18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली उपन्यासको समालोचना परम्परा

विचार डा. जीवन श्रेष्ठ August 18, 2025, 1:14 am
डा. जीवन श्रेष्ठ
डा. जीवन श्रेष्ठ

उपन्यास भनेकै सामाजिक जीवनको यथातथ्य चित्र हो, अझ त्यसैको आलोचना, जस्तो सामाजिक राजनीतिक जीवन हुन्छ त्यसको यथार्थ रुप चित्रित हुनाको साथै उपन्यासमा युग सञ्चेतना प्रतिबिम्बित हुन्छ । – कृष्णचन्द्रसिंह प्रधान


नेपाल प्रज्ञा–प्रतिष्ठानले वि. सं. २०६० सालमा नेपाली उपन्यासको शतवार्षिकी मनाएको थियो । पहिलो मौलिक उपन्यास वीर चरित्रको प्रकाशन वर्ष, वि. सं. १९६० लाई आधार मानेर उक्त कार्यक्रम मनाइएको थियो । यस आधारमा नेपाली उपन्यासको उमेर हालसम्म एक शताब्दीभन्दा धेरै भइसकेको छ । यो समयावधि इतिहासको समग्रतामा धेरै लामो कालखण्ड नभए पनि नेपाली सामाजिक–राजनीतिक परिवर्तनका लागि यो समय अत्यन्त महत्त्वपूर्ण रहेको छ । यस अवधिमा शताब्दीऔँ समयमा हुन सक्ने परिवर्तनहरु एकै शताब्दीमा भएका छन् । राणा शासन विरुद्धको आन्दोलनदेखि गणतन्त्रसम्मको यात्रालाई नियाल्ने हो भने यस युगलाई नेपालको इतिहासमा परिवर्तनको युग मान्नुपर्ने हुन्छ । यसका साथै शिक्षा, सञ्चार र प्रविधिका क्षेत्रको तीव्र विकास र विस्तारका कारण पनि यस अवधिमा नेपाली समाजमा व्यापक परिवर्तन आएको छ । यस सन्दर्भमा माथिको उद्धरणमा भनिए जस्तै ॅॅयुगको सञ्चेतना प्रतिबिम्बित’’ गर्ने नेपाली उपन्यास पनि गतिशील रुपमा विकास भएको देखिन्छ । यसले विषयगत विविधता र शैलीगत नवीनतालाई अँगाल्दै आफूलाई विकासित गर्दै लगेको छ र हाल सबैभन्दा लोकप्रिय विधामध्येको एउटा विधाका रुपमा स्थापित छ । उपन्यासको यसप्रकारको गतिशील चरित्रको अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्न उपन्यास–समालोचनाको विकास पनि सोहीअनुरुप हुनु आवश्यक छ ।


नेपाली आख्यानको माध्यमिक काल अथवा नेपाली उपन्यासको प्रारम्भिक कालमा आद्भूतिक, जासुसी र ऐय्यारी उपन्यासहरु लोकप्रिय थिए । यसप्रकारका उपन्यासहरुको अनुवाद रुपान्तरण र लेखन धेरै भए पनि यस समयमा उपन्यास–समालोचनाको उल्लेख्य विकास भएको पाइँदैन । वि. सं. १९६४ सालमा गोर्खापत्रमा "समालोचना’’ शीर्षकमा पं. देवीप्रसाद उपाध्यायको सुन्दर सरोजिनी उपन्यासको समालोचना छापिएको पाइन्छ तर त्यो सामान्य पुस्तक परिचयका रुपमा रहेको छ (कृष्णचन्द्रसिंह प्रधान, साझा समालोचना) । हालसम्म प्राप्त प्रमाणका आधारमा त्यसैलाई नेपाली उपन्यास–समालोचनाको बीज मान्नुपर्ने हुन्छ र यो एउटा लेख नै नेपाली उपन्यासको प्रारम्भिक कालमा लेखिएको एउटा मात्र उपन्यास–समालोचना हो ।


