’अभिव्यञ्जना साहित्यिक प्रतिष्ठान’ चितवनले आयोजना गरेको “पाठकका माझमा लेखक“ कार्यक्रममा मैले पाठकको तर्फबाट गायत्री अधिकारीको ’वर्तमान’ उपन्यासको पाठक प्रतिक्रिया दिनुपर्ने थियो । स्रष्टा र सिर्जनाका बारेमा अनजान थिएँ । कार्यक्रम हुन दुई दिन मात्र बाँकी थियो । किताब पत्ता लगाएर हातमा पर्यो । बाहिरी डिजाइन हेर्दा नै ’झोला बोकेर विमान चढ्न लागेका मानिसहरूको लर्को’ देखेर उपन्यासले कुन संसारमा डुबाउनेछ भन्ने अनुमान भयो । यो विषयमा मैले पनि कलम चलाएको र यो प्रवृत्तिको सिकार आफू पनि भएकोले यो विषयमा बोल्न ’ठीकै हुन्छ’ भन्ने सोचें । आज बिहान मात्रै बल्ल किताब पढेर सकें । पाठकको एउटै वस्तु र विषयमा पनि स्वाद फरक फरक हुन्छ । भनिन्छ नि,
“ तै तिहुन कसैले बिल्नु भनी नुन थपेर खायो, कसैले चर्को भनी पानी ।
कसैले खुर्सानी थपेर खायो, कसैले पर सार्दै भन्यो यस्तो पिरो नखानी ।
एउटै तरकारीमा त यस्तो स्वाद फरक हुन्छ भने पुस्तकहरूको स्वाद पनि पाठकअनुसार फरक हुन्छ । सात खण्डमा लेखिएको र करिब सय पेज पठनीय सामग्री भएको यो पुस्तकले समाजमा वर्तमानको खोजीमा हिँडेका पाइलाहरू हराउने गरेको देखाएको छ ।
उपन्यास साहित्यको एउटा प्रमुख विधा हो । यसले कथा, पात्र, समाज र समयलाई जीवन्त ढङ्गले प्रस्तुत गर्छ । मानिसको जीवन–सङ्घर्ष, संवेदना र सपना यसमा प्रतिबिम्बित हुन्छ । त्यसैले उपन्यासलाई समाजको दर्पण पनि भनिन्छ । उपन्यास विधामा गायत्री अधिकारीजीले आफ्नो उपन्यास ’वर्तमान’ लेखेर एउटा इँटा थप्नुभएको छ ।
श्रीमद्भगवद्गीतामा एउटा प्रसिद्ध वाक्य छ– “भूतको पछुतो नगर्नू, भविष्यको चिन्ता नगर्नू, वर्तमानमै कर्म र चेतनालाई केन्द्रित गर्नु“ । गायत्रीजीको ’वर्तमान’ उपन्यास यही गीताको भनाइसँग मिल्दो देखिन्छ । उपन्यासको मर्मअनुसार नै गायत्रीजीले कथा, पात्र, समाज र समयलाई जीवन्त ढङ्गले प्रस्तुत गर्नुभएको छ ।
उपन्यासका मुख्य पात्रहरूमा दया र मुना छन् । सँगै गंगाराम, रीता, सानी र सीता लगायतका पात्रहरूको पनि भूमिका देखिन्छ । दया गाउँघरको सामान्य परिवेशमा हुर्किएको युवक हो भने मुना उसकी सहपाठी । मुनाको परिवेश पनि उस्तै हो । पात्रहरूलाई लमजुङ जिल्लालाई आधार बनाइएको छ । उनीहरू १२ कक्षादेखि नै प्रेममा हुन्छन् ।
दयाले बीए पढ्दै गर्दा बोर्डिङ स्कुलमा शिक्षक बनेर काम पनि गर्छ । ऊ आफ्नो कामबाट सन्तुष्ट छैन, किनकि त्यो आम्दानीले उसलाई सोचेजति खर्च गर्न पुग्दैन । आजकलका युवाशक्ति गाउँघरको श्रम–संस्कृतिबाट टाढिँदै गएका छन् । कुटो, कोदालो, घाँस, दाउरा, गोबर फाल्ने, भैँसी दुहुने जस्ता कामलाई “अल्छी मान्ने“ प्रवृत्ति छ । यस उपन्यासमा पनि नयाँ पुस्ताको प्रतिनिधि व्यवहार यस्तै देखिन्छ । दया र मुनाले क्याम्पस पढ्दै गर्दा नै दुवै जनाले अमेरिकाको डीभी भरेका हुन्छन् ।
