कुनै दिन
हावाहुरीपछिको कुनै बिहानीमा
रुखसँग सोधेथेँ –
झरेछन् तिम्रा सारा पातहरू
अब के गर्छौ ?
कुनै दिन
घनघोर वर्षाले वितण्डा मच्चाएको भोलिपल्ट
क्षतविक्षत खोलाको किनारलाई सोधेथेँ –
तिम्रो शोभा बढाइरहेका
सबै रुखहरूका जरा खोतलेर
बगाइदिएछ बाढीले ।
अब के गर्छौ ?
कुनै दिन
मक्किएर ढलेको थाङ्ग्रोमाथि
थचारिएको लहरोलाई सोधेथेँ –
पुगिरहेको छैन
तिम्रा पातपातमा सूर्यको प्रकाश ।
अब के गर्छौ ?
आज
मेरा सारा प्रश्नहरूमाथि
उनीहरू सबैले एकमुष्ट प्रतिप्रश्न ठड्याए –
“ए नाङ्गिएको कालापत्थर !
तँ जसका कारणले
हिमाल भएर ठडिएको थिइस् नि !
त्यसलाई त
हिउँपहिरोले बढारेर लग्यो ।
अब भन् –
तँचाहिँ के गर्छस् ?”
पहिला
मेरा प्रश्नहरू सुनेर उनीहरू दुखित हुने गर्थे
अहिले
आफ्ना देहमुक्त पितालाई सम्झँदै
उनीहरूको सामूहिक प्रश्न सुनिरहँदा
मेरो हृदय अवाक् चर्किरहेछ ।
मेरा प्रथम गुरु उहाँ भन्ने गर्नुहुन्थ्यो –
“तैँले रुखसँग व्यवहार गर्दा
मसँग व्यवहार गरेजस्तै गर्नू !
तैँले
नदीसँग व्यवहार गर्दा
तेरी आमासँग व्यवहार गरेजस्तै गर्नू
र
तैँले आकाश र धर्तीसँग व्यवहार गर्दा
तेरा बाजेबजै
र तेरा छोराछोरीहरू सँग जस्तै व्यवहार गर्नू !”
तर
जथाभावी रुख काट्दा
भुसुक्कै बिर्सेँछु मैले त्यो कुरा ।
नदीमा विषालु फोहर फाल्दा
भुसुक्कै बिर्सेछु मैले त्यो कुरा ।
पहाडलाई
आफ्नै आँखाअगाडि डोजरले बलात्कार गर्दा
भुसुक्कै बिर्सेछु मैले त्यो कुरा ।
र
आफैँले विषाक्त धुवाँ–धुलोलाई मलजल गर्दा
भुसुक्कै बिर्सेछु मैले त्यो कुरा ।
आँखै अगाडि
अक्षम्य अपराध भएको टुलुटुलु हेर्नेले
कसरी भन्न सक्नु र ‘म सबैको उपकार गर्छु ’ !
त्यसैले त
आफ्ना लागि अरूले तेस्र्याएका प्रश्न
र कानमा गुन्जिरहेका उहाँका वाणीहरू सामू
यसबेला
म शतप्रतिशत निरुत्तर छु
र छु
आफ्नो मन भित्रैदेखि एकदमै लज्जित ।
मेरा प्रथम गुरु !
तैपनि
एउटा संकल्प चाहिँ गर्दै छु म अहिल्यै –
बाँचेको स्वाङ पारिरहनुमा
कुनै आनन्द नहोस् मलाई
म आफैँ
एकाकार नहुन्जेल
तपाईंको अन्तरहृदयको पर्याप्रेमको गुञ्जनमा !