18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गण्डकी प्रदेशमा नेपाली कविताको विकास

विचार प्रा.डा. यदु नन्दन उपाध्याय August 14, 2025, 2:33 pm
प्रा.डा. यदु नन्दन उपाध्याय
प्रा.डा. यदु नन्दन उपाध्याय

विषय प्रवेश
गण्डकी प्रदेश चाँदीझैँ सेतै चम्किरहने हिमाल, शस्यश्यामला पहाड र सम्मो परेर सजिएको भित्री मधेस वा तराईसमेतको भौगोलिक एवं पर्यावरणीय सौन्दर्यले भरिएको नेपालकै मध्यभूमि हो । यहाँका अनन्त जलराशी, उत्तुङ्ग हिमशृङ्ला, हरिया पहाड, अविराल बगिरहने नदी र खोला, झरना, ताल अनि जैविक विविधता र वन्यजन्तुको सुन्दर कलरव सिर्जनशील मस्तिष्कका अनन्त प्रेरणादायी सम्भावनाका स्रोत हुन् । यसका कतिपय पावनस्थलहरू पौराणिक महत्त्वले महिमामण्डित मात्र नभई आधुनिक र उत्तरआधुनिक जीवन र पर्यटकहरूका लागिसमेत विश्वविख्यात छन् । यहाँको बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक विविधता र प्रगाढ एकताको सद्भाव समाजशास्त्रीय अध्ययन र अनुसन्धानका अनन्त अभिप्रेरक विषय छन् । विज्ञान र प्रविधिका साथै उदाउँदै गरेको शैक्षिक भूमि (हब)का रूपमा समेत यसले आफ्ना पाइला चालिरहेको छ र प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोगमार्फत आफ्नो र राष्ट्रकै समृद्धिका अनन्त सम्भावनालाई झल्काइरहेकोछ । यिनै पक्षहरू यस प्रदेशका साहित्यिक मनलाई झक्झक्याउने र सिर्जनात्मक अभिसिञ्चन गर्ने असीम साधन हुन् र यहाँको साहित्य र कविता सिर्जना पनि यिनै पक्षको निरन्तर परिपोषणबाट पल्लवित, पुष्पित र विकसित भइरहेको पाइन्छ ।

नेपाली भाषामा कविता लेखिन थालेको पृथ्वीनारायण शाहको एकीकरण अभियानसँगै हो र गण्डकी प्रदेशमा पनि त्यतिखेरकै गोरखाका कवि शक्तिवल्लभ अर्ज्यालको “तनहुँ भकुन्डो” शीर्षकको वि.स. १८३९ को अनुमान गरिएको कविता सिर्जनाबाट थालिएको मानिन्छ । कविता रचिनका निम्ति पहिला भाषिक सक्षमता आवश्यक हुन्छ । त्यसमा नेपाली भाषाको प्रारम्भ एघारौँ शताब्दीबाट भई सर्वप्रथम विभिन्न अभिलेखहरूमा अनि विभिन्न वाङ्मय ग्रन्थहरूमा विस्तारित र विकसित भएर मात्र कविता सिर्जनामा प्रवेश गरेको हो । त्यति मात्र नभई नेपाली कविताको थालनीमा पुस्तौँपुस्तादेखि भावनात्मक अभिव्यक्तिका माध्यम बनिआएका लोकगीत, लोकगाथा, भजनलगायतका रचनाहरूको लामो मौखिक परम्परा, धार्मिक पौराणिक कथा प्रसङ्गका साथै संस्कृतका शास्त्रीय छन्दका कविता रचनाको सुदीर्घ परम्परा पनि पृष्ठाधारका रूपमा विद्यमान छ । गण्डकी प्रदेशमा नेपाली कविता सिर्जनको पृष्ठभूमि निर्माण गर्नेमा यिनै पक्षहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अब यस प्रदेशको नेपाली कविताको समग्र विकासलाई प्राथमिक काल, माध्यमिक काल र आधुनिक कालमा विभक्त गरी यसको विकास र उपलब्धिलाई तल क्रमशः अनुशीलन गरिएको छ ।

प्राथमिक काल (१८३९–१९३९)
गण्डकी प्रदेशको नेपाली कविताको प्राथमिक कालमा वीरधाराअन्तर्गत शक्तिबल्लभ अर्ज्याल, उदयानन्द अर्ज्याल र राधाबल्लभ अर्ज्याल तथा भक्तिधाराअन्तर्गत कृष्ण भक्तिधारामा वीरशाली पन्त तथा रामभक्ति धाराका रघुनाथ भट्ट (पोखरेल) र भानुभक्त आचार्यजस्ता नेपाली कविताकै शीर्ष एवं नेतृत्वदायी भूमिका निर्वाह गरेका कविहरूको योगदान छ । विधागत दृष्टिले हेर्दा शक्तिवल्लभको “तनहुँ भकुन्डो” पहिलो मुक्तकीय रचना, उदयानन्दका बेताल पच्चिसी र पृथ्वीन्द्रोदय पहिला र खण्डकाव्य समकक्षी रचना, भानुभक्त आचार्यको रामायण पहिलो नेपाली महाकाव्य यसै प्रदेशका स्रष्टाबाट रचिएका छन् । नेपाली कविताको प्राथमिक कालको समग्र उपलब्धिका दृष्टिले सामाजिक चेतनासहितको सन्तधाराका कविता गण्डकी प्रदेशमा रचिएनन् तर पनि तुलनात्मक रूपमा र समग्रतामा यसै प्रदेशका स्रष्टाहरूको भूमिका गरुङ्गो छ ।

विषयगत सन्दर्भमा वीरधाराका कवितामा नेपाल एकीकरणमा संलग्न वीरहरूको यशोगान, प्रोत्साहन र नेतृत्वलाई कूटनीतिक सूत्रसमेत प्रदान गर्ने कार्य भएको छ । शक्तिवल्लभको कविताले तनहु राज्यको आन्तरिक स्थिति र त्यसलाई आफ्नो अधीनमा पार्न चाल्नुपर्ने राजनीतिक (कूटनीतिक) सूत्रसमेत सुझाइएको पाइन्छ । वीरधाराका कवितामा देशनिर्माणमा संलग्न वीरहरूको प्रशंसामार्फत राष्ट्रप्रेमका भावको मौलिक कवित्व अभिव्यक्त छ । भक्तिधाराका कविता संस्कृतबाट अनुवादसमेत भए पनि तिनमा नेपाली समाजको संस्कार र परम्परागत भावनाअनुसार मैलिकता प्रदान गरी जनमानसको चिन्तनको धरातल उठाउने प्रयत्न गरिएको छ । पापकर्मले दुख पाइन्छ, धर्म गर्नाले स्वर्गीय आनन्द भोग्न पाइन्छ अनि उद्यमशील नभई बस्नु हुँदैत भन्ने सन्देशप्रवाहले पनि समाजलाई असल काम र धार्मिक संस्कारमा क्रियाशील हुन अभिप्रेरित गरेको छ यद्यपि दीर्घकालीन र यथार्थ जीवनका लागि ती सबै सन्देश पनि हितकारी होइनन् । त्यति मात्र होइन त्यही धर्मप्रतिको आकर्षणले रामायणजस्तो कृतिको वाचन र श्रवणसहजताले नेपाली भाषाको प्रयोग गाउँगाउँ र टोलटोलका भाषिक समुदायमा विस्तारित हुनु पनि कम उपलब्धिको कुरा होइन ।

