18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिम्रो गङ्गा र मेरो टिस्टा

कविता भीम ठटाल August 18, 2025, 11:16 am
भीम ठटाल
भीम ठटाल

तिम्रो एउटा गङ्गा छ,
मेरो एउटा टिस्टा छ।
तिम्रो गङ्गा मेरो टिस्टाभन्दा पक्कै ठूलो
बृहद, व्यापक, विहङ्गम
मेरो टिस्टा
मेरालागि मेरो गङ्गा
उस्तै बृहद, व्यापक, विहङ्गम।
प्रार्थना सुविधा अनुसार
तर नदीको यात्रा निश्चयको।
अरबौंका ठूल्ठूला पाप होलान्
तिम्रा गङ्गामा धुनलाई
थोर सही पाप मेरा पनि छन्
मेरो टिस्टामा धुनलाई।
तिम्रो आस्था तिम्रो विश्वास
प्रमाणमा होइन अगाध समर्पण
महान गङ्गा अनि पवित्र जल
मेरो टिस्टा मेरो आस्था
मेरो पवित्र पावन स्थाल।
आकारमा भिन्न
गुणमा समान,
कहाँ सुरु कहाँ अन्त
निरन्तर दुवै अनन्त।
तिम्रो व्यापक गङ्गामा
अनेकानेक हुण्डरी होलान्,
अनेकौं भुमरी होलान्,
मेरो टिस्टामा पनि अनेकानेक
हुण्डरी र भुमरी छन्l
तिम्रो गङ्गाले आपदको समय
लाशहरु बहन गर्यो होला
मानिस आकांक्षाका मलामीहरु पुगे होलान्|
त्यस्तै अनेकौं बहन अनि सहन गर्ने
एउटा मेरो पनि टिस्टा छ|
मानिसहरु सबै पाप लाग्ने कामहरु गरिसकेर
फुर्सद भएपछि समयमा अनि मौकामा
तिम्रो यात्रा गर्छन्
पाप धुनलाई तिम्रो पानीले पर्सिने गर्छन्
रसायनले, प्रशासनले, राजनीतिले, धर्मगुरुले
सङ्ल्याउनु पर्ने तिम्रो पानीमा डुबुल्की लगाउँछन्
र पनि फोस्रै, मैलै, जस्तो पस्यो उस्तै,
बाहिर निस्किन्छन् |
तिम्रो गङ्गाको परिसरमा
बाँटिए काटिने त्रास व्याप्त
अनि अमृतकालका मानिसहरु
विषको वर्षा गर्न व्यस्त हुँदा
सर्वदा सङ्लो मेरो पानीको परिसरमा
उन्मुक्त पशु पंक्षीको अभयारण्य

यद्यपि नदी मात्र भएर पनि
आफै भित्र आफू एक समुद्र हो
तिम्रो नदीको पानीको सागरमा
आफ्नै शार्कहरू होलान्
मेरो टिस्टाको पानीको सागरमा पनि
आफ्नै गोहीहरू छन्
अनि बग्दै अन्ततः गङ्गा र टिस्टा
पुग्ने एकै महासागर |

गान्तोक, सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।