19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'आमा धरती बाबु आकाश'ले सिर्जेको ब्रह्माण्ड

कृति/समीक्षा डा. टीकाराम पोखरेल August 18, 2025, 3:22 am
डा. टीकाराम पोखरेल
डा. टीकाराम पोखरेल

पुष्करराज भट्ट नेपाली लघुकथाका मानक हुन् । नेपाली कथामै विद्यावारिधि गरेका भट्टको छैटौँ लघुकथा कृतिको रुपमा ‘आमा धरती र बाबु आकाश’ प्रकाशनमा आएको छ । ५६ वटा लघुकथा सङ्कलित लघु आकारको कथा सङ्ग्रहमा २८ वटा कथामा आमाको सन्दर्भ र २८ वटा कथामा बाबुको सन्दर्भ जोडिएका छन् । आमालाई टेक्ने ठाउँ अर्थात् धरती र बाबुलाई छानो अर्थात् आकाशको रुपमा अथ्र्याइएको कथा सङ्ग्रहले सन्तानको लागि आमा र बाबुको समान भूमिका रहने र सन्तानका लागि पनि आमा र बाबु समान हुन् भन्ने कुरा प्रष्ट्याउन खोजेको देखिन्छ । लैङ्गिक समानताका दृष्टिले पनि सङ्ग्रहमा बाबु र आमाका सन्दर्भका कथा बराबरी राखिनुले कथाकारले समानतामा विशेष ध्यान दिन खोजको देखिन्छ ।

हरेक व्यक्तिको अस्तित्व बाबु आमासँग जोडिएको हुन्छ । तर कतिपय मान्छेलाई जिन्दगीमा एकपटक यस्तो लाग्छ कि– ‘मेरो अस्तित्व ममै निहित छ, म भनेको म नै हुँ, मेरो प्रगतिको कारक म नै हुँ, मैले संसार बुझेको छु, आमा बाबुले केही बुझेका छैनन् ।’ तर मान्छे आज जे छ, त्यसका पछाडि उसका बाबुआमाको भूमिका भएको कुरा कथाहरुले बोलेका छन् ।
आमा जन्मभूमिकी प्रतिक हुन् । सङ्ग्रहको पहिलो कथाले गाउँ रित्तो पार्नुहुन्न, शहरलाई पाल्ने गाउँको उब्जनीेले हो (गाउँमा आमा, पृ. २) भन्दै जन्मभूमिप्रतिको माया प्रस्तुत गरेको छ । आजको पुस्ता गाउँ छोडेर शहर र देश छोडेर विदेश जाने युवाहरुको रहरको भोकप्रति कथा लक्षित छ । आमाका माध्यमबाट गाउँमा भएको संभावना देखाएर गाउँप्रतिको माया (आमाको माया, पृ. ३) प्रकट गरिएको छ । आमाको सन्तानप्रतिको माया अटुट हुने (घर फर्केका पाईला, पृ. ७) कथामा प्रकटित छ । नारी आफूले जन्माएको सन्तानलाई मात्र होइन, सबैलाई माया गर्छिन् भन्ने उदाहरण सडक छेउकी आमा ( पृ. ११) मा पाइन्छ । त्यस्तै सन्देश दिने अर्को कथा हो साझा आमा । जुन कथाले शरणको मरण नगर्ने र जन्म दिने मात्र होइन बचाउने पनि आमा हुन् (पृ. ३६) भन्ने देखाएको छ । पुरुषका लागि महिलाको त्याग कतिसम्म हुन्छ भन्ने कुरा आफ्नो कलाको अन्त्य गर्दा पनि धोका खाएकी आमा (कलाको अन्त्य, पृ. १४) कथामा छ ।

