19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अक्षरमा कुँदिएको कैलाश यात्रा

कृति/समीक्षा केशरी अम्गाईं August 17, 2025, 5:25 pm
केशरी  अम्गाईं
केशरी अम्गाईं

१. विषय प्रवेश
‘तिब्बतमा हावासँगै मन्त्र बग्छन् । यहाँका पहाडका सतहमा कुँदिएका छन् समयका पदचिह्न । शाश्वत शान्तिको प्रतिमूर्तिझैँ लाग्ने यो दिव्य भूमिमा आकाश आफैँ निहुरिएर धर्ती छोएको अनुभव हुन्छ ।’ (हृदयको गहिराइबाट)


आफ्नो नवीनतम कृति ‘कैलाश कोरा’मा नियात्राकार यसरी हृदयको गहिराइबाट पाठक आफूसँगै हिँडाउन चाहन्छन् । उनका अघिल्ला दुई कृतिहरूमा मैले बेग्लै जादु भेटेको थिएँ– यात्राको आनन्दानुभूतिसँगै स्थानीय संस्कृति, इतिहासको स्वाद अनि भाषिक मिठास । पठनको त्यही आनन्द सम्झँदै हातमा लिएको छु ‘कैलाश कोरा’ र उनीसँगै यात्रामा सामेल हुने तयारीमा छु । नियात्राकारले आफ्नै अनुभूतिलाई शाब्दिक मर्ममा पोखेको ‘हृदयको गहिराइ’को पठन सुरुवातसँगै राजेन्द्रमानको यायावर जीवनसँगै झाङ्गिदै गएको लेखनयात्रालाई पनि मनमा गम्दै छु ।


२. नियात्रामा राजेन्द्रमान
नियात्राकार राजेन्द्रमान डङ्गोल (२०२६) नेपाली नियात्रा फाँटमा नवीन शिल्प र शैलीका पर्याय बन्न पुगेका छन् । ‘यात्राका पाइला’ (२०७६), ‘पैतालामा हिउँ, आँखामा हिमाल’ (२०७८), ‘बादलडाँडा’ (२०८०) पछि ‘कैलाश कोरा’ (२०८२) नवीनतम नियात्रा कृति लिएर देखा परेका छन् । हरेक दुई–दुई वर्षको अन्तरमा उनी नयाँ कृति लिएर नेपाली यात्रा साहित्यको फाँटमा यात्री बनेर आउनु संयोग मात्र हो वा योजना, उनै जानून् । तर, योजनाबद्ध लेखनका साथ आएका हुन् भने एकपछि अर्को अब्बल कृति पस्कने कर्मले नेपाली नियात्राको मार्गलाई उनले सङ्ख्या र गुणस्तर दुवै दृष्टिले फराकिलो बनाउने निश्चित छ ।


राजेन्द्रमान ७० को दशकमा नियात्राकृति लिएर देखापरेका नियात्राकार हुन् । तर, ६ वर्षको अवधिमा चारवटा कृति दिएर आफूलाई निकै सक्रिय यायावर र सर्जकका रूपमा उभ्याएका छन् । उनको पहिलो कृतिमा १० नियात्राहरू प्रकाशित छन् भने दोस्रो कृतिमा ३१ नियात्राहरू रहेका छन् । तेस्रो कृतिमा २१ रचना रहेका छन् भने यस पछिल्लो समीक्षित कृति ‘कैलाश कोरा’मा ११ नियात्रा रहेका छन् । यसरी सङ्ख्याको गणितमा उनका ७३ वटा नियात्राहरूले पुस्तकाकार रूपमा पुनर्जन्म पाएका छन् । अघिल्ला तीनवटा कृतिहरूमा विभिन्न ठाउँका यात्रा अनुभूतिलाई समेटिएको छ भने चौथो कृति कैलाश यात्रासँग मात्र सम्बन्धित रहेको छ । यस अर्थमा पनि ‘कैलाश कोरा’लाई उनको विशेष कृति मान्न सकिन्छ ।


३. गुमनाम नियात्रा रचना
त्यसो त राजेन्द्रमान २०७६ मा नियात्राकृति ‘यात्राका पाइला’ लिएर नियात्रा फाँटमा पदार्पण गरेका हुन् । तर, उनको नियात्राको सृजनयात्रा भने ५० को दशकबाट नै सुरु भएको हो ।

उनी पेसाले पर्यटन व्यवसायी, रुचिले यायावर । पर्यटन व्यवसायबाट रोजीरोटी जुटाउँछन् । पर्यटकसँगै आफू पनि घुम्छन् र शब्दको खेतीमा आफ्ना अनुभूतिहरूलाई गोडमेल गर्छन् । शब्दसँग खेल्ने त्यही हुटहुटीले लेखेका थिए, २०५६ सालतिर नै ‘त्रिशूलीदेखि धादिङबेसीसम्म’ । अमेरिकी दम्पती भर्न किङ्सफोर्ड र एलिजावेथसँग एक हप्ताको क्याम्पिङ ट्रेकिङ थियो त्यो । पदमार्ग थियो– त्रिशूली, देउराली, मेघाङ, सामरी भञ्ज्याङ, कटुन्जे, ज्यामरुङ हुँदै धादिङबेसीसम्म । तर अफसोस, उनको पहिलो नियात्रा अप्राप्य छ । त्यो रचना हराएकोमा न त उनी विषाद नै मान्छन् । त्यसो त वि. सं. २०५८ मा ‘गन्तव्य नेपाल’ पत्रिकामा प्रकाशित गोसाईंकुण्डको नियात्रा पनि उनका कृतिमा भेटिँदैनन् । ‘म नाटकको वियोगान्त पात्र’ शीर्षकीय कविता २०६० मा ‘त्रिशूली प्रवाह’ प्रकाशित भएपछि उनको साहित्यमा निरन्तरता आएको देखिन्छ ।