भानुभक्तका कतिपय कविताले मानिसमा शिक्षा वा विद्याको महत्त्वबोध गराउनुका साथै उद्यमशीलता प्रवर्द्धनको मान्यता पनि प्रकट गरेका छन् । उनका कृतिमा नारीले घरभित्रका व्यवहारमा गर्नुपर्ने कर्तव्यपालनको व्यावहारिक कुरा केही हदसम्म ठिकै भए पनि नारी वा बुहारीलाई हेप्ने तत्कालीन पुरुषप्रधान मान्यतालाई नै प्रोत्साहित गरिएकोलाई सकारात्मक मान्न सकिन्न । यस दृष्टिले लैङ्गिक विभेदलाई महत्त्व दिने भानुभक्तको कवित्वलाई त्यतिखेरकै सापेक्षतामा पनि आलोच्य मान्नुपर्ने हुन्छ । त्यसमा उनले परिवार र समाजभित्रका आंशिक कुरामा कवितालाई प्रवेश गराएको र नेपाली भाषालाई जनजनमा लोकप्रिय बनाएको पक्षलाई चाहिँ सकारात्मक र उपलब्धिपूर्ण मान्नुपर्छ । शिल्पको प्रयोगका सन्दर्भमा पनि गण्डकी प्रदेशका तत्कालीन कविहरूले बिम्ब, प्रतीक एवं विविध अलङ्कारको प्रयोग गरेर कवितात्मक सौन्दर्य निर्माणको प्रयत्न गरेका छन् । प्रकृति चित्रण र व्यङ्ग्य चेतनासहित सौन्दर्य निर्माणका प्रारम्भिक प्रयत्न भानुभक्तसहितका कविमा पाइन्छ । शास्त्रीय छन्दका विभिन्न लयको सुन्दर प्रयोग, मूलतः नेपाली तत्सम, तद्भवसहितको मौलिक नेपाली भाषाको प्रयोगले गण्डकीको कवितालाई सुन्दर बनाउने प्रयत्न गरेको छ ।

यसरी समग्रमा प्राथमिक कालीन नेपाली कविताको विधागत विस्तार, विषयगत महत्त्व र उपयोगिता, भाषिका विस्तार एवं काव्यशिल्पको उच्चता आदि दृष्टिले गण्डकीका प्रतिभाको अग्रणी र गौरवपूर्ण भूमिका छ । त्यसमा वीरधाराका केन्द्रीय कवि उदयानन्द अर्याल (त्रिपाठी र अरु (सम्पा.), २०५३, पृ.१०५) र लाक्षणिक अर्थमा नेपाली कविताकै आदिकवि भनेर चिनिएका अनि प्राथमिक कालभरिकै केन्द्रीय प्रतिभा भानुभक्त आचार्य गण्डकी प्रदेशकै हुनुले नेपाली कवितामा यहाँको योगदान अरु प्रदेशसँग अतुलनीय नै रहेको प्रस्ट देखिन्छ ।

माध्यमिक काल (१९४०–१९७४)
नेपाली कविताको माध्यमिक काल मोतीराम भट्टबाट थालिएको हो र यसको व्याप्ति गण्डकीका कवि लेखनाथ पौड्यालपूर्वसम्म रहेको छ । यसअन्तर्गत गण्डकीका प्रमुख कविहरूमा बाग्लुङका लक्ष्मीदत्त पन्त, लमजुङका पद्मविलास पन्त, तनहुका तीर्थराज पाण्डे, कास्कीका लेखनाथ पौड्याल, केशवनाथ पौड्याल, कालिदास पराजुली, गोरखाका अग्निधर अधिकारी आदिको प्रमुख योगदान जोडिएको छ ।

यस कालका गण्डकीका कविताको मूल प्रवृत्ति शृङ्गारधाराका साथै भक्ति र नैतिक चेतना प्रकट गर्नु रहेको भेटिन्छ । यहाँका पन्तद्वय र पाण्डे तिनैजना कविहरू मोतीराम भट्टको मोती मण्डलीमा आबद्ध र मोतीरामबाट प्रशंसित प्रतिभा हुन् । पन्तद्वयका कवित्वमा शृङ्गार चेतना मुख्य छ भने पाण्डेका कवित्वमा भक्ति र नैतिक उपदेशको चेतना प्रमुख छ । लक्ष्मीदत्त पन्त मोतीपछिका माध्यमिक कालकै शीर्षकवि हुन् यद्यपि उनको जन्मस्थानबारे मतमतान्तर पाइन्छ । मोतीराम आफैले तीर्थराज पाण्डेलाई सहजकवि भनेर मूल्याङ्कनसमेत गरेर उनको कवित्वको सम्मान गरेको पाइन्छ ।

लेखनाथ पौड्यालका कवितामा कविताकल्पद्रुमबाटै काव्यशिल्पगत परिष्कारको चेतना प्रकट भएको र त्यसैमार्फत माध्यमिक कालीन शृङ्गार धाराको अन्त्य गरी आधुनिक नेपाली कविताको थालनी भएको छ । उनले नेपाली भाषामा रहेका हलन्तसहितको कमजोर भाषिक स्थितिलाई छोडी नयाँ हलन्त बहिष्कारसहितको भाषाको प्रयोग गरेर सामाजिक सचेतता, प्रकृति चित्रण र आध्यात्मिक वैचारिक परिष्कारको आह्वानमार्फत नेपाली कवितामा आधुनिक कालको थालनी गरेका हुन् । कविताको सङ्ख्यात्मक र गुणात्मक परिमाणका दृष्टिले गण्डकीको माध्यमिक काल प्राथमिक कालका तुलनामा गहकिलो हुन सकेको छैन । यति भएर पनि मेतीराम भट्टको केन्द्रीयतामा पल्लवित र विकसित समग्र नेपाली कविताको माध्यमिक काललाई समृद्ध पार्न यहाँका उपर्युक्त प्रतिभाहरूको योगदान उल्लेख्य छ ।

आधुनिक काल (१९७५– हालसम्म)
लेखनाथ पौड्यालबाट थालिएको नेपाली कविताको आधुनिक कालको व्याप्ति वि.स. १९७४ को सूक्तिसिन्धु को प्रकाशनपछि (१९७५) देखि हालसम्मको अवधि मानिन्छ । यद्यपि गण्डकी प्रदेशका सन्दर्भमा भने वैज्ञानिक चेतना र लोकतान्त्रिक परिवेशसमेतका आधारमा २०१० सालबाट आधुनिक काल थालिएको मान्नु उपयुक्त हुन्छ । यस कालअन्तर्गत देखापरेका प्रमुख धारा र ती धाराअन्तर्गत देखापरेका गण्डकी प्रदेशका प्रमुख कविहरूले समग्र नेपाली कवितामा पुर्‍याएको योगदानलाई तल क्रमशः उल्लेख गरिएको छ ।

