइन्स प्रकाशन,रङबुल,दार्जीलिङद्वारा प्रकाशित समीक्षाहरूको सङ्कलनको नाम हो “ज्ञ-देखि अ-सम्म”। यस पुस्तकका लेखक हुन् डा० गोकुल सिन्हा । मूलत: भाषाविद्, तथा शोधार्थीका रूपमा चिनिएका डा० सिन्हालाई यस पुस्तकले एकजना प्रखर समीक्षकका रूपमा पनि उभ्याएको छ । “ज्ञ-देखि अ-सम्म” पुस्तक अठारवटा लेखहरूको सङ्ग्रह हो।यस पुस्तकबारे डा॰सिन्हा लेख्छन्- “श्रद्धातिरेक सङ्कलित यी लेखहरूलाई समीक्षाको उपनाम दिएको छु। नाम काढ़िनँ।आलोचना,समालोचना,अध्ययन,
आस्वादन अरू के के जस्ता यी हल्का-फुल्का समीक्षणहरू तत्तत् समय सापेक्ष छन्। र समयको अन्तरालले लेखाइ र बुझाइमा ल्याएको अन्तर भने केही फराकिलो होला। थप्ने सुधार्ने काम प्राय: भएको छैन भन्दा हुन्छ,तर्कुल्ले र बर्धन्ने मिलाइएका छन्, तेति हो। लेखादि पुरानै छन्। दुइ चार शीर्षकमा अलिकति नयाँपन ल्याइएका छन्।”
उक्त पुस्तकको विषय सूचीअनुसार लेखहरू निम्न प्रकारका छन् ।
१. ज्ञानदिल दास -यम गीता (भित्री पातोमा ‘यम गीतासार’ भएको देखिन्छ )
२. गंगाप्रसाद प्रधान - पाद्री गङ्गाप्रसाद प्रधानको लेखाइ
३. दिलुसिंह राई -नेपाली निर्वाचनका प्रथम पुरुष
४. पारसमणि प्रधान -पारसमणि
५. रूपनारायण सिंह -राजनीतिक रूपनारायण
६. अच्छा राई ‘रसिक’ -‘रसिक’को राजनैतिक प्रतिबद्धता
७. अगमसिंह गिरि -विद्रोही कविको क्रान्तिभूमि
८. देवप्रकाश राई --रोमाण्टिक कथाकार:देवप्रकाश
९. रामकृष्ण शर्मा -परिचेय रामकृष्ण
१०. शिवकुमार राई -‘फ्रण्टियर’का सिपाही शिवकुमार
११. बद्रीनारायण प्रधान -मालती उर्फ मौली
१२. इन्द्रबहादुर राई -लीलालेखन : एक आद्यस्वरूपीय प्रयुक्ति
१३. भाइचन्द प्रधान -भानुको प्रथम किरण कालेबुङमा
१४. लक्खीदेवी सुन्दास -‘अहल्या’को पौराणिक प्रसङ्ग
१५. कुमार प्रधान -नेपाली जातीय इतिवृत्तमा ड॰ कुमार
१६. राजनारायण प्रधान -राजको डायरी
१७. रामलाल अधिकारी -निबन्धकारी अधिकारी
१८. असित राई -साहित्य,साहित्यकार र असित राई
समीक्षात्मक लेखहरूको यस सँगालोको शुरुआत ‘ज्ञ’-बाट अर्थात् ज्ञानदिल दास र उनको “यम गीता”-बारे लेखिएको लेखबाट भएको छ अनि अन्त चाहिँ ‘अ’ अर्थात् असीत राईकृत कृतिबाट गरिएको छ । अदेखि ज्ञसम्म गर्दा भाषिक लाग्नाले नै केही साहित्यिक लागोस् भनी ज्ञदेखि असम्म लेखहरू राखेका कुरा डा.सिन्हा ‘औपचारिकता केही’-मा लेख्छन् । अझ थप्छन् उनी-“...सङ्कलनमा दार्जिलिङे साहित्यकारहरू मात्र लिने हुँदा क्रम पनि तेस्तै परयो । दार्जिलिङे भेकमा ज्येष्ठ लेखक ज्ञानदिल दास हुन् अनि यस प्रयोजनमा अन्तिम असित राई हुन पुगे।”

तर ‘ज्ञ’-देखि ‘अ’-सम्म क्रमागत रूपमा भने छैनन् लेखहरू अर्थात् ‘ज्ञ’-पछि वर्णअनुसार शबाट शिवकुमार राई, लबाट लक्खीदेवी सुन्दास,रबाट रामकृष्ण,राजनारायण,रामलाल आदि आदि हुँदै अन्तमा ‘अ’ आउनुपर्ने तर त्यस्तो पनि पाइन्न । ‘ज्ञ’-पछि ‘ग’ अर्थात् ग गंगाप्रसाद प्रधान,दिलूसिंह राईबारे लेखहरू आएका छन्। यी कुरा विषय सूचीबाट पनि स्पष्ट हुँदछ। यद्यपि ज्येष्ठ लेखक ज्ञानदिल दासबाट शुरु भएर असीत राईबाट इतिश्री भएको पाइन्छ । स्वरवर्ण ‘अ’-बाट शुरु हुने अच्छा राई ‘रसिक’ र अगमसिंह गिरीभन्दा असित राई कान्छो पर्छन्। तर जन्मतिथिअनुसार शिवकुमार राई(सन् १९१९) अच्छा राई ‘रसिक’(सन् १९२८), अगमसिंह गिरी(सन् १९२७), रामकृष्ण शर्मा(सन् १९२२), भन्दा ज्येष्ठ पर्छन् तर लेखहरूको रखाइमा शिवकुमार राई रामकृष्ण शर्मा, अगमसिंह गिरी र अच्छा राई ‘रसिक’ भन्दा कान्छो परेका छन्। रामकृष्ण शर्मा पनि पछि परेका छन् । त्यसरी नै असीत राई(सन् १९४०) भन्दा रामलाल अधिकारी(सन् १९४१) कान्छो पर्छन् ।तर असीत राईलाई अन्तमा राखिएको छ । यसैले लेखहरूको क्रम जन्मतिथिअनुसार पनि राखिएको पाइन्न। अत: ज्ञदेखि असम्म उल्टो नै भए पनि भाषिक रूपमा शीर्षक देखिएपछि वर्णअनुसार नै क्रमागत रूपमा लेखहरू राखिएको भए उत्तम हुन्थ्यो कि जस्तो यस पङ्क्तिकारलाई लागेको मात्र हो। समीक्षात्मक लेखहरूको सँगालोको शीर्षक नै नौलो र भाषिक लाग्यो।तर भित्री रूप भने साहित्यिक नै पाइन्छ ।

सङ्ग्रहमा समावेशित लेखहरूको सङ्क्षिप्त विश्लेषण
१. ज्ञानदिल दास : यम गीतासार :-

प्रस्तुत सङ्ग्रहको पहिलो लेख हो यो । ज्ञानदिल दास ज्येष्ठ लेखक हुनाको नाताले उनको ‘यम गीता’-बारे लेखिएको समीक्षात्मक लेखबाटै श्रीगणेश हुन्छ “ज्ञ-देखि अ-सम्म” पुस्तक । उदय लहरी,टुङना भजन,झ्याउरे भजन जस्ता विशुद्ध साहित्यिक रचनाहरूका सर्जक ज्ञानदिल दासकृत गद्य रचना ‘यम गीता’ विषयक यस लेखमा यम गीताको सार स्पष्ट र सहज भाषामा उल्लेख गरिएको पाइन्छ।

डा॰ सिन्हा लेख्छन्-“इलाम,नेपालमा जन्म लिई आफ्नो जीवनको प्राय: पचपन्न वर्षजति नेपालमा बिताएर अन्तिम छ सात वर्ष दार्जिलिङ, सिक्किममा बिताउने सन्तको शोध सन्धान नेपालबाटै हुनु पर्ने हो। भयो। उनका पछिल्ला वर्षहरूका कर्म कृतिहरूबारे खोजतलास गर्ने काम चाहिँ यताबाट हुनु पर्ने हो जुन त्यति सन्तोषजनक रूपमा हुन सकेको छैन। यस दिशामा लागिपर्ने विद्वान्-हरूमा सिक्किमवासी वत्स गोपालको नाउँ लिनुपर्छ। उहाँले गेलिङ धामबाट ज्ञानदिल दास रचित गद्य रचना ‘यम गीता’ र एउटा नेपाली भजन प्राप्त गर्नु भएको छ। यसलाई पनि एउटा महत्वपूर्ण उपलब्धि मान्नु पर्छ।”

‘यम गीता’ विषयक लेखभित्र ज्ञानदिल दासबारे ऐतिहासिक तथ्यहरू पनि पस्किएका पाउँछौँ। ज्ञानदिल दास नेपालबाट सन् १८७६ तिर दार्जिलिङ जिल्लाको रङबुल बस्तीमा आई बसेका थिए। यही बसेर उनले ‘उदय लहरी’ नामक काव्य लेखे। ज्ञानदिल दास धोत्रे कमानमा पनि बसेका थिएछन् ।धोत्रेबाट रङबुल आएछन् । रङबुलबाट सिङला,जोरथाङ भएर गेलिङ पुगेछन्। गेलिङ धाममा बसेर उनले ‘जेम गीता’ लेखेछन् । यी तथ्यहरू युक्त छन् उक्त लेख।

यस लेखमा गीताबारे डा॰ सिन्हा स्पष्ट पार्छन्-“गीता शब्द मिथक बनेको छ र यसको थुप्रै विनिर्माण भएको छ। महाभारतमा उल्लिखित भगवद्गीता कृष्णार्जुन सम्वाद नै यसको स्रोत शास्त्र हो। बाल्मीकीय रामायणको अनेकन सम्प्रदायिक विनिर्मिती भए अनुरूप भगवद्गीताको पनि थुप्रै विनिर्माण भएको देखिन्छ । जस्तै रामगीता,अर्जुन गीता,पाण्डव गीता, तत्त्व गीता,गर्भ गीता,अनु गीता,अजय गीता आदि आदि। अनि थप छ,जेम गीता अर्थात् यम गीता।”