४. यसरी सुरु गर्छन् मानसिक तयारी
पेसाले पर्यटन व्यवसायी हुन् राजेन्द्रमान, शब्दको खेती उनको नशा । यात्राका दृश्यलाई हृदयबाट छाम्छन् र शब्दमा पोख्छन् । भावनालाई हृदयबाट बोध गरेर पोख्ने शब्दशिल्पी हुन् उनी ।


‘हृदयको गहिराइबाट’ यसरी डोर्‍याउँछन् कैलाश यात्रामा– ‘यो फगत एउटा हिमाल मात्र होइन, अनेकौँ रहस्यहरूको परत, आस्थाको अडान र अनगिन्ती सभ्यता, संस्कृति एवम् कथाको स्रोत हो ।’


‘कैलाश यात्राको आकाङ्क्षा र यात्राको अवसरलाई शब्दमा व्यक्त गरिएको छ ‘हृदयको गहिराइ’मा भने ‘आस्थाको शिखर यात्रा’ शीर्षकमा कैलाश यात्राको इतिहास खोतल्दै विचार र अनुभूति शब्दमा यसरी अभिव्यक्त गर्दछन्– ‘प्रत्येक पाइला एउटा सिङ्गो कथा, प्रत्येक उकालो अर्को रोमाञ्चक अध्याय । प्रत्येक श्वास एक चुनौती, प्रत्येक पल एक आत्मसङ्घर्ष । हिउँको प्रत्येक ढिक्का एक मौन साक्षी, बतासको प्रत्येक झोक्का एक दिव्य स्पर्श ।’ (आस्थाको शिखर यात्रा)


५. अनुभूतिको शब्दविम्ब
‘कैलाश कोरा’मा ‘आस्थाको शिखर यात्रा’ मूल शीर्षकमा ११ वटा नियात्रा रचना समाहित छन् । हरेक नियात्रामा उनले पाठकलाई यात्रामा आफूसँगै डोर्‍याउँछन् र प्राकृतिक सौन्दर्यमा डुबुल्की लगाउँदै भावनाको गहिराइमा पुर्‍याउँछन् । कतै यात्रासँगै पर्यटन विकासका लागि नेपालमा गर्न सकिने कार्यहरू सुझाउँछन् भने कतै अनन्त सम्भावना भएर पनि व्यवस्थित गर्न नसकेकोमा दुखेसो व्यक्त गर्छन् । कुनै आध्यात्मिक आस्थासँग जोडिएका मिथकहरू सुनाउँछन् भने कतै कठोर प्रकृतिले सुनाउने जीवनका कोमल भावहरू सुनाउँदै दार्शनिकजस्तै बन्छन् । पर्यावरणीय परिवर्तनले भविष्यमा पार्ने असरको विषयलाई लिएर उनी कतै चिन्तित हुन्छन् भने कतै आधुनिक विकासका कारण प्रकृति र आध्यात्मिक आस्थाका धरोहरहरूले मौलिक पहिचान नै गुमाउनुपर्ने पो हो कि भनेर त्रसित हुन्छन् । यसैगरी, उनी कतै अहिलेको यात्राको सहजताको अनुभूति पस्कन्छन् त कतै इतिहासमा यात्राका कहालीलाग्दा कहरहरू कहन्छन् ।


‘उन्मत्त भोटेकोशी : सीमापारको अनुभूति’ नियात्रामा भोटेकोसी पार गरेर केरुङसम्म पुग्दाको अनुभूति आएका छन् । सीमापार गर्दाको सकस, वारि र पारि देखिएको व्यवस्थापन र विकासको भेद यसमा आएका छन् । भौतिक विकासमा चीनले गरेको प्रगतिको छन्क केरुङमा देखाउँछन् नियात्राकार र तुलना गर्छन् हाम्रो पिछडापनसँग । अनि गर्छन् खिन्नताबोध– ‘यस्तो दृश्यले देशको योजना, प्राथमिकता र व्यवस्थापनप्रति गहिरो प्रश्न उठाउँछ । साँच्चै, विकासको गति किन यति असमान ?’ (पृष्ठ १०)


केरुङदेखि सागासम्मको दृश्य र अनुभूतिलाई लिपिबद्ध गरिएको छ ‘विश्व छानोको सौन्दर्य’ नियात्रामा । यसमा नियात्राकार नेपाल र तिब्बत बिचको सांस्कृतिक सम्बन्धलाई शब्द–सेतुले यसरी जोड्छन्, केरुङमा देखिएको गुम्बाको वर्णन गर्ने क्रममा– ‘नेपाली संस्कृति र आस्थालाई बोक्दै यसले विदेशमा आफ्नो जरा फैलाइरहेको वटवृक्षजस्तो अनुभव गराउँछ ।’ (पृष्ठ २३) ।