परिष्कारवादी धारा (१९७५–२०२९सम्म)
नेपाली कवितामा परिष्कारवादी धारामार्फत आधुनिक कालको थालनी गण्डकी प्रदेशका कवि लेखनाथ पौड्यालले गरेका हुन् र यसको विकास र समृद्धिको मूल योगदान पनि उनकै नेतृत्वमा अघि बढेको छ । माध्यमिक कालको नारी सौन्दर्यका नखशिखाको वर्णनको प्रभुत्व रहेको शृङ्गार परम्परालाई तोड्दै नेपाली कवितालाई समाज सचेत आधुनिक कालतर्फ अगाडि बढाउने मुख्य श्रेय कवि लेखनाथलाई प्राप्त छ र उनी नेपाली परिष्कारवादी धाराका प्रवर्तक एवं केन्द्रीय प्रतिभा (त्रिपाठी र अरु, (सम्पा.), २०५३, पृ. ११८) बनेका छन् । उनका फुटकर कविता, पहिलो प्रकृति काव्यका रूपमा प्रकाशित ऋतुविचार अनि स्वयं लेखनाथले नव्यकाव्य भने पनि पष्किारवादी महाकाव्यका रूपमा प्रकाशित तरुणतपसी आदि नेपाली कविताकै र गण्डकी प्रदेशकै पनि ठुला उपलब्धि हुन् ।

ऋतुविचारले नेपाली प्रकृतिको गत्यात्मक ऋतुपरिवर्तनको चक्रलाई परोक्षतः नेपाली ग्रामीण समाज र त्यहाँका जीवन पद्धतिसमेतलाई सुन्दर र सहज तरिकाले अभिव्यञ्जित गरेको छ । तरुणतपसी मा पनि आध्यात्मिक विचारसहितका कतिपय अन्धविश्वास र रुढीवाद विरोधी मान्यतासमेत प्रस्तुत गरी “म खाऊँ मै लाऊँ” को स्वार्थी र भ्रष्ट संस्कारमाथि तिखो आक्रमण गरिएको छ । उनको “नैतिक दृष्टान्त” कविताले समाजोपयोगी व्यावहारिक चेतना र “पिंजराको सुगा” लगायतका रचनामा राणातन्त्रमा बन्दी बनेका नेपालीको स्वतन्त्रताको आकाङ्क्षा मुखरित भएको छ । उनका “बुद्धिविनोद”, “सत्यकलि संवाद” आदि रचनाले पनि नेपाली समाजलाई आत्मिक, नैतिक र सामाजिक परिष्कार र आत्मचिन्तनतर्फ अभिप्रेरित गरेका छन् । भौतिकवादी चिन्तन र वैज्ञानिक जीवनपद्धतिका सन्दर्भमा उनका कविता पुरातन र सामन्तवादी चिन्तनलाई मलजल गर्ने खालका लाग्नु स्वाभाविक भए पनि भ्रष्ट आचारण र स्वार्थी मानसिकतामा निर्लिप्त समुदायका चरित्र सुधारका निम्ति अहिले पनि सान्दर्भिक छन् र सूत्रवाक्यका रूपमा सचेत जनमा कतिपय त कण्ठस्थै पनि छन् ।

पौड्यालले कविता रचनाको थालनीबाटै रस, अलङ्कार, छन्द, गुण आदि काव्यतत्त्वको उपयोगमार्फत कविताको स्तरीयतामा जोड दिँदै शृङ्गार धाराको भोगविलासमा रङमङिएको माध्यमिक कालीन कवितात्मक प्रवृत्तिमा परिष्कारको खोजी गरेको पाइन्छ । साथै भाषिक प्रयोगमा पनि हलन्त बहिष्कारको मान्यतासहितको नयाँ लेख्य व्याकरणको प्रयोगलाई आत्मसात गरी अघि बढाउने काम गरेको पाइन्छ । यसैले लेख्य व्याकरणका अनुशासनमा रही कविता लेख्ने र कविताका भाव, लय, भाषाशैली र शिल्पसंरचनामा संयमका साथै सन्तुलन एवं परिष्कार परिमार्जन चाहने परिप्रेक्ष्यमा नै मुख्यतः यस धारालाई परिष्कारवादी भनिएको हो (त्रिपाठी र अरु, (सम्पा.), २०५३, पृ. ११९) र लेखनाथ त्यसका अगुवा कवि हुन् । उनका कवितामा अभिव्यक्त सहज वर्णमात्रिक छन्दसङ्गीतको आन्तरिक मोहनी पनि निकै उत्प्रेरक र अनुकरणीय पाइन्छ । कविता शिल्पको तत्कालीन परिवेशमा पौड्यालले पुर्‍याएको यो योगदान विशिष्ट र ऐतिहासिक महत्त्वको छ । यसैले कविताको भाव मात्र नभई शिल्पलगायतको भाषामा पनि प्रकट भएको परिष्कारवादी मान्यताले तत्कालीन गण्डकी प्रदेशको नेपाली कवितामा र समग्र नेपाली कवितामा पनि ठुलो योगदान प्राप्त भएको छ ।

लेखनाथ पौड्यालसँगै गण्डकी प्रदेशका कविहरू पूर्णप्रसाद ब्राह्मण, भोलानाथ पराजुली, श्रीप्रसाद घिमिरे आदिका कविताले उठाएका सामाजिक जागरण र राजनैतिक अनुदारताका विरुद्धका विचार विशिष्ट छन् । यहाँको प्रकृतिका विविधतामय सुन्दर रूपको चित्रण गर्ने मकुन्दशरण उपाध्याय, टीकाराम रेग्मी आदिको योगदान पनि अनुज पुस्ताका निम्ति प्रेरक रहिआएको छ । खासगरी काव्यलक्षण ग्रन्थहरूको प्रकाशन, छन्दोबद्ध कविताको सिर्जना, आध्यात्मिक विचारसहितका विभिन्न कथासूत्रलाई पद्यमा आख्यानबद्ध गर्नेजस्ता प्रवृत्ति यस धारामा देखा परेका छन् । खण्डकाव्य र महाकाव्यसमेतको प्रकाशन पनि भएको छ । यी कविहरूका कवितामा भावगत रूपमा लेखनाथकै जस्तो आत्मचिन्तन, आत्मिक नैतिक चेतनाको परिष्कार आकाङ्क्षित रहे पनि सबैका काव्यशिल्पमा परिष्कार पाइन्न । यति भएर पनि समाजमा नैतिक सदाचारको सन्देश प्रवाह गर्न र खासगरी संस्कृतका काव्यशास्त्रीय मान्यताको पालनाको प्रयत्न यस धाराका पछिल्ला कविहरूले गरेको पाइन्छ । समग्रमा लेखनाथ पौड्यालबाट भएको आधुनिक कालको थालनी र अन्य छिटफुट कविसमेतबाट प्राप्त भएको सामाजिक सचेतता र काव्यात्मक स्तरीयताको प्रयत्न नै नेपाली कवितामा गण्डकी प्रदेशको परिष्कारवादी धाराले पुर्‍याएको योगदानका रूपमा स्मरणीय छ ।