यमराजले दूतहरूलाई मनुष्य लोकमा गई त्यहाँका पापीहरूलाई ल्याएर नर्कमा हाल्ने र धर्मीहरूलाई चाहिँ छोड़िराख्ने आज्ञा दिँदा दूतहरूले कस्ता पापीहरू छन्,हामीलाई बताउनुहोस् भन्दा यमराजले जवाबमा धर्मी र पापीबारे भनेका तथा दूतहरूले पुन: सोधेका प्रश्नहरूका उत्तरहरू दिएका छन्। धर्मी र पापिष्ठ मनुष्यहरू विषयक दूतहरूका प्रश्नहरू र यमराजका उत्तरहरूयुक्त ‘यम गीता’बाट सन्त ज्ञानदिल दासले मनुष्यले गरेका नराम्रा तथा गर्नुपर्ने राम्रा थोकहरूको मिठो हवाला पस्किएका रहेछन् अनि यी कुरालाई समीक्षक डा॰ सिन्हाले पनि मिठो र सहज भाषामा स्पष्ट सार प्रस्तुत गर्दै ज्ञानदिल दास र यम गीताबारे उज्जर विवेचना गरेका छन्। सन्तमात्र होइनन् तर सर्जक ज्ञानदिल दासबारे लेखिएको यो लेख सूचनाप्रदसँगै शिक्षाप्रद पनि साबित भएको छ भन्नुपर्छ।

२. गंगाप्रसाद प्रधान : पाद्री गङ्गाप्रसाद प्रधानको लेखाइ :-
सङ्ग्रहको दोस्रो यस लेखमा पाद्री गंगाप्रसाद प्रधान र उनको भाषाबारे परिचर्चा पेस गरिएको छ। ज्ञानदिल दास, गंगाप्रसाद प्रधान र दिलुसिंह राईलाई दार्जीलिङका लागि ऐतिहासिक पुरुष ठान्छन् डा॰ सिन्हा। यस लेखमा ऐतिहासिक पुरुष पाद्री गंगाप्रसाद प्रधानका भाषा र लेखाइबारे छर्लङ्ग पारिएको छ। उक्त लेखमा पण्डित दिलुसिंह राई र गंगाप्रसाद प्रधान दुई समकालीन भाषा सचेतकका भाषा प्रयोगबारे पनि राम्ररी सुचर्चा गरिएको पाइन्छ। गंगाप्रसाद प्रधानका शैक्षिक र साहित्यिक देनहरूबारे पनि यस लेखमा प्रकाश पारिएको पाइन्छ। गोर्खे खबर कागत्-लाई बत्तीस वर्षसम्म चलाउने, अथक परिश्रम गरेर बनाएका धर्म पोस्ताक,नेपाली उखानको पोस्तक,असी वर्षको आत्मकथा अनि पच्चीसभन्दा अधिक गद्य-पद्य कृतिहरूका सर्जक प्रधानबारे डा॰ सिन्हाले मिठो र सरल भाषामा जानकारी दिएका छन् ।

डा॰ सिन्हा लेख्छन्-“उन्नाइसौँ शताब्दीको अन्तिम चरण र बीसौँ शताब्दीको प्रथम चरणतिर दार्जिलिङमा नेपाली भाषाको कुन रूप थियो त्यो पाद्री गङ्गाप्रसाद प्रधानको भाषाले बुझाउँछ। गङ्गाप्रसाद प्रधानले प्रशस्त लेखे तर उनले साहित्य लेखेनन् वा भनौँ साहित्य छाँटेनन्। उनले जे जति लेखे भाषा लेखे, हाम्रो बोली लेखे। साहित्यमा कृत्रिमता बेसी हुन्छ,भाषामा प्रकृतता हुन्छ। साहित्य एक जमात बौद्धिकवर्गलाई मात्र हुन्छ भने भाषा तमाम जातिको र जातिलाई हुन्छ। पाद्री गङ्गाप्रसादले एक मुठी विद्वानहरूको मात्र विचार राखी साहित्य र साहित्यिक भाषा लेखेनन् तर उनले समस्त पाहाड़वासीहरूको निम्ति उनीहरूकै भाषा वा बोलीलाई लिपिबद्ध गरे। .......ऐलेको भाषासित दँजाएर गङ्गाप्रसादको भाषा अशुद्ध थियो भन्नु अज्ञान हो,अधर्म हो। भनौँ भने आज हाम्रो बिच जुन भाषा चलिरहेछ त्यो यहाँको भाषाको शुद्ध रूप होइन विशुद्ध रूप भन्न सकिन्छ। शुद्ध अशुद्ध भएर विशुद्ध बन्छ। यहाँको अर्थात् दार्जिलिङको शुध्द नेपाली भाषालाई गङ्गाप्रसादको जीवनमै र अझ जीवनपछि बाहिरबाट आएको संस्कृतनिष्ठ नेपालीले अशुद्ध बनाइदियो र यो यहाँको जनसाधारणको जनजीवनबाट टाढ़ियो। ...गङ्गाप्रसादको भाषालाई हामीले काशी बोलीको पछि लागेर भुलिदियौँ। आज गङ्गाप्रसादको ‘अवाइ’ र ‘जवाइ’ जस्तो सजिलो र ठेट शब्दहरूको हाम्रोमा अभाव छ। coming र going जस्तो आउनु र जानुको साधारण भाववाचक संज्ञा रूप हामीसित छैन। काशीको ‘आगमन’ पछि ‘प्रस्थान’ भयो। हामी दुखित छौँ। अवाइ र जवाइ-लाई चलनचल्तीमा ल्याए के खति होला !”

सरल भाषामा लिखित यस लेखले भाषा र लेखाइप्रति सचेतता पनि दर्साएको छ। लगभग आठ पृष्ठको यस लेखमा पाद्री गङ्गाप्रसाद प्रधानका शैक्षिक,भाषिक ,साहित्यिक देन साथै उनका समकालीन पण्डित दिलुसिंह राईका समानान्तर भाषिक लेखन तथा काशीभाषे बोली बारे बोधगम्य एवं जानकारीमूलक विवेचना प्रस्तुत गरिएको छ । डा॰ सिन्हाको भाषिक अवधारणा पनि प्रभावोत्पादक लाग्दछ ।

३. दिलुसिंह राई : नेपाली निर्वचनका प्रथम पुरुष
ऐतिहासिक पुरुष पण्डित दिलुसिंह राईकृत ‘छप्पन सालको पैह्रोको सवाई’-लाई उनको महत्त्वपूर्ण साहित्यिक कृति मानिन्छ । उनका अन्य मौलिक कृतिहरूमा ‘बाल शिक्षा’ र ‘शुद्धार्थ’ पनि प्रसिद्ध छन्। डा॰ गिकुल सिन्हाले यिनै सर्जकका शब्दहरूको निर्वचनबारे राम्ररी केलाएका छन् । प्रज्ञा नेपाली बृहत् शब्दकोशअनुसार निर्वचनको अर्थ हुन्छ-(१)शब्दबारे गरिने व्युत्पत्ति;भाष्य;शब्दार्थबोध गराउने निरुक्त्ति,(०२)बोली नभएको;चुप रहने; मौन। संस्कृत शब्दकोशअनुसार निर्वचनका नेपाली अर्थहरू यस्ता छन् -१.निश्चित रूपले कुनै कुरा भन्नु,२. उखान,३. उच्चारण,४.शब्दसूची,५. कुनै पद वाक्य आदिको त्यस्तो व्याख्या ,जसमा व्युत्पत्ति आदिको पूरा वर्णन हुन्छ। अर्थात् कुनै जटिल पद वा वाक्यको छुट्टाछुट्टै अर्थ लगाउनु’। यस लेखमा दिलुसिंह राईले प्रस्तुत गरेका शब्द-व्युत्पत्ति सम्बन्धी व्याख्या (Etymological Interpretation)लाई दर्साइएको छ ।

डा॰ सिन्हा लेख्छन्-“पण्डित दिलुसिंहको सुनाम केवल धर्म र नीतिमा मात्र नरही साहित्य र शिक्षामा पनि रहेको छ।बाल-बालिकाहरूका निम्ति विद्याको साथै स्वास्थ्यको सम्बन्धमा पनि उपदेश दिनुभएको छ र असल आचार-व्यवहारको शिक्षा दिनुभएको छ। कुरीति र अन्धविश्वासबाट जोगिने शिक्षा दिनु हुँदै सभ्य नागरिक बन्ने मार्ग देखाउनु भएको छ। ...पण्डितजीको “बाल शिक्षा”-ले व्यावहारिक ज्ञान दिन्छ। ”

डा॰ सिन्हा अझ लेख्छन्- “उहाँले ‘सत्यार्थ प्रकाश’लाई नेपालीमा अनुवाद गर्दा त्यहाँ धेरै यस्ता संस्कृत शब्दहरू देख्नुभयो जसलाई नेपाली समाजले यथा अर्थमा नलिई लौकिक अर्थमा लिइरहेछन् र भूलमा परिरहेछन्। यस्ता भ्रामक धेरै शब्दहरू छन्; अति प्रचलित पन्ध्र शब्दहरू शुद्धार्थमा विवेचित छन्। भाषा अध्ययनको क्षेत्रमा यो एउटा सानो व्युत्पत्ति शास्त्र हो।निर्वचन हो र व्याकरण शास्त्र पनि हो।”

