18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पर्तिर आमै

संस्मरण/स्‍मृति विमल लामिछाने August 19, 2025, 4:27 pm
विमल लामिछाने
विमल लामिछाने

सबैले चिन्ने नाम ‘पर्तिर आमै’ । जसको अनुहार कुनै पाना पल्टाइने किताब थिएन, तर एउटा मौन इतिहास थियो । जसमा प्रत्येक औँलाका उच्चिएका चक्र र खुट्टाका पैतालाले एक पृथक अध्याय झैँ गहिरो भाव बोकेका थिए ।

कुनै दस्तावेजमा उहाँको जन्म मिति पनि एक्किन थिएन, उहाँका छोराको नाम पदम भएकाले गाउँ पञ्चायतमा नागरिकता बनाउँने टोली आउँदा छिमेकी काकाले टिपाइदिनुभयो पदमकी आमाको नाम... ‘पदमकुमारी’ । ठेगाना.. इलाम फाकफोकथुम ३ आमचोक । बस कथा यति हो ।

टिपन पनि बनाएनन् क्यार सायद । त्यही भएर होला ‘पर्तिर आमै’ भनेपछि सबैले चिन्थे । हजुरबा सँगको विवाहको न विवरण, न एक्लोपनको शुरुवातको ठ्याक्कै समय । ती सबै कुरा अभिलेखमा हराए, तर स्मृतिमा भने खातमाथि खात संकलित रहेका छन् । किनकि ‘पर्तिर आमै’ आफैं एउटा जीवन्त दस्तावेज हुनुहुन्थ्यो । कतै कहिल्यै लेखिएको होइन, तर सम्पूर्ण भएर बाँचेको थियो उहाँको जीवन ।

हामी बालख छँदा —जब हाम्रो सम्पूर्ण विश्व उहाँको काखमा थियो । त्यहाँ कुनै विद्यालय थिएन, पाठ्यपुस्तक थिएन, तर हामी पढ्थ्यौं, उहाँको आँखाको मौनता, निधारको चिरा चिरा परेका रेखाहरु, चिउँडोमा पलाएका एकदुईवटा लामा दाह्री, खप्टिएर अगाडी उछिट्टिएका माथिल्ला पट्टीका लामा दुईवटा दाँत र हरेक समय थिरथिराउने ओठको कम्पन । अरुभन्दा पनि उहाँको मौनता र सहनशिलताले हामी सन्ततीलाई संसारको अर्थ सिकायो । उहाँ भन्नुहुन्थ्यो, “तिम्रा हजुरबुबा आत्माका राजा थिए, गोडामा बुट नभए पनि आत्मसम्मानले हिँड्थे । कोहीसँग डगेनन् ।” उ बेला फोटोको जमना थिएन । त्यही भएर होला अहिले पनि हामीसँग हजुरबाको आकृति छैन । न मूर्ति नै छ, तर उबेलाका हजुरबाका दैनिक क्रियाकलापका केही स्मरण, वाणीवचनहरू हजुरआमाको मस्तिष्कमा एउटा गहिरो आकृति कोरेर धुँमिल तर अमिट भएर बसेका जो थिए । हजुरआमाले जस्ताको तस्तै सियर गर्नुभएको हजुरबुबाको विचित्रको कथा हाम्रो मस्तिष्कमा बेला बेला चित्र बनेर आइरहन्छ ।

हजुरआमाले अक्षर चिन्नु भएको थिएन । तर जीवनका वर्णमाला उहाँको क्रियाकलापमा झल्किन्थे । मकैको दाना देख्दा ’ट’ सम्झनुहुन्थ्यो, चुच्चो चुलेसी देखेर ’च’ भन्दै मुस्कुराउनुहुन्थ्यो । काँधमा लाठीको वजनले उहाँलाई ’ध’ को अर्थ थाहा थियो । सँधै अगाडी आइरहने लामो दाँतले ’द’ नविर्षने गरि गढेको थियो । उहाँले कहिल्यै कापी–कलम नचिने पनि जीवनको पाठ सबैभन्दा घनिभूत रूपले पढ्नु भएको थियो । समाजिक परमपरा, संस्कृति, ‘धनीका बचन र गरिबीताको पीडा’ मजाले अक्षरस बुझ्नुभएको थियो । त्यो शिक्षा शास्त्रको थिएन, त्यो अनुभूति र भोगाइको शास्त्र थियो, अनि अनुभूतिको संगालो नै जीवन सिकाउने पाठशाला थियो ।

