कोरोना पछिको तालाबन्दीमा काठमाडौं निवासीहरु सबै नजरबन्द जस्तै थियो। मैले लगभग टि एस इलियटको कवितामा वर्णन ‘खाली मान्छे’ जस्तो महसुस गरिरहेका थिए। यस्तो जटिल अवस्थाको बीचमा, कसैलाई भेट्न बाहिर जानु लगभग असम्भव वा सायद हामी जस्तो साधारण व्यक्तिको लागि असम्भव भन्दा पनि बढिनै थियो। यस्तो अवस्थामा मैले पिटर कार्थकलाई अस्पताल लगिएको कुरा प्रकाश सयामीबाट सुनें । प्रकाश सयामी नेपाली संगीत, फिल्म र साहित्यको विस्तृत ज्ञानकार राख्ने व्यक्तित्वको रुपमा परिचित छन् । भोलिपल्ट अप्रिल २२( सन् २०२०) मा उनले मलाई फेरि बिहान फोन गरेर पिटर कार्थकको मृत्यु भएको खबर दिए। यो समाचार अप्रत्याशित थियो किनकि उनी उपन्यास लेख्दै थिए भनेको सुनेको थिए । दुःखद समाचारका साथ प्रकाशले भोलिपल्ट मलाई शुभाराम्भ- सांगितिक यात्राको तर्फबाट पशुपतिनाथ मन्दिरको विद्युतीय दाहसंस्कार गृहमा उनको अन्त्येष्टिमा उपस्थित हुन अनुरोध गरे। शुभाराम्भ- सांगितिक यात्राले गोपाल योन्ञनको नाममा एक पुरस्कार स्थापना गरिएको छ, जो सन २०१८मा पहिलो प्रसिद्ध गायक-संगीतकार दुर्गा खरेल पाएका थिए। र पीटर कार्थकलाई यसको अनौपचारिक संरक्षक जस्तै थिए।
मेरो घर पशुपतिनाथ मन्दिरको नजीक भएकोले मलाई पुलिसको कडा निगरानीबाट जोगिएर जान सजिलो भयो। पिटर कार्थक जन्मले क्रिश्चियन थिए तर उनको पशुपतिनाथ मन्दिरमा दाहसंस्कार हुनु अनौठो संयोगनै हुनपर्छ – सायद यो उसको भाग्य खेल थियो होला।
मलाई पहिलो पटक पिटर कार्थकको लेखनसगं परिचय गराई दिइएको थियो प्रख्यात लेखिका पारिजातले। त्यसबेला म कक्षा ११ मा पढ्थें। पारिजात दिदीसँग मैले कक्षा ११ मा पढ्दा नै एक अन्तर्वार्ता लिएको थिए जँहा उनले मलाई पीटर कार्थकको उपन्यास "प्रत्येक ठाँउ, प्रतेक मान्छे" पढ्न सुझाव दिएका थिइन्। यो उपन्यासले सन् १९७८ मा साझा पुरस्कार पनि प्राप्त गरेका थिए। त्यो अन्तर्वाता भारतको सिलगडीबाट पारसमणि प्रधान र शिवकुमार राईको सम्पादकत्वमा प्रकाशित हुने हिमाचुलीमा सन् १९८२ मा प्रकाशित भएको थियो।
लगभग एक दशक पछि मेरो पिटर कार्थकसंग साक्षात्कार भयो र हाम्रो मित्रता दुई दशकसम्म जारी रहयो तर त्यो आत्मियता २०१२मा मनमुटावको कारण टुङ्गिएको थियो।
पिटर कार्थक भारतको शिलङ्गमा जन्मेता पनि आफ्नो प्रारम्भिक शिक्षा दार्जीलिङ्ग भएको थिए। उनले स्कूलको शिक्षा ट्रनबुल हाई स्कूलबाट गरे र सेन्ट जोसेफ कलेजबाट स्नातक गरे। स्कुलमा उनको शिक्षकहरूमा इन्द्रबहादुर राई, ईश्वर बल्लभ र अम्बर गुरुङ आदि प्रमुख थिए । संगीत र साहित्यप्रति आकर्षित गर्ने एउटा कारण यो हुन सक्छ। कलेजको बखत उनका साथीहरू नेपालका पुर्व राजा ज्ञानेन्द्र र प्रसिद्ध अभिनेता-गीतकार नीर शाह थिए । संगीत प्रतिको उनको मोहले उनलाई हिलियन भन्ने संगीत ब्यान्ड खोल्ने प्रेरणा मिल्यो । अनि यस बाहेक ज्याज संगींतका महारथी लुइ बैकसँग सहकार्य गरे जिममखाना क्लबमा गितार बजाए । दार्जीलिङ्गमा गोपाल योन्ञन, शरण प्रधान र अम्बर गुरुङ्गसगं संगम गरे। अम्बर गुरुङ्ग र गोपाल योन्ञन नेपाल पसे पछि उनी पनि साठी दशकको अन्त तिर नेपाल प्रवेश गरेका थिए रंजीत गजमेर र अनुराधा गुरूङसँग । शुरूमा विरगंजमा शिक्षक भएर काम तर केहि समयमा नै काठमाडौं आए।