स्वच्छन्दतावादी धारा (१९९१ –२०२९सम्म)
गण्डकी प्रदेशमा नेपाली कविताको स्वच्छन्दतावादी धाराको थालनी राष्ट्रकवि माधवप्रसाद घिमिरेबाट भएको छ । लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठको कवित्वमार्फत नेपाली कवितामा भित्रिएको यस धारालाई संयम, सन्तुलन र परिष्कारको मौलिकतासहित विकसित र समृद्ध बनाउने श्रेय घिमिरेलाई जान्छ । उनी नेपाली कविता परम्पराका लेखनाथ पौड्याललगायतका कविहरूबाट प्रेरित भई परिष्कारवादी धारातर्फ झुक्दै र क्रमशः त्यसभित्र स्वच्छन्दतावादी भावधाराको वरणतर्फ पनि उन्मुख हृुँदै आएको पाइन्छ (त्रिपाठी र अरु, (सम्पा.), २०५३, पृ. २३१) । नेपाली जीवनका शताब्दी पुरुष घिमिरेका फुटकर कविता र गीत, बालगीत मात्र होइन उनका प्रत्येक खण्डकाव्य, गीतिकाव्य र गीति नाटक उत्कृष्ट सिर्जना र परिष्कृत काव्यसाधनाका उपज मानिन्छन् ।

घिमिरेका कविताकृतिमा नेपाली गाउँ, वन, पाखापखेरा, नदी किनारलगायतका पहाड र हिमाली लोकजीवनका प्राकृतिक विविधता र सांस्कृतिक महत्त्वका भावहरू अभिव्यक्त भएका छन् । कवितामा ऐतिहासिक, पौराणिक र सामाजिक महत्त्व झल्किनुका साथै कतिपय पुराना रुढीका विरुद्धको भावसमेत व्यक्त भएको छ । उनका रचनाले राष्ट्रप्रेमको गहिरो भाव व्यक्त गर्नुका साथै जीवनमा आशा र मानवतावादी भाव व्यक्त गरेको पाइन्छ । प्रायः नेपाली समाज जीवनका गरिबीका यथार्थ आन्तरिक जीवन सङ्घर्षका समस्यालाई भने उनका कविताले विषयबद्ध गर्न सकेको देखिन्न । कविताशिल्पमा उनी लेखनाथकै परम्परालाई आत्मसात गर्दै रस, छन्द, अलङ्कार आदि काव्यतत्वको साधनापूर्ण उपयोगमा गहिरिने तथा थोरैमा धेरै र गहन भाव व्यक्त गर्ने कवि हुन् । उनको कवित्वमा सरलता र सहजतामा अर्थगाम्भीर्य भल्किन्छ । उनी फुटकर कविता र खण्डकाव्यमा नेपाली कवितामै देवकोटापछिका सर्वाधिक योगदान दिने स्वच्छन्दतावादी स्रष्टा हुनुका साथै गीतिकविता र राष्ट्रिय गीति रचनामा पनि शीर्षतहका प्रतिभासमेत देखापर्छन् । समग्रमा नेपाली स्वच्छन्दतावादी कवितामा देवकोटापछि विशिष्ट क्षमता भएका कवि हुनुका साथै गण्डकीमा त्यस धाराका शीर्ष र अतुलनीय योगदान पुर्‍याउने प्रतिभा हुन् ।

नेपाली कविताको स्वच्छन्दतावादी धारामै गण्डकी प्रदेशका अन्य थुपै प्रतिभाहरूको योगदान जोडिएको छ । धर्मराज थापा र अलि मियाँले लोकगीतको सिर्जन, गायन एवं सङ्कलनसमेतमा पुर्‍याएको योगदान विशिष्ट छ । यी प्रतिभाहरूको योगदान गण्डकीमा मात्र नभई समग्र नेपाली साहित्य र कविता रचनालाई गहिरो प्रभाव पार्ने किसिमको छ । त्यस्तै नब्बेको दसकबाटै कविता सिर्जनमा संलग्न नारी प्रतिभा गोमाका साथै समसामायिक चरणमा पनि सक्रिय भूमिका निर्वाह गर्ने कविप्रतिभाहरू क्षेत्रप्रताप अधिकारी, प्रेमविनोद नन्दन, देवीप्रसाद वनवासी, विश्वप्रेम अधिकारी, गोविन्दराज विनोदी, मेदिनीनाथ सुवेदी आदि प्रतिभाहरूको योगदान स्वच्छन्दतावादी नेपाली कवितामै गौरवपूर्ण उपलब्धि बनेको छ ।

प्रगतिवादी धारा (२००९– २०२९सम्म)
गण्डकी प्रदेशको नेपाली कवितामा आधुनिक कालको थालनी भूपि शेरचन र गोकुल जोशीका प्रगतिवादी कविता लेखनबाट भएको छ । त्यसपूर्व श्यामप्रसाद शर्मा, कृष्णचन्द्रसिंह प्रधान र केवलपुरे किसानलगायतका प्रगतिवादी कवि र भन्ज्याङ्निरै मा कवि तथा समालोचक कृष्णचन्द्रसिंह प्रधानबाट समग्र नेपाली कवितामै प्रगतिवादी कविताको सैद्धान्तिक आधार स्पष्ट पारी कविताहरू पनि प्रकाशित भइसकेका थिए । त्यसै परिप्रेक्ष्यमा प्रगतिवादी नेपाली कवितामा सम्बलता प्रदान गर्ने काम गण्डकी प्रदेशका यी कविहरूबाट भएको छ । यसैले प्रगतिवादी नेपाली कविताको प्रारम्भिक चरणमै वैचारिक सिर्जनामा संलग्न भएर दुबै कविहरूबाट यस प्रदेशको प्रगतिवादी धाराको थालनी हुनुका साथै समग्र नेपाली कविताको विकासमा पनि महत्त्वपूर्ण योगदान प्राप्त भएको छ ।

नेपाली प्रगतिवादी कविताका मूलभूत प्रवृत्तिमा परम्परागत सामन्ती संस्कार एवं पुँजीवादी शोषणका साथै वैदेशिक हस्तक्षेपको विरोध, राष्ट्रियता र देशभक्तिको चेतना, रातदिन मिहेनत गर्ने निम्नवर्गका किसान, मजदुर आदि श्रमिक जीवनका दुखेसाको उद्घाटन, अन्धविश्वास, जातीय एवं लिङ्गीय शोषणको विरोध र न्यायपूर्ण समाजका निम्ति आशावादी चेतना अभिव्यक्त गर्नु रहेका छन् । कविता रचनाको थालनीदेखि नै गोकुल जोशी, भूपि शेरचनसहित भेषजराज शर्मा, केदार शर्मा ढकाल र अन्य प्रतिभाहरूले पनि यिनै मूलपक्षभित्र पर्ने नेपाली गाउँ र सहरभित्रका परिवार र समाजमा पसेर यथार्थहरूलाई बिम्बीकरण गर्ने प्रयत्न गरेका छन् । त्यसमा भूपि शेरचनमा गद्यलयको सौन्दर्य र प्रतीक एवं बिम्बसामर्थ्य अनि गोकुल जोशीका रचनाको सशक्त विचारविन्यासले सम्पूर्ण नेपाली प्रगतिवादी कविका साथै गण्डकी प्रदेशको अनुज पुस्ता प्रभावित भएको पाइन्छ । कविताको कलात्मक सौन्दर्य विन्यासमा भूपिको योगदान अझ उच्च छ ।