सागातर्फ अगाडि बढ्दै गर्दा गाङ्चेन गाङ्पो अर्थात् भोटेकोशीको दृश्यको अनुभूति र विचारलाई शब्दमा यसरी उन्ने प्रयत्न गर्छन् उनी– ‘.... धमिलो रहस्य बोकेर बग्दै गरेको देख्दै छु यार्लुङ चाङ्पोलाई । सक्रिय प्रवाह हो– धमिलो नदी । यसले महसुस गराउँछ– हिमालको मुटुको धड्कन । यसले बोकेको छ– पहाडहरूको आत्मा ।’ (पृष्ठ २६) ।

यात्राको कठिनाइसँगै भोजनको आनन्दलाई यसरी काव्यिक भाषामा वर्णन गर्दछन् नियात्राकार– ‘हामी भोकको मन्दिरमा अन्नको दीप जलाउँछौँ । हरियो चउर बन्छ हाम्रो भान्साको चौपारी ।’ (पृष्ठ ३१) । यार्लुङ चाङ्पो अर्थात् ब्रह्मपुत्र नदीको किनार हुँदै सागा पुग्छन् नियात्राकार, आफ्नो टोलीसँगै र अर्थ खोज्छन्– सागाको, ‘सा’ अर्थात् ‘धर्ती’, ‘गा’ अर्थात् ‘मनपर्नु’ अर्थात् तिब्बती अर्थ ‘मनपर्ने धर्ती’ । उनको समूह उचाइ अनुकूलनका लागि दुई दिन यहीँ बस्दै छ ।


‘उचाइसँग मित्रता’ उचाइ अनुकूलन हुनका लागि ४,६४० मिटरको उचाइमा रहेको सागामा बस्दाको अनुभूति समेटिएको नियात्रा हो । यसमा उच्च भूगोलमा यात्रा गर्दा हुने कठिनाइ र जोखिम तथा त्यसको समाधान पनि सुझाइएको छ । ब्रह्मपुत्रको मिथक अनि नदीको फैलावटको अनुभूति टिपिएको छ यहाँ ।


उनी लेख्छन्– ‘ब्रह्मपुत्र नदीको यात्रा जलप्रवाह मात्र होइन, यो त समयले लेखेको एउटा सजीव महाकाव्य हो– जहाँ प्रत्येक मोड, प्रत्येक गर्जन र प्रत्येक गहिराइले कथा बोलिरहेका हुन्छन् ।’ (पृष्ठ ४२) ।


यात्राको कठिनाइलाई कति सौम्य भाषामा चित्रण गर्छन् उनी– ‘कैलाश यात्रा भनेको पीडालाई जितेर अघि बढ्ने अदृश्य शक्ति र साहसिकताको प्रतीक रहेछ ।’ (पृष्ठ ३८) । ‘यात्रा भनेको गन्तव्यमा पुग्ने कुरा मात्र होइन, बाटोमा सिकिने अनेकौँ पाठहरूको सँगालो पनि हो ।’ (पृष्ठ ४७) ।


राक्षस ताल र मानसरोवरसँग जोडिएको संस्कृति, मिथक, आध्यात्मिक भाव र त्यहाँको प्राकृतिक सौन्दर्यको वर्णन रहेको छ ‘मौन सरोवरमा आध्यात्मिक विम्ब’ नियात्रामा । सागाबाट ४८० कि.मि. दूरीमा रहेको मानसरोवरको यात्रामा देखिएका प्रकृतिका मनोरम दृश्यको वर्णनका साथै नियात्राकार कैलाश र मानसरोवर दर्शनमा नेपाललाई कसरी जोड्न सकिन्छ (पृष्ठ ५१) भन्ने योजना पनि मनमनै प्रस्तुत गर्छन् ।


नेपालको मुस्ताङ, मुक्तिनाथ र दामोदरकुण्डलाई कैलाश यात्रामा जोड्न सकिने धारणा रहेको छ उनको । भजनको विश्लेषणमार्फत शैव दर्शन खोतल्न पुग्छन् उनी । अनुभूतिका कोमल भावसँगै गतिशील छ उनको समूहको यात्रा । उनीहरू यात्रु बसमा यात्रारत छन् । हनुमान तालको रौद्र रूप र मानसरोवरको सौम्य र आध्यात्मिक भावको वर्णन यसैमा आएको छ । मानसरोवर परिभ्रमण गर्दै गर्दा मनमा उठेका आध्यात्मिक छाल र मनको शान्ति, प्राकृतिक सौन्दर्यको भव्यतामा आह्लादित मनलाई शब्दमा पोख्ने प्रयत्न गरिएको छ यस खण्डमा । सूर्यास्तलाई यसरी काव्यिक स्वरूप दिन्छन् नियात्राकार– ‘थुम्कोमा पुग्दा आकाशमा सुनौलो र रातो रङको अनुपम खेल बाँकी राखेर सूर्य पश्चिम क्षितिजमा डुबिसक्छ ।’ (पृष्ठ ६१) ।