"मेरो रचनात्मक प्रक्रियामा, म लेखकभन्दा पहिले संगीतकार हुँ," उनले मृत्यु हुनु एक वर्ष पहिले द काठमाडौं पोष्टलाई भनेका थिए। "मैले नारायण गोपाल, गोपाल योन्ञन, तारा देवी, शिवशंकर र अरु धेरैका लागि गितार बजाएको हुँ तर १९९० पछि मैले संगीत पूरै छोडिदिए जुन बेला, संगीत धेरै सीमित थियो, त्यसैले म एक कलाकारको रूपमा बढिरहेको थिइनँ।"
१० बर्ष अगाडी उनले नेपाली संगीतकारहरु — नेपालका संगीत निर्माताहरु एक पुस्तक लेखे। त्यो पुस्तकमा संगीतकार र गायकहरूको बारेमा लेखिएको थियो र दार्जीलिङ्ग देखि काठमाडौं सम्मको उनको संगीतमय यात्राको बारेमा पनि।
पिटर कार्थकको लेखनमा कतै पनि उनको शुरुवाती दिनहरुमा गरेको रचनात्मक लेखनको बारेमा चर्चा भेटिन्दैन । तर दार्जीलिङमा उनका साथीको प्रेमिकालको बलात्कार घटनाले उनी सधै विचलित भए। काठमाडौं आए पछि उनी अम्बर गुरुङ्ग मार्फत प्रसिद्ध साहित्यकार शंकर लामिछानेसंग नजिकिन पुगे। पिटरमा मित्र अभि सुवेदी भन्छन्,” हामी पाण्डुलिपि बोकेर शंकर लामिछाने कँहा गयौ। पाण्डुलिपि हेरेर शंकर दाईले भन्नु भयो- मन पर्यो भने भूमिका लेख्छु नत्र जलाएर खरानीको टिका लगाउनु पर्छ।“ तर धन्य टिका लगाउनु पर्ने स्थिति आएन र त्यहि भूमिका लामिछानेले लेखेको अन्तिम भूमिका रह्यो। पिटर कार्थकले मलाई व्यक्तिगत रूपमा भने छन् उनलाई शंकर लामिछानेले धेरै चोटि उपन्यास पुनर्लेखन गर्न लगाए र अन्तमा "प्रत्येक ठाँउ, प्रतेक मान्छे" को भूमिका लेख्न सहमत हुनु भएको थियो। पारिजातको शिरिषको फुलमा शंकरले लेखे भूमिकाले नेपाली साहित्यबृतमा निकै चर्चा बटुलेको थियो। यो उपन्यास पछि आफैले अनुवाद गरे अंग्रेजीमा। उनले यो अंग्रेजी अनुवाद भारतमा प्रतिष्ठित प्रकाशनबाट प्रकाशित गर्न हर सम्भव प्रयास गरे तर सफल हुन सकेन। उनी निराश भएर एक दिन मलाई भनेका थिए भाई भारतीय प्रकाशकहरूले गोर्खा वा हिमालयको बारेमा लेखेको उपन्यासहरु नेपाली लेखकहरूबाट आशा गर्दो रहेछ। भूमिकामा शंकर लेख्छन्,” उपन्यासका सम्बन्धमा' भनी यो लेखिरहँदा म पिटरको निर्ममता सम्झिरहेछु । उसले बहुत निर्लिप्त बनी हामीलाई - दार्जीलिङ र काठमाडौं, दुवैलाई - चिरफार गरेर आन्द्रा-भूँडी स्वातं तेर्साइ दिएको छ । र, उसमाथि, यो पुस्तक तीन वरिष्ठ स्रष्टालाई समर्पित गरेर एउटा ठूलो हाँक दिएको छ :
"ए, इन्द्रबहादुर राई !
ए, अम्बर गुरुङ !
ए, गोपाल योञ्जन !