नेपाली उपन्यासमा आधुनिक कालको आरम्भ वि. सं. १९९१ साल देखि भएको हो । आधुनिक काललाई पनि मूल रूपमा २०२१ सालसम्म पहिलो चरण र २०२१ सालदेखि दोस्रो चरण भनी विभाजन गरिएको छ । पहिलो चरणमा आदर्शोन्मुख यथार्थवादी, सामाजिक यथार्थवादी, समाजवादी यथार्थवादी, ऐतिहासिक यथार्थवादी, मनोविश्लेषणात्मक यथार्थवादी आदि प्रवृत्तिका उपन्यासहरू धारागत रूपमा विकास भएका छन् । दोस्रो चरणमा अस्तित्ववादी–विसङ्गतिवादी लेखनलाई मूल प्रवृत्तिका रूपमा पहिचान गरिएको छ ।


२०३६ सालदेखि यताका उपन्यासहरूलाई समसामयिक वा समकालीन उपन्यास भनी अध्ययन अध्यापन हुने गरेको छ । यद्यपि निश्चित समयबोधक शब्द 'समसामयिक’ तिसको दशकको उत्तरार्धदेखि सत्तरीको दशकको उत्तरार्ध, करिब चालिस वर्षभन्दा बढीको समयावधिको लेखन प्रवृत्ति हुन सक्दैन । सामान्य रूपमा समसामयिकता भनेको चालु समयमा उपन्यास लेखनको प्रवृत्ति निश्चित नभइसकेको अवस्थामा अध्ययनको सजिलोका लागि दिइने संज्ञा मात्र हो । २०३६ सालदेखि यता नेपाली उपन्यासले विभिन्न मोडहरू पार गरिसकेको छ र तिनमा निश्चित प्रवृत्तिहरू देखापरेका छन् । तिनका आधारमा नेपाली उपन्यासको पछिल्लो चरणलाई आलोचनात्मक यथार्थवादी धारा २०३६–२०५०) र उत्तरआधुनिकतावादी धारा २०५० देखि यता) का रूपमा विभाजन गर्न सकिन्छ ।


२०३६ देखिका उपन्यासहरूको अध्ययन गर्दा प्रगतिवादी एवम् प्रगतिवादइतर प्रवृत्तिका उपन्यासहरूले सामाजिक, राजनीतिक, प्रशासनिक, धार्मिक, आर्थिक आदि क्षेत्रका विकृति–विसङ्गतिलाई आलोचनात्मक ढङ्गले चित्रण गरेको पाइन्छ । यस समयमा प्रकाशित पारिजात, ध्रुवचन्द्र गौतम, दौलतविक्रम बिष्टलगायतका उपन्यासहरूले यसलाई पुष्टि गर्छ ।

अघिल्ला चरणका धारागत प्रवृत्तिहरूको निरन्तरता कायमै रहेका सन्दर्भमा २०५० सालपछि नवीन प्रवृत्तिका रूपमा उत्तरआधुनिकतावादी प्रवृत्ति देखापरेको छ । यसलाई स्पष्ट रूपमा ध्रुवचन्द्र गौतम र ध्रुव सापकोटाको ज्यागा २०५०) ले उठान गरेको छ । यो उपन्यास र उपन्यास लेखनसम्बन्धी परम्परागत मान्यताभन्दा भिन्न प्रवृत्तिको उपन्यास हो । उपन्यास लेखनको प्रक्रियालाई नै आख्यानीकरण गरिएको यस उपन्यासले नेपाली उपन्यासमा उत्तरआधुनिकतावादी अधिआख्यानात्मक प्रवृत्ति भित्र्याएको छ । यसपछि धेरै उपन्यासकारहरूले उत्तरआधुनिकतावादको बृहत् परिधिलाई नेपाली उपन्यासमा प्रयोग गरेका छन् तर पनि प्रारम्भिक समयमा विषयगत प्रयोगशीलताभन्दा शिल्पगत प्रयोगशीलताको प्रभावकारिता टड्कारो देखिएका कारण अधिआख्यान मूल प्रवृत्ति बन्न पुगेको छ किनभने अधिआख्यानले आख्यान लेखनलाई एउटा ॅखेल’ मान्दै विभिन्न प्रयोगका माध्यमबाट यथार्थ र कल्पनालाई मिसाएर भ्रमको अवस्था सिर्जना गर्दछ । यस समयका नवीन प्रवृक्तियुत्त उपन्यासहरू यस्तै प्रकृतिका रहेका छन् । त्यसैले अधिआख्यानात्मकता यस समयका उपन्यासका मूल प्रवृत्ति हो ।