समाजमा आमा बाध्यता नै बाध्यतामा बाँचेकी हुन्छिन् । चाहे कुमारी आमाले समाजका कारण बच्चालाई सडकमा छोड्नपर्ने नियति (कुमारी आमा, पृ. २८) होस् वा छोराछोरीका लागि गलत काम गर्न पनि पछि नपर्ने आमा हुन् (अनुकूलता, पृ. ३२) अथवा छोरीमाथि आँखा लगाउनेको हत्या गर्न पछि नपर्ने आमाको बाध्यता नै किन नहोस् (अन्तिम विकल्प, पृ. ४०) वा बच्चाको लागि क्रोध पनि निकाल्ने आमा (क्रोध, पृ. ३४) जस्ता कथा प्रकारान्तले आमाका रहरभन्दा सन्तानकै लागि आमाले गलत काममा समेत पाइला चाल्नु परेका बाध्यता हुन् ।
संग्रहमा आमासन्दर्भ सकिएपछि बाबुको सन्दर्भका कथाहरु सुरु हुन्छन् । आफ्नो बाबु आमा छोराछोरीका लागि बाँँच्न र बचाउन मात्र होइन मर्न र मार्न पनि तयार हुन्छन्, तर छोरा छोरीका कुनै माग पूरा नगर्दा बाबु वाहियात (वाहियात, पृ. ५६) मानिन्छन् । बाबु कहिल्यै छोराको प्रतिद्वन्द्वी होइन, बरु छोराको खुसी बाबुको खुसी (प्रतिदन्दी, पृ. ५८) हो । छोराछोरीप्रति बाबु कहिल्यै गलत सोच्दैनन् (परिवर्तित रुप, पृ. ९०), सन्तान प्रति बाबु सधैँ उदार हुन्छन् (उदार बा, पृ. ९४) भनेर बाबु र सन्तानप्रतिको बाबुको माया प्रेम कथाहरुमा देखिन्छ ।

आमा देश हुन् र देश आमा हुन् । त्यसैले देशको समस्या देखाउने सन्तान होइन, बरु समस्याको समाधान दिने सन्तानको आज खाँचो छ (देश अर्थात आमा, पृ. ४४) भन्दै कथामा आजको देशको यथार्थ मात्र प्रस्तुत छैन, निकासको खोजी गरिएको छ । तर सन्तान कुकर्मी भए भने देश त समस्यामो चङ्गुलमा पर्छ नै, आमाबाबु समेत सडकमा पुग्छन् । आमालाई जिउँदो हुँदा सडक पुर्याउने, मरेपछि श्रद्धाको ढोँग गर्ने (सत्यको अनावरण, पृ. ५२), बाहरुलाई वृद्धाश्रम पठाउने अनि फेसबुकमा फोटो पोष्ट गरेर श्रद्धाका ढोँग गर्ने (बाका फोटाहरु, पृ. ५४), बाको महत्व बाँचेसम्म नहुने मरेपछि सम्झने (सम्झनामा बा, पृ, ७५) जस्ता घटनाहरु बुनिएका कथाहरु मार्मिक ढङ्गले प्रस्तुत भएका छन् । सन्तानहरु आमा बाबु पाल्न पञ्छिने, पाल्नै परे भाग लगाएर पाल्ने भएपछि आमाको आक्रोशमा (भागवण्डा, पृ. ५०) पोखिएको छ । बाबुआमाप्रतिको कर्तव्य पालना नगर्ने सन्तानले देशप्रतिको कर्तव्य पनि पालना गर्न सक्दैन । आमाको आक्रोश देशको पनि आक्रोश हो ।

समाज असल मान्छे र खराब मान्छेको मिश्रित योग हो । यही समाजमा बस्ने सबै बाबुआमा सज्जन मात्र छैनन्, गलत बाबु आमा पनि हुन्छन् । सन्तान छोड्ने आमा (पुनः आगमन, पृ. ५), आफ्नै छोरीलाई प्रतिस्पर्धी देख्ने आमा (प्रतिस्पर्धी, पृ. १३), बालबच्चालाई बिचल्ली बनाउने निष्ठुरी आमा (निष्ठुरी, पृ. २६) पनि छन् । श्रीमती विदेशमा कमाउने श्रीमान् यता उडाउने कुकर्मी बाबुले आमालाई दिएको धोका (ममता, पृ. २४) देखि विदेशमा बाबु कमाउने यता आमा उडाउने (क्रमशः निरन्तर, पृ. ८४) दुवै प्रवृत्तिका बाबु आमाको चरित्रलाई पनि कथामा उठान गरिएको छ । अरुलाई उपदेश दिने आफू पालना नगर्ने (सचेतना, पृ. १०६), सुशासनको वकालत गर्ने तर व्यवहारमा भ्रष्टाचार गर्ने (रुपान्तरण पृ. ८८) जस्ता गलत आचरण भएका बाबुहरु पनि समाजमा कम छैनन् । बलात्कार नगरे पनि समाजले जबर्जस्ती बलात्कारी दर्ज गरेका (बलात्कारी बाबु, पृ. ७०) मात्र छैनन्, छोरीलाई बलात्कार गर्ने अपराधि बाबु (अपराध पृ. ६८) पनि छन् ।