दयाले गाउँमा नबस्ने र विदेश जाने कुरा बुबाआमालाई भनिरहेको हुन्छ, तर बुबाआमाले सजिलै हुन्छ भनेका हुँदैनन् । उनीहरू सम्झाइरहेका हुन्छन्, “हामी उमेरले डाँडा काटिसक्यौँ । हामीलाई कसले हेरचाह गर्छ ? विदेशभन्दा नेपालमै काम गरेर खानू“ । तर ऊ “यहाँ बस्न सकिँदैन, निर्वाह हुँदैन, जान्छु“ भनिरहेको हुन्छ । त्यही बेला उसकी बहिनी सानी चाडपर्व मान्न आउँछे र बुबाआमालाई दाइलाई विदेश जान दिनुपर्छ भनेर सम्झाउँछे । दयाको दाइ गंगाराम जापान गएको हुन्छ । पहिलो जापान गएको छोराले आफूहरूलाई कुनै वास्ता नगरेको र यो छोरा पनि गयो भने यसले पनि वास्ता गर्दैन, हामीलाई कसले हेर्छ भनेर उनीहरू नजान कर गर्छन् । अन्तमा केही नलागेपछि “हुन्छ, जानू, तर केही वर्ष कमाएर फर्कनू“ भनी दयालाई पनि स्वीकृति दिन्छन् ।
पढाइकै क्रममा प्रेम बढ्दै जाँदा दयाले मुनासँग कानुनी रूपमा विवाह गरेको हुन्छ । तर उसको विवाह गरेको मात्र होइन, यी दुई नजिक छन् भन्नेसम्मको कुरा कलेजको प्रेम सर, मुनाकी दिदी र दयाको एक जना मामाबाहेक अरूलाई थाहा हुँदैन । दया विदेश जान टोफेल पढ्ने, विभिन्न म्यानपावर धाउने गरिरहेको हुन्छ । यही समयमा मुनालाई अमेरिकाको डीभी पर्छ । अदालती विवाह गरिसकेकोले उनीहरूसँगै अमेरिका जाने बाटो खुल्छ ।
उता दयाकी भाउजू रीता घरमा बसेर सासु–ससुराको स्याहार गर्न मन नलागेर छोरा पढाउने बहानामा काठमाडौँ बस्न थालेकी हुन्छिन् । गंगारामले नै चिनाइदिएका एक जना काकाले रीतालाई काठमाडौँमै बस्ने घर र जागिर खोज्न सहयोग गर्छन् । तर काका नाता लगाए पनि रीतालाई कामुक नजर लगाएको र गलत व्यवहार देखाएकोले रीता उनीबाट टाढा हुन खोज्छिन् । तर उनले यो कुरा आफ्नो पति गंगारामलाई समेत केही भन्दिनन् । केही समयपछि रीता पनि जापान जान्छिन् । एउटी बुहारी पनि बाहिर जाँदा वृद्ध सासु–ससुराले आफूहरू एक्लो भएको महसुस गर्छन् ।
दया र मुना अमेरिका पुगेर त्यहाँको व्यस्त जीवनशैलीमा भुल्छन् । तर दयाले बेलाबेलामा बुबाआमालाई पैसा पठाउने र फोन भने गरिरहेका हुन्छन् । दिन बित्दै जान्छ । दया र मुना अमेरिका गएको दुई वर्षमा छोरी आभा जन्मिन्छे । अर्को तीन वर्षमा छोरा जन्मिन्छ । तर दया र मुनाले छोराछोरी जन्मेको खुसी घरमा बाँड्न पाएका हुँदैनन्, किनकि विवाह गरेको कुरा अहिलेसम्म भनेका हुँदैनन् । केही समयपछि नेपालमा बुबाआमाको बिचल्ली भएको कुरा छिमेकीले खबर गर्छन् । “कि सन्तान आएर पाल्नू कि वृद्धाश्रम लगेर राख्नू, यो बिचल्ली बनाएर नराख्नु“ भनेर उनीहरूले खबर पुर्याउँछन् । आमा–बुबाले कुनै दिन आगो फुक्न नसकेर भोकै बसेको, कुनै दिन छिमेकीले एक कचौरा जाउलो लगिदिएर खाएको जस्ता दयनीय अवस्थाको जानकारी गराउँछन् ।