लेऊ Ingredients तिम्रा रचनाका, निर्माणका मूल तत्वहरूका । गाओ, यिनैको गीत, रच यिनैको कथा ! तिमीले रचेको त्यो भोलि.... 'त्यो भोलि कहिले आउला ?' .......'
उपन्यासमा केही सन्देश छ भने, उपन्यासका पृष्ठभन्दा बाहिर, मन्त्र - यन्त्र-तन्त्रभन्दा पर, 'समर्पण' - मा छ ! “ यो उपन्यास साझा प्रकाशनबाट दोस्रो संस्करण प्रकाशित भएको छ भने तेस्रो प्रकाशन बुकहिलले गरेको छ ।
पिटरका कथाहरु पनि साझा प्रकाशन प्रकाशित गरेका थिए। नेपाली भाषामा थोरै लेखेर धेरै प्रशंसा पाउने भाग्य मनि लेखकमा पर्छ पिटर कार्थक। पिटरले वि.स. २०३३को रूपरेखामा आफ्नो कलेज जीवन बारे ३ अंकमा लामो संस्मरण लेखेका छन्- “सुख दुःखका वर्षहरू - मेरो सेतो केश” शिर्षकमा। कलेजमा पिटरको मिल्ने साथी थिए -छिरिङ छोदेन। सम्पन्न परिवारको छोदेन पछि गएर भारत सरकारको उच्च पदमा पुगेका थिइन्। यो लेखमा छिरिङसँको सम्झना जोडिएको छ। “सन् १९६७ को वर्षान्त म पनि दार्जीलिङवाट बाहिरिएर नेपाल पसें । त्यसपछिको डेढ दुई वर्षसम्म छोदेन र म बीच चिठी पत्रको आदान भइरहन्थ्यो । ऊ कहिले दार्जीलिङबाट लेख्थी त कहिले देहरादुन त कहिले बम्बई वा कहिले कलकत्तादेखि । म सधै काठमाडौंवाट लेख्थे। काठमाडौं बेंसीको वरिपरिका पहाडहरू मैले अझ पार गर्न सकेको थिइनँ। पछि हामी बीच पत्र व्यवहार हुन छोड्यो । कारणहरू एक दुईटा मात्र भए पनि हाम्रा निम्ति ती पर्याप्त भएछन् किनभने त्यसैताका मेरो जीवनमा उथल-पुथुलताहरू एकपछि अर्को आउन थालेका थिए। पछि थाहा भयो छोदेनले पनि त्यसैताका विभिन्न समस्याहरूप्रति संघर्ष गर्न परेकी रहिछ ।“
रिपब्लिकामा उनको दोस्रो उपन्यास "काठमाण्ड्रुइड्स: मोनोमिथ्स एन्ड मेन्यामिथ्स" बारेमा कुरा गर्दै भनेका थिए, "जब म अझै पुस्तकमा काम गर्दै थिएँ, मैले एउटा लेख पढें जँहा नाइजेरियाली लेखक चिमामन्डा एनगोजी एडिचि माथि लेखिएको थियो, र उनी कस्तो कुरा गरिरहेकी थिइन् उपन्यासकारहरूलाई डबल हेलिक्स फारममा लेख्न सुरू गर्ने समय आयो। उनले कसरी एकल कथालाई अपुर्ण र रुडी छ भन्ने बारेमा आफ्ना विचार व्यक्त गरे। म उनको रायसँग पूर्ण सहमत भएँ। मैले आफ्नै उपन्यासको साथ त्यो मार्ग लिने बारेमा सहमत भए। उनी यही कुरा गर्दै थिइन्। म काठमाडौँमा दोहोरो कथा ल्याउने काम गरिरहेको थिएँ। ”
काठमाडौंमा छोटो बसाँइको लागि आएको पिटर एक नेवारी युवती रंजना प्रजापतिसँग बिहे गरे पछि यहि जीवन बिताए आफ्नो दुई छोरासंगै। नेपालमा आएपछि उनले इटालियन निर्माण कम्पनीमा काम गर्नदेखि क्यासिनोमा क्रूपीयरसम्म काम गरे। उनले पाटन क्याम्पस र थाईलैन्डमा पनि अंग्रेजी पढाउने काम गरे । सन् सत्तरीको दशकमा पिटर कार्थक, अभि सुवेदी र रमेश श्रेष्ठले अंग्रेजीमा संयुक्त कविता संग्रह ‘Manas’ प्रकाशित गरेका थिए।