समसामयिक चरणअघिको तथा भूपि र जोशीपछिको गण्डकी प्रदेशको प्रगतिवादी कवित्व अझ उपलब्धिपूर्ण हुन भने सकेन । २०१७ सालअघिको खुला परिवेश यस धाराका निम्ति अनुकूल रहे पनि पञ्चायती राजको तत्कालीन अनुदार परिवेशले प्रभावशाली कविहरू जन्माउन सकेन । जोशीको अल्पायुमै निधन अनि भूपिका कवितामा अभिव्यक्त आलोचना प्रबल कलात्मक चेत भने जारी नै रह्यो । यस अवधिको कवित्वमा प्रगतिवादका साथै प्रगतिशील चेतनाको निरन्तरता पाइन्छ र त्यसमा संलग्न कविहरूमा रविकिरण “निर्जीव”, हरिहर खनाल, ईश्वरी ओझा, हेमराज पोखरेल “गर्जन”, मोदनाथ शास्त्री, पीताम्बर नेपालीका साथै दिल साहनी, रविलाल अधिकारी उल्लेख्य छन् । समष्टिमा प्रगतिवादी कवित्वमा भूपि शेरचन र गोकुल जोशीलगायतका प्रतिभाले पुर्‍याएको योगदानले यस चरणको वैचारिक र कलात्मक शिल्पको गहकिलो जग निर्माण गरेको छ । ती र अन्य प्रतिभासमेतबाट प्राप्त परिमाण र गुण दुबैबाट गण्डकी प्रदेशले नेपाली कवितामा उपलब्धिपूर्ण बनेको छ ।

प्रयोगवादी धारा (२०१६ – २०२९सम्म)
गण्डकी प्रदेशको प्रयोगवादी धारामा उपेन्द्र श्रेष्ठ र द्वारिका श्रेष्ठको योगदान जोडिएको छ । जीवनसम्बन्धी शून्यता, निस्सारता, अस्तित्वहीनतालगायतका भावहरूलाई बौद्धिकता र अमूर्ततासहित अभिव्यक्त गर्ने प्रयोगवादी कविताका मूल प्रवृत्ति यी प्रतिभाहरूमा पनि देखिन्छ । यिनीहरूका सुरुका कवितामा सामाजिक क्षेत्रका विकृति र विसङ्गतिको चित्रण पाइए पनि पछि प्रयोगवादी जीवन चिन्तन प्रकट गरिएको छ । त्यसो हुँदा जीवनका दिशाहीनता, निस्सारता, निरर्थकता, अस्तित्वहीनता, निराशा, कुण्ठा आदि भावको अभिव्यक्ति पनि पाइन्छ । यिनका कवितामा विभिन्न बिम्ब, प्रतीक, अलङ्कार, मिथक आदिको प्रयोग पाइन्छ । यस धारामा फुटकर कविताहरू मात्र प्रकाशित भएका छन् । तुलनात्मक रूपमा द्वारिका श्रेष्ठका कवितामा दुर्बोध्य र अमूर्त भावविधान पाइन्छ भने उपेन्द्र श्रेष्ठका कवितामा सुबोध्य भाव पाइन्छ । नेपाली कवितामा नवीनता भित्र्याउने प्रयोगवादी धाराको कविता सिर्जनामा सक्रिय सहभागिता जनाई महत्त्वपूर्ण कविताकृतिसहित योगदान पुर्‍याउनु गण्डकी प्रदेशको उल्लेख्य उपलब्धि हो ।

समसामयिक धारा (२०३० – हालसम्म)
वि.स. २०३० यताको चरण गण्डकीका कविताको समसामयिक चरण हो र यसको अध्ययन सजिलोका निम्ति २०५० सम्म पूर्ववर्ती र २०५१ देखि हालसम्म उत्तरवर्ती गरी दुई भागमा छुट्याउनु उपयुक्त मानिएको छ । यी दुबै चरणका साझा प्रवृत्तिमा समसामयिक जीवनका यथार्थहरूलाई सरल एवं सुबोध तरिकाले अभिव्यक्त गर्नु रहेको छ । यस धाराको नेपाली कविताले विषयगत रूपमा समाजजीवनका बहुआयामिक सन्दर्भलाई समाविष्ट गरेको छ । त्यसमा सबभन्दा बढी करिब पाँच दशकको राजनीतिक, सामाजिक र आर्थिक यथार्थसँग सम्बन्धित समसामायिक जीवन भोगाइहरू नै कवितामा अभिव्यक्त भएका छन् । तिनमा सबभन्दा बढी राजनीतिक विकृति र विसङ्गतिको चित्रणका साथै सामाजिक आर्थिक क्षेत्रका वर्गीय जीवन सङ्घर्ष, व्यक्ति चरित्रको पतनोन्मुख अवस्था, स्वतन्त्रता र मानवअधिकारको भावनाको उद्बोधनलाई व्यापक मात्रामा महत्त्व दिएर प्रकट गरिएको छ ।

कवितामा विचार प्रवाहका सन्दर्भमा गण्डकी प्रदेशको समसामायिक कवितामा यथार्थवादमा आधारित आलोचनात्मक धाराको प्रबलता छ । सामाजिक, सांस्कृतिक, राजनैतिक, प्रशासनिक क्षेत्रका मानिसका व्यक्तिगत एवं संस्थागत आचरण, आर्थिक भ्रष्टाचार, सामाजिक अपराध, चारित्रिक पतनका अनेक भावलाई विषयबद्ध गरेर ती अवस्थाबाट परिवर्तनको भविष्यबोध र आशावादी अभिव्यञ्जना यहाँको मूल प्रवृत्ति बनेको छ । पुरातन धार्मिक सदाचारयुक्त समाज, राजभक्ति, जीवनका निराशा, शून्यता र प्रयोगमा रमाउन उन्मुख कविहरू पनि यहाँ छन् तर त्यस्ता स्रष्टाहरूको ठुलो पङ्क्तिमासमेत आलोचनाको चेत प्रबल रूपमा प्रकट भइरहेको छ । यसैले यहाँका कवितामा सामाजिक जीवनको विविधता छ र सरलताका साथ जीवनानुभव र जीवन समृद्धिका आकाङक्षाहरू परिलक्षित छन् । यस प्रकारको अभिव्यक्ति प्रकट गर्ने निकै राम्रा कविहरूमा प्रगतिवादी चेतना पाइन्छ भने अन्यमा पनि यथाथस्थितिका विसङ्गतिप्रति तिखो आलोचनाको प्रबल भाव पाइन्छ । सारमा गण्डकीका कविता सिर्जनाको मूल वैचारिक धरातल सामाजिक यथार्थमा आधारित आलोचनात्मकता र प्रगतिवादी भविष्यचेतना रहेको छ ।