दुई छोराहरूमध्ये आमाबुबाको हेरचाह गर्न को जाने भन्ने होड चल्छ । जापानमा जेठो छोरा गंगारामले “भाइ जानू, मेरो अलि मिलेको छैन“ भन्छ भने कान्छाले “मैले यहाँ बसेर पनि सहयोग गरेको छु“, दाजु जानू भन्ने कुरा गर्छ । आखिर दया नै अमेरिकाबाट आउँछ । एक्लै अमेरिका पठाएको छोरा त बुहारी र दुईवटा अङ्ग्रेजी बोल्ने नातिनातिना लिएर घर जान्छ । करिब तीन महिना सबै परिवार आमाबुबाको स्याहार गरेर बस्छन् ।
तीन महिनापछि मुना र छोराछोरीलाई अमेरिका पठाएर दया बुबाआमालाई हेरेर बस्छ । केही समयपछि बिरामी आमाबुबा अलि ठीक हुन्छन् । आमाले खाना बनाएर खान सक्ने भएकी हुन्छिन् । त्यसपछि एक जना खाना पकाउने र घर सरसफाइ गर्ने सीता र घरबाहिरबाट केही गर्नुपरे भक्तेलाई जिम्मा लगाएर दया फेरि अमेरिका जान्छ । अमेरिका गएको आठ महिनामा फेरि बज्रपात हुन्छ । दयाको बुबाको देहावसान हुन्छ । गाउँलेहरूले दाहसंस्कार गर्छन् । पछि छोराहरू आएर किरिया गर्छन् । फेरि आमालाई सीताकै भरमा छोडेर छोराहरू आफ्नो कर्मभूमिमा जान्छन् । सीताकी आमा बिरामी भएको खबर आएपछि उनले दयालाई “मेरो आमा बिरामी हुनुहुन्छ, म अब यहाँ बस्न सक्दिनँ“ भनेर खबर पठाउँछिन् । तर दयाले उल्टै बरु केही रकम थपिदिन्छु, हामी नआएसम्म आमालाई हेर्नू भन्छ । यो भनाइले सीताको मन दुख्छ । “संवेदना ममा पनि हुन्छ,“ ऊ भन्छे, “मेरो बाध्यतालाई कमजोरी नठान्नू । पैसाले मात्रै सबथोक भुलेर बस्न सकिँदैन“ । भन्दाभन्दै सीता जान ढिलो हुन्छ । सीताकी आमाको पनि देहावसान हुन्छ । बिचरी सीता अर्काकी आमा स्याहारेर बस्दा आफ्नी आमाको अन्तिम सास भेट्टाउँदिनन् ।
आफ्नी आमा बितेपछि भक्तेको जिम्मा लगाएर सीता माइत तनहुँ जान्छिन् । भक्ते रक्सी खाएर साँझमा गाउँमा भन्छ, “बाहुनी बज्यै बाँच्दिन अब“ । “के भन्छ यो भक्ते ?“ भनेर गाउँलेहरू बिहान दयाको घर पुग्दा दयाकी आमा राती नै बितिसकेकी हुन्छिन् । दया र गंगाराम आएर काजक्रिया गर्छन् । दयाले सीताको भनाइ सम्झिन्छ र मनमनै सीतासँग माफ माग्दै भन्छ, “पैसाले मात्रै सबै थोक पाइने रहेनछ सीता । तिमीले भनेको समयमा कहिले छोरोको जाँच, कहिले मुनाको अफिस मिलाउँदा आउन पाइएन । अब पछुतो मात्र बाँकी रह्यो“ । आमाको देहावसान हुँदा तीनवटा छोराछोरी र एउटा हेरचाह गर्ने मान्छे कोही पनि थिएन । यसरी वियोगान्त रूपमा उपन्यास सकिन्छ ।