यसै समयमा प्रवासी नेपालीहरूको संवेदनाले भरिएका डायस्पोरिक उपन्यासहरू पनि लेखिँदै आएका छन् । यो पनि नेपाली उपन्यासको अर्को नवीन प्रवृत्ति हो । २०६४ सालदेखि राजनीतिक, सामाजिक, आर्थिक एवम् भौगोलिक रूपमा सीमान्तकृत बन्न पुगेका जाति, वर्ग एवम् समुदायका विविध विषयलाई नेपाली उपन्यासले प्राथमिकता दिएको छ । यस समयमा आदिवासी, जनजाति, मधेसी, महिला, दलित, पिछडिएका क्षेत्र एवम् समुदायका मुद्दाहरू नेपाली उपन्यासको विषय बन्न पुगेका छन् । यस समयका प्रगतिवादी उपन्यासहरूले पनि माओवादी जनयुद्धका साथै गरिब एवम् निम्न वर्गका साथै सीमान्तकृति जाति, क्षेत्र एवम् समुदायलाई विषय बनाएका छन् । यसले गर्दा नेपाली साहित्यमा मूल रूपमा रहेका प्रगतिवादी र प्रगतिवादइतर दुवै प्रवृत्तिका उपन्यासकारहरूको कलम सीमान्तकृत सबार्ल्टन) हरूको मुद्दामा केन्द्रित भएको देखिन्छ ।


समालोचनालाई 'सिर्जनाको अनुवर्ती विधा’ मानिने भएकाले यसलाई स्वाभाविक नै मान्नुपर्ने हुन्छ । पूर्वीय काव्यचिन्तनमा उपन्यासको चर्चा नभएकाले पनि पूर्वीय शास्त्रीय चिन्तकहरुको बाहुल्य रहेको प्रारम्भिक नेपाली समालोचनामा उपन्यासको समालोचना हुन नसक्नु पनि स्वाभाविक नै हो । नेपाली उपन्यासको समालोचना कार्यमा इन्द्रबहादुर राईको योगदान महत्त्वपूर्ण रहेको छ । उनको ''रुपनारायण सिंह : लेखनकार’’ शीर्षकको दियालो पत्रिका २०१९ मा प्रकाशित लेख साझा समालोचनामा सङ्कलित छ । यसमा उपन्यासकार रुपनारायण सिंहको लेखकीयतालाई उनको भ्रमर उपन्यासको सापेक्षमा चर्चा गरिएको छ । त्यसपछि आधुनिक नेपाली उपन्यासको दोस्रो चरणको पहिलो दशकमा केही फुटकर समालोचनाहरु भएको पाइन्छ । तिनमा कृष्णचन्द्रसिंह प्रधानको "नेपाली उपन्यास’’ लेख साझा समालोचना (२०२५) मा सङ्गृहीत छ । यसमा उपन्यास रचनाको सामाजिक राजनीतिक पृष्ठभूमिसहित नेपाली उपन्यासको आरम्भ, तिनका प्रवृत्तिसहित मूल्याङ्कन, आधुनिक नेपाली उपन्यासको विकासका साथै प्रमुख उपन्यासहरुको प्रवृत्तिगत चिनारी पनि दिइएको छ । त्यस्तै तारानाथ शर्माको नेपाली साहित्यको इतिहास (२०२७) मा पनि गद्यलेखनका रुपमा नेपाली उपन्यासको चर्चा गरिएको छ । वासुदेव त्रिपाठीको विचरण (२०२८) मा "आधुनिक नेपाली उपन्यासको पृष्ठभूमि र प्रथम प्रहर,’' 2बाङ्देलका औपन्यासिक प्रवृत्ति,’’ "विजय मल्ल उपन्यासकारका रुपमा’’ जस्ता उपन्यास केन्द्रित फुटकर समालोचनाहरु रहेका छन् । उपर्युक्त फुटकर समालोचनाहरुले नेपाली उपन्यास–समालोचनाको पृष्ठभूमि निर्माण गरेका हुनाले यसलाई पृष्ठभूमि काल मान्न सकिन्छ ।