यस अवधिका कवितामा मान्छेका चरित्रको गिर्दो अवस्था र अनैतिक चरित्रमाथि पनि दृष्टिप्रक्षेप गरिएको छ । भनाइ र गराइमा व्यापक विभेद, राजनीतिक दलका फोस्रा आश्वासन र काम गराइमा रिक्ततामाथि कविहरूको ज्यादै ठुलो असन्तुष्टि प्रकट छ । यसका साथै नेपाली समाजको मूल प्रवाहीकरणमा आउन नसकेका सीमान्तकृत समुदायका समस्याको चित्रण पनि कवितामा महत्त्वका साथ भएको छ । परम्परागत पितृसत्तात्मक संस्कारमा हुर्केका पुरुषको प्रभुत्व र नारीको अधिकारविहीनताको चित्रण पनि गर्दै त्यसप्रतिका असन्तुष्टि र परिवर्तनको अपरिहार्यताको चेतना प्रकट गर्ने काम व्यापक मात्रामा भएको छ । संविधानमा जातीय विभेद र छुआछुतका कुप्रथाविरुद्ध ऐन र नियमहरू बने पनि यथार्थमा भोग्नुपरेका समस्याहरूको चित्रण पनि कवितामा गरिएको छ । त्यति मात्र होइन पिछडिएको क्षेत्र र मधेससमेतका समस्याको चित्रण पनि केही कवितामा गरिएको पाइन्छ । कवितामा राजनीतिक वैचारिक द्वन्द्वसँगै सशस्त्र द्वन्द्वले पनि पर्याप्त भावाभिव्यक्ति पाएको छ । त्यस्ता कविताकृतिमा बढ्ता आग्रहीकरण र युद्धको विरोध एवं शान्तिको पक्षपोषण भए पनि समाज रूपान्तरणका निम्ति युद्धको समर्थनको भावाभिव्यक्ति पनि निकै प्रबलताका साथ अभिव्यक्त भएको छ । यसरी हेर्दा हाम्रो समाज र जनजीवनका जेजस्ता मुद्दा र अपेक्षाहरू छन् ती सबको अभिव्यक्ति समसामयिक कवितामा भएको छ ।

गण्डकीका समसामयिक कवितामा यहाँको जैविक विविधताको महत्त्वबोध गराई तिनको औषधीय उपयोगिताका बारेमा पनि सन्देश प्रवाह गरिएको छ । धार्मिक, प्राकृतिक एवं सांस्कृतिक महत्त्वका यहाँका भौगोलिक विविधतालाई पौराणिक, ऐतिहासिक र लोकसांस्कृतिक गौरवबोधका साथ काव्यात्मक सूचना सङ्केत गरिएको छ । यहाँका नदीहरू, तालहरू, उकाली ओरालीहरू, भन्ज्याङ र देउरालीहरू, धार्मिक स्थलहरू आदिका महिमाहरूको पर्यटकीय एवं दर्शकीय महत्त्वको उद्घाटन गरिएको छ । यस्ता पक्षले नेपाली राष्ट्रियताका सम्पदाहरूको गरिमाबोध हुनुका साथै त्यसमार्फत आत्मनिर्भर र आत्मगौरवयुक्त समृद्धिको उज्यालो सम्भावना झल्काइएको छ । यस क्रममा राष्ट्रप्रेमको गहिरो चिन्तनका साथै वैदेशिक हस्तक्षेप र त्यसमा पनि भारतीय हस्तक्षेपका विरुद्धको गम्भीर असन्तुष्टि र चेतावनीपूर्ण विरोधको चेतना पनि अभिव्यक्त छ । अझ भन्दा गण्डकीका कवितामा देशभक्तिको प्रगाढ र अविरल भावधारा परम्परादेखि नै प्रवाहित छ र सबै धाराका स्रष्टाका भावनामा यसको प्रबल अभिव्यक्ति पाइन्छ ।

गण्डकीका कवितामा युवासुलभ प्रेमप्रणयका भावहरूको प्रभावकारी चित्रण पनि पाइन्छ । यस्ता भावहरू तात्कालिक रूपमा वाहवाही बटुल्न र जीवनमा रमणीयता भरेर मनोरञ्जक आह्लादकता सिर्जना गर्न फलदायी भए पनि कालान्तरमा र सामाजिक इतिहास निर्माणमा तिनले खास भूमिका राख्दैनन् । त्यस्ता रचना पनि केही हदसम्म रचिएका छन् र हरेक नयाँ पुस्ताको प्रवेशका साथै कतिपय पुराना स्रष्टाहरूको मूल प्रवृत्ति नै यही बनेको पनि पाइन्छ । कवितामा समाजभित्रका र परिवारभित्रका व्यावहारिक सम्बन्धका विभिन्न आयामहरूको चित्रण र आत्मीयताका भावहरू पनि अभिव्यक्त भएका छन् । ती सम्बन्धमा आमा र सन्तानका सम्बन्धको प्रगाढ बात्सल्यभावका साथै बाबाको जिम्मेवारीबोधको सम्बन्धको व्याख्या पनि कवितामा निकै मात्रामा गरिएको छ ।

नेपाली जीवनमा प्रतिभा पलायन निकै ठुलो समस्या बनेको छ । युवा बेरोजगारिताको स्थिति र वैदेशिक रोगगारीमा जानुपर्ने बाध्यता अनि फर्केर पैसा र कमजोर शरीर मात्र होइन बाकसमा लास आउने दर्दपूर्ण स्थितिको चित्रण पनि मार्मिकताका साथ कवितामा गरिएको छ । यसका साथै भूकल्प, बाढी, पहिरो, कोरोना महामारी आदि विपत्तिका सामयिक विषयलाई पनि कविहरूले कथ्य बनाएको पाइन्छ । यहाँका कविहरूले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय शीतयुद्धकालीन द्वन्द्व र त्यसपछिका विभिन्न युद्ध एवं आहतका विषयलाई पनि भावाभिव्यक्तिमा साविष्ट गरेको पाइन्छ । यसरी समग्रमा गण्डकी प्रदेशका कविताको मूल प्रवृत्ति साहित्यको सामाजिक चरित्र र समाजका यथार्थको बोधका साथै समाज रूपान्तरणको दिशालाई अभिप्रेरित गर्नु अनि भावक, पाठक वा दर्शक/श्रोतालाई सन्देशमूलक बौद्धिक मनोरञ्जन प्रदान गर्नुको बृहत् परिधिमै केन्द्रित रहेको देखिन्छ ।

गण्डकीका समसामयिक कविहरूमा मुख्यतः २०३० पछि र २०५० सम्म वासुदेव त्रिपाठी, रविलाल अधिकारी, दिल साहनी, रामविनय, तीर्थ श्रेष्ठ, विश्वप्रेम अधिकारी, गोविन्दराज विनोदी, नुमराज बराल, पोषनाथ पौडेल, शारदा शर्मा, देवेन्द्र लम्साल, चिन्तु गिरी, प्रकट पंगेनी, सरुभक्त, कुलबहादुर के.सी., क्षेत्रप्रताप अधिकारी, घनश्याम न्यौपाने “परिश्रमी” हरिदेवी कोइराला, उषा शेरचन, प्रेम छोटा, काजी रोशन, देवीप्रसाद वनवासी, रामप्रसाद अधिकारी, जनार्दन वियोगी, विधान आचार्य, सुकुम शर्मा, मेदिनीनाथ सुवेदी, मुकुन्द शर्मा चालिसे, घनश्याम ढकाल, जगदीशचन्द्र भण्डारी, नारायण परिश्रमी, खुमनारायण पौडेल, नवराज कार्की, गोविन्दबहादुर कुँवर, शान्तिनारायण श्रेष्ठ, नारायण मरासिनी, भीम रानाभाट, भूपेन्द्र गण्डर्षि आदि रहेका छन् ।