‘किंवदन्तीको गुफा, शान्तिको पहाड’ नियात्रामा मानसरोवरस्थित धर्मशाला र त्यसको नजिकै रहेको चिउ गुम्बा यात्राको अनुभूतिलाई समेटिएको छ । धर्मशालामा बास बस्दाको रातको वातावरण र अनुभूति त आएकै छ यसमा, यसका साथसाथै यातायातको सुविधा हुनुअघिको यात्राको सकसको वर्णन पनि प्रस्तुत गरेका छन् लेखकले । यसले समयसँगै यात्रा कसरी बदलिएका छन्, कसरी सहज र सुविधायुक्त हुँदै आएको छ भन्ने देखाउँछ । धर्मशालाबाट जम्मा २० मिनेटको पैदल यात्रामा रहेको चिउ गुम्बासम्मको एकल यात्राका क्रममा नियात्राकार अनुभूत गर्छन्– ‘लाग्छ, यो त गन्तव्य मात्र होइन, शरीर र आत्मा दुवैको यात्रा हो ।’ (पृष्ठ ७१) ।


पद्मसम्भवसँग जोडिएको चिउ गुम्बाको ऐतिहासिकता र मिथकीय सन्दर्भ खोतल्दै नियात्राकार त्यहाँबाट देखिएको अलौकिक प्राकृतिक दृश्यको वर्णन गर्दछन् र अध्यात्मबोधको अनुभूति गर्छन् । (पृष्ठ ७३) । छोटो यात्रामा अनुभूतिको गहिराइ र आध्यात्मिक शान्तिको बोध यस नियात्राको विशेषता हो ।


‘धार्चेनको कथा’ मानसरोवरबाट ४० किलोमिटर टाढा धार्चेनको दृश्य, अनुभूति, विकास र अध्यात्मबोध प्रस्तुत गर्ने नियात्रा हो । धार्चेन कैलाश यात्राको अर्को गन्तव्यस्थल हो, जहाँबाट कैलाश परिक्रमा सुरु हुन्छ । धार्चेनका लागि निस्कनुअघि मानसरोवरमा तीर्थालुहरूको गतिविधि देखेपछि विचार गर्छन् नियात्राकार– ‘पूजा धार्मिक अनुष्ठान मात्र नभई जीवनको सारतत्त्वलाई महसुस गर्ने अवसर पनि रहेछ ।’ (पृष्ठ ८०) ।


विकासले आधुनिक तथा लुङ्दार, वास्तुसंरचनाले रचन र व्यवहारले प्राचीनता झल्काउने धार्चेनको सांस्कृतिक सौन्दर्यमा मोहित हुन्छन् नियात्राकार र खोजी गर्छन् त्यहाँका सांस्कृतिक–धार्मिक तीर्थहरूको । ग्यान्द्राक गुम्बा, सेलुङ गुम्बा, नन्दी डाँडा, सार्दुङ युक्सुङ गुम्बा आदि १४ कि.मि. को आन्तरिक परिक्रमा मार्ग यहाँबाट सुरु हुने जानकारी दिन्छन् नियात्राकार । ‘धार्चेन, नेपालीको हिमाली क्षेत्रका मानिसका लागि सांस्कृतिक र व्यापारिक सम्बन्धले जोडिएको ठाउँ हो,’ भन्दै यो सानो व्यवस्थित बस्तीको सौन्दर्य खोज्न छोटो पैदलयात्रा गर्छन् उनी ।

कैलाश परिक्रमाको आध्यात्मिक अनुभूतिलाई प्रस्तुत गरिएको छ ‘मोक्षको पदचिह्न’ नियात्रामा । धार्चेनबाट दिराफुकतर्फको पैदलयात्राका क्रममा आएका ठाउँहरू– थारकोचे र यमद्वारसँग जोडिएका जनविश्वासलाई टिप्ने प्रयत्न गरिएको छ यसमा । प्रकृतिको पाइला–पाइलामा मिथक, पाइला–पाइलामा आध्यात्मिक आस्था र श्रद्धा, अनि यात्राको सकसलाई आध्यात्मिक श्रद्धाको बलमा जितेको अनुभूति आएका छन् यहाँ । महाभारतका पाण्डव यमद्वार पार गरेर जिउँदै स्वर्ग गएको मिथकलाई सम्झँदै त्यो द्वार त्यही हुनुपर्ने आकलन गर्छन् लेखक । उनी त्यहाँको आध्यात्मिक मूल्यलाई बोध गर्ने प्रयत्न गर्छन् र आफ्ना अनुभूतिलाई शीर्षक दिन्छन्– ‘मोक्षको पदचिह्न’ ।


कैलाश परिक्रमाका लागि अपनाउनुपर्ने सावधानीबारे विचार प्रस्तुत गरिएको छ यहाँ (पृष्ठ ९६) र जानकारी दिएका छन् नियात्राकारले कैलाश परिक्रमाका तयारी र प्रक्रियाबारे । यात्रामा भेटिएका तीर्थयात्रीहरूसँगको संवाद र मौन संवादले पनि स्थान पाएको छ यस खण्डमा । यात्राको कठिनाइबिच पनि अनुहारमा देखिएको आनन्द भावलाई नियात्राकार यसरी उन्छन् शब्दमा– ‘शान्ति र श्रद्धाले यो क्षणलाई दिव्य बनाउँछ । लाग्छ– यहाँ केवल आस्था र भक्ति प्रवाहित भइरहेको छ ।’ (पृष्ठ १०५) ।