पुस्तकाकारका रुपमा भने इन्द्रबहादुर राईको उपन्यासका आधारहरु (२०३१) देखि मात्र नेपाली उपन्यास–समालोचनाको आरम्भ भएको हो । यस आधारमा कविता, नाटक, निबन्धभन्दा नेपाली उपन्यास–समालोचना कनिष्ठ रहेको देखिन्छ । नेपाली समालोचनाको पहिलो साझा सङ्ग्रह साझा समालोचनामा पनि तीन वटा (त्यसमा पनि शरदचन्द्र भट्टराईको पछिल्लो संस्करणमा मात्र थप गरिएको) मात्र लेख सङ्गृहीत हुनुले पनि आधुनिक नेपाली उपन्यासको पहिलो चरणको समयमा नेपाली समालोचकहरुको ध्यान उपन्यास विधातर्फ खासै तानिएको देखिँदैन । यद्यपि पछिल्लो समय नेपाली उपन्यासमा केन्द्रित समालोचनाहरुको सङ्ख्या वृद्धि भइरहेको छ । उपन्यास विधामा केन्द्रिति भएर लेखिएका समालोचना कृतिहरु हालसम्म झण्डै चार दर्जनबढी सङ्ख्यामा प्रकाशित भइसकेका छन् ।


तिसको दशकलाई नेपाली उपन्यास–समालोचनाको विकास काल मान्न सकिन्छ । यस समयमा उपन्यास–समालोचनाको बलियो आधार मात्र निर्माण नभएर सैद्धान्तिक र प्रायोगिक दुवै पक्षको विकास भएका छन् । इन्द्रबहादुर राईले आधुनिक एवम् पूर्वआधुनिक कालका विभिन्न वाद तथा सिद्धान्तहरुका आधारमा नेपाली उपन्यासहरुको समीक्षा गरी पहिलो कृतिमा नै उपन्यास–समालोचनाको फराकिलो पृष्ठधार बनाएका छन् । त्यसपछि नरेन्द्र चापागाईंको उपन्यास शिल्प (२०३३) मा उपन्यासको सैद्धान्तिक र प्रायोगिक विश्लेषण गरिएको छ । यस दशकमा खेम कोइराला बन्धुको केही उपन्यास केही चिन्तन (२०३५), कृष्णचन्द्रसिंह प्रधानको नेपाली उपन्यास र उपन्यासकार (२०३७), प्रतापचन्द्र प्रधानको सैद्धान्तिक पृष्ठभूमिमा नेपाली उपन्यास (२०३९) र ईश्वर बरालको आख्यानको उद्भव (२०३९) आदि कृतिहरु प्रकाशित छन् । यीमध्ये कृष्णचन्द्रसिंह प्रधानको कृतिमा नेपाली उपन्यासको सैद्धान्तिक विकासका साथै नेपाली उपन्यासको विकासक्रमको पनि अध्ययन गरी विभिन्न प्रवृत्तिका आधारमा उपन्यासको समीक्षा गरिएको छ । यसले नेपाली उपन्यासको सैद्धान्तिक, प्रायोगिकका साथै ऐतिहासिक अध्ययनको क्षितिजलाई पनि अझ फराकिलो बनाएको छ । मोहनराज शर्मा र दयाराम श्रेष्ठको नेपाली साहित्यको सङ्क्षिप्त इतिहास (२०३४) मा पनि नेपाली उपन्यासको विकासलाई कालगत एवम् चरणगत रुपमा विभाजन गरिएको छ । यसरी नेपाली उपन्यास–समालोचनाको यस कालमा नेपाली उपन्यासको सैद्धान्तिक, प्रायोगिक एवम् ऐतिहासिक अध्ययन भएको छ ।