पित्र र पितर,काल र यम,उषा,भूत र प्रेत,देवता र देवी,विष्णु र लक्ष्मी,ब्रह्म,गायित्री,सावित्री,
सरस्वती,दुर्गा,भुवानी,गौरा,पार्वती,गणेश,त्रिदेव,तीर्थ र व्रत प्रभृति वचन(शब्दहरू)-बारे पण्डित दिलुसिंह राईले यी शब्दहरूका अर्थ र उत्पत्तिलाई कसरी केलाएका छन् , त्यसबारे यस लेखमा डा॰ सिन्हाले प्रस्ट पारेका छन् ।उनी दिलुसिंह राईलाई नेपाली निर्वचनका प्रथम पुरुष मान्छन्। डा॰ सिन्हाले पण्डित दिलुसिंह राईले ‘शब्दार्थ’ किन लेखे,त्यस सम्बन्धी स्पष्ट पार्दै उक्त पुस्तकको विषयमा आफ्नो विचार यसरी व्यक्त गरेका छन्-“नेपाली भाषामा प्रचलित संस्कृत शब्दहरू वैदिक संस्कृतबाट आएका छन्। वैदिक संस्कृतबाट लौकिक संस्कृतमा आउँदा धेरै शब्दको मूल अर्थ दिनु र संस्कारमा शुद्धि ल्याउनु पण्डितजीले शुद्धार्थ नामक ग्रन्थ लेख्नुभएको हो। पण्डितजीले भलै समाजमा प्रचलित रूढ़िवादलाई निर्मूल पार्न यो पुस्तक लेखेका होउन् ,नेपाली भाषा अध्ययनको क्षेत्रमा यसलाई प्रथम शब्दानुशीलन र निर्वचन ग्रन्थ मान्न समीचीन छ।”
पण्डित दिलुसिंह राई र उनका कृतिहरूबारे लिखित यस लेखबाट शब्दहरूका व्युत्पत्ति र अर्थहरू सम्बन्धी धेरै जानकारी पाइन्छ।

४. पारसमणि प्रधान : पारसमणि
“ज्ञ-देखि अ-सम्म”-भित्र परेको चौथो लेख हो ‘पारसमणि’। अघिबाटै पारसमणि प्रधान अभिनन्दन ग्रन्थ-१९८४ मा समावेशित यस लेखमा पारसमणि विषयक लघु सम्झना प्रस्तुत भएको छ। लेखमा भतिज काकाकहाँ बेपार सिक्न गएका तर काकाले साहित्य सिकाएका किस्सा,पारसमणिबारे इन्द्रबहादुर राईको आयामिक उद्गार,रामकृष्ण शर्माले पारसमणि प्रधानको खोइरो खनेका प्रसङ्ग,देवकोटाका भनाइ -“हामी भानुभक्त पढेर शिक्षा शुरु गर्दछौं र उनलाई हेलाँ गरेर समाप्त गर्ने गर्दछौं;तर बुझनेहरू आफ्नो घरको बत्तीमा अर्कै मोहनी देख्तछन्” र यो उक्ति आज पारसमणिमा चरितार्थ छ भन्ने कथन आदि उल्लिखित पाइन्छन्।

“भवन,चिन्तन आध्यात्मिक भनिन्छ र प्रेस,कागजादि भौतिक। तर काव्य चाहिँ के हो?त्यसको अस्तित्व केमा छ?त्यस्तै-बूढ़ो,दोहोरो त्यो शरीरमा ‘पारसमणि’ नाउँ कहाँनेर छ? शल्य-क्रियाले विश्लेषित हुन सके जिन्दगीको एक छेउ कोटिन्थ्यो कि ?” भन्ने यस लेखको रूप समीक्षात्मक नलागेर संस्मरणात्मक शैली अङ्गीकृत निबन्धात्मक लाग्छ।

५. रूपनारायण सिंहः राजनीतिक रूपनारायण

समीक्षक डा॰ सिन्हाले ‘रोमाण्टिक कथाकार:देवप्रकाश’ लेखमा राजनीतिक देवप्रकाश राईको साहित्यिक रूप र देनलाई दर्शाएका छन् भने ‘राजनीतिक रूपनारायण ‘ लेखमा साहित्यिक रूपनारायणको राजनीतिक रूप र देनलाई उजागर पारेका छन्। राजनीतिक देवप्रकाश राईलाई मात्र चिनेका पाठकलाई डा॰ सिन्हाले उनको कथाकारिता र साहित्यिक सहभागिताबारे लेखेर साहित्यकार देवप्रकाशलाई चिनाए। साहित्यिक रूपनारायणलाई मात्र चिनेका पाठकले राजनीतिक रूपनारायण सिन्हालाई यस लेख मार्फत् चिन्न सक्छन् ।

डा॰ सिन्हा लेख्छन्-“आफू तीन वर्षे बालक छँदै आफ्ना पूर्वज र अग्रजहरूले खनिदिएको जातीय समस्याको समाधान-पथलाई रूपनारायणले आफ्नो विवेक,बुद्धि र प्रतिभाले प्रस्ट पारिदिए । बंगालको दासत्वदेखि गोर्खा जातिलाई मुक्त गर्ने उनको उदात्त जीवन-दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ,उत्तिकै अनुकरणीय छ र उत्तिकै प्रेरणाप्रद छ।”

अघिबाटै बाडुली,पूर्णाङ्क १५,सन् २००५-०६ मा प्रकाशित यस लेखले सन् १९०५ मा ब्रिटिस सरकारले बङ्गाल विभाजन गरेर दार्जीलिङलाई बिहारको भागलपुर कमिशनरीमा हालिदिएपछि सन् १९०७ मा तत्कालीन दार्जीलिङका सचेत नागरिकहरूले दार्जीलिङ जिल्लालाई बिहारमा नमिलाई एउटा स्वतन्त्र प्रशासनिक क्षेत्र बनाइयोस् भनी ब्रिटिस सरकारलाई एउटा स्मरण पत्र पठाएको तर बङ्गाली जातिको एकता र एक स्वरको कारणले सन् १९१२ मा बङ्गाललाई पुन: एकीकरण गरी दार्जीलिङलाई बिहारबाट झिकेर बङ्गालमै टाँसिदिएको ऐतिहासिक प्रसङ्ग लगायत सन् १९१७ मा दार्जीलिङ जिल्लाका प्रतिनिधिहरूको पक्षमा सरदार बहादुर सोनाम वाङ्गेल लेडेनलाले अर्को स्मरण पत्र बङ्गाल सरकारको मुख्य सचिवलाई पठाएको कुरासहित त्यस पत्रका केही अंश तथा सन् १९१९ मा नामकरण गरिएको ‘द हिलमेन एसोसिएसन’-ले सन् १९२० मा युरोपियन एसोसिएसन र प्लान्टर्स एसोसिएसनसित मिलेर संयुक्त रूपमा पठाएको स्मरण पत्र बारे पनि स्पष्टतया उल्लेख गरेको छ;जुन खुबै जानकारीमुलक सिद्ध भएको छ भन्नुपर्छ।

दार्जीलिङलाई बङ्गालदेखि पृथक राखेर एउटा प्रशासनिक क्षेत्र बनाउनका निम्ति तत्कालीन दार्जीलिङका राजनीति सचेत व्यक्तिहरूद्वारा गरिएका कोशिशहरू ,साहित्यिक रूपनारायणले राजनीतिक सक्रियता देखाएर दिएका राजनीतिक योगदानहरू बुझ्न तथा तत्कालीन दार्जीलिङको अवस्थान,राजनीतिक चेतना साथै साहित्यिक रूपनारायण कसरी र किन राजनीतिक पनि बने सो बुझ्न डा॰ सिन्हाको यो लेख पढ्नैपर्ने हुन्छ । तत्कालीन दार्जीलिङको राजनीतिक सत्यता र चलखेल अनि ऐतिहासिक तथ्यलाई डा॰ सिन्हाले स्पष्ट भाषामा उजागर पार्दै पस्किदिएका छन्। डा॰ सिन्हालाई यस लेखका निम्ति साधुवाद भन्नैपर्छ ।

६. अच्छा राई ‘रसिक’ ‘रसिक’को राजनैतिक प्रतिबद्धता
साहित्य सङ्केत,वर्ष १२,पूर्णाङ्क १२,फरवरी १९८० मा प्रकाशित भइसकेको वार्तालापरूपी यस रचनामा अच्छा राई ‘रसिक’-को राजनैतिक व्यक्तित्वबारे प्रकाश पार्ने काम गरिएको छ। यस वार्तालापमा लेखक पात्रको संवादको माध्यमबाट धेरै कुरा उजागर भए तापनि निम्न बुँदाहरू भने उद्धृत गर्न मन लाग्यो।
१. सबैले ‘रसिक’-लाई केवल हास्य-लेखकका रूपमा चिन्छन्। अलिक पर उपन्यासकारसम्म। तर तिनी उपल्लाका राजनैतिक लेखक पनि थिए। उनको राजनैतिक व्यक्तित्व उत्तिकै प्रखर थियो।
२. वास्तवमा लेखकको सामाजिक किंवा राजनैतिक प्रतिबद्धता नै उसको रचनाको पीठिका हुन्छ,आग्रह हुन्छ। ‘रसिक’-को रचना-प्रक्रियामा यो सर्वत्र परिलक्षित छ ।
३. सामाजिक कामहरू तिनले सन् ४७ सम्म गरे। स्वतन्त्रतापछि राजनैतिक कार्यको क्षेत्र प्रशस्त भयो। तिनी राजनीतिमा डुबे। त्यही सुधारकालीन सामाजिक चेतनाको प्रवृत्ति तीनको एउटा जीवन-दर्शन बन्यो र सचेतन अवचेतन मानसपटमा अंकित तिनै मूल्यहरू पछिबाट कति कृतिहरूमा निसृत भए।
४. ‘रसिक’-को राजनीति नाङ्गो खुकुरी थियो।
५. राजनैतिक लेख नछाप्ने नियम साम्राराज्यवादी नियम हो,जुन हामीले अझै इमान्दारीपूर्वक पालन गरिराखेका छौं । हामीले राजनीति गरेनौं,लेखेनौं भने प्रजातन्त्र कसरी चल्छ?...राजनीति देशले दिएको अधिकार हो,उपयोग कि उपभोग गरौं-सैद्धान्तिक रूपमा हुन्छ कि व्यावहारिक रूपमा ।
६. ‘रसिक’-ले तर यो रूढ़िवादको खण्डन गर्दै राजनीतिक लेखहरू लेखे,व्यक्तिगत आक्षेपहरू पनि कसे।
७. ‘रसिक’-को प्रगतिशील साहित्यमा ‘सर्दी लागेर भासिएको जस्तो स्वर’ थियो, आजको प्रगतिशील साहित्यमा ‘बुलन्द आवाज’ छ। फरक त्यति हो।
८. जुन साहित्यले जाति र जीवनलाई अघि बढ़नु सहयोग गर्छ,त्यही प्रगतिशील साहित्य हो।
९. ‘रसिक’ एक प्रगतिशील लेखक थिए, उनैको विशेषांक प्रगतिशील भएन, ‘रसिक’ राजनैतिक लेखक थिए, उनको राजनैतिक पक्ष नै प्रकाश भएन भने उनको व्यक्तित्व र कृतित्वको के न्याय भयो?
१०. परम्परा पहिल्याउनु र परम्परा तोड्नु दुवैमा प्रगतिशीलता छ ।
उपर्युक्त गहकिला कुराबाहेक पनि अन्य धेरै राम्रा कुरायुक्त अच्छा राई ‘रसिक’ विषयक यस वार्तालापले डा॰ सिन्हाको लेखनमा नौलोपन दर्शाएको छ ।

