18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भारतमा नेपाली भाषाले मान्यता पाएको महत्त्व र नयाँ शिक्षा नीति-२०२०

विचार नवीन पौड्याल August 18, 2025, 1:13 am
नवीन पौड्याल
नवीन पौड्याल

भारतको केन्द्रीय सरकारले धेरै अध्ययन र अनुगमन गरी नयाँ शिक्षा नीति-२०२० को विधेयक ल्याएर त्यसको कार्यान्वयनका निम्ति भारतव्यापी दिशानिर्देशन गरेको छ। भारतका प्रायःजसो राज्यले उक्ति नयाँ शिक्षा नीति अपनाउन थालेका छन्। यसले शिक्षा व्यवस्थालाई भारतीय समाज र संस्कृतिअनुसार ढाल्न प्रयास गरेको छ। यसे भारतको संवैधानिक मान्यताप्राप्त भारतीय भाषाहरूको महत्त्व बढेर गएको छ। उच्च शिक्षा लिनेका निम्ति भन्दा तल्लो श्रेणीतिर स्थानीय भाषाको अनिवार्य गरेको छ।


राष्ट्रिय शिक्षा नीति २०२० (NEP 2020) ले शिक्षामा मातृभाषाहरूको प्रयोगलाई व्यापक बनाउँदै बाल्यकालीन शिक्षामा विशेष रूपमा तिनीहरूलाई शिक्षणको माध्यमको रूपमा प्रयोग गर्न जोड दिन्छ। यसले कम्तीमा कक्षा ५ सम्म र सम्भव भएसम्म कक्षा ८ र त्यसपछिसम्म पनि मातृभाषा, घरको भाषा वा स्थानीय/क्षेत्रीय भाषाको प्रयोगको महत्त्वलाई जोड दिन्छ। यो दृष्टिकोणले बालबालिकाको चिरपरिचित भाषिक वातावरणको उपयोग गरेर सिकाइको लागि बलियो आधार तयार पार्ने उद्देश्य राख्दछ।


यस परिप्रेक्ष्यमा नेपाली भाषा पनि एउटा भारतीय भाषा हो। अरू भारतीय भाषासरह नै मान्यताप्राप्त भाषा हो। हाम्रो भाषा सबै पक्षमा पूर्ण छ कुनै कमी छैन। भारतभरिबाट हामी लगभग डेड़ करोड़ नेपालीभाषी वक्ताहरू छौं। यदि यति सङख्या भन्नु निकै ठुलो हो। हाम्रो पनि लोकसाहित्य छ, साहित्य छ, इतिहास छ। भनौं हाम्रो नेपाली वाङ्मय ठुलो छ। अरूको जति नै हाम्रो पनि अधिकार कर्तव्य छ।


नेपाली भाषाको प्रचार प्रसार र कार्यान्वयनका निम्ति हामीले अझै गर्नुपर्ने कामको सूचि बनाएर त्यसलाई लागु गर्ने पहल गर्नुपर्ने देखिन्छ। यसलाई निम्न बुंदाहरूमा सूचीकृत गर्न सकिन्छ-

१. नयाँ शिक्षा नीति-२०२० अनुरूप नेपाली भाषाको पनि सही स्थानका निम्ति प्रयतन गर्नुपरद्छ। नेपालीभाषी परिवेश भएको हाम्रा गाउँ बस्ती शहर चारैतिर पाँचौदेखि आठौं श्रेणीसम्म नै नेपाली भाषा सही सिकाउन पर्दछ। यसका साथै नेपाली समाज बसेको धेरै स्थानमा अझै नेपाली विषयमा मेजर अनर्स लिनुपर्ने, उच्च शैक्षिक संस्थानमा पनि नेपाली पठन पाठनको व्यवस्था गर्नुपर्ने देखिन्छ। जस्तै-


क) कतिपय कलेजहरूमा नेपाली विषय पठन-पाठनको निम्ति पहल गर्ने-

दार्जिलिङ पहाडमा प्रायः जम्मै जसो कलेजमा नेपाली विषय उपलब्ध छन् तर सिलगडी, तराइ, डुवर्सतिरका डिग्री कलेजतिर भने नेपाली विषय पढाउने व्यवस्था गरिएको छैन। जस्तै-