चालिसको दशकदेखि नेपाली उपन्यास–समालोचना विशिष्टीकृत बन्दै गएको देखिन्छ । ऋषिराज बरालको प्रगतिवाद र नेपाली उपन्यास (२०४०) कृति प्रगतिवादी विचारको केन्द्रीयतामा नेपाली उपन्यासको समालोचना गरिएको छ । त्यस्तै कृष्ण धराबासीको विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरु (२०४८) व्यक्ति–केन्द्री समालोचना हो । यसमा विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरुको मात्र अध्ययन गरिएको छ । यस दशकमा प्रतापचन्द्र प्रधानको नेपाली उपन्यास परम्परा र पृष्ठभूमि (२०४०) कृति पनि प्रकाशित छ । त्यस्तै गोपीकृष्ण शर्माको पनि अवलोकन र विवेचन (२०४४) शीर्षकको कृतिको ॅउपन्यास खण्ड’मा सात वटा उपन्यासकेन्द्री समालोचनालेखहरु सङ्ग्रहीत छन् । यसरी चालिसको दशकमा नेपाली उपन्यास–समालोचना विचारपरक एवम् व्यक्तिपरक हुँदै अझ विशिष्ट बन्दै गएको देखिन्छ ।


पचासको दशकमा नेपाली उपन्यास–समालोचनाको विकास अझ गतिशील रुपमा भएको छ । राजेन्द्र सुवेदीको नेपाली उपन्यास : परम्परा र प्रवृत्ति (२०५३) ले नेपाली उपन्यासको अध्ययनलाई अझ गहन र फराकिलो बनाएको छ । यस समयमा प्रकाशित ऋषिराज बरालको उपन्यासको सौन्दर्यशास्त्र (२०५६) उपन्यास–सिद्धान्तमा मात्र केन्द्रित कृति हो । धनप्रसाद सुवेदीको नेपाली उपन्यासमा आञ्चलिकता (२०५६) ले नेपाली उपन्यासको अध्ययनमा अर्को आयामको खोजी गरी यसको क्षेत्रलाई फराकिलो बनाएको छ । त्यस्तै कृष्णहरि बराल र नेत्र एटमको उपन्यास सिद्धान्त र नेपाली उपन्यास (२०५६) मा विश्वविद्यालयको पाठ्यक्रममा निर्दिष्ट उपन्यासको विश्लेषण गरिएको भए पनि उपन्यासको सैद्धान्तिक र ऐतिहासिक अध्ययनलाई सरल एवम् स्पष्ट बनाउन यसले महत्त्वपूर्ण योगदान दिएको छ । त्यसै गरी यस दशकमा मोहन पि. दाहालाको आधुनिक नेपाली उपन्यास (२०५०), कुमारप्रसाद कोइरालाको नेपाली आख्यानको अध्ययन (२०५८) आदि कृतिहरु पनि प्रकाशित छन् ।