अध्यापक,लेखक र सम्पादकमाझ रसिकबारे वार्तालाप राखिएको तथा नाटकीय शैलीमा रसिकको राजनैतिक प्रतिबद्धतालाई अग्रसारित पादै रसिकका कृतिगत चर्चालाई यी तीनजनामाझका संवादहरूद्वारा प्रस्तुत गरिएको यस रचनालाई समीक्षा र लेख भनिहाल्न मिल्दैन यसको रूप र ढाँचा देखेर। नाटकमा झैँ संवादात्मक छ वार्तालापरूपी लेखन। यस चर्चामा प्रगतिशील र प्रगतिवादीबारे पनि पारिभाषिक अवधारणा अघि आएको देखिन्छ। रसिकबारे लिखित यस लेखनले नौलोपन त देखाएकै छ साथै लेखन नाटकीय शैली अङ्गीकृत संवादात्मक भएको छ ।

२३ पृष्ठमा लेखिएको यस रचनाबाट राजनैतिक चेत बोकेर लेखन र कर्मरत हुने अच्छा राई ‘रसिक’बारे धेरै कुरा ज्ञात हुँदछ । यस वार्तालापमा ‘रसिक’-बारे चर्चामात्र नभएर साहित्य र राजनीतिबारे गहन विश्लेषण गरिएको पाइन्छ ।

७. अगमसिंह गिरि विद्रोही कविको क्रान्तिभूमि

यस लेखमा कवि अगमसिंह गिरीबारे छोटो चर्चा गरिएको छ । डा॰ सिन्हा लेख्छन्-‘गिरि हाम्रा देवकोटा थिए र हाम्रा काव्याकाशका अति उज्जवल नक्षत्र थिए। ...हाम्रा अस्तित्वका अमर गायक अगमसिंह गिरि भारतीय नेपाली (दार्जिलिङे)-हरूका एक सशक्त स्वर हुन्,एक प्रमुख प्रतिनिधि हुन्। गिरिका प्रत्येक कविताहरूमा दार्जिलिङको आवाज छ । ....गिरिको देश पश्चिम मेची र पूर्व जलढक्का बीचको पहाड़ी भूमिखण्ड ! साङगमाको मेघालय तथा रेहमानको पूर्व बाङ्लादेश गिरिको दार्जिलिङ हो। यसैले गिरि नेपाली होइनन् न त हुन् भारतीय नै । भाषिक र सांस्कृतिक तथा धार्मिक र राजनैतिक सम्बन्धले गिरि यो दुइ देशले बाँधिए तापनि आत्मिक रूपले उनी मुक्त छन्। उनी साँचो रूपमा दार्जिलिङे हुन्। उनको राष्ट्र दार्जिलिङ हो र राष्ट्रियता दार्जिलिङे।”

‘गिरि नेपाली होइनन् न त हुन् भारतीय नै’ भन्ने कथन चाहिँ अग्राह्य लाग्छ । आत्मिक रूपले मुक्त गिरीको राष्ट्र र राष्ट्रियता दार्जीलिङ र दार्जीलिङे मात्र ठानिनुले केही सङ्कीर्णता झल्किन्छ कि? जे होस्, ‘विद्रोही कविको क्रान्तिभूमि’-मा गिरीको रमणीय काव्याकाशमा प्रशस्त विरोधाभासको कालो बादल मड़ारिन थालेको कुरोलाई पनि उदाङ्गो पारिएको छ ।

८. देवप्रकाश राई रोमाण्टिक कथाकार:देवप्रकाश

यस लेखको शीर्षकले नै देवप्रकाश कस्ता कथाकार हुन् सो स्पष्ट पारेको छ । राजनीतिक देवप्रकाश राईको प्रारम्भिक अनुहार साहित्यिक रहेछ । उनी अनुभवलाई सर्वोपरि राखेर कथा लेख्ने कथाकार पनि थिएछन्। प्रखर राजनीतिक नेताका रूपमा साहसिलो काम गरेर प्रसिद्धि कमाएका देवप्रकाश राई असल कथाकार पनि थिएछन्। उनले धेरैवटा कथा लेखेका,साहित्यिक समारोहहरूमा सक्रिय सहभागिता दर्साएका साहित्यिक योगदानलाई यस लेखमा छर्लङ्ग्याइएको छ ।

डा॰ सिन्हा लेख्छन्-“राजनीतिमा सक्रिय हुन अघिसम्म देवप्रकाश दार्जिलिङे साहित्य क्षेत्रका एक ‘उत्साही’ ‘प्रतिष्ठित’ लेखकमा गनिन्थे । साहित्यिक-गोष्ठी,भाषा-गोष्ठी,सभा-समारोहहरूतिर देवप्रकाशको उपस्थिति र वक्तव्य एक अनिवार्य कार्यक्रम हुन्थ्यो। खरसाङमा ओलम्पिक वीरको स्वागत होस् कि दार्जिलिङमा नाट्यकविको स्वागत होस्,भाषा माध्यमको विचार-गोष्ठी होस् कि तर्क सभाको निर्णायक बन्न होस्,देवप्रकाश सधैँ अघि हुन्थे। सूर्य विक्रम ज्ञवाली,रामकृष्ण शर्मा,शिवकुमार राई,अग्निराज श्रेष्ठ,एम॰ एम॰ गुरुङ,सुभद्रा सुब्बा,देवकुमारी सिन्हा,गणेशलाल सुब्बा,तुलसी अपतन,भाइचन्द प्रधान आदिसित देवप्रकाशको नाउँ त्यसताक आउँथ्यो। यिनीहरूसितको समसामयिक लेखनकारिताले देवप्रकाशको कलम तिखारिएको थियो। ‘गोर्खा’,‘भारती’,’उदय’,’हाम्रो कथा’ आदि तिनताकका प्रतिष्ठित पत्रिकाहरूमा देवप्रकाशका रोमाण्टिक कथाहरू,प्रगतिशील कविताहरू र निजात्मक निबन्धहरू प्रकाशित हुन्थे।”

देवप्रकाश राईले ‘पिपलको बोट’, ‘आँधी’ ,’बलिदान’, ‘लता’, ‘लहर’, ‘उसको सम्झना’, ‘एउटा घटना’, ‘जवाब’, ‘यही हो त्यो दिन’ आदि कथाहरू,प्रगतिशील कविता र निजात्मक निबन्धहरू लेखेका थिएछन्। ओझेलमा रहेका कथाकारलाई यस लेखले प्रकाशमा ल्याउने स्तुत्य काम गरेको छ। देवप्रकाश राईको कथाकारितालाई पर्गेल्दै लेखिएको यस लेखबाट राजनीतिक देवप्रकाश राईलाई मात्र चिनेका पाठकले साहित्यिक देवप्रकाशलाई पनि चिन्छन्। कविता, निबन्ध पनि लेख्ने देवप्रकाशका कथाहरूलाई सङ्क्षेपमा विश्लेषण गर्दै डा॰ सिन्हाले राजनीतिक देवप्रकाशलाई रोमाण्टिक कथाकार अथवा साहित्यिक देवप्रकाशका रूपमा चिनाउने सत्कार्य गरेका छन्।

कथाकार देवप्रकाश राईको कथाकारितालाई डा॰ सिन्हाले यसरी प्रष्ट पारेका छन्-“स्वयं यथार्थतावादी बनेर कथामा यथार्थतावादी रोमाण्टिक धारा बहाउने देवप्रकाश राईका कथाहरूमा, साँच्चै,काल्पनिकताको झल्को पाइँदैन,कृत्रिमताको गन्ध छैन। कथामा वास्तविकता झल्काउने एउटा शिल्प त उनको शैली पनि हो। पत्रात्मक शैली देवप्रकाशको आफ्नो छ। यस्तो आत्मपरक शैलीमा स्वगत कथनको यथेष्ट सम्भावना रहन्छ,आत्मविश्लेषणको पर्याप्त अवकाश रहन्छ। यसैले देवप्रकाशका कथाहरूमा मनोवैज्ञानिक तत्वहरू यत्रतत्र पाइन्छन्।...विशेष नारी मनका विमर्शनहरू देवप्रकाशका कथाहरू हुन्। नारी हृदयले पुरुषद्वारा पूर्ण प्रकाशन पाउन सक्दैन,यसैले उनले कति कथाहरूमा स्त्री बनेर नारीका मनस्थितिहरूलाई वाणी दिएका छन्।”

यस लेखले साहित्यिक देवप्रकाश राईका विविध रूपहरूबारे अझै शोध-अनुसन्धान गरिनुपर्ने सङ्केत पनि गरेको प्रतीत हुन्छ। उक्त लेख पढ्दा कथाकार देवप्रकाशका कतिपय कथाहरूलाई स्वच्छन्दवादीबाहेक नारीवादी दृष्टिकोणबाट पनि हेर्न सकिन्छ कि जस्तो लाग्छ । यो भविष्यत् अध्ययन-अनुशीलनको विषय हुन सक्ला । डा॰ सिन्हाले राजनीतिक देवप्रकाशको विस्मृत साहित्यिक रूप पनि देखाइदिएकामा साधुवाद भन्नुपर्छ।