१. सिलगडीको सूर्य सेन कलेजमा नेपाली विषय पढाइ हुँदैन। न नेपाली प्राध्यापक छन् न त नेपाली विषय छ। सिलगडीकै मुन्सी प्रेमचन्द हिन्दी कलेजमा नेपाली पढाइ हुन्छ तर त्यहाँ पूर्णकालिक शिक्षक नियुक्ति गराइएको छैन। सिलगडीकै आचार्य प्रफुल्ल चन्द्र सरकारी महाविद्यालयमा नेपाली विषयको प्रमुख भारतीय भाषाको रूपमा, ऐच्छिक र अनर्स तहमा नेपाली विषयमा पढाइ शुरू गरिएको छैन।

२. डुवर्सको नयाँ सरकारी कलेज बानरहाट हिन्दी सरकारी महाविद्यालय, ननीगोपाल महाविद्यालय, जयगाउँ, अलिपुरद्वार कलेजतिर पनि नेपाली पढाइ हुँदैन।

३. उता आसाममा जम्मा २० कलेजमा प्रमुख भारतीय भाषा (MIL) का रूपमा नेपाली भाषा अध्ययन अध्यापनको व्यवस्था गरिएको छ। चारवटा कलेजमा मात्र ऐच्छिक नेपाली पढाइ हुन्छ। गौहाटी विश्वविद्यालयले नेपाली विषयमा अनर्सको पाठ्यक्रम अनुमोदनका निम्ति विभिन्न संगठनबाट प्रयास गरिए तापनि पनि नै स्वीकृत भएको छैन। त्यहाँ नेपाली अनर्स चालु गरेर अझै अन्य नेपाली बहुल क्षेत्र र शहरका कलेजमा नेपाली पठन पाठनको निम्ति त्यहाँका सामाजिक राजनैतिक संघ-संस्थाहरूको ठुलो कर्तव्य र भूमिका रहेको छ।

४. मणिपुरमा दुइवटा सरकारी र एउटा निजी कलेजमा मात्र प्रमुख भारतीय भाषाका रूपमा नेपाली पठन-पाठन हुन्छ। अझै अन्य नेपाली जनसंख्या भएको शहरतिरका कलेजमा नेपाली भाषाको अध्ययन – अध्यापनको व्यवस्था गर्न सकिन्छ। त्यसका निम्ति त्यहाँकै संघ-संस्थाको चासोको विषय हुन्छ। ती ठाउँहरूका कतिपय सरकारी र गैरसरकारी विद्यालय तहमा पनि प्रथम मातृभाषाका रूपमा नेपाली पढाइ हुँदैन। जस्तो सिलगडीको सन्त जोसेफ्स स्कूल, डन बस्को स्कुल, मतिगडाको वेस्ट पोइन्ट स्कुल, ओदलाबाडी हिन्दी विद्यालय आदि। उता आसाम, मणिपुर, मेघालयतिरका नेपाली भाषी जनसंख्या भएको ठाउँमा कमसेकम मातृभाषा वा दोस्रो भाषा, तेस्रो भाषाका रूपमा नेपाली पढाइ गरिने व्यवस्था गर्नुपर्छ। कतिपय प्राइभेट नर्सरी स्कुलतिर पनि हाम्रा नानीहरूले बंगला, असमीय र हिन्दी पढ्नु पर्ने बाध्यता छ।

५. नेपाली भाषाको व्यवहारिक कार्यानवयनका निम्ति भाषिक साहित्यिक संस्थाहरूले अझै धेरै काम गर्नुपर्ने देखिन्छ। नेपाली साहित्य सम्मेलन दार्जिलिङ, नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङ, गोर्खा जन पुस्तकालय, खरसाङ, नेपाली साहित्य परिषद्, सिक्किम, असम नेपाली साहित्य सभाले धेरै काम गर्नुपर्ने देखिन्छ। यसबाहेक अखिल भारतीय नेपाली भाषा समितिको मूल कार्यालय देहरादुनबाट फेरि एकपटक दार्जिलिङ वा गान्तोकतिर सारेर त्यस समितिको पुनर्गठन गरी त्यसले धेरै काम गर्नुपर्ने देखिन्छ। यस्ता संस्थाले विभिन्न विश्वविद्यालय, महाविद्यालय र विद्यालय तहमा नेपाली पठन पाठनको निम्ति लगातार माग गरिरहनु, विभिन्न सरकारी र गैरसरकारी भाषिक निकायमा नेपाली भाषाको निम्ति पत्राचार गरिरहनु आदि काम गर्नु पर्दछ।