श्रीमान् गुमाउदा उहाँका सामु शोकभन्दा पनि ठूलो भएर जीवन पुनर्निर्माणको चुनौती ठिँगिएको थियो रे । विवाहले दिएको ‘सिन्दूर’ मनभरीबोक्न नपाउँदै ‘सतित्व’को बोझ बोक्नु परेको त्यो क्षणबारे हजुरआमा धेरै बोल्नुहुन्नथ्यो, तर आँखाको मौनताले यही कथा कहन्थ्यो ।

जुन दिन हजुरबाले छाडेर जानुभयो त्यो दिनदेखि हजुरआमाको दायित्व गुणात्मक बढ्यो । टुहुरा सन्तानहरू, जो उड्न नजानेका चरा जस्तै थिए । उहाँकै पखेटामुनि हुर्किए । बिहान ढीकीजाँतो गरेर दिउँसो खेत बारीको काम, बेलुका आँखा रसाउँदै चुल्हो ताप्ने क्रम उहाँको जीवनको दिनचर्या बन्यो । हजुरआमाले कयौ दिनहरु चामलको अभावमा फर्शीका चाना चुसेर विताएका, पीडालु,भ्यागुर र सुठुनीका भरमा रात कटाएका, छोराछोरीले काले बटुकामा कोदो र गहुँको ढीडो बोकेर रुँदै मोई मोई भनेर कराउँदा मोईको विकल्पमा मकैको पीठो पानीमा घोलेर खुवाउँदै नावालकहरु फकाएर हुर्काएका कयौं टिप्स अविश्मरणीय छन् ।

उहाँको दुःखमा आवाज थिएन, तर श्रममा लामो कविता थियो, परेली र संगिनीको दोहोरी थियो । उहाँमा सम्भावनाका छालहरु छचल्किरहे । निरासा ठिँगुरिँदै जान्थे तर आशाका बसन्तहरु आइरहे । कोहीबेला गाउँलेहरूले एउटी एक्ली स्त्रीमाथि गीद्धेनजरपनि लगाउँथे होलान र शंकाका नजरहरू पनि बिछ्याइए होलान्, तर उहाँले प्रतिवाद गरिरहनु परेन । उहाँको इमान्दारिता र मौन उपस्थितिले नै शंका चिरेर साहसको परिभाषा दिन्थ्यो । त्यो साहस पुस्तान्तरण गर्न भ्याउनु भयो । ‘ल है नातिहो, मेरा सन्तानले हार्नु हुँदैन, हारेर नआउनू, लतार्नूपर्छ देशका मुलीयाहरुलाई ।’ बेला बेला आट भर्दैगर्ने हजुरआमाको स्वभावमा विद्रोहको प्रतिक पनि झल्किन्थ्यो ।

गाउँको लोककथामा रातको अँध्यारो कुनै देवीको क्रोधको रूपमा चित्रण हुन्थ्यो । तर उहाँलाई अन्धकार डर होइन, ज्ञानको क्षणिक अनुपस्थिति लाग्थ्यो । हजुरआमा अलिबढी आस्तिक पनि हो, पाठपूजा पनि गर्नुहुन्थ्यो । तर उहाँको पूजा कुनै कर्मकाण्डीय अनुशरण थिएन, उहाँको पूजामा सनातनी जीवनको सम्बन्ध थियो । माटोसँगको सम्वाद थियो, अन्न र बोटविरुवा तुलफूलसँगको सम्झौता थियो । आफूले पालेका जनावरसँगको आत्मीयता र पितृप्रतिको स्मरण थियो । उहाँले गर्ने पूजाहरु आफ्ना भरोसाका प्रतीक थिए ।