९. रामकृष्ण शर्मा परिचेय रामकृष्ण

‘परिचेय रामकृष्ण’ लेखमा डा॰ सिन्हाले समालोचक रामकृष्ण शर्मालाई आधुनिक नेपाली साहित्यमा सैद्धान्तिक समालोचनाको प्रथम उत्थापकको रूपमा पेश गर्नको साथै समालोचनाको क्षेत्रमा युगान्तकारी पुरुष ठहराएका छन् । डा॰ सिन्हा लेख्छन् “ उत्तर बंगाल विश्वविद्यालयमा एउटा पत्र “नेपाली संस्कृति” राख्नमा उनकै कर र रहर अद्यापि विद्यामान छ । ...उनी मूलत: कवि थिए। पछि पनि आलोचनाको बौद्धिक श्रमबाट केही फुर्सद पाउनसाथ उनी हार्दिक कविता कोर्न पुग्थे। उनका प्रकाशित दुइ काव्य कृति बाहेक पनि तेस्रो कविता संकलन प्रकाशन संभव छ । यस्ता कवि हृदयी साहित्यकार परन्तु बन्नपुगे समालोचक। ....रामकृष्णले आलोचनाको क्षेत्र रहरले होइन करले लिएका हुन् । पहिले-पहिले त यो उनलाई भालूको कन्पट थियो तर उनले कान छोड़ेनन्,साहित्यिक भालूहरूलाई थिल्थिल्याएरै छोड़े।... “झ्याउरे” लेखेर नेपाली साहित्य जगतमा पदार्पण गर्ने कविले परन्तु आफ्ना अग्रज र समकालीन कविहरूमा नेपालीपनको कमी,विदेशी तत्वहरूको बहुलता पाएर उनको भावुक मनमा चोट लाग्यो । लेखनाथ र धरणीधर,बालकृष्ण र देवकोटाका कविताहरूले उनको जातीय भोक मार्न सकेनन् । फलत: उनले तिनमा सुधार ल्याउन नेपालीयताको माग राख्दै एउटा प्रबन्ध लेखे। भाग्यवश भनौँ वा दुर्भाग्यवश त्यो समालोचना बन्यो अनि यही आधुनिक समालोचनाको प्रथम कृति पनि बन्यो।” अघिबाटै नेपाली साहित्य,प्रथम अङ्क ,१९९९ मा प्रकाशित भइसकेको उक्त लेखमा रामकृष्ण शर्माबारे रुचिकर चर्चा पढ्न पाइन्छ ।

१०. शिवकुमार राई ‘फ्रण्टियर’का सिपाही शिवकुमार

मूर्धन्य कथाकार शिवकुमार राईकृत कथासङ्ग्रह ‘फ्रण्टियर’ विषयक यस लेखमा डा॰ सिन्हाले राईका कथाहरूको सम्यक् विश्लेषण गरेका छन्। लब्ध प्रतिष्ठ कथाकार शिवकुमार राईको पहिलो कथासङ्ग्रह हो ‘फ्रण्टियर’। यसभित्रका कथाहरूले शिवकुमार राईलाई नेपाली साहित्यमा एकजना सफल र कुशल कथाकारका रूपमा चिनाए ।

“कथाकार शिवकुमार राई नेपाली कथा क्षेत्रमा नअटाउने एक व्यक्तित्व हुन्”-यसै भन्छन् डा॰ सिन्हा । राईका कथाहरूको विशेषता केलाउँदै डा॰ सिन्हा अझ लेख्छन् –“ ‘फ्रण्टियर’-मा संकलित कथाहरू विशिष्टताका साथसाथै युगधर्मी पनि छन् । प्रथमत: यी कथाहरू त्यस कालका हुन् जुन आधुनिक नेपाली कथा-साहित्यको निर्माण काल थियो। भारतीय नेपाली समाजमा राजनैतिक जग बसाउने (गोर्खालीग सन्दर्भमा)श्री शिवकुमार राईले नेपाली कथा-साहित्यको जग बसाउनमा पनि उसरी नै हात दिएका छन्। शारदाको प्रकाशनले नै नेपाली कथा-साहित्यमा आधुनिकता ल्याएको हो भने त्यसै दशकको शारदालाई उनले तीनवटा कथाहरू दिएका छन्। ‘प्रकृति-पुत्री’, ‘माछाको मोल’, ‘स्मृति चिन्ह’ शारदाको दशौँ वर्षको अंक ३/६/१२-मा क्रमैले छापिएका छन्। शारदाको सम्पादक थिए ऋद्धिबहादुर मल्ल जसका सम्पादनमा सम,देवकोटा,मैनाली,भिक्षुका कथाहरू छापिन्थे। यसैले श्री शिवकुमार राई पनि त्यस युगका त्यसै श्रेणीका साहित्यकार हुन्। ......श्री राईको साहित्यिक सिद्धान्त अर्थात् कथाका कथावस्तु पूर्वीय बस्तीमै छन् पश्चिमी शहरमा होइन भन्ने उनको पहिलो कथामै प्रष्ट छ । ...रूपनारायण सिंहले नेपाली कथा क्षेत्रमा स्थापित गरेको रोमाण्टिसिज्मको निर्वाह फ्रण्टियरले पनि खूबसित गरेको छ।”

तर वर्तमानमा नेपाली कथा त्यति विकसित नभएको देख्ता समीक्षक डा॰ सिन्हा यस्तो टिप्पणी पनि गर्छन्-“आज नेपाली कथा,विशेष गरी नेपालबाहिरको सन्दर्भमा यसरी मरणासन्न र क्षयोन्मुखी बन्नमा हाम्रै समाजविमुखी प्रवृत्ति उत्तरदायी छ। हामी प्राकृतिक जीवनदेखि पलायनवादी बन्दैछौं । गाउँ-बस्तीदेखि शहर-बजार पस्दैछौं र सारंगी छोड़ी गिटार चेप्दैछौं।”

यसरी डा॰ सिन्हाद्वारा गरिएको ‘फ्रण्टियर’ विषयक समीक्षण तड्कारो र सम्यक् हुनुको साथै भारतीय नेपाली कथा–साहित्यमा अब ठोस काम गर्नु पर्ने सङ्केत पस्किन पनि जाग्रत बनेको छ भन्नु पर्छ।

११. बद्रीनारायण प्रधान मालती उर्फ मौली

डुवर्स क्षेत्रमा मात्र होइन तर सिङ्गो नेपाली साहित्यमा नै वामपन्थी विचारधारा अनुगामी लेखक बद्रीनारायण प्रधानको नाम अमिट मात्र होइन सह्रनीपूर्ण छ भन्नु अत्युक्ति नहोला । उनी मौलिक कृतिकारका रूपमा मात्र प्रतिष्ठित नबनेर अनूदित कृतिका निम्ति पनि सुचर्चित छन्

भन्नुपर्छ । उनले मेक्सिम गोर्कीकृत “मदर”-लाई “आमा” बनाई नेपालीमा अनुवाद गरेर विश्वप्रसिद्ध रसियाली कृतिलाई नेपाली साहित्य-संसारमा भित्र्याउने सुकार्य गरे।
मौलिक उपन्यास ‘मौली’-को उपन्यासकार बद्रीनारायण प्रधानबारे समालोचक डा॰ गोकुल सिन्हा लेख्छन्-“उनी एक राजनीतिज्ञ हुनाको साथै एक प्राज्ञिक व्यक्ति पनि हुन्। राजनीतिको क्षेत्रमा उनी वामपन्थी विचारधाराका मशाल हुन् भने साहित्यको क्षेत्रमा एक कुशल लेखक र अनुवादक पनि हुन्। यसरी झण्डा र कलमले बद्रीनारायण प्रधानलाई जीवन्त तुल्याएको छ र नेपाली समाज र साहित्यमा उनी एक ऐतिहासिक पुरुष बन्न पुगेका छन्। ”
उपन्यासकार बद्रीनारायण प्रधानकृत “मौली” उपन्यासलाई चुनेर यसभित्रका विशेषताहरूलाई डा॰ सिन्हाले स्पष्ट भाषामा विश्लेषित गरेका छन्। विश्लेषणका केही बूँदा यस्ता छन्:-
१. ‘मौली’ कुनै राजनैतिक विचार प्रचारको उपन्यास होइन,यो नितान्त सामाजिक उपन्यास हो ।
२. लेखक यहाँ जातिवादी छन् न कि विश्ववादी। कथा भूमि नेपालीय छ,भारतीय पनि छैन। दार्जिलिङ अङ्ग्रेजी शिक्षाको निम्ति र स्वास्थ्य चिकित्साको निम्ति मात्र आरोपित छ।
३. उपन्यासको अन्ततिर कम्युनिष्टको केही प्रसंग झिकेर लेखकले आफ्नो धर्म थाम्न मात्र खोजेका छन् नत्र भने उपन्यास भाषिक शैक्षिक सांस्कृतिक छ।
४. ‘मौली’ उपन्यासमा सांस्कृतिक थोकहरू पनि मनग्गे पाइन्छ ।
५. उपन्यासकारले नेपाली संस्कृतिलाई उपन्यासको तीन अध्याय पूरै समर्पित गरेका छन् अनि भानुभक्तको रामायणलाई एक अध्याय नै ।
६. अन्त्यतिर मौली पूर्णारूपले नेपाली नारी बन्न पुगेकी छ। नेपाली पनि नेपालीय नै । उ छोरालाई पढ़ाउन दार्जिलिङ ल्याएकामा पनि पछितो नै गर्छे। उ दार्जिलिङ मन पराउँदिन। नेपाल नै राम्रो मान्छे।
७. मौली उपन्यासमा अप्रेम छ,घृणा र नफरत छ ।
८. गोर्कीको ‘आमा’-मा पनि प्रेम प्रसंग छैन तर घृणा पनि छैन।
९. मुलुकबाहिरकै भए पनि उपन्यास दार्जिलिङबाट आरम्भ हुन्छ। दार्जिलिङमै समाप्त हुन्छ।उपन्यास डायोस्परिक छ भन्न पनि सकिन्छ ।
उपन्यासकार प्रधानले प्राक्कथनमा लेखेका रहेछन्-“उपन्यास शुरू हुन्छ डिसम्बर सन् १९४३-मा जब कालेबुङ शहरमा ठूलो आगलागी भएको थियो.... उपन्यास सकिन्छ डिसम्बर सन् १९६२मा, जुन बेला भारत चीनको युद्ध भएको थियो।”