यस खण्डमा नियात्राकार शब्द–शब्दमा अध्यात्म पोख्न खोजेका छन् । प्रकृतिमा अध्यात्म देख्छन्, हरेक तीर्थयात्रीको आँखामा भक्ति देख्छन् र आनन्दभाव पढ्छन् ।

दिराफुक (५०४० मि.)मा एक दिनको बसाइ र दिराफुकबाट थलीसम्मको यात्रा अनुभूति, कैलाश पर्वत आरोहणको इतिहास, कैलाशको आध्यात्मिक अर्थ र भावको खोजी गरिएको छ ‘रहस्यहरूमा रुमलिँदा’ नियात्रामा । कैलाश दर्शनको अध्यात्मभावलाई यसरी टिप्छन् नियात्राकार– ‘उनीहरूको संवाद सुन्दा यस्तो लाग्छ– कैलाश एउटा जीवित शक्ति हो । यसले आस्थालाई परीक्षण गर्छ, मनलाई शान्त बनाउँछ र अव्यक्त गहिराइमा डुबाउँछ ।’ (पृष्ठ ११०)


‘रहस्यहरूमा रुमलिँदा’ नियात्रामा कैलाशको आध्यात्मिक भाव हिन्दु धर्मसँग मात्र नजोडिएर बौद्ध, जैन र बोन धर्मसँग पनि जोडिएको जानकारी गराउँदै कैलाश धार्मिक एकत्व भावको प्रतीक भएको विचार व्यक्त गर्छन् । (पृष्ठ १११) त्यस्तै, पृथ्वीको चुम्बकीय शक्तिको केन्द्रविन्दु (पृष्ठ ११२) मा रहेकोले कैलाश रहस्यको केन्द्र रहेको धारणा राख्छन् । नियात्राको यो खण्ड पढ्दै गर्दा दिराफुकबाट थलीसम्मको यात्राको अनुभूतिसँगै पाठकमा आध्यात्मिक भाव उत्पन्न गराउन लेखक सफल छन् । प्रकृतिको रहस्य र संयोग आकस्मिक हो कि कुनै अलौकिक दैवी शक्ति– नियात्राकार आफू तटस्थ बसेर पाठक मनलाई झङ्कृत पार्छन् ।


कैलाश परिक्रमाको ५२ कि.मि. मार्गको उच्चतम उचाइ डोल्मा ला (५६३० मि.) पार गरेर जुथुलफुकसम्मको यात्राको क्रममा गौरीकुण्डसम्मको यात्रा अनुभूतिलाई समेट्दै यात्राको कठिनाइ, प्रकृतिको आध्यात्मिक भावको खोजी र अध्यात्मभावको आत्मिक अनुभूतिलाई प्रस्तुत गरिएको छ– ‘डोल्मा ला’ नियात्रामा । यात्रासँगै अनुभूतिको गहिराइमा डुबुल्की मार्छन् नियात्राकार र दार्शनिकजस्तै अभिव्यक्त गर्छन्– ‘यो यात्राको सौन्दर्य यही हो, जहाँ दुःख नै तपस्या, सङ्घर्ष नै मुक्ति र हरेक उकालो पुनर्जन्मको प्रतीक जस्तो ।’ (पृष्ठ १२९) । यात्राको कठिनाइ आङ नै सिरिङ्ग हुने गरी शब्दमा यसरी व्यक्त गर्छन् नियात्राकार– ‘...यस्तो महसुस गराउँछ कि हामी केवल हिँडिरहेका छैनौँ, यो चालसँगै चलिरहेछ हाम्रो मुटुको धड्कन ।’ (पृष्ठ १३२)


‘हयग्रीव प्रतिविम्ब’ मा गौरीकुण्डदेखि नाम्बु उपत्यका, साब्जेदाडोप हुँदै जुथुलफुकसम्मको यात्रा अनुभूतिलाई टिपिएको छ । गौरीकुण्डको गहिराइ र सौन्दर्यलाई शब्दमा यसरी टिप्छन् लेखक– ‘कुण्डको सतहमा रङझैँ फैलिएको छ, नीलो आकाशको प्रतिविम्ब । लाग्छ– स्वर्गले आफ्नै छाया पानीको क्यानभासमा कोरेको हो ।’ (पृष्ठ १३५) । मानसरोवरमा राक्षस ताललाई अशुभ मानिनु अनि नेपालमा कर्णाली नदीसँग कुनै पनि धार्मिक उत्सव नजोडिनुले (पृष्ठ १४०) राक्षस ताल र कर्णालीको सम्बन्ध खोजको विषय हुनसक्ने विचार व्यक्त गर्छन् नियात्राकार । जुथुलफुकतर्फ अगाडि बढ्दै गर्दाको दृश्य अनुभूति यसरी पोखिएका छन् शब्दमा– ‘यहाँ देखिएका तमाम दृश्य, तिब्बती जीवनशैली, आध्यात्मिक विश्वास र कठोर भौगोलिक परिवेशसँग सतत सङ्घर्षका मौन दस्तावेज हुन् ।’ (पृष्ठ १४३) । कैलाश कोरा सकिनै लाग्दा उनी अनुभूत गर्छन्– ‘कैलाश केन्द्रित यो यात्राले यो मार्गलाई आध्यात्मिक रूपमा झनै विशिष्ट र अर्थपूर्ण बनाएको छ भन्ठान्छु म ।’ (पृष्ठ १४५) । मिलारेपाको किंवदन्ती पनि सुनाउँछन् नियात्राकार यस खण्डमा ।


