19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कृष्ण बस्नेत द्वारा लिखित काँटीकीर्ति पुस्तक : एक पाठकीय दृष्टिकोणमा

कृति/समीक्षा भाष्कर मैनाली शर्मा August 31, 2025, 3:17 pm
भाष्कर मैनाली शर्मा
भाष्कर मैनाली शर्मा

काँटीकीर्ति पुस्तक नोभेम्बर सन् २०२४ मा पहिलोपटक प्रकाशित भएको कृति हो। यस पुस्तकमा जम्मा १२ वटा शीर्षकहरू रहेका छन् भने, यसको पृष्ठ संख्या १४८ छ। पुस्तक विभिन्न लेखहरूको सङ्गालो हो, जसमा लेखकमाथि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने, समाजमा आफ्नो खुट्टा जमाएका, मेहनत र संघर्षमार्फत जीवनलाई अर्थपूर्ण बनाएका व्यक्तिहरूबारे लेखिएको छ।

लेखक कृष्ण बस्नेत स्वयं सिलिगुडीमा बसोबास गर्ने भएकाले उनले त्यही क्षेत्रमा कार्यरत, उद्यमशील र लगनशील व्यक्तिहरूबारे विशेष जोड दिएका छन्। प्रायः हाम्रो समाजका लेखकहरूले पश्चिमका नामी–गामी विद्वान वा विश्व प्रसिद्ध व्यक्तिहरूबारे लेख्ने गर्छन्। तर यस पुस्तकमा भने लेखकले आफू देखेको, चिनेको र समय–समयमा साक्षात्कार गरेको व्यक्तित्वहरूलाई प्राथमिकता दिएका छन्।

सामान्यतया हामीले टाढाका महान व्यक्तिहरूलाई प्रेरणाका स्रोत ठान्ने गर्छौं। हामीलाई स्कुलका किताबदेखि नै अब्राहम लिङ्कन, नेल्सन मण्डेला, महात्मा गान्धी, रबिन्द्रनाथ टैगोर जस्ता व्यक्तिहरूका संघर्ष र सफलताका कथाहरू पढाइन्छ। तर समस्या के छ भने, यी व्यक्तिहरू हाम्रो समाजदेखि धेरै टाढा भएका कारण उनीहरूको संघर्ष हामीलाई केवल कल्पनाजस्तो लाग्छ। उनीहरूको जीवन यात्रा हाम्रो आँखाअगाडि प्रत्यक्ष देखिएको हुँदैन। तर हाम्रो वरपरका मानिसहरूले गरेको संघर्ष भने प्रत्यक्ष देखिने भएकाले हामीलाई अझ बढी आत्मीय लाग्छ।

यस पुस्तकका लेखहरू पढ्दा लाग्छ—टाढाका देवता भन्दा नजिकैका देवता नै काम लाग्छन्। लेखकले नजिकैका मेहनती, उद्यमशील व्यक्तिहरूलाई देवतासमान सम्मान गरेका छन्। उनीहरूले समाजलाई देखाएका उदाहरण, बाटो र प्रेरणाले पाठकको हृदय छोइदिन्छ।

सिलिगुडी क्षेत्र विशेष गरी मिलन मोड वरपरका नेपाली भाषी समुदायका व्यापारी, उद्यमी वा पेशागत क्षेत्रमा सफल व्यक्तिहरू पुस्तकको केन्द्रमा छन्। हाम्रो समाजमा अझै पनि एउटा भनाइ छ—“नेपाली भाषीहरू व्यापार गर्न सक्दैनन्।” तर यो पुस्तक पढ्दा त्यो भनाइ पूर्णतः गलत सावित हुन्छ। किनकि यहीं अल्पसंख्यक नेपाली भाषीहरूको शहर सिलिगुडीमै उनीहरूले व्यापार, लगानी र श्रममार्फत आफ्नो पहिचान बनाएका छन्।