६. संघीय लोक सेवा आयोग, राज्यहरूको लोक सेवा आयोगतिर नेपाली भाषा पनि एउटा पत्रका निम्ति लिने प्रावधान रहेको छ तर अब त्यसरी नेपाली लिएर परीक्षा दिने एकदुई जना मात्र भएका छन्।

७. त्यस्ता केन्द्रीय लोकसेवा आयोगतिर देखिएको ऐच्छिक र अनिवार्य नेपाली भाषा साहित्यको कठिन सिलेबसले गर्दा पनि नेपाली भाषा साहित्यमा उच्च शिक्षा नलिएका आवेदक र परीक्षकले उत्तीर्ण हुन कठिन पर्ने स्थिति पनि देखा परेको छ। यसबारे सरकारी निकायमा उक्त किसिमको सिलेबस तयारी पार्ने महानुभावहरूले पनि विचार पुर्‍याउन पर्ने देखिन्छ।

८. इन्दिरा गान्धी राष्ट्रीय मुक्त विद्यालयमा पनि बि. ए. र एम. ए. एम फिल आदि तहमा नेपाली विषय राखिएको छैन।


भारतको केन्द्रीय सरकार अधीनस्थ सूचना तथा सांस्कृतिक विभागमा पनि नेपाली भाषाको कार्यानवयन हुनु बाँकी नै छ। यसका निम्ति भारतीय नेपाली भा विकास मञ्च गठन भएर खोजीको काम गरिरहेको छ।


विद्यार्थीवर्गले गर्नुपर्ने कर्तव्य -

नेपाली भाषाको प्रयोग गर्ने विद्यार्थी नै पहिलो प्रयोक्ता हुन्। विद्यार्थीले नेपाली भाषा नपढे, नसिके र नजाने कसैको केही लाग्दैन। यहाँ नजिकैको सिलगडी शहरका धेरै विद्यालयमा एक विषयका रूपमा नेपाली लिनु नमानेको वा नलिएको कुरा पनि सुनिन्छ। त्यस्ता अनेक ठाउँ र शहर छन् जहाँ नेपालीलाई एक विषयका रूपमा पठन पाठनको सम्भावना छ। यसका निम्ति विद्यार्थीवर्ग आफैं सचेत हुनुपर्ने देखिन्छ। नेपाली अपठ्यारो हुन्छ भन्ने मिथ्या प्रचारले जरा गाडेको देखिन्छ। यद्यपि आफुले सधैंभरि बोल्ने गरेको मातृभाषा कदापि कठिन हुँदैन। नेपाली व्याकरण पढ्ने, बुझ्ने र चर्चा गर्ने गरे खासै अपठेरो हुँदैन। आफुले पढ्ने गरेको विद्यालय, महाविद्यालयतिर नेपाली विषय पढ्न पाइन्छ कि पाइन्न, नपाए त्यसका निम्ति सम्बन्धित संस्थानका मुख्य व्यक्तिलाई पत्राचार गरेर, माग राखेर भए पनि आफ्नो भाषालाई पठन-पाठनको विषय बनाउनु पर्छ। यसका निम्ति विद्राथी संगठन सक्रिय रूपमा अघि आउनु पर्छ। साथै उनीहरूले विद्यालय तहमा पनि नेपाली विषय खोज्ने कार्य गर्नुपर्दछ। विद्यार्थीवर्गले चासो लिए आफैंलाई लाभ हुन्छ नलिए आफैंलाई नोक्सानी हुन्छ।