‘अन्तिम पदचाप’ नियात्रा धार्चेनबाट सुरु भएको कैलाश कोराको ५२ किलोमिटर यात्रा अनुभूतिहरूको अन्तिम बिसौनी हो । उनी निष्कर्षमा पुग्छन्– ‘यात्रा भनेको गन्तव्य चुम्नु मात्र होइन, आत्मबोधको एउटा इतिवृत्त पनि हो । संसारकै सर्वोच्च आध्यात्मिक परिक्रमा समाप्त हुन लाग्दा आफ्ना सबै अनुभूतिहरूलाई शब्दमा व्यक्त गर्न कठिन हुन्छ मलाई । यति मात्र भन्छु– यो मेरा लागि अविश्वसनीय थियो ।’ (पृष्ठ १५२) । यिनै शब्दले कैलाश कोराको आत्मिक र आध्यात्मिक अनुभूतिको गहिराइलाई प्रतिविम्बित गर्दछ । केरुङ बासबाट सुरु भएको कैलाश यात्रा त्यहीँ एक रात बसेपछि समाप्त हुन्छ र फर्कन्छन् नियात्राकार आफ्नै कर्मथलोमा ।


६. नियात्राको खण्डीकरण
‘कैलाश कोरा’मा समाविष्ट ११ नियात्रा रचनाहरूलाई दुई खण्डमा वर्गीकरण गर्न सकिन्छ– यात्राको दृश्य र कैलाश परिक्रमा । ‘उन्मत्त भोटेकोशी : सीमापारको अनुभूति’, ‘विश्व छानोको सौन्दर्य’, ‘उचाइसँगको मित्रता’, ‘मौन सरोवरमा आध्यात्मिक विम्ब’, ‘किंवदन्तीको गुफा, शान्तिको पहाड’ र ‘धार्चेनको कथा’लाई अघिल्लो खण्ड अर्थात् ‘यात्राको दृश्य’ अन्तर्गत राख्न सकिन्छ । यी नियात्राहरू कैलाश पुग्नुअघिका दृश्य, अनुभूति, उचाइ–अनुकूलनसँगै पार गर्नुपर्ने मार्गहरू हुन् । बाँकी पाँचवटा नियात्राहरू ‘मोक्षको पदचिह्न’, ‘रहस्यहरूमा रुमलिँदा’, ‘डोल्मा ला’, ‘हयग्रीव प्रतिविम्ब’ र ‘अन्तिम पदचाप’ मूल कैलाश प्रदक्षिणाको तीनदिने यात्राको मार्गको कठिनाइ र अध्यात्मबोधको अनुभूतिजन्य कथा हो । यी रचनाहरूमा लेखकले भौतिक दूरी मात्र पार गरेका छैनन्, बोध गरेका छन्– कैलाशले प्रदान गर्ने आध्यात्मिक चेत; खोज गरेका छन्– मिथक, किंवदन्ती र जनविश्वासहरूको । त्यसैले कैलाश यात्रा गर्न चाहनेहरूका लागि पछिल्ला रचनाहरू अझै पठनीय बनेका छन् ।


७. स्थानीय अर्थको खोज
नियात्राकार जहाँ पुग्छन्, त्यहाँको इतिहास, संस्कृति र स्थानीय अर्थको खोजी गर्नु उनको लेखनगत विशेषता देखिन्छ । अघिल्ला कृतिहरूमा पनि उनले विभिन्न ठाउँको स्थानीय अर्थको खोजी गरेका छन् भने ‘कैलाश कोरा’मा पनि यसै गरेका छन् । भेटिएसम्म स्थानीय जनविश्वास, भाषा र किंवदन्तीको आधारमा ठाउँ विशेषको स्थानीय अर्थ टिपोट गर्छन् भने त्यो नभेटिएमा आफ्नै तर्कले अर्थ्याउँछन् उनी ।