२०५१ पछि हालसम्मको अवधिका कविहरू अनेकौँ छन् । तिनीहरूमध्ये प्रमुख कविहरूमा रमेश श्रेष्ठ, भुपिन व्याकुल, अनिल श्रेष्ठ, सरस्वती प्रतीक्षा, गोविन्द सुकुम, सरिता तिवारी, निष्प्रभ सजी, प्रभा भट्टराई, सरस्वती श्रेष्ठ “सरु”, जगन्नाथ रेग्मी, लालगोपाल सुवेदी, कृष्ण उदासी, विष्णु अल्पविराम, लक्ष्मण थापा, नारायणप्रसाद पोखरेल, छविलाल आचार्य, सङ्गीतश्रोता, कल्पना चिलुवाल, लोकनाथ पुडासैनी, मोदनाथ मरहट्ठा, गौरी दाहाल, ध्रुवलाल शर्मा, भक्त कार्की, वसन्त अधिकारी, दीपक “समिप”, सरोज उजाड, लेखराम सापकोटा, कृष्णादेवी शर्मा श्रेष्ठ, भोज विवश, सदानन्द रिजाल, लक्ष्मीकान्त शर्मा पौडेल “लकाश”, रोशन शेरचन, श्यामप्रसाद न्यौपाने, प्रेमराज लुइँटेल, गायत्री “परिरोशनी” ईश्वरमणि अधिकारी, कल्पना श्रेष्ठ, सुदेश सत्याल, प्रदीप रोदन, अल्पज्ञानी, सुवास मल्ल, मिलन समिर, कुमार तामाङ आदि उल्लेख्य छन् ।

कवितामा लय विधानका दृष्टिले गण्डकीमा मूल रूपमा भूपि शेरचनले थालेका गद्यलयको व्यापक प्रयोग पाइन्छ । नयाँ पुस्ताको मूल धार गद्य कवितामै केन्द्रित छ । यहाँ छन्दोबद्ध कविता सिर्जना पनि उल्लेख्य छ । शार्दूलविक्रीडित शिखरिणी, अनुष्टुपजस्ता छन्द त नेपालीकृत छन्दजस्तै भएका छन् र त्यसमा भानुभक्त आचार्य एवं लेखनाथ पौड्यालसहित माधव घिमिरे, मुकुन्दशरण उपाध्यायको परम्पराले अभिप्रेरित गरेको छ । यहाँको केही पुरानो पुस्ताका साथै छन्दोबद्ध कविताको नवजागरणले आकर्षित भएको नयाँ पुस्ता पनि क्रियाशील देखिइरहेको छ । उपविधागत सिर्जनाका दृष्टिले पनि यहाँ करिब तिन दर्जनभन्दा बढी महाकाव्य र दुई सय पचास जति खण्डकाव्यको विस्तृत परिमाण फेला पर्छ । सबैभन्दा बढी सङ्ख्यामा फुटकर कविताको सिर्जना हुनु स्वाभाविक रहे पनि यहाँको नयाँ पुस्ता गजल रचनामा निकै नै आकर्षित देखिन्छ । यस्ता गजलका व्यक्तिगत सङ्ग्रहका साथै संयुक्त सङ्ग्रह पनि निकै प्रकाशित भएका छन् ।

गीत रचना र गायनका क्षेत्रमा गण्डकी प्रदेश निकै उर्वर छ । यहाँको गीत रचना र गायनको आधुनिक कालको पृष्ठभूमि अलि मियाँ, धर्मराज थापा, गोकुल जोशी, झलकमान गन्धर्व आदिबाट भएको तथा त्यसलाई अघि बढाउने कार्य चेतन कार्की, क्षेत्रप्रताप अधिकारी, खुसीराम पाख्रिन, जीवन शर्मा, प्रकट पंगेनी, हरिदेवी कोइराला, पद्मराज ढकाल, राजुबाबु श्रेष्ठ, शीतल गुरुङ, अजयमिलन श्रेष्ठ, पुष्पलता आचार्य, बमबहादुर थापा “जिताली”, भरतकुमार श्रेष्ठ, सूर्य पुर्जा “जहर”, सुमन श्रापित, श्रमिक बराल आदि प्रतिभाबाट भएको देखिन्छ । लोकलय र तिजेगीतको लयका अतिरिक्त विभिन्न गीत, भजन र गीतिकाव्यको सिर्जना पनि उल्लेख्य पाइन्छ । यसका साथै विदेशी गीतको प्रभावलाई तिरोहित र विस्थापित गर्दै उकाली ओराली अनि भन्ज्याङ चौतारीको मौलिक नेपाली जीवनलाई सञ्जीवनी दिने लोकदोहोरी क्षेत्रका प्रतिभाशाली गायक र कलाकारहरूको योगदान पनि अरु प्रदेशका तुलनामा गण्डकी प्रदेशमा विशिष्ट छ ।

गण्डकीको कविता रचनामा लघुतम कविता पनि निकै रचिएका छन् । करिब छ दर्जनभन्दा बढी मुक्तक र त्यसै प्रकृतिका हाइकु, चोका, तान्का, सेदोका, साइनो आदि विधाका थुप्रै कृति नै प्रकाशित भएका छन् । यस प्रकृतिका रचना गर्ने प्रमुख प्रतिभाहरूमा तेजनाथ घिमिरे, शान्तिनारायण श्रेष्ठ, विष्णु अल्पविराम, उषा शेरचन, सरुभक्त, नुमराज बराल, लोकनाथ पुडासैनी, भिम राना “जिज्ञासु”, बाबुराम लामिछाने, भोज विवश, भविलाल लामिछाने, विजय राना, लोकेश पुन मगर, वसन्त अधिकारी, कृष्णप्रसाद पौडेल, सरोज उजाड, भक्त कार्की आदि पर्दछन् । मुक्तकहरू प्रायः रुबाई ढाँचाका छन् । लोकलयमा रचिएका कुलबहादुर के.सी.का कलात्मक मुक्तक पनि सुन्दर छन् । हाइकु, चोका, सेदोका, साइनो आदि नवनव उपविधाको प्रवर्तन र रचना प्रकाशन पनि झनपछि झन भइरहेको छ । यसले लघु आकारका कविता रचनातर्फको स्रष्टा एवं पाठकको आकर्षण बढेको पनि देखापर्छ ।
यस अवधिमा बालबालिकाका मनोवैज्ञानिक एवं सांवेगिक पक्षलाई ध्यान दिँदै उनीहरूको रुचि र जागरुकता बढाउने गरी मनोरञ्जनात्मक तरिकाले साहित्यमार्फत पारिवारिक एवं सामाजिक क्रियाकलापमा सहभागी गराउन सघाउने किसिमका बालकविता, बालगीतहरूको रचना पनि सक्रियतापूर्वक गरिएको छ । माधव घिमिरे, रामबाबु सुवेदीलगायतका व्यक्तित्वले थालनी र विकास गरेको यस उपविधामा समसामयिक चरण अझ उर्वर बनिरहेको छ । यस उपविधामा छायादत्त न्यौपाने, प्रभा भट्टराई, शरद पौडेल, गोविन्दराज विनोदी, भक्त कार्की, श्रमिक बराल, सुरज उपाध्याय आदि प्रतिभाहरूको योगदान उल्लेख्य छ ।