यस पुस्तकले हामीलाई एउटा ठूलो शिक्षा दिन्छ—जीवनलाई सफल बनाउन सरकारी जागिर मात्र विकल्प होइन। भारतमा सरकारी जागिर ठूलो उपलब्धि मानिन्छ। हरेक परिवारले आफ्ना छोराछोरीलाई सरकारी जागिरे बनाउन चाहन्छ। तर कठोर प्रतिस्पर्धा र सीमित अवसरका कारण अधिकांश युवाहरूले सरकारी जागिर पाउन सक्दैनन्। परिणामस्वरूप, उनीहरू निराश, हतोत्साहित भएर कुलतमा पनि फस्ने गरेका छन्।

यस्तो अवस्थामा काँटीकीर्ति पुस्तकले देखाउँछ—यदि सरकारी जागिर छैन भने पनि निराश हुनु पर्दैन। जीवनमा सफलता पाउने अन्य बाटोहरू प्रशस्तै छन्। व्यापार, सीप, लगानी, नवीन सोच र संघर्षमार्फत पनि जीवनलाई अर्थपूर्ण बनाउन सकिन्छ। पुस्तकमा वर्णित व्यक्तिहरू सबै सरकारी जागिरे होइनन्, तर उनीहरूले समाजमा आफ्नो नाम कमाएका छन्, आफ्ना परिवारलाई समृद्ध बनाएका छन्, र अरूका लागि प्रेरणाको स्रोत बनेका छन्।

पुस्तक पढ्दा यस्तो लाग्छ—संघर्षलाई नडराउने, मेहनतलाई निरन्तरता दिने मानिस मात्र जीवनमा सफल हुन्छ। यहाँ उल्लेख गरिएका व्यक्तिहरूले आफैँलाई मात्र होइन, समाजलाई पनि अगाडि बढाएका छन्। उनीहरू उद्यमी मात्र होइनन्, समाजलाई एउटा प्रेरणा दिने स्तम्भ पनि हुन्।

अब कुरा गरौं शीर्षक काँटीकीर्तिको। सामान्यतया काँटी भन्नासाथ घोच्ने, दुख दिने वा नकारात्मक कुरा हाम्रो दिमागमा आउँछ। तर लेखकले काँटीलाई सकारात्मक दृष्टिले हेरेका छन्। काँटीले भाँचिएको वस्तुलाई जोड्छ, असुरक्षितलाई सुरक्षित बनाउँछ। त्यसैगरी, यस पुस्तकका लेखहरूले पनि मानिसहरूलाई जोड्ने, प्रेरणा दिने र समाजमा आत्मबल जगाउने काम गरेका छन्। काँटी यहाँ पीडा दिने होइन, जीवनलाई बलियो बनाउने प्रतीक बनेको छ।

युवा पुस्ताका लागि यो पुस्तक विशेष सन्देश बोकेको छ। अहिले धेरै युवा शहर छाडेर रोजगारीका लागि दिल्ली, मुम्बई, बैंगलोर, कोलकाता वा विदेशतर्फ लागिरहेका छन्। परिवार र समाजबाट टाढा गएर जीवन निर्वाह गर्न बाध्य छन्। तर यस पुस्तकले देखाएको छ—यदि आफ्नै ठाउँमा बसेर पनि परिश्रम गर्न सकिन्छ भने सफलता पाउन अवश्य सम्भव छ। आफ्नो घर–परिवारसँगै बसेर पनि ठूलो काम गर्न सकिन्छ भन्ने उदाहरण यस पुस्तकले प्रस्तुत गरेको छ।

अन्ततः, काँटीकीर्ति केवल एउटा पुस्तक होइन, हाम्रो समाजकै सफलताको कथा हो। यसले हामीलाई सिकाउँछ—हामीले प्रेरणा पाउन टाढा खोजिरहनु पर्दैन, हाम्रै वरपर हेरौं, हामीलाई बाटो देखाउने थुप्रै व्यक्तिहरू छन्।

त्यसैले, हामी पाठकवृन्दले आशा गरेका छौं—लेखक कृष्ण बस्नेतले आगामी दिनमा पनि यस्तै ऊर्जावान कृतिहरू सिर्जना गरिरहून्। उनको लेखनी अझ धारिलो, अझ गहिरो र अझ प्रेरणादायी बनिरहोस्। हामी उनको आगामी साहित्यिक यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्छौं।

दार्जिलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।