उपन्यासकारको उक्त आरम्भ र अन्त्यका कालखण्डलाई समालोचक डा॰ सिन्हाले यसरी अनुमान लगाएका छन्-“उपन्यासको आरम्भ सन् १९४३-लाई कालेबुङको अग्निकाण्ड मान्नु भन्दा लेखकको राजनीति-प्रवेश वर्ष मान्न सकिन्छ। लेखकले भारतीय कम्युनिष्ट पार्टीको सदस्यता यसै वर्ष लिएका हुन् र जुन वर्ष उनले त्यो सदस्यता त्यागे त्यो थियो सन् १९६२। ”

समालोचकको उपर्युक्त कथनबाट उपन्यासको शुरुआत र समाप्तिले उपन्यासकारको कम्युनिष्ट पार्टीमा प्रवेश र त्यागलाई इङ्गित गरेको बुझिन्छ अनि ती कालखण्डभित्रका घटनाक्रमहरूनै उपन्यासमा पुष्ट भएका पनि बुझिन्छ। मलाई डा॰ सिन्हाको प्रोक्त अनुमान र कथन घतपर्दो लाग्यो।

१२. इन्द्रबहादुर राई लीलालेखन : एक आद्यस्वरूपीय प्रयुक्ति

सन् २००२ मा गेजिङ,सिक्किममा लीलालेखनको २५ वर्षे समारोह अन्तर्गत पठित भनिएको कार्यपत्ररूपी ‘लीला लेखन:एक आद्यस्वरूपीय प्रयुक्ति’ लेखमा डा॰ गोकुल सिन्हाले डा॰ इन्द्रबहादुर राईको लीलालेखनबारे प्रकाश पार्दै मिथक,साङ्केतिक भाषा,डायोस्परिक लेखन आदि विषयक सुरुचिपूर्ण चर्चा गरेका छन्। उनको दृष्टिमा ‘साहित्य लेखनका विविध युक्ति र फाँटहरूमा लीला लेखन आधुनिकोत्तर लेखन शिल्पको रूपमा उत्थापित छ। लीला लेखन र आयामिक लेखन आपस्तमा पूरक र सम्पूरक छन्। आयामिक लेखनमा आधुनिकता छ भने लीला लेखनमा अत्याधुनिकता पाइन्छ। ...लीलामा अवतार छ,अवतारको कथ्य छ।...आयामिक लेखन प्रतीक-पौल साहित्य थियो भने लीला लेखनमा मिथकहरूको उत्खनन छ अनि मिथक साहित्यिक शब्दावली हो भने आद्यस्वरूपीय प्रयुक्ति समालोचकीय शब्दावली हो ’।

समालोचक/भाषाविद् डा॰ गोकुल सिन्हाले डा॰ इन्द्रबहादुर राईको लीलालेखनका प्रसङ्गहरू केलाइमा शब्दको उद्गम स्थान र मिथकलाई पनि खुबै प्रभावकारी ढङ्गमा पर्गेल्ने काम गरेका छन्। उदाहरणार्थ ‘आज आइतबार हो’-को मिथक केलाइलाई देखाएका छन्,जुन स्रहनीपूर्ण भएको छ भन्नुपर्छ।

डा॰ सिन्हाले डा॰ राईलाई ‘नेपाली साहित्यमा मिथकीय लेखन र आद्यस्वरूपीय समालोचनाको क्षेत्रमा एक मात्र प्रयोगधर्मी साहित्यकार’ मानेका छन्। उनी डा॰ इन्द्रबहादुर राईले सन् १९८६ तिरै ‘आँगनको घाममा लाटो’ लेखेर साङ्केतिक भाषाको सङ्केत दिएका ठान्छन्। उनी डा॰ राईका ‘आकारहरू छायाहरू’-लाई एउटा डायोस्परिक राइटिङ हो ,जसलाई मिथकहरूले पुष्ट पारेका छन् भन्छन्।उनी ‘हामी जस्तै मैना की आमा’-मा पनि डायोस्परा र मिथक पाउँछन्। डा॰ सिन्हाले डा॰ राईको ‘अर्थहरूको पछिल्तिर’-लाई विशुद्ध आद्यस्वरूपीय समालोचा कृति मानेका छन्। ‘कठपुतली मन’-मा भने डा॰सिन्हा यौनलीला देख्छन् ।

एकजना अब्बल समालोचकद्वारा अर्का एकजना प्रकाण्ड लेखक/समालोचकका लेखन विशेषताहरू राम्ररी विश्लेषित गरिएको उपर्युक्त लेख पठनीय र उल्लेखनीय छ भन्नु मन लाग्छ।

१३. भाइचन्द प्रधान भानुको प्रथम किरण कालेबुङमा

१४ अप्रिल १९२७ को दिन कलेबुङमा जन्मिएका भाइचन्द प्रधान कवि,कथाकार,वैयाकरण एवं समालोचकका रूपमा स्थापित प्रतिष्ठित साहित्यकार हुन्। उनको सन् १९५२ मा छापिएको ‘आदिकवि भानुभक्त आचार्य’ विषयक छ डा॰ सिन्हाको ‘भानुको प्रथम किरण: कालेबुङमा’ लेख। समालोचक भाइचन्द प्रधानको उक्त कृतिबारे डा॰ सिन्हा लेख्छन् –“भानुभक्तीय सुदीर्घ परम्परामा भाइचन्द प्रधानको नाम अमिट अंकित छ। आरम्भिक कालमा लेखिएको उनको आदिकवि भानुभक्त आचार्य भानुभक्तीय अध्ययनमा अनिवार्य रूपले अध्येय बन्छ। ... ‘प्रस्तुत पुस्तक सन् १९४९ मा नै लेखिएको हो,लेखकको प्राक्कथन पनि छ। अनि लेखिएको मात्र होइन छापिएकै पनि हो। अब यसलाई सन् १९४९ को कृति मान्ने कि सन् १९५२को ,द्वैतवाद छ यहाँ।”

भानुभक्तीय अध्ययन र समालोचनाको परम्परालाई डा॰ सिन्हाले यस लेखमा खुबै प्रभावकारी ढङ्गमा केलाएका छन्। लेखमा भाइचन्द प्रधानको भानुभक्त आचार्य विषयक अन्वेषणात्मक र विश्लेषणात्मक अध्ययन डा॰ सिन्हाको समालोचकीय प्रस्तुतिले अझै उज्जर बनाएको छ। डा॰ सिन्हाको दृष्टिकोणमा ‘भानुभक्तीय अध्ययन र आलोचनामा एउटा नवीन प्रयुक्ति दिए बाबुराम आचार्यले सन् १९५४मा तुलनात्मक सुन्दरकाण्ड लेखेर । ...अर्को वर्ष आचार्यले पुराना कवि र कविता-को संकलन र सम्पादन गरे। भानुभक्तीय अध्ययनलाई यो अनिवार्य ग्रन्थ सिद्ध छ। सूर्यविक्रम ज्ञवालीको कृति सम्पादन,ब्रह्म शंशेर राणाको आलोचनात्मक लेखन र बाबुराम आचार्यको तुलनात्मक अध्ययनपछि आउँछ भाइचन्द प्रधानको विद्वतापूर्ण आलोचनात्मक ग्रन्थ आदिकवि भानुभक्त आचार्य’। उक्त ग्रन्थ ‘नेपाली जगतमा भानुभक्तको उदय हुनुभन्दा अघिको वातावरणको समुचित उल्लेखबाट आरम्भ भएको छ । ग्रन्थ बाह्र परिच्छेदमा विभाजित गरी नेपालको भौगोलिक,राजनैतिक,भाषिक र साहित्यिक चर्चाबाट भानुभक्तको पृष्ठभूमि तयार गरिएको छ। प्राक्कथनमा नेपाली भाषाको विस्तृत विवरण र भानुपूर्व नेपाली साहित्यको किञ्चित विवेचना छ।

डा॰ सिन्हाले अहिले प्राय: दिवङ्गत भइसकेका सर्जकहरूका कृतिहरूबारे नै लेखिएका लेखहरू ‘ज्ञ देखि अ सम्म’-मा समावेश गरेका छन्। यस कृतिले दिवङ्गत साहित्यकारहरूका लेखन-विशेषताहरूलाई केलाएको छ । यद्यपि भानुभक्त विषयक यति महत्त्वपूर्ण ग्रन्थ,केही साहित्यकार,नेपाली व्याकरण अनि धेरै समालोचना,निबन्ध,कविता कथा आदि लखेर अमूल्य साहित्यिक योगदान पुरयाउने वैयाकरण,साहित्यकार भाइचन्द प्रधान र उनका कृतिहरूबारे कमै लेखिएका छन्। उनको उल्लेखनीय लेखनबारे अझै अध्ययन,विश्लेषण ,समीक्षण हुनु आवश्यक छ भन्नु मनपर्छ ।

१४. लक्खीदेवी सुन्दास ‘अहल्या’को पौराणिक प्रसङ्ग
अभिनन्दन ग्रन्थ प्रकाशन समितिले चुनेको विषयमा लिखित लक्खीदेवी सुन्दासकृत कविता ‘अहल्या’-को विवेचनामा डा॰सिन्हाले परम सुन्दरी नारी अहल्याको पौराणिक प्रसङ्गलाई खुबै विद्वतापूर्वक केलाउदै सुधी पाठकअघि पस्किदिएका छन्। पौराणिक नारी अहल्याबारे जान्न इच्छुक पाठक-शोधार्थीका निम्ति उक्त लेख पठनीय र उपयोगी छ। यस लेखमा अहल्या शब्दको व्युत्पत्तिपरक अर्थाइ तथा पौराणिक ग्रन्थहरू बाल्मीकीय रामायाण साथै भानुभक्तीय रामायणमा पनि ‘अहल्या’-बारे के कस्ता कुरा लेखिएका छन्,तीबारे पनि प्रष्ट पारिएको पाइन्छ । उक्त लेखले पौराणिक पात्रा विषयक एउटा मिठो,असल ,कुशल समालोचकीय दृष्टिकोण प्रस्तुत गरेको छ।

