18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आत्मग्लानि

लघुकथा तेजराज दाहाल August 25, 2025, 4:49 pm
तेजराज दाहाल
तेजराज दाहाल

चोक सडकमा भीडभाड थियो । एक मोटरसाइकलले ठक्कर दिएर साइकिल यात्री प्रौढ घाइते घोप्टो परेर लडेका थिए । अनुहारमा रगत लतपतिएर झट्ट चिन्न सकिने अवस्था थिएन । वरिपरि मानिसहरू जम्मा भए, तर सवै रमिते, कोही सहयोगको हात बढाउन अघि सरेनन् । दर्शक धेरैजसोले मोबाइल निकाले - कसैले फोटो खिचे, कसैले भिडियो बनाए ।
त्यहि भीडमा राजु पनि उभिएको थियो । उसँग मोटरसाइकल थियो । एक मनले सोच्यो, "घाइते प्रौढव्यक्तिलाई स्वास्थ्य चौकीसम्म लगिदिउँ", तर अर्को मनले तुरुन्तै भन्यो, "आ! बेकारको झमेलामा किन फस्ने? बिरामीको परिवारले आफुलाई ठोक्काएको भनेर गर्न सक्ने शंका, प्रहरीको अनावश्यक सोधखोज, स्वास्थ्य चौकीमा उपचारमा हुने वेवास्ता!" उसले सहयोगका लागि अघि बढ्ने आँट गरेन । घाइते छटपटाउँदै थिए, रगत बगिरहेको थियो । राजुले फेरि सोच्यो “एम्बुलेन्स आई हाल्ला, म किन अनावश्यक झमेला लिने?” बरू उसको हात मोबाइलतिर गयो । उसले पनि भिडभित्र मिसिँदै भिडियो बनायो र काम तिर गयो ।

दुईजना प्रहरी आइपुगेर घटनास्थललाई सुरक्षा दिए । भीड बिस्तारै छरपस्ट भयो । नगर अस्पतालको एम्बुलेन्स आइपुग्न करीब एकघण्टाभन्दा बढी समय लाग्यो, निकै ढिलो भइसकेको थियो । घाइते प्रौढलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु पुष्टि गरे।

साँझ घर फर्केर राजुले टेलिभिजन खोल्दा समाचारमा त्यही घटना देखियो । दुर्घटनामा मृतकको परिचय खुल्यो, “दुर्घटनामा निधन भएका व्यक्ति, स्थानिय सेवानिवृत्त शिक्षक जनार्दन भट्टराई ।” राजु स्तब्ध भयो । दुर्घटनामा मृतक भएका व्यक्ति त उसलाई सानैदेखि सामाजिक र नैतिक शिक्षा पढाएका गुरु पो रहेछन् । जनार्दन सरले राजुलाई जीवनमा सेवा र मानवताको मूल्य सिकाएका थिए । मोबाइलमा उसले खिचेको भिडियो अझै सुरक्षित थियो, तर त्यो हेर्न सक्ने आँट उसमा थिएन । आत्मग्लानिले उसका आँखा रसाए ।
राजुले महसुस गर्‍यो, “आज मैले शिक्षकको शिक्षा होइन, भीडको व्यवहार पछ्याएर ठूलो भूल गरेंछु।”

हाल: ब्रिसवेन, अस्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।