‘कैलाश कोरा’मा कतिपय ठाउँका नामहरूको तिब्बती नाम र त्यसको शाब्दिक अर्थलाई टिप्ने काम गरेका छन् नियात्राकारले । केरुङ, भोटेकोशी, ब्रह्मपुत्र नदी, हनुमान ताल, राक्षस ताल, मानसरोवर, हयग्रीव, धार्चेन, दिराफुक, गोसाइँथानजस्ता ठाउँ र नामको तिब्बती नाम र त्यसको अर्थलाई टिपेका छन् उनले । केही नमुना हेरौँ– ‘हामी केरुङ भन्छौँ । उनीहरू भन्छन्– किरोङ । .. स्थानीय भाषामा ‘कि’ को अर्थ ‘खुसी’ र ‘रोङ’को अर्थ उपत्यका वा गाउँ हुँदो रहेछ (पृष्ठ २१) । हामी भोटेकोशी भन्छौँ । तिब्बतीहरू ‘गाङ्चेन चाङ्पो’ भन्छन् (पृष्ठ १८) । तिब्बतमा ब्रह्मपुत्र नदीलाई यार्लुङ चाङ्पो भनिँदो रहेछ । ‘यार्लुङ’को अर्थ नदीको माथिल्लो भाग र ‘चाङ्पो’को अर्थ शुद्ध पार्ने वा नदी (पृष्ठ ३५) हुँदो रहेछ ।

कैलाश पर्वतको बाह्य परिक्रमा क्षेत्रको महत्त्वपूर्ण स्थल दिराफुक (५०८० मि.) लाई पेमामार्फत यसरी अर्थ्याउँछन् नियात्राकार– ‘दि’ चौँरी, ‘रा’ भेडा/बाख्रा र ‘फुक’ उपत्यका (पृष्ठ १४२) अर्थात् याक, च्याङ्ग्रा र भेडाको चरन क्षेत्र, जहाँ आज पनि भेडा र चौँरीहरू मौन रूपमा चरिरहेको दृश्य देखिन्छ । हनुमान ताल (पृष्ठ ५८) लाई तिब्बती भाषामा ‘ग्याङ यु च्छो’ भनिँदो रहेछ । मानसरोवरलाई ‘मापाङ युम्छो’ । गोसाइँथानलाई सिसापाङ्मा भनिँदो रहेछ ।


८. मिथक सन्दर्भ
नियात्राकारले यस कृतिमा कैलाश क्षेत्रको प्राकृतिक सौन्दर्यको वर्णन मात्र गरेका छैनन्, कैलाशको सांस्कृतिक र धार्मिक महत्तालाई स्वीकार गर्दै नतमस्तक भएर शब्द–श्रद्धा पनि व्यक्त गरेका छन् र खोजेका छन् धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका विभिन्न ठाउँहरूका मिथक, किंवदन्ती र जनविश्वासहरू । बौद्ध, जैन, हिन्दु र बोन गरी चार धर्मको आस्थाको केन्द्र रहेकाले लेखक सबै धर्मको मिथक सन्दर्भ खोतल्छन् । मिलारेपा (पृष्ठ २८), मानसरोवर (पृष्ठ ५७), नेपालको गुरला मान्धाता हिमाल (पृष्ठ ५८), राक्षस ताल (पृष्ठ ६१), चिउ गुफा (पृष्ठ ७३), यमद्वार (पृष्ठ ९४), कैलाश पर्वतमा रहेका विभिन्न पदचिह्नहरू (पृष्ठ ९८, १०९), कैलाश पर्वत (पृष्ठ १०५), शिवत्सल (पृष्ठ १२६) जस्ता धार्मिक आस्थाका ठाउँहरूका मिथक, अनुश्रुति, किंवदन्ती र विश्वासहरूलाई विशद रूपमा उल्लेख गरेका छन् लेखकले ।


९. शब्दशिल्प/काव्यिक भाषा
अनुभूतिलाई अभिव्यक्त गर्ने गजबको भाषिक कला भेटिन्छ लेखनमा । शब्दसँग उनी यसरी खेलेका छन् कि पाठकलाई बाँधेर राख्ने क्षमता राख्दछ । थुप्रै ठाउँमा सूक्तिमय वाक्यहरूको प्रयोग गरेका छन् उनले । कतिपय ठाउँमा कवितामा जस्तै बिम्बको प्रयोग रहेको छ, जस्तै– बरफले सिउँदो कोरेको पहाड (पृष्ठ ५०), निर्जन सौन्दर्य (पृष्ठ ५१), सुकुमार वायु (पृष्ठ ६१) आदि । नियात्रामा प्रवेश गर्नुअघि नै उनको काव्यिक भाषाले पाठकलाई मोहित पार्छ– ‘प्रत्येक पाइला एउटा सिङ्गो कथा, ..।’ ठाउँ विशेषलाई यसरी काव्यिक स्वरूप दिन्छन् उनी– ‘टिमुरे– भोटेकोशीको उर्लँदा लहरहरूमा प्रतिविम्बित अमूल्य रत्न । टिमुरे– यात्रुहरूका थकित पाइला रोकिने बिसौनी र व्यापारीहरूका सपना सिञ्चित हुने एक जीवित जङ्क्सन ।’ (पृष्ठ–७)