१. शिक्षक-शिक्षिकाको कर्तव्य र भूमिका –

नेपाली भाषाको प्रचार र प्रयोगका निम्ति नेपाली विषय शिक्षक-शिक्षिकाको अति महत्त्वपूर्ण भूमिका हुन्छ। नेपाली भाषा शिक्षक-शिक्षिकाले अन्य विषयभन्दा यस विषयलाई बढी महत्त्व दिएर अध्यापन गर्नुपर्ने देखिन्छ। यसका निम्ति उनीहरूले नै बढी अध्ययन गर्नु पर्दछ। भाषा शैक्षणिक खेलाँचीको वस्तु होइन। विषयलाई रोचक बनाएर, विभिन्न उदाहरण दिएर, व्याकरणलाई रूचिकर बनाउने प्रयास गर्नुपर्छ। कतिपय विद्यालयतिर नेपाली व्याकरणलाई हेय र तुच्छ धारणा राखेर भाषा, साहित्य थोरै जान्नेलाई पढाउन लगाइन्छ। नेपाली भाषा शिक्षकहरूको शैक्षिक योग्यता नेपाली विषयमा समुचित शिक्षा पाएकै व्यक्ति हुनुपर्छ। यसो गरे मात्र विद्यार्थीले सही रूपमा भाषिक ज्ञान हासिल गर्न सक्छन्। हालसालमा विद्यार्थीको खच्कँदो नेपाली भाषिक ज्ञानको मूल कारण शिक्षक शिक्षिकाको अध्ययन र अध्यापनको कमजोरी र खेलाँची पनि हुन्छ। अँग्रेजी विद्यालयका नेपाली विषय शिक्षकहरूको अझ ठुलो कर्तव्य र चुनौती रहेको छ। त्यस्ता विद्यालयका शिक्षक-शिक्षिकाले आफ्नो मातृभाषालाई पनि प्रभावकारी ढङ्गमा बुझाउने प्रयास गर्नुपर्छ।


२. अभिभावकवर्गले गर्नुपर्ने कर्तव्य -

विद्यार्थीवर्गपछि अभिभावकवर्गको पनि नेपाली भाषा पठन पाठन गराउनका निम्ति ठुलो भूमिका छ। आफ्ना सन्तानले मातृभाषाप्रति कतिको चासो लिएको छ, कतिको जान्दछ, यसबारे केही जानकारी पनि हासिल गर्नुपर्छ। आफ्नो नानीको विद्यालयमा नेपाली भाषा पढन पाउँछ वा पाउँदैन, शिक्षक- शिक्षिकाको व्यवस्था गरिएको छ वा छैन, त्यसबारे जानकारी लिनु पर्छ। नेपाली विषयलाई पनि उत्तिकै महत्त्व दिएर नानीहरूलाई पढाउनु पर्दछ। नेपाली पढ्नलाई हौसला प्रदान गर्नुपर्छ। आफ्नो नानीले नेपाली नजान्दा गर्वबोध होइन, ग्लानिबोध गरी उसलाई समुचित शैक्षिक परिवेश बनाइदिनु पर्छ।


३. विद्यालय-महाविद्यालयले गर्नुपर्ने कर्तव्य –

नेपाली भाषाको प्रयोग र श्रीवृद्धिमा विद्यालय र महाविद्यालय आदिको पनि ठुलो भूमिका रहेको हुन्छ। नेपाली भाषी विद्यार्थी भएको विद्यालय वा महाविद्यालयमा नेपाली विषयलाई एउटा विषयका रूपमा लिने परिवेश सिर्जना गरिदिनु पर्छ। त्यस विद्यालय वा महाविद्यालयका सञ्चालन समिति र प्रमुख आदिले पनि योग्य नेपाली विषय शिक्षक-शिक्षिकाको व्यवस्था गर्नुपर्ने देखिन्छ। विशेष गरी अंग्रेजी माध्यमका विद्यालयमा मातृभाषालाई दोस्रो भाषाको रूपमा ग्रहण गर्न लगाएको नीति अवलम्बन गर्नु पर्ने देखिन्छ। आई. सि. एस. ई. बोर्डमा दोस्रो भाषालाई पनि मुख्य विषयको रूपमा दिएर अनिवार्य रूपमा पास गर्नु पर्ने नियम सह्राहनीय छ। यद्यपि विद्यालयले पनि नेपाली भाषा र साहित्यको राम्रो ज्ञान भएको सुयोग्य व्यक्तिलाई शिक्षक-शिक्षिकाको रूपमा नियुक्ति दिनु पर्दछ। अन्य विषयमा पढेको भन्दा नेपाली विषयमा नै अनर्स अथवा एम. ए. गरेको सुयोग्य शिक्षकको नियुक्ति आवश्यक छ।