कविता शिल्पसौन्दर्यका सन्दर्भमा पनि गण्डकीका रचना उच्चस्तरका छन् । कविता सोझो र प्रत्यक्ष अभिव्यक्तिको माध्यम नभई घुमाउरो, परोक्ष र उक्तिविचित्रताको अभिव्यक्ति हो । सो अभिव्यक्तिका निम्ति मुख्यतः प्रभावकारी अन्तर्वस्तुका साथसाथै बिम्ब, प्रतीक, मिथक र भाषाशैलीगत रूपपक्षहरूको मूल भूमिका ठुलो हुन्छ । वाञ्छित भावानुकूलका प्रभावकारी बिम्ब, प्रतीक आदिको निर्माण र प्रयोगका निम्ति कविमा कल्पना एवं भावनाको अधिकताका साथै समाज र जीवन ज्युनका लागि गरिएका अन्तर्सङ्घर्षका विविधताको समृद्ध अनुभव अनि तिनलाई नवीनतासहित अभिव्यक्त गर्ने सामर्थ्यको आवश्यकता पर्छ । यो सानोतिनो साधना, हल्का अध्ययन र लगनशील अभ्यासबिना सम्भव छैन । यस किसिमको कवितागर्भको कुरा यहाँका निकै कविहरूमा पाइन्छ । यहाँका भुपिन व्याकुल, अनिल श्रेष्ठ, तीर्थ श्रेष्ठ, रमेश श्रेष्ठ, मित्रलाल पंज्ञानी, नुमराज बराल, लालगोपाल सुवेदी, कल्पना चिलुवाल, प्रदीप रोदन, सरोज उजाड, सुदेश सत्याल आदि निकै धेरै स्थापित र उदीयमान प्रतिभाहरूमा भावस्फुरणको प्रभावकारिता झल्किन्छ । यसरी यहाँका निकै धेरै स्रष्टाहरूमा प्रभावकारी अभिव्यक्ति सामर्थ्य पाइनुले गण्डकी र समग्र नेपाली कविताकै उज्ज्वल भविष्यको सङ्केतसमेत मिल्दछ ।

भाषाशैलीको प्रयोगमा गण्डकीको कविता सरल, सहज र बोधगम्य नै छ । तत्सम शब्दको क्लीष्टता र अङ्ग्रेजी आगन्तुक शब्दको अस्वाभाविकता यहाँका कवितामा प्रायः पाइन्न । कविता सरल र सोझो भाषामा रचिएको वर्णन मात्र नभएकाले उक्तिवैचित्र्यको विशिष्टता अपेक्षित मानिन्छ । त्यस दृष्टिले पनि गण्डकीका कविता प्रभावकारी छन् । कवितामा बिम्ब, प्रतीकलगायतका अलङ्करणका सामग्रीको उपयोग पनि प्रभावकारी तरिकाले गरिएको छ । धेरैजसो पुराना र नयाँसमेत कविमा प्रत्यक्ष वर्णनात्मकता नै पाइन्छ । अविनाश श्रेष्ठ, रमेश श्रेष्ठ, सरस्वती प्रतीक्षा आदिका कतिपय कवितामा सरलताको परिधि नाघेको भेटिए पनि तीर्थ श्रेष्ठ, अनिल श्रेष्ठ, भुपिन व्याकुल, मित्रलाल पंज्ञानी, नुमराज बराल, लालगोपाल सुवेदी आदिका कवितामा सरलता र अर्थगाम्भीर्यको उच्चता भेटिन्छ । सरल कवितामा भावको घतलाग्दो गहिराइ मापन गर्ने कविता गण्डकीमा निकै पाइन्छन् ।

निष्कर्ष
गण्डकी प्रदेशको नेपाली कविताले प्राथमिक कालदेखि नै समग्र नेपाली कविताकै नेतृत्वसमेत गर्दै महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । थालनीको वीरधारा र भक्तिधाराको नेतृत्व यस प्रदेशका उदयानन्द र भानुभक्तका कवित्वबाट भएको छ । माध्यमिक काल पनि मोतीमण्डलीमा आबद्ध भई गण्डकीका कविहरू प्रशंसित भएका छन् र समग्र नेपाली कविताको आधुनिक कालको थालनीको नेतृत्व पनि लेखनाथ पौड्यालका माध्यमबाट गण्डकीले नै गरेको छ । माधवप्रसाद घिमिरे देवकोटापछिका स्वच्छन्दतावादी नेपाली कवितासाहित्यका शीर्ष प्रतिभा नै हुन् । भूपि शेरचन र गोकुल जोशी प्रगतिवादी नेपाली कविताको थालनीकै चरणमा देखापरी भूपिले कलात्मक र जोशीले वैचारिक उत्कृष्टताको नेतृत्व नै गरेको पाइन्छ । प्रयोगवादी कवित्वमा पनि गण्डकीको योगदान उपेन्द्र श्रेष्ठ, द्वारिका श्रेष्ठ आदिबाट भएको छ । त्यस्तै लोकसाहित्य र खासगरी लोकगीतको रचना, गायन र सङ्कलनका दृष्टिले अलि मियाँ, धर्मराज थापा, झलकमान गन्धर्व, आदिको योगदान विशिष्ट छ । समसामायिक चरणमा पनि यहाँका कविले यथार्थ जीवन सङ्घर्षका विविधतासहित, प्रकृति, देशप्रेम आदि पक्षमा प्रभावशाली उपस्थिति जनाउँदै सामाजिक जीवनको समृद्धिलाई सघाइरहेको पाइन्छ । नेपाली साहित्यका सम्भवतः हाल पनि सर्वाधिक बिक्री हुने चारवटामध्ये तिनवटा (रामायण, गौरी, घुम्ने मेचमाथि अन्धो मान्छे) कविताकृति गण्डकी प्रदेशकै रहेको तथ्यले पनि यस प्रदेशको काव्यिक घनत्व र लोकप्रियतालाई सङ्केत गर्नुका साथै समग्र नेपाली कविताकै नेतृत्व पनि गण्डकीले गरिरहेको स्पष्ट देखिन्छ ।
सन्दर्भ सूचीः
अधिकारी, बाबुराम (२०६४), “कास्की जिल्लाको साहित्यिक सर्वेक्षण” लघु अनुसन्धान, पोखरा : पृना क्याम्पस ।
उपाध्याय, यदुनन्दन (२०७१), “गण्डकी अञ्चलका सहित्यकार”, भाद्र १४, २०७१ मा शमीसम साहित्य प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा प्रस्तुत गोष्ठीपत्र ।
उपाध्याय, यदुनन्दन (२०७८), “गण्डकी प्रदेशको नेपाली कविताको इतिहास” काठमाडौँ : नेपाल प्रज्ञाप्रतिष्ठानमा प्रस्तुत अनुसन्धान प्रतिवेदन ।
खनाल, नारायणप्रसाद (२०६१), गोरखाको डायरी, गोरखा : हरि सांस्कृतिक केन्द्र ।
त्रिपाठी, वासुदेव र अरु (सम्पा.) (२०५३), नेपाली कविता (भाग ४), ललितपुर : साझा प्रकाशन ।
पौडेल, विष्णुप्रसाद (२०६८), मुक्तक सिद्धान्त र पोखरेली मुक्तकका मूल प्रवृत्ति, पोखरा : सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान ।
पौडेल, षडानन्द (२०७६), धवलागिरिको नेपाली साहित्य, पर्वत : पर्वत सहित्य सङ्गम ।
प्रभात, विष्णु (सम्पा.) (२०७०) साहित्यकार–कलाकार कोश, काठमाडौँ : नेपाल प्रज्ञाप्रतिष्ठान ।
श्रेष्ठ, दयाराम र मोहनराज शर्मा (२०४९), नेपाली साहित्यको संक्षिप्त इतिहास, ललितपुर : साझा प्रकाशन ।

पृथ्वीनारायण क्याम्पस, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।