डा॰ लक्खीदेवी सुन्दासको यस छोटो कविताबारे डा॰ सिन्हाले लेखिदिएका छन्-“लक्खीदेवी सुन्दास एक कोमल कवि-हृदयी, विदुषी,समाज निमज्जित कथाकर्तृ र संवेदनशील समीक्षक हुनुहुन्छ । ‘समय समीक्षणा’ का साथै उहाँका पुस्तक सम्पादन,भूमिका लेखन,बौद्धिक पत्र-प्रस्तुतिहरूले पनि उहाँलाई एक सफल आलोचक मान्न सकिन्छ र यहाँ पनि एउटै रामायणी पात्रा अहल्याप्रति रामायणकारहरूले गरेका अवहेलना उपर आफ्नो आलोचकीय दृष्टि प्रस्तुत गर्नुहुन्छ। कृति कविता छ,स्वर नारीवादी छ ....रामायण,महाभारतका विशेष नारी पात्रहरूको उत्खनन र तीप्रतिका सहानुभूतिजन्य अभिव्यञ्जनाहरू आधुनिक भारतीय नारीवादी साहित्यको एउटा प्रमुख धारा बनेको छ । डा॰ सुन्दासको एस छोटो कविता ‘अहल्या’मा पनि उहाँको व्यक्ति र व्यष्टि बोलेको सुन्न पाइन्छ। ...डा॰ लक्खीदेवी सुन्दासको पौराणिक पात्रा गृहित ‘अहल्या’ कवितामा आधुनिकोत्तर पूर्वको आधुकनिकता छ,भाव,भाषा र शैलीमा । प्रकृतिसुलभ एस्ता कवितामा कृत्रिमता हुँदैन। तेसैले कविता स्वस्थ र सुन्दर छ। ”

१५. कुमार प्रधान नेपाली जातीय इतिवृत्तमा ड॰ कुमार

विश्रुत साहित्यकार मनप्रसाद सुब्बा प्रमुख सम्पादक रहेको “कुमार कीर्ति” (डा॰ कुमार प्रधान विषयक स्मृति ग्रन्थ -२०१४)-का निम्ति लिखित र त्यसमा सङ्कलित यस लेखमा डा॰ सिन्हाले डा॰ कुमार प्रधानको नेपाली जात,जाति र भाषा विषयक सचेततायुक्त उद्गार,सम्बोधन र विचारलाई उल्लेख गर्दै जात,जाति,भाषा,राष्ट्रियता साथै वर्तमान दार्जीलिङे अवस्था समेतलाई छर्लङ्ग्याउँदै झकझकाइदिएका छन्। “कुमार कीर्ति”-मा छापिँदा भने यस लेखको शीर्षक “सामाजिक इतिहासकारका रूपमा डा॰ कुमार प्रधान” थियो ।

डा॰ सिन्हाले प्रस्ट लेखिदिएका छन्-“आज दार्जिलिङको जातीय स्थिति शंकास्पद छ। बाहिर बाहिर नेपाली वा गोर्खा जाति भनिए पनि कतिपय जातगोष्ठीमा हामी नेपाली होइनौँ भन्ने भावना पनि प्रबलतर हुँदै जाँदो छ। सुविधा र सहुलियतको सन्धान नै यसको प्रमुख कारण बनेको छ र नेपाली/गोर्खाहरू आफ्नो जातीय/राजनैतिक मागहरूदेखि विमुख बन्दैछन्। ”
यस लेखको आधारबारे पनि डा॰ सिन्हाले स्पष्ट पारिदिएका छन्-“...उनले दार्जिलिङको छुट्टै राजनैतिक इतिहास लेख्न नभ्याए पनि दुइ-चार लामा लामा लेखहरूमा दार्जिलिङको सामाजिक इतिहास लेखेका छन् जसमा ‘पहिलो पहर’को पहिलो लेख र ‘महेशचन्द्र रेगमी व्याख्यानमाला’ प्रमुख छन्। व्याख्यानमालाको ‘दार्जिलिङमा नेपाली जाति र जनजातीय चिन्हारीका नयाँ अड़ानहरू’लाई ‘पहिलो पहर’को ‘दार्जिलिङको नेपाली जाति ऐतिहासिक अध्ययन’कै सम्बर्धित रूप मान्न सकिन्छ। यो पछिल्लो एउटा नवीन कृतिकै रूपमा प्राप्त हुनाले यसैमा आधारित यो छोटो लेख छ।”

‘नेपाली जाति बुझ्न नेपालको इतिहास नबुझी नहुने’ भनी ठान्ने डा॰ कुमार प्रधानले भारतको इतिहास लेखिदिए पाठ्य पुस्तकका रूपमा। अङ्ग्रेजीमा History of Nepali Literature लेखेर साहित्य र इतिहासलाई जोडिदिए । नेपाली भाषा,साहित्य,पत्रकारिता तथा इतिहास लेखनमा अमिट नाम रहेका डा॰ कुमार प्रधान र उनका कृतिहरूको चर्चा,परिचर्चा,मूल्याङ्कन,विश्लेषण आदि भने अति कम भयो कि? समयमा भएन कि ? प्रश्नवाचक चिन्ह तेर्सिन्छ। यद्यपि ‘कुमार कीर्ति’ले भने यस चिन्हलाई केही पर पन्साइदिएको छ। यसै ग्रन्थभित्रको डा॰ सिन्हाकृत लेखले डा॰ कुमार प्रधानको नेपाली जातीय इतिवृत्तिलाई केलाइदिएको छ । धर्म र राष्ट्रियता परिवर्तनीय रहे तापनि भाषा अपरिवर्तनीय थोक रहेको सत्यतालाई लेखमा उदाहरणसहित प्रस्ट पारिएको देखिन्छ। लेखमा उनको एउटा कथन यस्तो छ-“दार्जिलिङमा बसेका नेपालीहरूको उत्सभूमि नेपाल हो र त्यहाँबाट नेपालीहरू उत्प्रवास भएको कुरो अनर्थक छैन।तर यो कुरो वर्तमान सन्दर्भमा सामाजिकभन्दा ऐतिहासिक बढ़ी हो। पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा नेपालीहरू राष्ट्रवादी बने भने दार्जिलिङमा आएर जातिवादी बने। यहाँ नेपालीहरूको आफ्नो मुलुक थिएन,आफ्नो राष्ट्र थिएन तर आफ्नो एउटा समाज थियो,एउटा बृहत् समाज जस अन्तर्गत सबै जात थिए। खस जाति,किरात जाति एउटै जाति भएका थिए र चिनिन्थे जातिले। चिन्हारीको खोजमा आज भोलि जाति फेरि जात जातमा छुट्टिँदैछ । एउटा जाति पुन: थुप्रै जाति बनिँदैछ । जात नै जाति हो ? जात cast,जाति tribe, community, ethnicity,nation के हो?अङ्ग्रेजीमा राम्रो परिभाषित गर्न नसकेको लाग्छ।”

दार्जीलिङे सामाजिक र राजनैतिक अवस्था र प्रथाले दु:खित भएका डा॰ कुमार प्रधानबारे लेखिएको यस छोटो लेखमा दार्जीलिङको विगत र वर्तमानका भाषीय,जातीय,राजनीतिक,ऐतिहासिक सन्दर्भ र सरोकार विवेचित भएका छन्।

१६. राजनारायण प्रधान राजको डायरी

अतिनिपुण प्रारूपक र प्रयोक्ता हुन् राजनारायण प्रधान मोहनीय भाषा-शैलीका,तीक्ष्ण व्यङ्ग्य र उदर दुखाउने हास्यका भन्दा कतिलाई अत्युक्ति लाग्लान् तर मेरा लागि सत्यता लाग्छ।भाषाशैलीका जादुगर लेखक राजनारायण प्रधानकृत ‘दार्जीलिङ डायरी” विषयक उपर्युक्त लेखमा समीक्षक डा॰ सिन्हाले राजनारायणीय हास्य-व्यङ्ग्यात्मक लेखन विशेषताहरू उल्लेख गरेका छन्। सुप्रतिष्ठित लेखक राजनारायण प्रधानका लेखहरूमा दर्सिएका पाइन्छन् पुरातन र नयाँ दार्जीलिङे रूप र अवस्था हास्य-व्यङ्ग्यात्मक ढाँचामा र साँचामा।

‘दार्जीलिङमा खालि घस्यौटै घस्यौटा मात्र त छन्। घस्यौटे जनतालाई घस्यौटे साहित्य चाहिँदो रहेछ’ भनी आफ्नो लेखनलाई घस्यौटे र हल्का-फुल्का साहित्य भन्नेहरूलाई यस्तो तर्क गर्ने राजनारायण प्रधानका कृतिहरूमध्ये घस्यौटे ठानिएका रचनाहरू नै बगुन्द्रो भएको कृति ‘दार्जीलिङ डायरी’ उनको सर्वाधिक बिक्री भएको कृति मानिन्छ। सन् १९८३ मा छापिएको प्रथम संस्करणका हजार प्रति केही दिन भित्रै सकिएको कुरो दोस्रो संस्करणको प्रकाशकीयमा उल्लिखित पाइन्छ। उनले देखेका विगतमा दार्जीलिङको अवस्था कस्तो थियो (?) र वर्तमानमा पनि कस्तो रहेको छ (?) तीमाथि पनि कटाक्ष गर्दै लिखित उनका लेखहरू पढ़िरहूँ लागिरहने र कतिले घस्यौटै नै सोचिएका भनिए तापनि पाठकलाई लागेको हरहरी पठन तिर्सनालाई भने मेटाइदिने खालका साबित भइसकेका छन्।

डा॰ सिन्हा उल्लेख गर्छन- “ ‘दार्जीलिङ डायरी’ सन् चौँसठदेखि सन् तिरासीसम्म लेखिएका र राजकै सम्पादनमा निस्किने ‘दार्जीलिङ’ साप्ताहिक र अखिल भारतीय नेपाली भाषा समितिको मुखपत्र ‘हाम्रो भाषा’ मासिकहरूमा छापिएका त्रिहत्तरवटा लामा छोटा लेखहरूको सङालो हो ।