४. सामाजिक, साहित्यिक र राजनैतिक संघ-संस्थाहरूको कर्तव्य र भूमिका -

नेपाली भाषाको श्रीवृद्धि र संवर्द्धनमा सामाजिक र साहित्यिक सङ्घ- संस्थाहरूको ठुलो भूमिका र कर्तव्य रहेको हुन्छ। नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङ, नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, गोर्खा दुःख निवारक सम्मेलन, दार्जिलिङ, गोर्खा जन पुस्तकालय, खरसाङ, सिलगडी देवकोटा सङ्घ, सिलगडी इत्यादि जस्ता साहित्यिक र सामाजिक सङ्घ-संस्थाको ठुलो अभिभारा रहेको हुन्छ। यस्ता संस्थाहरूको भूमिका मान्यता पाएपछि काम सकिदैन। यति बेला यस्ता संस्थाहरूले अझै काम गर्नु छ। यस्ता सामाजिक-साहित्यिक संस्थाहरूले यस्ता कतिपय शैक्षिक संस्थानमा नेपाली पठन-पाठनको निम्ति निवेदन, दबाब सिर्जना गरिदिने काम गर्न पर्छ। यस्ता गर्नुपर्ने कामहरू केही छन्। जस्तै-

क. देशका विभिन्न मन्त्रायलय आदितिर पत्राचार गरेर नेपाली भाषाको पनि सही सरकी उपयोग गर्न चाप सृष्टि गर्ने।

ख. हाम्रो समाजमा नेपाली भाषाको प्रयोगका निम्ति प्रचार प्रसार गर्ने, बजारको दोकानपाटतिर नेपालीमा साइनबोर्ड आदितिर पनि नेपालीमा लेख्न लाउने।

ग. जिल्लापाल र अन्य अधिकारीलाई नेपाली भाषा सिकाउने व्यवस्था, जो पहिले हुने गर्थ्यो।

घ. दार्जिलिङमा नेपाली अनुवादकको कार्यालय अब बन्दप्रायः स्थिति छ । त्यसलाई पुनः सञ्चालन गरेर सरकारी नियम अधिनियम आदिको नेपाली अनुवाद भएको सरकारी दस्तावेज बनाउन चाप सृष्टि गर्ने।

ङ. स्कुल कलेजतिर नेपाली विषयको पठन-पाठन गर्न लाउन चाप सृष्टि गर्ने, विभिन्न उपाय लाउने।


५. आम नागरिकको कर्तव्य

नेपाली भाषाको सही विकासको भूमिका खेल्ने सबैभन्दा ठुलो त आम नेपालीभाषी नागरिकहरूको भूमिका सर्वेपरी हुन्छ। भारतका अन्य भाषाहरूभन्दा हामी पनि कुनै कुरामा कमी छैनौं, हाम्रो पनि बराबर अधिकार छ, अरूभन्दा हामी पनि देशको विकासमा समान सहभागी छौं, हिन्दी मराठी बङ्ला बोल्नेको हाम्रो सङ्ख्याभन्दा हामी केही कम सङ्ख्यामा छौं यदय्पि सङख्याबल भन्दा हाम्रो मनासिकता बलियो बनाउनुपर्छ। हाम्रो हीनताभावलाई परित्याग गरेर हामी विशस्वभरि निर्धक्क नेपाली भाषा बोलौं, लेखौं। सिलगडीदेखि उता नेपाली काम लाग्दैन भन्ने हीनता मानसिकता त्यागौं। भारत नेपाल, भुटान म्यानमार तथा अब त युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा. हङकङ आदितर बोलिने नेपाली भाषिक भूगोलका एक अंशियार हौं। हाम्रो भाषा साहित्य संस्कृति, वाङ्मय, सभ्यता इतिहास सबैमा हामी पनि धनी र अब्बल छौं। हामी आफ्नो मातृभाषा नेपाली, राष्ट्रभाषा हिन्दी र अन्तराष्ट्रिय भाषा अङ्गेजी भाषा जान्ने सचेत नागरिक हौं। हामी हाम्रो नेपाली भाषामा गर्व गर्नुपर्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।