साठीको दशक नेपाली उपन्यास लेखनको शतवार्षिकीको समय भएकाले हालसम्म सबैभन्दा धेरै उपन्यास–समालोचना कृतिहरु यसै समयमा प्रकाशित भएको पाइन्छ । प्रज्ञा–प्रतिष्ठानले देशभर गरेका विभिन्न कार्यक्रमहरु र लेखक–समालोचकहरुको उपन्यासविधातर्फको विशेष रुचिका कारण दुई दर्जनभन्दा बढी समालोचना कृतिहरु यस दशकमा प्रकाशित छन् । यस समयमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको नेपाली उपन्यास शतवार्षिकी स्मारिका (२०६०), कृष्णप्रसाद दाहालको विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरूमा द्वन्द्वविधान (२०६०), खुमनारायण पौडेल (सम्पा.) को आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम (२०६०), भूपति ढकालको विश्वेश्वरप्रसाद कोइरालाका कथा र उपन्यासको विश्लेषण (२०६०), भवानीप्रसाद पाण्डेको प्रगतिवादी नेपाली उपन्यासको इतिहास (२०६१), रमा शिवाकोटीको उपन्यास सिद्धान्त र विजय मल्लको उपन्यासकारिता (२०६२), डी. पी. अधिकारीको नेपाली उपन्यास र जनजीवन (२०६२), ज्ञानु पाण्डेका विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद (२०६२) र नेपाली उपन्यासमा लैङ्गिकता (२०६९), यादवप्रसाद लामिछानेको आधुनिक नेपाली उपन्यासमा विसङ्गतिबोध (२०६३), चन्द्रमणि अधिकारीको विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासहरु (२०६५), भूमिराज बस्ताकोटीको स्वैरकल्पना र उपन्यासकार ध्रुवचन्द्र गौतम (२०६६), अमृता शर्माको नेपाली प्रगतिवादी उपन्यास (२०६६), दुर्गाबहादुर घर्तीको मनोविश्लेषणात्मक नेपाली उपन्यासमा पात्रविधान (२०६७), विष्णुप्रसाद ज्ञवालीको समसामयिक नेपाली उपन्यास (२०६७), कुमारप्रसाद कोइरालाको आख्यान विमर्श (२०६८), विष्णुप्रसाद पौडेलको उपन्यास समालोचना (२०६८), लीला लुइटेलको नेपाली महिला उपन्यासकार (२०६८), खगेन्द्रप्रसाद लुइटेलको नेपाली उपन्यासको इतिहास (२०६९), नारायण चालिसेको पूर्वीय दार्शनिक मान्यतामा कोइरालाका उपन्यास (२०६९), विष्णुप्रसाद पौडेलका नारीवादी सिद्धान्त र नेपाली उपन्यासमा यसको प्रारम्भिक रुप (२०६९), नेपाली उपन्यासमा सामाजिक यथार्थवाद (२०६९) र आख्यानकार होमनाथ सुवेदी (२०६९), सुधा त्रिपाठीको नेपाली उपन्यासमा नारीवाद (२०६९), जीवन जीवन्तको अधिआख्यान सिद्धान्त र समीक्षा (२०६९), अम्बिका अर्यालको नारीवादी सिद्धान्त र औपन्यासिक विश्लेषण (२०६९), नवीन पौड्यालको आख्यान अनुशीलन (सन् २०११) आदि प्रकाशित छन् । यस कालमा नेपाली उपन्यास–समालोचना व्यापक रुपमा विस्तारित भएको देखिन्छ । यस कालमा विशिष्ट सिद्धान्त एवम् स्रष्टाका आधारमा समालोचना कार्यहरु भएका छन् । अस्तित्ववाद, विसङ्गतिवाद, स्वैरकल्पना, लैङ्गिकता, नारीवाद, अधिआख्यान जस्ता आधुनिक एवम् उत्तरआधुनिक सिद्धान्तहरुका साथै पूर्वीय चिन्तनमा केन्द्रित भएर पनि नेपाली उपन्यासको समालोचना भएका छन् । यस कालमा नारीस्रष्टाका उपन्यासहरुको पनि विशिष्ट रुपमा अध्ययन भएका छन् । यसरी साठीको दशकमा नेपाली उपन्यास–समालोचना सङ्ख्यात्मक एवम् गुणात्मक रुपमा विकास भएको देखिन्छ ।