१०. यसकारण विशेष छ ‘कैलाश कोरा’
यस कृतिमा प्रकृति र अध्यात्मबोध, भाषिक सौन्दर्य र मिठास त छँदै छ, यसका साथै यसमा समावेश गरिएका चित्रले पनि यस कृतिको महत्त्वलाई बढाएको छ । शब्दमा प्रवेश गर्नुअघि पाठकको आँखा दुई रेखाचित्रमा पुग्छ जहाँ कैलाश यात्रा मार्ग र कैलाश परिक्रमा मार्गको उचाइसहित नाम देखाइएको छ । कृतिको पाँचौँ पृष्ठमा लेखकको यात्रा मिति, यात्रामा सहभागीहरूको नामावली, लेखकले सम्पन्न गरेको यात्रा मार्ग र वैकल्पिक मार्गको जानकारी दिइएको छ । यो सामग्रीले नियात्रामा अभिव्यक्त गरिएका कुराहरूलाई बुझ्न थप सहयोग त पुर्‍याउँछ नै, कैलाश यात्रा गर्न चाहनेका लागि सूचनाको काम पनि गरेको छ ।


११. भुलभुलैयामा पाठक
नियात्राकारको शब्दको कलामा हराउँदै गर्दा, उनको अनुभूतिसँगै कैलाश यात्रामा जाँदै गर्दा कहिलेकाहीँ केही शब्दले पाठक भुलभुलैयामा रुमलिन पुग्छन् । केही तिब्बती शब्दहरूले फेरि पहिला पढेका पृष्ठहरू पल्टाउनुपर्ने झन्झट आइलाग्छ र लेखकसँगको यात्रालाई थाती राखेर पुरानै बाटोमा फर्कनुपर्छ । यस्तो परिस्थितिमा अनुभूत हुन्छ– लेखकले कतै केही शब्दहरूको अर्थसहित शब्दसूची पनि समावेश गरिदिएका भए वा महत्त्वपूर्ण ठाउँहरूको अनुक्रमणिका पनि राखिदिएका भए कति गजब हुन्थ्यो होला !


१२. अन्तिम बिसौनी
शब्दशिल्पी राजेन्द्रमान डङ्गोलको ‘कैलाश कोरा’मा अभिव्यक्त यात्रा अनुभूति पढिरहूँ जस्तो लाग्छ, वर्णन सुनिरहूँ जस्तो लाग्छ । कृतिमा अनावश्यक वर्णन छैन, न त दिक्कलाग्दो गन्थन नै । प्राकृतिक दृश्यको वर्णन होस् वा अनुभूतिलाई पोख्ने शब्द–छहरा, उनका शब्दहरूमा पाठकलाई छक्क पार्ने, आह्लादित पार्ने जादु देखिन्छ ।


‘कैलाश कोरा’का कतिपय अनुभूतिहरू पढ्दापढ्दै प्रकृतिको दैवी स्वरूप दृष्टिगोचर भएजस्तै लाग्छ, कतै प्रकृतिको आध्यात्मिक भाव । प्रकृतिको कठोरतासँगै कोमल आध्यात्मिक भाव र त्यसभित्रको अथाह शान्तिको बोध हुन्छ कतै ।


यो कृति नियात्राकारको निजात्मक अनुभूतिहरूको शब्दसङ्ग्रह मात्र होइन, कठोर र विषम प्रकृतिको मौन शब्द र संवाद, आत्मिक आनन्दको अलौकिक अनुभूति, भौतिक र आध्यात्मिक यात्राको तादात्म्यता, उचाइको यात्राको कठिनाइ र उचाइ–अनुकूलनको जानकारी, शब्द–शब्दमा प्रकृतिको सौन्दर्य र त्यसले सिकाइरहेको जीवनका पाठहरू, प्रकृतिअनुकूल जनजीवनको सादगीपन र प्रत्येक ठाउँको आध्यात्मिक महत्त्वसँगै मिथकको खोज, कृतिका विशेषता हुन् ।


‘कैलाश कोरा’ प्राकृतिक सौन्दर्यले प्रदान गर्ने जीवनको रहस्यको उद्घाटन हो, पवित्र तीर्थस्थलले प्रदान गर्ने अध्यात्मबोध पनि हो । यो यात्राको वर्णन मात्र होइन, निजात्मक अनुभूतिसँगै सार्वभौम आध्यात्मिक चेतनाको अभिव्यक्ति पनि हो । र, यात्रा गर्न चाहनेहरूका लागि सूचनाको भण्डार अनि, यात्राअघि तयार गर्नुपर्ने मानसिक तयारीको आधारस्तम्भ पनि हो ।

सन्दर्भसामग्रीहरू :
अधिकारी, ज्योति (२०८२), कैलाशको आँगनमा अक्षरको तीर्थ (समीक्षा),
https://ekhabarpatra.com/literature/46789/
चालिसे, डा. विदुर (२०७७), नियात्रामा नौलो आयाम, काठमाडौँ : रत्न पुस्तक भण्डार ।
डङ्गोल, राजेन्द्रमान (२०७६), यात्राका पाइला, त्रिशूली वाङ्मय प्रतिष्ठान ।
– (२०७८) पैतालामा हिउँ, आँखामा हिमाल, काठमाडौँ : फिनिक्स बुक्स, बानेश्वर ।
– (२०८०) बादलडाँडा, काठमाडौँ : भुँडीपुराण प्रकाशन ।
– (२०८२) कैलाश कोरा, काठमाडौँ : पब्लिकेसन नेपालय, कालिकास्थान ।
त्रिपाठी, गीता (२०७३), नेपाली नियात्रा सिद्धान्त र प्रयोग, काठमाडौँ : नेपाल प्रज्ञा–प्रतिष्ठान ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।