पिटरको अँध्यारो पक्ष के थियो भने उनी आत्मा केन्द्रित थिए र कुनै बेला रक्सिले पिटरलाई खाइरहेको थियो हरिभक्त कटुवाललाई जस्तै। उसको आफैलाई मात्र ठुलो देख्ने मनोवृत्तिले पछिल्ला दिनहरुमा उनलाई उसको साथीहरुबाट धेरै टाढा राख्यो। नेपालमा अंग्रेजी लेख्ने क्रममा उनले कसैलाई पनि आफ्नो बराबरी ठानेनन। उनी साथीहरूबाट टाढा थिए जो उनको लेखनसंग परिचित थिए र ती युवाहरूद्वारा घेरिएका थिए जसले उनको उपन्यास र नेपालीमा कथाहरू कमै पढेका थिए । यो कुरालाई उनका पुरानो साथी प्रसिद्ध लेखक रमेश श्रेष्ठ पनि स्विकार्छन्।
पिटर एक ठाँउमा नै बसेर जागिर नखाने मानिसको रुपमा परिचित थिए। नेपाल ट्राभलस् नामक पर्यटन पत्रिकाबाट पत्रकारिता प्रारम्भ गरे उनले। त्यो समय उनको सहकर्मी थिए नेपाली-अंग्रेजी उपन्यासकार सम्राट उपाध्यय। केही समय हिमालयन टाइम्समा काम गरे पछि केही समय काठमाडौं पोष्टसँग सम्बन्धित भए। उनले पछि रिपब्लिकामा पनि काम गरे। त्यो भन्दा पहिले उनी पोखराको फुलबारी रिसोर्टमा थिए मिडिया प्रबन्धकको रूपमा। उनले असीको दशकमा भाइ मार्कसंग मिलेर कार्थक ट्राभल भन्ने ट्राभल एजेन्सी पनि खोलेका थिए। तर एक पर्यटन व्यवसायीको कोपभाजनमा परेर झन्ठै सर्वनाश भएको थियो।
सन् १९९६ मा पिटर कार्थक, नगेन्द्र शर्मा र म भएर हिमालय इनफोनेट नामक संस्था खोल्यो । यस्को मुख्य उद्देश्य थियो नेपालको पर्यटन र अन्य विषयलाई अन्तराष्ट्रिय मिडियामा ल्याउने । यसै सन्दर्भमा हामीले सन् १९९७मा मदर टेरेजाको देहावसान पछि उनको उत्तराधिकारी सिस्टर निर्मलाको वारेमा लेख लेख्यौ अनि सयुक्तरूपमा प्रकाशित गर्यौ थाइल्यान्डको नेसन दैनिक पत्रिकामा। यस बाहेक केही लेखहरु अरू देशको पत्रिकामा छापिएको जानकारी दिएका थिए पिटर दाईले ।
स्वर्गीय लेखक, सङ्गीतकार तथा सम्पादक पिटर जे. कार्थकको अन्तिम अंग्रेजी उपन्यास ‘अ योङ वन्डरिङ मडलार्क इन ओल्ड काठमाडौं’को लोकार्पण केही महिना अगाडी काठमाडौंमा भयो । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शिक्षाविद् एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमा, लेखक तथा समीक्षक प्रा. अभि सुवेदी र कार्थकपत्नी रञ्जना कार्थकले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।
यो पुस्तक संस्करणात्मक आख्यान हो । यसमा विशेषगरी सन् १९६८ देखि १९७२ को काठमाडौंको चित्रण गरिएको छ । त्यति बेला पश्चिमा युवा–युवती स्वतन्त्रता र निर्वाणको खोजीमा हिप्पी ट्रायल पछ्याउँदै नेपाल आउँथे । यस पुस्तकले त्यसैको कथा भन्छ ।
आफ्नो अन्तिम दिनहरूमा उनी काठमाडौंसँग मोहभंग भएको कुरा लेख्न थाले र आफूले आधा शताब्दी बिताएको ठाँउमा पनि आफूलाई बाहिरी ठान्न थाले तर उनलाई काठमाडौले कहिले पराया ठनेनन्। कार्यक्रमहरूमा उनको उपस्थिति खोजिरहे । नँया पुस्ताले उनलाई बुझ्ने प्रयास गरे पनि पिटरको अन्तर्मुखी स्वभावले उनलाई खुलेर आफै भित्र सिमित राखे। साहित्यका साधारण पाठक माँझ पिटर कहिले नजिक हुनसकेन। फलस्वरूप उनलाई धेरैले विदेशी लेखक ठाने। ‘