त्यो जीवन सजिलो थिएन, तर उहाँका ओठले कहिल्यै गुनासो बोकेनन् । उहाँको मनले कुराको दोहोरी खेलेर मान्छेमा फाटो ल्याउन कहिल्यै जानेन । उहाँमा समानताको दीयो बलिरयो । कहिलेकाहीँ आँखा रसाउँथे, तर ओठहरू सधैं शान्त रहन्थे—मौन सन्तोषको रूपमा । उहाँको हाँसो कुनै औपचारिक प्रयोजनका लागि थिएन । त्यो हाँसो जीवनको गीत थियो, जसले थकान हटाउँथ्यो, सन्तानका निधार चुम्थ्यो र आँगन घुमीघुमी घरभित्र उज्यालो ल्याउँथ्यो ।

उहाँ अब हुनुहुन्न । साउनको झरीभित्र म फेरि त्यो हजुरआमाको गाउँमा फर्किएँ, जहाँ जीवनले विश्राम पाएको त्यो घर अझै उभिएको छ, ढोकाको चुकुल अझै जस्ताको तस्तै छ । आग्लो लोहोरो हजुरआमाले राखेकै कुनामा ठडिएको थियो । तर त्यो झ्याल जहाँबाट जूनमा बेलुका र घाममा विहानको समय हेर्नुहुन्थ्यो । विहान भाले कराउँदा ठ्याक्कै उठ्नुहुन्थ्यो, दिउसो घामको छायाँ हेरेर ठ्याक्कै समय पत्ता लगाउनुहुन्थ्यो ।

आज पनि साँझ पर्नु अगाडि म अनायासै सोच्न थाल्छु—“के आज हजुरआमा झ्यालबाट जून हेरेर मुस्कुराइरहनु भएको छ होला ?” त्यो झ्याल अझै खुला छ, त्यो जून आज पनि आउँछ—जसरी किरण फिँजाएर आउँथे उहाँ बाँचिरहँदा । तर अब ती आँखा छैनन्, त्यो काख छैन, र बाँकी छ केवल उहाँको नाम स्वर्ग पुगेकी ‘पर्तिर आमै’, उहाँले अन्तिम श्वास फेरेको पीँडी र त्यो घर, नजिकैको स्कूसको झ्याल, बल्यासी नजिकै दुईपट्टी टेकेर सु गर्ने ढुंगो, उस्तै छ । अनि मानसपटलमा आउँछ हरियो साडीमा पहेँलो बटुकी कसेर पछाडी कमरमा भिरेको उहाँकै भरपर्दो साथी हँसिया । एक हातमा चियादानी बोकेर लौरोको सहारामा कहिले बलौटी, भाङ्ग्रे, खोल्याङ्, कहिले बन्दुके र जुकेनी त कहिले लेक र ब्याँसीका याक्सीहरुमा खाजा बाँड्दै ठट्यौलीमा पेट मिचि मिचि हाँसेका अहा... यादगर दिनहरु । अनि सम्झिरहेछु एउटा सलल बगिरहेको मौन, स्वच्छ शान्त नदीको चित्र, ‘पर्तिर आमै’ अर्थात मेरी हजुरआमा ।

उहाँको जीवन एउटा पाठशाला थियो, जसले अक्षरले होइन, आचरणले सिकायो । हजुरआमामा नारी हुनु केवल सम्बन्धको परिभाषा मात्र थिएन, एउटा सशक्त क्रान्ति पनि थियो । आज हामी, उहाँका सन्तान, उहाँका नातिनातिनी, बुहारीहरू, हाम्रो पाइलामा उहाँको संघर्षको धूलो बोकेर हिंडिरहेका छौँ ।
(स्व. हजुरआमाको सम्झनामा )

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।