तिरासीपछिका यसै थरिका उनका अन्य लेखहरू जुन उनकै सम्पादनमा निस्केको ‘हाम्रो समाज’-मा र अन्यत्र पनि छापिए ती भने यहाँ समाविष्ट छैनन् । हुनुपर्छ। यस कित्ताको उनको मास्टर-पीस हो ‘काली केटी’। ”

नौ नामी नेता,कथैकथा,ठट्टैठट्टा,केहीकृति:केही स्मृति, दश महान नाटक ,दार्जीलिङको कथा र कथाकार,पञ्चे बाजा बजाउँदै,पन्ध्र प्रसिद्ध पुरुष, एउटै धरती एउटै आकाश आदि अनेकौँ कृतिहरूका कृतिकार,समालोचक,निबन्धकार,सम्पादक,शब्दकोशकार राजनारायण प्रधानकृत ‘दार्जीलिङ डायरी’ विषयक लेखमा डा॰ सिन्हाले राजनारायणीय लेखनका नमूनाहरूको प्रस्तुतिमा जुन लेखांशहरू उद्धृत गरेका छन्,तीबाट पनि राजनारायण प्रधानका लेखनमा रहेका सचेतता, तीक्ष्णता, व्यङ्ग्यात्मकता, निर्भीकता,भाषा शैलीगत मिठास आदि स्पष्ट दर्सिएका छन् ।

तर राजनारायणीय कृतिहरूका चर्चा,परिचर्चा,मूल्याङ्कन,विश्लेषण,विवेचना भने न्यून नै भएका छन्।दिवङ्गत भइसकेपछि त सम्झनाधरि धूमिल हुँदै छ कि (?) जस्तो पनि लाग्छ।

१७. रामलाल अधिकारी निबन्धकारी अधिकारी

नेपाली निबन्धकारिताको फाँटमा एउटा अमिट आधिकारिक नाम बनिसकेका रामलाल अधिकारी बहुआयामिक सुप्रतिष्ठित साहित्यकार हुन्। उनी एकाङ्कीलेखन र सम्पादनमा पनि सुचर्चित छन्। उनका निबन्धसङ्ग्रहबाहेक चियाबारी,छोरीछोरी भएको घर,जिजीविषा,लिलाममा छन् मेरा कविता (काव्य/कवितासङ्ग्रह),टीका पनि व्यापार पनि,शंखघोष(एकाङ्कीसङ्ग्रह),आफै जन्मिनेहरू ,थमिनी कान्छी,लालगेड़ी र आँखाहरू(कथासङ्ग्रह),फेरि गुँडतिरै (उपन्यास) पनि प्रकाशित भइसकेका छन्।यीबाहेक उनका नेपाली निबन्धयात्रा,नेपाली एकाङ्कीयात्रा,रसिक रचनावली,विषय परिक्रमा आदि पनि उल्लेखनीय छन्।

सुप्रतिष्ठित निबन्धकार रामलाल अधिकारीलाई आफ्नो लेखको शीर्षकमै ‘निबन्धकारी अधिकारी’ बनाएर रामलाल अधिकारीकृत छवटा निबन्ध सङ्ग्रहबारे विवेचना प्रस्तुत गरेका छन् डा॰ सिन्हाले । उनी लेख्छन् –“छवटा संग्रहमा उहाँले प्राय: डेढ़ सय जति निबन्ध-प्रबन्धहरू दिनुभएको छ। यस विधामा उहाँ भारतका हृदयचन्द्र सिंह हुनुहुन्छ –निजात्मकता,व्यंग्यात्मकता र तार्किकताको हकमा । अझ कथनमा विनोदी भाव र स्वाभाविक हास्यको पुट उहाँको वैशिष्ठ्य मान्नु पर्छ। उहाँका निबन्धन यति सरल र सरस बन्नको कारण विषय वस्तुको सामान्यता र चिन्तनको चाँचल्य प्रमुख हो । उहाँका अधिकांश निबन्धहरू संस्मरणात्मक हुनाले पनि यस्तो हुन सकेको हो।”

डा॰ सिन्हाको उक्त लेखमा निबन्धकार रामलाल अधिकारीकृत ‘भोकाएको कुकुरले के भन्छ’(१९६२),’रवि सप्तमी’(१९७३),अलौटा र ठेटना’(१९७६), ‘निसंस्मरण’(१९९५), ‘विदित अविदित’(१९९८),र ‘भैरवको भूत’(२००२) विषयक सङ्क्षिप्त चर्चा र विश्लेषण प्रस्तुत गरिएको पाइन्छ। रामलाल अधिकारीलाई निबन्धकारीका रूपमा मात्र हेरिएको यस लेखले ‘नेपाली निबन्धयात्रा(१९७५)-लाई पनि उल्लेख गरेको छ । निबन्धकार अधिकारीका निबन्धहरू हास्य-व्यङ्ग्यात्मक,निजात्मक र संस्मरणात्मक हुन्छन र पठनमा रुचिकर लाग्छन् । परन्तु निबन्धकारबाहेक पनि रामलाल अधिकारी नाटककार,उपन्यासकार, कथाकार,कवि,भूमिकाकार, सम्पादक,अभिनेता,भाषा-व्याकरण ज्ञाता आदि पनि हुन्। तर प्राथमिकता र मान्यता भने उनको निबन्धकारका रूपले अधिक पाएको छ । उनीभित्रको बहुआयामिक सर्जक सत्ताले पनि उचित मूल्यन र चर्चा पाउनु बाँकी नै रहेको बोध हुँदछ ।

१८. असित राई साहित्य,साहित्यकार र असित राई

बहुआयामिक साहित्यकार असीत राईकृत ‘साहित्य ,साहित्यकार र म’(लेख-समीक्षा सङ्ग्रह) सन् २००९ मा छापियो। यस पुस्तकभित्र विविध समयमा लेखिएका निबन्ध,प्रबन्ध,समीक्षा,भूमिकारूपी लेखहरू समाविष्ट छन्। डा॰ सिन्हाले आफ्नो लेखमा असीत राईको यसै पुस्तकबारे विवेचना गरेका छन् ।

एघारवटा पृष्ठमा लिखित यस लेखमा असीत राईका उन्तीसवटा लेख-समीक्षालाई केलाउँदै डा॰ सिन्हाले लेखेका छन्-“असितले स्कुल पढ्दादेखि लिएर मृत्युपर्यन्त लेखे। ...पन्ध्रवटा उपन्यास,चारवटा कथा-सङ्ग्रह,तीनवटा कविता-सङ्ग्रह,तीनवटै साहित्येतिहास,एकएकवटा नाटक,लेख-समीक्षा र बाल कविता,दुइ-तीनवटा प्रकाशन प्रतीक्षु सङ्ग्रह गरी झण्डै तीस-बत्तीसवटा जति किताब लेखिएपछि नै थामियो। ...असित राई साहित्यलाई जीवनसित गाँस्ने र साहित्यको अवधारणा उजागर गर्ने सत्प्रयासमा लेख र समीक्षाहरू लेख्छन् अनि आफू साहित्य र साहित्यकारको मध्यस्थ बस्छन्। ...पुनर्पठनमा यहाँ साहित्यमाथि दशवटा लेखहरू छन्,साहित्यकार(हरू)माथि सत्रवटा समीक्षा र आफैमाथि दुइवटा गरी उन्तीसवटा रचनाहरू छन् । ... ‘साहित्य,साहित्यकार र म’ असित राईको लेखक-जीवनको आलेख हो,सात्रेको ‘द वर्डस्’ जस्तो!”

असीत राईको यस पुस्तकभित्र एउटा लेख छ ‘साहित्यमा दासत्व भावना’; जुन लेखलाई एउटा नौलो विषयक प्रबन्ध रहेको तथा भारतको नेपाली साहित्यमा धेरै चर्चित तर कमै लिखित प्रगतिवादी लेखनको एउटा साहसिलो पदक्षेप र गतिलो प्रलेख बनेको मान्छन् समीक्षक डा॰सिन्हा । यस लेखको केलाइमा डा॰ सिन्हाले अन्य लेखहरूका चर्चा र समीक्षणको तुलनामा अधिक पृष्ठ अर्थात् लगभग दुई पृष्ठ नै दिएका छन् ।

साहित्य अकादेमी पुरस्कारद्वारा पुरस्कृत ‘नयाँ क्षितिजको खोज’ जस्तो सुचर्चित उपन्यासको लेखक तथा सन् २०१३ मा साहित्य अकादमीद्वारा प्रदत्त सर्वोच्च सम्मान ‘फेलो’-द्वारा विभूषित प्रथम भारतीय नेपाली साहित्यकार असीत राईकृत ‘साहित्य ,साहित्यकार र म’ कृति विषयक डा॰ सिन्हाको समीक्षा पठनीय छ ।

उपसंहार
यसरी डा॰ गोकुल सिन्हाकृत ‘ज्ञ-देखि अ-सम्म’ देवनागरी वर्णमालाको अन्तिम व्यञ्जन वर्णबाट श्री गणेश भएर पहिलो स्वर वर्णबाट इतिश्री देखाइएको शीर्षकयुक्त समीक्षासङ्ग्रहबारे पाठकीय दृष्टि प्रस्तुत गर्ने जमर्को गरियो। डा॰ गोकुल सिन्हाकृत यस पुस्तकमा सङ्कलित लेख-समीक्षाहरूको अध्ययनबाट हालमा दिवङ्गत भइसकेका साहित्यकार/सर्जक/भाषाविद् आदिका सिर्जना,कर्म र योगदानबारे धेरै ज्ञान प्राप्त हुँदछ । जीवित कालमा सही मूल्याङ्कन र सम्मान नपाएका होलान् कति सर्जकले ,साहित्यकारले,विद्वान् ले । बितेर गएपछि त सम्झनाधरि गर्ने समय नभएको जस्तो समयमा डा॰ गोकुल सिन्हाको समालोचकीय प्रस्तुतिले बिर्सुवाहरू सबैलाई झकझकाइदिएको छ । पुस्तकाकारमा पुन: प्रकाशित भएका छन् राम्रा लेखहरू,पठनीय छन् ती । यस प्रकारको पुस्तकको प्रकाशन-कार्य स्तुत्य छ भन्नु मन लाग्छ। अस्तु।

डाउहिल, खरसाङ, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।