कथा सङ्ग्रहमा पुस्तागत द्वन्द्वको पनि सूक्ष्म उठान गरिएको छ । सासु बुहारी बिचको पुस्तागत द्वन्द्व (अनभिज्ञता, पृ. ९÷मान्छे, पृ.२२) देखाइएको छ । आज बाबु आमाको सोच र सन्तान बिचको सोचको बिचमा ठूलो खाडल छ । त्यो खाडल पुर्न नसकेर पनि आज परिवार विखण्डन हुन पुगको छ । कथामा दाइजो जस्ता कुप्रथाको सुधार हुनुपर्ने समाजिक सन्देश (अर्काको धन, पृ. ९८) पनि दिइएको छ । विदेश बस्ने बाबुको देशप्रतिको माया (देशको माया, पृ. ९२) छताछुल्ल छ ।

आमा धरती, बाबु आकाश कथा सङ्ग्रह मूलतः बाबु आमाको सन्तानप्रतिको माया, ममता, प्रेम, कर्तव्य, त्याग, समर्पणमा केन्द्रित छ । तर त्यसो भनेर लघुकथाहरु सन्तानप्रतिको माया, ममता, प्रेम, कर्तव्य, त्यागमा मात्र सीमित छैनन्, कतिपय सन्तानले भने आज आमाबाबुप्रतिको कर्तव्य भुलेको कुरालाई पनि कथाहरुले इङ्गित गरेका छन् । कथाहरुको केन्द्र आमा र बाबु भए पनि कथाहरुले देशप्रेम, सामाजिक सन्देश, मान्छेका कर्तव्य जस्ता पाटाहरु केलाउन पुगेका छन् । हाम्रा समाजका राम्रा नराम्रा दुवै पक्षलाई उठान गरेर हरेक कथाले कुनै न कुनै सन्देश प्रवाह गरेको छ । कतै समाज सुधारको अपेक्षा छ, कतै देशप्रेम छ, कतै कर्तव्य छताछुल्ल छ भने कतै समाज कता जाँदै छ भन्ने तर्फ चिन्ता प्रकट गर्दै समाज आदर्श हुुुनुपर्ने, खासगरी सन्तान कर्तव्यनिष्ट हुनुपर्ने आग्रह देखिन्छ । सन्तानको लागि बाबु र आमा आकाश र धरती मात्र होइनन् सारा ब्रमाण्ड हुन् । देश, समाज, सन्तान र बाबुआमाप्रतिको व्यक्तिको कर्तव्यमा केन्द्रित कथाहरुले समाजको सूक्ष्म विश्लेषण गर्दै आमाबाबुको ब्रह्माण्ड खडा गरेको छन् ।

सिर्जना मष्तिष्कको व्यापार होइन, हृदयको व्यापार हो । भट्टका कथाहरुले हृदय छुन्छन् । सामाज सुधारको अपेक्षा गर्छन् । मानव कर्तव्यबोध गराउँछन् । संरचनाका हिसाबले लघु आकारका लाग्ने कथाहरु सिद्धान्तको कसीमा सिर्जना गरिएका छन् । लघुकथाको विधिशास्त्रले लघुकथाको फैलावटलाई रोक्दैनन्, बरु थप स्तरीय बनाउँछन् भन्ने कुरा भट्टका कथा साक्षी हुन् ।

नेपाली लघुकथाको फाँटमा हजारौँ कृतिहरु प्रकाशित भए पनि गुणात्मकताको हिसाबले केही दर्जनको हाराहारीमा मात्र कृतिहरु छन् । तीमध्ये लघुकथाको मानकमा आधारित भट्टका लघुकथा सङ्ग्रहहरु नेपाली लघुकथा फाँटका अमूल्य निधि हुन् । यही निधिको थुप्रोमा ‘आमा धरती, बाबु आकाश’ अर्को एउटा इँटा थपिएको छ । यो सत्कर्मका लागि लेखकलाई साधुवाद !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।