सत्तरीको दशकमा नेपाली उपन्यास–समालोचना अझ नवीन विषयतर्फ उन्मुख छ । रमेश भट्टराईको आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण (२०७७) र षडानन्द पौडेलको नेपाली आख्यानमा शरीर राजनीति (२०७७) नेपाली उपन्यासलाई नवीन दृष्टिबाट हेर्ने महत्त्वपूर्ण प्रयासहरु हुन् । भाउपन्थी (सम्पा.) को आख्यानकार विश्वेश्वरप्रसाद कोइराला : पुनर्पाठ (२०७०) कृतिले समालोचनाको अर्को नयाँ आयाम निर्माण गरेको छ ।


यसरी सामाजिक–राजनीतिक परिवर्तनसँगै गतिशील बनेको नेपाली उपन्यासको समालोचना पनि नवीन दृष्टिसहित गतिशील बनेको देखिन्छ यद्यपि पछिल्लो समय विकसित राजनीतिक एवम् सामाजिक सञ्चेतनालाई उपन्यास–समालोचनाले व्यापक रुपले समेट्न सकेको देखिँदैन । देशमा गणतन्त्रको स्थापना भई संविधानसभामार्फत् संघीय व्यवस्थासहितको संविधान जारी भइसकेको अवस्थामा समकालीन उपन्यासहरुले प्रतिबिम्बित गरेको राजनीतिक–सामाजिक सञ्चेतनाको उचित विश्लेषण र मूल्याङ्कन हुन सकेको छैन । उपन्यासले समाजको विगत र वर्तमान चरित्रको मात्र प्रतिबिम्बन गर्दैन, यसले भविष्यको प्रक्षेपण पनि गर्दछ । मदनमणि दीक्षितको त्रिदेवी (२०५१) उपन्यासले गरेको समानुपातिक व्यवस्थाको प्रक्षेपण डेढ दशकपछि नै नेपाली राजनीतिक व्यवस्थामा कायम हुन पुगेको छ । यसप्रकारका प्रक्षेपित सञ्चेतनाहरुको समुचित विश्लेषणले आजको समाजलाई भोलि मार्गनिर्देश गर्न सहयोग पुग्ने भएकाले समयानुकूल सान्दिर्भक ढङ्गले उपन्यासलगायतका साहित्यिक रचनाहरुको समालोचना हुनु आवश्यक छ ।


नेपाली उपन्यासमा प्रतिबिम्बित नवीन सन्दर्भहरूको विश्लेषणका लागि नवीन दृष्टिकोणको खोजी आजको अवश्यकता हो । अबको समालोचनाले शास्त्रीय विधागत परिधिबाट बाहिर निस्केर समकालीन सामाजिक–राजनीतिक सांस्कृतिक सन्दर्भलाई अध्ययनको केन्द्रमा राख्नुपर्छ । अब केवल उपन्यासको मात्र अध्ययन नगरेर उपन्यासमार्फत सामाजिक सञ्चेतनाको पनि अध्ययन गर्न आवश्यक छ । यसले जनजातीय सौन्दर्य, मधेसी सौन्दर्य, प्रतिरोधी चेतना, संघीय चेतना, नारीचेतना जस्ता सामाजिक–राजनीतिक विषयलाई अध्ययनको आधार बनाउनुपर्छ ।

(यो लेख लेखकद्वारा सम्पादित प्रज्ञा उपन्यास विमर्श कृतिको सम्पादकीयमा आधारित छ ।)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।