उपन्यासमा प्रयोग भाषा शैली सरल छ । घटनाहरूलाई कतै “अनि के त ?“ भन्ने सस्पेन्स पनि बनाइएको छ । उपन्यासमा गाउँघरको बोली, स्थानीय संस्कार, पर्व–उत्सव, नेपालकै प्राकृतिक सुन्दरता सुन्दर रूपमा उतारिएको छ । लमजुङतिर बोलिने, विशेषगरी पाकाहरूले बोल्ने बोली, जस्तैः “आएका छन्“ लाई “आछन्“, “गएका छन्“ लाई “गाछन्“, “के गर्ने“ लाई “क्यार्नी“, “भएपछि“ लाई “भसी“, “हामीले“ लाई “हाम्ले“, “तिमीहरूको“ को सट्टा “तिमरु“ जस्ता स्थानीय रूपमा बोलिने शब्दलाई लेखन शैलीमा प्रयोग गरिएकोले रोचक छ ।
यो उपन्यासले नेपाली समाजको केहि चरित्रको चित्रण गरेको छ । विशेष गरी देशमा व्यावहारिक शिक्षा, रोजगारी र सुशासन नहुँदा गाउँका शिक्षित वा श्रमशक्ति सबै विदेश जान खोज्छन् । सन्तान विदेश गएपछि सहारा चाहिने बेलामा छोराछोरी बाहिरिएर विदेशमै व्यस्त हुँदा आमा–बुबा बिरामी हुन्छन् । स्वर्गवासी हुन्छन्, तर उनीहरूको अन्तिम क्षणसम्म पनि छोराछोरी पुग्दैनन् । गाउँलेहरूले दाहसंस्कार गर्छन्, छोराहरू पछि मात्र किरिया गर्न पुग्छन् । आज हजारौँ नेपाली घरको यथार्थ यही हो “सासले होइन, लासले मात्र सन्तान पर्खिने दिन“ आउने कुरा देखाइएको छ ।
त्यस्तै श्रीमानहरू विदेश हुँदा श्रीमतीहरू छोराछोरी पढाउने निहुँमा सहरमा डेरा गरी बस्ने प्रवृत्ति र महिला एक्लै हुँदा पुरुषहरूले सहयोगको नाममा कामुक नजरले हेर्छन् भन्ने कुरा देखाइएको छ । अर्को कुरा नेपाली समाजमा अझै जातीय भेदभावको कुरामा ब्राह्मण परिवारको छोरो र नेवार परिवारकी छोरीको प्रेम हुँदा घरमा समेत जानकारी दिन डराउने र नेपाली समाजको यथार्थता देखाइएको छ । नेपाली समाजमा अझै दया र करुणा बाँकी छ भन्ने आफ्नै आमालाई छोडेर अर्काकी आमालाई सेवा गर्ने सीता जस्ता उदाहरणीय चरित्रसमेत देखाइएको छ ।
एउटा पाठकको नाताले यसो गर्दा हुन्थ्यो कि भन्ने लागेको छ । जस्तै दया र मुनाले प्रेम गरेर अदालती विवाहसम्म गर्दा पक्कै गहिरो प्रेममा डुबेका प्रेमील जोडीले मीठा दिनहरू बिताएका हुन्छन् । प्रेमरसका बारेमा खासै उल्लेख छैन । एक दिन चौरमा बसेकोबाहेक । अहिलेको समाजअनुसार लेखिएको उपन्यास भएकोले, समयअनुसार दुवैको प्रेमरस अर्थात् शृङ्गार रसमा संयोग रसका प्रेम, आकर्षण, रमाइला पलका केही घटनाक्रम पनि दुई–तीन पाना थपिएको भए पाठकलाई रोचक हुन्थ्यो कि ?
त्यस्तै दया र मुना घरमा आएर आमाबुवालाई ढोग गरेर नातिनातिनीलाई पनि चिनाएको र गाउँलेहरूलाई चकलेट बाँडेको कुरा पनि छ । घरबाट विवाह नगरी गएको र विवाह गरेको कुरा जानकारीसमेत नदिएको कुरा उल्लेख छ । तर बुहारी र दुईवटा सन्तानसहित घर आउँदा बुबाआमा र गाउँलेहरूले महसुस गरेको केही आश्चर्यजनक वातावरण, केही द्वन्द्व सिर्जना हुनेछ अब भन्ने कुरा कथाले मागेको देखिन्छ । कथाले मागेको कुरा पुष्टि गरिदिएको भए हुन्थ्यो कि ? समग्रमा उपन्यासले नेपाली समाजको वर्तमान अवस्थाको चित्रण गरेको छ ।
भरतपुर १०, चितवन